सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ

“दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ

“दास” जो विश्‍वासी र बुद्धिमान्‌ दुवै छ

“विश्‍वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले . . . आफ्नो परिवारमाथि खटाएको हुन्छ?”—मत्ती २४:४५.

१, २. आज हामीले नियमित तवरमा आध्यात्मिक भोजन पाइरहनु किन अत्यावश्‍यक छ?

 मंगलबार दिउँसो, नीसान ११, सा.यु. ३३ मा येशूका चेलाहरूले एउटा प्रश्‍न सोधे जसले आज हाम्रो लागि गहन अर्थ राख्छ। तिनीहरूले उहाँलाई यस्तो प्रश्‍न गरे: “तपाईंको आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिह्न के हुन्छ?” त्यसको उत्तरमा येशूले एउटा उल्लेखनीय भविष्यवाणी गर्नुभयो। उहाँले लडाइँ, अनिकाल, भुइँचालो र रोगहरूले भरिएको गन्जागोलपूर्ण समयबारे बताउनुभयो। अनि ती ता “कष्टका शुरू” मात्र हुनेछन्‌। परिस्थिति अझ बिग्रँदै जानेछ। कस्तो भयावह अवस्था!—मत्ती २४:३, ७, ८, १५-२२; लूका २१:१०, ११.

सन्‌ १९१४ देखि येशूको भविष्यवाणीका प्रायजसो पक्षहरू पूरा भइसकेका छन्‌। मानिसजातिमाथि “कष्ट[को]” बज्रपात भएको छ। तैपनि, साँचो मसीहीहरू डराउनु पर्दैन। तिनीहरूलाई पोसिलो आध्यात्मिक भोजन प्रदान गरेर सम्हाल्नेछु भनी येशूले प्रतिज्ञा गर्नुभयो। येशू अहिले स्वर्गमा हुनुभएकोले यहाँ पृथ्वीमा हामीलाई आध्यात्मिक भोजनको प्रबन्ध उहाँले कसरी गर्नुभएको छ?

३. येशूले हामीलाई “ठीक ठीक समयमा खान” दिन कस्तो प्रबन्ध गर्नुभएको छ?

येशू आफैले त्यस प्रश्‍नको जवाफ सङ्‌केत गर्नुभयो। महान्‌ भविष्यवाणीकै क्रममा उहाँले यसरी सोध्नुभयो: “तब विश्‍वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ?” त्यसपछि उहाँले यसो भन्‍नुभयो: “धन्य हो त्यो नोकर [दास], जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।” (मत्ती २४:४५-४७) हो, आध्यात्मिक भोजनको प्रबन्ध गर्न “दास” नियुक्‍त गरिनेछ जो विश्‍वासीबुद्धिमान्‌ दुवै हुनेछ। के त्यो दास कुनै एउटा व्यक्‍ति थियो अथवा बेग्ला-बेग्लै समयमा बेग्ला-बेग्लै व्यक्‍ति थिए वा अरू केही? विश्‍वासी दासले अत्यावश्‍यक आध्यात्मिक भोजन आपूर्ति गर्ने भएकोले यसको जवाफ पत्ता लगाउनु हाम्रो लागि चासोको विषय हो।

एउटा व्यक्‍ति वा वर्ग

४. “विश्‍वासी र बुद्धिमान दास” एउटा व्यक्‍ति हुन सक्दैन भनी हामी कसरी थाह पाउन सक्छौं?

“विश्‍वासी र बुद्धिमान दास” एउटा व्यक्‍ति हुन सक्दैन। किन? किनभने दासले प्रथम शताब्दीदेखि आध्यात्मिक भोजन दिने कार्य सुरु गरिसकेको थियो र येशूले भन्‍नुभएअनुसार १९१४ मा मालिक आउँदासम्म पनि दासले त्यही काम गरिरहेको हुने थियो। यसको मतलब, एउटा व्यक्‍ति नै १,९०० वर्षसम्म विश्‍वासी सेवा गरिरहेको हुनुपर्ने थियो। भन्‍ने हो भने, मतूशेलह पनि त्यति लामो समयसम्म बाँचेनन्‌!—उत्पत्ति ५:२७.

