सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी अझ बढी जागा हुनु जरुरी छ

हामी अझ बढी जागा हुनु जरुरी छ

हामी अझ बढी जागा हुनु जरुरी छ

“यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।”—मत्ती २४:४२.

१, २. हामी वर्तमान रीतिरिवाजको अन्तमा बाँचिरहेका छौं भनेर कुन कुराले देखाउँछ?

 “बीसौं शताब्दीलाई अरू कुराहरूभन्दा युद्धले सबैभन्दा बढी प्रभावित गरेको छ” भनी लेखक बिल एमोट बताउँछन्‌। मानव इतिहासको सबै काल युद्ध अनि हिंसाको बोझले लादिएको छ भनेर मानिलिंदै तिनी यसो भन्छन्‌: “यो बीसौं शताब्दी, अन्य शताब्दीको तुलनामा खासै भिन्‍न थिएन तर यसको दायरा अनि उग्रता भने फरक थियो। यो शताब्दीमा जस्तो पहिला कहिल्यै सम्पूर्ण विश्‍व विवादमा मुछिएको थिएन . . . अनि, मानौं यस पक्षलाई जोड दिनकै लागि एउटा होइन, दुइटा विश्‍वयुद्ध लडियो।”

“जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य” मुछिने युद्धहरूबारे येशू ख्रीष्टले भविष्यवाणी गर्नुभएको थियो। तथापि, ती त ‘येशूको आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिह्नको’ एउटा पक्ष मात्र हो। यो महान्‌ भविष्यवाणीमा येशूले अनिकाल, रूढी र भैंचालोबारे पनि उल्लेख गर्नुभयो। (मत्ती २४:३, ७, ८; लूका २१:६, ७, १०, ११) थुप्रै तरिकामा ती विपत्तिहरूको दायरा र उग्रता बढेको छ। खराबी व्याप्त छ भन्‍ने कुरा परमेश्‍वर र सँगी मानवप्रति मानिसको मनोभावमा झल्कन्छ। नैतिक पतन, अपराध अनि हिंसाको वृद्धि प्रत्यक्ष छ। मानिसहरूले परमेश्‍वरभन्दा धनलाई प्रेम गर्छन्‌ र सुखविलासमा चुर्लुम्मै डुबेका छन्‌। यी सबै कुराले हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं भनेर पुष्टि गर्छ।—२ तिमोथी ३:१-५.

३. “समयका चिह्नहरू[ले]” हामीलाई कस्तो प्रभाव पार्नुपर्छ?

मानव गतिविधिको खस्कँदो अवस्थालाई तपाईं कुन दृष्टिकोणले हेर्नुहुन्छ? वर्तमान अन्योलपूर्ण घटनाहरूप्रति थुप्रै मानिसहरू भावशून्य र कठोरसमेत भएका छन्‌। संसारका प्रभावशाली मानिस तथा बुद्धिजीवीहरूले “समयका चिह्नहरू” बुझेका छैनन्‌; नता धार्मिक नेताहरूले यस सन्दर्भमा उचित डोऱ्‍याइ नै दिएका छन्‌। (मत्ती १६:१-३) तर येशूले आफ्ना अनुयायीहरूलाई यस्तो सल्लाह दिनुभयो: “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।” (मत्ती २४:४२) येशूले यहाँ हामीलाई केही समयको लागि मात्र जागा हुन होइन तर ‘जागा रहिरहन’ प्रोत्साहन दिनुहुन्छ। जागा रहिरहन हामी सजग र चनाखो हुनै पर्छ। यसको लागि हामी आखिरी दिनमा बाँचिरहेका छौं, अहिले कठिन समय छ भनेर स्वीकार्नु मात्र पर्याप्त छैन। “सबै कुराको अन्त नजीकै आएको छ” भनेर हामीसित दृढ निश्‍चय हुनुपर्छ। (१ पत्रुस ४:७) तब मात्र हामी अझ अविलम्बी भावका साथ जागा हुनेछौं। यसर्थ, हामीले विचार गर्नुपर्ने प्रश्‍न हो: ‘अन्त नजिकै छ भन्‍ने हाम्रो निश्‍चयतालाई अझ सुदृढ बनाउन कुन कुराले मदत गर्नेछ?’

