सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं आफ्नो आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्न सक्नुहुन्छ

तपाईं आफ्नो आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्न सक्नुहुन्छ

तपाईं आफ्नो आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्न सक्नुहुन्छ

“गत दशक, आफ्नो कार्यक्षेत्रमा आध्यात्मिकताको भूमिका भन्‍ने विषयमा जिजस सि इ ओ (अंग्रेजी) भन्‍नेदेखि लिएर द ताओ अफ लिडरसिप (अंग्रेजी) जस्ता विभिन्‍न शीर्षकमा ३०० भन्दा बढी पुस्तकहरू प्रकाशित भए” भनी यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट बताउँछ। यो लहर, भौतिक तवरमा संवृद्ध थुप्रै मुलुकका मानिसहरू जीवनमा आध्यात्मिक डोऱ्‍याइको भोका छन्‌ भन्‍ने कुराको सङ्‌केत मात्र हो। यसबारे टिप्पणी गर्दै व्यापारिक पत्रिका ट्रेनिङ एण्ड डेभलपमेन्ट (अंग्रेजी) यसो भन्छ: “प्रविधिले जीवनको हरेक क्षेत्रलाई प्रभावित गरिरहेको समयमा हामी गहिरो अर्थ, उद्देश्‍य र अझै थप व्यक्‍तिगत सन्तुष्टिको खोजमा छौं।”

तर सन्तोषजनक आध्यात्मिक डोऱ्‍याइ तपाईं कहाँ पाउन सक्नुहुन्छ? विगतमा मानिसहरू जीवनमा “गहिरो अर्थ” र “उद्देश्‍य” पत्ता लगाउन स्थापित धर्महरूतर्फ फर्कन्थे। तर आज थुप्रैले स्थापित धर्मतिर आफ्नो पिठ्‌यूँ फर्काएका छन्‌। उच्च पदका ९० जना प्रबन्धक तथा निर्देशकसित गरिएको सर्वेक्षणमा “मानिसहरूले धर्म र आध्यात्मिकतालाई स्पष्टसित अलग्गै छुट्याएको” पाइयो भनी ट्रेनिङ एण्ड डेभलपमेन्ट उल्लेख गर्छ। सर्वेक्षणमा भाग लिएका मानिसहरूले धर्मलाई “असहिष्णु र विभाजक” ठाने भने आध्यात्मिकतालाई “सर्वव्यापी र अविभाज्य” भन्ठाने।

अस्ट्रेलिया, न्युजिल्याण्ड, युनाइटेड किङ्‌डम र युरोप जस्ता खासै धर्मिक झुकाव नभएका समाजहरूमा पनि थुप्रै युवा जनहरूले धर्म र आध्यात्मिकताबीच भिन्‍नता देख्छन्‌। युथ स्टडिज अस्ट्रेलिया-मा (अंग्रेजी) प्राध्यापक रूथ वेबर यस्तो लेख्छिन्‌: “अधिकांश युवाहरू परमेश्‍वर वा कुनै प्रकारको अलौकिक शक्‍तिमा विश्‍वास गर्छन्‌ तर आफ्नो आध्यात्मिकता व्यक्‍त गर्न चर्च मदतकारी वा महत्त्वपूर्ण छ, भन्ठान्दैनन्‌।”

साँचो धर्मले आध्यात्मिकतालाई बढाउँछ

धर्मप्रति यस्तो शङ्‌कालु दृष्टिकोण हुनुको कारण बुझ्न सकिन्छ। थुप्रै धार्मिक संगठनहरू राजनैतिक खिचातानी र नैतिक कपटमा पूरै मुछिएका छन्‌ र असंख्य धार्मिक युद्धहरूमा निर्दोषहरूको रक्‍तदोषी छन्‌। तथापि, कपट र छलले पोतिएका धार्मिक संगठनहरू सँगसँगै कसै-कसैले बाइबललाई पनि तिरस्कार गर्ने गल्ती गरेका छन्‌ र तिनीहरू बाइबलले त्यस्ता कुराहरूको समर्थन गर्छ भन्ठान्छन्‌।

