सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैले यहोवाको महिमाको वर्णन गरून्‌

सबैले यहोवाको महिमाको वर्णन गरून्‌

सबैले यहोवाको महिमाको वर्णन गरून्‌

“परमप्रभुलाईनै महिमा र शक्‍ति देओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा देओ।”—भजन ९६:७, ८.

१, २. कुन कुराले यहोवाको प्रशंसा गर्दैछ र यसमा कसलाई सहभागी हुन आह्वान गरिएको छ?

 यिशैका छोरा, दाऊद बेतलहेम नजिकै गोठालोको काम गर्दै हुर्के। ती भेडा चराउने एकान्त ठाउँमा आफ्नो बुबाको बगालको हेरचाह गर्दै रातको सन्‍नाटामा टिलपिल गरिरहेको तारामय आकासलाई तिनले एकटक लाएर कति चोटि हेरेका होलान्‌! परमेश्‍वरको पवित्र आत्माद्वारा उत्प्रेरित भई १९ औं भजन रचेर ती सुन्दर शब्दहरू गाउँदा निश्‍चय पनि तिनको मनमा गहिरो छाप पारेको त्यो दृश्‍य झलझली आएको हुनुपर्छ: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ, तिनीहरूको सोर सारा पृथ्वीभरि गुञ्जायमान भएको छ, र तिनीहरूका वचन संसारको अन्तसम्म।”—भजन १९:१, ४.

सोर, बोली र भाषाविना यहोवाको विस्मयकारी सृष्टि, स्वर्गले दिनदिनै र रातैपिच्छे उहाँको महिमाको वर्णन गर्छ। सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्न कहिल्यै छोड्‌दैन र “सारा पृथ्वीभरि” यसका बासिन्दाहरूले देखून्‌ भनेर यसले दिने मौन साक्षीमाथि चिन्तन गर्दा आफू कत्तिको तुच्छ छु भनी सजग गराउँछ। तथापि, सृष्टिको मौन साक्षी मात्र पर्याप्त छैन। विश्‍वासी मानवहरूलाई आफ्नो स्वर गुञ्जायमान पार्न आह्वान गरिएको छ। नाउँ उल्लेख नगरिएका भजनहारले यी प्रेरित शब्दहरूद्वारा विश्‍वासी उपासकहरूलाई सम्बोधन गरे: “परमप्रभुलाईनै महिमा र शक्‍ति देओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा देओ।” (भजन ९६:७, ८) यहोवासँग घनिष्ठ सम्बन्ध भएकाहरू यस आह्वान अनुरूप गर्न रोमाञ्चित हुन्छन्‌। तर यहोवालाई महिमा दिनुमा के समावेश छ?

३. मानवहरूले किन परमेश्‍वरलाई महिमा दिन्छन्‌?

यहोवाको महिमा गर्न शब्दहरू मात्र होइन तर त्योभन्दा बढी कुरा आवश्‍यक छ। यशैयाको दिनका इस्राएलीहरूले ओठले त यहोवाको महिमा गरे तर तिनीहरूमध्ये अधिकांशमा निष्कपटताको कमी थियो। यशैयामार्फत यहोवाले भन्‍नुभयो: “यो प्रजा मेरो नजीक आएर तिनीहरूका मुख र ओठले मेरो आदर गर्छन्‌, तर तिनीहरूका हृदय भने मबाट टाढ़ा राखेका छन्‌।” (यशैया २९:१३) त्यस्ता व्यक्‍तिविशेषहरूको ओठबाट निस्केको कुनै पनि प्रशंसा अर्थहीन थियो। अर्थपूर्ण हुन प्रशंसा यहोवाप्रतिको प्रेमले ओतप्रोत भएको र उहाँको अनुपम महिमालाई निष्कपटतासाथ स्वीकारेको हृदयबाट निस्केको हुनुपर्छ। यहोवा एक मात्र सृष्टिकर्ता हुनुहुन्छ। उहाँ सर्वोच्च, न्यायी र प्रेमको मूर्तरूप हुनुहुन्छ। उहाँ मुक्‍तिको स्रोत र एक मात्र वैध सार्वभौम हुनुहुन्छ र उहाँको अधीनमा स्वर्ग र पृथ्वीका सबै जीवित प्राणी रहनुपर्छ। (प्रकाश ४:११; १९:१) हामी यी कुराहरूमा साँच्चै विश्‍वास गर्छौं भने आफ्नो सम्पूर्ण हृदयले उहाँको महिमा गरौं।

४. यहोवाको महिमा गर्ने सन्दर्भमा येशूले हामीलाई कस्तो निर्देशन दिनुभयो र हामी ती कसरी पूरा गर्न सक्छौं?

