सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिम्रो सेवाको काम पूरा गर”

“तिम्रो सेवाको काम पूरा गर”

“तिम्रो सेवाको काम पूरा गर”

“तिम्रो सेवा पूर्ण रूपले गर।”—२  तिमोथी ४:५, बाइङ्‌टन।

१, २. सबै मसीहीहरू प्रचारक भए तापनि धर्मशास्त्रअनुसार प्राचीनहरूबाट कस्तो माग गरिन्छ?

 के तपाईं राज्य उद्‌घोषक हुनुहुन्छ? त्यसो हो भने, यो अद्‌भुत सुअवसरको लागि यहोवा परमेश्‍वरलाई धन्यवाद दिनुहोस्‌। के तपाईं मण्डलीमा प्राचीन हुनुहुन्छ? त्यो यहोवाले दिनुभएको अर्को सुअवसर हो। तर सांसारिक शिक्षा वा कौशलतापूर्वक बोल्न सक्ने क्षमताले गर्दा सेवकाई वा मण्डलीमा निरीक्षकको काम गर्न योग्य भएका होइनौं भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। यहोवाले हामीलाई सेवकाईको लागि पर्याप्त मात्रामा निपुण बनाउनुहुन्छ अनि हामीमध्ये कोही-कोही पुरुषहरूले धर्मशास्त्रीय स्तरहरू पूरा गर्न सकेको हुँदा तिनीहरूले निरीक्षकको रूपमा सेवा गर्ने सुअवसर पाएका हुन्‌।—२ कोरिन्थी ३:५, ६; १ तिमोथी ३:१-७.

सबै समर्पित मसीहीहरूले प्रचारकको काम गर्छन्‌ तर विशेष गरी निरीक्षक वा प्राचीनहरूले सेवकाईमा राम्रो उदाहरण बसाल्नुपर्छ। “प्रचार र शिक्षामा परिश्रम” गर्ने प्राचीनलाई परमेश्‍वर तथा ख्रीष्टका साथै यहोवाका सँगी साक्षीहरूले याद गर्छन्‌। (१ तिमोथी ५:१७; एफिसी ५:२३; हिब्रू ६:१०-१२) सबै परिस्थितिमा नै प्राचीनको शिक्षा आध्यात्मिक तवरमा स्वास्थ्यवर्धक हुनै पर्छ किनभने प्रेरित पावलले निरीक्षक तिमोथीलाई यसो भने: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्‌, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्‌, र जे सुन्‍नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्‍नेछन्‌, र सत्यतर्फबाट कान फर्काएर दन्त्यकथाहरूतिर लाग्नेछन्‌। तर तिमी चाहिं सब कुराहरूमा सचेत होऊ, कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।”—२ तिमोथी ४:३-५.

३. झूटा शिक्षाहरूले मण्डलीको आध्यात्मिकतामा खतरा पुऱ्‍याउन नदिन के गर्नुपर्छ?

झूटा शिक्षाहरूले मण्डलीको आध्यात्मिकतामा खतरा नपुऱ्‍याओस्‌ भनेर पक्का गर्न निरीक्षकले पावलको यो सल्लाह पालन गर्नै पर्छ: “सबै कुरामा भद्र होओ, . . . तिम्रो सेवा पूर्ण रूपले गर।” (२ तिमोथी ४:५, बाइङ्‌टन) हो, प्राचीनले ‘आफ्नो सेवाको काम पूरा गर्नुपर्छ।’ तिनले सम्पूर्णतया, पूर्ण रूपले वा विस्तृत तवरमा गर्नुपर्छ। आफ्नो सेवा पूरा गर्ने प्राचीनहरूले आफ्ना सबै जिम्मेवारीहरूलाई उचित ध्यान दिन्छन्‌ अनि कुनै पनि कुरा अधकल्चो वा अपूरो छोड्‌दैनन्‌। त्यस्तो मानिस सानो कुरामा समेत विश्‍वासी हुन्छ।—लूका १२:४८; १६:१०.

४. आफ्नो सेवा पूरा गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?

