सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले भरोसा गर्न सक्नुहुने प्रतिज्ञाहरू

तपाईंले भरोसा गर्न सक्नुहुने प्रतिज्ञाहरू

तपाईंले भरोसा गर्न सक्नुहुने प्रतिज्ञाहरू

“प्रतिज्ञाहरू अक्सर अविश्‍वसनीय हुन सक्छन्‌ भनेर परमेश्‍वरका अगमवक्‍ता मीकालाई थाह थियो। त्यतिखेर आफ्नो वचन पूरा गर्ने सन्दर्भमा अत्यन्त घनिष्ठ मित्रहरूलाई समेत सधैं भरोसा गर्न सकिंदैनथ्यो। त्यसैकारण मीकाले यस्तो चेतावनी दिए: “तिमीहरूका छिमेकीमाथि विश्‍वास नगर। तिमीहरूको हितका मितमाथि भरोसा नगर। तिमीहरूका काखको स्वास्नीदेखि पनि आफ्नो मुखको ढोका थुनी राख।”—मीका ७:५.

के मीका आफ्नो समयको यस्तो दुःखद्‌ अवस्थाको कारण सबै प्रतिज्ञाहरूप्रति शंकालु भए? अहँ, भएनन्‌। आफ्ना परमेश्‍वर यहोवाले गर्नुभएका प्रतिज्ञाहरूमा तिनले पूरा विश्‍वस्तता प्रकट गरे। मीकाले यस्तो लेखे: “म चाहिं ता परमप्रभुतिरै हेर्नेछु। मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु। मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।”—मीका ७:७.

किन मीकासित यस्तो विश्‍वस्तता थियो? किनभने यहोवाले सधैं आफ्नो वचन पूरा गर्नुहुन्छ भन्‍ने कुरा मीकालाई थाह थियो। परमेश्‍वरले मीकाका पिता-पुर्खाहरूसित गर्नुभएको एक-एक प्रतिज्ञा पूरा भयो। (मीका ७:२०) विगतमा यहोवा विश्‍वासयोग्य ठहरिनुभएको कारण, भावी दिनहरूमा पनि उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ भनेर विश्‍वास गर्ने मीकासित ठोस कारण थियो।

“एउटा पनि . . . फरक परेको छैन”

उदाहरणका लागि, यहोवाले इस्राएलीहरूलाई मिश्रीहरूको दासत्वबाट छुटकारा दिलाउनुभएको थियो भन्‍ने कुरा मीकालाई थाह थियो। (मीका ७:१५) त्यो छुटकारा साक्षात्‌ अनुभव गर्ने यहोशूले आफ्ना सँगी इस्राएलीहरूलाई परमेश्‍वरका सम्पूर्ण प्रतिज्ञाहरूमा विश्‍वास गर्न प्रोत्साहित गरे। कुन कुराको आधारमा? यहोशूले यसो भन्दै तिनीहरूलाई सम्झाए: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।”—यहोशू २३:१४.

यहोवाले इस्राएलीहरूका खातिर आश्‍चर्यका कामहरू गर्नुभएको छ भनेर तिनीहरूलाई राम्रोसित थाह थियो। उहाँले अब्राहामका सन्तानहरू आकाशका ताराहरूजस्तै असंख्य हुनेछन्‌ र कनान देश तिनीहरूको अधिकारमा दिइनेछ भनेर तिनीहरूका ईश्‍वरभीरु पुर्खा अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको थियो। यहोवाले अब्राहामलाई तिनका सन्तानहरू ४०० वर्षसम्म थिचोमिचोमा पर्नेछन्‌ तर “चौथो पुस्तामा” तिनीहरू फेरि कनान फर्किनेछन्‌ भनेर पनि बताउनुभएको थियो। यी सबै कुरा पूरा भए।—उत्पत्ति १५:५-१६; प्रस्थान ३:६-८.

याकूबका छोरा यूसुफको समयमा इस्राएलीहरूलाई मिश्रमा एकदमै स्वागत-सत्कार गरिएको थियो। पछि मिश्रीहरूले तिनीहरूलाई निर्दयतासाथ जबरजस्ती काममा लदाए तर परमेश्‍वरको प्रतिज्ञा अनुरूपै मिश्र छिरेको समयदेखि चौथो पुस्तासम्मका अब्राहामका यी सन्तानहरू मिश्री दासत्वबाट मुक्‍त भए। a

त्यसपछि ४० वर्षको दौडान इस्राएलीहरूले, यहोवाले सधैं आफ्नो वचन पूरा गर्नुहुन्छ भन्‍ने थप प्रमाण पाए। अमालेकीहरूले इस्राएलीहरू विरुद्ध विनाकारण आक्रमण गर्दा, परमेश्‍वरले आफ्ना जनहरूका लागि लड्‌नुभयो र तिनीहरूलाई रक्षा गर्नुभयो। उजाडस्थानमा ४० वर्ष लामो यात्राको दौडान उहाँले तिनीहरूका सम्पूर्ण भौतिक आवश्‍यकताहरू पूरा गरिदिनुका साथै अन्तमा तिनीहरूलाई प्रतिज्ञाकृत देशमा बसोबास गर्न लगाउनुभयो। यहोवाले अब्राहामका यी सन्तानहरूसित गर्नुभएको व्यवहारको इतिहासलाई पुनरावृत्ति गरिसकेपछि यहोशूले निर्धक्क भई यसो भन्‍न सके: “परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भयो।”—यहोशू २१:४५.

परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वस्तता बढाउनुहोस्‌

मीका र यहोशूले जस्तै तपाईं कसरी यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास बढाउन सक्नुहुन्छ? तपाईं कसरी अरू व्यक्‍तिहरूमा भरोसा विकास गर्नुहुन्छ? तपाईं उनीहरूलाई सकेसम्म राम्ररी चिन्‍ने कोसिस गर्नुहुन्छ। उदाहरणका लागि, आफूले दिएको वचन उनीहरूले विश्‍वासीपूर्वक पूरा गर्ने प्रयास गर्छन्‌ कि गर्दैनन्‌ भन्‍ने कुरा याद गरेर तपाईं उनीहरू कत्तिको भरोसायोग्य छन्‌, सो थाह लगाउन सक्नुहुन्छ। तपाईंलाई यस्ता मानिसहरूबारे अझ धेरै कुरा थाह हुँदै गएपछि तपाईं उनीहरूलाई बिस्तारै भरोसा गर्न थाल्नुहुन्छ। परमेश्‍वरका प्रतिज्ञाहरूमा विश्‍वास बढाउने सन्दर्भमा पनि तपाईं त्यसै गर्न सक्नुहुन्छ।

तपाईंले यसो गर्न सक्ने एउटा तरिका, सृष्टि अनि यसलाई नियन्त्रण गर्ने नियमबारे मनन गरेर हो। मानव शरीरमा हुने खरबौं कोषहरू बन्‍नका लागि एउटा मानव कोष विभाजन हुने र बढ्‌दै जाने प्रक्रियालाई नियन्त्रणमा राख्ने जस्ता नियमहरूमा वैज्ञानिकहरू विश्‍वास गर्छन्‌। साँच्चै भन्‍ने हो भने, सारा ब्रह्‍माण्डमा भएको पदार्थ र शक्‍तिको कार्यप्रणालीलाई नियन्त्रण गर्ने नियमहरू पक्कै पनि एक जना पूर्णतया भरोसायोग्य विधायकले नै स्थापना गरेको हुनुपर्छ। जस्तो तपाईं उहाँको सृष्टिलाई नियन्त्रणमा राख्ने नियममा विश्‍वस्त हुनुहुन्छ, त्यसै गरी तपाईं उहाँका प्रतिज्ञाहरूमा पनि निर्धक्क भई भरोसा राख्न सक्नुहुन्छ।—भजन १३९:१४-१६; यशैया ४०:२६; हिब्रू ३:४.

यहोवाले उहाँको वचन कत्तिको भरोसायोग्य छ भन्‍ने कुरा दर्साउन मीकाका समकालीन, अगमवक्‍ता यशैयामार्फत ऋतुहरूको नियमितता र अचम्मलाग्दो जलचक्रबारे बताउनुभयो। हरेक वर्ष पानी पऱ्‍यो। त्यस पानीले जमिन भिजायो र यसले गर्दा मानिसहरूले बीउ छर्न अनि बाली काट्‌न सके। यस सन्दर्भमा यहोवाले यसो भन्‍नुभयो: “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमीनलाई भिजाएर बाली उमार्छ, औ छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:१०, ११.

प्रमोदवनको निश्‍चित आशा

सृष्टिबारे केलाएर हेर्दा सृष्टिकर्तामाथिको भरोसा बढ्‌न सक्छ तर यदि तपाईं “मुखबाट निस्कने [उहाँको] वचन[को]” एउटा भाग अर्थात्‌ उहाँका प्रतिज्ञाहरूबारे सिक्न चाहनुहुन्छ भने, यति मात्र पर्याप्त छैन। ती प्रतिज्ञाहरूमा भरोसा गर्नको लागि यसबारे सिक्न तपाईंले पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य तथा मानवजातिसित उहाँले गर्नुभएको व्यवहारबारे ईश्‍वरप्रेरित धर्मशास्त्रीय रेकर्ड जाँच्नु आवश्‍यक छ।—२ तिमोथी ३:१४-१७.

अगमवक्‍ता मीका यहोवाका प्रतिज्ञाहरूमा विश्‍वस्त थिए। मीकासित भन्दा तपाईंसित परमेश्‍वरको धेरै प्रेरित रेकर्ड उपलब्ध छ। जसै तपाईं बाइबल पढ्‌नुका साथै यसमा मनन गर्नुहुन्छ, तपाईं पनि परमेश्‍वरका प्रतिज्ञाहरूको पूर्तिमा विश्‍वास विकास गर्न सक्नुहुन्छ। यी प्रतिज्ञाहरूमा अब्राहामका प्राकृतिक सन्तानहरू मात्र नभई सम्पूर्ण मानवजाति मुछिएको छ। यहोवाले यी ईश्‍वरभीरु कुलपितासित यस्तो प्रतिज्ञा गर्नुभयो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌, किनकि तैंले मेरो वचन पालन गरिस्‌।” (उत्पत्ति २२:१८) अब्राहामको “सन्तान” वा सन्ततिको मुख्य भाग मसीह, येशू ख्रीष्ट हुनुहुन्छ।—गलाती ३:१६.

