सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमप्रभुका वृक्षहरू तृप्त भएका हुन्छन्‌”

“परमप्रभुका वृक्षहरू तृप्त भएका हुन्छन्‌”

यहोवाको सृष्टिको वैभव

“परमप्रभुका वृक्षहरू तृप्त भएका हुन्छन्‌”

भीमकाय रूखहरूहरूका बीचबाट सूर्यका किरणहरूले चियाइरहेको जङ्‌गलमा के तपाईं कहिल्यै उभिनुभएको छ? मन्द-मन्द हावाले पातहरूलाई स्पर्श गर्दा निस्केका सुसाइहरूलाई के तपाईंले सुन्‍न सक्नुभयो?—यशैया ७:२.

पृथ्वीको कुनै-कुनै भागमा वर्षको एक पटक विभिन्‍न किसिमका रूखका पातहरू पूरै रातो, सुन्तला, पहेंलो र अन्य रंगहरूमा परिणत भएर चहकिलो देखिन्छन्‌। पूरै जङ्‌गल आगलागी भएको जस्तो रातै देखिन्छ! त्यसैले यी भावनाहरू कति उपयुक्‍त छन्‌: “हे भूगर्भ हो, कराऊ। हे जङ्‌गल र त्यहाँ भएको हरेक रूख हो, गाऊ।”—यशैया ४४:२३. a

पृथ्वीको लगभग एक तिहाइ भूभाग जङ्‌गलले ढाकेको छ। जङ्‌गल तथा यसभित्र रहेका असंख्य जीवनहरूले एकदमै अद्‌भुत ढङ्‌गमा त्यसका रचनाकार तथा सृष्टिकर्ता यहोवा परमेश्‍वरको महिमा गर्छन्‌। प्रेरित भजन रचयिताले यस्तो गाए, “परमप्रभुको प्रशंसा गर। . . . फल फलाउने रूख र सबै देवदार हो।”—भजन १४८:७-९.

“रूखहरूले मानिसका भौतिक आवश्‍यकताका साथसाथै सुन्दर वस्तुहरू हेर्ने मानिसको अभिलाषालाई तृप्त पार्छ” भनी द ट्रिज अराउण्ड अस (अंग्रेजी) नामक पुस्तक बताउँछ। जङ्‌गलले मानिसजातिको स्वच्छ पानीको आपूर्तिलाई सुरक्षा र संवर्धन गर्नुका साथै पानीको गुणस्तरलाई पनि बढाउँछ। रूखहरूले हावालाई पनि स्वच्छ बनाइदिन्छन्‌। प्रकाश संश्‍लेषण जस्तो अद्‌भुत प्रक्रियाद्वारा पातका कोषहरूले कार्बनडाइअक्साइड, पानी, खनिज र सूर्यको किरणलाई पोषण तथा अक्सिजनमा परिणत गरिदिन्छ।

जङ्‌गल सुन्दरता र रचनाको एउटा उत्कृष्ट नमुना हो। भीमकाय रूखहरू अक्सर जङ्‌गलका प्रभावशाली सदस्यहरू हुन्छन्‌। तिनीहरूकै संरक्षणमा असंख्य उन्यू, झ्याउ, लहरा, झाङ र जडीबुटीहरू हुर्किरहेका हुन्छन्‌। यी रूखहरूले सृजना गरेको वातावरणमै यस्ता बोटबिरुवाहरूको जीवन निर्भर हुन्छ र तिनीहरू यिनै रूखहरूको छायाँमा हुर्कन्छन्‌ र तिनीहरूले यिनै जङ्‌गलले प्रदान गर्ने ओसलाई सोस्छन्‌।

कुनै-कुनै पतझर जङ्‌गलहरूमा वर्षको अन्ततिर एक हेक्टर जमिनमा दुई करोड पचास लाखभन्दा धेरै पातहरू झर्न सक्छन्‌। झरेका ती पातहरूलाई के हुन्छ? कीटाणु, ढुसी, कीरा र अन्य जीवहरूले अन्ततः यी सबै जैविक पदार्थहरूलाई ह्‍यूमस अर्थात्‌ पोसिलो कालो वा खैरो प्राङ्‌गारिक पदार्थमा परिणत गरिदिन्छन्‌ जुन उर्वर माटोको लागि अत्यावश्‍यक तत्त्व हो। हो, यसरी यी मौन कामदारहरूले कुनै कुरालाई खेर जान नदिई माटोलाई उब्जनीको लागि तयार बनाइदिन्छन्‌।

निर्जीव पातहरूमुनि रहेका जङ्‌गलका माटोहरूमा असंख्य जीवहरूको बेग्लै संसार हुन्छ। द फरेष्ट (अंग्रेजी) नामक पुस्तक यसो भन्छ, “एक वर्ग फुट क्षेत्रफल र एक इन्च गहिराइ भएको क्षेत्रमा १,३५० भन्दा धेरै प्राणीहरू भेट्टाउन सकिन्छ र अझै एक मुठी माटोमा पाइने लाखौं सुक्ष्मजीवहरू त यसमा गणना नै गरिएका छैनन्‌।” यसको अतिरिक्‍त, जङ्‌गलमा सरीसृप, चराचुरुङ्‌गी, कीरा-फट्याङ्‌ग्रा र स्तनधारीहरू पनि प्रशस्तै हुन्छन्‌। यी सब सुन्दरता र विविधताको श्रेय कसले पाउनुपर्छ? यी सबका सृष्टिकर्ता स्वयम्‌ले यस्तो घोषणा गर्नु एकदमै मनासिब छ: “जङ्‌गलको हरेक जन्तु, र हजारौं डाँड़ाहरूका गाई-भैंसीहरू मेरै हुन्‌।”—भजन ५०:१०.

