वेस्टफालियाको शान्ति युरोपमा एउटा निर्णायक मोड
वेस्टफालियाको शान्ति युरोपमा एउटा निर्णायक मोड
“थुप्रै युरोपेली मुलुकका राष्ट्र प्रमुखहरू आज यसरी भेला हुनु भनेको साँच्चै एउटा असाधारण घटना हो।” यो थियो, संघीय गणतन्त्र जर्मनीका भूतपूर्व राष्ट्रपति रोमन हर्टसोकले अक्टोबर १९९८ मा व्यक्त गरेको भनाइ। तिनले त्यस्तो टिप्पणी गर्दा चार जना राजा, चार जना रानी, दुई जना राजकुमार, एक जना ग्राण्ड ड्युक र थुप्रै राष्ट्रपतिहरू थिए। यो युरोपको निकायद्वारा प्रायोजित अवसर जर्मनीको आधुनिक राष्ट्रको ५० वर्षे इतिहासमा एउटा अत्यन्तै महत्त्वपूर्ण अवसर थियो। त्यो कुन अवसर थियो?
अक्टोबर १९९८, वेस्टफालियाको शान्तिसन्धिको ३५० औं वार्षिकी थियो। शान्तिसन्धिहरू भनेको अक्सर इतिहासले एउटा नयाँ मोड लिने बिन्दु हो र यस सन्दर्भमा वेस्टफालियाको शान्तिसन्धि अलि विशेष थियो। सन् १६४८ मा यो सन्धिमा हस्ताक्षर गरिंदा तीस वर्षे युद्धको अन्त भयो अनि सार्वभौम राष्ट्रहरूको महादेशको रूपमा आधुनिक युरोपको जन्म भयो।
पुरानो शासनव्यवस्था धरमराउँछ
मध्ययुगमा युरोपको सबैभन्दा शक्तिशाली व्यवस्था भनेको रोमन क्याथोलिक चर्च र पवित्र रोमी साम्राज्य थियो। यो साम्राज्यमा विभिन्न साइजका सयौं इलाकाहरू थिए अनि हाल अस्ट्रिया, चेक गणतन्त्र, पूर्वी फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, लो कन्ट्रीज भनिने युरोपको भूभाग र इटालीका केही भागहरू पर्थे। यसको प्रमुख भाग जर्मन राज्यहरू भएको हुँदा यो साम्राज्य पछि जर्मन राष्ट्रको पवित्र रोमी साम्राज्य भनेर चिनियो। प्रत्येक राज्यमा एक जना राजकुमारको अर्धस्वायत्त शासन हुन्थ्यो। सम्राट् स्वयम् पनि अस्ट्रेलियाली हाब्सवर्ग परिवारका रोमन क्याथोलिक थिए। तसर्थ, पोपतन्त्र र साम्राज्यवादी शक्तिमा भएको बेला युरोप पूर्णतया रोमन क्याथोलिकको अधीनमा थियो।
तथापि, १६ औं र १७ औं शताब्दीमा यो स्थापित सुव्यवस्था धरमरायो। रोमन क्याथोलिक चर्चको अचाक्लीपनले गर्दा युरोपभरि नै व्यापक असन्तुष्टि छायो। मार्टिन लुथर र जोन क्याल्भिनजस्ता धार्मिक सुधारवादीहरूले बाइबलका मूल्यमान्यताहरूमा फर्कनुपर्ने कुरामा जोड गरे। लुथर र क्याल्भिनले व्यापक समर्थन पाए अनि यस अभियानले गर्दा धर्म सुधार र प्रोटेस्टेन्ट धर्महरूको जन्म भयो। धर्म सुधारले गर्दा यो साम्राज्य तीनवटा विश्वासमा विभाजित भयो—क्याथोलिक, लुथरन र क्याल्भिनिस्ट।
क्याथोलिकहरूले प्रोटेस्टेन्टहरूलाई शङ्काकाको दृष्टिकोणले हेर्थे अनि प्रोटेस्टेन्टहरूले आफ्ना क्याथोलिक प्रतिद्वन्द्वीहरूलाई उपेक्षा गर्थे। यस्तो वातावरणले गर्दा १७ औं शताब्दीमा प्रोटेस्टेन्ट युनियन र क्याथोलिक लिगको स्थापना भयो। यस साम्राज्यका कोही-कोही राजकुमारहरू युनियनमा सहभागी भए भने अरू कतिपय लिगमा सामेल भए। युरोप र विशेष गरी रोमी साम्राज्य, शङ्काको उद्गमस्थल थियो र सबै कुरा जलेर खाक हुन एउटा सानो झिल्को मात्र पर्याप्त थियो। त्यो झिल्कोले सुरु गरेको विवाद ३० वर्षसम्म चल्यो।
