सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मिसनरी मनोभाव कायम राखेकोले प्रचुर मात्रामा आशिषित्‌

मिसनरी मनोभाव कायम राखेकोले प्रचुर मात्रामा आशिषित्‌

जीवनी

मिसनरी मनोभाव कायम राखेकोले प्रचुर मात्रामा आशिषित्‌

टम कूकको वृत्तान्तमा आधारित

गोलाबारुदको आवाजले दिउँसोको शान्त वातावरणलाई अचानक भंग गरिदियो। गोलीले हाम्रो बगैंचाका रूखहरू छेड्यो। यो के भइरहेको हो? के भएको रहेछ भनेर थाह पाउन धेरै समय कुर्नु परेन, तात्कालीन सरकार अपदस्थ गरिएको र युगान्डाको बागडोर अब जर्नेल इदी अमिनको हातमा थियो। यो १९७१ को कुरा थियो।

मेरी श्रीमती एन र म तुलनात्मक हिसाबले शान्त बेलाइत छोडेर अफ्रिकाको यस अस्थिर र खतरनाक भागमा किन बसाइँ सरेका थियौं? हुन त म स्वभावैले अलि आँटी छु तर यसको मुख्य कारण राज्यसेवामा जोसिला मेरा आमाबाबुको उदाहरण थियो किनभने उहाँहरूले गर्दा ममा मिसनरी मनोभाव पलायो।

मेरा आमाबाबुले पहिलो चोटि यहोवाका साक्षीहरूलाई भेट्‌नुभएको १९४६ को अगस्त महिनाको त्यो गर्मी दिन मलाई अझै पनि याद छ। उहाँहरूले घरको ढोका अगाडि उभिएर दुई जना पाहुनासित घण्टौं कुरा गर्नुभएको जस्तो लाग्यो। ती पाहुनाहरू फ्रेजर ब्राडबरी र मामी श्रेभ थुप्रै चोटि आए र त्यसपछिका महिनाहरूमा हाम्रो परिवारको जीवनमा नाटकीय परिवर्तन भयो।

मेरा आमाबाबुको साहसी उदाहरण

मेरा आमाबाबु थुप्रै सामुदायिक गतिविधिहरूमा सम्मिलित हुनुहुन्थ्यो। उदाहरणका लागि, उहाँहरूले बाइबल अध्ययन सुरु गर्नुभन्दा केही समयअघि हाम्रो घरको भित्ता विन्स्टन चर्चिलको फोटोले सजिएको थियो। युद्धपछिको राष्ट्रिय चुनावमा हाम्रो घर स्थानीय दक्षिणपन्थी पार्टी समितिको केन्द्रको रूपमा चलाइएको थियो। चर्च र समुदायका प्रभावशाली व्यक्‍तिहरूसित हाम्रो परिवारको राम्रो पहुँच थियो। त्यतिबेला म नौ वर्षको मात्र भए तापनि हामी यहोवाका साक्षीहरू हुन लागेको कुरा थाह पाएपछि हाम्रा नातेदार तीन छक परेको मैले पनि महसुस गरें।

हामीले संगत गरेका साक्षीहरूको तनमन र साहसको उदाहरणले मेरा आमाबाबुलाई प्रचारकार्यमा सक्रियतासाथ भाग लिन उत्प्रेरित गऱ्‍यो। चाँडै मेरो बुबाले हामी बसोबास गर्ने गाउँ स्पन्डनको मुख्य बजारको खुला ठाउँमा एम्पलिफायर राखेर भाषण दिन थाल्नुभयो र हामी बच्चाहरू चाहिं मानिसहरूले देख्ने ठाउँमा प्रहरीधरहराब्यूँझनुहोस्‌! लिएर उभिन्थ्यौं। मेरो स्कूलका साथीहरू मसित कुरा गर्न आउँदा जमिनले मलाई निलिदिए हुन्थ्यो जस्तो लाग्थ्यो भनेर मैले मानिलिनै पर्छ।

