सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तपाईं पहाडभन्दा पनि महिमायुक्‍त हुनुहुन्छ’

‘तपाईं पहाडभन्दा पनि महिमायुक्‍त हुनुहुन्छ’

यहोवाको सृष्टिको वैभव

‘तपाईं पहाडभन्दा पनि महिमायुक्‍त हुनुहुन्छ’

माउन्ट फुजीको शिखरबाट सूर्य उदाएको दृश्‍यावलोकन गर्नु एउटा अविस्मरणीय अनुभव हो। सेता हिउँ र फुस्रो ज्वालामुखी पत्थरमा लाली छर्दै सुनौलो घाम छितिजमाथि झुलुक्क झुल्किन्छ। जसै अर्को दिन सुरु हुन्छ, पहाडको स्पष्ट छायाँ धेरै टाढ-टाढाका डाँडाकाँडा तथा बेंसीहरूमाथि फैलिन्छ।

अक्षरमा लेख्दा “अतुलनीय” अर्थ लाग्ने माउन्ट फुजीजस्तै महिमायुक्‍त पहाडहरूले हामीलाई चकित नपारी छोड्‌दैन। त्यसैकारण त तिनीहरूको विशालता देखेर हामी विनम्र हुन्छौं! पहाडहरूको महिमा नै यस्तो हुन्छ कि थुप्रै मानिसहरू अक्सर हुस्सु र बादलको घुम्टो ओढेका एकदमै अग्ला-अग्ला शिखरहरू देवीदेवताहरूको बासस्थान हुन्‌ भनी विश्‍वास गर्ने गर्छन्‌।

पहाडका चुचुराहरूले साँच्चै प्रशंसा गरेको एक मात्र परमेश्‍वर, तिनीहरूका कुशल सृष्टिकर्ता यहोवा हुनुहुन्छ। उहाँ मात्रै “पर्वतहरू बनाउनुहुने” हुनुहुन्छ। (आमोस ४:१३) पृथ्वीको लगभग एक चौथाइ भाग पहाडी क्षेत्र छन्‌ र हाम्रो ग्रह सृष्टि गर्नुहुँदा परमेश्‍वरले यस्ता शक्‍तिहरू पनि स्थापना गर्नुभयो, जसले गर्दा मनै लोभ्याउने चुचुराहरू र पर्वतमालाहरू उत्पन्‍न भए। (भजन ९५:४) उदाहरणका लागि, पृथ्वीभित्र भयानक उथलपुथल मच्चिएको कारण र पृथ्वीको भित्री सतहका खण्डहरूको हलचलले गर्दा हिमालहरू तथा एण्डीज पर्वतहरू उत्पन्‍न भएका थिए भन्‍ने विश्‍वास गरिन्छ।

पहाडहरू कसरी र किन अस्तित्वमा आए भन्‍ने कुरा हामी मानिसजातिले पूर्णतया बुझ्न सक्दैनौं। वास्तवमा, धार्मिक अय्यूबलाई सोधिएका यी प्रश्‍नहरूको जवाफ दिन हामी असमर्थ छौं: “पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्‌? . . . त्यसलाई थाम्ने खामाहरू कहाँ अड़ाएका छन्‌?”—अय्यूब ३८:४-६.

तथापि, पहाडहरूमा हाम्रो जीवन निर्भर छ भन्‍ने कुरा हामीलाई थाह छ। तिनीहरूलाई प्राकृतिक पानीका मुहानहरू भनिन्छ किनभने सम्पूर्ण ठूल्ठूला खोलानालाहरूको पानी पहाडबाट उम्रेर आएका हुन्छन्‌ र पृथ्वीका आधाजसो मानिसहरू पानीको लागि पहाडहरूमै भर पर्छन्‌। (भजन १०४:१३) न्यु साइन्टिस्ट [अंग्रेजी] पत्रिकाअनुसार, “संसारका २० प्रमुख खाद्य उत्पादन गर्ने ठाउँहरूमध्ये छवटा त पहाड नै हुन्‌।” पर्यावरणीय तवरमा सन्तुलित अवस्था भएको परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसारमा “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।”—भजन ७२:१६; २ पत्रुस ३:१३.