एउटा घातक झिल्कोले युरोपमा दनदनी आगो लाग्छ
उपासना गर्न बढी स्वतन्त्रता मिलोस् भनेर प्रोटेस्टेन्ट शासकहरूले क्याथोलिक हाब्सवर्गहरूलाई दबाब दिन
खोजे। तर आनाकानी गर्दै एकदमै मन्द गतिमा ती परिवर्तनहरू भए अनि १६१७-१८ मा बोहिमियामा (चेक गणतन्त्र) दुइटा लुथरन चर्च जबरजस्ती बन्द गरियो। यसले प्रोटेस्टेन्ट धनीमानीहरूलाई रिस उठायो, तिनीहरू प्रागको दरबारमा घुसे अनि चर्चका तीन जना अधिकारीलाई समातेर माथिल्लो तलाको झ्यालबाट बाहिर फ्याँकिदिए। युरोपमा आगो सल्काउने सानो झिल्को यही थियो।तिनीहरू शान्तिका राजकुमार येशू ख्रीष्टका अनुयायी भनौदाहरू भए तापनि विरोधी धर्मका सदस्यहरूले अहिले एकअर्काको घाँटी ङ्याकिरहेका थिए। (यशैया ९:६) ह्वाइट माउन्टेनको युद्धमा लिगले युनियनलाई पूरै परास्त गऱ्यो र भताभुङ्ग पाऱ्यो। प्रागको बजार इलाकाहरूमा प्रोटेस्टेन्ट धनीमानीहरूको हत्या गरियो। बोहिमियाभरि नै, आफ्नो विश्वास नत्याग्ने प्रोटेस्टेन्टहरूको सम्पत्ति जफत गरियो र क्याथोलिकहरूलाई बाँडियो। १६४८—क्रीग उन्ड फ्रिडन इन युरोपा (१६४८—युरोपमा युद्ध र शान्ति) भन्ने एउटा पुस्तकले यो जफतकार्यलाई “मध्य युरोपमा, सम्पत्तिको स्वामित्वमा भएको सबैभन्दा ठूलो परिवर्तन” भनी वर्णन गरेको छ।
बोहिमियामा धार्मिक विवादको रूपमा सुरु भएको यो सानो झिल्को अन्तरराष्ट्रिय शक्ति सङ्घर्षको रूपसम्म चर्कियो। त्यसपछि ३० वर्षसम्म डेनमार्क, फ्रान्स, नेदरल्याण्ड्स, स्पेन र स्वीडेन पनि युद्धमा मुछिए। अक्सर लोभ र शक्तिको चाहनाले गर्दा उक्सिएका क्याथोलिक तथा प्रोटेस्टेन्ट शासकहरूले राजनैतिक श्रेष्ठता तथा आर्थिक लाभको लागि तँछाड-मछाड गरे। त्यो तीस वर्षे युद्धलाई तीन भागमा विभाजन गरिएको छ र ती प्रत्येकलाई सम्राट्को प्रमुख प्रतिद्वन्द्वीअनुसारको नाउँ दिइएको छ। विभिन्न स्रोत सामग्रीहरूले त्यस्ता चार भाग उल्लेख गर्छन्: बोहिमियन तथा पालाटिन युद्ध, डेनिश-लोवर सेक्सोनी युद्ध, स्वीडिश युद्ध अनि फ्रान्सेली-स्वीडिश युद्ध। धेरैजसो लडाइँ पवित्र रोमी साम्राज्यको इलाकामा भयो।
त्यस युगका हतियारहरू भनेका पेस्तोल, मस्केट, मोर्टार र बारुद थिए अनि हतियार उपलब्ध गराउने प्रमुख राष्ट्र स्वीडेन थियो। क्याथोलिक तथा प्रोटेस्टेन्टहरू झगडामा मुछिएका थिए। सिपाहीहरू “सान्ता मारिया” वा “परमेश्वर हामीसित हुनुहुन्छ” भनेर कराउँदै युद्धमा जान्थे। सैन्य दलले जर्मन राज्यहरूमा लुटपाट मच्चाए अनि प्रतिद्वन्द्वी तथा नागरिकहरूलाई जनावरजस्तो व्यवहार गरे। यो युद्ध अत्यन्तै बर्बरतापूर्ण हुन गयो। बाइबलको यो भविष्यवाणीभन्दा कति भिन्न: “जाति जातिहरूले एक अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, नता तिनीहरूले फेरि कहिल्यै लड़ाइँ गर्न सिक्नेछन्”!—मीका ४:३.