यथार्थमा बाइबलले त्यस्तो कपट र अत्याचारको निन्दा गर्छ। येशूले आफ्नो समयका धर्मगुरुहरूलाई यसो भन्‍नुभयो: “धिक्कार तिमीहरूलाई, ए शास्त्री र फरिसी हो, कपटीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्‌, तर भित्रपट्टि भने मुर्दाहरूका हाड़हरू र सबै अशुद्ध वस्तुले भरिएका हुन्छन्‌। यसरीनै तिमीहरू पनि बाहिर भने मानिसहरूका सामु धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र अत्याचारले भरिएका छौ।”—मत्ती २३:२७, २८.

यसबाहेक, बाइबलले मसीहीहरूलाई सबै राजनैतिक मामिलाहरूमा तटस्थ रहन प्रोत्साहन दिन्छ। एक-अर्कालाई मार्न विश्‍वासीहरूलाई आग्रह गर्नुको सट्टा यसले एक-अर्काको लागि आफ्नो प्राण अर्पण गर्न समेत तयार हुनुपर्छ भनी सिकाउँछ। (यूहन्‍ना १५:१२, १३; १८:३६; १ यूहन्‍ना ३:१०-१२) “असहिष्णु र विभाजक” हुनुको साटो बाइबलमा आधारित साँचो धर्म “अविभाज्य” छ। प्रेरित पत्रुसले यसो भने: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

बाइबल —आध्यात्मिक स्वास्थ्यको लागि भरपर्दो मार्गनिर्देशक

मानिसहरू परमेश्‍वरको स्वरूपमा सृजिएका छन्‌ भनी बाइबलले हामीलाई बताउँछ। (उत्पत्ति १:२६, २७) यसको अर्थ मानिसहरू शारीरिक अर्थमा परमेश्‍वरजस्ता छन्‌ भन्‍ने त होइन तर मानिसहरूमा परमेश्‍वरको व्यक्‍तित्वका गुणहरू झल्काउने क्षमता छ, जस्तै आध्यात्मिक कुराहरूको क्षमता वा आध्यात्मिकता।

यस्तो क्षमता भएको कारण परमेश्‍वरले हाम्रा आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्ने माध्यमका साथै हाम्रो आध्यात्मिकताको लागि लाभदायक र हानिकारक कुराहरू के-के हुन्‌ भनी छुट्याउन सही निर्देशनको प्रबन्ध गर्नुहुनेछ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ। रोगहरू विरुद्ध लड्‌ने र हामीलाई स्वस्थ्य राख्ने अत्यन्तै अत्युत्तम रोग प्रतिरोधात्मक प्रणाली भएको शरीर परमेश्‍वरले रचना गर्नुभएझैं उहाँले हामीलाई अन्तस्करण वा आन्तरिक आवाज पनि दिनुभएको छ जसले हामीलाई सही निर्णय गर्न र शारीरिक तथा आध्यात्मिक तवरमा हानिकारक बानीहरू त्याग्न मदत गर्न सक्छ। (रोमी २:१४, १५) हामीलाई थाह छ, हाम्रो रोग प्रतिरोधात्मक प्रणाली सुचारु रूपमा चल्न यसलाई उचित पोषण चाहिन्छ। त्यस्तै गरी हाम्रो अन्तस्करणले काम गर्नको लागि हामीले यसलाई पोसिलो आध्यात्मिक आहार खुवाउनुपर्छ।

हामीलाई आध्यात्मिक तवरमा कस्ता आहारहरूले स्वस्थ्य राख्छन्‌ भनी चिनाउँदै येशूले यसो भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४) यहोवाका उद्‌गारहरू उहाँको वचन, बाइबलमा लिपिबद्ध छन्‌ र ती “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी” छन्‌। (२ तिमोथी ३:१६) त्यसकारण, त्यो आध्यात्मिक पोषण लिन प्रयास गर्ने कि नगर्ने भन्‍ने कुरा हामीमै निर्भर छ। हामीले बाइबलबारे ज्ञान प्राप्त गर्न र यसका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्न जत्ति प्रयास गर्छौ, त्यत्ति नै हामीले आध्यात्मिक र शारीरिक तवरमा मदत पाउनेछौं।—यशैया ४८:१७, १८.

