सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो हृदयलाई सुरक्षित राखेर नैतिक शुद्धता कायम राख्नुहोस्‌

आफ्नो हृदयलाई सुरक्षित राखेर नैतिक शुद्धता कायम राख्नुहोस्‌

आफ्नो हृदयलाई सुरक्षित राखेर नैतिक शुद्धता कायम राख्नुहोस्‌

“कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।”—हितोपदेश ४:२३.

१-३. (क) आफ्नो नैतिक शुद्धतालाई मोल नगरेको कुरा मानिसहरूले अक्सर कसरी देखाउँछन्‌? उदाहरण दिनुहोस्‌। (ख) नैतिक शुद्धताको मोललाई विचार गर्नु किन महत्त्वपूर्ण छ?

 त्यो चित्र असाध्यै पुरानो जमानाको देखिएको हुन सक्छ। सायद, घरको सजावटमा त्यो नसुहाएजस्तो देखियो। जेहोस्‌, त्यस चित्रका मालिकलाई त्यो आफूलाई नचाहिनेजस्तो लाग्यो। त्यो चित्र परोपकारी कार्यहरूका लागि पैसा सङ्‌कलन गर्न सेकेन्डह्‍यान्ड सामानहरू बेच्ने ठाउँमा पुग्यो र त्यसको मूल्य २९ अमेरिकी डलर तोकियो। तर केही वर्षपछि त्यस चित्रको मूल्य झन्डै १० लाख अमेरिकी डलर बराबर भएको थाह पाइयो! हो, त्यो चित्र एउटा दुर्लभ अनि उत्कृष्ट कलाकृति थियो। त्यस बहुमूल्य खजानाको सही मूल्य थाह नपाएका पहिलेका ती मालिकलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌ त!

नैतिक शुद्धता अर्थात्‌ व्यक्‍तिविशेषको नैतिक स्वच्छता वा विशुद्धताको सन्दर्भमा पनि अक्सर यस्तै हुने गर्छ। आज अधिकांश मानिसहरूले आफ्नो नैतिक शुद्धताको त्यति मोल गर्दैनन्‌। कसै-कसैले यो आधुनिक जीवन शैलीसित मेल नखाने पुरानो विचारधारा हो भन्छन्‌। त्यसकारण तिनीहरू कुनै एउटा अति नै सानो कुराको लागि पनि नैतिक शुद्धता त्याग्छन्‌। कसै-कसैले एक छिनको यौनाकांक्षा तृप्तिको लागि आफ्नो नैतिक शुद्धतामा सम्झौता गर्छन्‌। अरूले चाहिं आफ्ना साथीभाइ वा विपरीत लिंगका व्यक्‍तिसामु ठूलो देखिने आशामा यसलाई त्याग्छन्‌।—हितोपदेश १३:२०.

एकदमै ढिलो भइसकेपछि मात्र थुप्रैले आफ्नो नैतिक शुद्धता भनेको कत्तिको बहुमूल्य सम्पत्ति रहेछ भनी चाल पाउँछन्‌। तिनीहरूले बेहोर्नुपरेको क्षति अक्सर दुःखदायी हुन्छ। बाइबलले भनेझैं अनैतिकताका नतिजाहरू “ऐरेलुभन्दा तीतो” विषजस्तै हुन सक्छन्‌। (हितोपदेश ५:३, ४) आजको भ्रष्ट नैतिक वातावरणलाई विचार गर्दा तपाईं कसरी आफ्नो नैतिक शुद्धतालाई बहुमूल्य ठान्‍नुका साथै कायम राख्न सक्नुहुन्छ? हामीले चाल्न सक्ने तीन सम्बन्धित कदमहरूमा हामी ध्यान दिनेछौं।

आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌

४. लाक्षणिक हृदय भनेको के हो र हामीले यसलाई किन सुरक्षित राख्नुपर्छ?