४, ५. (क) यो दुष्ट रीतिरिवाजको अन्त नजिकै छ भन्‍ने हाम्रो निश्‍चयतालाई कुन कुराले सुदृढ बनाउनेछ र किन? (ख) नूहको दिन र मानिसको पुत्रको उपस्थितिबीच एउटा समानता के हो?

मानव इतिहासमा एउटा पृथक घटना अर्थात्‌ नूहको दिनमा महा जलप्रलयअघिको अवस्थालाई विचार गर्नुहोस्‌। मानिसहरू साह्रै खराब भएको हुँदा यहोवा “मनमा साह्रै दुःखित हुनुभयो।” उहाँले यस्तो घोषणा गर्नुभयो: “मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु।” (उत्पत्ति ६:६, ७) अनि उहाँले ठीक त्यसै गर्नुभयो। त्यतिबेला र अहिलेको समयबीच समानता देखाउँदै येशूले यसो भन्‍नुभयो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन [“उपस्थिति,” NW] हुनेछ।”—मत्ती २४:३७.

जलप्रलय हुनुअघिको अवस्थामा जस्तै अहिलेको वर्तमान संसारबारे पनि यहोवा त्यस्तै महसुस गर्नुहुन्छ भनी अनुमान गर्नु तार्किक छ। उहाँले नूहको दिनको अभक्‍त संसारको अन्त गर्नुभएको हुँदा अहिलेको दुष्ट संसारलाई पनि अवश्‍य विनाश गर्नुहुनेछ। त्यो समय र हाम्रो समयबीचको समानता स्पष्टसित बुझेपछि वर्तमान संसारको अन्त नजिकै छ भन्‍ने हाम्रो निश्‍चयता अझ सुदृढ हुनुपर्ने हो। त्यसोभए, कस्ता समानताहरू छन्‌? कम्तीमा पाँचवटा छन्‌। पहिलो हो, आउँदै गरेको विनाशको चेतावनी कुनै अस्पष्ट ढंगमा दिइएको छैन।

“त्यस बेलासम्म नदेखिएका कुरा[बारे]” चेतावनी

६. नूहको दिनमा यहोवाले के गर्ने निर्णय गर्नुभयो?

नूहको दिनमा यहोवाले यस्तो घोषणा गर्नुभयो: “मेरो आत्माले मानिसमा सधैंको निम्ति बास गर्नेछैन, किनभने त्यो शरीर मात्र हो। तापनि त्यसको उमेर एक सय बीस वर्षको हुनेछ।” (उत्पत्ति ६:३) सा.यु.पू. २४९० मा जारी गरिएको यो ईश्‍वरीय उर्दी, त्यो अभक्‍त संसारको अन्त हुने सुरुवातको संकेत थियो। यसो सोच्नुहोस्‌ त, त्यतिबेला बाँचिरहेकाहरूका निम्ति यसले कस्तो अर्थ राख्थ्यो! जम्मा १२० वर्ष बाँकी थियो अनि यहोवाले “जीवनको सास हुने सबै प्राणीलाई . . . आकाशमनिबाट सर्वनाश पार्नलाई पृथ्वीमा जलप्रलय” ल्याउनुहुने थियो।—उत्पत्ति ६:१७.

