सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌”

“हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌”

“हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌”

“उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, ‘हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।’ ”—लूका ११:१.

१. येशूका एक जना चेलाले प्रार्थना गर्न सिकाउनुहोस्‌ भनेर किन येशूलाई बिन्ती गरे?

 यो सा.यु. ३२ को एउटा अवसरको कुरा हो, येशूका एक जना चेलाले उहाँले प्रार्थना गर्नुभएको हेरिरहेका थिए। येशूले आफ्नो पितालाई के भनिरहनुभएको थियो भनेर त तिनले सुन्‍न सकेनन्‌ किनभने सम्भवतः यो मौन प्रार्थना थियो। यद्यपि, येशूले प्रार्थना गरिसक्नुभएपछि ती चेलाले येशूलाई यसो भने: “प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।” (लूका ११:१) यस्तो बिन्ती गर्नुको कारण के थियो? प्रार्थना, यहूदी जीवन र उपासनाको नियमित भाग थियो। हिब्रू धर्मशास्त्रको भजनसंग्रह र अन्य पुस्तकहरूमा थुप्रै प्रार्थनाहरू पाइन्छन्‌। त्यसकारण ती चेलाले कुनै नयाँ कुरा वा आफूले कहिल्यै नगरेको कुरा सिकाउनुहोस्‌ भनी बिन्ती गरिरहेका थिएनन्‌। निस्सन्देह, तिनलाई यहूदीधर्मका धार्मिक नेताहरूको औपचारिक प्रार्थनाहरू थाह थियो। तर तिनले सम्भवतः अहिले येशूले प्रार्थना गरिरहनुभएको देखेपछि रब्बीहरूको पाखण्डी प्रार्थना र येशूले प्रार्थना गर्नुभएको तरिकाबीच आकास-पत्तालको भिन्‍नता भएको याद गरे।—मत्ती ६:५-८.

२. (क) हामीले नमुना प्रार्थना मुखस्त पारेर शब्द शब्द रटेको येशू चाहनुहुन्‍नथ्यो भनेर कुन कुराले देखाउँछ? (ख) प्रार्थना कसरी गर्ने भनी हामी किन जान्‍न चाहन्छौं?

लगभग १८ महिनाअघि येशूले डाँडाको उपदेशमा आफ्ना चेलाहरूले पछ्याउन सक्ने नमुना प्रार्थना सिकाउनुभयो। (मत्ती ६:९-१३) सायद त्यतिबेला ती चेला उपस्थित थिएनन्‌, त्यसकारण येशूले नमुना प्रार्थनाका महत्त्वपूर्ण बुँदाहरू दयालु ढङ्‌गमा पुनः दोहोऱ्‍याउनुभयो। यसको उल्लेखनीय कुरा के हो भने, उहाँले उक्‍त प्रार्थना हुबहु दोहोऱ्‍याउनुभएन र यसले उहाँले मुखस्त पार्नुपर्ने धार्मिक प्रार्थना रटिरहनुभएको थिएन भनेर स्पष्ट पार्छ। (लूका ११:१-४) नाउँ उल्लेख नगरिएका ती चेलाजस्तै हामी पनि प्रार्थना कसरी गर्ने भनेर सिक्न चाहन्छौं जसको कारण हाम्रा प्रार्थनाहरूद्वारा हामी यहोवासित अझ घनिष्ठ हुन सक्नेछौं। त्यसकारण आउनुहोस्‌ प्रेरित मत्तीले लिपिबद्ध गरेका नमुना प्रार्थनाको पूरा विवरणलाई केलाऔं। यसमा सातवटा बिन्ती छन्‌ जसमध्ये तीनवटा परमेश्‍वरको उद्देश्‍य र चारवटा हाम्रो भौतिक तथा आध्यात्मिक आवश्‍यकतासित सम्बन्धित छन्‌। यस लेखमा हामी सुरुका तीनवटा बिन्तीबारे विचार गर्नेछौं।

मायालु पिता

३, ४. यहोवालाई “हाम्रा पिता” भनेर सम्बोधन गर्नुको अर्थ के हो?

