सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं अनिश्‍चितताको सामना गर्न सक्नुहुन्छ

तपाईं अनिश्‍चितताको सामना गर्न सक्नुहुन्छ

तपाईं अनिश्‍चितताको सामना गर्न सक्नुहुन्छ

निश्‍चय नै!” “अवश्‍य!” “ग्यारेन्टी छ!” निस्सन्देह, तपाईंले धेरै चोटि यस्ता अभिव्यक्‍तिहरू सुन्‍नुभएको होला। यद्यपि, हाम्रो जीवनमा पूरा हुन्छ भनेर यकिनकासाथ भन्‍न सकिने धेरै परिस्थितिहरू छैनन्‌। भोलि के हुन्छ भनेर भन्‍न निकै गाह्रो भएकोले जीवनमा हामीले पक्का गरेर भन्‍न सकिने के कुनै कुरा छ र भन्‍ने प्रश्‍न हाम्रो मनमा उठ्‌न सक्छ। शंका र अनिश्‍चितताहरू जीवनको एक हिस्सा नै बनिसकेको छ जस्तो देखिन्छ।

हो, अधिकांश मानिसहरू आफू र आफ्नो परिवारको सुरक्षा र सुख चाहन्छन्‌। मानिसहरू अक्सर पैसा र भौतिक सरसम्पत्तिहरू थुपार्न कडा परिश्रम गर्छन्‌ र र यिनै कुराहरूले तिनीहरूलाई सुख र सुरक्षा दिन्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्‌। तथापि, भूकम्प, आँधीबेहरी, दुर्घटना अथवा हिंस्रक अपराधले एकैछिनमा यस्ता सम्पत्तिहरूलाई स्वाहा पारिदिन सक्छ। गम्भीर बिमारी, छुटानाम, अथवा बेरोजगारीले जीवनलाई एकाएक परिवर्तन गरिदिन सक्छ। हुन त, यस्ता समस्याहरू तपाईंमाथि नै त आइपर्दैन होला। यद्यपि, आफूमाथि कुनै पनि बेला यस्ता समस्याहरू आइपर्न सक्छन्‌ भन्‍ने कुरा सम्झँदा मात्र पनि हामी विचलित र व्याकुल हुन सक्छौं। तर त्यति मात्र होइन।

अनिश्‍चितताको पर्यायवाची शब्द शंका हो र एउटा शब्दकोशले शंकालाई “विश्‍वास अथवा सोचाइमा अनिश्‍चितता जसले अक्सर निर्णय गर्ने काममा बाधा पुऱ्‍याउँछ” भनी परिभाषित गर्छ। यसको अतिरक्‍ति, म्यानेजिङ्‌ग योर माइन्ड (अंग्रेजी) शीर्षकको पुस्तकअनुसार, “कुनै महत्त्वपूर्ण कुराप्रतिको अनिश्‍चितता नै चिन्ता र फिक्रीको प्रमुख कारण हो।” समाधान नगरिएको शंकाले चिन्ता, कुण्ठा अनि रिस जगाउन सक्छ। हो, होला कि नहोला भन्‍ने अनिश्‍चित कुराहरूको चिन्ताले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यलाई हानि पुऱ्‍याउन सक्छ।

फलतः केही व्यक्‍तिहरूले उग्र सोचाइहरू राख्न पुगेका छन्‌। तिनीहरू एक जना ब्राजिलियन युवकको जस्तै सोचाइ राख्छन्‌, जसले यसो भने: “भोलिको किन चिन्ता गर्ने? जे छ आजै छ, भोलि जे होला, देखाजाला।” “खाऔं र पिऔं” भविष्यको कुरा कसले जान्छ र भन्‍ने प्रवृत्तिले केवल निराशा, पीडा र अन्ततः मृत्युको बाटोतिर धकेल्छ। (१ कोरिन्थी १५:३२) सृष्टिकर्ता यहोवा परमेश्‍वरको मुख ताक्नु नै हाम्रो लागि सबैभन्दा उत्तम कुरा हो र बाइबलले उहाँबारे यसो भन्छ, “जसमा कहिल्यै अदल-बदल हुने र फेरिने छाया छैन।” (याकूब १:१७) हामीले परमेश्‍वरको वचन बाइबल जाँच्यौं भने जीवनका अनिश्‍चितताहरूसित कसरी सामना गर्ने भन्‍ने सन्दर्भमा राम्रो सल्लाह र डोऱ्‍याइ पाउनेछौं। यसले हामीलाई यति बिघ्न अनिश्‍चितताहरू हुनुको कारण बुझ्न पनि मदत दिन्छ।