कुनै-कुनै जनावरहरूलाई त हिउँदको कठाङ्‌ग्रिने जाडो र लामो समय खानाको अभाव हुने बेला बच्नको लागि हिउँदभरि सुतेर बिताउने अद्‌भुत क्षमतासहित सृष्टि गरिएका हुन्छन्‌। तथापि, सबै जनावरहरू हिउँदभरि सुतेर बिताउँदैनन्‌। मध्य हिउँदतिर समेत मृगहरूका बथान जमिनमा उफ्रदै गइरहेको तपाईं देख्न सक्नुहुन्छ। मृगहरू न हिउँदमा सुतेर बिताउँछन्‌ न त खाना नै सञ्चय गर्छन्‌ तर कमलो डाँठ र मुनाहरू चपाउँदै तिनीहरू आफ्नो भोजनको आवश्‍यकता पूरा गर्छन्‌ जुन तपाईं सँगैको जर्मनीको चित्रमा देख्न सक्नुहुन्छ।

धर्मशास्त्रमा बोटबिरुवाहरूको जीवनलाई एकदमै महत्त्व दिएर प्रस्तुत गरिएको छ। एउटा गणनाअनुसार बाइबललमा झण्डै १३० वटा विशिष्ट बिरुवाबारे उल्लेख गरिएको छ जसमा करिब ३० प्रकारका रूखहरू पनि पर्छन्‌। यस्ता उद्धरणहरूको महत्त्वबारे टिप्पणी गर्दै वनस्पतिविज्ञ माइकल जोहारी यसो भन्छन्‌: “बोटबिरुवासित सम्बन्धित नभएका अन्य कुनै पनि सांसारिक साहित्यहरूमा बाइबलमा जत्तिको जीवनका विविध पक्षसित सम्बन्धित बिरुवाहरूका यत्ति धेरै प्रकारहरूबारे उल्लेख गरिएको पाइँदैन।”

रूख तथा जङ्‌गलहरू मायालु सृष्टिकर्ता यहोवाका अनुपम उपहारहरू हुन्‌। यदि हामीले आफ्ना पलहरू जङ्‌गलमा बिताएका छौं भने हामी पक्कै पनि भजन रचयिताका यी शब्दहरूसित सहमत हुनेछौं: “परमप्रभुका वृक्षहरू तृप्त भएका हुन्छन्‌। उहाँले लगाउनुभएको लबानोनका देवदारुहरू जहाँ चराहरूले आफ्ना गुँड़ बनाउँछन्‌।”—भजन १०४:१६, १७.

[फुटनोट]

a २००४ यहोवाका साक्षीहरूको क्यालेन्डर, जनवरी/फ्रेबुअरी हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको पेटी/चित्रहरू]

मध्य पूर्वको एउटा सबैभन्दा चित्ताकर्षक रूख हाडे बदामको रूख हो। वर्षको सुरुमै प्रायः अन्य रूखहरूभन्दा पहिले नै यो आफ्नो निद्राबाट ब्यूँझन्छ। सबैभन्दा पहिले फक्रने भएकोले पुरातन हिब्रूहरूले हाडे बदामको रूखलाई ब्यूँझने रूख भन्थे। यो ब्यूँझदा लाग्छ, नाजुक गुलाबी अथवा सेता फूलहरूको ज्वारीकोट पहिरिएर सुस्तरी ब्यूँझदैछ।—उपदेशक १२:५.

हालसम्म पत्ता लागेका ९,००० चराहरूका प्रजातिहरूमध्ये लगभग ५,००० प्रजातिहरूलाई गीत गाउने चराहरूको वर्गमा राखिएका छन्‌। तिनीहरूका गीतले घना जङ्‌गलको मौनतालाई भङ्‌ग गरिदिन्छ। (भजन १०४:१२) उदाहरणको लागि, गीत गाउने गौंथलीहरूसित मुग्ध पार्ने संगीतको भण्डारै हुन्छ। यहाँ फोटोमा देखाए झैं खैरो, पहेंलो र अलि-अलि पहेंलो र हरियो रंगहरूको अनुपम मिश्रणले सजिएको मोर्निङ्‌ वार्ब्लस मधुर स्वरमा गीत गाउने चरा हो।—भजन १४८:१, १०.

[पृष्ठ ९-मा भएको चित्र]

फ्रान्स, नर्मान्डीको जंगल