परमेश्‍वरको महिमा कसरी गर्ने भनी येशू ख्रीष्टले हामीलाई बताउनुभयो। उहाँले भन्‍नुभयो: “तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ, र तिमीहरू मेरा चेला हुनेछौ।” (यूहन्‍ना १५:८) हामी कसरी धेरै फल फलाउँछौं? पहिलो, ‘राज्यको सुसमाचार’ प्रचारकार्यमा तनमनले भाग लिएर अनि सबै सृष्टिसित मिलेर परमेश्‍वरको “अदृश्‍य गुण[बारे]” ‘प्रकट गरेर।’ (मत्ती २४:१४; रोमी १:२०) यसबाहेक, यस्तो तरिकामा नयाँ चेला बनाउने काममा हामी सबैको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता छ अनि तिनीहरूले पनि यहोवा परमेश्‍वरको प्रशंसा गीतमा स्वरमा स्वर मिलाउँछन्‌। दोस्रो, पवित्र आत्माले हामीमा फलाएको आत्माको फल हामी खेती गर्छौं र यहोवा परमेश्‍वरका सर्वोत्कृष्ट गुणहरू अनुकरण गर्ने यथाशक्य प्रयास गर्छौं। (गलाती ५:२२, २३; एफिसी ५:१; कलस्सी ३:१०) फलस्वरूप, हाम्रो दिनहुँको आचरणले यहोवाको महिमा गर्छ।

“सारा पृथ्वीमा”

५. आफ्नो विश्‍वासबारे अरूलाई बताएर परमेश्‍वरको महिमा गर्ने मसीहीहरूको जिम्मेवारीबारे पावलले कसरी जोड दिए, वर्णन गर्नुहोस्‌।

रोमीहरूलाई लेखेको पत्रमा पावलले अरूसँग आफ्नो विश्‍वास बाँडेर परमेश्‍वरको महिमा गर्ने मसीहीहरूको जिम्मेवारीलाई जोड दिए। येशू ख्रीष्टमा विश्‍वास गर्नेहरू मात्र बच्नेछन्‌ भन्‍ने नै रोमीहरूलाई लेखेको पत्रको मुख्य विषय थियो। पावलले आफ्नो पत्रको अध्याय १० मा तिनको समयका जन्मजात इस्राएलीहरूले मोशालाई दिइएको व्यवस्था अझै पछ्याएर धर्मी ठहरिन खोजिरहेका थिए जबकि “ख्रीष्टनै व्यवस्थाको अन्त्य हुनु[हुन्थ्यो]” भनी लेखे। तसर्थ, पावल भन्छन्‌, “यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गऱ्‍यौ, र परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट बिउँताउनुभयो भनी हृदयमा विश्‍वास गऱ्‍यौ भने तिम्रो उद्धार हुनेछ।” त्यतिबेलादेखि “यहूदी र ग्रीकमा केही भेद [गरिएको] छैन। किनकि उहाँ प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैको धनराशि हुनुहुन्छ। किनकि प्रभुको [“यहोवाको,” NW] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”—रोमी १०:४, ९-१३.

६. पावलले भजन १९:४ कसरी लागू गरे?

