सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वास गर्नुको सही कारण

विश्‍वास गर्नुको सही कारण

विश्‍वास गर्नुको सही कारण

आफ्नो प्रश्‍नको सन्तोषजनक जवाफ नपाएको कारण थुप्रै मानिसहरू चर्च जान छाडेका छन्‌ भनी युवा जनहरूले चर्च छोड्‌नुका ३१ वटा कारण भन्‍ने कोरियाली पुस्तक सप्रमाण बताउँछ। उदाहरणका लागि, तिनीहरू यस्तो प्रश्‍न सोध्छन्‌, ‘परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले किन दुःखकष्ट भोग्छन्‌?’ र ‘थुप्रै शिक्षाहरू अन्योलपूर्ण र विरोधाभासपूर्ण हुँदाहुँदै पनि चर्चहरूले सिकाउने सम्पूर्ण कुराहरू किन हामीले स्वीकार्नै पर्ने?

आफ्ना पादरीहरूले दिएका जवाफहरूदेखि निराश भएको कारण, थुप्रै मानिसहरू बाइबलमा जवाफै रहेनछ भन्‍ने निष्कर्षमा पुगेका छन्‌। पादरीले आफ्नै व्यक्‍तिगत विचारधारामा आधारित जवाफ दिंदा अक्सर भ्रम पैदा हुने मात्र होइन तर मानिसहरूले परमेश्‍वर र बाइबललाई तिरस्कारसमेत गर्छन्‌।

यो त थियो एबेलको अनुभव, जो दक्षिण अफ्रिकामा लुथरन चर्चको शिक्षादीक्षाअनुसार हुर्के-बढेका थिए। तिनी यस प्रकार सम्झन्छन्‌: “मृत्यु हुने जति सबैलाई परमेश्‍वरले ‘लैजानुहुन्छ’ भनेर चर्चले सिकाउँछ। तर प्रेमको परमेश्‍वरले आमाबाबुलाई तिनीहरूका छोराछोरीबाट खोसेर किन ‘लैजानुभएको’ होला भन्‍ने कुरा मैले त बुझ्नै सकिनँ। म हुर्के-बढेको ग्रामीण अफ्रिकामा, चल्लाहरू नबढुन्जेल हामी माऊलाई मार्दैन थियौं। यदि कुनै गाई ब्याउनेवाला छ भन्‍ने कुरा थाह लागेमा, बाछा वा बाछी ब्याएर दूध खान नछोडुन्जेल हामी त्यसलाई मार्दैनथ्यौं। मायालु परमेश्‍वरले मानिसजातिप्रति पनि त्यस्तै चासो किन देखाउन सक्नुहुन्‍न भनेर मैले बुझ्नै सकिनँ।”

क्यानेडियाली अरामसित यस्तै शंकाहरू थिए। तिनी यसो भन्छन्‌: “म १३ वर्षको छँदा मेरो बुबाको मृत्यु भयो। अन्त्येष्टि सेवामा, एक जना प्रमुख पादरीले स्वर्गमा परमेश्‍वरसित घनिष्ठ हुनको लागि परमेश्‍वरले नै मेरो बुबाको मृत्यु होस्‌ भन्‍ने चाहनुभएको हो भनेर बताए। तिनले यसो भने, ‘परमेश्‍वरले असल मानिसहरूलाई लैजानुहुन्छ किनभने परमेश्‍वर धर्मीहरूलाई प्रेम गर्नुहुन्छ।’ परमेश्‍वर कसरी त्यत्तिको स्वार्थी हुन सक्नुभएको होला भनेर मैले त बुझ्नै सकिनँ।”

अन्ततः एबेल र अराम दुवै जनाको सम्पर्क यहोवाका साक्षीहरूसित भयो, तिनीहरूसित बाइबल अध्ययन गरे र अन्तमा आफ्ना प्रश्‍नहरूको जवाफ पाए। उनीहरूले परमेश्‍वरप्रतिको प्रेम र उहाँमा बलियो विश्‍वास विकास गरे। अन्तमा, उनीहरूले आफ्नो जीवन यहोवालाई समर्पण गरे र उहाँका वफदार सेवकहरू भए।