जर्मनहरूको एउटा पुस्ता युद्धग्रस्त वातावरणमा हुर्के अनि यी थकित जनसाधारणले शान्तिको चाहना गर्थे। स्पष्ट छ, शासकहरूको विरोधाभासपूर्ण राजनैतिक चासो नभइदिएको भए शान्ति सम्भव हुने थियो। यस युद्धले गर्दा धार्मिकपन हराएर झन्झनै गैरधार्मिक हुँदै जाँदा राजनीतिको प्रभुत्व हुन थाल्यो। हाँसउठ्दो कुरा के हो भने, यो परिवर्तन प्रतिपादन गर्ने मानिस क्याथोलिक चर्चका उच्च पदाधिकारी थिए।
कार्डिनल रिचेलिऊले सत्ता आफ्नो हातमा लिन्छन्
अर्मान्ड-झाँ डुप्लेसिसको औपचारिक पदवी कार्डिनल रिचेलिऊ थियो। तिनी १६२४ देखि १६४२ सम्म फ्रान्सका प्रधानमन्त्री पनि थिए। रिचेलिऊले फ्रान्सलाई युरोपको प्रमुख शक्ति बनाउने लक्ष्य राखेका थिए। त्यो लक्ष्य हासिल गर्न तिनले आफ्ना सँगी क्याथोलिकहरू अर्थात् हाब्सवर्गको शक्ति कम गर्न खोजे। तिनले यो कसरी गरे? जर्मन राज्य, डेनमार्क, नेदरल्याण्ड्स र स्वीडेनका प्रोटेस्टेन्ट सेनालाई आर्थिक सहयोग गरेर, जो त्यतिबेला हाब्सवर्ग विरुद्ध लडिरहेका थिए।
सन् १६३५ मा रिचेलिऊले पहिलो पटक फ्रान्सेली सेनालाई युद्धमा पठाए। भिभाट पाक्स—एस लेब डर फ्रिड! (शान्ति अमर रहोस्!) भन्ने पुस्तकमा वर्णन गरेअनुसार “तीस वर्षे युद्धको अन्तिम चरणमा यी दुई धार्मिक समूहबीचको द्वन्द्व हुन छोड्यो। . . . यो युद्ध युरोपमा राजनैतिक श्रेष्ठताको लागि सङ्घर्ष हुन गयो।” क्याथोलिक र प्रोटेस्टेन्टहरूबीचको धार्मिक विवाद पछि गएर क्याथोलिकहरू प्रोटेस्टेन्टहरूसित मिलेर अरू क्याथोलिकहरू विरुद्ध लड्ने लडाइँ हुन गयो। सन् १६३० दशकको सुरुतिर कमजोर हुन थालिसकेको क्याथोलिक लिग १६३५ मा विघटन भयो।
वेस्टफालियामा शान्ति सम्मेलन
युरोपलाई लुटपाट, हत्या, बलात्कार र रोगबिमारले भताभुङ्ग पाऱ्यो। यो कसैले जित्न नसकिने युद्ध रहेछ भनी सजग भएपछि बिस्तारै शान्तिको तिर्सना बढ्न थाल्यो। भिभाट पाक्स—एस लेब डर फ्रिड! भन्ने पुस्तकले “१६३० दशकको अन्ततिर शासन गरिरहेका राजकुमारहरूले सैनिक शक्तिद्वारा आफ्नो लक्ष्य प्राप्त गर्न नसकिने रहेछ भन्ने बल्ल बुझे” भनी टिप्पणी गरेको छ। तर यदि सबैले खोजेको कुरा शान्ति हो भने यो कसरी प्राप्त गर्न सकिने थियो?