येशू ख्रीष्टमार्फत यहोवाले आज्ञाकारी मानिसजातिमाथि आशिष्‌ वर्षाउनुहुनेछ। अनि हाम्रो समयमा परमेश्‍वरले के गर्ने प्रतिज्ञा गर्नुभएको छ? मीका ४:१, २ यी भविष्यसूचक शब्दहरूमा जवाफ दिन्छन्‌: “पछिल्ला दिनमा परमप्रभुको भवनको डाँड़ाचाहिं पहाड़हरूमा सर्वोच्च बनाइने छ, र त्यो सबै पहाड़हरूभन्दा उच्च पारिनेछ। औ अन्यजातिहरू त्यसमा ओइरिएर आउनेछन्‌। धेरै जातिहरू आएर भन्‍नेछन्‌, ‘आओ, हामीहरू परमप्रभुको पहाड़, याकूबका परमेश्‍वरको भवनमा जाऔं, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुन्छ र हामी उहाँको मार्गमा हिंड़नेछौं, किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्‌।’ ”

यहोवाका तौरतरिकाहरूबारे सिक्ने व्यक्‍तिहरूले “आफ्नो तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउनेछन्‌।” युद्ध गर्ने सबै किसिमका प्रवृत्तिहरू हराउनेछन्‌। चाँडै पृथ्वी धर्मी मानिसहरूले भरिनेछ र कसैले तिनीहरूलाई डर देखाउनेछैनन्‌। (मीका ४:३, ४) हो, येशू ख्रीष्टको राज्य शासनअन्तर्गत यहोवाले पृथ्वीका सम्पूर्ण अत्याचारीहरूलाई खत्तम पार्नुहुनेछ भनी परमेश्‍वरको वचन प्रतिज्ञा गर्छ।—यशैया ११:६-९; दानियल २:४४; प्रकाश ११:१८.

परमेश्‍वर विरुद्ध मानिसको विद्रोहको कारण दुःखकष्ट भोग्नुका साथै मृत्यु भोग्नुपरेका मानिसहरू समेत पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशासहित पुनरुत्थान गरिनेछन्‌। (यहून्‍ना ५:२८, २९) दुष्ट काम गर्न भड्‌काउने शैतान तथा त्यसका प्रेतहरू त्यहाँ हुनेछैनन्‌ र आदमले गरेको पापका असरहरूलाई येशूको छुडौतीको बलिदानद्वारा हटाइनेछ। (मत्ती २०:२८; रोमी ३:२३, २४; ५:१२; ६:२३; प्रकाश २०:१-३) अनि आज्ञाकारी मानिसहरूलाई चाहिं के हुनेछ? तिनीहरूले पार्थिव प्रमोदवनमा सिद्ध स्वास्थ्यमा अनन्त जीवनको आशिष्‌ पाउनेछन्‌!—भजन ३७:१०, ११; लूका २३:४३, NW: प्रकाश २१:३-५.

कस्ता अद्‌भुत प्रतिज्ञाहरू! तर के तपाईं ती प्रतिज्ञाहरूमा विश्‍वास गर्न सक्नुहुन्छ? अवश्‍य सक्नुहुन्छ। यी मानिसका प्रतिज्ञाहरू होइनन्‌, जससित असल मनसाय भए तापनि ती पूरा गर्ने क्षमता हुँदैन। ती सर्वशक्‍तिमान्‌ परमेश्‍वरका प्रतिज्ञाहरू हुन्‌, जो कहिल्यै झूट बोल्नुहुन्‍न र “आफ्नो प्रतिज्ञाको बारेमा . . . ढीलो गर्नुहुन्‍न।” (२ पत्रुस ३:९; हिब्रू ६:१३-१८) बाइबलमा दिइएका सम्पूर्ण प्रतिज्ञाहरूमा तपाईं पूर्ण भरोसा राख्न सक्नुहुन्छ किनभने ती प्रतिज्ञाहरूको स्रोत “सत्य परमेश्‍वर” यहोवा हुनुहुन्छ।—भजन ३१:५.

[फुटनाट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, (अंग्रेजी) खण्ड १, पृष्ठ ९११-१२ हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन।”—यहोशू २३:१४

[पृष्ठ ४, ५-मा भएका चित्रहरू]

यहोवाले इस्राएलीहरूसित गर्नुभएको प्रतिज्ञा लाल समुद्र र उजाडस्थानमा पूरा गर्नुभयो

[पृष्ठ ७-मा भएका चित्रहरू]

यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभयो। उहाँको सन्तान, येशू ख्रीष्टले मानिसजातिमाथि आशिष्‌ वर्षाउनुहुनेछ