सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘परमेश्‍वर हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न’

‘परमेश्‍वर हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न’

‘परमेश्‍वर हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न’

निस्सन्देह, एथेनाका मन्दिरहरूसित पावल परिचित थिए किनकि आफ्नो मिसनरी यात्राको दौडान उनले भ्रमण गरेका धेरै सहरहरूमा एथेनाका मन्दिरहरू भेट्टाउन सकिन्थ्यो। इन्साइक्लोपिडिया ब्रिटानिका-अनुसार एथेना केवल युद्ध र बुद्धिकी देवीको रूपमा मात्र प्रसिद्ध थिइनन्‌ तर “युद्ध नभएको समयमा आम मानिसहरूबीच हस्तकला र शिल्पकलाकी देवी भनेर पनि चिनिन्थिन्‌।”

एथेनाको सबैभन्दा प्रसिद्ध मन्दिर तिनै देवीको नाउँमा राखिएको सहर एथेन्समा ठड्याइएको पार्थिनोन मन्दिर थियो। पुरातन समयको सबैभन्दा ठूला मन्दिरहरू मध्ये एक ठानिएको पार्थिनोनमा ४० फुट उचाइको सुन र हस्तिहाडले बनेको एथेनाको मूर्ति राखिएको थियो। पावलले एथेन्सको भ्रमण गर्दा यो सङ्‌गमरमरको सेतो मन्दिर सहरको महत्त्वपूर्ण धरोहर बनेको लगभग ५०० वर्ष भइसकेको थियो।

पार्थिनोनको मन्दिरमा ध्यान खिंच्दै पावलले एथेन्सवासीहरूको एउटा समूहलाई हातले बनाएको मन्दिरमा बास नगर्नु हुने परमेश्‍वरबारे प्रचार गरे। (प्रेरित १७:२३, २४) सायद एथेनाका मन्दिरहरूको वैभव अथवा तिनका मूर्तिहरूको गौरवले गर्दा पावलका केही स्रोताहरूलाई आफूले थाह नपाएको अदृश्‍य परमेश्‍वरभन्दा एथेना बढी प्रभावशाली लागेको हुनुपर्छ। यद्यपि, पावलले औंल्याएअनुसार मानवजातिका सृष्टिकर्ता “मानिसका . . . सीपले खोपेका सुन अथवा चाँदी अथवा ढुङ्‌गा हुन्‌” भनेर कल्पना गर्नु हुँदैन।—प्रेरित १७:२९.

एथेना जस्ता देवदेवीहरू जसको महिमा मन्दिर र मूर्तिहरूमा निर्भर हुन्छ, ती आउँछन्‌ र जान्छन्‌। सा.यु. पाँचौं शताब्दीमा पार्थिनोनबाट एथेनाको मूर्ति बेपत्ता पारियो र बाँकी रहेका तिनका थोरै मन्दिरहरू मात्र आज अस्तित्वमा छन्‌। बुद्धि र मार्गदर्शनको लागि आज कसले पो एथेनाको मुख ताक्छ र?

“सनातनका परमेश्‍वर” यहोवाको सन्दर्भमा यो कुरा कति भिन्‍न छ जसलाई आजसम्म कसैले देखेका छैनन्‌। (रोमी १६:२६; १ यूहन्‍ना ४:१२) कोरहका छोराहरूले यस्तो लेखे: “परमेश्‍वर सदा सर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ। . . . उहाँ हाम्रा अगुवा हुनुहुनेछ।” (भजन ४८:१४) यहोवा परमेश्‍वरको डोऱ्‍याइबाट आनन्द उठाउने एउटा तरिका उहाँको वचन बाइबल अध्ययन गर्नु र यसका सल्लाहलाई आफ्नो जीवनमा लागू गर्नु हो।