अनिश्‍चितताको कारण

धर्मशास्त्रले जीवनबारे व्यावहारिक दृष्टिकोण प्रदान गर्नुका साथै अनिश्‍चितता र परिवर्तनबारे सही मनोवृत्ति विकास गर्न मदत गर्छ। पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा, बौद्धिकता, राम्रो स्वास्थ्य आदि कुराहरूले केही हदसम्म सुरक्षा त दिन सक्लान्‌ तर त्यस्ता कुराहरू स्थायी रूपमा रहिरहन्छन्‌ अथवा त्यस्ता कुराहरूले नै समस्यामुक्‍त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने आशा हामी राख्न सक्दैनौं भनी बाइबलले देखाउँछ। बुद्धिमान राजा सुलेमानले यसो भने: “वेग कुदाइले दौड़ जित्नसक्‍तैन, औ शक्‍तिले लड़ाइँ जित्नसकिन्‍न। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन।” किन? किनभने “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” त्यसैले सुलेमानले यस्तो चेतावनी दिए, “माछा जालमा र चरा पासोमा परेझैं मानिसहरू पनि झट्टै दुर्दशामा फेला पर्छन्‌।”—उपदेशक ९:११, १२.

येशू ख्रीष्टले पनि सारा मानव पुस्तामाथि आउन लागेको तीव्र चिन्ता र अनिश्‍चित समयबारे बताउनुभयो। एकदमै जीवन्त भाषामा उहाँले यसो भन्‍नुभयो: “सूर्य, चन्द्र, र ताराहरूमा चिह्न हुनेछन्‌, र समुद्र र छालहरूको गर्जनले व्याकुल भएर पृथ्वीमा जाति जातिका मानिसहरूमा संकष्ट हुनेछ, र संसारमा हुने घटनाहरूको डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्‌, किनकि आकाशमा शक्‍तिहरू डग्मगाउनेछन्‌।” यद्यपि, आजका इमानदार हृदय भएका मानिसहरूका लागि येशूले केही सकारात्मक कुराहरू औंल्याउनुभयो: “तिमीहरू पनि जब यी कुरा भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजीकै छ भनी जान।” (लूका २१:२५, २६, ३१) त्यस्तै गरी, अनिश्‍चित भविष्यदेखि डराउनुको सट्टा, परमेश्‍वरमा हाम्रो विश्‍वास छ, जसले हामीलाई अनिश्‍चित कुराहरूमा मात्र ध्यान केन्द्रित नगरी सुरक्षित भविष्यलाई हेर्न मदत गर्छ।

‘पूरा आशा राख्नु’

हामीले हेर्ने, पढ्‌ने वा देख्ने सबै कुराहरूमा हामी निश्‍चित हुन नसक्ने भए तापनि सृष्टिकर्तामाथि भरोसा राख्ने हामीसित असल कारण छ। उहाँ सर्वोच्व मात्र हुनुहुन्‍न तर आफ्ना पार्थिव छोराछोरीहरूको ख्याल राख्ने एक जना मायालु पिता पनि हुनुहुन्छ। आफ्ना वचनहरूबारे परमेश्‍वरले यसो भन्‍नुभयो: “त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

येशू ख्रीष्टले परमेश्‍वरबाट आएको सत्य सिकाउनुभयो अनि उहाँको कुरा सुन्‍ने धेरैले पूर्ण विश्‍वस्तता र निश्‍चितताका साथ त्यसलाई स्वीकार गरे। उदाहरणको लागि, पहिलो पटक येशूको कुरा सुन्‍ने स्त्रीलाई इमानदार हृदय भएका सामरीहरूको एक समूहले यसो भने: “तिम्रो भनाइको कारणले होइन तर हामी आफै विश्‍वास गर्दछौं, किनभने हामी आफैले सुनेका छौं, औ उहाँ साँच्चिनै संसारका मुक्‍तिदाता हुनुहुन्छ भनी हामीले थाह पायौं।” (यूहन्‍ना ४:४२) त्यसै गरी आज हामी असुरक्षित समयमा बाँचिरहेको भए तापनि कुन कुरामा विश्‍वास गर्ने या नगर्ने भन्‍ने सन्दर्भमा हामी अनिश्‍चित हुनुपर्दैन।

