सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रङहरू—सौन्दर्य बढाउने पुरातन साधन

रङहरू—सौन्दर्य बढाउने पुरातन साधन

रङहरू—सौन्दर्य बढाउने पुरातन साधन

कनानी सेनापति सीसराकी आमाले आफ्नो छोरा युद्धबाट फर्कने समय उत्सुकतापूर्वक पर्खिरहेकी थिइन्‌। सीसराकी आमाले आफ्नो छोराले कस्ता बहुमूल्य कुराहरू लुटेर ल्याएका होलान्‌ भनेर कल्पना गरिरहेकी थिइन्‌। त्यसमध्ये उनले “रङ्‌गाएका थोकहरूको लूट, रङ्‌गाएको थोक, धर्का धर्का भएको, दुइ हात लामो धर्का भएको थोक—विजयी [पुरुषहरूको] गलामा शोभा दिनको निम्ति” ल्याउलान्‌ भन्‍ने आशा गरेकी थिइन्‌। (न्यायकर्त्ता ५:३०) मानिसले सौन्दर्यको सधैं कदर गर्दै आएको छ अनि सौन्दर्य बढाउने एउटा प्रमुख कुरा रङ हो। त्यसकारण लुगाफाटा र घरायसी सरसामानहरू रङ्‌गाउने इच्छा पुरातन समयदेखि नै हुनु कुनै छक्कलाग्दो कुरा होइन। यसरी रङ्‌गाउने कलाको जन्म भयो।

रङ्‌गाउनु भनेको धागो, कपडा र अन्य पदार्थमा विभिन्‍न किसिमका रङहरू लगाउने कला हो। यो अब्राहामको समयभन्दा अघिदेखि प्रचलित थियो र सायद यो बुन्‍ने कला जत्तिकै पुरानो छ। इस्राएलीहरूले बासस्थान तथा पूजाहारीहरूको लुगाको लागि नीलो धागो, रातो कपडा, बैजनी रङ लगाइएको ऊन प्रयोग गर्थे। (प्रस्थान अध्याय २५-२८, ३५, ३८, ३९ हेर्नुहोस्‌) प्राचीन समयमा रङ लगाउने भनेको सामान्यतया घरेलु काम हुन्थ्यो तर पछि गएर थुप्रै ठाउँहरूमा यसले आर्थिक व्यापारको रूप लियो। पुरातन मिश्रीहरू तिनीहरूले रङ्‌गाउने चहकिलो रङको लागि प्रख्यात थिए। इजकिएल अध्याय २७ को पद ७ मा हामी यस्तो लेखिएको पाउँछौं: “तेरो जहाजको पाल मिश्र देशको मिहिन बुट्टेदार मलमलको थियो। त्यही तेरो झण्डा थियो। एलीशा टापूको समुद्र–किनारका नीलो र बैजनी रङका कपड़ाको तेरो चँदुवा थियो।” मिश्रको पतनपछि टायर तथा अन्य फोनेसियाली सहरहरू, विभिन्‍न किसिमका रङ लगाउने महत्त्वपूर्ण केन्द्रहरू भए। तर रङहरू कसरी उत्पादन गरिन्थ्यो?

प्रारम्भिक प्रक्रियाहरू

रङ्‌गाउने प्रक्रियाहरू ठाउँअनुसार फरक-फरक हुन्थे। कहिलेकाहीं धागो रङ्‌गाइन्थ्यो भने कुनै कुनै अवस्थामा तयारी कपडामा रङ लगाइन्थ्यो। तिनीहरूले धागोलाई दुई चोटि रङ्‌गाउँथे जस्तो देखिन्छ, द्रोण अर्थात्‌ ठूल्ठूला भाँडाबाट दोस्रो पटक झिकेपछि निचोर्थे र यसो गरेको खण्डमा बहुमूल्य रङ जोगाउन सकिन्थ्यो। त्यसपछि धागो सुकाउनको लागि फैलाएर राखिन्थ्यो।

हरेक पदार्थलाई बेग्लाबेग्लै ढङ्‌गमा प्रशोधन गर्नुपर्थ्यो। विरलै हुने भए तापनि कहिलेकाहीं भने रङ्‌गाउने पदार्थले रङ्‌गाउनुपर्ने कपडालाई स्वतः समात्थ्यो। तर त्यसो नहुँदा त्यस पदार्थलाई, कपडा र रङ दुवैप्रति आकर्षित हुने पदार्थले प्रशोधन गर्नुपर्थ्यो। त्यस्तो प्रशोधकको रूपमा प्रयोग गर्ने पदार्थ कमसेकम रङ्‌गाउने वस्तुप्रति आकर्षित हुनै पर्थ्यो र यसरी अघुलनशील रङ्‌गिन मिश्रण बनाउन सम्भव हुन्थ्यो। हालै पत्ता लागेका विभिन्‍न कुराहरूले देखाएअनुसार मिश्रीहरूले रङ्‌गाउने प्रक्रियामा यस्ता प्रशोधकहरू प्रयोग गर्थे। उदाहरणका लागि, तिनीहरूले प्रयोग गर्ने तीनवटा रङ रातो, पहेंलो र नीलो थियो। अनि भनिन्छ, ती रङहरू आर्सेनिक, फलाम र टिनका अक्साइडहरू प्रशोधकको रूपमा नचलाई तयार पार्न सकिंदैनथ्यो।

