सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको मानव परिवारबाट सिक्ने

येशूको मानव परिवारबाट सिक्ने

येशूको मानव परिवारबाट सिक्ने

येशूको आफ्नै परिवारबारे तपाईंलाई के-कति थाह छ, जुन परिवारसित उहाँले बप्तिस्मा नलिउन्जेल आफ्नो पार्थिव जीवनको ३० वर्ष सँगै बिताउनुभयो? सुसमाचारका विवरणहरूले हामीलाई के बताउँछ? उहाँको परिवारबारे खोजीनिती गरेर हामी के सिक्न सक्छौं? जवाफहरूबाट तपाईंले लाभ उठाउन सक्नुहुन्छ।

के येशूको जन्म एकदमै धनाढ्य परिवारमा भएको थियो? उहाँका धर्मपिता, यूसुफ एक जना सिकर्मी थिए। सिकर्मी काम गर्न कडा शारीरिक परिश्रम गर्नुपर्थ्यो, जुन काममा काठको लागि रूखहरू ढाल्नु पनि समावेश थियो। येशू जन्मनुभएको त्यस्तै ४० दिनपछि येशूका मानव आमाबाबु यरूशलेम जाँदा तिनीहरूले व्यवस्थाअनुसार बलिदानरूपी भेटी चढाएका थिए। के तिनीहरूले व्यवस्थामा उल्लेख गरिएझैं कलिलो भेडाका साथै ढुकुर वा परेवा चढाए? अहँ, चढाएनन्‌। तिनीहरूसित यस्ता भेटीहरू चढाउन सक्ने औकात थिएनजस्तो देखिन्छ। यद्यपि, व्यवस्थामा गरिबहरूका लागि पनि प्रबन्ध गरिएको थियो। त्यस प्रबन्ध अनुरूप, यूसुफ र मरियमले “एक जोड़ ढुकुर कि परेवाका दुइवटा बच्चा” चढाए। सस्ता जनावरहरू छान्‍नुले तिनीहरू एक गरिब परिवारका थिए भन्‍ने कुरा देखायो।—लूका २:२२-२४; लेवी १२:६, ८.

सम्पूर्ण मानिसजातिको भावी राजा, येशू ख्रीष्ट आधारभूत आवश्‍यकताहरू पूरा गर्न कडा परिश्रम गर्नुपर्ने साधारण परिवारमा जन्मनुभएको थियो। हुर्केबढेपछि आफ्ना धर्मपिताजस्तै उहाँ पनि सिकर्मी हुनुभयो। (मत्ती १३:५५; मर्कूस ६:३) स्वर्गमा शक्‍तिशाली आत्मिक प्राणीको हैसियतमा “[येशू] धनी भएर पनि” उहाँ हाम्रो खातिर “दरिद्र हुनुभयो” भनी बाइबल बताउँछ। एक जना मानिसको हैसियतमा उहाँले आफूलाई होच्याउनुभयो र साधारण मानिसको परिवारमा हुर्कनुभयो। (२ कोरिन्थी ८:९; फिलिप्पी २:५-९; हिब्रू २:९) येशू सम्पन्‍न परिवारमा जन्मनुभएको थिएन, त्यसो हुँदो हो त कतिपय मानिसहरूलाई उहाँको विचारसित सहमत हुन सजिलो हुने थियो। उहाँको प्रतिष्ठा अथवा ओहदाद्वारा तिनीहरू अलमलिएनन्‌। उहाँका शिक्षा, मनमोहक गुणहरू र उहाँले गर्नुभएका अद्‌भुत कार्यहरूको लागि तिनीहरूले उहाँको कदर गर्न सक्थे। (मत्ती ७:२८, २९; ९:१९-३३; ११:२८, २९) साधारण परिवारमा येशूलाई जन्मिन दिनुभएकोमा हामी यहोवाको बुद्धि देख्न सक्छौं।

आउनुहोस्‌, अब हामी येशूको परिवारका सदस्यहरूबारे विचार गरौं र तिनीहरूबाट के सिक्न सक्छौं, हेरौं।