सही ज्ञान—परमेश्‍वरमा विश्‍वास गर्ने कुञ्जी

यी अनुभवहरूबाट हामी के सिक्न सक्छौं? जहाँसम्म परमेश्‍वरमा विश्‍वास गर्ने कुरा छ, सही बाइबल ज्ञान अत्यावश्‍यक छ भनी उनीहरू हामीलाई बताउँछन्‌। प्रेरित पावलले पुरातन शहर फिलिप्पीका मसीहीहरूलाई यसो भने: “म यही प्रार्थना गर्दछु, कि ज्ञान र सबै विवेकमा तिमीहरूको प्रेम झन्‌ झन्‌ प्रशस्त हुँदै जाओस्‌।” (फिलिप्पी १:९) यहाँ पावल परमेश्‍वर र सँगी विश्‍वासीहरूप्रतिको प्रेम परमेश्‍वरको सही ज्ञान र उहाँको इच्छा के हो, सो बुझ्ने समझसित सम्बन्धित छ भनी बताउँछन्‌।

यो व्यावहारिक छ किनभने कसैप्रति विश्‍वास र भरोसा गर्न चाहिने पहिलो आवश्‍यकता भनेको त्यस व्यक्‍तिलाई चिन्‍नु हो अर्थात्‌ जति राम्ररी र ठीकसँग चिन्‍न सकिन्छ उति नै बेस। त्यस्तै गरी, परमेश्‍वरमा विश्‍वास गर्न उत्प्रेरित हुनको लागि सही ज्ञान आवश्‍यक छ। पावलले यसो भने, “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।” (हिब्रू ११:१) बाइबलको सही ज्ञानविना परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तासको घरजस्तै हो। हावाको सानो झोक्काले नै त्यसलाई लडाइदिन्छ।

बाइबल अध्ययन गर्दा तपाईंले लामो समयसम्म एबेल र अरामलाई अलमल्लमा पारेका प्रश्‍नहरूको जवाफ पाउन सक्नुहुन्छ, जस्तै मानिस किन मर्छ? “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌” भनेर बाइबल बताउँछ। (रोमी ५:१२) परमेश्‍वरले आफूसँगै लैजानको लागि होइन तर आदमले गरेको पापको कारण मानिसहरू बूढाबूढी हुन्छन्‌ र मर्छन्‌। (उत्पत्ति २:१६, १७; ३:६, १७-१९) यसबाहेक, यहोवा परमेश्‍वरले प्रदान गर्नुहुने साँचो आशाबारे पनि बाइबलले बताउँछ। आफ्नो पुत्र, येशू ख्रीष्टमार्फत उहाँ पापी मानिसजातिलाई पुनरुत्थानको आशा दिनुहुन्छ।—यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५.

हामीलाई पुनरुत्थानबारे सत्य कुरा बुझ्न मदत दिनको लागि बाइबलमा येशूले पुनः जीवित पार्नुभएका व्यक्‍तिविशेषहरूको थुप्रै उदाहरणहरू रेकर्ड गरेर राखिएका छन्‌। (लूका ७:११-१७; ८:४०-५६; यूहन्‍ना ११:१७-४५) जसै तपाईं यी बाइबल विवरणहरू पढ्‌नुहुन्छ, पुनरुत्थान भएका व्यक्‍तिहरूका साथीहरू र परिवारले अनुभव गरेको आनन्द तथा हर्षलाई विचार गर्नुहोस्‌। तिनीहरू परमेश्‍वरको प्रशंसा गर्न र येशूमा विश्‍वास राख्न उत्प्रेरित भएका थिए भन्‍ने कुरा पनि याद गर्नुहोस्‌।

परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सही ज्ञानले आज पनि मानिसहरूमा त्यस्तै प्रभाव पार्न सक्छ। कुनै समय धेरै जना मानिस अलमल्लमा परेका थिए, बोझले लादिएका थिए र महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउन नसक्दा ठोकरसमेत खाएका थिए। तर बाइबल अध्ययन गर्दै गएपछि तिनीहरूले जवाफ पाए र त्यसले तिनीहरूको जीवनलाई पूर्णतया परिवर्तन गरिदियो।