हाम्रो सेवाको काम पूरा गर्न सधैं बढी समय खर्च गर्नुपर्छ भन्‍ने होइन तर समयलाई राम्ररी खर्च गर्न भने जान्‍नुपर्छ। सन्तुलित तथा नियमित गतिले सबै मसीहीहरूलाई आफ्नो सेवा पूरा गर्न मदत गर्न सक्छ। क्षेत्र सेवकाईमा बढी समय बिताउनको लागि प्राचीनले आफ्नो तालिकाको सन्तुलन मिलाउन तथा कुन काम बाँड्‌ने र कसरी गर्ने भनी थाह पाउन राम्रो व्यक्‍तिगत कार्य व्यवस्थापन मिलाएको हुनुपर्छ। (हिब्रू १३:१७) हुन त, आदरणीय प्राचीनले नहेम्याहले जस्तै आफ्नो काम पूरा गर्छन्‌ जसले यरूशलेमको पर्खाल निर्माण कार्यमा व्यक्‍तिगत तवरमा भाग लिएका थिए। (नहेम्याह ५:१६) अनि यहोवाका सबै सेवकहरूले राज्य प्रचारकार्यमा नियमित तवरमा भाग लिनुपर्छ।—१ कोरिन्थी ९:१६-१८.

५. सेवकाईबारे हामीलाई कस्तो लाग्नुपर्छ?

स्वर्गमा स्थापित राज्यका उद्‌घोषकहरूको रूपमा हामीले कस्तो आनन्ददायी काम पाएका छौं! अन्त आउनुअघि सारा संसारमा सुसमाचार प्रचार गर्ने काममा भाग लिने सुअवसरको हामी अवश्‍य कदर गर्छौं। (मत्ती २४:१४) असिद्ध भए तापनि हामी प्रेरित पावलका निम्न शब्दहरू हृदयङ्‌गम गर्न सक्छौं: “शक्‍तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्‍वरको होस्‌ भनेर हामीसँग यो [सेवकाईको] धन माटाको भाड़ामा छ।” (२ कोरिन्थी ४:७) हो, हामी ग्रहणयोग्य सेवा चढाउन सक्छौं तर परमेश्‍वरले दिनुहुने शक्‍ति र बुद्धिको भरमा मात्र यसो गर्न सम्भव छ।—१ कोरिन्थी १:२६-३१.

परमेश्‍वरको महिमा देखाउने

६ प्राकृतिक इस्राएल र आध्यात्मिक इस्राएलबीच कस्तो भिन्‍नता थियो?

परमेश्‍वरले हामीलाई “नयाँ करारको सेवक” बन्‍न “योग्य बनाउनुभयो” भनेर पावलले अभिषिक्‍त मसीहीहरूलाई सङ्‌केत गर्दै भने। येशू ख्रीष्टद्वारा आध्यात्मिक इस्राएलसित बाँधिएको नयाँ करार र मोशाद्वारा प्राकृतिक इस्राएलसित बाँधिएको पुरानो व्यवस्थाको करारबीच प्रेरित पावल भिन्‍नता छुट्टयाउँछन्‌। दस आज्ञाका दुईवटा पाटी लिएर मोशा सीनै पर्वतबाट तल ओर्लंदा तिनको मुहार अत्यन्तै चम्केको हुँदा इस्राएलीहरूले एक टक लाएर हेर्न सकेनन्‌ भनी पावल बताउँछन्‌। तर समय बित्दै जाँदा अझ गम्भीर कुरा भयो किनभने “तिनीहरूको मन कठोर भएका थिए” अनि तिनीहरूको मनमा घुम्टो लाग्यो। तथापि, तनमनले भक्‍तिका साथ यहोवातर्फ फर्कंदा त्यो घुम्टो हटाइन्छ। त्यसपछि, नयाँ करारमा भएकाहरूलाई दिइएको सेवकाईबारे उल्लेख गर्दै पावल यसो भन्छन्‌: “हामी सबै जना . . . मुख हेर्ने ऐनामा जस्तै प्रभुको [यहोवाको] तेजलाई” देखाउँछौं। (२ कोरिन्थी ३:६-८, १४-१८; प्रस्थान ३४:२९-३५) आज येशूका “अरू भेडा[ले]” पनि यहोवाको महिमा देखाउने सुअवसर पाएका छन्‌।—यूहन्‍ना १०:१६.

७. मानिसहरूले कसरी परमेश्‍वरको महिमा देखाउन सक्छन्‌?