मेरा आमाबाबुको उदाहरणले गर्दा मेरी ठूली दिदी ड्याफ्ने पनि अग्रगामी गर्न प्रोत्साहित हुनुभयो। सन्‌ १९५५ मा उहाँले वाचटावर बाइबल स्कूल अफ गिलियडमा भाग लिनुभयो र जापानमा मिसनरीको रूपमा खटाइनुभयो। a तथापि, मेरी बहिनी जोइले यहोवाको सेवा गर्न छोडिन्‌।

त्यतिन्जेल मैले चित्र कोर्ने र शब्द तथा चित्रहरूको नकल उतार्ने विषय पढेर आफ्नो पढाइ पूरा गरें। त्यतिबेला मेरा सँगी विद्यार्थीहरू माझ जल्दोबल्दो विषय भनेको अनिवार्य सैन्य सेवा थियो। म आफ्नो धार्मिक विश्‍वासको कारण जान्‍नँ भन्दा तिनीहरूले मैले ठट्टा गरेको भन्ठाने। यस विषयले गर्दा मैले केही विद्यार्थीहरूसँग बाइबलसम्बन्धी थुप्रै छलफलहरू गर्ने मौका पाएँ। चाँडै, मैले सैन्य सेवा इन्कार गरेको कारण १२ महिने जेल सजाय पाएँ। आर्ट कलेजमा बाइबल सन्देशप्रति चासो देखाएकी एउटी विद्यार्थी पछि मेरी श्रीमती भइन्‌। तर म एनलाई नै, उनले कसरी सच्चाइ सिकिन्‌ भनी बताउन दिन्छु।

सच्चाइसित एनको सम्पर्क

“मेरो परिवारमा धार्मिक झुकाव थिएन र मलाई कुनै पनि धर्ममा बप्तिस्मा दिइएको थिएन। तर धर्मको विषयमा मेरो चासो थियो र मेरा साथीहरू जाने जुनसुकै चर्चमा पनि म जान्थें। टम र अर्का एक जना साक्षीले कलेजका अन्य विद्यार्थीहरूसित गरेको जीवन्त छलफल सुनेपछि बाइबलप्रति मेरो चासो जाग्यो। सैन्य सेवामा भाग लिन इन्कार गरेकोले टम र त्यो अर्को साक्षीलाई जेल पठाइँदा म छक्क परें।

“टम जेलमै हुनुहुँदा मैले उहाँसँग पत्राचार गरिरहें र बाइबलप्रति मेरो चासो झन्‌ गहिरो भयो। थप शिक्षा हासिल गर्न लण्डन गएपछि म्युरेल आलब्रेक्टसँग बाइबल अध्ययन गर्न म राजी भएँ। म्युरेलले इस्टोनियामा मिसनरीको रूपमा सेवा गरेकी थिइन्‌। तिनी र तिनकी आमा दुवै मेरो लागि प्रोत्साहनको ठूलो स्रोत थिए। केही हप्तामै मैले सभाहरू धाउन थालें र भिक्टोरिया स्टेसन बाहिर उभिएर प्रहरीधरहराब्यूँझनुहोस्‌! वितरण गर्न थालें।

“म दक्षिण लण्डनको साउथवार्क मण्डलीमा जान थालें। त्यहाँका आध्यात्मिक भाइबहिनीहरू विभिन्‍न राष्ट्रका थिए र तिनीहरूमध्ये धेरैजसो भौतिक रूपमा कमजोर थिए। म आगन्तुक भए तापनि तिनीहरूले मलाई एक जना परिवारको सदस्यजस्तो व्यवहार गरे। त्यो मण्डलीको प्रेमले गर्दा नै म सच्चाइ यही हो भनेर विश्‍वस्त भएँ र १९६० मा बप्तिस्मा लिएँ।”