त्यसपछि तार्किक ढंगमा पावल यस्तो प्रश्‍न गर्छन्‌: “जसलाई तिनीहरूले विश्‍वास गरेकै छैनन्‌ उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन्‌ उहाँलाई कसरी विश्‍वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?” (रोमी १०:१४) इस्राएलबारे पावल यसो भन्छन्‌: “ती सबैले ता सुसमाचारमा ध्यानै दिएनन्‌।” इस्राएलले किन ध्यानै दिएन वा पालन गरेन? तिनीहरूले पालन नगर्नुको कारण अवसरको कमी नभई विश्‍वासको कमी थियो। पावलले यो कुरा, भजन १९:४ उद्धृत गर्दै यसलाई सृष्टिको मौन साक्षीमा नभई मसीही साक्षीकार्यमा लागू गरेर देखाउँछन्‌। तिनी भन्छन्‌: “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो, औ तिनीहरूका कुरा संसारको अन्तसम्म।” (रोमी १०:१६, १८) हो, निर्जीव सृष्टिले समेत यहोवाको महिमा गरेजस्तै प्रथम शताब्दीका मसीहीहरूले चारैतिर उद्धारको सुसमाचार प्रचार गरेर “सारा पृथ्वीमा” परमेश्‍वरको प्रशंसा गरे। कलस्सीका मसीहीहरूलाई लेखेको पत्रमा पावलले पृथ्वीको अन्तसम्म सुसमाचार फैलिसक्यो भनेर पनि वर्णन गर्छन्‌। तिनले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा” प्रचार गरिसकियो भने।—कलस्सी १:२३.

जोसिला साक्षीहरू

७. येशूले भन्‍नुभएअनुसार मसीहीहरूको कस्तो जिम्मेवारी छ?

सम्भवतः पावलले कलस्सीहरूलाई पत्र लेख्दा येशू ख्रीष्टको मृत्यु भएको झन्डै २७ वर्ष भइसकेको थियो। तुलनात्मक हिसाबमा त्यति छोटो समयमा कसरी कलस्सी जस्तो टाढाको ठाउँसम्म प्रचारकार्य फैलिन सक्यो? यसको कारण हो, प्रथम शताब्दीका मसीहीहरू जोसिला थिए र यहोवाले तिनीहरूको जोसमा आशिष्‌ दिनुभयो। येशूले आफ्ना अनुयायीहरू सक्रिय प्रचारकहरू हुनेछन्‌ भनी यस्तो अगमवाणी गर्नुभयो: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।” (मर्कूस १३:१०) त्यसै भविष्यवाणीमा येशूले मत्तीको सुसमाचारको पुस्तकको अन्तिम पदहरूमा लिपिबद्ध आज्ञा पनि थप्नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) उहाँ स्वर्ग जानुभएको केही समयपछि नै उहाँका अनुयायीहरूले ती शब्दहरू पूरा गर्न थाले।

८, ९. प्रेरितको पुस्तकअनुसार येशूको आज्ञाप्रति मसीहीहरूले कस्तो प्रतिक्रिया देखाए?

सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्मा खन्याइएपछि येशूका वफादार अनुयायीहरूले सबैभन्दा पहिला, प्रचार गर्न थाले र यरूशलेमको भीडलाई “परमेश्‍वरका महाकार्यहरूका विषयमा” बताए। तिनीहरूको प्रचारकार्य अत्यन्तै प्रभावकारी थियो र “प्रायः तीन हजार प्राणीहरू[ले]” बप्तिस्मा लिए। चेलाहरूले सार्वजनिक रूपमा जोसका साथ परमेश्‍वरको प्रशंसा गरिरहे र यसको नतिजा राम्रो भयो।—प्रेरित २:४, ११, ४१, ४६, ४७.

ती मसीहीहरूको गतिविधिमा धर्मगुरुहरूको छिट्टै ध्यानाकर्षण भयो। पत्रुस र यूहन्‍नाको कुराकानी गर्ने फरासिलो तरिका मन नपरेकोले तिनीहरूले ती दुई जना प्रेरितलाई प्रचारकार्य बन्द गर्ने आदेश दिए। प्रेरितहरूले यस्तो जवाफ दिए: “हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्‍तैसक्‍तैनौं।” तिनीहरूलाई धम्काएर छोडेपछि पत्रुस र यूहन्‍ना आफ्ना भाइहरूकहाँ फर्के र सबै मिलेर यहोवालाई प्रार्थना गरे। तिनीहरूले साहसका साथ यहोवालाई यस्तो बिन्ती गरे: “तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌।”—प्रेरित ४:१३, २०, २९.

१०. कस्तो विरोध आफै देखिन थाल्यो र साँचो मसीहीहरूले कस्तो प्रतिक्रिया देखाए?