परमेश्‍वको अनुहार हेरेर कोही पनि जीवित रहन नसक्ने हुँदा कसरी असिद्ध मानिसहरूले परमेश्‍वरको महिमा देखाउन सक्छन्‌? (प्रस्थान ३३:२०) यहोवा महिमित व्यक्‍ति हुनुहुन्छ तर त्यसको अलावा उहाँको राज्यद्वारा उहाँको सार्वभौमिकता उच्च पार्ने उहाँको महिमित उद्देश्‍य पनि छ भनेर हामीले बुझ्नै पर्छ। सा.यु. ३३ पेन्तिकोसमा पवित्र आत्मा पाएकाहरूले घोषणा गर्न थालेका “परमेश्‍वरका महाकार्यहरू” उहाँको राज्यसित सम्बन्धित सत्यका भाग हुन्‌। (प्रेरित २:११) आत्माको डोऱ्‍याइमा तिनीहरूले आफूलाई सुम्पिएको सेवा पूरा गर्न सके।—प्रेरित १:८.

८ सेवकाईको सन्दर्भमा पावल के गर्न कटिबद्ध थिए?

आफ्नो सेवा पूरा गर्न कुनै कुराले बाधा पुऱ्‍याउन नदिन पावल कटिबद्ध थिए। तिनले यस्तो लेखे: “कृपा पाएर हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं। तर कपटमा नचलेर, परमेश्‍वरको वचनमा छलछाम नगरेर, हामीले शर्मका गुप्त कुराहरू त्यागेका छौं। तर सत्यलाई सफा देखाउँदै, परमेश्‍वरको दृष्टिमा, मानिसहरूका विवेकमा, हामी आफैलाई सह्रनी गर्दछौं।” (२ कोरिन्थी ४:१, २) पावलले यहाँ “यो सेवा” भनेर उल्लेख गरेको कुराबाटै टाढ-टाढासम्म सत्य प्रकट हुन्छ र आध्यात्मिक ज्योति फैलाइन्छ।

९, १०. कसरी यहोवाको महिमा देखाउन सकिन्छ?

भौतिक तथा आध्यात्मिक ज्योतिको स्रोतबारे पावल यस्तो लेख्छन्‌: “अँध्यारोबाट ज्योति चम्कनेछ भन्‍ने परमेश्‍वरनै हुनुहुन्छ, जो येशू ख्रीष्टको मोहड़ामा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति देखाइदिनलाई हाम्रा हृदयमा चम्कनुभयो।” (२ कोरिन्थी ४:६; उत्पत्ति १:२-५) हामीलाई परमेश्‍वरका सेवकहरू हुने यो उत्कृष्ट सुअवसर दिइएको हुँदा हामीले आफूलाई सफा राखौं ताकि हामीले ऐनाले जस्तै यहोवाको महिमा देखाउन सक्नेछौं।

१० आध्यात्मिक अन्धकारमा भएका मानिसहरूले यहोवाको महिमा वा महान्‌ मोशा, येशू ख्रीष्टमा यसको प्रतिबिम्ब देख्न सक्दैनन्‌। तर यहोवाका सेवकहरूको हैसियतमा हामी धर्मशास्त्रबाट महिमित ज्योति पाउँछौं र त्यो अरूलाई देखाउँछौं। अहिले आध्यात्मिक अन्धकारमा भएकाहरू विनाशबाट उम्कने हो भने तिनीहरूलाई परमेश्‍वरबाट आउने ज्योति चाहिन्छ। त्यसकारण यहोवाको महिमाको लागि अन्धकारबाट ज्योति चम्काउने ईश्‍वरीय आज्ञा हामी ठूलो आनन्द र जोसका साथ पालन गर्छौं।

गृह बाइबल अध्ययनहरूमा तपाईंको ज्योति चम्कोस्‌

११. हाम्रो ज्योति चम्काउने सन्दर्भमा येशूले के भन्‍नुभयो अनि सेवकाईमा यसो गर्ने एउटा तरिका के हो?

११ येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू जगत्‌का ज्योति हौ। डाँड़ामा बसालिएको शहर लुक्नसक्‍तैन। मानिसहरूले बत्ती बालेर पाथीमनि ता होइन, तर सामदानमाथि राख्तछन्‌। र घरमा हुने सबैको निम्ति त्यो चम्कन्छ। उसरीनै तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” (मत्ती ५:१४-१६) हाम्रो असल आचरणले गर्दा अरू पनि परमेश्‍वरको महिमा गर्न अग्रसर हुन सक्छन्‌। (१ पत्रुस २:१२) अनि हाम्रो प्रचारकार्यको विविध पक्षले हामीलाई आफ्नो ज्योति चम्काउने थुप्रै अवसरहरू प्रदान गर्छ। हाम्रो एउटा प्रमुख लक्ष्य भनेको प्रभावकारी गृह बाइबल अध्ययनहरू सञ्चालन गरेर परमेश्‍वरको वचनको आध्यात्मिक ज्योति चम्काउनु हो। यो हाम्रो सेवा पूरा गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण तरिका हो। सत्य खोज्नेहरूको हृदय छुने गरी बाइबल अध्ययनहरू सञ्चालन गर्न हामीलाई कस्ता सुझावहरू मदतकारी हुन सक्लान्‌?

१२. गृह बाइबल अध्ययन सञ्चालन गर्ने कामसित प्रार्थनाको कस्तो सम्बन्ध छ?

१२ यस सन्दर्भमा यहोवालाई प्रार्थना गर्दा बाइबल अध्ययन गर्ने हाम्रो गहिरो इच्छा झल्कन्छ। साथै, परमेश्‍वरको ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुपर्ने महत्त्वलाई हामीले बुझेका छौं भनेर यसले देखाउँछ। (इजकिएल ३३:७-९) यहोवाले पक्कै हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ अनि सेवकाईमा हाम्रो लगनशील प्रयासलाई आशिष्‌ दिनुहुन्छ। (१ यूहन्‍ना ५:१४, १५) तर हामी गृह बाइबल अध्ययन सञ्चालन गर्नको लागि एक जना व्यक्‍ति भेट्टाउन सकूँ भनेर मात्र प्रार्थना गर्दैनौं। अध्ययन स्थापना गरिसकेपछि बाइबल विद्यार्थीको खास आवश्‍यकताबारे प्रार्थना र मनन गऱ्‍यौं भने हरेक चोटि प्रभावकारी ढङ्‌गमा अध्ययन सञ्चालन गर्न मदत पाउनेछौं।—रोमी १२:१२.

१३. प्रभावकारी गृह बाइबल अध्ययन सञ्चालन गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?

१३ प्रभावकारी गृह बाइबल अध्ययनहरू सञ्चालन गर्न हामीले हरेक अध्ययनको लागि राम्रो तयारी गर्नुपर्छ। हामी आफू कताकता अपुग महसुस गर्छौं भने मण्डली पुस्तक अध्ययन निरीक्षकले हरेक हप्ताको पाठ कसरी सञ्चालन गर्छन्‌ भनेर हेर्नु निकै मदतकारी हुन सक्छ। गृह बाइबल अध्ययन सञ्चालन गर्ने सन्दर्भमा राम्रो सफलता हासिल गरेका राज्य प्रकाशकहरूसित कहिलेकाहीं हामी सँगै जान सक्छौं होला। निस्सन्देह, येशू ख्रीष्टको मनोवृत्ति तथा शिक्षण प्रक्रिया विशेष ध्यान दिन योग्यको छ।

१४. हामी कसरी बाइबल विद्यार्थीको हृदयसम्म पुग्न सक्छौं?

१४ स्वर्गमा हुनुहुने आफ्नो पिताको इच्छा गर्न तथा परमेश्‍वरबारे अरूसित कुरा गर्न येशू खुसी हुनुभयो। (भजन ४०:८) उहाँ विनयी हुनुहुन्थ्यो अनि उहाँको कुरा सुन्‍नेहरूको हृदयसम्म पुग्न सक्नुभयो। (मत्ती ११:२८-३०) त्यसकारण हामी पनि आफ्ना बाइबल विद्यार्थीहरूको हृदयसम्म पुग्ने प्रयास गरौं। त्यसो गर्ने हो भने हामीले विद्यार्थीको खास परिस्थितिलाई ध्यानमा राख्दै हरेक अध्ययनको लागि तयारी गर्नुपर्छ। उदाहरणका लागि, तिनी बाइबलबारे त्यति जानकारी नभएको संस्कृतिबाट आएका छन्‌ भने हामीले तिनलाई बाइबल सत्य हो भनेर विश्‍वस्त गराउनुपर्ने होला। त्यसो हो भने, हामीले पक्कै पनि थुप्रै शास्त्रपदहरू पढेर बुझाउनुपर्ने हुन्छ।