धार्मिक विश्‍वासको कुरा आउँदा धेरैले बुझ्ने कोसिस गर्नुभन्दा केवल विश्‍वास गरे पुग्छ भन्‍ने धारणा राख्छन्‌। यद्यपि, बाइबल लेखक लूकाले यस्तो धारणा राखेनन्‌। तिनले अनुसन्धान गरे अनि सही जानकारी प्रस्तुत गरे र यसो गर्दा तिनले लेखेका कुराहरू अरुहरूले ‘निश्‍चय गरी जान्‍न सक्ने थिए।’ (लूका १:४) हाम्रो भन्दा बेग्लै विश्‍वास राख्ने हाम्रा परिवार तथा साथीभाइहरू हामीले विश्‍वास गरेका कुराहरूमा अन्ततः हामी असन्तुष्ट भइ निराश होलान्‌ भनी चिन्तित हुन सक्ने भएकाले हामीले आफ्नो विश्‍वासको पक्षमा बोल्न सक्नु महत्त्वपूर्ण छ। (१ पत्रुस ३:१५) आफूले विश्‍वास गर्नुको कारण राम्ररी बुझिसकेपछि मात्र हामी अरूलाई परमेश्‍वरमाथि विश्‍वास राख्न मदत गर्न सक्छौं। बाइबलले यहोवालाई यी शब्दहरूमा व्याख्या गर्छ: “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:४.

उक्‍त अन्तिम विवरणलाई विचार गर्नुहोस्‌: उहाँ “न्यायी र सत्य हुनुहुन्छ।” यस भनाइप्रति निश्‍चित हुने हामीसित के प्रमाण छ? प्रेरित पत्रुस यस तथ्यप्रति पूर्णतः विश्‍वस्त थिए। उनले रोमी अफिसर र तिनका घरधनीलाई यसो भने, “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) पत्रुसले यी शब्दहरू भने किनकि परमेश्‍वरले कसरी आफ्नै हातले परिस्थितिलाई डोऱ्‍याउनुहुन्छ भन्‍ने कुरा उनले भर्खर आफ्नै आँखाले देखेका थिए, जसअनुसार पहिले अशुद्ध र अस्वीकार्य ठानिएको अन्यजातिको एक परिवार परमेश्‍वरको लागि स्वीकार्य भयो। पत्रुसजस्तै आफ्नो पहिलेको जीवन शैली त्यागेर धार्मिकताको बाटोमा हिंडेका, पृथ्वीको चारैतिर छरिएर रहेका, २३० भन्दा धेरै मुलुकहरूबाट आएका “ठूलो भीड[का]” मानिसहरूलाई आफ्नै आँखाले देख्दा परमेश्‍वरको निष्पक्षता र न्यायप्रति हामी विश्‍वस्त हुन सक्छौं।—प्रकाश ७:९; यशैया २:२-४.

साँचो मसीहीहरूको हैसियतमा हामी एकोहोरो अथवा हठधर्मी नभई नम्र र व्यावहारिक बन्‍न चाहन्छौं। यद्यपि, हाम्रो विश्‍वास तथा भविष्यप्रति हामीले राख्ने आशामा हामी अनिश्‍चित छैनौं। प्रथम शताब्दीका मसीहीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्‍ने हामी इच्छा गर्दछौं।” (हिब्रू ६:११) त्यसरी नै बाइबलको सुसमाचारले हामीलाई “पूरा आशा” दिन्छ। पूर्णतया परमेश्‍वरको वचनमा आधारित त्यो आशाले “निराश गराउँदैन” भनी पावलले पनि बताए।—रोमी ५:५.