एउटै लक्ष्य—भिन्‍न परिस्थिति

सन्‌ १९६० मा एन र म विवाह बन्धनमा बाँधियौं अनि मिसनरी सेवामा भाग लिने हाम्रो लक्ष्य थियो। तर हाम्रो बच्चा हुन लागेको कुरा थाह पाएपछि हाम्रो परिस्थिति परिवर्तन भयो। हाम्री छोरी सारा जन्मेपछि पनि एन र म अझै राज्य प्रकाशकहरूको आवश्‍यकता धेरै भएको देशमा सेवा गर्न चाहन्थ्यौं। मैले विभिन्‍न देशमा जागिरको लागि आवेदन दिएँ र बल्ल मे १९६६ मा युगान्डाको शिक्षा मन्त्रालयबाट मैले जागिर पाएको पत्र पाएँ। तर यतिबेलासम्ममा एन फेरि गर्भवती भइसकेकी थिइन्‌। कसै-कसैले यस्तो बेला हामी बसाइँ सर्नु बुद्धिमानी हो कि होइन भनेर शंका व्यक्‍त गरे। हामीले आफ्नो डाक्टरसँग परामर्श लियौं र तिनले यसो भने: “तपाईं जानै चाहनुहुन्छ भने, तपाईंकी श्रीमती गर्भवती भएको सात महिना पुग्नुअघि नै गइहाल्नुपर्छ।” त्यसैले हामी तुरुन्तै युगान्डातिर लाग्यौं। त्यसैकारण हाम्रा आमाबाबुले हाम्री कान्छी छोरी, रेचेललाई ऊ दुई वर्षकी भएपछि मात्र देख्न पाउनुभयो। अहिले हामी आफै बाजेबज्यै भइसकेको हुँदा हाम्रा प्यारा आमाबाबुले देखाउनुभएको आत्मत्यागी मनोभावको पूर्णतया मूल्यांकन गर्छौं।

सन्‌ १९६६ मा युगान्डामा पाइला टेक्दा रोमाञ्चकारी अनि चुनौतीपूर्ण पनि थियो। हवाईजहाजबाट निस्कने बित्तिकै त्यहाँ थरीथरीका रंगहरू देखेर हामी मुग्ध भयौं। ती कत्ति चहकिला थिए। हाम्रो पहिलो घर इगाङ्‌गा भन्‍ने सानो सहर नजिकै थियो र जिन्जाभन्दा ५० किलोमिटर टाढा नाइल नदीको स्रोतमै यो सहर थियो। हाम्रो घरबाट सबैभन्दा नजिक बस्ने साक्षीहरू जिन्जामा रहेका पृथक समूह थिए। मिसनरीहरू गिल्बर्ट र जोआन वल्टर्स अनि स्टिफन र बार्बरा हार्डीले त्यस समूहको रेखदेख गर्थे। त्यस समूहलाई अझ राम्ररी सघाउनको लागि मैले जिन्जामा सरुवा हुन आवेदन दिएँ। रेचेल जन्मेको केही समयमै हामी जिन्जा सऱ्‍यौं। त्यहाँ हामीले विश्‍वासी साक्षीहरूको सानो समूहलाई सेवा गर्ने सुअवसर पायौं र वृद्धि हुँदै गइरहेको यो समूह नै युगान्डाको दोस्रो मण्डली भयो।

विदेशी भूमिमा परिवारको रूपमा सेवा गर्दै

एन र मलाई हामीले आफ्नो परिवारलाई हुर्काउन योभन्दा राम्रो वातावरण अर्को हुन नसक्ने महसुस भयो। हामीले विभिन्‍न देशका मिसनरीहरूसँगै सेवा गर्ने र बढ्‌दै गइरहेको मण्डलीलाई सहयोग पुऱ्‍याउने सुअवसर पायौं। हामी युगान्डाका भाइबहिनीहरूको संगतिमा रमायौं जो अक्सर हाम्रो घरमा आउँथे। स्टानले र इशिनाला माकुबा हाम्रो लागि विशेष गरी प्रोत्साहनदायी थिए।

तर हामीलाई भेट्‌न आउने, भाइहरू मात्र कहाँ हुन्‌ र, वरपर किसिम-किसिमका जंगली जनावरहरू पनि थिए। राती जलगैंडा नाइल नदीबाट निस्केर हाम्रो घरसम्मै आइपुग्थ्यो। हाम्रो बगैंचामा छ मिटर लामो अजिङ्‌गर आएर बसेको मलाई अझै झलझली याद आउँछ। कहिलेकाहीं हामी वन्यजन्तु आरक्षण केन्द्रहरूमा जान्थ्यौं जहाँ सिंह र अन्य जंगली जनावरहरू खुल्लमखुल्ला डुल्थे।