१० त्यो प्रार्थना यहोवाको इच्छाबमोजिम थियो भन्‍ने कुरा अलि पछि स्पष्ट भयो। प्रेरितहरू पक्राउ परे र चमत्कारपूर्ण ढंगमा स्वर्गदूतद्वारा मुक्‍त भए। स्वर्गदूतले तिनीहरूलाई यसो भने: “जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा बात मानिसहरूलाई सुनाओ।” (प्रेरित ५:१८-२०) प्रेरितहरूले आज्ञा पालन गरेको कारण यहोवाले तिनीहरूमाथि आशिष्‌ वर्षाइरहनुभयो। यसर्थ, “दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” (प्रेरित ५:४२) स्पष्टतः घोर विरोधले येशूका अनुयायीहरूलाई सार्वजनिक तवरमा परमेश्‍वरको महिमा गर्नदेखि रोक्न सकेन।

११. प्रचारकार्यप्रति प्रारम्भिक मसीहीहरूको कस्तो मनोवृत्ति थियो?

११ चाँडै स्तिफनस पक्राउ परे र तिनलाई ढुंगाले हानेर मारियो। तिनको हत्यापछि यरूशलेममा क्रूर सतावट सुरु भयो र प्रेरितहरूबाहेक सबै चेलाहरू अन्यत्रै तितर-बितर हुन बाध्य भए। के तिनीहरू सतावटको कारण निरुत्साहित भए? अहँ, पटक्कै भएनन्‌। हामी यस्तो पढ्‌छौं: “ती तितर-बितर भएकाहरूले जताततै गएर वचनको सुसमाचार सुनाउन लागे।” (प्रेरित ८:१, ४) परमेश्‍वरको महिमा घोषणा गर्ने त्यो जोस फेरि-फेरि देखियो। प्रेरित अध्याय ९ मा हामी तार्ससका फरिसी शावलले येशूका चेलाहरू विरुद्ध सतावट चर्काउन दमीशक जाँदा तिनले येशूको दर्शन पाए र अन्धो भए भन्‍ने विवरण पाउँछौं। दमीशकमा हननियाले शावलको अन्धोपनलाई चमत्कारपूर्ण ढंगमा निको पारिदिए। त्यसपछि प्रेरित पावल भनी चिनिएका शावलले सबैभन्दा पहिला के गरे? विवरण यसो भन्छ: “तुरुन्तै तिनले सभाघरहरूमा येशू परमेश्‍वरका पुत्र हुन्‌ भनेर घोषणा गरे।”—छड्‌के अक्षर हाम्रो, प्रेरित ९:२०.

सबैले प्रचारकार्यमा भाग लिए

१२, १३. (क) इतिहासकारहरूका अनुसार प्रारम्भिक मसीही मण्डलीमा कुन कुरा उल्लेखनीय थियो? (ख) प्रेरितको पुस्तक र पावलका शब्दहरू कसरी इतिहासकारहरूको कथनसित सहमत छन्‌?

१२ प्रारम्भिक मसीही मण्डलीका सबैले प्रचारकार्यमा भाग लिए भनी सबैले मानिलिएको कुरा हो। त्यतिबेलाका मसीहीहरूबारे फिलिप शाप यस्तो लेख्छन्‌: “हरेक मण्डलीको उद्देश्‍य मिसनरी सेवकाई थियो र प्रत्येक मसीही विश्‍वासी, मिसनरी थिए।” (हिस्ट्री अफ द क्रिस्चियन चर्च [ अंग्रेजी]) डब्ल्यु. एस. विलियम्स उल्लेख गर्छन्‌: “साधारणतया, प्रारम्भिक चर्चमा असाधारण शक्‍ति [आत्माको वरदान] भएका सबै मसीहीहरूले सुसमाचार प्रचार गर्थे।” (द ग्लोरियस मिनिस्ट्री अफ द लाइटि [अंग्रेजी]) तिनी जोडदार ढंगमा यसो पनि भन्छन्‌: “प्रचारकार्य कुनै विशेष ओहदा भएकाहरूले मात्र गर्ने काम हो भनेर येशू ख्रीष्टले कहिल्यै भन्‍नुभएन।” मसीहीधर्मका पुराना शत्रु सेल्ससले समेत यस्तो लेखे: “ऊनीका कामदार, सार्की, चर्मकार, मानिसजातिमध्ये सबैभन्दा अपठित र अजान व्यक्‍तिहरू नै सुसमाचारका जोसिला प्रचारकहरू थिए।”