दृष्टान्तहरू बुझ्न विद्यार्थीहरूलाई मदत गर्नुहोस्‌

१५, १६. (क) बाइबलमा प्रयोग गरिएको दृष्टान्त नबुझ्ने विद्यार्थीलाई कसरी मदत गर्न सकिन्छ? (ख) हाम्रा प्रकाशनहरूमा चलाइएको दृष्टान्त कुनै खास बाइबल विद्यार्थीलाई बुझ्न गाह्रो हुँदा हामी के गर्न सक्छौं?

१५ धर्मशास्त्रमा प्रयोग गरिएको कुनै खास दृष्टान्तबारे बाइबल विद्यार्थी अपरिचित होलान्‌। उदाहरणका लागि, येशूले बत्ती सामदानमा राख भन्‍नुको कारण के होला भनेर तिनले राम्ररी नबुझेका हुन सक्छन्‌। (मर्कूस ४:२१, २२) येशूले धागो राखेर बालिने पुरानो किसिमको तेलको बत्तीबारे कुरा गर्दै हुनुहुन्थ्यो। त्यस्तो बत्ती विशेष किसिमको पानसमा राखिन्थ्यो र त्यसले घरको एउटा ठाउँलाई उज्यालो बनाउँथ्यो। येशूले प्रयोग गर्नुभएको दृष्टान्तलाई स्पष्ट पार्न इन्साइट अन द स्क्रिप्चर्स जस्ता प्रकाशनहरूमा “बत्ती” र “सामदान” जस्ता विषयहरूमा अनुसन्धान गर्नुपर्ने हुन सक्छ। a तर विद्यार्थीले बुझ्ने अनि चित्तबुझ्दो ढङ्‌गमा बुझाउन सक्ने गरी बाइबल अध्ययनको लागि तयारी गर्नु कत्ति इनामदायी हुन्छ!

१६ बाइबल अध्ययन गर्न प्रयोग गरिने प्रकाशनमा कोही-कोही विद्यार्थीलाई बुझ्नै गाह्रो हुने दृष्टान्त प्रयोग गरिएको हुन सक्छ। त्यसलाई समय लगाएर बुझाउनुहोस्‌ अथवा त्यही बुँदालाई प्रस्ट पार्ने अर्को दृष्टान्त चलाउनुहोस्‌। सायद, प्रकाशनले विवाहमा राम्रो सहयोगी र दुवै जनाको संयुक्‍त प्रयास महत्त्वपूर्ण छ भनेर जोड दिइरहेको छ। यो बुँदालाई बुझाउन अर्को मानिसले समात्नको लागि हावामा आफ्नो दुवै हात छोडिदिने सर्कसको एउटा कलाकारको उदाहरण दिइएको हुन सक्छ। यो उदाहरणको सट्टा राम्रो सहयोगी र दुवै जनाको संयुक्‍त प्रयास महत्त्वपूर्ण छ भनी देखाउनको लागि ट्रकबाट बाकसहरू झार्न मिलेर काम गर्ने कामदारहरूको उदाहरण चलाउन सकिन्छ।

१७. दृष्टान्तहरूबारे येशूबाट हामी के सिक्न सक्छौं?

१७ त्यसको सट्टामा अर्को दृष्टान्त चलाउन अग्रिम तयारी गर्नुपर्ने हुन सक्छ। यद्यपि, बाइबल विद्यार्थीलाई हाम्रो व्यक्‍तिगत चासो देखाउने त्यो एउटा तरिका हो। कठिन विषयहरू बुझाउन येशूले सरल दृष्टान्तहरू चलाउनुभयो। उहाँले डाँडामा दिनुभएको उपदेशले यसको उदाहरण दिन्छ अनि उहाँको शिक्षाले स्रोताहरूमा राम्रो असर पाऱ्‍यो भनेर बाइबलले देखाउँछ। (मत्ती ५:१–७:२९) येशूले धैर्यपूर्वक सबै कुरा बुझाउनुभयो किनभने उहाँले अरूहरूप्रति गहिरो चासो राख्नुहुन्थ्यो।—मत्ती १६:५-१२.