नैतिक शुद्धता कायम राख्ने मुख्य तरिका हृदयलाई सुरक्षित राखेर हो। बाइबल यसो भन्छ: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) यहाँ उल्लेख गरिएको “आफ्नो हृदय” भनेको के हो? यो हाम्रो साँच्चैको मुटु होइन। यो हृदय लाक्षणिक हो। यसले तपाईं वास्तवमा भित्र कस्तो मानिस हुनुहुन्छ, त्यसलाई सङ्‌केत गर्छ र यसमा तपाईंको विचार, भावना तथा उत्प्रेरणाहरू बिथोलित छन्‌। बाइबल यसो भन्छ: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले“हृदय,” NW], आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर।” (छड्‌के अक्षर हाम्रो, व्यवस्था ६:५) येशूले यस आज्ञालाई सबैभन्दा ठूलो आज्ञा भनी उल्लेख गर्नुभयो। (मर्कूस १२:२९, ३०) स्पष्टतः हाम्रो यो हृदय असाध्यै बहुमूल्य छ। यो सुरक्षित राख्न योग्यको छ।

५. हृदय बहुमूल्य र खतरनाक दुवै कसरी हुन सक्छ?

तथापि, बाइबलले “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ,” भनेर पनि बताउँछ। (यर्मिया १७:९) हृदय कसरी छली—हाम्रो लागि खतरा हुन सक्छ? उदाहरणका लागि, गाडी एउटा बहुमूल्य साधन हो, आकस्मिक अवस्थामा यसले जीवनसमेत बचाउन सक्छ। तर चालकले गाडीलाई नियन्त्रणमा राखेन, स्टेरिङलाई राम्ररी डोऱ्‍याउन सकेन भने त्यही गाडी एउटा घातक हतियार बन्‍न कत्ति बेर पनि लाग्दैन। त्यस्तै गरी, तपाईंले आफ्नो हृदय सुरक्षित राख्नुभएन भने तपाईं आफ्नो प्रत्येक भित्री इच्छा तथा आवेगहरूको वशमा पर्नुहुनेछ र यसले तपाईंको जीवनलाई विपत्तितर्फ डोऱ्‍याउनेछ। परमेश्‍वरको वचनले यसो भन्छ: “आफ्नै बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो तर बुद्धिको मार्गमा हिंड़ने सुरक्षित रहनेछ।” (हितोपदेश २८:२६) हो, तपाईंले कुनै यात्रा थाल्नुअघि रोड म्याप हेर्नुभएझैं आफूलाई डोऱ्‍याउन परमेश्‍वरको वचन चलाउनुभयो भने तपाईं बुद्धिमा हिंड्‌न र विपत्तिबाट बच्न सक्नुहुन्छ।—भजन ११९:१०५.

६, ७. (क) पवित्रता भनेको के हो र यहोवाका सेवकहरूको लागि यो किन महत्त्वपूर्ण छ? (ख) असिद्ध मानिसहरूले यहोवाको पवित्रता झल्काउन सक्छन्‌ भन्‍ने कुरा हामी कसरी थाह पाउन सक्छौं?

हाम्रो हृदयको स्वाभाविक झुकाव नैतिक शुद्धतातर्फ हुँदैन। हामीले यसलाई त्यसतर्फ डोऱ्‍याउनुपर्छ। यसो गर्ने एउटा तरिका, नैतिक शुद्धताको साँचो मोलबारे चिन्तन गर्नु हो। यस गुणको पवित्रतासँग नजिकको सम्बन्ध छ जसले स्वच्छता, विशुद्धता र पापहरूबाट अलग भन्‍ने बुझाउँछ। पवित्रता एउटा अमूल्य गुण हो जुन यहोवा परमेश्‍वरको एउटा अभिन्‍न भाग हो। बाइबलका सयौं पदहरूले यहोवासित यस गुणको सम्बन्ध देखाएका छन्‌। वास्तवमा भन्‍ने हो भने, “परमप्रभुको निम्ति पवित्र” भनी बाइबलले बताउँछ। (प्रस्थान २८:३६) तर हामी असिद्ध मानवहरूसित त्यो उच्च गुणको के सम्बन्ध?