१३ ती कथनहरूको यथार्थता प्रेरितको पुस्तकमा लिपिबद्ध ऐतिहासिक विवरणमा पाइन्छ। सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्मा खन्याइएपछि सबै चेलाहरू, पुरुष तथा स्त्रीहरूले सावर्जनिक रूपमा परमेश्‍वरका महाकार्यहरूबारे घोषणा गरे। स्तिफनसको हत्याको लगत्तै सुरु भएको सतावटपछि तितर-बितर भएका सबै मसीहीहरूले टाढा-टाढासम्म सुसमाचार फैलाए। त्यसको झन्डै २८ वर्षपछि “उहाँद्वारानै हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो” भनी पावलले धर्मगुरुहरूको सानो वर्गलाई मात्र नभई सबै हिब्रू मसीहीहरूलाई लेखिरहेका थिए। (हिब्रू १३:१५) प्रचारकार्यबारे आफ्नो दृष्टिकोण वर्णन गर्दै पावलले भने: “यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ, किनकि सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।” (१ कोरिन्थी ९:१६) स्पष्टतः प्रथम शताब्दीका सबै विश्‍वासी मसीहीहरूले त्यस्तै महसुस गरे।

१४. विश्‍वास र प्रचारकार्यबीच कस्तो सम्बन्ध छ?

१४ निस्सन्देह, साँचो मसीहीले प्रचारकार्यमा भाग लिनै पर्छ किनभने विश्‍वाससित यसको अभिन्‍न सम्बन्ध छ। पावलले यसो भने: “मानिसले हृदयबाट धार्मिकतालाई विश्‍वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ।” (रोमी १०:१०) मण्डलीमा के एउटा सानो समूह—जस्तै धर्मगुरुहरूले—मात्र विश्‍वास गर्ने अनि प्रचार गर्ने जिम्मेवारी पाएका छन्‌? अहँ, होइन! सबै साँचो मसीहीहरूले प्रभु येशू ख्रीष्टमा बलियो विश्‍वास खेती गर्छन्‌ र आफ्नो विश्‍वासबारे अरूलाई सार्वजनिक रूपमा घोषणा गर्न उत्प्रेरित हुन्छन्‌। अन्यथा, तिनीहरूको विश्‍वास मरेतुल्य हुन्छ। (याकूब २:२६) हाम्रो सामान्य युगको प्रथम शताब्दीमा सबै वफादार मसीहीहरूले यसरी आफ्नो विश्‍वास प्रदर्शन गरेको कारण यहोवाको नाउँको प्रशंसा गरिएको ठूलो आवाज सुनियो।

१५, १६. समस्याहरूको बावजुद प्रचारकार्य बढ्‌दै गयो भनी प्रमाणित गर्ने उदाहरणहरू दिनुहोस्‌।

१५ प्रथम शताब्दीमा मण्डली भित्र र बाहिर समस्या भए तापनि यहोवाले आफ्ना जनहरूको वृद्धि गराउनुभयो। उदाहरणका लागि, प्रेरित अध्याय ६ मा, धर्म परिवर्तन गरेका हिब्रू बोल्ने र युनानी बोल्नेहरूबीच मतभेद भएको विवरण उल्लेख गरिएको छ। यो समस्या प्रेरितहरूले सुल्झाएका थिए। फलस्वरूप, हामी यस्तो पढ्‌छौं: “परमेश्‍वरको वचन बढ़दै गयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़यो। औ पूजाहारीहरूको एक ठूलो दलले यही मत मान्‍नलाग्यो।”—प्रेरित ६:७.

१६ पछि, यहूदियाका राजा हेरोद अग्रिपा अनि टायर र सायडनका मानिसहरूबीच राजनैतिक तनाव सुरु भयो। ती सहरका बासिन्दाहरूले हेरोदलाई मक्ख पार्ने खालका शान्ति प्रस्तावहरू राखे र यसको जवाफमा हेरोदले जनसम्बोधन गरे। भेला भएका भीड यसो भनेर कराउन थाल्यो: “यो ता देवताको बोली हो, मानिसको होइन!” त्यतिखेरै यहोवाको स्वर्गदूतले हेरोद अग्रिपालाई प्रहार गरे र “परमेश्‍वरलाई महिमा नदिएकोमा” तिनको मृत्यु भयो। (प्रेरित १२:२०-२३) मानव शासकमाथि आशा राखेका मानिसहरूको लागि कस्तो ठूलो आघात! (भजन १४६:३, ४) तथापि, मसीहीहरूले यहोवाको महिमा गरिरहे। फलस्वरूप, त्यस्तो राजनैतिक अस्थिरताको बावजुद “प्रभुको [“यहोवाको,” NW] वचन बढ़दै बढ़दै फैलिएर गयो।”—प्रेरित १२:२४.