१८. हाम्रा प्रकाशनमा उल्लेख गरिएका शास्त्रपदहरूलाई के गर्ने सुझाव दिइएको छ?

१८ अरूहरूप्रति हाम्रो चासोले हामीलाई ‘धर्मशास्त्रबाट बहस’ वा तर्क गर्न उत्प्रेरित गर्नेछ। (प्रेरित १७:२, ३) यसको लागि प्रार्थनापूर्वक अध्ययन गर्नुका साथै ‘विश्‍वासी भण्डारे’ मार्फत उपलब्ध गराइएका प्रकाशनहरूको बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ। (लूका १२:४२-४४) उदाहरणका लागि, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तकले थुप्रै शास्त्रपदहरू उद्धरण गर्छ। b पुस्तकमा धेरै ठाउँ नभएकोले केही शास्त्रपदहरू उल्लेख मात्र गरिएका छन्‌। बाइबल अध्ययनको दौडान उल्लेख गरिएकामध्ये कम्तीमा पनि कुनै-कुनै शास्त्रपद पढेर बुझाउनु महत्त्वपूर्ण छ। आखिर, हाम्रो शिक्षा परमेश्‍वरको वचनमा आधारित छ र यो अत्यन्तै प्रबल छ। (हिब्रू ४:१२) हरेक अध्ययनको दौडान बाइबलबाट बताउनुहोस्‌ अनि अनुच्छेदमा दिइएका शास्त्रपदहरू हेर्न धेरै चोटि बाइबल पल्टाउनुहोस्‌। कुनै खास विषय वा कुनै कदमबारे बाइबलले के भन्छ भनेर बुझ्न विद्यार्थीलाई मदत दिनुहोस्‌। परमेश्‍वरप्रति आज्ञाकारी हुँदा तिनले कसरी लाभ उठाउन सक्नेछन्‌ भनेर देखाउने प्रयास गर्नुहोस्‌।—यशैया ४८:१७, १८.

सोच्न लगाउने प्रश्‍नहरू सोध्नुहोस्‌

१९, २०. (क) गृह बाइबल अध्ययन सञ्चालन गर्दा दृष्टिकोण बुझ्ने प्रश्‍नहरू किन चलाउनुपर्छ? (ख) कुनै खास विषयबारे थप विचार गर्नुपर्ने छ भने के गर्न सकिन्छ?

१९ येशूले निपुणतापूर्वक प्रश्‍न चलाउनुभएर मानिसहरूलाई तर्क गर्न मदत दिनुभयो। (मत्ती १७:२४-२७) हामीले विद्यार्थीलाई अप्ठ्यारोमा नपार्ने गरी दृष्टिकोण बुझ्ने प्रश्‍नहरू सोध्यौं भने तिनको जवाफले कुनै खास विषयबारे तिनको विचार प्रकट गर्नेछ। तिनको अझै गैरधर्मशास्त्रीय दृष्टिकोण रहेछ भने पनि थाह पाउन सक्छौं। उदाहरणका लागि, तिनले त्रिएकमा विश्‍वास गर्छन्‌ होला। ज्ञान पुस्तकको अध्याय ३ ले बाइबलमा “त्रिएक” शब्द छैन भनेर देखाउँछ। यस पुस्तकमा यहोवा र येशू बेग्लाबेग्लै हुनुहुन्छ र पवित्र आत्मा भनेको व्यक्‍ति होइन केवल परमेश्‍वरको सक्रिय शक्‍ति हो भनेर देखाउने शास्त्रपदहरू उद्धरण तथा उल्लेख गरिएका छन्‌। यी बाइबल पदहरू पढ्‌नु र छलफल गर्नु पर्याप्त हुन सक्छ। तर त्यतिले पुगेन भने के गर्ने? सायद, अर्को पटकको नियमित अध्ययनपछि यही विषयमा यहोवाका साक्षीहरूको अर्को प्रकाशन, जस्तै शुड यु विलिभ इन द ट्रिनिटी? जस्ता पुस्तिकाहरूबाट अझ लाभदायक छलफल गर्न सकिन्छ। त्यसपछि हामी ज्ञान पुस्तकबाटै अध्ययन अघि बढाउन सक्छौं।