परमेश्‍वरप्रतिको प्रेम—उहाँको सेवा गर्नुको प्रमुख कारण

परमेश्‍वरमा विश्‍वास गर्न सही ज्ञान अत्यावश्‍यक भए तापनि उहाँको आज्ञापालन र सेवा गर्न कसैलाई प्रेरित गर्नको लागि त्योभन्दा अझ बढी कुराको खाँचो छ। परमेश्‍वरको सबैभन्दा ठूलो आज्ञा के हो भन्‍ने प्रश्‍नको जवाफमा येशूले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर्‌।” (मर्कूस १२:३०) येशूले संकेत गर्नुभएअनुसार कुनै व्यक्‍तिले परमेश्‍वरलाई प्रेम गर्छ भने, उहाँको आज्ञापालन गर्न र उहाँको सेवा गर्न ऊ एकदमै इच्छुक हुन्छ। के तपाईंलाई पनि त्यस्तै लाग्छ?

मिसनरीको रूपमा कोरियामा धेरै दशक सेवा गरिसकेकी रेचल आफ्नो विश्‍वासको कारण यसरी बताउँछिन्‌: “आफूले सृष्टि गर्नुभएका प्राणीहरूप्रति यहोवाले देखाउनुभएको उदारता, आफ्ना जनहरूसित व्यवहार गर्ने सन्दर्भमा उहाँले देखाउनुभएको क्षमा र उहाँ हामीबाट के चाहनुहुन्छ भन्‍ने कुरा हामीलाई थाह दिएर हाम्रै लाभ हुने उहाँको इच्छाबारे म सोच्ने गर्छु। यी सम्पूर्ण कुराहरूले यहोवाप्रतिको मेरो प्रेम अझ बढाउँछ। अनि त्यस प्रेमले मलाई उहाँको सेवा गर्न इच्छुक बनाउँछ।”

जर्मनीकी एउटी विधवा मार्थाले यहोवाको सेवा गरेको ४८ वर्ष भइसक्यो। तिनी यसो भन्छिन्‌: “म किन यहोवाको सेवा गर्छु? किनभने म उहाँलाई प्रेम गर्छु। हरेक साँझ म प्रार्थनामा यहोवासित कुरा गर्छु र सम्पूर्ण आशिष्‌हरू, त्यसमा पनि विशेष गरी छुडौतीको बलिदानको लागि म कत्ति कृतज्ञ छु भनेर उहाँलाई बताउँछु।”

हो, परमेश्‍वरप्रतिको प्रेमले हामीलाई हृदयदेखि नै उहाँको सेवा गर्न इच्छुक बनाउँछ। तर मानिसले कसरी यस्तो किसिमको प्रेम खेती गर्न सक्छ? परमेश्‍वरप्रति प्रेम खेती गर्ने सबैभन्दा ठूलो उत्प्रेरणा भनेको उहाँले हामीलाई देखाउनुभएको प्रेमप्रतिको गहिरो मूल्यांकन हो। बाइबलमा बताइएको यो हृदयस्पर्शी सम्झौटोलाई याद गर्नुहोस्‌: “प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ। यसैमा परमेश्‍वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्‍ने हेतुले परमेश्‍वरले आफ्ना एकले पुत्रलाई यस संसारमा पठाउनुभयो। प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेका हौइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।”—१ यहून्‍ना ४:८-१०.

यो प्रेम कत्तिको महान्‌ छ के तपाईं बुझ्न सक्नुहुन्छ? मानिलिनुहोस्‌, तपाईं वेगले बगिरहेको खोलामा डुब्नै लाग्नुभएको छ र तपाईंलाई बचाउन एक जना मानिसले आफ्नो ज्यान दाउमा लगायो। के तपाईं तिनलाई सजिलै बिर्सनुहुन्छ अथवा के तपाईं तिनीप्रति अत्यन्तै कृतज्ञ हुनुहुन्‍न र? के तपाईं तिनको लागि आफूले सकेजति सबै गर्न इच्छुक हुनुहुन्‍न र? छुडौतीको बलिदानको रूपमा आफ्नो पुत्र, येशू ख्रीष्टलाई दिएर परमेश्‍वरले देखाउनुभएको प्रेम त त्यसको तुलनामा कता हो कता श्रेष्ठ छ। (यूहन्‍ना ३:१६; रोमी ८:३८, ३९) परमेश्‍वरको प्रेमले तपाईंको हृदयलाई छोएपछि तपाईं उहाँलाई प्रेम गर्न र उहाँको सेवा गर्न उत्प्रेरित हुनुहुनेछ।