५. “विश्‍वासी र बुद्धिमान दास” भन्‍ने अभिव्यक्‍ति प्रत्येक मसीहीलाई व्यक्‍तिगत रूपमा किन लागू हुँदैन, व्याख्या गर्नुहोस्‌।

त्यसोभए “विश्‍वासी र बुद्धिमान दास” भन्‍ने अभिव्यक्‍ति के सामान्य अर्थमा प्रत्येक मसीहीलाई व्यक्‍तिगत रूपमा लागू हुन्छ त? हुन त हो सबै मसीहीहरू विश्‍वासी र बुद्धिमान्‌ हुनै पर्छ। तथापि, येशूले “विश्‍वासी र बुद्धिमान दास” भन्‍नुहुँदा उहाँको मनमा यसबाहेक अर्कै कुरा थियो। हामी यो कुरा कसरी थाह पाउन सक्छौं? किनभने “मालिकले आएर” दासलाई “आफ्नो सारा सम्पत्तिमाथि” नियुक्‍त गर्नेछ भनी उहाँले भन्‍नुभयो। कसरी प्रत्येक मसीहीलाई प्रभुको सबै अर्थात्‌ “सारा” सम्पत्तिमाथि नियुक्‍त गर्न सकिन्छ? त्यो त असम्भव छ!

६. परमेश्‍वरको “दास” वा “सेवक[को]” रूपमा इस्राएल राष्ट्र कसरी सञ्चालन हुनुपर्ने थियो?

त्यसकारण एउटै मात्र तार्किक निष्कर्ष के हुन सक्छ भने, येशूले “विश्‍वासी र बुद्धिमान दास” भनेर मसीहीहरूको एउटा समूहलाई सङ्‌केत गरिरहनुभएको थियो। के यसले सामूहिक तवरमा दासलाई सङ्‌केत गर्न सम्भव छ? छ। ख्रीष्ट आउनुभन्दा सात सय वर्षअघि यहोवाले इस्राएलको सम्पूर्ण राष्ट्रलाई “मेरा साक्षी” र “मैले चुनेका दास“सेवक,” NW]” भनी सम्बोधन गर्नुभयो। (यशैया ४३:१०) सा.यु.पू. १५१३ मा मोशालाई व्यवस्था दिइएको समयदेखि सा.यु. ३३ पेन्तिकोससम्म इस्राएल राष्ट्रको हरेक सदस्य यो सेवक वर्गको भाग थियो। अधिकांश इस्राएलीहरू राष्ट्रका मामिलाहरूको व्यवस्थापन वा आध्यात्मिक भोजनको संयोजन गर्ने काममा प्रत्यक्ष रूपमा संलग्न थिएनन्‌। यहोवाले ती कामहरू सम्पन्‍न गर्न राजा, न्यायकर्ता, अगमवक्‍ता, पूजाहारी र लेवीहरू चलाउनुभयो। तैपनि, एउटा सिङ्‌गो राष्ट्रको रूपमा इस्राएलले यहोवाको सार्वभौमिकताको प्रतिनिधित्व गर्नुका साथै राष्ट्रहरूमाझ उहाँको प्रशंसा गर्नुपर्थ्यो। प्रत्येक इस्राएली यहोवाको साक्षी हुनुपर्थ्यो।—व्यवस्था २६:१९; यशैया ४३:२१; मलाकी २:७; रोमी ३:१, २.

“सेवक[लाई]” सेवाबाट हटाइन्छ

७. पुरातन इस्राएल राष्ट्रलाई किन परमेश्‍वरको “सेवक[को]” रूपमा अयोग्य ठहऱ्‍याइयो?