यूसुफ—एक जना धर्मी मानिस

“विवाह हुन अघि” आफ्नो मंगेतर गर्भवती भएको कुरा थाह पाउँदा, मरियमप्रतिको प्रेम र अनैतिकताको नाउँ लिंदा समेत तिनको मनमा जाग्ने घृणाको कारण यूसुफ बिलखबन्दमा परेको हुनुपर्छ। सम्पूर्ण अवस्थालाई हेर्दा भावी पति हुने तिनको अधिकार हनन भएजस्तो देखिन्थ्यो। तिनको समयमा, मगनी भइसकेकी स्त्रीलाई विवाह गरेसरह ठानिन्थ्यो। मरियम व्यभिचारिणीको रूपमा ढुंगाले हानिएर मारिनबाट जोगिऊन्‌ भनेर यूसुफले धेरै सोचिसकेपछि तिनीसित गुप्तमा सम्बन्ध विच्छेद गर्ने निर्णय गरे।—मत्ती १:१८, नयाँ संशोधित संस्करण; व्यवस्था २२:२३, २४.

त्यत्तिकैमा, सपनामा एउटा स्वर्गदूत यूसुफकहाँ देखापरे र यसो भने: “तिम्री पत्नी मरियमलाई तिमीकहाँ ल्याउनालाई नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाटकै हुनुहुन्छ। औ तिनले एउटा पुत्र जन्माउनेछन्‌, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” यस्तो ईश्‍वरीय निर्देशन पाइसकेपछि यूसुफले त्यसै अनुरूप कदम चाले र मरियमलाई आफ्नो घर ल्याए।—मत्ती १:२०-२४.

यस निर्णयसँगसँगै, उक्‍त धार्मिक तथा विश्‍वासी पुरुष, अगमवक्‍ता यशैयामार्फत यहोवाले भन्‍नुभएका कुराको पूर्तिमा सहभागी भए: “हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरो जन्माउनेछ, र उनको नाउँ इम्मानुएल राखिनेछ।” (यशैया ७:१४) यूसुफ पक्कै एक जना आध्यात्मिक पुरुष थिए, जसले मरियमको कोखबाट जन्मने जेठो छोरा आफ्नै छोरा नहुने कुरा थाह पाउँदा-पाउँदै पनि मसीहका धर्मपिता हुने सुअवसरको मूल्यांकन गरे।

मरियमले पुत्र नजन्माउन्जेल यूसुफले तिनीसँग सहवास गरेनन्‌। (मत्ती १:२५) भर्खरै विवाह बन्धनमा बाँधिएका दम्पतीलाई यौनसम्पर्क राख्नदेखि टाढा रहनु निकै चुनौतीपूर्ण भएको हुनुपर्छ, तरैपनि तिनीहरू उक्‍त छोराको बुबा को हो भन्‍ने सन्दर्भमा कुनै पनि किसिमको गलतफहमी भएको कदापि चाहँदैनथे। आत्मसंयमको कस्तो सर्वोत्कृष्ट उदाहरण! यूसुफले आफ्ना प्राकृतिक इच्छाहरूलाई भन्दा आध्यात्मिक मूल्य-मान्यताहरूलाई प्राथमिकता दिए।

धर्मपुत्र हुर्काउने सन्दर्भमा यूसुफले चार-चार पटक स्वर्गदूतीय निर्देशन पाए। तीनपल्ट दिइएका निर्देशनहरू त उक्‍त केटोलाई कहाँ हुर्काउने भन्‍ने सन्दर्भमा मात्र थियो। उक्‍त बच्चालाई बचाउनको लागि तुरुन्तै कदम चालिहाल्नु अत्यावश्‍यक थियो। सम्पूर्ण परिस्थितिहरूमा, सानो बच्चालाई पहिला मिश्र लगेर पछि फेरि इस्राएलमा ल्याउने विषयमा यूसुफले अलिकति पनि ढिलाइ गरेनन्‌। फलस्वरूप, हेरोदले बालकहरूको संहार गर्दा बालक येशू बचे। साथै, यूसुफको आज्ञाकारिताको कारण मसीहको सम्बन्धमा गरिएका भविष्यवाणीहरू पूरा भए।—मत्ती २:१३-२३.