प्राप्त प्रमाणअनुसार जनावरको छाला पहिले प्रशोधन गरेर रङ्‌गाउनु पर्थ्यो। हालैको कुरा हो, सिरियामा भेडाका छालाहरू सुमाक भन्‍ने पदार्थमा प्रशोधन गरिन्छ अनि त्यसपछि रङ लगाइन्छ। रङ सुकेपछि छालालाई तेलले रगडेर पालिस लगाइन्थ्यो। बेडुइनहरूले प्रयोग गर्ने जुत्ता तथा छालाका अन्य सामग्रीहरू रातो रङले रङ्‌गाइन्छन्‌ अनि यसले बासस्थानमा प्रयोगको लागि “रातो रङ्‌गले रङ्‌गाएका भेडाका छालाहरू[को]” सम्झना गराउन सक्छ।—प्रस्थान २५:५.

रङ्‌गाइएका पदार्थहरूको सन्दर्भमा एउटा रोचक विवरण अश्‍शूरी राजा तिग्लाथ-पिलसर तेस्रोको भवनमा कुँदिएका अक्षरहरू हुन्‌। प्यालेस्टाइन र सिरिया विरुद्धको सैन्य अभियानबारे बताइसकेपछि तिनले टायरका हिराम भन्‍ने व्यक्‍ति र अरू शासकहरूबाट पाएका सौगातहरूबारे उल्लेख गरेका छन्‌। त्यसको सूचीमा “रङ्‌गीचङ्‌गी झल्लर भएका सुतीका कपडा, . . . नीलो रङ्‌गाइएको ऊन, बैजनी रङ्‌गाइएको ऊन, . . . साथै बैजनी रङ लगाइएको भेडाको छाला, (र) जंगली पंक्षीहरू जसका फिंजाइएका पखेटाहरूमा नीलो रङ लगाइएको थियो।”—एन्सियन्ट नियर इस्टर्न टेक्स्ट्‌स, जे. प्रिचार्डद्वारा सम्पादित, १९७४, पृ. २८२, २८३.

रङका स्रोतहरू

विभिन्‍न स्रोतबाट रङ प्राप्त गरिन्थ्यो। प्यालेस्टाइनमा कागजी बदामको पात र अनारको बोक्रा पिंधेर बनाइएको धुलोबाट पहेंलो रङ प्राप्त गरिन्थ्यो जबकि फोनेसियालीहरूले बेसार र कुसुम चलाउँथे। हिब्रूहरूले अनारको रूखको बोक्राबाट कालो रङ र मजिठो (रूबिया टिङटोरम) बोटका जराहरूबाट रातो रङ लिन्थे। सम्भवतः मिश्र वा सिरियाबाट प्यालेस्टाइन ल्याइएका इन्डिगो बोटहरू (इन्डिगोफेरा टिङटोरिया) नीलो रङको रूपमा प्रयोग गर्न सकिन्थ्यो। ऊनलाई बैजनी रङ दिने एउटा तरिका, दाखको झोलमा रातभरि डुबाएर त्यसमा मजिठोको धुलो छर्कनु थियो।

राता र गाढा राता रङहरूको सबैभन्दा पुरानो स्रोत, कोसिडे जातको परजीवी (कोकस इलिसिसी) होमोप्टेरोस कीरा थियो। जिउँदो पोथी, पैयुँको खोपिल्टाजस्तो हुने हुँदा युनानीहरूले त्यसलाई बुझाउन कोकोस भन्‍ने शब्द चलाए जसको अर्थ हो, “पैयुँ।” यो कीरालाई दिइएको अरबी नाउँ कर्मीज हो र यसबाट अंग्रेजी शब्द “क्रिमसन” आएको हो। यो कीरा मध्यपूर्वभरि पाइन्छ। यसको अण्डामा मात्र बैजनी रातो रङ पाइन्छ र यसमा कर्मेसिक एसिड प्रचुर मात्रामा हुन्छ। अप्रिल महिनाको अन्ततिर, प्रशस्त अण्डा बोकेको पखेटाविहीन पोथी कीरा आफ्नो सूँडद्वारा डाँठमा अनि कहिलेकाहीं कर्मिस अर्खौलोको (क्वेर्कस कोसिफेरा) पातमा टाँसिन्छ। यी लार्भाहरू जम्मा गरेर सुकाइन्छ अनि त्यसलाई पानीमा उमालेपछि बहुमूल्य रङ प्राप्त गर्न सकिन्छ। बासस्थानका अन्य सामग्रीहरू तथा इस्राएलका मुख्य पूजाहारीको पहिरनमा व्यापक प्रयोग गरिएको रातो रङ यही हो।