सुरुदेखि नै येशूले हाम्रा प्रार्थनाहरूले यहोवासित घनिष्ठ तर आदरणीय सम्बन्ध झल्काउनुपर्छ भनेर देखाउनुभयो। मुख्यतया, त्यस डाँडामा येशूको नजिक भेला भएका चेलाहरूको हितको खातिर येशूले यहोवालाई “हे हाम्रा स्वर्गमा बस्ने पिता” भनेर सम्बोधन गर भन्‍नुभयो। (मत्ती ६:९) एक जना शास्त्रविद्‌का अनुसार येशूले हिब्रूको लोकप्रिय शैली वा अरामी भाषामा बोल्नुभएको भए तापनि उहाँले “पिता” भन्‍न प्रयोग गर्नुभएको अभिव्यक्‍ति र बच्चाले ‘बालबोलीमा’ प्रयोग गर्ने अभिव्यक्‍तिबीच घनिष्ठ सम्बन्ध छ। यहोवालाई “हाम्रा पिता” भनेर सम्बोधन गर्दा एउटा न्यानो, भरोसायोग्य सम्बन्धको आभाष हुन्छ।

“हाम्रा पिता” भनी सम्बोधन गर्दा हामीले यहोवालाई आफ्नो जीवनदाताको रूपमा स्वीकार्ने पुरुष र स्त्री सबै समावेश भएको एउटा ठूलो परिवारको भाग हौं भनेर मानिलिन्छौं। (यशैया ६४:८; प्रेरित १७:२४, २८) आत्मा-अभिषिक्‍त मसीहीहरू “परमेश्‍वरका छोराहरू” भनी स्वीकार गरिन्छन्‌ अनि तिनीहरूले ‘अब्बा, पिता, भनेर पुकार्न सक्छन्‌।’ (रोमी ८:१४, १५) अरू लाखौं तिनीहरूका वफादार सँगी भएका छन्‌। यिनीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गरेका छन्‌ र पानीको बप्तिस्माद्वारा समर्पणलाई प्रतीकात्मक रूप दिएका छन्‌। यी सबै “अरू भेडा[ले]” येशूको नाउँमा यहोवालाई पुकार्न सक्छन्‌ अनि उहाँलाई “हाम्रा पिता” भन्‍न सक्छन्‌। (यूहन्‍ना १०:१६; १४:६) स्वर्गमा हुनुहुने पितालाई प्रशंसा गर्न, उहाँले हामीप्रति देखाउनुभएको भलाइको लागि धन्यवाद दिन अनि हाम्रो बोझ उहाँमा सुम्पन हामी नियमित तवरमा प्रार्थनामार्फत उहाँसमक्ष जान सक्छौं र उहाँले हाम्रो फिक्री गर्नुहुन्छ भनेर ढुक्क हुन सक्छौं।—फिलिप्पी ४:६, ७; १ पत्रुस ५:६, ७.

यहोवाको नाउँप्रतिको प्रेम

५. नमुना प्रार्थनाको सुरुको बिन्ती के हो अनि यो किन उचित  छ?

सुरुको बिन्तीले प्राथमिकता दिनुपर्ने कुरालाई प्रथम स्थानमा राखेको छ। त्यहाँ यसो भनिएको छ: “तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) हो, यहोवाको नाउँको पवित्रीकरण हाम्रो लागि प्रमुख चासोको विषय हुनुपर्छ किनभने हामी उहाँलाई प्रेम गर्छौं र उहाँको नाउँमा त्यति बिघ्न निन्दा थुप्रिएको हेर्न चाहँदैनौं। शैतानको विद्रोह र त्यसले प्रथम मानव दम्पतीलाई यहोवा परमेश्‍वरप्रति अनाज्ञाकारी हुन उक्साउँदा परमेश्‍वरले आफ्नो विश्‍वव्यापी सार्वभौमिकता चलाइरहनुभएको ढङ्‌गमा प्रश्‍न उठाएर उहाँको नाउँको बदनाम गऱ्‍यो। (उत्पत्ति ३:१-६) साथै, शताब्दीयौंको दौडान, यहोवाको नाउँको प्रतिनिधित्व गरेको दाबी गर्ने मानिसहरूले गरेका लज्जास्पद कार्य तथा शिक्षाहरूले उहाँको नाउँको निन्दा गरेको छ।