यहोवा आफ्नो वचनमा यसो भन्‍नुहुन्छ: “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” (१ पत्रुस १:१६) हो, हामीले यहोवाको पवित्रताको अनुकरण गर्न सक्छौं; हामी आफ्नो नैतिक शुद्धता कायम राखेर उहाँ समक्ष स्वच्छ हुन सक्छौं। त्यसैले हामी अशुद्ध, कलङ्‌कित पार्ने कामहरूबाट अलग भयौं भने हामीले एउटा उच्च, रोमाञ्चकारी सुअवसर प्राप्त गर्ने अर्थात्‌ सर्वोच्च परमेश्‍वरका सुन्दर गुणहरू झल्काउने प्रयास गरिरहेका हुनेछौं। (एफिसी ५:१) हामीले यो प्राप्त गर्न सक्दैनौं भन्‍ने अड्‌कल काट्‌नु हुँदैन किनभने यहोवा बुद्धिमान्‌ र व्यावहारिक मालिक हुनुहुन्छ र उहाँले हामीबाट गर्न सक्नेभन्दा बढी कुरा माग्नुहुन्‍न। (भजन १०३:१३, १४; याकूब ३:१७) हो, आध्यात्मिक तथा नैतिक तवरमा शुद्ध रहन प्रयासको खाँचो पर्छ। तर प्रेरित पावलले ‘सीधापना र पवित्रता [नैतिक शुद्धता] ख्रीष्टतर्फको’ हो भनी टिप्पणी गरे। (२ कोरिन्थी ११:३) के हामीले ख्रीष्ट र उहाँको पिताको खातिर नैतिक शुद्धता कायम राख्न हर प्रयास गर्नुपर्दैन र? आखिर, उहाँहरूले हामीप्रति यत्ति धेरै प्रेम देखाउनुभएको छ कि हामीले कहिल्यै त्यसको साटो तिर्न सक्दैनौं। (यूहन्‍ना ३:१६; १५:१३) स्वच्छ नैतिक जीवन बिताएर हाम्रो कृतज्ञता जाहेर गर्न पाउनु हाम्रो लागि एउटा सुअवसर हो। आफ्नो नैतिक शुद्धतालाई यसरी हेऱ्‍यौं भने हामीले यसको मोल गर्नेछौं र हाम्रो हृदयलाई सुरक्षित राख्नेछौं।

८. (क) हामीले आफ्नो लाक्षणिक हृदयलाई कसरी पोषण दिन सक्छौं? (ख) हाम्रो कुराकानीले हामीबारे के प्रकट गर्न सक्छ?

हामीले खाना खाने तरिकाबाट पनि आफ्नो हृदयलाई सुरक्षित राख्न सक्छौं। हामीले आफ्नो मन अनि हृदयलाई नियमित तवरमा आध्यात्मिक भोजनले पोषित पार्दै परमेश्‍वरको राज्यको सुसमाचारमा आफ्नो ध्यान केन्द्रित गर्नु आवश्‍यक छ। (कलस्सी ३:२) हाम्रो ध्यान कुन कुरामा छ भन्‍ने कुरा हाम्रो कुराकानीमा समेत झल्कनुपर्छ। हामी शारीरिक, अनैतिक विषयहरूबारे कुरा गर्ने व्यक्‍तिको रूपमा चिनिन्छौं भने हामीले आफ्नो हृदयको अवस्था कस्तो छ भनेर प्रकट गरिरहेका हुनेछौं। (लूका ६:४५) बरु हामी आध्यात्मिक र उत्थानदायी कुराकानी गर्ने व्यक्‍तिको रूपमा चिनिऔं। (एफिसी ५:३) हाम्रो हृदयलाई सुरक्षित राख्न हामी अलग रहनुपर्ने गम्भीर खतराहरू छन्‌। तीमध्ये दुइटा विषयमा हामी छलफल गरौं।