एक प्रकारको शङ्‌खे माछा (सेरूलियन मसल) नीलो रङको लागि स्रोत मानिन्छ। बैजनी रङ म्युरेक्स ट्रंकुलसम्युरेक्स ब्रान्डारिस-जस्ता शङ्‌खे माछा वा मोलस्कबाट प्राप्त गरिन्थ्यो। यी प्राणीहरूको घाँटीमा एउटा सानो ग्रन्थी हुन्छ र त्यसमा फ्लावर भनिने एक थोपा झोल हुन्छ। सुरुमा हेर्दा यसको बनौट दूधको तर जस्तो हुन्छ तर पछि हावा र प्रकाशमा परेपछि बिस्तारै गाढा बैजनी वा रातो बैगनी रङमा परिणत हुन्छ। यी शङ्‌खे माछाहरू भूमध्यसागरको किनारामा पाइन्छन्‌ अनि त्यसबाट पाइने विभिन्‍न रङहरू तिनीहरू पाइने स्थानअनुसार फरक-फरक हुन्छन्‌। ठूला किसिमका शङ्‌खे माछाहरू भने एउटा एउटा गरी फोडेर त्यसमा पाइने बहुमूल्य झोल झिकिन्छ अनि सानाहरू चाहिं खलमा पिंधिन्छ।

यी शङ्‌खे माछाहरूबाट अत्यन्तै कम मात्र झोल पाइने भएकोले यो जम्मा गर्ने काम एकदमै खर्चालु थियो। यसकारण यो रङ महँगो थियो अनि बैजनी रङ लगाइएका कपडाहरू धनीमानी वा उच्च ओहदाका मानिसहरूको चिनारी बन्‍न पुग्यो। राजा अहासूरसले मोर्दकैलाई उच्च ओहदामा पदोन्‍नति गर्दा तिनी “बैजनी र सेतो शाहीपोशाक र ठूलो सुनको मुकुट पहिरेर, मसिनो मलमल र बैजनी वस्त्र लाएर राजाको उपस्थितिबाट निस्के।” (एस्तर ८:१५) लूका अध्याय १६ को पद १९ देखि ३१ मा येशूको दृष्टान्तमा बताइएको ‘धनी मानिसले’ पनि “बैजनी रङ्‌गको लुगा र मिहीन मलमलको वस्त्र लाएर दिनहुँ मोज-मजामा बस्तथियो।”

टायरको बैजनी

पुरातन टायर बैजनी वा गाढा-रातो रङको लागि प्रख्यात भयो जसलाई टायरी वा शाही बैजनी भनिन्थ्यो। टायरवासीहरूले दोहोरो रङ लगाउने तरिका अपनाउँथे भनिए तापनि यो रङ बनाउनको लागि प्रयोग गरिएको सूत्र यही थियो भनेर थाह छैन। यो रङ्‌गाउने पदार्थ सम्भवतः म्युरेक्सपर्पुरा मोलस्कबाट लिइएको थियो, किनकि टायरको समुद्री किनारा वा सिदोनको छेउछाउमा म्युरेक्स ट्रंक्युलस-का रित्तो सिपीका थाकहरू भेटिएका छन्‌। टायरको फोनेसियाली सहरलाई बैजनी रङका कपडा र अरू रङ्‌गीचङ्‌गी कपडाहरू भएको सहरका साथै त्यस्ता मालसामानहरूको व्यापार गर्ने भनी यहोवाले चित्रण गर्नुभएको छ।—इजकिएल २७:२, ७, २४.

हो, सीसराकी आमा मात्र होइन तर अरू थुप्रै आइमाईहरू अनि तिनीहरूका पुरुषहरूले असल, सुन्दर ढङ्‌गमा रङ्‌गाइएका पोसाक र घरायसी सरसामानहरूको चाह गरेको हुनुपर्छ। आज पनि कुनै वस्तुको सौन्दर्य बढाउन तथा त्यसलाई लोभलाग्दो बनाउनको लागि रङ्‌गाउने गरिन्छ।