सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युद्धले आफ्नो अनुहार फेरेको छ

युद्धले आफ्नो अनुहार फेरेको छ

युद्धले आफ्नो अनुहार फेरेको छ

युद्ध सधै बर्बरतापूर्ण हुन्छ। यसले सधैं सेनाहरूको जीवन तहसनहस गरेको छ र सर्वसाधारणको लागि पीडाको स्रोत भएको छ। तर हालैका वर्षहरूमा युद्धले आफ्नो अनुहार फेरेको छ। कसरी?

आजका युद्धहरू मुख्यतः गृहयुद्ध हुन्‌—एउटै देशका विरोधी समूहबीच युद्ध। अनि गृहयुद्धहरू अक्सर लामो समयसम्म चल्छ र यसले सर्वसाधारणलाई आतंकित बनाउँछ अनि राष्ट्रहरूबीचको लडाइँले भन्दा यस्तो मुठभेडले देशमा अझ व्यापक तवरमा क्षति पुऱ्‍याउँछ। “गृहयुद्धहरू क्रूर, रक्‍तपातपूर्ण हुन्छन्‌ जसले गर्दा हजारौंको ज्यान जान्छ, हजारौं यौन आक्रमणको सिकार हुन्छन्‌, आफ्नो घरबार छोडेर अन्यत्रै जान बाध्य हुन्छन्‌ र कुनै-कुनै अचाक्ली अवस्थामा जातीय संहारसमेत हुन्छ” भनी स्पेनी इतिहासकार हुल्यान कासोनोभा बताउँछन्‌। साँच्चै, छिमेकीको विरुद्ध छिमेकीले अत्याचार मच्चाउँदा त्यो घाउ निको हुन शताब्दीयौं लाग्न सक्छ।

शीत युद्धको अन्त भएदेखि तुलनात्मक हिसाबले हेर्ने हो भने, विभिन्‍न राष्ट्रका सेनाहरूबीच कमै युद्धहरू लडिएका छन्‌। “सन्‌ १९९०-२००० बीच भएका तीनवटा ठूला सशस्त्र युद्धबाहेक अन्य सबै आन्तरिक थियो,” भनी स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट रिपोर्ट गर्छ (एस आइ पि आर आइ)।

हो, आन्तरिक कलहहरू खासै खतरनाक नदेखिएला र अन्तरराष्ट्रिय सञ्चार माध्यमले पनि त्यति महत्त्व नदेला तर त्यस्तो दुश्‍मनीले पुऱ्‍याउने पीडा र विनाश त्यत्तिकै विध्वंसकारी हुन्छ। आन्तरिक मुठभेडमा लाखौं मानिसले आफ्नो ज्यान गुमाएका छन्‌। साँच्चै भन्‍ने हो भने, गत दुई दशकमा तीनवटा युद्धग्रस्त देश अफगानिस्तान, प्रजातान्त्रिक गणतन्त्र कंगो र सुडानमा मात्र झन्डै ५० लाख मानिसहरूको ज्यान गयो। बाल्कन क्षेत्रमा भीषण जातीय झगडाले झन्डै २,५०,००० मानिसहरूको मृत्यु भयो र कोलम्बियामा लम्बिएको गुरिल्ला युद्धले झन्डै १,००,००० को ज्यान लियो।

बर्बरतापूर्ण गृहयुद्धको प्रभाव विशेष गरी केटाकेटीमा स्पष्ट देखिन्छ। शरणार्थीहरूका लागि संयुक्‍त राष्ट्रसंघीय उच्च-आयुक्‍तको कार्यालयअनुसार गत दशकमा भएका विभिन्‍न गृहकलहहरूमा २० लाखभन्दा बढी केटाकेटीको ज्यान गयो। अरू साठी लाख घाइते भए। सेनाको रूपमा प्रशिक्षण दिइने केटाकेटीको संख्या बढ्‌दो छ। एक जना बाल-सेना भन्छन्‌: “तिनीहरूले मलाई प्रशिक्षण दिए। बन्दुक दिए। मैले लागू पदार्थ सेवन गरें। मैले सर्वसाधारणलाई मारें। थुप्रै मारें। त्यो केवल एउटा युद्ध थियो। . . . मैले केवल आदेश पालन गरिरहेको थिएँ। मलाई यो सबै खराब हो भनेर थाह थियो। यो मेरो इच्छा थिएन।”

गृहकलह एउटा सामान्य कुरा जस्तो भइसकेको देशका केटाकेटीहरू शान्ति भनेको कस्तो हो भनी थाहै नपाई हुर्किरहेका छन्‌। तिनीहरू यस्तो संसारमा बाँच्छन्‌ जहाँ स्कूलहरू ध्वस्त पारिएका छन्‌ र वार्ता बन्दुकको बलमा हुने गर्छ। चौध वर्षीय डुन्जा भन्छन्‌: “यति थुप्रै मानिसहरू मारिएका छन्‌ कि . . . चराहरूको चिरबिर सुनिनै छोडिसक्यो, खालि मारिएका आमा वा बुबा, दाइ/दिदी वा भाइ/बहिनीको लागि बच्चाहरूको चीत्कार सुनिन्छ।”

कारण के-के हुन्‌?