सेवकाईमा जाँदा बच्चालाई राखेर गुडाउने क्यारेज, देखेर त्यहाँका मानिसहरू असाध्यै छक्क परेर ट्‌वाल्ल हेर्थे। हामी घर-घर जाँदा अक्सर एक हूल केटाकेटीहरू हाम्रो पछि लाग्थे। मानिसहरूले हामीलाई आदरपूर्वक नियाल्थे अनि गोरो बच्चालाई छुन्थे। साक्षी दिनु अत्यन्तै रमणीय कुरा थियो किनभने मानिसहरू असाध्यै भलादमी थिए। बाइबल अध्ययन सुरु गर्न एकदमै सजिलो भएकोले हामीलाई सबै मानिसहरूले सत्य स्वीकार्नेछन्‌ जस्तो लाग्थ्यो। तथापि, थुप्रैलाई गैरशास्त्रीय परम्पराहरू त्याग्न गाह्रो भयो। तर धेरैले बाइबलको उच्च नैतिक स्तर स्वीकारे र मण्डलीको संख्यामा वृद्धि भयो। सन्‌ १९६८ मा जिन्जामा आयोजित प्रथम क्षेत्रीय सम्मेलन एउटा कोसेढुङ्‌गो साबित भयो। हामीले अध्ययन गरेकाहरूमध्ये कसै-कसैको नाइल नदीमा लिएको बप्तिस्मा हाम्रो लागि सधैं विशेष सम्झना हुनेछ। तर चाँडै हाम्रो शान्ति भंग हुनेवाला थियो।

प्रतिबन्ध—विश्‍वास र चतुऱ्‍याँइको जाँच

सन्‌ १९७१ मा जर्नेल इदी अमिनले आफ्नो हातमा शक्‍ति लिए। जिन्जामा अशान्ति मच्चिएको थियो र यति नै बेला हो, हामी बगैंचामा बसेर चियाको मजा लिइरहँदा माथि वर्णन गरेको घटना घटेको। त्यसको दुई वर्षमा एसियाली मूलको ठूलो समुदायलाई देश निकाला गरियो। थुप्रै विदेशीहरूले देश छोड्‌ने निर्णय गरे र स्कूल तथा स्वास्थ्य सेवा अत्यन्तै प्रभावित भयो। त्यसपछि यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लगाइएको कटु घोषणा गरियो। हाम्रो सुरक्षालाई ध्यान दिंदै शिक्षा मन्त्रालयले हामीलाई राजधानी सहर काम्पालामा साऱ्‍यो। यो सराइ दुई तरिकामा लाभकारी थियो। काम्पालामा मानिसहरूले हामीलाई त्यति चिन्दैनथे र त्यसैले यताउता गर्न अलि धेरै स्वतन्त्रता पायौं। साथै मण्डली तथा क्षेत्र सेवकाईमा पनि गर्नुपर्ने काम धेरै थियो।

ब्रायन र मेरियन वलेस र तिनीहरूका दुई जना छोराछोरीको स्थिति पनि हाम्रोजस्तै थियो र तिनीहरूले पनि युगान्डामै रहने निर्णय गरे। यो कठिन समयको दौडान काम्पाला मण्डलीमा सँगै सेवा गर्दा हामीले तिनीहरूको संगतिबाट धेरै आनन्द उठायौं। प्रतिबन्ध लगाइएको अवस्थामा पनि सेवा गरिरहेका अन्य देशका भाइहरूको विवरण हाम्रो लागि अब प्रोत्साहनको विशेष स्रोत भयो। हामी ससाना समूहमा भेट्‌थ्यौं र महिनाको एक चोटि चाहिं एन्टेबे बोटानिकल गार्डेनमा सामाजिक भेटघाट गरे जस्तै गरी ठूलो समूहमा भेला हुन्थ्यौं। हाम्रा छोरीहरूले यो तरिका एकदमै मन पराउँथे।