के यो सार्थक प्रयास हो?

हो, बाइबल अध्ययन गरेर हाम्रो आध्यात्मिक स्वास्थ्यमा सुधार गर्न समय लाग्छ र अहिले समय झन्‌-झनै दुर्लभ वस्तुजस्तो भएको छ। तर यसका इनामहरू प्रयासका योग्य छन्‌! आफ्नो आध्यात्मिक स्वास्थ्यको ख्याल राख्न समय निकाल्नु तिनीहरूको लागि किन महत्त्वपूर्ण छ भन्‍ने सन्दर्भमा केही व्यस्त पेसेवरहरू के भन्छन्‌, सुन्‍नहोस्‌।

एउटी चिकित्सक मरिना भन्छिन्‌, “अस्पतालमा काम गर्न थालेपछि मात्र मैले आफ्नो आध्यात्मिकताबारे साँच्चै सोच्न थालें र अरूको पीडाले मेरो मनमा गहिरो छाप पार्न थाल्यो। त्यसपछि, आफ्नो सन्तुष्टि र मनोशान्ति कायम गर्ने हो भने मेरो आध्यात्मिक आवश्‍यकतालाई बुझेर त्यसलाई सन्तुष्ट पार्नुपर्छ भन्‍ने कुरा थाह पाएँ किनभने यो पेसामा लाग्ने व्यक्‍तिहरूका लागि अरू मानिसहरूको हेरचाह गर्ने चिन्ता अत्यन्तै अत्यासलाग्दो हुन सक्छ।

“म अहिले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्छु। यस अध्ययनले मलाई आफ्ना कार्य तथा मनोवृत्ति रचनात्मक ढङ्‌गमा केलाउन मदत गर्छ र मेरो विचार गर्ने पद्धतिलाई अझै सकारात्मक बनाउन प्रशिक्षण दिन्छ र यसो गर्दा मैले आफ्नो जीवनलाई सन्तुलित राख्न सक्छु। म आफ्नो पेसाबाट धेरै सन्तुष्ट छु। तर मेरो आध्यात्मिक स्वास्थ्यमा सुधार ल्याएको त बाइबल अध्ययनले नै हो। यसले मलाई नकारात्मक विचारहरूलाई नियन्त्रणमा राख्न, तनाव कम गर्न र अझै धीरजी हुन र मानिसहरूसँग अनुकम्पापूर्ण हुन मदत गरेको छ। बाइबल सिद्धान्तहरू व्यवहारमा उतार्दा मेरो वैवाहिक जीवनमा पनि लाभ पुऱ्‍याएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, मैले यहोवालाई चिन्‍न सकेकी छु र अलिकता मात्र भए पनि उहाँको आत्माको डोऱ्‍याइ महसुस गर्न सकेकी छु, जसले मेरो जीवन अझै अर्थपूर्ण भएको छ।”

एक जना वास्तुविद्‌ निकोलस भन्छन्‌: “यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्नुभन्दा अघि मलाई आध्यात्मिक कुराहरूमा पटक्कै चासो थिएन। मेरो जीवनको प्रमुख लक्ष्य भन्‍नु नै मैले रोजेको पेसामा सफल हुनु थियो। बाइबल अध्ययनबाट मैले आफ्नो पेसाबाहेक अरू थुप्रै महत्त्वपूर्ण कुराहरू छन्‌ र यहोवाको इच्छाअनुसार गर्दा साँचो र अनन्त आनन्द प्राप्त हुन्छ भनी सिकें।