व्यभिचारदेखि अलग रहनुहोस्‌

९-११. (क) पहिलो कोरिन्थी ६:१८ को सल्लाह बेवास्ता गर्नेहरू किन गम्भीर यौन अनैतिकतामा फस्ने सम्भावना धेरै हुन्छ? उदाहरण दिनुहोस्‌। (ख) हामी व्यभिचारबाट भागिरहेका छौं भने हामी केबाट अलग रहन्छौं? (ग) विश्‍वासी पुरुष अय्यूबले हाम्रो लागि कस्तो उल्लेखनीय उदाहरण बसाले?

यहोवाले प्रेरित पावललाई केही सल्लाह लेख्न प्रेरित गर्नुभयो र यसले थुप्रैलाई आफ्नो हृदय सुरक्षित राख्न र नैतिक शुद्धता कायम राख्न मदत गरेको छ। पावलले भने: “व्यभिचारदेखि अलग रहो।” (१ कोरिन्थी ६:१८) जीवनलाई खतरामा पार्ने कुनै कुरादेखि भागेजस्तै पावलले मसीहीहरूलाई व्यभिचारदेखि अलग रहनू भनेर बताउँछन्‌। हामीले त्यस सल्लाहलाई बेवास्ता गऱ्‍यौं भने गम्भीर अनैतिकतामा फस्ने र परमेश्‍वरको अनुग्रह गुमाउने खतरा बढी हुन सक्छ।

१० उदाहरणका लागि: एउटी आमाले एउटा महत्त्वपूर्ण अवसरको लागि तयार गर्न आफ्नो सानो छोरालाई नुहाइधुवाइ गरी राम्रो लुगा लगाइदिन्छिन्‌। जाने बेला नभएसम्म बाहिर खेल्न जाऊँ कि भनेर तिनले आमालाई सोध्छन्‌ र आमाले अनुमति दिन्छिन्‌ तर एउटा सर्तमा। उनी भन्छिन्‌: “बाहिर हिलो भएको त्यो खाल्टो नजिकै जाँदै नजानू। लुगामा हिलो लगायौ भने तिमीले सजाय पाउनेछौ।” तर एक छिनमै आमाले आफ्नो छोरा हिलो भएको खाल्टोको छेउमै चलबल गरिरहेको देख्छिन्‌। अहिलेसम्म त तिनको लुगामा हिलो लागेको छैन। तैपनि, तिनले खाल्टो नजिकै नजानू भन्‍ने आमाको चेतावनीलाई बेवास्ता गरिरहेका छन्‌ र अब समस्या हुने कुरा त लगभग पक्का नै छ। (हितोपदेश २२:१५) अझै बढी होसियार हुनुपर्ने थुप्रै युवा तथा वयस्कहरूले त्यस्तै गल्ती गर्छन्‌। कसरी?

११ थुप्रै मानिसहरू “नीच [यौन] अभिलाषाको” वशमा परेको समयमा अवैध यौन सम्बन्ध प्रवर्धन गर्ने एउटा ठूलो व्यापार नै सुरु भएको छ। (रोमी १:२६, २७) पत्रपत्रिका, पुस्तक, भिडियो र इन्टरनेटमा अश्‍लील कुराहरूको महामारी छ्यासछ्यासती फैलिएको छ। त्यस्ता चित्रहरू हेर्न छनौट गर्नेहरू पक्कै पनि व्यभिचारबाट भागिरहेका छैनन्‌। तिनीहरूले बाइबलको चेतावनीलाई बेवास्ता गर्दै त्यससँग खेलवाड गरिरहेका छन्‌, भन्‍ने हो भने छेउमै चलबल गरिरहेका छन्‌। आफ्नो हृदयलाई सुरक्षित राख्नुको सट्टा तिनीहरूले सजीव चित्रहरूद्वारा यसलाई दूषित बनाइरहेका छन्‌ जुन आफ्नो सम्झनाबाट मेटाउन वर्षौं लाग्न सक्छ। (हितोपदेश ६:२७) हामी विश्‍वासी अय्यूबबाट पाठ सिकौं जसले खराब कुराहरूप्रति प्रलोभित गर्ने कुराहरू नहेर्न आफ्नै आँखासित सङ्‌कल्प अर्थात्‌ औपचारिक सम्झौता गरे। (अय्यूब ३१:१) अय्यूबको उदाहरण पक्कै पनि अनुकरणीय छ!