शताब्दीयौंअघि इस्राएल परमेश्‍वरको “सेवक” भएको कारण येशूले भन्‍नुभएको दास पनि के त्यही नै थियो? अहँ थिएन, किनभने दुःखको कुरा पुरातन इस्राएल नता विश्‍वासी न बुद्धिमान्‌ नै साबित भयो। यहोवाले त्यो राष्ट्रलाई भन्‍नुभएको कुरा उद्धृत गर्दै पावलले परिस्थितिको निचोड निकाल्दै यसो भने: “अन्यजातिहरूमा परमेश्‍वरको नाउँ तिमीहरूद्वारानै निन्दित भएको छ।” (रोमी २:२४) साँच्चै, येशूलाई तिरस्कार गर्दा इस्राएल राष्ट्रले धेरै लामो समयदेखि गर्दै आएको विद्रोहको चरमोत्कर्ष पुग्यो र त्यसपछि यहोवाले पनि तिनीहरूलाई तिरस्कार गर्नुभयो।—मत्ती २१:४२, ४३.

८. इस्राएलको ठाउँमा अर्को “सेवक” कहिले र कुन अवस्थामा नियुक्‍त गरियो?

“सेवक” अर्थात्‌ इस्राएलको यो अविश्‍वासीपनको अर्थ विश्‍वासी सेवकहरूले कहिल्यै आध्यात्मिक भोजन प्राप्त गर्नेछैनन्‌ भन्‍ने थिएन। सा.यु. ३३ पेन्तिकोसमा अर्थात्‌ येशूको पुनरुत्थान भएको ५० दिनपछि यरूशलेमको माथिल्लो कोठामा झन्डै १२० चेलाहरूमाथि पवित्र आत्मा खन्याइयो। त्यतिबेला एउटा नयाँ राष्ट्रको जन्म भयो। उपयुक्‍त ढङ्‌गमा, यसका सदस्यहरूले यरूशलेमका बासिन्दाहरूलाई “परमेश्‍वरका महाकार्यहरूका विषयमा” निर्भयतासाथ बताएर त्यस राष्ट्रको जन्मको प्रचारप्रसार गरे। (प्रेरित २:११) यसरी, त्यो नयाँ राष्ट्र अर्थात्‌ आध्यात्मिक राष्ट्र “सेवक” भयो जसले यहोवाको महिमाबारे राष्ट्रहरूलाई घोषणा गर्नुका साथै ठीक समयमा खाना दिने थियो। (१ पत्रुस २:९) पछि यसलाई “परमेश्‍वरका इस्राएल” भन्‍ने नाउँ दिइयो।—गलाती ६:१६.

९. (क) “विश्‍वासी र बुद्धिमान दास” को हो? (ख) “परिवार” चाहिं को हो?

“परमेश्‍वरका इस्राएल[को]” प्रत्येक सदस्य समर्पित, बप्तिस्माप्राप्त मसीही हुन्‌ जो पवित्र आत्माद्वारा अभिषिक्‍त हुनुका साथै स्वार्गीय आशा राख्छन्‌। यसर्थ, जसरी सा.यु.पू. १५१३ देखि सा.यु. ३३ पेन्तिकोससम्म जीवित प्रत्येक इस्राएली मसीहीपूर्व सेवक वर्गका भाग थिए, त्यसरी नै “विश्‍वासी र बुद्धिमान दास” भन्‍ने अभिव्यक्‍तिले सा.यु. ३३ देखि अहिलेसम्म पृथ्वीमा रहेका त्यस अभिषिक्‍त आध्यात्मिक राष्ट्रका सबै सदस्यलाई सामूहिक तवरमा बुझाउँछ। तर दासबाट आध्यात्मिक पोषण प्राप्त गर्ने “परिवार” चाहिं को हो? सा.यु. प्रथम शताब्दीमा प्रत्येक मसीहीले स्वर्गीय आशा राखेका थिए। फलतः परिवार पनि अभिषिक्‍त मसीहीहरू थिए जसलाई सामूहिक रूपमा होइन तर व्यक्‍तिविशेषको रूपमा हेरिन्थ्यो। मण्डलीमा जिम्मेवारी सम्हालिरहेका व्यक्‍तिहरू लगायत सबैलाई दासले प्रदान गर्ने आध्यात्मिक भोजन चाहिन्थ्यो।—१ कोरिन्थी १२:१२, १९-२७; हिब्रू ५:११-१३; २ पत्रुस ३:१५, १६.