यूसुफले येशूलाई आफ्नो जीवन धान्‍न व्यापार-व्यवसाय गर्न पनि सिकाए। यसरी, येशू “सिकर्मीका छोरा” भनेर मात्र होइन तर “सिकर्मी” भनेर पनि चिनिनुभयो। (मत्ती १३:५४; मर्कूस ६:३) येशू “सबै कुरामा हामीजस्तै परीक्षित” हुनुभयो भनेर प्रेरित पावलले लेखे। यसमा स्वभावतः परिवारलाई सहयोग गर्न कडा परिश्रम गर्नु पनि समावेश भएको हुनुपर्छ।—हिब्रू ४:१५.

अन्तमा, हामी साँचो उपासनाप्रति यूसुफको भक्‍तिको प्रमाण मसीही युनानी धर्मशास्त्रमा अन्तिम चोटि उल्लिखित घटनामा देख्न सक्छौं। निस्तार चाडको लागि यूसुफले आफ्नो परिवारलाई यरूशलेम लगे। त्यहाँ पुरुषहरू मात्र उपस्थित भए पुग्थ्यो तर यूसुफले “सालिन्दा” आफ्नो परिवारलाई यरूशलेम लैजाने गर्थे। तिनले ठूल्ठूला त्यागहरू गरे किनभने तिनीहरूले नासरतदेखि यरूशलेमसम्म पुग्न लगभग १०० किलोमिटर जति पैदल यात्रा गर्नुपर्थ्यो। यद्यपि, धर्मशास्त्रमा उल्लेख गरिएअनुसार उक्‍त चाडमा येशू समूहबाट छुट्टिनुभयो। व्यवस्थाका शिक्षकहरूको कुरा सुन्दै र सोद्धै बसिरहनुभएको अवस्थामा उहाँलाई मन्दिरमा भेटियो। केवल १२ वर्षको भए तापनि येशूले परमेश्‍वरको वचनको महान्‌ बुद्धि र ज्ञान प्रकट गर्नुभयो। यस घटनाबाट हामी येशूका आमाबाबुले उहाँलाई आध्यात्मिक झुकाव भएको केटो बनाउन एकदमै राम्ररी सिकाएको हुनुपर्छ भन्‍ने कुरा देख्छौं। (लूका २:४१-५०) यसको केही समयपछि यूसुफको मृत्यु भएजस्तो देखिन्छ किनभने यसपछिका धर्मशास्त्रीय विवरणहरूमा तिनीबारे चर्चा गरिएको छैन।

हो, यूसुफ एक जना धर्मी मानिस थिए, जसले आफ्नो परिवारको आध्यात्मिक अनि शारीरिक दुवै आवश्‍यकताको राम्रोसित देखभाल गरेका थिए। आज हाम्रो लागि परमेश्‍वरको इच्छा के हो भन्‍ने कुरा थाह पाएपछि, के तपाईं पनि यूसुफले जस्तै आध्यात्मिक कुराहरूलाई आफ्नो जीवनमा प्राथमिकता दिनुहुन्छ? (१ तिमोथी २:४, ५) परमेश्‍वरको वचनमा उल्लेख गरिएझैं के तपाईं खुसीसाथ परमेश्‍वरले भन्‍नुहुने कुराहरू पालन गरेर यूसुफले जस्तै अधीनता देखाउनुहुन्छ? अरूसित आध्यात्मिक विषयमा अर्थपूर्ण बातचित गर्न सकून्‌ भनेर के तपाईं आफ्ना छोराछोरीलाई सिकाउनुहुन्छ?