१२. मसीही युगल जोडीहरू विवाहपूर्वको भेटघाटको दौडान कसरी “व्यभिचारदेखि अलग” रहन सक्छन्‌?

१२ विवाहपूर्वको भेटघाटको दौडान ‘व्यभिचारदेखि अलग रहनु’ विशेष गरी अत्यावश्‍यक छ। त्यो समयावधि आशा र उमङ्‌गले भरिएको आनन्दमय समय हुनुपर्छ तर केही युगल जोडीहरूले अनैतिकतासँग खेलवाड गरेर बिगार्छन्‌। यस क्रममा तिनीहरूले असल विवाहको लागि उत्तम जग बसाल्नदेखि एक-अर्कालाई वञ्चित गर्छन्‌ जुन निःस्वार्थ प्रेम, आत्मसंयम र यहोवा परमेश्‍वरप्रतिको आज्ञाकारितामा आधारित सम्बन्ध हो। एउटा मसीही युगल जोडी आफ्नो विवाहपूर्वको भेटघाटको दौडान अनैतिक आचरणमा संलग्न भए। तिनीहरूको विवाह पश्‍चात्‌ अन्तस्करणले घोचेको अनि यसले आफ्नो विवाहको दिनको आनन्दसमेत खोसेको कुरा पत्नीले स्वीकारिन्‌। तिनले यसरी मानिलिइन्‌: “मैले यहोवालाई थुप्रै चोटि माफी मागी सकें तर सात वर्ष बितिसक्दा पनि मेरो अन्तस्करणले अझै पिरोलिरहन्छ।” त्यस्तो पाप गर्नेहरूले मसीही प्राचीनहरूबाट मदत लिनु अत्यावश्‍यक छ। (याकूब ५:१४, १५) तथापि, थुप्रै मसीही युगल जोडीहरू बुद्धिमानीपूर्वक चल्छन्‌ र विवाहपूर्वको भेटघाटमा यस्ता खतराहरूबाट अलग रहन्छन्‌। (हितोपदेश २२:३) तिनीहरूले स्नेहका अभिव्यक्‍तिहरूमा सीमा तोक्छन्‌। तिनीहरूले आफूसँग अरू कोही साथी लैजान्छन्‌ र सुनसान ठाउँमा दुई जना एक्लै हुनदेखि होसियार हुन्छन्‌।

१३. मसीहीहरूले यहोवाको सेवा नगर्नेसँग किन विवाहपूर्वको भेटघाट गर्नु हुँदैन?

१३ यहोवाको सेवा नगर्नेहरूसँग विवाहपूर्वको भेटघाट गर्ने मसीहीहरूले ठूला चुनौतीहरूको सामना गर्न सक्छन्‌। उदाहरणका लागि, यहोवा परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्‍तिसँग तपाईं कसरी बाँधिन सक्नुहुन्छ? यहोवा परमेश्‍वरलाई प्रेम गर्ने र नैतिक शुद्धता सम्बन्धी उहाँको स्तरलाई आदर गर्ने व्यक्‍तिसित मात्र एउटै हलोमा जोतिनु अत्यावश्‍यक छ। परमेश्‍वरको वचनले हामीलाई यस्तो भन्छ: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्‌गति?”—२ कोरिन्थी ६:१४.

