सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“विश्‍वको नाभिमा” भेला हुँदै

“विश्‍वको नाभिमा” भेला हुँदै

“विश्‍वको नाभिमा” भेला हुँदै

के तपाईंले कहिल्यै “टि पिटो ओ टि हिनुआ” भन्‍ने शब्द सुन्‍नुभएको छ? रपा नुइ, इस्टर आइल्याण्डमा बोलिने यस मौलिक भाषामा यसको अर्थ हो, “विश्‍वको नाभि।” कुन कुराले यहाँ आयोजना गरिएको सम्मेलनलाई यति विशेष बनायो?

सुदूर, रहस्यपूर्ण, असाधारण। इस्टर आइल्याण्ड अर्थात्‌ यहाँका रैथानेहरूको भाषामा रपा नुइलाई वर्णन गर्न प्रयोग गरिने यी केही शब्दहरू हुन्‌। वास्तवमा दक्षिण प्रशान्त महासागरको सबैभन्दा टाढा अर्थात्‌ चिली सान्टिआगोबाट ३,७९० किलोमिटर पर रहेको यो टापु साँच्चै एउटा सुदूर इलाका हो। सेप्टेम्बर ९, १८८८ मा यो चिलीको एउटा प्रान्त बन्‍न पुग्यो।

एक सय छैसट्ठी वर्ग किलोमिटर क्षेत्रफल रहेको त्रिभुजाकारको यो टापु सामान्यतया अहिले अस्तित्वमा नरहेका तीन ज्वालामुखीहरूको सङ्‌गमस्थल हो। वास्तवमा, अन्य प्रशान्तीय टापुहरू जस्तै यो टापु पनि पानीभित्र रहेका भीमकाय पहाडहरूको सानो अंश हो। सम्पूर्ण टापुलाई प्राकृतिक धरोहर भनी घोषणा गरिएको छ। यो टापु मोआइ भनेर चिनिने ढुङ्‌गाका रहस्यमय मूर्तिहरूको लागि सबैभन्दा प्रसिद्ध छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। a

मनै लोभ्याउने प्राकृतिक दृश्‍य र ऐतिहासिक स्थलहरूको अलावा इस्टर आइल्याण्डले किसिम-किसिमका भव्य परिकारहरू पनि प्रदान गर्छ। यस भूमिमा भुइँकटहर, एभोकाडो, मेवा र नौ प्रकारका केराहरू जस्ता स्वादिला फलहरू उत्पादन हुन्छन्‌। अनि समुद्रले गर्दा यहाँ विभिन्‍न प्रकारका माछा तथा अन्य समुद्री खानाहरू पनि पाइन्छन्‌।

नियमित रूपमा पानी पर्ने र इन्द्रेणीहरू देखापर्ने हुनाले इस्टर आइल्याण्डमा मौसम शीतल प्रकृतिको छ जसले आगन्तुकहरूलाई स्वच्छ हावा र मनोरम दृश्‍यहरू प्रदान गर्छ। हाल यहाँ लगभग ३,८०० बासिन्दाहरू छन्‌। सुरु-सुरुतिर बसोबास गर्न आएकाहरूका सन्तान नै यहाँका आधुनिक बासिन्दाहरू हुन्‌ जसमा युरोपेली, चिलियन तथा अन्य जातिहरू छ्यासमिस छन्‌। युरोप तथा एसियाका सयौं पर्यटकहरू यस टापुमा भ्रमण गर्ने गर्छन्‌, जसले पर्यटनलाई अर्थव्यवस्थाको एक महत्त्वपूर्ण स्रोत बनाएको छ।