अहिले र भविष्यमा आशिष्‌हरू

परमेश्‍वरको सेवा गर्नुको प्रमुख कारण उहाँप्रतिको प्रेम हुनु आवश्‍यक भए तापनि उहाँको सेवा गर्ने जतिलाई परमेश्‍वरले इनाम दिनुहन्छ भनेर जान्‍न पाउनु हृदयस्पर्शी कुरा हो। प्रेरित पावल यसो भन्छन्‌: “विना विश्‍वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू ११:६.

परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्नेहरूलाई उहाँले साँच्चै आशिष्‌ दिनुहुन्छ। बाइबल सिद्धान्तहरू पछ्याउँदा थुप्रैको स्वास्थ्यमा सुधार आएको छ। (हितोपदेश २३:२०, २१; २ कोरिन्थी ७:१) इमानदारिता र लगनशीलताको सन्दर्भमा बाइबल सिद्धान्तहरू लागू गर्नेहरूलाई साधारणतया तिनीहरूका हाकिमहरूले भरोसा गर्छन्‌ र यस प्रकार आर्थिक तवरमा अझ सुरक्षित हुन्छन्‌। (कलस्सी ३:२३) यहोवामा भरोसा राख्दा यहोवाका सेवकहरूले कठिन परिस्थितिहरूमा समेत मनोशान्ति महसुस गर्छन्‌। (हितोपदेश २८:२५; फिलिप्पी ४:६, ७) सबैभन्दा महत्त्वपूर्ण कुरा त, निकट पार्थिव प्रमोदवनमा प्राप्त हुने अनन्त जीवनको आशिष्‌को तिनीहरू निर्धक्कसाथ बाटो हेर्छन्‌।—भजन ३७:११, २९.

यहोवाले दिनुहुने यस्ता आशिष्‌हरूको आनन्द उठाइरहेका व्यक्‍तिहरूले उहाँबारे कस्तो महसुस गर्छन्‌? एउटी क्यानेडियाली मसीही, ज्याकलिन परमेश्‍वरप्रतिको आफ्नो मूल्यांकन यस प्रकार व्यक्‍त गर्छिन्‌: “उहाँले सधैं हामीलाई यस्ता अद्‌भुत उपहारहरू दिनुहुन्छ र अनन्त जीवनको निश्‍चित आशा पनि प्रदान गर्नुहुन्छ।” सुरुमा उल्लिखित एबेल यसरी आफ्ना भावनाहरू पोख्छन्‌: “पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशा मेरो लागि नौलो कुरा थियो र म यसैको बाटो हेरिरहेको छु। तथापि, प्रमोदवन भन्‍ने कुरा नभई दिएको भए तापनि परमेश्‍वरको सेवा गरेर उहाँप्रतिको आफ्नो प्रेम प्रदर्शित गर्नु मेरो लागि आनन्दको कुरा नै हुने थियो।”

तपाईं पनि साँचो विश्‍वास पाउन सक्नुहुन्छ

बाइबल यसो भन्छ: “सेनाहरूका परमप्रभु, तपाईं जसले धर्मसित न्याय गर्नुहुन्छ, जसले हृदय र मनको जाँच गर्नुहुन्छ।” (यर्मिया ११:२०) हो, यहोवाले हाम्रो मनभित्रका गुप्त कुराहरू जाँच्नुहुन्छ। परमेश्‍वरमा विश्‍वास गर्नुको मनसाय के हो भनेर प्रत्येकले जाँच्नुपर्छ। परमेश्‍वरबारे गलत विश्‍वास तथा धारणाहरूको कारण विगतमा खराब कामहरू भएका हुन सक्छन्‌। तर बाइबलको सही ज्ञानले सृष्टिकर्ता, यहोवा परमेश्‍वरसितको सही सम्बन्धतर्फ डोऱ्‍याउन सक्छ।—१ तिमोथी २:३, ४.