प्रचारकार्यमा भाग लिंदा हामी एकदमै सतर्क हुनुपर्थ्यो। गोरो छाला भएका हामीहरू युगान्डेलीहरूको घरमा जाँदा त एकदम छर्लङ्‌गै हुन्थ्यो। त्यसैले पसल, अपार्टमेन्ट भवन र केही कलेजहरूलाई हाम्रो इलाका बनायौं। मैले पसलहरूमा चलाएको एउटा तरिका चाहिं, पसलमा छैन भनी थाह भएका कुराहरू जस्तै—चिनी वा चामल छ कि भनेर सोध्थें। पसलेले देशको स्थितिबारे दुःख व्यक्‍त गऱ्‍यो भने म परमेश्‍वरको राज्य सन्देशबारे बताउँथें। यो तरिका प्रभावकारी साबित भयो। कहिलेकाहीं त पसलबाट निस्कँदा मैले पुनःभेट मात्र होइन तर एकदमै पाउन गाह्रो चीज पनि अलिकति पाउँथें।

यतिन्जेल हाम्रो वरपर सबैतिर हिंसा मच्चिरहेको थियो। युगान्डा र बेलाइतको सम्बन्ध अझै बिग्रँदै गएपछि अधिकारीहरूले मेरो सम्झौतापत्र नवीकरण गरिदिएनन्‌। त्यसैले युगान्डामा आठ वर्ष बिताएपछि १९७४ मा हाम्रा भाइहरूलाई बिदाइ गर्ने हाम्रो पालो थियो। यद्यपि हाम्रो मिसनरी मनोभाव भने हराएन।

न्यु गिनियातर्फ

जनवरी १९७५ मा हामीले पापुवा न्यु गिनियामा काम गर्ने मौकाको फाइदा उठायौं। यसरी प्रशान्त महासागरको यस भेगमा सेवा गर्दै आनन्दमय आठ वर्ष बितायौं। भाइहरूसँग र सेवकाईमा हाम्रो जीवन अर्थपूर्ण र इनामदायी थियो।

हाम्रो परिवारले पापुवा न्यु गिनियाको बसाइ, नाटकहरू अर्थात्‌ बाइबल नाटकहरूको समयको रूपमा सम्झन्छ। हरेक वर्ष हामी जिल्ला अधिवेशनको लागि नाटकहरूको अभ्यासमा व्यस्त हुन्थ्यौं र कस्तो रमाइलो हुन्थ्यो! हामीले आध्यात्मिक झुकाव भएका थुप्रै परिवारहरूसँग संगतिको आनन्द उठायौं र यसले हाम्रा छोरीहरूमा सकारात्मक प्रभाव पाऱ्‍यो। हाम्री जेठी छोरी साराले विशेष अग्रगामी रे स्मिथसँग विवाह गरिन्‌ र तिनीहरूले सँगै विशेष अग्रगामीको रूपमा इरियन जायाको (अहिले पापुआ, इन्डोनेसियाको एउटा प्रान्त) सीमा नजिकै सेवा गरे। तिनीहरूको घर स्थानीय गाउँको एउटा झुप्रो थियो र सारा भन्छिन्‌ त्यहाँ बिताएको समय तिनको लागि उत्कृष्ट प्रशिक्षण भयो।

बदलिंदो परिस्थितिअनुसार काँटछाँट गर्दै

यतिबेलासम्म मेरा आमाबाबुलाई थप हेरचाहको खाँचो परिसकेको थियो। हामी बेलाइतमा फर्कनुको सट्टा उहाँहरू नै हामीसँग बस्न आउन राजी हुनुभयो र हामी सबै १९८३ मा अस्ट्रेलिया सऱ्‍यौं। उहाँहरूले मेरी दिदी ड्याफ्नेसँग पनि समय बिताउनुभयो जो त्यतिबेला जापानमै हुनुहुन्थ्यो। मेरा आमाबाबुको मृत्युपछि एन र मैले नियमित अग्रगामी सेवामा प्रवेश गर्ने निर्णय गऱ्‍यौं र यसपछि मैले अलि चुनौतीपूर्ण ठानेको सुअवसर पाएँ।