६. हामी यहोवाको नाउँ पवित्र गरिओस्‌ भनेर प्रार्थना गर्छौं भने के गर्ने छैनौं?

यहोवाको नाउँको पवित्रीकरणको लागि हाम्रो प्रार्थनाले विश्‍वव्यापी सार्वभौमिकताको विवादमा हाम्रो अडान कस्तो छ भनेर देखाउँछ अर्थात्‌ ब्रह्‍माण्डलाई शासन गर्ने अधिकार यहोवाकै अधिकार हो भनेर हामी मानिलिन्छौं भनेर प्रस्ट पार्छ। यहोवा, उहाँको धार्मिक सार्वभौमिकताको अधीनमा बस्न इच्छुक र आनन्दित बौद्धिक प्राणीहरूले यो ब्रह्‍माण्ड आवाद गरून्‌ भन्‍ने चाहनुहुन्छ किनभने तिनीहरू उहाँलाई प्रेम गर्छन्‌ र उहाँको नाउँले प्रतिनिधित्व गर्ने सबै कुरालाई प्रेम गर्छन्‌। (१ इतिहास २९:१०-१३; भजन ८:१; १४८:१३) यहोवाको नाउँप्रति हाम्रो प्रेमले हामीलाई उहाँको त्यो पवित्र नाउँमा कलङ्‌क लगाउने कुनै पनि कुरा गर्नदेखि रोक्न मदत गर्नेछ। (इजकिएल ३६:२०, २१; रोमी २:२१-२४) यस ब्रह्‍माण्ड र यसका बासिन्दाहरूको शान्ति, यहोवाको नाउँको पवित्रीकरण र प्रेमले उत्प्रेरित भई उहाँको सार्वभौमिकताको अधीनमा बस्नुमा निर्भर भएको हुँदा “तपाईंको नाउँ पवित्र गरिओस्‌” भन्‍ने हाम्रो प्रार्थना, यहोवाको उद्देश्‍य पूरा हुँदा उहाँकै प्रशंसा हुनेछ भन्‍ने हाम्रो विश्‍वस्तताको अभिव्यक्‍ति हो।—इजकिएल ३८:२३.

हामीले प्रार्थना गर्ने राज्य

७, ८. (क) येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभएको राज्य के हो? (ख) दानियल र प्रकाशको पुस्तकमा हामी यो राज्यबारे के सिक्छौं?

नमुना प्रार्थनाको दोस्रो बिन्ती हो: “तपाईंको राज्य आओस्‌।” (मत्ती ६:१०क) अघिल्लो बिन्तीसित यो बिन्तीको नजिकको सम्बन्ध छ। आफ्नो पवित्र नाउँ पवित्र गर्ने उहाँको माध्यम मसीही राज्य, उहाँको स्वर्गीय सरकार हो जसको नियुक्‍त राजा उहाँको आफ्नै पुत्र येशू ख्रीष्ट हुनुहुन्छ। (भजन २:१-९) दानियलको भविष्यवाणीले मसीही राज्यलाई “पहराबाट” निस्केको “एउटा ढुङ्‌गा” भनेर चित्रण गर्छ। (दानियल २:३४, ३५, ४४, ४५) पहरा वा पहाडले यहोवाको विश्‍वव्यापी सार्वभौमिकताको प्रतिनिधित्व गर्छ, त्यसकारण ढुङ्‌गाले चित्रण गर्ने राज्य चाहिं यहोवाको विश्‍वव्यापी शासनको नयाँ अभिव्यक्‍ति हो। यस भविष्यवाणीमा यो ढुङ्‌गा ‘बढ्‌दै गएर एउटा ठूलो पहाड भएर सारा पृथ्वीलाई ढाक्छ’ अर्थात्‌ मसीही राज्यले पृथ्वीमाथि शासन गर्ने ईश्‍वरीय सार्वभौमिकतालाई प्रतिनिधित्व गर्छ भनी देखाउँछ।

