सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एहूदले दमनकारीहरूको बन्धन तोडिदिन्छन्‌

एहूदले दमनकारीहरूको बन्धन तोडिदिन्छन्‌

एहूदले दमनकारीहरूको बन्धन तोडिदिन्छन्‌

यो साहस र चतुऱ्‍याइँको साँचो कथा हो। यो घटना झन्डै ३,००० वर्षअघि घटेको थियो। यी शब्दहरूबाट धर्मशास्त्रीय विवरण सुरु हुन्छ: “फेरि एकपल्ट इस्राएलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरो खराब थियो त्यही गरे। यसैकारण परमप्रभुले मोआबका राजा एग्लोनलाई इस्राएलको विरुद्धमा खड़ा गर्नुभयो। एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, औ खजूरका रूखहरूको बेंसी अधिकार गरे। इस्राएलीहरू अठाह्र वर्षसम्म मोआबका राजा एग्लोनका अधीनमा रहे।”—न्यायकर्त्ता ३:१२-१४.

मोआबीहरूको इलाका यर्दन नदी र मृतसागरको पूर्वतिर पर्थ्यो। तर तिनीहरूले नदी पार गरेर “खजुरका रूखहरू भएको शहर” यरीहो वरपरको इलाका कब्जा गरेका थिए र इस्राएलीहरूलाई दास जत्तिकै बनाएका थिए। (व्यवस्था ३४:३) मोआबी राजा एग्लोन जो “साह्रै मोटो” थिए, तिनले झन्डै दुई दशकसम्म इस्राएलबाट बोझिलो र अपमानित गर्ने खालको अत्यन्तै चर्को कर मागेका थिए। (न्यायकर्त्ता ३:१७) तथापि, तिनले माग गरेको करको कारण नै त्यस तानाशाहीलाई नामेट पार्ने अवसर जुऱ्‍यो।

विवरण यसो भन्छ: “जब तिनीहरूले सहायताको निम्ति परमप्रभुलाई पुकारे तब उहाँले एउटा मानिस, अर्थात्‌ बिन्यामिनी गेराको छोरो देब्रे हात चल्ने एहूदलाई तिनीहरूलाई छुटाउनलाई खड़ा गर्नुभयो। इस्राएलीहरूले तिनलाई मोआबका राजा एग्लोनकहाँ तिनीहरूका कर तिर्नलाई पठाए।” (न्यायकर्त्ता ३:१५) कर तिर्न जान एहूद नै छनौट होस्‌ भनेर यहोवाले पक्का गर्नुभएको हुन सक्छ। तिनले पहिला त्यो काम गरेका थिए कि थिएनन्‌, उल्लेख गरिएको छैन। तथापि, एहूदले एग्लोनसित भेट्‌न होसियारीसाथ गरेको तयारी र तिनले चलाएका युक्‍तिहरू हेर्दा तिनी केही हदसम्म एग्लोनको महलसित परिचित हुनुका साथै त्यहाँ आशा गर्न सकिने कुराहरूबारे तिनलाई थाह भएजस्तो देखिन्छ। यी सबै कुराहरूमा तिनी देब्रे हात चल्ने हुनुको उल्लेखनीय भूमिका छ।

अपाङ्‌ग वा योद्धा?

‘देब्रे हात चल्नुको’ शाब्दिक अर्थ ‘बन्द गर्नु, कूँजो वा दायाँ हातमा बाँधिएको’ हो। के यसको अर्थ एहूद अपाङ्‌ग, सायद तिनको दायाँ हात विकृत थियो भन्‍ने हो? बिन्यामिन कुलबाट देब्रे हात चलाउने “सात सय चुनिएका मानिसहरू[बारे]” बाइबलले के भन्छ विचार गर्नुहोस्‌। यिनीहरू सबै “घुयेंत्रोले कुनै निशान पनि चुकाउँदैन थिए” भनी न्यायकर्त्ता २०:१६ उल्लेख गर्छ। धेरै हदसम्म युद्धमा तिनीहरूको वीरताको कारण तिनीहरूलाई चुनिएको हुन सक्छ। केही बाइबल शास्त्रविद्‌हरूका अनुसार “देब्रे हाते” भन्‍ने अभिव्यक्‍तिले दाहिने र देब्रे हात दुवै समान रूपले कुशलतासाथ चलाउनेलाई बुझाउँछ।—न्यायकर्त्ता ३:१५.