“हरेकलाई आफ्नो आफ्नो काम”

१०, ११. दास वर्गका सबै सदस्यहरूले एकै प्रकारको कार्यभार पाएका छैनन्‌ भनी हामी कसरी थाह पाउन सक्छौं?

१० “परमेश्‍वरका इस्राएल” भनेको विश्‍वासी र बुद्धिमान्‌ दास हो जसले एउटा कार्यभार पाएको छ तर यसका प्रत्येक सदस्यको आ-आफ्नै व्यक्‍तिगत जिम्मेवारीहरू पनि छन्‌। मर्कूस १३:३४ मा लिपिबद्ध येशूका शब्दहरूले यो कुरा स्पष्ट पार्छ। उहाँले यसो भन्‍नुभयो: “यो ता चाकरहरूलाई अख्तियार, र हरेकलाई आफ्नो आफ्नो काम दिई, ढोकेलाई ‘तँ जागै रहनू’ भन्‍ने आज्ञा समेत दिएर आफ्नो घर छोडेर पर्देश लागेको कोही एउटा मानिसजस्तो हो।” (छड्‌के अक्षर हाम्रो।) अतः दास वर्गको प्रत्येक सदस्यले एउटा कार्यभार पाएको छ—त्यो हो, ख्रीष्टको पार्थिव सम्पत्ति बढाउने। प्रत्येकले आ-आफ्नो योग्यता र अवसरअनुसार यो कार्यभार पूरा गर्छन्‌।—मत्ती २५:१४, १५.

११ यसबाहेक, प्रेरित पत्रुसले आफ्नो समयका अभिषिक्‍त मसीहीहरूलाई यसो भने: “हरेकले वरदान पाएअनुसार, परमेश्‍वरको नाना प्रकारको अनुग्रहको असल कारिन्दाहरूले जस्तैगरी एउटाले अर्कोको सेवा गर।” (छड्‌के अक्षर हाम्रो, १ पत्रुस ४:१०) यसर्थ, परमेश्‍वरबाट प्राप्त वरदान चलाएर एउटाले अर्कोको सेवा गर्नु ती अभिषिक्‍त जनहरूको जिम्मेवारी हो। साथै पत्रुसका शब्दहरूले सबै मसीहीहरूको योग्यता, जिम्मेवारी वा सुअवसरहरू एउटै हुँदैनन्‌ भनी सङ्‌केत गर्छ। तथापि, दास वर्गका प्रत्येक सदस्यले आध्यात्मिक राष्ट्रको वृद्धिमा कुनै न कुनै तरिकामा योगदान पुऱ्‍याउन सक्छन्‌। कसरी?

१२. दास वर्गका प्रत्येक सदस्य, पुरुष होऊन्‌ वा स्त्री, तिनीहरूले दासको वृद्धिमा कसरी योगदान पुऱ्‍याए?

१२ पहिलो, प्रत्येक सदस्य परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै यहोवाको साक्षी बन्‍नुपर्ने थियो। (यशैया ४३:१०-१२; मत्ती २४:१४) येशू स्वर्गमा उक्लनुअघि उहाँले आफ्ना सबै विश्‍वासी चेलाहरू, पुरुष तथा स्त्री दुवैलाई शिक्षक बन्‍ने आज्ञा दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—छड्‌के अक्षर हाम्रो; मत्ती २८:१९, २०.

१३. सबै अभिषिक्‍त जनहरूले कुन सुअवसरको आनन्द उठाए?