यो राज्य सरकारमा ख्रीष्टलाई साथ दिने अरू १,४४,००० छन्‌ र तिनीहरू उहाँसित राजा र पूजाहारीको रूपमा शासन गर्न “मानिसहरूमध्येबाट किनिएका” हुन्‌। (प्रकाश ५:९, १०; १४:१-४; २०:६) दानियलले यिनीहरूलाई “सर्वोच्चका पवित्र जनहरू” भनेका छन्‌ जसलाई तिनीहरूको शिर ख्रीष्टसँगै “राज्याधिकार र सर्वाधिकार र स्वर्गमनिका सारा राज्यहरूको महिमा . . . दिइनेछ। तिनीहरूका राज्याधिकार सदा सर्वदैको हुनेछ, र सबै सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन्‌ र तिनीहरूकै आज्ञा पालन गर्नेछन्‌।” (दानियल ७:१३, १४, १८, २७) ख्रीष्टले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनुभएको स्वर्गीय सरकारको यो एकदमै सुहाउँदो वर्णन हो।

त्यो राज्य आओस्‌ भनेर किन अझै प्रार्थना गर्ने?

९. परमेश्‍वरको राज्य आओस्‌ भनेर हामीले प्रार्थना गर्नु किन उचित छ?

नमुना प्रार्थनामा ख्रीष्टले हामीलाई परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। बाइबल भविष्यवाणीको पूर्तिले मसीही राज्य १९१४ मा स्वर्गमा स्थापना भयो भनी देखाउँछ। a त्यसकारण हामीले त्यो राज्य “आओस्‌” भनेर प्रार्थना गर्नु अझै उचित छ र? अवश्‍य। किनभने दानियलको भविष्यवाणीमा ढुङ्‌गाले प्रतिनिधित्व गर्ने मसीही राज्यसित एउटा विशाल मूर्तिले प्रतिनिधित्व गर्ने मानव राजनैतिक सरकारहरूको मुठभेड हुन लागेको छ। त्यो ढुङ्‌गा त्यो मूर्तिसित ठोक्किनेछ अनि त्यसलाई धूलोपीठो पार्नेछ। दानियलको भविष्यवाणी यसो भन्छ: यो “राज्य अरू कुनै जातिको हातमा [दिइनेछैन]। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.

१०. हामी किन परमेश्‍वरको राज्य आएको हेर्ने तिर्सना गर्छौं?

१० हामी परमेश्‍वरको राज्यले शैतानको दुष्ट रीतिरिवाज हटाएको हेर्ने तिर्सना गर्छौं किनभने यसो हुँदा यहोवाको नाउँ पवित्र गरिनेछ र ईश्‍वरीय सार्वभौमिकताका सबै विरोधीहरू हटाइनेछन्‌। हामी यस्तो व्यग्र प्रार्थना गर्छौं: “तपाईंको राज्य आओस्‌,” अनि प्रेरित यूहन्‍ना सँगसँगै हामी यसो भन्छौं, “आमिन, आउनुहोस्‌, हे प्रभु येशू।” (प्रकाश २२:२०) हो, यहोवाको नाउँ पवित्र गर्न तथा उहाँको सार्वभौमिकता उच्च पार्न येशू आऊन्‌ ताकि भजन रचयिताका यी शब्दहरू सत्य साबित हुन सक्नेछन्‌: “तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।—भजन ८३:१८.