राज्यको बीउ पहिलो पटक रोपियो

यरबुक अफ जेहोभाज विटनेसेज १९८२ ले यस्तो रिपोर्ट गऱ्‍यो: “केही समयसम्म इस्टर आइल्याण्डमा एक जना मात्र प्रकाशक थिए। तिनलाई [चिली स्थित] शाखा कार्यालयकी एक जना बहिनीले पत्राचारद्वारा आध्यात्मिक तवरमा मदत गर्थिन्‌। त्यसपछि तिनी चिली मै फर्किए तापनि हामीसित त्यस टापुका प्रहरीधरहरा ग्राहकहरूको रेकर्ड छ। स्मरणार्थ मनाउने दिन जान्‍ने इच्छा राख्दै एकदमै टाढाबाट एक जिज्ञासु व्यक्‍तिले अप्रिल १९८० मा हामीलाई फोन गर्दा हामी छक्कै पऱ्‍यौं। त्यसपछि सोही वर्षमा भालपाराइसो नामक सहरबाट एक विवाहित दम्पति त्यहाँ बसाइँ सरे र हाल तिनीहरूले जिज्ञासु व्यक्‍तिहरूसित बाइबल अध्ययन सञ्चालन गरिरहेका छन्‌। अप्रिल १९८१ मा यस टापुमा पहिलो पटक स्मरणार्थ सभा आयोजना गरियो जसमा १३ जना व्यक्‍ति उपस्थित थिए। यस सुदूर इलाकामा ‘सुसमाचार’ प्रवेश गरिरहेको देख्न पाउँदा हामी कत्ति खुसी छौं!

पछि जनवरी ३०, १९९१ मा शाखाले एक विशेष अग्रगामी दम्पति डारियो र विनी फर्नानडेजलाई यस टापुमा पठायो। भाइ फर्नानडेज ती दिनहरू यसरी सम्झन्छन्‌: “पाँच घण्टा लामो उडानपछि हामी पृथ्वीको एक सुदूर अनि रहस्यहरूले भरिएको सम्पन्‍न सांस्कृतिक स्थलमा आइपुग्यौं।” एक जना स्थानीय भाइ र आफ्ना दुइ लालाबालासहित भर्खरै आएकी बहिनीको सहयोगमा तुरुन्तै सभा र प्रचार क्रियाकलापको प्रबन्ध मिलाइयो। पारिवारिक दबाब, धार्मिक कट्टरपन, पोलिनेसियाली संस्कृतिहरूमा व्याप्त केही खास जीवन शैलीहरूको बावजुद आफ्नो प्रयासमा तिनीहरूले यहोवाको आशिष्‌ देखे। हाल भाइ तथा बहिनी फर्नानडेज विशेष अग्रगामी त होइनन्‌ तर तिनीहरू यसै टापुमा बसोबास गरिरहेका छन्‌ जहाँ तिनीहरूले त्यहीं जन्मेको आफ्नो छोरा हुर्काइरहेका छन्‌। आज त्यहाँ ३२ जना आनन्दित राज्य प्रकाशक छन्‌। यीमध्ये रपा नुइ रैथानेहरू पनि छन्‌ भने अरू चाहिं अन्य ठाँउबाट आएर यस टापुमा स्थायी रूपमा बसोबास गर्नेहरू अथवा राज्य उद्‌घोषकहरूको आवश्‍यकता धेरै भएको इलाकामा सेवा गर्न बसाइँ सरेकाहरू छन्‌।

क्षेत्रीय सम्मेलनका लागि तयारीहरू

टापु र महादेशबीचको लामो दूरीलाई ध्यानमा राख्दै मण्डलीले वर्षमा तीन पटक विशेष सम्मेलन दिन, क्षेत्रीय सम्मेलन तथा जिल्ला अधिवेशन कार्यक्रमका भिडियो टेपहरू पाउने गर्दथ्यो। तर २००० को अन्ततिर आएर चिली स्थित शाखा समितिले तिनीहरूको आफ्नै सम्मेलन अर्थात्‌ त्यस टापु मै पहिलो सम्मेलन आयोजना गर्ने विचार गरिरहेको थियो। अन्ततः नोभेम्बर २००१ मा क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरियो र चिलीका विभिन्‍न भागहरूबाट सीमित संख्यामा भाइ तथा बहिनीहरूलाई यस विशेष अवसरमा उपस्थित हुने निमन्त्रणा दिइयो। वायुसेवाको तालिकाले गर्दा यो सम्मेलन आइतबार र सोमबार आयोजना गर्नुपर्ने भयो।