त्यस्ता क्रूर गृहयुद्धहरूको ज्वाला कस्ता कुराहरूले दन्काउँछ? जातीय तथा जनजातीय घृणा, धार्मिक भिन्‍नता, अन्याय र राजनैतिक गोलमाल सबै महत्त्वपूर्ण कारणहरू हुन्‌। अर्को प्रमुख कारण लोभ हो—शक्‍तिको लोभ र पैसाको लोभ। राजनैतिक नेताहरू अक्सर लोभको कारण घृणा र झगडालाई अझै दन्काउँछन्‌। स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट-द्वारा प्रकाशित रिपोर्टमा उल्लेख गरिएअनुसार थुप्रै सशस्त्र युद्धको प्रमुख कारण “व्यक्‍तिगत लाभ” हो। उक्‍त रिपोर्टले अझ यसो भन्छ: “लोभ विभिन्‍न तरिकामा प्रकट हुन्छ, जस्तै सेना तथा राजनैतिक नेताहरूले बृहत्‌ रूपमा गर्ने हीरा व्यापारदेखि गाउँमा जवानहरूले बन्दुकको भरमा गर्ने लुटपाट।”

सस्तो मूल्यमा सजिलै पाइने घातक हतियारहरूका कारण यस्तो संहार झनै व्यापक भएको छ। वर्षेनी झन्डै ५,००,००० को मृत्यु—त्यसमा पनि मुख्यतया स्त्री तथा केटाकेटीको मृत्यु ती कथित साना हतियारहरूद्वारा हुने गर्छन्‌। संसारभरि, ५० करोड साना तथा हलुका हतियारहरू भएको अनुमान लगाइएको छ। यसको अर्थ प्रत्येक १२ जनाको भागमा एउटा हतियार पर्छ।

के यस्ता क्रूर गृहकलहहरू २१ औं शताब्दीको चिनारी हुनेछन्‌? के गृहयुद्धहरू नियन्त्रण गर्न सकिन्छ? के मानिसहरूले अन्ततः मारकाट गर्न बन्द गर्नेछन्‌? यी प्रश्‍नहरूको जवाफ अर्को लेखले दिनेछ।

[पृष्ठ ४-मा भएको पेटी]

गृहयुद्धको दुःखद मूल्य

अत्याधुनिक हतियार नचलाइएको तर क्रूर गृहयुद्धहरूमा घाइते हुने ९० प्रतिशत मानिसहरू लडाकू नभई सर्वसाधारण हुन्छन्‌। “सशस्त्र युद्धहरूमा केटाकेटीहरू मारिनु संयोग मात्र नभई जानाजानी तिनीहरूलाई नै तारो बनाइएको झन्‌-झनै प्रस्ट हुन थालेको छ” भनी सशस्त्र युद्धले केटाकेटीमा पारेको प्रभावबारे संयुक्‍त राष्ट्रसंघका महासचिवका विशेषज्ञ, ग्रासा मासेल टिप्पणी गर्छिन्‌।

बलात्कार, एउटा सैन्य रणनीति भएको छ। केही युद्ध प्रभावित इलाकाहरूमा विद्रोहीहरूले भेटे जति सबै किशोरीहरूको बलात्कार गर्छन्‌। त्यसरी बलात्कार गर्नुको उद्देश्‍य आतंक फैलाउनु वा पारिवारिक सम्बन्ध तोड्‌नु हो।

युद्धको कारण अनिकाल र रोग फैलिन्छ। गृहयुद्धको अर्थ प्रशस्त मात्रामा बाली लगाउन पाइँदैन र कटनी पनि धेरै हुँदैन, स्वास्थ्य सेवा पनि ठप्प भएजस्तै हुन्छ र साँच्चै खाँचोमा परेकाहरूसम्म अन्तरराष्ट्रिय सहयोग पुग्न सक्दैन। एउटा अफ्रिकी गृहयुद्धमा गरिएको अध्ययनमा २० प्रतिशत मानिसहरूको रोगको कारण र ७८ प्रतिशत भोकको कारण मृत्यु भएको पत्ता लाग्यो। जम्मा २ प्रतिशत मात्र सीधै युद्धको कारण मारिएका थिए।

सालाखाला हरेक २२ मिनेटमा कोही न कोहीले जमिनमा बिछ्याइएको विस्फोटक पदार्थको कारण आफ्नो हातखुट्टा वा जीवन गुमाउँछन्‌। साठीवटाभन्दा बढी देशमा झन्डै छ करोडदेखि सात करोड विस्फोटक पदार्थ जमिनमा बिछ्याइएको अनुमान छ।

मानिसहरू आफ्नो घरबार छोडेर अन्तै जान बाध्य हुन्छन्‌। अहिले, विश्‍वभरि शरणार्थी र विस्थापित मानिसहरू पाँच करोड छन्‌ र त्यसमध्ये आधीजसो केटाकेटीहरू हुन्‌।

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Boy: Photo by Chris Hondros/Getty Images

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Photo by Chris Hondros/Getty Images