७. (क) जलप्रलयबारे चेतावनी दिइँदा नूहले कस्तो प्रतिक्रिया देखाए? (ख) यस रीतिरिवाजको अन्तबारे चेतावनीहरू दिइँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

नूहले आउँदै गरेको विपत्तिबारे दशकौंअघि चेतावनी पाए अनि बचाउको लागि तयारी गर्न तिनले त्यो समयको सदुपयोग गरे। प्रेरित पावल यसो भन्छन्‌, “त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्‍वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे।” (हिब्रू ११:७) हामी नि? सन्‌ १९१४ मा यस रीतिरिवाजको अन्तिम दिन सुरु भएदेखि लगभग ९० वर्ष बितिसक्यो। हामी अवश्‍य “अन्तको समय[मा]” छौं। (दानियल १२:४) हामीलाई दिइएका चेतावनीहरूप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? “परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ” भनेर बाइबलले बताउँछ। (१ यूहन्‍ना २:१७) त्यसकारण उत्कट अविलम्बी भावका साथ यहोवाको इच्छा गर्ने समय अहिल्यै हो।

८, ९. (क) आधुनिक समयमा यहोवाले कस्ता चेतावनीहरू दिइरहनुभएको छ र यी कसरी घोषणा भइरहेका छन्‌?

आधुनिक समयमा बाइबलका निष्कपट विद्यार्थीहरूले यो रीतिरिवाजको विनाश हुनै लागेको छ भनेर प्रेरित धर्मशास्त्रबाट सिकेका छन्‌। के हामी यो विश्‍वास गर्छौं? येशूले स्पष्टसित के भन्‍नुभयो, ध्यान दिनुहोस्‌: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) परमेश्‍वरबाट नियुक्‍त न्यायकर्ताको रूपमा म आउनेछु अनि गोठालोले भेडा र बाख्रा छुट्टयाएझैं मानिसहरूलाई छुट्टयाउनेछु भनेर पनि येशूले बताउनुभयो। अयोग्य ठहरिएकाहरू “अनन्त दण्डमा, तर धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्‌।”—मत्ती २५:३१-३३, ४६.

यहोवाले “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” प्रबन्ध गर्नुहुने आध्यात्मिक भोजनद्वारा सामयिक सम्झौटाको रूपमा आफ्ना जनहरूलाई यी चेतावनीहरू दिइरहनुभएको छ। (मत्ती २४:४५-४७) यसबाहेक, हरेक जाति, कुल, भाषा र मानिसहरूलाई “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ” भनेर आग्रह गरिएको छ। (प्रकाश १४:६, ७) यहोवाका साक्षीहरूले पृथ्वीभरि प्रचार गरिरहेको राज्यसन्देशको एउटा अभिन्‍न भाग, परमेश्‍वरको राज्यले चाँडै मानव शासनलाई हटाउनेछ भन्‍ने चेतावनी हो। (दानियल २:४४) यो चेतावनीलाई हल्कासित लिनु हुँदैन। सर्वशक्‍तिमान्‌ परमेश्‍वरले आफ्नो वचन सधैं पूरा गर्नुहुन्छ। (यशैया ५५:१०, ११) उहाँले नूहको दिनमा आफ्नो वचन पूरा गर्नुभयो र हाम्रो समयमा पनि गर्नुहुनेछ।—२ पत्रुस ३:३-७.

यौन भ्रष्टता व्याप्त भएको छ

१०. नूहको दिनमा यौन भ्रष्टता कुन हदसम्म पुगेको थियो?

१० हाम्रो समय अर्को पक्षमा पनि नूहको दिनजस्तै छ। यहोवाले प्रथम पुरुष र स्त्रीलाई तिनीहरूको ईश्‍वरप्रदत्त यौन शक्‍तिलाई वैवाहिक प्रबन्धभित्र आदरणीय ढंगमा प्रयोग गर्दै मानिसहरू “पृथ्वी[मा] भरिंदै” जानू भन्‍ने आज्ञा दिनुभयो। (उत्पत्ति १:२८) नूहको दिनमा अनाज्ञाकारी स्वर्गदूतहरूले मानिससित अस्वाभाविक यौन सम्बन्ध राखेर मानिसजातिलाई बिटुलो बनाए। तिनीहरू पृथ्वीमा आए, मानव शरीर धारण गरे अनि सुन्दर स्त्रीहरूसित संसर्ग गरेर आधा मानव, आधा प्रेतरूपी नपीलहरू जन्माए। (उत्पत्ति ६:२, ४) यी कामुक स्वर्गदूतहरूको पापलाई सदोम र गमोराको भ्रष्टतासित तुलना गरिएको छ। (यहूदा ६, ७) फलस्वरूप त्यतिबेला यौन भ्रष्टता व्याप्त भयो।