निश्‍शुल्क गृह बाइबल अध्ययनको प्रबन्धद्वारा यहोवाका साक्षीहरूले मानिसहरूलाई परमेश्‍वरको सही ज्ञान हासिल गर्न मदत गरिरहेका छन्‌। (मत्ती २८:२०) यस्तो मदत स्वीकार्ने थुप्रैले परमेश्‍वरलाई प्रेम गर्न थाल्नुका साथै उहाँमा साँचो विश्‍वास विकास गर्न थालेका छन्‌। बाइबल अध्ययनद्धारा तिनीहरूले “योग्यता [व्यावहारिक बुद्धि, NW] र विवेकको रक्षा” प्राप्त गरेका छन्‌, जसले तिनीहरूलाई यस्तो खतरनाक समयमा पनि ‘निष्फिक्रीसँग हिंड्‌न’ मदत गर्छ। (हितोपदेश ३:२१-२३) सबैभन्दा महत्त्वपूर्ण कुरा त, अहिले तिनीहरूसित भविष्यको लागि “स्थिर र दृढ दुवै” आशा छ। (हिब्रू ६:१९) तपाईं पनि साँचो विश्‍वास पाउन सक्नुहुन्छ र यी आशिष्‌हरूको आनन्द उठाउन सक्नुहुन्छ।

[पृष्ठ ६-मा भएको पेटी]

जवाफ चाहिएका अन्योलपूर्ण प्रश्‍नहरू

“चिकित्सा विद्यार्थीको हैसियतमा एउटा अस्पतालमा प्रशिक्षण लिइरहेको बेला मैले रोग-बिमार तथा विपत्तिहरूले गर्दा असल मानिसहरू पीडाले छट्‌पटाइरहेको देखें। यदि परमेश्‍वर हुनुहुन्छ भने, किन यी कुराहरू हुन्छन्‌? के धर्म भनेको मनोशान्ति प्राप्त गर्ने माध्यम मात्र हो?”—दक्षिण कोरियाका भूतपूर्व प्रेसबाइटेरियन।

“असाध्यै रक्सी पिउनुहुने मेरो बुबा स्वर्ग जानुभयो होला कि नरक भनेर म अक्सर सोच्ने गर्थें। मृतकहरू र नरक कुण्डसम्बन्धी विचारधारादेखि म निकै त्रसित थिएँ। मायालु परमेश्‍वरले कसरी कुनै व्यक्‍तिलाई अनन्त सास्ती भोग्न नरक पठाउन सक्नुहुन्छ भनेर मैले बुझ्नै सकिनँ।”— ब्राजिलका भूतपूर्व क्याथोलिक।

“पृथ्वी र मानिसजातिको लागि भविष्य कस्तो छ? कसरी मानिसजाति सधैंभरि बाँच्न सक्नेछन्‌? मानिसजातिले कसरी साँचो शान्ति प्राप्त गर्न सक्छन्‌?”—जर्मनीका भूतपूर्व क्याथोलिक।

“पुनर्जन्मको शिक्षा मलाई अर्थ न बर्थको लाग्यो। जनावरहरूले उपासना गर्दैनन्‌, त्यसैकारण कथङ्‌कदाचित्‌ आफ्नो पापको कारण जनावरको रूपमा तपाईंको पुनर्जन्म भयो भने, तपाईंले कसरी त्यो समस्या सुधार्ने र थप प्रगति गर्ने मौका पाउनुहुनेछ?”— दक्षिण अफ्रिकाका भूतपूर्व हिन्दू।

“म कन्फुसियस परिवारमा हुर्कें र हाम्रा पूर्वजहरूको शान्तिको लागि गरिने अनुष्ठानमा म भाग लिने गर्थें। बलिको टेबल मिलाउने काममा भाग लिंदा र दण्डवत्‌ गर्न निहुरिंदा, मृतक पूर्वजहरू आएर खाने कुरा खाए कि खाएनन्‌ होला र हामीले उनीहरूलाई दण्डवत्‌ गरेको देखे कि देखेनन्‌ होला भनेर म सोच्ने गर्थें।”— कोरियाका भूतपूर्व कन्फुसियन।

यी सबै व्यक्‍तिविशेषहरूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेपछि आफ्ना प्रश्‍नहरूको जवाफ पाए।