मरियम—परमेश्‍वरको एउटी निःस्वार्थ सेविका

येशूकी आमा, मरियम परमेश्‍वरको एउटी उत्कृष्ट सेविका थिइन्‌। तिनले बच्चा जन्माउनेछिन्‌ भनेर स्वर्गदूत गब्रिएलले घोषणा गर्दा मरियमले आश्‍चर्य प्रकट गरिन्‌। कुमारी भएकीले तिनको “विवाह भएको” वा कुनै पुरुषसित सहवास भएको थिएन। पवित्र आत्माको मदतद्वारा बच्चा जन्माउने कुरा थाह पाइसकेपछि तिनले यसो भन्दै नम्रपूर्वक सन्देश स्वीकारिन्‌: “ ‘हेर्नुहोस्‌, म परमप्रभुकी दासी, मलाई तपाईंको वचन अनुसार होस्‌।” (लूका १:३०-३८) तिनले आध्यात्मिक सुअवसरको यत्तिसम्म कदर गरिन्‌ कि तिनी आफ्नो निर्णयले निम्त्याउन सक्ने जस्तासुकै कठिनाइहरू पनि सहन इच्छुक थिइन्‌।

निस्सन्देह, उक्‍त कार्यभार स्वीकारेपछि एउटी महिलाको हैसियतमा तिनको सम्पूर्ण जीवनै परिवर्तन भयो। आफ्नो शुद्धीकरणको लागि यरूशलेम जाँदा शिमियोन नाउँ भएका एक जना वृद्ध भक्‍त मानिसले तिनलाई यसो भने: “तिम्रै प्राणलाई पनि एउटा तरवारले वारपार छेंड़नेछ।” (लूका २:२५-३५) स्पष्टतया, थुप्रै मानिसहरूले येशूलाई तिरस्कार गर्दा र अन्ततः शासनाको खम्बामा कीला ठोकेर झुन्ड्याइएको देख्दा मरियमले कस्तो महसुस गर्नेछिन्‌ भन्‍ने कुरालाई तिनले संकेत गरिरहेका थिए।

येशू बढ्‌दै जानुभएपछि मरियमले उहाँको जीवनमा घटेका घटनाहरूलाई “विचार गरेर मनमै राखिन्‌।” (लूका २:१९, ५१) यूसुफजस्तै तिनी पनि एउटी आध्यात्मिक व्यक्‍ति थिइन्‌ र भविष्यवाणीहरू पूर्ति गर्ने घटना तथा भनाइहरूको कदर गर्थिन्‌। गब्रिएल स्वर्गदूतले भनेका कुराले तिनको मनमा पक्कै गहिरो छाप पारेको हुनुपर्छ: “उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, औ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३२, ३३) हो, मसीहको मानव आमा हुने सुअवसरलाई तिनले गम्भीरतासाथ लिइन्‌।

चमत्कारपूर्ण ढंगमा गर्भवती भएकी आफ्नी नातेदार इलीशिबालाई भेट्‌दा पनि मरियमको आध्यात्मिकता पुनः प्रस्ट भयो। तिनलाई देखेर मरियमले यहोवाको प्रशंसा गर्नुका साथै परमेश्‍वरको वचनप्रतिको आफ्नो प्रेम प्रकट गरिन्‌। तिनले १ शमूएल अध्याय २ मा लिपिबद्ध हन्‍नाको प्रार्थनालाई संकेत गरिन्‌ र हिब्रू धर्मशास्त्रका अन्य पुस्तकहरूमा भनिएका विचारहरू पनि समावेश गरिन्‌। धर्मशास्त्रको यस्तो ज्ञानले गर्दा तिनी भक्‍तालु अनि ईश्‍वरभीरु आमा भन्‍न योग्यको थिइन्‌ भनी प्रमाणित गऱ्‍यो। आफ्नो छोरालाई आध्यात्मिक तवरमा लालनपालन गर्ने सन्दर्भमा तिनले यूसुफलाई सहयोग गर्ने थिइन्‌।—उत्पत्ति ३०:१३; १ शमूएल २:१-१०; मलाकी ३:१२; लूका १:४६-५५.