अग्रगामी कार्य थालेको केही समयमै हामीलाई क्षेत्रीय कार्यमा सेवा गर्न निमन्त्रणा दिइयो। बाल्यकालदेखि नै मलाई क्षेत्रीय निरीक्षकको भ्रमण एउटा विशेष सुअवसर लाग्थ्यो। अब म आफै क्षेत्रीय निरीक्षक भएँ। हामीले हाम्रो जीवनमा अहिलेसम्म पूरा गरेका कार्यभारहरूमध्ये क्षेत्रीय कार्य सबैभन्दा चुनौतीपूर्ण साबित भयो तर थुप्रै चोटि यहोवाले हामीलाई पहिला कहिल्यै अनुभव नगरेको तरिकामा मदत गर्नुभयो।

सन्‌ १९९० मा भाइ थियोडर जारस, जोन भ्रमणको लागि अस्ट्रेलियामा आउनुभएको बेला हामीले उहाँलाई विदेशी भूमिमा पूर्ण-समय कार्यको लागि हामी बूढा भइसक्यौं कि भनेर सोध्यौं। उहाँले भन्‍नुभयो: “सोलोमन टापुहरूबारे के विचार छ?” त्यसैले अन्ततः हामी दुवै पचास वर्ष नाघिसकेको भए तापनि हाम्रो पहिलो औपचारिक मिसनरी असाइनमेन्टमा गयौं।

“ह्‍यापी आइल्स”-मा सेवा गर्दै

सोलोमन टापुहरू ह्‍यापी आइल्स अर्थात्‌ आनन्दका टापुहरू भनेर चिनिन्छ र साँच्चै नै विगतको दशकदेखि हाम्रो यहाँको सेवा आनन्दमय साबित भएको छ। जिल्ला निरीक्षकको हैसियतमा सोलोमन टापुहरूमा सेवा गर्दा एन र मैले नम्र भाइबहिनीहरूलाई भेट्यौं। हामीप्रति देखाइएको आतिथ्यले हाम्रो हृदय छोयो र मैले सोलोमन टापुको पिजिन भाषामा कुरा बुझाउने प्रयास गर्दा सबै जनाले धैर्यपूर्वक सुने। यो भाषा संसारमा भएका भाषाहरूमध्ये सायद सबैभन्दा कम शब्दहरू भएको भाषा होला।

हामी सोलोमन टापुहरूमा पुगेको केही समयमै विरोधीहरूले हाम्रो सम्मेलनभवनको प्रयोगमा हस्तक्षेप गर्न खोजे। होनियारामा भएको हाम्रो नयाँ सम्मेलनभवनले तिनीहरूको जग्गा मिच्यो भनेर एंगलिकन चर्चले यहोवाका साक्षीहरू विरुद्ध मुद्दा हाले। सरकारले तिनीहरूको निर्णयलाई सही ठहऱ्‍यायो र हामीले उच्च अदालतमा यस निर्णय विरुद्ध अपिल गऱ्‍यौं। त्यस अपिलको निर्णयले हामीले यो नयाँ १,२०० क्षमता भएको सम्मेलनभवन भत्काउनुपर्छ कि पर्दैन भनेर निर्धारण गर्ने थियो।

त्यो मुद्दा एक हप्ताभरि अदालतमा चल्यो। हामी विरुद्ध बहस प्रस्तुत गर्दा विपक्षी वकिल अत्यन्तै घमण्डी देखिन्थे। त्यसपछि हाम्रा वकिल, न्युजील्याण्डका भाइ वारेन क्याथकार्टले उत्तिकै जोडदार ढंगमा एक एक गरी आफ्नो तर्क प्रस्तुत गर्नुभयो र विपक्षीको बहसलाई बेकार गरिदिनुभयो। शुक्रबारसम्ममा अदालतमा चलिरहेको चाखलाग्दो मुद्दाबारे पूरै हल्ला फिंजिसकेको थियो र चर्चका गण्यमान्य व्यक्‍तिहरू, सरकारी कर्मचारीहरू र हाम्रा मसीही भाइहरूले अदालत खचाखच भरिएको थियो। अदालतको आधिकारिक तालिकामा भएको एउटा गल्ती मलाई अझै सम्झना छ। त्यहाँ यसो भनिएको थियो: “सोलोमन टापुहरूको सरकार र मेलानिसिया चर्च विरुद्ध यहोवा।” हामीले मुद्दा जित्यौं।