पहाडहरूको कुरा गर्नासाथ थुप्रैको मनमा युरोपियन आल्पस्‌ झझल्को आउँछ। यहाँ देखाइएको माउन्ट सिभेटालगायत यी चुचुराहरूले आफ्नो सृष्टिकर्ताको मनमोहक साक्षी दिन्छन्‌। (भजन ९८:८) तिनीहरूले “आफ्नो शक्‍तिद्वारा पहाड़हरूलाई . . . दृढ” तुल्याउनुहुने यहोवाको प्रशंसा गर्छन्‌।—भजन ६५:६. a

हिमशिखर तथा पर्वतमालाहरू, हिवैं-हिउँले ढाकेको भिराला ठाउँहरू, बेंसी तथा तालहरू लगायत चौरहरूले गर्दा आल्पस्‌ साँच्चै विस्मयकारी देखिन्छ। राजा दाऊदले यहोवालाई “पहाड़हरूमा घाँस उमार्नुहुने” व्यक्‍तिको रूपमा चिनाए।—भजन १४७:८.

चीनको गुइलीनमा भएका यी पर्वतमालाहरू आल्पस्‌ जत्ति मनमोहक त नदेखिएलान्‌ तर तिनीहरूको पनि आफ्नै सौन्दर्य छ। ली नदीको तटमा एकमाथि अर्को गर्दै खप्टिएका चूनढुङ्‌गाका चुचुराहरूको थुप्रै पङ्‌क्‍तिहरूले आफ्नो सौन्दर्यद्वारा आगन्तुकहरूलाई मोहित पार्छन्‌। धुम्म हुस्सु लागेका डाँडाहरू हुँदो कलकल गर्दै बगिरहेको कन्चन पानी देख्दा कुनै पनि व्यक्‍तिको मनमा भजनहारका यी शब्दहरू झल्याँस्स याद आउन सक्छन्‌: “उहाँले बेंसीहरूमा पानीका मूलहरू पठाउनुहुन्छ। पहाड़ हुँदो ती बग्छन्‌।”—भजन १०४:१०.

पहाडहरूदेखि हामी साँच्चै प्रभावित हुन्छौं किनभने हामी त्यसलाई मानिसजातिको हित र आनन्दको लागि सृष्टिकर्ताले गर्नुभएको मायालु प्रबन्धको एउटा महिमायुक्‍त भागको रूपमा मानिलिन्छौं। तथापि, तिनीहरू जतिसुकै विस्मयकारी भए तापनि यहोवाको महिमाको दाँजोमा आउन सक्दैनन्‌। उहाँ साँच्चै ‘पहाड़भन्दा महिमायुक्‍त हुनुहुन्छ।’—भजन ७६:४.

[फुटनोट]

a २००४ क्यालेण्डर अफ जेहोभाज्‌ विट्‌नेसेज, मार्च/अप्रिल हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

संसारको कुल जनसंख्याको दस प्रतिशत मानिसहरू पहाडी इलाकाहरूमा बसोबास गर्छन्‌। तर परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नेहरूका लागि त्यो पार गर्नै नसकिने अवरोध भने होइन। यी मसीही सेवकहरू एकदमै उच्च हिमाली भेगहरूमा रहेका थुप्रै इलाकाहरूमा अत्यन्त व्यस्त छन्‌। अनि “शुभ समाचार ल्याउनेको खुट्टा डाँड़ाहरू हुँदो कति सुन्दर छ, जसले शान्तिको प्रचार गर्दछ, जसले कल्याणको शुभ समाचार ल्याउँछ, जसले मुक्‍तिको प्रचार गर्दछ।”—यशैया ५२:७.

“अल्गा अल्गा डाँड़ाहरू घोरलहरूका निम्ति छन्‌” भन्दै भजनहारले गाए। (भजन १०४:१८) उदाहरणका लागि, पहाडी इलाकामा पाइने प्राणीहरूमध्ये खुट्टा नधरमराईकन भुइँमा ठप्प टेक्न सक्ने शानदार सिङ भएको नुबियन आइवेक्सजस्ता घोरलहरू पनि एक हुन्‌। एकदमै साँघुरा खोंचहरूमा पनि तिनीहरू मजाले हिड्‌छन्‌। आइवेक्स अनकन्टार ठाउँहरूमा पनि बस्न सक्छ। केही हदसम्म यसो हुनुको कारण यसका खुरहरू त्यसरी नै बनिएकोले गर्दा हो। घोरलको शरीरको वजनअनुसार खुर फुक्न सक्छ र यसले गर्दा साँघुरो चट्टाने खोंचहरूमा पनि कसेर उभिन वा यताउता फर्कन सक्छ। साँच्चै, आइवेक्स एउटा उत्कृष्ट रचना हो!

[पृष्ठ ९-मा भएको चित्र]

जापानको होन्सुमा भएको माउन्ट फुजी