११. कस्तो नैतिक अवस्थाले गर्दा हाम्रो समय नूहको दिनजस्तै छ?

११ आजको नैतिक अवस्था कस्तो छ? यी आखिरी दिनमा थुप्रैको जीवन यौनमा केन्द्रित छ। त्यस्ताहरूबारे पावल यसरी सचित्र वर्णन गर्छन्‌, “निर्दयी भएर लालचसाथ” धेरैले “अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा” सुम्पिदिएका छन्‌। (एफिसी ४:१९) अश्‍लील कुरा, विवाहपूर्व यौन सम्बन्ध, केटाकेटीहरूमाथि यौन दुर्व्यवहार र समलैंगिकता सामान्य भइसकेको छ। कसै-कसैले यौनजन्य रोग, टुक्रिएको पारिवारिक जीवन र अन्य सामाजिक समस्याहरूको रूपमा “उचित दण्ड” पाइसकेका छन्‌।—रोमी १:२६, २७.

१२. हामीले किन खराबीप्रति घृणा खेती गर्नुपर्छ?

१२ नूहको दिनमा यहोवाले महा जलप्रलय ल्याउनुभएर यौन-लिप्त संसारको अन्त गर्नुभयो। आज हाम्रो समय पनि नूहको दिनजस्तै भएको छ भन्‍ने कुरालाई हामीले कहिल्यै बिर्सनु हुँदैन। आउँदै गरेको “महा संकष्ट[ले]” पृथ्वीबाट ‘व्यभिचारीहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरूलाई’ हटाउनेछ। (मत्ती २४: २१; १ कोरिन्थी ६:९, १०; प्रकाश २१:८) खराबीप्रति घृणा खेती गर्नु अनि अनैतिकतातर्फ डोऱ्‍याउन सक्ने परिस्थितिहरूबाट टाढै बस्नु कत्ति जरुरी छ!—भजन ९७:१०; १ कोरिन्थी ६:१८.

पृथ्वी “उपद्रवले भरिएको” छ

१३. नूहको दिनमा पृथ्वी किन “उपद्रवले भरिएको” थियो?

१३ नूहको दिनको अर्को चिनारीलाई औंल्याउँदै बाइबल यसो भन्छ: “परमेश्‍वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।” (उत्पत्ति ६:११) उपद्रव अथवा हिंसा वास्तवमा कुनै नयाँ कुरा थिएन। आदमको छोरा कयिनले आफ्नो निर्दोष भाइको हत्या गऱ्‍यो। (उत्पत्ति ४:८) लेमेकले आफ्नो समयको हिंसात्मक मनोभाव झल्काउँदै रचना गरेको कवितामा कथित आत्म-सुरक्षाको लागि एक जना जवान मानिसको हत्या गरेकोमा घमण्ड गरेका छन्‌। (उत्पत्ति ४:२३, २४) नूहको दिनमा नयाँ कुरा भनेको हिंसाको मात्रा थियो। परमेश्‍वरका अनाज्ञाकारी स्वर्गदूतीय पुत्रहरूले पृथ्वीका स्त्रीहरूसित विवाह गरेर नपील सन्तानहरू जन्माएपछि पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो। न्यु वर्ल्ड ट्रान्सलेसन-अनुसार यी हिंस्रक दैत्यहरूलाई बुझाउने मौलिक हिब्रू शब्दको अर्थ, ‘ढाल्नेहरू’ अर्थात्‌ “अरूलाई ढल्न लगाउनेहरू” हो। (उत्पत्ति ६:४) फलस्वरूप पृथ्वी ‘उपद्रवले भरियो।’ (उत्पत्ति ६:१३) त्यस्तो वातावरणमा नूहले परिवार हुर्काउन कस्ता समस्याहरू सामना गरे होलान्‌, कल्पना गर्नुहोस्‌! यद्यपि, नूह ‘त्यस पुस्तामा यहोवाको सामु धर्मी’ ठहरिए।—उत्पत्ति ७:१.