“म आफ्नो पेसाबाट सन्तुष्टि त प्राप्त गर्छु तर आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गरेर जीवन सरल राख्ने महत्त्व सिकाएको त बाइबलले नै हो। यसो गर्दा, मेरी श्रीमती र म भौतिकवादी जीवन शैलीबाट हुने तनावबाट निकै जोगिन सकेका छौं। जीवनमा आध्यात्मिक कुराहरूप्रति त्यस्तै मनोभाव भएका मानिसहरूसित संगत गर्दा हामीले थुप्रै साँचो साथीहरू पनि बनाउन सकेका छौं।”

एक जना वकिल भिन्सेन्ट भन्छन्‌: “राम्रो पेसाले केही हदसम्म सन्तुष्टि प्रदान गर्छ। तर आनन्द र सन्तुष्टि प्राप्त गर्न त्यति मात्र भएर पुग्दैन भनेर मैले थाह पाएँ। यस विषयमा बाइबलको शिक्षा थाह पाउनुअघि मलाई अकस्मात्‌ अर्थहीन जीवनको बोध हुन थाल्यो, जस्तै—जन्मिने, हुर्कने, विवाह गर्ने, आफ्ना छोराछोरी हुर्काउन चाहिने भौतिक कुराहरूको लागि जागिर खाने, आफ्नो जस्तै जीवन पद्धति पछ्याउन तिनीहरूलाई प्रशिक्षण दिने र अन्ततः बूढो हुने र मर्ने।

“यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेपछि मात्र मैले जीवनको उद्देश्‍यको सन्दर्भमा आफ्ना प्रश्‍नहरूको चित्तबुझ्दो उत्तर पाएँ। बाइबल अध्ययनबाट मैले यहोवालाई एक व्यक्‍तिको रूपमा चिन्‍न र उहाँप्रति गहिरो प्रेम खेती गर्न मदत पाएको छु। यसले मलाई उहाँको उद्देश्‍य के हो भनी थाह पाएर आफ्नो जीवन त्यस अनुरूप बिताउने प्रयास गर्दै स्वस्थ्य आध्यात्मिक मनोवृत्ति कायम राख्ने आधार प्रदान गरेको छ। हामीले आफ्नो जीवन अर्थपूर्ण ढङ्‌गमा चलाइरहेका छौं भन्‍ने कुरा थाह पाएर मेरी श्रीमती र म अहिले एकदमै सन्तुष्ट छौं।”

बाइबल अध्ययन गरेर तपाईंले पनि जीवनको उद्देश्‍य र अर्थ प्राप्त गर्न सक्नुहुन्छ। यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी छन्‌। मरिना, निकोलस र भिन्सेन्टले जस्तै तपाईंले पनि यहोवा, मानिसजाति र तपाईं व्यक्‍तिविशेषको लागि उहाँको उद्देश्‍य थाह पाएर सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्छ। तपाईंले अहिले आफ्ना आध्यात्मिक आवश्‍यकता पूरा भएको आनन्द मात्र होइन तर सिद्ध शरीरमा अनन्त जीवनको प्रत्याशा पनि प्राप्त गर्न सक्नुहुन्छ—यो प्रत्याशा “आत्मामा दरिद्र हुनेहरू” अर्थात्‌ आध्यात्मिक आवश्‍यकताप्रति सजग भएकाहरूका लागि मात्र उपलब्ध छ।—मत्ती ५:३.

आफ्नो आध्यात्मिकता विकास गर्ने एउटा तरिका प्रार्थना गरेर हो। येशूले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनी सिकाउन समय निकाल्नुभयो र उहाँले सिकाउनुभएको प्रार्थनालाई नै सामान्यतया प्रभुको प्रार्थना भन्‍ने गरिन्छ। आज तपाईंको लागि त्यस प्रार्थनाले कस्तो अर्थ राख्छ? तपाईंले त्यसबाट कसरी लाभ उठाउन सक्नुहुन्छ? तपाईंले यी प्रश्‍नहरूको जवाफ अर्को दुइटा लेखमा पाउनुहुनेछ।

[पृष्ठ ६-मा भएका चित्रहरू]

मरिना

[पृष्ठ ७-मा भएका चित्रहरू]

निकोलस

[पृष्ठ ७-मा भएका चित्रहरू]

भिन्सेन्ट