“तपाईंको इच्छा . . . पूरा होस्‌”

११, १२. (क) परमेश्‍वरको इच्छा “स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भनेर प्रार्थना गर्दा हामीले के भनिरहेका हुन्छौं? (ख) यहोवाको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्नुको अर्थ अर्को के पनि हो?

११ त्यसपछि येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) यहोवाको इच्छाले गर्दा यो ब्रह्‍माण्ड अस्तित्वमा आयो। शक्‍तिशाली स्वर्गीय प्राणीहरू यसरी कराउँछन्‌: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” (प्रकाश ४:११) यहोवाले ‘स्वर्ग र पृथ्वीका सबै कुराको’ लागि उद्देश्‍य राख्नुभएको छ। (एफिसी १:८-१०) परमेश्‍वरको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्दा हामीले वास्तवमा यहोवालाई आफ्नो उद्देश्‍य पूरा गर्नुहोस्‌ भनेर बिन्ती गरिरहेका हुन्छौं। यसबाहेक, हामी सारा ब्रह्‍माण्डभरि ईश्‍वरीय इच्छा पूरा भएको हेर्ने तिर्सना गर्छौं भनेर देखाउँछौं।

१२ यस प्रार्थनाद्वारा हामी यहोवाको इच्छा अनुरूप आफ्नो जीवन बिताउने इच्छुकता पनि प्रकट गर्छौं। येशूले यसो भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्‍ना ४:३४) समर्पित मसीहीहरूको हैसियतमा हामी परमेश्‍वरको इच्छा गर्न येशूजस्तै रमाउँछौं। यहोवा र उहाँको पुत्रप्रतिको प्रेमले हामीलाई “मानिसको अभिलाषामा होइन, तर परमेश्‍वरको इच्छामा” जीवन बिताउन उत्प्रेरित गर्छ। (१ पत्रुस ४:१, २; २ कोरिन्थी ५:१४, १५) यहोवाको इच्छा विपरीत हुन्‌ भनी थाह पाएका कुराहरूबाट हामी अलग रहने प्रयास गर्छौं। (१ थिस्सलोनिकी ४:३-५) बाइबल पढाइ तथा अध्ययनको लागि समय निकालेर हामी यहोवाको “इच्छा के रहेछ, सो” बुझ्छौं र यसमा “राज्यको यो सुसमाचार” प्रचार गर्ने कार्यमा सक्रिय भई भाग लिनु पनि समावेश छ।—एफिसी ५:१५-१७; मत्ती २४:१४.

स्वर्गमा यहोवाको इच्छा

१३. शैतानले विद्रोह गर्नुअघि नै कसरी परमेश्‍वरको इच्छा पूरा भइरहेको थियो?

१३ यहोवाको एक जना आत्मिक छोराले विद्रोह गरेर शैतान बन्‍नु धेरै अघिदेखि नै स्वर्गमा उहाँको इच्छा पूरा भइरहेको थियो। हितोपदेशको पुस्तकले परमेश्‍वरको ज्येष्ठ पुत्रलाई बुद्धिको मूर्त रूप भनी चित्रण गर्छ। यसले देखाएअनुसार युगानुयुगसम्म परमेश्‍वरको एक मात्र प्रिय पुत्र, पिताको इच्छा गर्न खुसीसाथ “दिनहुँ उहाँकै सामने” हुनुहुन्थ्यो। अन्ततः उहाँ “स्वर्गमा र पृथ्वीमाथि भएका दृष्ट र अदृष्ट थोकहरू” सृष्टि गर्न यहोवाको प्रमुख “कारीगर” हुनुभयो। (हितोपदेश ८:२२-३१, नयाँ संशोधित संस्करण; कलस्सी १:१५-१७) यहोवाले येशूलाई आफ्नो वचन वा प्रवक्‍ताको रूपमा चलाउनुभयो।—यूहन्‍ना १:१-३.