१४. आज संसार कसरी “उपद्रवले भरिएको” छ?

१४ मानव इतिहासभरि नै हिंसा भइरहेको छ। तर नूहको दिनमा जस्तै हाम्रो समयमा पनि हिंसा पहिला कहिल्यै नपुगेको तहसम्म अकासिएको छ। घरेलु हिंसा, आतंकवादी कार्यहरू, जातिहत्याको अभियान, खासै कुनै कारणविना आमहत्याका समाचारहरू हामी निरन्तर सुनिरहन्छौं। अनि यसमाथि युद्धले गर्दा हुने रक्‍तपात त छँदैछ। पृथ्वी पुनः हिंसाले भरिएको छ। किन? यो बढ्‌नुको कारण के हो? यसको जवाफ नूहको दिनसित मिल्ने अर्को कुराले प्रकट गर्छ।

१५. (क) आखिरी दिनमा हिंसा बढ्‌नुको कारण के हो? (ख) हामी कस्तो परिणामबारे विश्‍वस्त हुन सक्छौं?

१५ सन्‌ १९१४ मा स्वर्गमा परमेश्‍वरको मसीही राज्य स्थापना हुँदा सिंहासनमा विराजमान राजा, येशू ख्रीष्टले एउटा ऐतिहासिक कदम चाल्नुभयो। शैतान अर्थात्‌ दियाबल र त्यसका प्रेतहरूलाई स्वर्गबाट निकालेर पृथ्वीमा फ्याँकियो। (प्रकाश १२:९-१२) जलप्रलयअघि अनाज्ञाकारी स्वर्गदूतहरूले स्वेच्छाले स्वर्गीय ओहदा त्यागे; तथापि, आधुनिक समयमा भने तिनीहरूलाई जबरजस्ती निकालियो। यसबाहेक, अब तिनीहरूसित अवैध शारीरिक सुखविलास उपभोग गर्न मानव रूप धारण गर्न सक्ने क्षमता छैन। त्यसकारण, सन्‍निकट न्यायको कारण विचलित, क्रोधित र त्रसित भएर तिनीहरूले नूहको दिनभन्दा अझ व्यापक तवरमा अमानवीय अपराध र हिंसा गर्न मानिस तथा संगठनहरूलाई उक्साइरहेका छन्‌। जलप्रलय हुनुअघि अनाज्ञाकारी स्वर्गदूत तथा तिनीहरूका सन्तानले पृथ्वीलाई खराबीले भरेपछि यहोवाले त्यो संसारको नामोनिसान मेटाउनुभयो। आज हाम्रो समयमा पनि उहाँले त्यस्तै गर्नुहुनेछ भन्‍ने कुरामा कुनै शंका नगर्नुहोस्‌! (भजन ३७:१०) तथापि, आज जागा रहिरहेकाहरूलाई तिनीहरूको छुटकारा नजिकै छ भनेर थाह छ।

सन्देश प्रचार भएको छ

१६, १७. नूहको दिन र हाम्रो दिनबीच चौथो समानता के हो?