वास्तवमा भन्‍ने हो भने, बिन्यामिन कुल देब्रे हात चलाउने मानिसहरू भएको कुल भनी प्रख्यात थियो। “तिनीहरू युद्धमा वीर वीर लड़ाकु मानिसहरूमध्ये गनिएका थिए। तिनीहरू धनुर्धारी थिए, औ घुँयेत्रो चलाउन अथवा दाहिने वा देब्रे दुवै हातले काँड़ हान्‍न सक्थे” भनी १ इतिहास १२:१, २ ले बिन्यामिनीहरूबारे बताउँछ। ‘साना केटाकेटीको दाहिने हात बाँधेर देब्रे हातलाई दाहिने जस्तै निपुणतासाथ चलाउन सिकाउँदा’ मात्र यो योग्यता हासिल गर्न सकिन्थ्यो भनेर एउटा सन्दर्भ पुस्तकले बताउँछ। इस्राएलका शत्रुहरूलाई अक्सर दायाँ हात चलाउने योद्धाहरूसँग मात्र भिड्‌न तालिम दिइएको हुन्थ्यो। त्यसैले शत्रुले अचानक देब्रे हात चलाउने सेना भेट्यो भने उसको तालिम केही कामको हुँदैन।

राजासँग “गुप्तीमा” केही कुरा

एहूदको पहिलो कदम भनेको “आफ्नो निम्ति . . . एउटा चूपी” बनाउनु थियो र त्यो दुई धारे हुनुका साथै तिनको लुगामुनि लुकाउन मिल्ने छोटो हुनुपर्थ्यो। तिनको जीउको खानतलासी पनि लिइन सक्थ्यो। तरबारहरू अक्सर शरीरको देब्रेपट्टि भिर्ने गरिन्थ्यो जहाँबाट दाहिने हात चलाउने मानिसले तुरुन्तै झिक्न सक्थे। आफू देब्रे हात चलाउने भएकोले एहूदले आफ्नो हतियार आफ्नो “लुगामनि दाहिनेजाँङमा” लुकाए जहाँ राजाका सुरक्षाकर्मीहरूले खानतलासी गर्ने सम्भावना कम थियो। त्यसकारण तिनी कुनै अवरोधविना “मोआबका राजा एग्लोनकहाँ कर लिएर आए।”—न्यायकर्त्ता ३:१६, १७.

एग्लोनको महलमा सुरुमा के-कस्ता घटनाहरू भए केही बताइएको छैन। बाइबलले केवल यसो भन्छ: “जब एहूदले कर टक्राइसके तब तिनले करका सौगात बोकेर ल्याउने मानिसहरूलाई पठाइदिए।” (न्यायकर्त्ता ३:१८) एहूदले कर टक्य्राए, करका सौगात बोकेर ल्याउने मानिसहरूसँगै एग्लोनको महलबाट अलि टाढैसम्म गए र तिनीहरूलाई पठाइदिएपछि फर्के। किन? के ती मानिसहरू तिनको सुरक्षाका लागि थिए वा केवल कूटनीतिक शिष्टाचार थियो वा करका सौगात बोक्ने मानिसहरू मात्र थिए? अथवा आफ्नो योजनाअनुसार काम थाल्नुअघि बेकारमा तिनीहरूको ज्यान नजाओस्‌ भनेर तिनीहरू गएको तिनी चाहन्थे? तिनको सोचाइ जस्तोसुकै भए तापनि एहूद बहादुरीका साथ एक्लै फर्के।

“[एहूद] चाहिं गिलगालमा भएको खोपेका ढुङ्‌गाहरूको ठाउँदेखि फर्केर आए, र तिनले राजालाई भने, ‘हे महाराज, मैले हजूरलाई गुप्तीमा केही भन्‍नुछ।’ ” तिनी फेरि कसरी एग्लोनसम्म पुगे धर्मशास्त्रमा बताइएको छैन। के सुरक्षाकर्मीहरूले शङ्‌का गर्ने ठाउँ थिएन? एक्लो इस्राएलीले आफ्नो मालिकलाई केही खतरा पुऱ्‍याउन सक्दैन भन्‍ने तिनीहरूको सोचाइ पो थियो कि? एहूद एक्लै आउँदा तिनले आफ्ना देशवासीहरूलाई धोका दिंदैछन्‌ भन्‍ने जस्तो लाग्यो कि? जेहोस्‌, एहूदले राजासँग एक्लै दर्शनभेटको लागि आग्रह गरे र त्यो भयो पनि।—न्यायकर्त्ता ३:१९.

प्रेरित विवरणले अझ यसो भन्छ: “जब तिनी [एग्लोन] आफ्नो महलको कौसीको शीतल-कोठामा बसिरहेका थिए तब तिनका नजीक आएर एहूदले भने, ‘परमेश्‍वरबाट हजूरलाई मैले एउटा कुरो भन्‍नुछ।’ ” एहूदले परमेश्‍वरबाट आएको मौखिक सन्देश भन्‍ने खोजिरहेका थिएनन्‌। एहूदको मनमा त केवल आफ्नो चुपी चलाउने कुरा थियो। सायद आफ्नो देव कमोशबाट केही सन्देश सुन्‍ने आशमा राजा “आफ्नो आसनबाट उठे।” वायुगतिमा एहूदले आफ्नो हतियार निकालेर एग्लोनको भुँडीमा रोपिदिए। सम्भवतः चुपीमा काँजो लगाइएको थिएन। तसर्थ, “चूपी बेड़समेत पस्यो, र बोसोले चूपीलाई छोप्यो” र सायद घाउबाट वा एग्लोनले चालै नपाउने गरी तिनको आन्द्राभुँडीबाट मलमूत्र निस्कन थाल्यो।—न्यायकर्त्ता ३:२०-२२.