मसीहको रूपमा आफ्नो पुत्रमाथि मरियमको बलियो विश्‍वास थियो र त्यो विश्‍वास येशूको मृत्युपछि पनि कमजोर भएन। उहाँको पुनरुत्थान भएको लगत्तै प्रेरितहरूसँगै भेला भएर प्रार्थना गर्ने विश्‍वासी चेलाहरूमध्ये तिनी पनि थिइन्‌। (प्रेरित १:१३, १४) शासनाको खम्बामा आफ्नो प्रिय पुत्र छट्‌पटाउँदै मरेको देख्दा असह्‍य पीडा खप्नुपरे तापनि तिनले आफ्नो विश्‍वसनीयतालाई ढलपल हुन दिइनन्‌।

मरियमको जीवनबारे सिकेर तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ? जीवनमा त्यागहरू गर्नुपर्ने भए तापनि, के तपाईं परमेश्‍वरको सेवा गर्ने सुअवसरलाई स्वीकार्नुहुन्छ? आज यस सुअवसरको गम्भीरताबारे के तपाईं सजग हुनुहुन्छ? के तपाईं येशूले भविष्यवाणी गर्नुभएका कुरालाई मनमा राख्दै त्यसलाई आज भइरहेका कुरासित ‘विचार गरेर मनमा राखी’ तुलना गरेर हेर्नुहुन्छ? (मत्ती, अध्याय २४ र २५; मर्कूस, अध्याय १३; लूका, अध्याय २१) आफ्नो कुराकानीमा परमेश्‍वरको वचन चलाएर के तपाईं यसमा पोख्त हुने सन्दर्भमा मरियमको अनुकरण गर्नुहुन्छ? येशूको अनुयायी भएको कारण झेल्नुपर्ने मानसिक पीडाको बावजुद, के तपाईं येशूमा आफ्नो विश्‍वास कायम राख्नुहुनेछ?

येशूका भाइहरू—परिवर्तन सम्भव छ

येशूको मृत्यु नहोउन्जेल उहाँका भाइहरूले उहाँमा विश्‍वास गरेनन्‌ जस्तो देखिन्छ। शासनाको खम्बामा उहाँको मृत्यु भएको बेला तिनीहरू त्यहाँ उपस्थित नभएको कारण उहाँले आफ्नी आमाको जिम्मा प्रेरित यूहन्‍नालाई सुम्पनु कुनै संयोगको कुरा मात्र नहुन सक्छ। येशूको परिवारका सदस्यहरूले उहाँको आदर गर्दैनथे। एक चोटि त तिनीहरूले येशूको “मन ठेगानामा छैन” समेत भने। (मर्कूस ३:२१) येशूको परिवारमा बेग्लै विश्‍वास भएका सदस्यहरू भएजस्तै, आज ज-जसको परिवारमा बेग्लै विश्‍वास भएकाहरू छन्‌, उनीहरूले आफ्नो विश्‍वासको कारण नातेदारहरूबाट गिल्ला सहनुपर्दा महसुस गर्ने कुरा येशूले बुझ्नुहुन्छ भनेर ढुक्क हुन सक्छन्‌।

तथापि, येशूको पुनरुत्थानपछि उहाँका भाइहरूले उहाँमा विश्‍वास गर्न थालेको हुनुपर्छ। सा.यु. ३३ पेन्तिकोसअघि यरूशलेममा भेला भएको समूहमा तिनीहरू पनि थिए र प्रेरितहरूसँगसँगै व्यग्र प्रार्थना गरे। (प्रेरित १:१४) स्पष्टतः आफ्ना सौतेनी दाज्यूको पुनरुत्थानले तिनीहरूलाई उहाँका चेलाहरू हुने हदसम्म आफ्नो मन परिवर्तन गर्न उत्प्रेरित गऱ्‍यो। हाम्रो जस्तै विश्‍वास नभएका आफन्तहरूको सन्दर्भमा हामीले कहिल्यै आशा मार्नु हुँदैन।