१६ अहिलेको समय र जलप्रलय हुनुअघिको संसारको चौथो समानता नूहलाई अह्राइएको काममा देखिन्छ। नूहले बडेमाको जहाज निर्माण गरे। तिनी “प्रचारक” पनि थिए। (२ पत्रुस २:५) तिनले कस्तो सन्देश प्रचार गरे? स्पष्टतः नूहको प्रचारकार्यमा पश्‍चात्ताप गर्ने आग्रह तथा आउँदै गरेको विनाशको चेतावनी समावेश थियो। नूहको दिनका मानिसहरूले “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे” भनी येशूले भन्‍नुभयो।—मत्ती २४:३८, ३९.

१७ त्यसरी नै, यहोवाका साक्षीहरू लगनशील भई प्रचार गर्ने आफ्नो जिम्मेवारी पूरा गर्दा परमेश्‍वरको राज्यको सन्देश संसारभरि घोषणा भइरहेको छ। पृथ्वीको प्रायजसो भागमा मानिसहरूले आफ्नै भाषामा राज्यको सन्देश सुन्‍न र पढ्‌न सक्छन्‌। यहोवाको राज्यको घोषणा गर्ने प्रहरीधरहरा पत्रिका २,५०,००,००० प्रति वितरण हुन्छन्‌ र १४० भन्दा बढी भाषामा छापिन्छन्‌। निस्सन्देह, परमेश्‍वरको राज्यको सुसमाचार “सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार” गरिंदैछ। परमेश्‍वरलाई चित्त बुझ्ने गरी त्यो काम पूरा भएपछि अन्त अवश्‍य आउनेछ।—मत्ती २४:१४.

१८. हाम्रो प्रचारकार्यप्रति थुप्रैको प्रतिक्रियालाई नूहको दिनका अधिकांश मानिसहरूसित कसरी तुलना गर्न सकिन्छ?

१८ जलप्रलयअघिको आध्यात्मिक तथा नैतिक पतनलाई विचार गर्दा नूहको परिवार तिनीहरूका अविश्‍वासी छिमेकीहरूका लागि गिल्ला, दुर्व्यवहार तथा हाँसोको पात्र हुनुको कारण बुझ्न गाह्रो छैन। तर अन्त भने पक्कै आयो। त्यसरी नै, आखिरी दिनमा “गिल्ला गर्नेहरू गिल्ला” गर्दैछन्‌। “तर प्रभुको दिन चोर जस्तैगरी आउनेछ” भनी बाइबल बताउँछ। (२ पत्रुस ३:३, ४, १०) त्यो तोकिएको समयमा पक्कै आउनेछ। त्यसले ढिलो गर्नेछैन। (हबकूक २:३) हामी जागा रहनु कत्ति बुद्धिमानी हो!

थोरै मात्र बच्छन्‌

१९, २०. जलप्रलय र वर्तमान रीतिरिवाजको विनाशबीच हामी कस्तो समानता पाउन सक्छौं?

१९ नूहको दिन र हाम्रो समयबीचको समानता मानिसहरूको खराबी र तिनीहरूको विनाशमा मात्र सीमित छैन। जसरी जलप्रलयबाट बचेकाहरू थिए, त्यसरी नै यस रीतिरिवाजको अन्तबाट बच्नेहरू पनि हुनेछन्‌। जलप्रलयबाट बच्नेहरू त्यतिबेलाका सर्वसाधारणले जस्तो जीवन नबिताएका नम्र जनहरू थिए। तिनीहरूले ईश्‍वरीय चेतावनी पालन गरे र त्यतिबेलाको दुष्ट संसारबाट अलग रहे। “नूहमाथि चाहिं परमप्रभुको अनुग्रह भयो” भनी बाइबल बताउँछ। “आफ्नो पुस्तामा नूह धर्मी र निर्दोष मानिस थिए।” (उत्पत्ति ६:८, ९) सम्पूर्ण मानवजातिबाट एउटा परिवार, “थोरै प्राणी, अर्थात्‌ आठ जना पानीद्वारा बाँचेका थिए।” (१ पत्रुस ३:२०) अनि तिनीहरूलाई यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिंदै जाओ।”—उत्पत्ति ९:१.