त्यतिबेला र अहिले

१७. प्रथम शताब्दीमा मानिसहरूको बढ्‌दो संख्याले कुन काममा भाग लिए?

१७ हो, प्रथम शताब्दीको विश्‍वव्यापी मसीही मण्डली यहोवा परमेश्‍वरका जोसिला र सक्रिय प्रशंसकहरूले बनेको समूह थियो। सबै वफादार मसीहीहरूले सुसमाचार फैलाउने कार्यमा भाग लिए। कसैले सुन्‍नेहरू भेट्टाए र येशूले सिकाउनुभएझैं उहाँले आज्ञा गर्नुभएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाए। (मत्ती २८:१९, २०) फलस्वरूप मण्डलीको वृद्धि भयो र झन्‌-झन्‌ धेरै मानिसहरूले यहोवाको प्रशंसा गर्न पुरातन समयका राजा दाऊदलाई साथ दिए। सबैको मुखबाट यही प्रेरित शब्दहरू गुञ्जियो: “हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँको महिमा सदाको निम्ति गर्नेछु। किनकि मप्रति तपाईंको कृपा महान्‌ छ।”—भजन ८६:१२, १३.

१८. (क) प्रथम शताब्दीको मण्डली र आजको मसीहीजगत्‌बीच कस्तो भिन्‍नता उल्लेख गरिएको छ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

१८ यस कुरालाई विचार गर्दा धर्मविज्ञानका प्राध्यापक आलिसन ए. ट्रिट्‌स-का शब्दहरू सोच्न लगाउने किसिमका छन्‌। आधुनिक समयको मसीहीजगत्‌लाई प्रथम शताब्दीका मसीहीधर्मसित तुलना गर्दै तिनले यसो भने: “चर्चहरूमा अहिले अक्सर जैविक वृद्धि (स्थानीय चर्चको सदस्यको परिवारका केटाकेटीले आफ्नो विश्‍वास स्वीकार्दा) वा स्थानान्तर वृद्धि (अर्को स्थानीय चर्चबाट नयाँ व्यक्‍तिले आफ्नो सदस्यता स्थानान्तरण गर्दा) हुन्छ। तथापि, प्रेरितको पुस्तकमा उल्लेख गरिएको वृद्धि धर्म परिवर्तनको वृद्धि थियो किनभने मण्डली भर्खरै स्थापना भएको थियो।” के यसको अर्थ साँचो मसीहीधर्म जसरी वृद्धि हुनुपर्छ भन्‍नुभएको थियो, त्यसरी वृद्धि भइरहेको छैन भन्‍न खोजेको हो? पटक्कै होइन। आज साँचो मसीहीहरू प्रथम शताब्दीका मसीहीहरूजस्तै सार्वजनिक रूपमा परमेश्‍वरको प्रशंसा गर्न उत्तिकै जोसिला छन्‌। यसबारेमा हामी अर्को लेखमा हेर्नेछौं।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• हामी कुन तरिकामा परमेश्‍वरको महिमा गर्छौं?

भजन १९:४ को उपयोग पावलले कसरी बताए?

• विश्‍वास र प्रचारकार्यबीच कस्तो सम्बन्ध छ?

• प्रथम शताब्दीको मसीही मण्डलीको उल्लेखनीय पक्ष के थियो?

[प्रश्‍नहरू]

[पृष्ठ ८, ९-मा भएको चित्र]

स्वर्गले निरन्तर यहोवाको महिमाको साक्षी दिन्छ

[स्रोत]

Courtesy of Anglo-Australian Observatory, photograph by David Malin

[पृष्ठ १०-मा भएका चित्रहरू]

प्रचारकार्य र प्रार्थनाबीच नजिकको सम्बन्ध छ