१४. स्वर्गदूतहरूले स्वर्गमा यहोवाको इच्छा कसरी पूरा गर्छन्‌ भन्‍ने सन्दर्भमा हामी भजन १०३ बाट के सिक्न सक्छौं?

१४ यहोवाको सार्वभौमिकता सर्वोत्कृष्ट कुरा हो र अनगिन्ती स्वर्गदूतहरूले उहाँको निर्देशन र आज्ञा सुन्छन्‌ भनी भजन रचयिताले देखाउँछन्‌। हामी यस्तो लेखिएको पाउँछौं: “परमप्रभुले ता आफ्नो सिंहासन स्वर्गमा स्थापित गराउनुभएको छ। र उहाँको राज्य सबैमाथि छ, हे परमप्रभुका दूत हो, हे शक्‍तिमान वीर हो, जसले उहाँको वचन शिरोपर गर्दछ, उहाँकै वचनको शब्द सुन्दै उहाँलाई धन्यको भन। हे परमप्रभुका सारा सेना हो, हे उहाँका सेवक हो, जो उहाँको इच्छाबमोजिम गर्दछौ, परमप्रभुलाई धन्यको भन। हे परमप्रभुका सारा सृष्टि हो, उहाँको साम्राज्यका [वा, “सार्वभौमिकता,”] सबै ठाउँहरूमा उहाँलाई धन्यको भन।”—भजन १०३:१९-२२.

१५. येशूले राज्य शक्‍ति पाउनुहुँदा स्वर्गमा परमेश्‍वरको इच्छा कसरी पूरा हुन सक्यो?

१५ शैतानले विद्रोह गरेपछि पनि त्यो अझै स्वर्गमा प्रवेश गर्न सक्थ्यो भनी अय्यूबको पुस्तकले देखाउँछ। (अय्यूब १:६-१२; २:१-७) तथापि, प्रकाशको पुस्तकले शैतान र त्यसका प्रेतहरू स्वर्गबाट फ्याँकिने समय आउनेछ भनेर भविष्यवाणी गऱ्‍यो। त्यो समय, स्पष्टतः येशूले १९१४ मा राज्य शक्‍ति प्राप्त गर्नुभएको अलिक समयपछि आयो। त्यस बेलादेखि ती विद्रोहीहरूको लागि स्वर्गमा कुनै ठाउँ छैन। तिनीहरू पृथ्वीमै सीमित भएका छन्‌। (प्रकाश १२:७-१२) स्वर्गमा अब कुनै विद्रोहको आवाज सुनिंदैन, “थुमा” येशू ख्रीष्टको प्रशंसा र आज्ञाकारी भई यहोवाको प्रशंसा गरिरहेको आवाज मात्र सुनिन्छ। (प्रकाश ४:९-११) यहोवाको इच्छा स्वर्गमा साँच्चै पूरा भइरहेको छ।

पृथ्वीको लागि यहोवाको इच्छा

१६. नमुना प्रार्थनाले मानिसजातिको आशाबारे मसीहीजगत्‌को शिक्षालाई कसरी खण्डन गर्छ?

१६ मसीहीजगत्‌का चर्चहरूले सबै असल मानिसहरू स्वर्ग जानेछन्‌ भन्‍ने दाबी गर्दै परमेश्‍वरको उद्देश्‍यमा पृथ्वीलाई समावेश गर्दैनन्‌। तर येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) के आज अपराध, अन्याय, रोगबिमार र मृत्युले पिरोलिएको पृथ्वीमा यहोवाको इच्छा पूरा भइरहेको छ भनेर भन्‍न सकिने कुनै आधार छ र? पक्कै छैन! त्यसकारण हामीले प्रेरित पत्रुसले लिपिबद्ध गरेका यो प्रतिज्ञा अनुरूप परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा होस्‌ भनेर व्यग्र प्रार्थना गर्नुपर्छ: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग [ख्रीष्टले शासन गर्नुहुने मसीही राज्य सरकार] र नयाँ पृथ्वीको [धार्मिक मानव समाज] बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.