यसको अतिरिक्‍त, अरूलाई बाइबलबाट सुसमाचार सुनाउँदा त्यसले तिनीहरूलाई सुरक्षालगायत आध्यात्मिक, भावनात्मक तथा भौतिक निश्‍चितता दिन सक्छ भन्‍ने कुरामा हामी पूर्ण विश्‍वस्त छौं। हामी पावलको यस भनाइप्रति सहमति जनाउन सक्छौं: “हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन, तर शक्‍तिमा पनि, र पवित्र आत्मामा, र ज्यादै आत्मविश्‍वासमा [निश्‍चयतासाथ, NW] तिमीहरूकहाँ आएको हो।”—१ थिस्सलोनिकी १:५.

आध्यात्मिक सुरक्षाका कारण वर्तमान आशिष्‌हरू

वर्तमान समयमा हामी पूर्ण सुरक्षाको आशा त गर्न सक्दैनौं तर हामीलाई केही हदसम्म स्थायी र सुरक्षित भविष्यतर्फ लैजान मदत गर्ने केही कुराहरू भने हामी गर्न सक्छौं। उदाहरणको लागि, सभाहरूमा गरिने मसीही मण्डलीसितको नियमित संगतिले स्थायित्वमा योगदान दिन सक्छ किनकि मण्डलीका सभाहरूमा हामीलाई सही अनि राम्रा सिद्धान्त र मूल्यमान्यताहरू सिकाइन्छ। पावलले यस्तो लेखे: “यस वर्त्तमान संसारका धनीहरूलाई कड़ा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै आशा राखून्‌।” (१ तिमोथी ६:१७) नाशवान भौतिक वस्तुहरूमा नभई यहोवामा भरोसा राख्न सिकेर धेरैले पहिले भोग्नुपरेका चिन्ता र निराशाबाट मुक्‍ति पाउन सकेका छन्‌।—मत्ती ६:१९-२१.

मण्डलीमा हामी न्यानो भ्रातृत्वको पनि आनन्द उठाउँछौं जसले हामीलाई धेरै तरिकामा मदत तथा सहयोग उपलब्ध गराउँछन्‌। आफ्नो सेवकाईमा एक पटक प्रेरित पावल तथा उनका सहयात्रीले “साह्रो गरी मिचिएका” तथा “जीवनसम्म हरेस खान परेको” महसुस गरे। पावलले कहाँबाट मदत र राहत पाए? निस्सन्देह, परमेश्‍वरप्रति उनको विश्‍वास कहिल्यै ढलपल भएन। तथापि, उनलाई संगी मसीहीहरूले प्रोत्साहन र सान्त्वना दिनुका साथै सहयोग गरे। (२ कोरिन्थी १:८, ९; ७:५-७) आज प्राकृतिक प्रकोप अथवा अन्य संकष्टहरूले प्रहार गर्दा आफ्ना संगी मसीही तथा खाँचोमा परेका अन्य व्यक्‍तिहरूलाई आवश्‍यक भौतिक र आध्यात्मिक मदत दिन सधैंजसो हाम्रा मसीही भाइहरू नै सबैभन्दा पहिला देखापर्छन्‌।

जीवनका अनिश्‍चितताहरूको सामना गर्न मदत गर्ने अर्को पक्ष प्रार्थना हो। अप्रत्याशित दबाबहरूको सामना गर्नुपर्दा हामी सधैं स्वर्गमा बस्नुहुने हाम्रा मायालु पितालाई पुकार्न सक्छौं। “थिचोमिचोमा परेकाहरूका निम्ति पनि परमप्रभु एउटा अल्गो धरहरा हुनुहुनेछ, कष्टका समयमा एउटा उच्च धरहरा।” (भजन ९:९) मानव आमाबाबुहरू आफ्ना छोराछोरीलाई सुरक्षा दिन असफल हुन सक्छन्‌। तर डर तथा अनिश्‍चिततासित सामना गर्ने मदत दिन परमेश्‍वर सधैं इच्छुक हुनुहुन्छ। यहोवालाई प्रार्थनामा आफ्ना सारा फिक्रीहरू राख्दा उहाँले “हामीले मागेको र सम्झेको भन्दा ज्यादै प्रशस्तगरी” दिन सक्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।—एफिसी ३:२०.