१४, १५. (क) कसै-कसैले “व्यभिचार”-को अर्थबारे कस्तो गलत धारणा राखेका छन्‌? (ख) “व्यभिचार” शब्दले कस्ता कार्यहरू बुझाउँछ र मसीहीहरू कसरी “व्यभिचारदेखि अलग” रहन सक्छन्‌?

१४ ज्ञान पनि अत्यावश्‍यक छ। व्यभिचार भनेको के हो भनेर वास्तवमै थाह छैन भने हामी सही अर्थमा व्यभिचारबाट अलग रहन सक्दैनौं। आज संसारका कतिपयले “व्यभिचार”-को गलत अर्थहरू स्वीकारेका छन्‌। तिनीहरूले यौन सम्पर्क कायम नगरीकनै वैवाहिक बन्धनमा नबाँधि यौनाकांक्षा तृप्त गर्न सकिन्छन्‌ भन्‍ने सोचाइ राख्छन्‌। केही स्थापित स्वास्थ्य संस्थाहरूले समेत किशोरीहरूमा अनिच्छित गर्भधारणको संख्या कम गर्न युवाहरूलाई गर्भधारण नहुने अन्य यौन क्रियामा भाग लिन प्रोत्साहन दिएका छन्‌। दुःखको कुरा त्यस्ता सल्लाहहरू गलत हुन्‌। वैवाहिक बन्धनमा नबाँधि गर्भधारण हुनबाट अलग रहनु र आफ्नो नैतिक शुद्धता कायम राख्नु भनेको एउटै कुरा होइन र “व्यभिचार”-को सही परिभाषा त्यति सीमित वा साँघुरो छैन।

१५ “व्यभिचार” भनी अनुवाद गरिएको युनानी शब्द पोरनिया-को अर्थ विस्तृत छ। यो शब्दले वैवाहिक बन्धनमा नबाँधिएका व्यक्‍तिहरूबीच यौन सम्बन्ध र यौन अङ्‌गहरूको दुरुपयोगलाई बुझाउँछ। पोरनिया भन्‍नाले मुख मैथुन, मलद्वार मैथुन र अर्को व्यक्‍तिलाई हस्तमैथुन गरिदिने कार्यहरू बुझिन्छ र यस्ता क्रियाहरू सामान्यतया वेश्‍यालयसँग सम्बन्धित छन्‌। त्यस्ता कार्यहरूलाई “व्यभिचार” नठान्‍ने मानिसहरूले आफैलाई छक्याइरहेका हुन्छन्‌ अनि शैतानको एउटा पासोको सिकार भइरहेका हुन्छन्‌। (२ तिमोथी २:२६) यसबाहेक, नैतिक शुद्धता कायम राख्नुको अर्थ व्यभिचारको दायरा भित्र पर्ने कुनै पनि कार्यबाट अलग रहने मात्र होइन। “व्यभिचारदेखि अलग” रहन हामी पोरनिया-को गम्भीर पापतर्फ धकेल्ने सबै प्रकारका यौन अस्वच्छता र छाडा आचरणहरूबाट अलग हुनै पर्छ। (एफिसी ४:१९) त्यसरी हामी नैतिक शुद्धता कायम राख्छौं।

बेमतलबको जिस्क्याइका खतराहरूबाट अलग रहनुहोस्‌

१६. धर्मशास्त्रीय उदाहरणमा देखाइएझैं कस्तो अवस्थामा प्रेमालाप उचित छ?