२० मानौं, विद्यार्थीले दृष्टिकोण बुझ्ने प्रश्‍नको जवाफ अनौठो वा सोच्दै नसोचेको दिन सक्छ। धूम्रपान वा अन्य संवेदनशील विषय मुछिएको छ भने हामीले अध्ययन अघि बढाएर यसबारे पछि छलफल गर्ने सुझाव दिन सक्छौं। विद्यार्थीले अझै धूम्रपान गर्दैछन्‌ भनेर थाह पाएपछि तिनलाई आध्यात्मिक प्रगति गर्न मदत दिने विषयमा प्रकाशित जानकारी खोज्न सक्छौं। विद्यार्थीको हृदयसम्म पुग्ने प्रयास गर्दा तिनलाई आध्यात्मिक तवरमा बढ्‌ने मदत दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्न सक्छौं।

२१. हाम्रो शिक्षण प्रक्रिया बाइबल विद्यार्थीको खास आवश्‍यकता अनुरूप बनायौं भने के हुन सक्छ?

२१ राम्रो तयारीका साथै यहोवाको मदतद्वारा बाइबल विद्यार्थीको खास आवश्‍यकतालाई ध्यानमा राख्दै हाम्रो शिक्षण प्रक्रियामा अवश्‍य छाँटकाँट गर्न सक्नेछौं। समय बित्दै जाँदा हामी तिनलाई परमेश्‍वरप्रति गहिरो प्रेम विकास गर्न मदत दिन सक्छौं। हामी यहोवाको संगठनप्रति आदर र मूल्याङ्‌कन बढाउने मदत पनि दिन सक्छौं होला। अनि बाइबल विद्यार्थीहरूले ‘परमेश्‍वर तपाईंहरूका बीचमा हुनहुन्छ’ भनेर मानिलिंदा कति मनोहर हुन्छ! (१ कोरिन्थी १४:२४, २५) त्यसकारण हामी प्रभावकारी बाइबल अध्ययन सञ्चालन गरौं र येशूको चेला बन्‍न अरूलाई मदत गर्न यथाशक्य गरौं।

कदर गर्नुपर्ने धन

२२, २३. हाम्रो सेवा पूरा गर्न के चाहिन्छ?

२२ हाम्रो सेवा पूरा गर्न हामी परमेश्‍वरले दिनुहुने बलमा निर्भर हुनै पर्छ। सेवकाईको सन्दर्भमा पावलले सँगी अभिषिक्‍त मसीहीहरूलाई यस्तो लेखे: “शक्‍तिको सर्वश्रेष्ठ महत्त्व हामीबाट होइन, तर परमेश्‍वरको होस्‌ भनेर हामीसँग यो धन माटाको भाड़ामा छ।”—२ कोरिन्थी ४:७.

२३ चाहे अभिषिक्‍त वा “अरू भेडा[का]” होऔं, हामी कमजोर माटोका भाँडाहरूजस्तै हौं। (यूहन्‍ना १०:१६) यद्यपि, हामी विरुद्ध ल्याइने जस्तोसुकै दबाबको बावजुद आफ्नो जिम्मेवारी पूरा गर्न यहोवाले हामीलाई बल दिन सक्नुहुन्छ। (यूहन्‍ना १६:१३; फिलिप्पी ४:१३) अतः हामी यहोवामा पूर्ण भरोसा राखौं, सेवाको धनलाई कदर गरौं अनि हाम्रो सेवा पूरा गरौं।

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• प्राचीनहरूले आफ्नो सेवा पूरा गर्न के गर्न सक्छन्‌?

• हामी आफ्ना गृह बाइबल अध्ययनहरूको प्रभावकारिता कसरी बढाउन सक्छौं?

• बाइबल विद्यार्थीले कुनै दृष्टान्त बुझेनन्‌ वा कुनै खास विषयमा थप जानकारी चाहियो भने तपाईं के गर्न सक्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

मसीही प्राचीनहरूले मण्डलीमा सिकाउँछन्‌ अनि सेवकाईमा सँगी विश्‍वासीहरूलाई प्रशिक्षण दिन मदत गर्छन्‌

[पृष्ठ १८-मा भएको चित्र]

हाम्रो ज्योति चम्कन दिने एउटा तरिका प्रभावकारी गृह बाइबल अध्ययनहरू सञ्चालन गर्नु हो