१३ नयाँ चेलाहरू भेट्टिएपछि उनीहरूलाई ख्रीष्टले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभएका सबै कुराहरू पालन गर्न होसियारीसाथ सिकाउनुपर्थ्यो। समयमा, यी पालन गर्नेहरू अरूलाई सिकाउन योग्यका भए। थुप्रै राष्ट्रहरूमा रहेका दास वर्गका सम्भावित सदस्यहरूलाई पोसिलो आध्यात्मिक भोजन उपलब्ध गराइयो। पुरुष तथा स्त्री, सबै अभिषिक्‍त मसीहीहरूले चेला बनाउने काममा भाग लिए। (प्रेरित २:१७, १८) दासले पहिलो चोटि आफ्नो काम थालेदेखि यस दुष्ट रीतिरिवाजको अन्तसम्म नै यो काम चलिरहनुपर्ने थियो।

१४. मण्डलीमा सिकाउने काम कसले मात्र गर्थे र विश्‍वासी अभिषिक्‍त स्त्रीहरूले त्यसबारे कस्तो महसुस गरे?

१४ भर्खरै बप्तिस्माप्राप्त अभिषिक्‍त जनहरू, दासको भाग भए र उनीहरूलाई सुरुमा सिकाउने जोसुकै भए तापनि उनीहरूले पनि मण्डलीका सदस्यहरूबाट निर्देशन प्राप्त गरे जो धर्मशास्त्रअनुसार प्राचीनको हैसियतमा सेवा गर्न योग्य पुरुषहरू थिए। (१ तिमोथी ३:१-७; तीतस १:६-९) यसरी, ती नियुक्‍त पुरुषहरू राष्ट्रको वृद्धिमा विशेष तरिकामा योगदान पुऱ्‍याउन सक्षम भए। मण्डलीमा सिकाउने जिम्मेवारी मसीही पुरुषहरूलाई मात्र दिइएकोमा विश्‍वासी अभिषिक्‍त मसीही स्त्रीहरू क्रोधित भएनन्‌। (१ कोरिन्थी १४:३४, ३५) बरु, तिनीहरू मण्डलीका पुरुष सदस्यहरूको मेहनतको फलको आनन्द उठाउन पाएकोमा खुसी थिए र अरूलाई सुसमाचारको सन्देश सुनाउनेलगायत स्त्रीहरूका लागि उपलब्ध अन्य सुअवसरका लागि कृतज्ञ थिए। आज पनि जोसिला अभिषिक्‍त बहिनीहरूले, नियुक्‍त प्राचीन अभिषिक्‍त होस्‌ या नहोस्‌ त्यस्तै नम्र मनोभाव देखाउँछन्‌।

१५. प्रथम शताब्दीमा आध्यात्मिक भोजनको एउटा मुख्य स्रोत के थियो र यो प्रबन्ध गर्ने कार्यमा कसले नेतृत्व लियो?

१५ प्रथम शताब्दीमा दिइएको आधारभूत आध्यात्मिक भोजन सीधै प्रेरित तथा नेतृत्व लिइरहेका अन्य चेलाहरूबाट आउँथ्यो। तिनीहरूले लेखेका पत्रहरू—विशेष गरी मसीही युनानी धर्मशास्त्रको २७ वटा प्रेरित पुस्तकहरूमा पाइने—मण्डलीहरूमा घुमाइन्थ्यो र निस्सन्देह, त्यो सिकाउनको निम्ति स्थानीय प्राचीनहरूको लागि आधार थियो। यसरी दासका प्रतिनिधिहरूले निष्कपट मसीहीहरूलाई विश्‍वासीपूर्वक पोसिलो आध्यात्मिक भोजन वितरण गरे। प्रथम शताब्दीको दास वर्गले आफूले पाएको आज्ञाप्रति आफूलाई वफादार प्रमाणित गऱ्‍यो।

उन्‍नाइस शताब्दी पछिको “दास”

१६, १७. सन्‌ १९१४ सम्मका वर्षहरूमा दास वर्गले आफ्नो कार्यभार पूरा गर्ने सन्दर्भमा आफूलाई कसरी विश्‍वासी साबित गऱ्‍यो?