के तपाईं नियमित रूपमा परमेश्‍वरलाई प्रार्थनामा पुकार्नुहुन्छ? परमेश्‍वरले तपाईंको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा के तपाईं विश्‍वस्त हुनुहुन्छ? साउ पाउलोकी एउटी जवान केटीले यसो भनिन्‌, “मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ भनेर मेरी आमाले मलाई भन्‍नुभयो। तर मैले आफैंलाई यस्तो प्रश्‍न सोधे: ‘आफूले चिन्दै नचिनेको व्यक्‍तिसित किन कुरा गर्ने?’ यद्यपि, हामीलाई यहोवाको मदत चाहिन्छ र हामीले उहाँसित प्रार्थनामा कुरा गर्नु आवश्‍यक छ भन्‍ने कुरा बुझ्न मलाई हितोपदेश १८:१० ले मदत गऱ्‍यो।” उक्‍त शास्त्रपद यसो भन्छ: “परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो। त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।” साँच्चै, यदि हामीले यहोवासित बोल्ने बानी नै बसालेका छैनौं भने कसरी उहाँप्रति भरोसा र विश्‍वस्तता विकास गर्न सक्छौं र? आध्यात्मिक सुरक्षाको आशिष्‌बाट आनन्द उठाउन हामीले दिनहुँ हृदयदेखि नै प्रार्थना गर्ने बानी बसाल्नु पर्छ। येशूले यसो भन्‍नुभयो: “तर आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।’ ”—लूका २१:३६.

हामी निश्‍चित हुन सक्ने अर्को कुरा परमेश्‍वरको राज्यमा हाम्रो आशा हो। दानियल २:४४ का शब्दहरूलाई विचार गर्नुहोस्‌: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” यो हामी निश्‍चित हुन सक्ने एउटा ठोस आशा हो। मानव प्रतिज्ञाहरू अक्सर असफल हुन्छन्‌ तर हामी सधैं यहोवाको वचनमा भरोसा राख्न सक्छौं। परमेश्‍वर अभरपर्दो होइन तर हामीले भरोसा राख्न सक्ने चट्‌टान जस्तै हुनुहुन्छ। हामी दाऊद जस्तो महसुस गर्न सक्छौं, जसले यसो भने: “मेरा परमेश्‍वर, मेरा चटान, जहाँ म रक्षा पाउँदछु। मेरा ढाल, मेरो पहाड़का गढ़ी, मेरो बलिया धरहरा। मेरा शरणस्थान, मलाई उद्धार गर्नुहुने, जसले मलाई विपद्‌देखि बचाउनुहुन्छ।”—२ शमूएल २२:३.

माथि उल्लिखित म्यानेजिङ्‌ग योर माइन्ड भन्‍ने पुस्तक यसो भन्छ, “सम्भाव्य खतराबारे जति धेरै सोच्यो, त्यो त्यति नै वास्तविक लाग्न थाल्छ अनि त्यसको सामना गर्न झन्‌-झनै गाह्रो लाग्न थाल्छ। त्यसकारण संसारको फिक्री र शंकाको बोझले किन आफूलाई थिच्न दिने? संसारका अनिश्‍चितताहरूको फिक्री गर्न छोडेर परमेश्‍वरले प्रदान गर्नुहुने निश्‍चितताहरूमा भरोसा राख्नुहोस्‌। यहोवाको अचूक प्रतिज्ञाहरूमाथिको आफ्नो विश्‍वासलाई बलियो गरी पक्रिराख्दा हामी यस्तो आश्‍वासन पाउँछौं: “उहाँमाथि विश्‍वास गर्ने कोही शर्ममा पर्नेछैन।”—रोमी १०:११.

[पृष्ठ ३१-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरको वचनले मानिसजातिको लागि भावी आशिष्‌हरूको ग्यारेन्टी दिन्छ

[पृष्ठ ३१-मा भएको ठूलो अक्षरको क्याप्सन]

“उहाँमाथि विश्‍वास गर्ने कोही शर्ममा पर्नेछैन”

[पृष्ठ ३१-मा भएको चित्र]

राज्य सुसमाचारले मानिसजातिलाई सुरक्षा दिन्छ