१६ हामीले आफ्नो नैतिक शुद्धतालाई कायम राख्ने हो भने हामी सावधान रहनुपर्ने अर्को खतरा फ्लर्ट गर्नु अथवा बेमतलबको जिस्क्याइ हो। कसै-कसैले बेमतलबको जिस्क्याइ भनेको विपरीत लिंगका व्यक्‍तिहरूबीच गरिने निर्दोष, अहानिकारक मजा मात्र हो भनी जोड देलान्‌। हो, प्रेमालाप गर्ने समय र ठाउँ छ। इसहाक र रिबेका “प्रेम-क्रीडा” अर्थात्‌ रमाइलो गरिरहेका देखियो र त्यो देख्ने मानिसहरूलाई तिनीहरू दाजु-बहिनी वा साथी मात्र थिएनन्‌ भनी स्पष्ट थियो। (उत्पत्ति २६:७-९) तथापि, तिनीहरू पति-पत्नी थिए। तिनीहरूबीच स्नेहको अभिव्यक्‍ति उचित थियो। बेमतलबको जिस्क्याइ त बिलकुलै अर्कै कुरा हो।

१७. बेमतलबको जिस्क्याइ भनेको के हो र यो समस्यालाई कसरी नियन्त्रणमा राख्न सकिन्छ?

१७ बेमतलबको जिस्क्याइलाई यसरी परिभाषित गर्न सकिन्छ: विवाह गर्ने कुनै मनसाय नभए तापनि रोमान्टिक चासो भएका सङ्‌केतहरू दिनु। मानिसहरू भनेका जटिल प्राणीहरू हुन्‌, त्यसैले बेमतलबको जिस्क्याइ पनि अनगिन्ती प्रकारका छन्‌ र तीमध्ये केही झट्टै चालै नपाउने खालका हुन्छन्‌। (हितोपदेश ३०:१८, १९) त्यसकारण यस विषयमा यस्तै हुनुपर्छ भनी कडा नियम बनाउनु साँच्चै असम्भव छ। बरु, नियमहरूभन्दा उच्च कुरा अर्थात्‌ इमानदार आत्म-परीक्षणका साथै विवेकशील भई बाइबल सिद्धान्तहरू लागू गर्नु आवश्‍यक छ।

१८. कोही-कोही बेमतलबले जिस्किनुका कारणहरू के हुन्‌ र बेमतलबको जिस्क्याई किन हानिकारक हो?

१८ हामी आफैसँग इनामदार छौं भने सम्भवतः हामीमध्ये अधिकांशले यो कुरा स्वीकार्नै पर्छ कि विपरीत लिंगको कोही व्यक्‍तिले हामीप्रति रोमान्टिक चासो देखायो भने हामी फुरुङ्‌ङ हुन्छौं। अनि त्यो स्वाभाविक हो। तर के हामी त्यस्तो चासो देखाओस्‌ भन्‍नको निम्ति वा आफ्नो अहम्‌लाई अलि उचाल्न वा अर्को व्यक्‍तिमा त्यस्तो प्रतिक्रिया जगाउन मात्र बेमतलबले जिस्किरहन्छौं? हो भने आफूले पुऱ्‍याउने चोटबारे के हामीले सोचेका छौं? उदाहरणका लागि, हितोपदेश १३:१२ यसो भन्छ: “आशा साकार नहुँदा मन मर्छ।” हामी जानाजानी अरूसँग बेमतलबले जिस्किरहन्छौं भने अर्को व्यक्‍तिलाई कस्तो असर परिरहेको छ भनेर हामीलाई सम्भवतः थाह हुँदैन। उक्‍त केटा वा केटीले विवाहपूर्वको भेटघाट र अन्ततः विवाह गर्ने प्रत्याशा मनमा खेलाउन सक्छ। त्यसपछि हुने निराशा भयङ्‌कर हुन सक्छ। (हितोपदेश १८:१४) जानाजानी अरूका भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रूर कुरा हो।

१९. बेमतलबको जिस्क्याइले मसीही विवाहहरूलाई कसरी खतरामा पार्न सक्छ?