१७. पृथ्वीको लागि यहोवाको उद्देश्‍य के हो?

१७ पृथ्वी सृष्टि गर्नुमा यहोवाको एउटा उद्देश्‍य थियो। उहाँले अगमवक्‍ता यशैयालाई यस्तो लेख्न प्रेरित गर्नुभयो: “स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, (उहाँ परमेश्‍वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।) म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।” (यशैया ४५:१८) परमेश्‍वरले प्रथम मानव दम्पतीलाई प्रमोदनरूपी बगैंचामा राख्नुभयो र यस्तो निर्देशन दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” (उत्पत्ति १:२७, २८; २:१५) सृष्टिकर्ताको उद्देश्‍य के हो भन्‍ने कुरा स्पष्ट छ, यो पृथ्वी धर्मी मानिसहरूको सिद्ध जातिले आवाद होस्‌ जो खुसीसाथ यहोवाको सार्वभौमिकताको अधीनमा बस्छन्‌ अनि ख्रीष्टले प्रतिज्ञा गर्नुभएको प्रमोदवनमा सधैंभरि बाँच्छन्‌।—भजन ३७:११, २९; लूका २३:४३, NW.

१८, १९. (क) पृथ्वीमा परमेश्‍वरको इच्छा पूर्णतया पूरा हुनुअघि के हुनै पर्छ? (ख) यसपछिको लेखमा येशूको नमुना प्रार्थनाका अन्य कुन पक्षहरू छलफल गरिनेछ?

१८ यहोवाको सार्वभौमिकतालाई विरोध गर्ने पुरुष तथा स्त्री यस पृथ्वीमा होउन्जेल पृथ्वीको लागि उहाँको इच्छा कहिल्यै पूर्णतया पूरा हुन सक्नेछैन। ख्रीष्टको नेतृत्वमा शक्‍तिशाली आत्मिक सेना प्रयोग गरेर परमेश्‍वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ। झूटो धर्म, भ्रष्ट राजनीति, लोभी तथा बेइमान अर्थतन्त्र तथा विनाशकारी सेना इत्यादि सबै समावेश भएको शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाज सदाको लागि नामेट हुनेछ। (प्रकाश ११:१८; १८:२१; १९:१, २, ११-१८) यहोवाको सार्वभौमिकता उच्च पारिनेछ अनि उहाँको नाउँ पवित्र गरिनेछ। यी सबै कुराको लागि हामी यसरी प्रार्थना गर्छौं: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌। तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:९, १०.

१९ तथापि, येशूले आफ्नो नमुना प्रार्थनामा हामीले व्यक्‍तिगत कुराहरूको लागि पनि प्रार्थना गर्न सक्छौं भनेर देखाउनुभयो। प्रार्थनासम्बन्धी निर्देशनका यी पक्षहरू यसपछिको लेखमा छलफल गरिनेछ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! भन्‍ने पुस्तकको अध्याय ६ हेर्नुहोस्‌।

पुनरावृत्ति गर्दा

• हामीले यहोवालाई “हाम्रा पिता” भनेर सम्बोधन गर्नु किन उचित छ?

• हामीले यहोवाको नाउँ पवित्र होस्‌ भनेर प्रार्थना गर्नु किन सबैभन्दा महत्त्वपूर्ण कुरा हो?

• हामी किन परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्छौं?

• हामीले परमेश्‍वरको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌ भनेर प्रार्थना गर्नुको अर्थ के हो?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

येशूको प्रार्थना फरिसीहरूका पाखण्डी प्रार्थनाहरूभन्दा निकै फरक थियो

[पृष्ठ १०-मा भएको चित्र]

मसीहीहरूले परमेश्‍वरको राज्य आओस्‌, उहाँको नाउँ पवित्र गरिओस्‌ र उहाँको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्छन्‌