ती ३३ जना आमन्त्रित प्रतिनिधिलाई उक्‍त सुदूर इलाकामा पहिलो पटक आयोजना हुन लागेको त्यस क्षेत्रीय सम्मेलनमा भाग लिनको लागि यात्रा गरिरहेको कल्पनाले मात्र पनि रोमाञ्चित बनाउँथ्यो। प्रशान्त महासागर हुँदो लामो उडानपछि विमानस्थलमा तिनीहरूको प्रतीक्षामा बसेका स्थानीय भाइहरूको न्यायो स्वागत पाएपछि प्रतिनिधिहरूलाई यात्राका सारा थकान मेटिएको अनुभूति भयो। प्रतिनिधिहरूलाई उक्‍त टापुको विशेष भेट स्वरूप सुन्दर मालाहरू पहिराएर (फूलका पातहरू गाँसेर बनाइएका विशेष मालाहरू) स्वागत गरियो। त्यसपछि तिनीहरूलाई, तिनीहरूका आवासतर्फ लगियो अनि टापुको छोटो दृश्‍यावलोकनपछि सम्मेलनमा भाग लिने सबै सहभागीहरू राज्यभवनमा भेला भए।

एउटा अप्रत्याशित स्रोतबाट प्रचारप्रसार

गाडीबाट सम्मेलनतिर जाँदै गर्दा रेडियोमा आफ्नो भ्रमणबारे स्थानीय पादरीले गरिरहेको टिप्पणी सुन्दा कुनै-कुनै प्रतिनिधिहरू छक्क परे। तिनले दक्षिण अमेरिकी महादेशबाट पर्यटकहरू आएका छन्‌ र तिनीहरू भविष्यमा आउन लागेको संसारको अन्तबारे कुरा गर्न घर-घरमा आउँदैछन्‌ भनी बताए। तिनले आफ्नो इलाकावासीहरूलाई आगन्तुकहरूको कुरा नसुन्‍न आग्रह गरेको भए तापनि तिनको घोषणाले ठूलो समूहमा टापुमा आएका यहोवाका साक्षीहरूबारे प्रचारप्रसार गर्न मदत पुऱ्‍यायो। यसले टापुवासीहरूको मनमा आशा जगायो। त्यसको भोलिपल्ट प्रतिनिधिहरूले कौशलतापूर्वक टापुवासीहरूसित सुसमाचारको प्रोत्साहनदायी सन्देश बाँडे।

सम्मेलन सुरु हुन्छ

आइतबार बिहान, सम्मेलनको पहिलो दिन प्रतिनिधिहरू आइपुग्दा स्थानीय भाइहरू राज्यभवनको प्रवेशद्वारमा तिनीहरूको स्वागतका लागि पर्खिरहेका थिए। “इअराना कइ! इअराना कइ!” “स्वागत छ!” केही बहिनीहरूले खाँटी पोलिनेसियन स्टाइलमा परम्परागत पोसाक लगाउनुका साथै आफ्नो केशलाई सुन्दर फूलहरूले सजाएका थिए।

मधुर सांगीतिक धुनपछि सयौं आवाजहरूले एकैसाथ “स्थिर र अटल रहनुहोस्‌!” शीर्षकको गीत गाए र यसरी पहिले कहिल्यै त्यस टापुमा यत्तिका मानिसहरूको सामूहिक आवाज गुञ्जिएको थिएन। चेयरम्यानले तिनीहरूकै मातृभाषा रपा नुइमा न्यानो स्वागत टक्राउँदा स्थानीय भाइहहरूको आँखा रसायो। मध्यान्तरको अपराह्नमा तीन जना नयाँ साक्षीले आआफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिए। पहिलो दिनको कार्यक्रमको अन्त हुँदा सबैले यहोवालगायत सम्पूर्ण भ्रातृत्वसित नजिक भएको महसुस गरे।—१ पत्रुस ५:९.

प्रभातकालीन साक्षी

टापुको विशेष परिस्थितिले गर्दा क्षेत्रीय सम्मेलनको दोस्रो दिनको कार्यक्रम दिउँसोको भोजनपछि सुरु भयो। त्यसैले, प्रतिनिधिहरूले त्यस परिस्थितिको पूरापूर लाभ उठाए अनि बिहानको समय क्षेत्र सेवकाईमा बिताए। तिनीहरूलाई कस्ता अनुभवहरूले पर्खिरहेका थिए?