१९ विवाहित व्यक्‍तिहरूको सन्दर्भमा बेमतलबको जिस्क्याइबारे अझ विशेष गरी सावधान हुनुपर्छ। विवाहित व्यक्‍तिप्रति रोमान्टिक चासो देखाउनु वा विवाहित व्यक्‍तिले आफ्नो जोडीबाहेक अरू कसैप्रति त्यस्तो चासो देखाउनु गलत हो। दुःखको कुरा, केही मसीहीहरूले आफ्नो जोडीबाहेक विपरीत लिंगको अरू व्यक्‍तिप्रति रोमान्टिक भावनाहरू विकास गर्नु ठीकै हो भन्‍ने गलत धारणा राखेका छन्‌। कसै-कसैले आफ्नो वैवाहिक जोडीलाई समेत नबताउने आफ्ना भित्री, गोप्य भावनाहरू त्यस्तो “साथी”-लाई बताउँछन्‌। फलस्वरूप, रोमान्टिक भावनाहरू विकास भएर भावनात्मक निर्भरतामा परिणत भएका छन्‌ र यसले विवाहलाई कमजोर अनि खत्तमसमेत बनाउन सक्छ। व्यभिचार हृदयदेखि सुरु हुन्छ भन्‍ने येशूको बुद्धिमानी चेतावनी विवाहित मसीहीहरूले सम्झनु बुद्धिमानी हुनेछ। (मत्ती ५:२८) त्यसकारण हामी आफ्नो हृदयलाई सुरक्षित राखौं र विपत्तिजनक नतिजातर्फ डोऱ्‍याउने परिस्थितिहरूबाट अलग बसौं।

२०. आफ्नो नैतिक शुद्धताप्रति कस्तो दृष्टिकोण राख्न हामी कटिबद्ध हुनुपर्छ?

२० हुन त हो, आजको अनैतिक संसारमा नैतिक तवरमा शुद्ध रहनु सजिलो छैन। तर एउटा कुरा नबिर्सनुहोस्‌, नैतिक शुद्धता एक चोटि गुमाइसकेपछि पुनः प्राप्त गर्नुभन्दा यसलाई कायम राख्नु धेरै सजिलो छ। निस्सन्देह, यहोवाले “प्रशस्त गरी क्षमा” गर्न सक्नुहुन्छ र आफ्नो पापको साँच्चै पश्‍चात्ताप गर्नेहरूलाई स्वच्छ पार्न सक्नुहुन्छ। (यशैया ५५:७) तथापि, आफ्नै कामको नतिजास्वरूप अनैतिकतामा फस्नेहरूलाई यहोवाले सुरक्षा प्रदान गर्नुहुन्‍न। त्यसका असरहरू वर्षौं वा जिन्दगीभर पनि रहिरहन सक्छन्‌। (२ शमूएल १२:९-१२) हर हालतमा आफ्नो हृदयलाई सुरक्षित राखेर तपाईंको नैतिक शुद्धतालाई कायम राख्नुहोस्‌। तपाईंको स्वच्छ, शुद्ध अडानलाई यहोवा परमेश्‍वरसामु बहुमूल्य धनको रूपमा लिनुहोस्‌ र यो कहिल्यै नगुमाउनुहोस्‌!

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• नैतिक शुद्धता भनेको के हो र यो किन यत्तिको महत्त्वपूर्ण छ?

• हामीले आफ्नो हृदयलाई कसरी सुरक्षित राख्न सक्छौं?

• व्यभिचारदेखि अलग रहनुमा के-के समावेश छ?

• बेमतलबको जिस्क्याइदेखि हामी किन अलग रहनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

राम्रोसँग डोऱ्‍याएन भने गाडी खतरनाक हुन सक्छ

[पृष्ठ १२-मा भएका चित्रहरू]

हामीले चेतावनीहरूको बेवास्ता गऱ्‍यौं भने के हुन सक्छ?

[पृष्ठ १३-मा भएको चित्र]

विवाहपूर्वको भेटघाटलाई नैतिक तवरमा शुद्ध बनाउँदा, त्यो आनन्ददायी हुनुका साथै त्यसले परमेश्‍वरको आदर गर्छ