कुनै बाधाबिघ्नविना फुत्किए

आफ्नो चुपी निकाल्न समय बर्बाद नगरी “एहूद दलानमा निस्के र एग्लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए। जब तिनी निस्किसकेका थिए तब एग्लोनका सेवकहरू भित्र आए, र ढोकाहरूमा ताल्चा लगाएको देखेर तिनीहरूले भने, ‘राजा आफ्नो महलको शीतल-कोठामा दिसामा बसिरहनुभएको होला।’ ”—न्यायकर्त्ता ३:२३, २४.

न्यु वर्ल्ड ट्रान्सलेसन बाइबलमा एहूद “हावा छिर्ने प्वाल[बाट]” भागे भनिएको छ तर त्यो भनेको के हो? एउटा सन्दर्भपुस्तक अनुसार, “त्यो [हिब्रू शब्दको] ठीक अर्थ यही हो भनेर यकिन गर्न सकिएको छैन” तर “यो ‘दलान,’ ‘सानो कोठा’ हुनुपर्छ भनिएको छ।” के एहूद भित्रबाट ताल्चा लगाएर अर्कै बाटो भएर भागे? वा तिनले मरिसकेका राजाको शरीरबाट साँचो झिकेर ढोकामा बाहिरबाट ताल्चा लगाइदिए? अनि सुरक्षाकर्मीहरूको अगाडिबाटै केही नभएजस्तो गरी हिंड्‌दै गए? धर्मशास्त्रले यसबारे केही बताउँदैन। तथापि, एहूदले जस्तोसुकै तरिका अपनाए तापनि एग्लोनका सेवकहरूले ताल्चा लगाएको देखेर तुरुन्तै केही शङ्‌का गरेनन्‌। तिनीहरूले राजा ‘शीतल-कोठामा दिसामा बसिरहनुभएको होला’ भन्ठाने।

राजाका सेवकहरू पर्खेर बसिरहुन्जेल एहूद उम्केर भागिसकेका थिए। त्यसपछि तिनले आफ्ना देशवासीहरूलाई बोलाएर यसो भने: “मेरो पछि आऊ किनभने परमप्रभुले तिमीहरूका शत्रु मोआबीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुभएको छ।” यर्दनका सामरिक महत्त्वका घाटहरू कब्जा गरेर एहूदका मानिसहरूले नेतृत्वविहीन मोआबीहरू भागेर आफ्नो भूमिमा आउन सक्ने नाकाहरू बन्द गरिदिए। तसर्थ, “तब तिनीहरू [इस्राएलीहरू] तिनका पछि पछि ओह्रलेर आए र . . . तिनीहरूले त्यस दिन दश हजार मोआबीहरूलाई मारे। ती सबै बलिया बलिया र शूरवीर पुरुषहरू थिए। एक जना पनि उम्कन पाएन। यसरी त्यस दिन मोआब इस्राएलको अधीनमा भए, र देशमा अस्सी वर्षसम्म शान्ति भइरह्‍यो।”—न्यायकर्त्ता ३:२५-३०.

हामीले सिक्न सक्ने पाठहरू

एहूदको दिनमा भएका घटनाहरूले यहोवाको नजरमा खराब कुराहरू गऱ्‍यौं भने विपत्तिजनक परिणामहरू भोग्नुपर्छ भनेर हामीले सिक्न सक्छौं। अर्कोतर्फ, पश्‍चात्ताप गर्दै उहाँतर्फ फर्कनेहरूलाई यहोवाले मदत गर्नुहुन्छ।

एहूदको योजना सफल हुनुको कारण न ता तिनको चलाकी न शत्रु पक्षको अयोग्यता नै थियो। ईश्‍वरीय उद्देश्‍यहरू पूरा हुन मानवहरूमा निर्भर हुँदैन। एहूदको सफलताको प्रमुख कारण, तिनीसित परमेश्‍वरको समर्थन थियो किनकि तिनले गरेको काम आफ्ना जनहरूलाई स्वतन्त्र तुल्याउने परमेश्‍वरको अटल इच्छा अनुरूप थियो। एहूदलाई परमेश्‍वरले खडा गर्नुभएको थियो र “जब जब परमप्रभुले [आफ्ना जनहरूमाथि] न्यायकर्त्ता खड़ा गर्नुभयो तब तब परमप्रभु त्यो न्यायकर्त्तासँग हुनुहुन्थ्यो।”—न्यायकर्त्ता २:१८; ३:१५.