आठ जना छोराछोरी भएकी एक प्रौढ स्त्रीले आफू क्याथोलिक भएकीले साक्षीहरूसित कुरा गर्न नमिल्ने बताइन्‌। तिनीहरूले, उनलाई लागूपदार्थको दुर्व्यसन र पारिवारिक समस्याहरू जस्ता सबैले सामना गर्नुपरिरहेका समस्याहरूबारे कुरा गर्न चाहेको बताउँदा, उनी कुरा सुन्‍न राजी भइन्‌।

एउटी स्थानीय प्रौढ स्त्रीले एक जना साक्षीलाई अमैत्रिलो व्यवहार देखाइन्‌। उनले तिनीहरूलाई अरूसित निर्दयी व्यवहार गर्ने दक्षिण अमेरिकी महादेशका मानिसहरूकहाँ गएर कुरा गर्ने सुझाव दिइन्‌। उक्‍त दम्पतिले उनलाई “राज्यको सुसमाचार” सबैलाई सुनाइँदैछ अनि तिनीहरू उक्‍त टापुमा आउनुको कारण सम्मेलनमा उपस्थित हुनका लागि हो जुन सम्मेलनले सबैलाई परमेश्‍वरको प्रेममा बढ्‌न मदत गर्नेछ भनी बताए। (मत्ती २४:१४) तिनीहरूले उनलाई बिरामी र मृत्युविना यस टापुको जस्तै प्रमोदवनरूपी अवस्थामा दीर्घजीवन लिएर बाँच्न चाहन्छिन्‌ कि भनी सोधे। तिनीहरूले उनीसित त्यस टापुमा ज्वालामुखी पर्वतको मुख कति वर्षदेखि अस्तित्वमा रहेको छ भन्‍ने विषयमा तर्क गरेपछि उनी जीवनको क्षणिकतामा एक छिन घोरिइन्‌ अनि यस्तो प्रश्‍न सोधिन्‌: “हामी किन यत्ति छोटो समयको लागि मात्र बाँच्छौं?” भजन ९०:१० पढ्‌दा उनी छक्क परिन्‌।

त्यसैबखत ती साक्षीहरूले अचानक अर्को ढोकाबाट एउटा चिच्च्याहट सुने। त्यस चिच्च्याहटको अर्थ तिनीहरूले बुझेनन्‌ तर ती छिमेकीहरूले चिच्च्याएर गाली गर्दैछन्‌ अनि तिनीहरू आफूकहाँ साक्षीहरू नआउन्‌ भन्‍ने चाहना व्यक्‍त गर्दैछन्‌ भनी त्यस स्त्रीले तिनीहरूलाई बताइदिइन्‌। यद्यपि, ती स्त्री नुआ अर्थात्‌ त्यस परिवारकी जेठी छोरी थिइन्‌। तिनको पिताको निधन भइसकेकोले गर्दा परिवारको लागि हित हुने कुराको निर्णय गर्ने दायित्व तिनको थियो। आफ्ना नातेदारहरूको सामु तिनले आफ्नै भाषामा साक्षी भाइहरूको पक्षमा बोलिन्‌ र तिनलाई प्रस्तुत गरिएका प्रकाशनहरूलाई खुसीसाथ स्वीकारिन्‌। पछि, त्यसै हप्ता ती साक्षीहरूको नजिकैबाट कारमा जाँदै गर्दा तिनले आफ्नो भाइलाई कार रोक्न लगाइन्‌। तिनको भाइ रिसाए तापनि तिनले साक्षीहरूलाई बिदा गरिन्‌ अनि तिनीहरूको सेवकाईमा सफलताको कामना गरिन्‌।

