के परमेश्वरले हाम्रो चिन्ता गर्नुहुन्छ?
के परमेश्वरले हाम्रो चिन्ता गर्नुहुन्छ?
परिवार, स्वास्थ्य, जागिरसित सम्बन्धित समस्याहरू वा अन्य बोझिला जिम्मेवारीहरूका कारण के तपाईं भावनात्मक बोझले दबिएको महसुस गर्नुहुन्छ? धेरैले यस्तै महसुस गर्छन्। अनि आज को पो अन्याय, अपराध र हिंसाबाट प्रभावित छैनन् र? वास्तवमा, परिस्थिति बाइबलमा बताइए जस्तै छ: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।” (रोमी ८:२२) त्यसैकारण मानिसहरूले यस्तो प्रश्न सोध्नु कुनै अचम्मलाग्दो कुरा होइन: ‘के परमेश्वरले चिन्ता गर्नुहुन्छ? के उहाँले हाम्रो मदत गर्नुहुनेछ?’
बुद्धिमान् राजा सुलेमानले परमेश्वरलाई प्रार्थनामा यसो भने: “तपाईं हरेक मानिसको मनलाई जान्नुहुन्छ।” परमेश्वरले हामीलाई जान्ने मात्र होइन तर व्यक्तिविशेषको हैसियतमा हाम्रो चिन्ता पनि गर्नुहुन्छ भन्ने कुरामा सुलेमानको पूर्ण भरोसा थियो। तिनले परमेश्वरलाई “स्वर्गमा सुन्नुहोस्” भनी बिन्ती गर्न सक्नुका साथै “आफ्नो दुःख वा कष्ट” परमेश्वरलाई पोखाउने प्रत्येक ईश्वरभीरु व्यक्तिको प्रार्थनाको जवाफ दिन आग्रह गर्न सके।—२ इतिहास ६:२९, ३०.
आज पनि परमेश्वर हाम्रो चिन्ता गर्नुहुन्छ र प्रार्थनामा उहाँलाई पुकार्न आह्वान गर्नुहुन्छ। (भजन ५०:१५) यहोवा, उहाँको इच्छा अनुरूप गरिएका हृदयस्पर्शी प्रार्थनाहरूको जवाफ दिने प्रतिज्ञा गर्नुहुन्छ। (भजन ५५:१६, २२; लूका ११:५-१३; २ कोरिन्थी ४:७) हो, यहोवा “आफ्नो प्रजा [अर्थात्] हरेक मानिसको प्रार्थना र अर्जबिन्ती” सुन्नुहुन्छ। तसर्थ, यदि हामीले आफ्नो भरोसा परमेश्वरमा राख्यौं, उहाँको मदतको लागि प्रार्थना गऱ्यौं र उहाँसित नजिक भयौं भने हामीले उहाँको मायालु रेखदेख र डोऱ्याइ महसुस गर्नेछौं। (हितोपदेश ३:५, ६) बाइबल लेखक याकूब हामीलाई यस्तो आश्वासन दिन्छन्: “परमेश्वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.