सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरका सेवकहरू रूखहरू जस्तै हुन्‌—कुन-कुन तरिकाहरूमा?

परमेश्‍वरका सेवकहरू रूखहरू जस्तै हुन्‌—कुन-कुन तरिकाहरूमा?

परमेश्‍वरका सेवकहरू रूखहरू जस्तै हुन्‌—कुन-कुन तरिकाहरूमा?

बाइबलका सिद्धान्तहरूमा रमाउने र त्यसलाई आफ्नो जीवनमा लागू गर्ने व्यक्‍तिविशेषबारे कुरा गर्दै भजनहार यस्तो लेख्छन्‌: “खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भजन १:१-३) यो तुलना किन एकदमै उपयुक्‍त छ?

रूखहरू एकदमै लामो समयसम्म बाँच्न सक्छन्‌। उदाहरणका लागि, भूमध्यसागर वरपरका इलाकाहरूमा भएका भद्राक्षका रूखहरू एकदेखि दुई हजार वर्ष बूढो हुन्‌ भनिन्छ। त्यस्तै गरी, मध्य अफिक्रामा पाइने बाओबाब रूखहरू निकै वर्षसम्म बाँच्छन्‌ र क्यालिफोर्नियामा पाइने झुसे सल्लाचाहिं लगभग ४,६०० वर्ष बूढो हो भन्‍ने विश्‍वास गरिन्छ। जङ्‌गलमा, पूरा हुर्के-बढेका रूखहरू अक्सर वरपरको वातावरणको लागि लाभदायी हुन्छन्‌। उदाहरणका लागि, अग्ला-अग्ला रूखहरूले ससाना बिरुवाहरूको लागि छाहारी प्रदान गर्छन्‌ भने, झरेका पातहरूले चाहिं माटोलाई मलिलो बनाउँछ।

संसारमा भएका एकदमै अग्ला-अग्ला रूखहरू साधारणतया जङ्‌गलमा सँगसँगै हुर्के-बढेका हुन्छन्‌, जहाँ एउटा रूखले अर्को रूखलाई मदत गर्छ। तिनीहरूका जराहरू एकअर्कोसित बेह्रिएको हुन सक्ने भएकोले, मैदानको एक्लो रूखले भन्दा थुप्रै रूखहरूले मिलेर आँधीबेहरीको प्रतिरोध सजिलैसँग गर्न सक्छन्‌। मूल जरोले रूखलाई माटोबाट पर्याप्त मात्रामा पानी र पौष्टिक तत्त्व प्राप्त गर्न पनि मदत गर्छ। कुनै-कुनै अवस्थाहरूमा त, रूखको जति उँचाइ हुन्छ, जराहरूले त्योभन्दा गहिरो जमिनमुनि छेड्‌छन्‌ वा रूखको हाँगाबिंगा जति फैलिएको हुन्छ, जराहरू त्योभन्दा बढी फैलिन सक्छन्‌।

प्रेरित पावलले मसीहीहरू “[ख्रीष्टमा] जरा हालेका र बनिएका भएर, औ तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूको विश्‍वासमा दृढ़ भएर, धन्यवादसाथ यसमा प्रशस्त हुँदै उहाँकै चालमा” चल्नुपर्छ भनेर बताउँदा तिनले रूखलाई सङ्‌केत गरेका हुन सक्छन्‌। (कलस्सी २:६, ७) निस्सन्देह, ख्रीष्टमा बलियो गरी जरा हालेको खण्डमा मात्र मसीहीहरू आफ्नो विश्‍वासमा दृढ रहन सक्छन्‌।—१ पत्रुस २:२१.

अरू कुन-कुन तरिकाहरूमा परमेश्‍वरका सेवकहरूलाई रूखहरूसित तुलना गर्न सकिन्छ? जसरी रूखहरूको घारीमा एउटा रूखले अर्को रूखबाट मदत पाउँछन्‌, त्यस्तै गरी मसीही मण्डलीसित नजिक भएर रहनेहरू सबै जनाले सँगी विश्‍वासीहरूबाट मदत पाउँछन्‌। (गलाती ६:२) एकदमै गहिरो आध्यात्मिक जरा गाडेका विश्‍वासी, परिपक्व मसीहीहरूले आँधीबेहरीरूपी विरोधको सामना गर्नुपर्दासमेत भर्खरै सच्चाइमा आएका व्यक्‍तिहरूलाई विश्‍वासमा दृढ रहन मदत गर्छन्‌। (रोमी १:११, १२) भर्खरै मसीही भएका व्यक्‍तिहरू परमेश्‍वरका अनुभवी सेवकहरूको सुरक्षित “छत्रछायाँ”-मा फस्टाउन सक्छन्‌। (रोमी १५:१) अनि “धर्मको वृक्ष,” अभिषिक्‍त जनहरूले उपलब्ध गराएका शक्‍तिवर्धक आध्यात्मिक पोषणबाट विश्‍वव्यापी मसीही मण्डलीका सम्पूर्ण सदस्यहरूले लाभ उठाउन सक्छन्‌।—यशैया ६१:३.

यहोवाका सम्पूर्ण सेवकहरूले यशैया ६५:२२ मा बताइएको प्रतिज्ञाको पूर्ति अनुभव गर्ने प्रत्याशा राख्न सक्नु कत्ति रोमाञ्चकारी कुरा हो, जहाँ यसो भनिएको छ: “जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ।”

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

Godo-Foto