१६ आज नि? सन्‌ १९१४ मा येशूको उपस्थिति सुरु हुँदा के उहाँले ठीक ठीक समयमा खाना दिइरहेको अभिषिक्‍त मसीहीहरूको समूह भेट्टाउनुभयो? उहाँले अवश्‍य भेट्टाउनुभयो। यो समूहले फलाइरहेको उत्तम फलबाट यसलाई स्पष्टसँग चिन्‍न सकिन्थ्यो। (मत्ती ७:२०) तिनीहरूको चिनारी सही थियो भनेर इतिहासले त्यतिबेलादेखि पुष्टि गरेको छ।

१७ येशू आउनुभएको समयमा यस परिवारका झन्डै ५,००० जना सदस्य बाइबल सत्य फैलाउने काममा व्यस्त थिए। खेतालाहरू कम थिए तर दासले सुसमाचार फैलाउन थुप्रै नयाँ तरिकाहरू अपनायो। (मत्ती ९:३८) उदाहरणका लागि, बाइबल विषयका उपदेशहरू २,००० वटा अखबारमा प्रकाशित गर्ने प्रबन्ध मिलाइयो। यसरी परमेश्‍वरको वचनको सत्य एकै चोटि हजारौं पाठकहरूसम्म पुग्यो। यसबाहेक, आठ घण्टे रङ्‌गिन स्लाइड तथा चलचित्रको कार्यक्रम तयार पारियो। यस नयाँ खालको प्रस्तुतिको कारण सृष्टिको सुरुदेखि ख्रीष्टको हजार वर्षीय शासनको अन्तसम्मको बाइबल सन्देश तीन महादेशहरूमा ९० लाखभन्दा बढी श्रोताहरूसम्म पुग्यो। अर्को तरिका, मुद्रित साहित्य पनि थियो। उदाहरणका लागि, १९१४ मा यस पत्रिकाको झन्डै ५०,००० प्रतिहरू प्रकाशित गरियो।

१८. येशूले आफ्नो सारा सम्पत्तिमाथि कहिले दास नियुक्‍त गर्नुभयो र किन?

१८ हो, मालिक आउनुहुँदा उहाँले आफ्नो विश्‍वासी दास कर्तव्यनिष्ठ भई परिवारलाई खाना दिइरहेको साथै सुसमाचार प्रचार गरिरहेको भेट्टाउनुभयो। अब दासले थप जिम्मेवारीहरू पर्खिरहेको थियो। येशूले यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।” (मत्ती २४:४७) येशूले सन्‌ १९१९ मा दासले परीक्षाको घडी पार गरेपछि यसरी नियुक्‍त गर्नुभयो। तर “विश्‍वासी र बुद्धिमान दास[ले]” किन थप जिम्मेवारीहरू पायो? किनभने मालिकको सम्पत्तिमा वृद्धि भएको थियो। येशूलाई सन्‌ १९१४ मा शासनाधिकार दिइयो।