येशूका सौतेनी भाइ, याकूब जसकहाँ उहाँ व्यक्‍तिगत रूपमा देखापर्नुभएको थियो, तिनलाई धर्मशास्त्रमा मसीही मण्डलीमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्‍तिको रूपमा प्रस्तुत गरिएको छ। आफ्नो विश्‍वासलाई कायम राख्न सल्लाह दिंदै तिनले आफ्ना सँगी मसीहीहरूलाई ईश्‍वर-प्रेरित पत्र लेखे। (प्रेरित १५:६-२९; १ कोरिन्थी १५:७; गलाती १:१८, १९; २:९; याकूब १:१) अर्का सौतेनी भाइ, यहूदाले सँगी विश्‍वासीहरूलाई विश्‍वासको निम्ति उत्तम लडन्त लड्‌न प्रोत्साहित गर्ने प्रेरित पत्र लेखे। (यहूदा १) सँगी मसीहीहरूलाई प्रभाव पार्न याकूब र यहूदा दुवैले येशूसितको हाडनाताको सम्बन्धलाई आफ्नो पत्रमा जोड दिएनन्‌ भन्‍ने कुरा उल्लेखनीय छ। नम्रताको सन्दर्भमा हामी तिनीहरूबाट कत्ति ठूलो पाठ सिक्न सक्छौं!

त्यसोभए, येशूको परिवारबाट हामीले सिक्न सक्ने केही कुराहरू के हुन्‌? साँच्चै, भक्‍तिको सन्दर्भमा सिक्न सकिने पाठहरू यी तरिकाहरूमा प्रकट गर्न सकिन्छ: (१) परमेश्‍वरले प्रकट गर्नुभएको इच्छाको अधीनमा विश्‍वासीपूर्वक बस्नुका साथै यसो गर्दा आइपर्ने सम्पूर्ण परीक्षाहरूको सामना गर्नुहोस्‌। (२) त्यागहरू गर्नुपरे तापनि आध्यात्मिक मूल्य-मान्यताहरूलाई प्राथमिकता दिनुहोस्‌। (३) धर्मशास्त्र अनुरूप आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनुहोस्‌। (४) आफ्नो जस्तै विश्‍वास नभएका परिवारका सदस्यहरूको सन्दर्भमा आशा नमार्नुहोस्‌। (५) मसीही मण्डलीमा नाउँ चलेका व्यक्‍तिहरूसित नजिकको सम्बन्ध छ भन्दैमा घमण्ड नगर्नुहोस्‌। हो, येशूको मानव परिवारबारे सिक्दा त्यसले हामीलाई उहाँको नजिक बनाउनुका साथै बाल्यवस्थामा येशूको लालनपालन गर्न यहोवाले साधारण परिवारलाई चुन्‍नुभएकोमा हाम्रो कृतज्ञता बढाउँछ।

[पृष्ठ ४, ५-मा भएका चित्रहरू]

यूसुफले मरियमलाई आफ्नी पत्नीको रूपमा ल्याए र मसीहसम्बन्धी भविष्यवाणीहरूको पूर्तिमा सहभागी भए

[पृष्ठ ६-मा भएका चित्रहरू]

यूसुफ र मरियमले आफ्ना छोराछोरीलाई आध्यात्मिक मूल्य-मान्यताका साथै काम गर्नुको महत्त्व सिकाए

[पृष्ठ ७-मा भएका चित्रहरू]

एउटा आध्यात्मिक परिवारमा हुर्के तापनि येशूका भाइहरूले उहाँको मृत्यु नहोउन्जेलसम्म उहाँमा विश्‍वास गरेनन्‌

[पृष्ठ ८-मा भएका चित्रहरू]

येशूका सौतेनी भाइहरू याकूब र यहूदाले आफ्ना सँगी मसीहीहरूलाई प्रोत्साहन दिए