२० “एक ठूलो भीड” “महा संकष्टबाट” आउनेछ भनी परमेश्‍वरको वचनले हामीलाई आश्‍वासन दिन्छ। (प्रकाश ७:९, १४) त्यो ठूलो भीडमा कति जना हुनेछन्‌? येशू आफैले यसो भन्‍नुभयो: “त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्‍याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१३, १४) अहिले पृथ्वीमा जीवित अरबौंको तुलनामा आउँदै गरेको महा संकष्टबाट बच्नेहरू थोरै हुनेछन्‌। तर तिनीहरूले जलप्रलयबाट बच्नेहरूले पाएको जस्तै सुअवसर पाउन सक्छन्‌। बच्नेहरूले केही समयको लागि सन्तान जन्माउन पाउनेछन्‌ र तिनीहरू नयाँ पार्थिव समाजको भाग हुनेछन्‌।—यशैया ६५:२३.

“जागा रहो”

२१, २२. (क) जलप्रलयको विवरण यसरी छलफल गर्दा तपाईंले कसरी लाभ उठाउनुभयो? (ख) सन्‌ २००४ को वार्षिक पद के हो अनि हामीले किन यसको सल्लाह पालन गर्नुपर्छ?

२१ अहिले हामीलाई त्यो जलप्रलय कहिले हो कहिले भएको पुरानो घटनाजस्तो लागे तापनि यसले दिने चेतावनी हामीले बेवास्ता गर्नु हुँदैन। (रोमी १५:४) नूहको दिन र हाम्रो समयबीचको समानताले हामीलाई अहिले भइरहेको घटनाप्रति अझ बढी सजग र दुष्टमाथि सजाय दिन येशू चोरजस्तै आउनुहुने कुराप्रति सतर्क गराउनुपर्छ।

२२ आज, येशू ख्रीष्टले एउटा विशाल आध्यात्मिक निर्माण कार्यलाई निर्देशित गरिरहनुभएको छ। साँचो उपासकहरूको सुरक्षा तथा बचाउको लागि एउटा जहाजरूपी आध्यात्मिक प्रमोदवन अस्तित्वमा छ। (२ कोरिन्थी १२:३, ४) महा संकष्टबाट बच्नको लागि हामी त्यो प्रमोदवनमा रहनै पर्छ। त्यो आध्यात्मिक प्रमोदवनलाई चारैतिरबाट शैतानको संसारले घेरेको छ अनि आध्यात्मिक तवरमा निदाउरो भएकाहरूलाई निलिहाल्न तयार छ। हामी ‘जागा रहनु’ अनि यहोवाको दिनको लागि तयार रहनु अपरिहार्य छ।—मत्ती २४:४२, ४४.

के तपाईंलाई सम्झना छ?

• येशूले आफ्नो आगमनबारे कस्तो सल्लाह दिनुभयो?

• येशूले आफ्नो उपस्थितिको समयलाई केसित तुलना गर्नुभएको छ?

• कुन तरिकाहरूमा हाम्रो समय नूहको दिनजस्तै छ?

• नूहको दिन र हाम्रो समयका समानताहरूबारे विचार गर्दा कसरी हाम्रो अविलम्बी भावलाई असर गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २००४ को लागि वार्षिक पद हुनेछ: “जागा रहो . . . तयार रहो।”—मत्ती २४:४२, ४४.

[पृष्ठ १५-मा भएको चित्र]

नूहले ईश्‍वरीय चेतावनी पालन गरे। के हामी पनि त्यस्तै प्रतिक्रिया देखाउँछौं?

[पृष्ठ १६ र १७-मा भएका चित्रहरू]

“जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको उपस्थिति हुनेछ”