सुरुमा केही टापुवासीहरूले दक्षिण अमेरिकी महादेशबाट आएकाहरूले प्रचार गरेको सन्देशलाई इन्कार गरेजस्तो देखिए तापनि रपा नुइहरू स्वभावैले दयालु अनि मित्रैलो हुन्छन्‌ भन्‍ने कुरा आगन्तुकहरूलाई स्पष्ट भयो। तिनीहरूमध्ये अधिकांशले खुसीसाथ सुसमाचार सुने। वास्तवमा टापुमा बप्तिस्मा लिने २० जना मध्ये ६ जना त स्थानीय बासिन्दा नै हुन्‌। ती मध्ये एक जनाले आफ्नी पत्नीसित बाइबल अध्ययन सञ्चालन भइरहेको बेला नजिकैको कोठाबाट सुनेर बाइबल सत्य सिकेका थिए। तिनीलगायत तिनकी पत्नीले बप्तिस्मा लिइसकेका छन्‌ अनि हाल तिनी मण्डलीमा सेवकाई सेवक छन्‌।

आध्यात्मिक कार्यक्रम चलिरहन्छ

दिउँसोको खानापछि दोस्रो दिनको कार्यक्रम सुरु भयो। फेरि एक चोटि ३२ जना स्थानीय भाइबहिनी तथा ३३ जना प्रतिनिधिलाई धेरै जिज्ञासु व्यक्‍तिहरूले साथ दिए। झण्डै एक सय जना स्रोताले “प्रेम र विश्‍वासले संसारलाई कसरी जित्छ” शीर्षकको जनभाषणलयागत सम्मेलनका बाँकी कार्यक्रम सुने। वास्तवमा, ती यहोवाका जनहरू विभिन्‍न सांस्कृतिक पृष्ठभूमिबाट आएको भएता पनि तिनीहरूबीचमा रहेको प्रेमको जीवन्त अभिव्यक्‍तिलाई ती उपस्थित व्यक्‍तिहरूले आफ्नै आँखाले देखिरहेका थिए।—यूहन्‍ना १३:३५.

क्षेत्रीय सम्मेलनको बेला क्षेत्रीय तथा जिल्ला निरीक्षकहरूले अग्रगामी सेवकहरूसित विशेष सभा आयोजना गरे। त्यस सभामा उक्‍त टापुका तीन जना नियमित अग्रगामीसँगै प्रतिनिधिहरूको रूपमा आएका नियमित तथा विशेष अग्रगामीहरू पनि सहभागी भए। सबैले निकै प्रोत्साहन पाए।

भोलिपल्ट, गाइडको रूपमा काम गर्ने केही स्थानीय भाइहरूले ती प्रतिनिधिहरूलाई टापु घुमाए। तिनीहरूले मोआइ कुँदिएको पत्थर भएको ठाउँ, पुरातन प्रतिस्पर्धाहरू आयोजना गरिने ज्वालामुखीहरू अनि निस्सन्देह सुनौलो वालुवाहरू भएको सुन्दर अनाकेना किनार पनि घुमाए, जहाँ पहिलो चोटि उक्‍त टापुमा बसोबास गर्न आएका बासिन्दाहरू जहाजबाट उत्रेका थिए। b

स्थानीय भाइहरूसित सँगै बिताउने अन्तिम मौका मण्डली पुस्तक अध्ययन थियो। सभापछि स्थानीय साक्षीहरूले अतिथिहरूलाई परम्परागत खानाको प्रबन्ध गरेर छक्कै पारे। पछि, आफ्नो विशेषता झल्काउने पहिरनमा तिनीहरूले लोक नृत्यको राम्रो प्रदर्शन गरे। प्रतिनिधीहरूलगायत रपा नुइका भाइबहिनीहरू उक्‍त सम्मेलनको तयारीको लागि आफूले गरेको महेनत खेर नगएको कुरामा कुरामा ढुक्क थिए।