तथापि, ह्‍यापी आइल्सले केही समयको पाएको शान्ति लामो समयको लागि रहेन। फेरि एक चोटि सेनाले सरकार अपदस्थ गरेको कारण एन र मैले गोलमाल र हिंसाको सामना गर्नुपऱ्‍यो। जातीय बेमेलको कारण गृहयुद्ध भयो। जून ५, २००० मा सत्ता पल्टियो र राजधानी सेनाहरूको अधीनमा रह्‍यो। हप्तौंसम्म हाम्रो राज्यभवन घरबार गुमाउनुपरेकाहरूका लागि आश्रयस्थल भयो। विद्रोही जातीय समूहका हाम्रा मसीही भाइहरू सम्मेलनभवनको एउटै छतमुनि शान्तसँग बसिरहेको देखेर अधिकारीहरू छक्क परे। यो कस्तो असल साक्षी साबित भयो!

सेनाहरूले पनि यहोवाका साक्षीहरूको तटस्थताको कदर गरे। यसले गर्दा हामीले एक जना कमान्डरलाई हाम्रो साहित्य तथा अन्य सामानहरू बोकेको ट्रक विद्रोही सेनाहरूको सीमा पार गरेर सम्पर्कमा आउन नसकेका भाइहरूकहाँ पुऱ्‍याउन आग्रह गर्न सक्यौं। हामीसँग महिनौं अलग्गिएर बस्नुपरेका भाइहरूलाई देख्दा आँखा नरसाएको त कोही पनि थिएन जस्तो लाग्छ।

धन्यवादी हुनुपर्ने थुप्रै कारण

यहोवाको सेवामा बिताएको हाम्रो जीवनलाई फर्केर हेर्दा हामीले धन्यवादी हुने थुप्रै कारण पाएका छौं। आमाबाबुको हैसियतमा हामीले हाम्रा दुवै छोरी र ज्वाइँहरू, रे र जोनले यहोवाको सेवा गरिरहेको हेर्ने इनाम पाएका छौं। हाम्रो मिसनरी कार्यभारमा तिनीहरू ठूलो सहयोग साबित भएका छन्‌।

विगत १२ वर्षदेखि एन र मैले सोलोमन टापुहरूको शाखा कार्यालयमा सेवा गर्ने सुअवसर पाएका छौं र यस समयावधिमा हामीले सोलोमन टापुहरूमा राज्य उद्‌घोषकहरूको संख्या दोब्बर भएर १,८०० पुगेको देखेका छौं। हालै मैले न्यु योर्क, प्याटर्सनमा शाखा समितिका सदस्यहरूको लागि स्कूलमा भाग लिने थप सुअवसर पाएँ। साँच्चै, मिसनरी मनोभाव कायम राखेको हुँदा हामीले थुप्रै आशिष्‌हरू सहितको अर्थपूर्ण जीवन बिताएका छौं।

[फुटनोट]

a वाचटावर, जनवरी १५, १९७७ मा “हामीले आलेटाले गरेनौं” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

हाम्रो विवाहको दिन, १९६०

[पृष्ठ २४-मा भएको चित्र]

युगान्डामा स्टान्ले र एसिन्ला माकुबा हाम्रो परिवारको लागि प्रोत्साहनको स्रोत थिए

[पृष्ठ २४-मा भएको चित्र]

सारा छिमेकीको झुप्रोतिर जाँदै

[पृष्ठ २५-मा भएको चित्र]

सोलोमन टापुका मानिसहरूलाई सिकाउनको लागि मैले नक्साहरू कोरें

[पृष्ठ २५-मा भएको चित्र]

सोलोमन टापुहरूको पृथक मण्डलीहरूसित भेट गर्दै

[पृष्ठ २६-मा भएको चित्र]

आज हाम्रो परिवार