१९. “ठूलो भीड[को]” आध्यात्मिक आवश्‍यकता कसरी पूरा भएको छ, व्याख्या गर्नुहोस्‌।

१९ भर्खरै राज्याधिकार पाएका मालिकले कस्ता सम्पत्तिहरूमाथि आफ्नो विश्‍वासी दासलाई नियुक्‍त गर्नुभयो? पृथ्वीमा भएका उहाँका सबै आध्यात्मिक कुराहरूमाथि। उदाहरणका लागि, १९१४ मा ख्रीष्टले शासन गर्न थाल्नुभएको दुई दशकपछि “अरू भेडा[को]” “ठूलो भीड” चिनाइयो। (प्रकाश ७:९; यूहन्‍ना १०:१६) यिनीहरू “परमेश्‍वरका इस्राएल[को]” अभिषिक्‍त सदस्यहरू थिएनन्‌ तर पार्थिव आशा भएका निष्कपट पुरुष तथा स्त्रीहरू थिए जसले यहोवालाई प्रेम गर्थे र अभिषिक्‍तहरूले जस्तै उहाँको सेवा गर्न चाहन्थे। तसर्थ, तिनीहरूले “विश्‍वासी र बुद्धिमान दास[लाई]” यसो भने: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।” (जकरिया ८:२३) यी नयाँ बप्तिस्माप्राप्त मसीहीहरूले अभिषिक्‍त परिवारका सदस्यहरूले लिने पोसिलो आध्यात्मिक भोजन लिए र त्यतिबेलादेखि दुवै वर्गले यही आध्यात्मिक टेबुलबाट भोजन लिइरहेका छन्‌। “ठूलो भीड[का]” सदस्यहरूका लागि यो कस्तो आशिष्‌को कुरा साबित भएको छ!

२०. प्रभुको सम्पत्ति बढाउनुमा “ठूलो भीड[ले]” कस्तो भूमिका निर्वाह गरेको छ?

२० “ठूलो भीड[का]” सदस्यहरूले खुसीसाथ सुसमाचारको प्रचारकार्यमा अभिषिक्‍त दास वर्गलाई साथ दिए। तिनीहरूले प्रचार गर्दै जाँदा मालिकको पार्थिव सम्पत्तिमा वृद्धि भयो र यसले गर्दा “विश्‍वासी र बुद्धिमान दास[को]” जिम्मेवारी पनि बढ्यो। सत्य खोज्नेहरूको संख्यामा वृद्धि हुँदै गएपछि बाइबल साहित्यहरूको माग पूरा गर्न छापाखानाहरूको विस्तार नगरी भएन। एक पछि अर्को मुलुक गर्दै यहोवाका साक्षीहरूको शाखा कार्यालय स्थापना भयो। “पृथ्वीको अन्तसम्म” मिसनरीहरूलाई पठाइयो। (प्रेरित १:८) सन्‌ १९१४ मा भएका लगभग ५,००० जना अभिषिक्‍त जनको वृद्धि भएर परमेश्‍वरका प्रशंसकहरूको संख्या आज ६० लाखभन्दा बढी पुगेको छ र त्यसमध्ये अधिकांश “ठूलो भीड[का]” छन्‌। हो, साँच्चै १९१४ मा राजाको राज्याभिषेकदेखि उहाँको सम्पत्ति निकै गुणा वृद्धि भएको छ।

२१. अर्को अध्ययन लेखमा हामी कुन दुइटा दृष्टान्तबारे छलफल गर्नेछौं?

२१ यी सबै कुराबाट दास “विश्‍वासी र बुद्धिमान” दुवै भएको छ भनी प्रमाणित हुन्छ। उहाँले “विश्‍वासी र बुद्धिमान दास[बारे]” बताउनुभएको दुइटा दृष्टान्तले ती गुणहरू प्रकाश पाऱ्‍यो: बुद्धिमती र निर्बुद्धि कन्याहरू तथा तोडाको दृष्टान्त। (मत्ती २५:१-३०) हामी उत्सुक भएका छौं! ती दृष्टान्तहरूले आज हाम्रो लागि कस्तो अर्थ राख्छ? यस प्रश्‍नबारे हामी अर्को लेखमा छलफल गर्नेछौं।

तपाईंलाई कस्तो लाग्छ?

• “विश्‍वासी र बुद्धिमान दास” को-को मिलेर बनेको छ?

• “परिवार” को हो?

• प्रभुको सारा सम्पत्तिमाथि विश्‍वासी दासलाई कहिले नियुक्‍त गरियो र किन त्यतिबेला नियुक्‍त गरियो?

• हालैका दशकहरूमा कसले प्रभुको सम्पत्ति बढाउन मदत गरेको छ र कसरी?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएका चित्रहरू]

प्रथम शताब्दीको दास वर्ग आफ्नो काममा विश्‍वासी साबित भयो