प्रतिनिधिको रूपमा आएका सबै भाइबहिनीहरूले ती सुदूर इलाकामा बस्ने भाइबहिनीहरूसित गहिरो आत्मिय सम्बन्ध गाँसिएको महसुस गरे जससित तिनीहरूले रोमाञ्चक एक हप्ता बिताएका थिए। टापु छोडेर जानु भावनात्मक रूपमा गाह्रो थियो। नयाँ साथीहरूको सम्झना लगायत आफूले प्राप्त गरेको आध्यात्मिक प्रोत्साहनलाई तिनीहरूले सधैं सँगालेर राख्नेछन्‌। विमानस्थलमा स्थानीय भाइहरूले आफ्नै हातले बनाएका समुद्री सिपीका मालाहरूले प्रतिनिधिहरूको गलालाई सजाइदिए।

प्रतिनिधीहरूले फर्कंदा यस्तो प्रतिज्ञा गरे: “इअराना! अउ हि हकि माइ इ रपा नुइ इ,” जसको अर्थ हो: “बिदा रपा नुइ, म तिमीकहाँ फेरि फर्केर आउनेछु।” हो, यस असाधारण, सुदूर, रहस्यपूर्ण टापुमा तिनीहरूले भेट्टाएका नयाँ साथीहरू अनि आध्यात्मिक परिवारका सदस्यहरूलाई भेट्‌न पुनः फर्केर आउन तिनीहरू लालायित छन्‌!

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित जून २२, २००० को अवेक! हेर्नुहोस्‌।

b रानो राराकु ज्वालामुखी पर्वतको मुखमा धेरै शिलालेखहरू रहेका छन्‌। यिनै ठाउँबाट उक्‍त टापुमा शासन गर्न चाहनेहरूबीच प्रतिस्पर्धा सुरु हुन्थ्यो। यस प्रतिस्पर्धामा ठाडो भीरबाट तल ओर्लनु, सबैभन्दा सानो टापुसम्म पौडेर पुग्नु, स्थानीय चराको अण्डा हात पार्नु, अण्डालाई कुनै क्षति नपुऱ्‍याई पौडेर फेरि मुख्य टापुमा फर्कनु र उक्‍त भीर चढ्‌नु पर्ने कुराहरू समावेश थिए।

[पृष्ठ २४-मा भएको पेटी]

इस्टर आइल्याण्डमा साक्षी कार्य

यस अविस्मरणीय सम्मेलनको लगभग दुई वर्षअघि एक जना क्षेत्रीय निरीक्षक र तिनकी पत्नीले यस टापुमा भ्रमण गरेर धेरै सुखद अनुभवहरूको आनन्द उठाए। उदाहरणको लागि, तिनीहरूलाई आफ्नो आवासमा लैजाने एउटी बहिनीले १६ वर्षअघि उनी किशोरी छँदा दक्षिणी चिलीमा तिनीहरूले उनीसित बाइबल अध्ययन गरेको कुरा सम्झाउँदा तिनीहरू कत्ति छक्क परे होलान्‌, कल्पना गर्नुहोस्‌ त। पछि गएर रपा नुइमा उक्‍त बिउले फल फलायो।

तिनीहरूले यो एउटा रमाइलो अनुभव पनि बटुले: एउटा सोभिनियर पसलका पसलेले न्यू वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स तथा बाइबल अध्ययन सहायक ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक स्वीकारे, यी दुवै यहोवाका साक्षीहरूद्वारा प्रकाशित हुन्‌। जब तिनीहरू तिनलाई फेरि भेट्‌न गए, उनले उक्‍त बाइबल पढ्‌न नसकेको कुरा बताए। तिनीहरूले उनलाई स्पेनी भाषाको नभई फ्रान्सेली भाषाको बाइबल पो छोडेका रहेछन्‌! तुरुन्तै यो समस्या समाधान गरियो अनि उनले स्थानीय साक्षीहरूको मदतबाट आफ्नै भाषाको बाइबल भेट्टाए जुन बुझ्न त्यति गाह्रो थिएन।

[पृष्ठ २२-मा भएको चित्र]

इस्टर आइल्याण्ड

चिली

[पृष्ठ २३-मा भएको चित्र]

यी दुवै जनाले क्षेत्रीय सम्मेलनमा बप्तिस्मा लिए

[पृष्ठ २५-मा भएको चित्र]

रनो राराकु ज्वालामुखीको भीर; इन्सेट: यस टापुमा ग्वायाबा भनिने जङ्‌गली फल फल्छ