पवित्र रोमी साम्राज्यका सम्राट् फर्डिनान्ड तेस्रो, फ्रान्सका राजा लुइस तेह्रौं र स्वीडेनकी महारानी क्रिस्टिना युद्धका सबै पक्षहरू एक ठाउँमा भेला भएर शान्तिसन्धि गर्ने सम्मेलन गर्नुपर्छ भन्ने कुरामा सहमत भए। वार्ताको लागि दुइटा ठाउँ छनौट गरियो—ओस्नाब्रुकका सहरहरू अनि वेस्टफालियाको जर्मन प्रान्तमा मुन्स्टर। ती ठाउँहरू स्वीडेन र फ्रान्सका राजधानीहरू जोड्ने बीचको बिन्दु भएकोले छनौट गरियो। सन् १६४३ देखि लगभग १५० जना प्रतिनिधि र यीमध्ये कुनै-कुनैसित सल्लाहकारहरूको ठूलो टोली थियो—यी दुई सहरहरूमा भेला भए—क्याथोलिक दूतहरू मुन्स्टरमा र प्रोटेस्टेन्ट प्रतिनिधिहरू ओस्नाब्रुकमा।
सर्वप्रथम, पदवी, दूतहरूको दर्जा, आसन क्रम तथा प्रक्रियाजस्ता विषयहरू मिलाउनको लागि आचारसंहिता तय गरियो। त्यसपछि शान्तिवार्ता सुरु भयो अनि मध्यस्थकर्ताहरूद्वारा प्रस्तावना चाहिं एक-एक प्रतिनिधिलाई घुमाइयो। युद्ध चलिरहँदा लगभग पाँच वर्षपछि शान्तिवार्ताको सर्तहरूमा सहमति भयो। वेस्टफालियाको सन्धिमा एउटा कागजात मात्र थिएन। एउटा सम्झौतामा सम्राट् फर्डिनान्ड तेस्रो र स्वीडेनबीच हस्ताक्षर गरियो भने अर्को, सम्राट् र फ्रान्सबीच मुन्स्टरमा।
यो सन्धिको खबर फैलिन थालेपछि उत्सवहरूको तयारी हुन थाल्यो। एउटा घातक झिल्कोबाट सुरु भएको कुराको अन्त साँच्चै आतसबाजीबाट भयो। आतसबाजीले विभिन्न सहरका आकास उज्यालो बनायो। चर्चका घण्टीहरू बजे, सलामी चढाउन बारुद पड्काइयो अनि मानिसहरू सडकमा गाउन थाले। के अब युरोपले चिरकालीन शान्ति आशा गर्न सक्थ्यो?
के चिरकालीन शान्ति सम्भव छ?
वेस्टफालियाको सन्धिले सार्वभौमिकताको सिद्धान्तलाई मानिलियो। यसको मतलब, सन्धिको दुवै पक्षले अर्को पक्षको सीमा अधिकारको आदर गर्ने अनि अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति व्यक्त गऱ्यो। यसरी सार्वभौम राज्यहरूको महादेशको रूपमा युरोपको जन्म भयो। यी राज्यहरूमध्ये कसैले अरूभन्दा धेरै पाए।
फ्रान्स एउटा प्रमुख शक्तिको रूपमा स्थापित भयो अनि नेदरल्याण्ड्स र स्वीजरल्याण्ड दुवैले स्वतन्त्रता हासिल गरे। जर्मन राज्यहरू जसमध्ये प्रायजसो युद्धले भताभुङ्ग भइसकेका थिए, यिनीहरूले भने केही क्षति बेहोर्नुपऱ्यो। जर्मनीको नियति केही हदसम्म अरू राष्ट्रहरूले निर्धारण गरे। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यस्तो रिपोर्ट गर्छ: “जर्मन राजकुमारहरूको नाफा र क्षति, प्रमुख शक्तिहरू फ्रान्स, स्वीडेन र अस्ट्रियाको फाइदाले निर्धारण गऱ्यो।” एकै ठाउँमा एकताबद्ध हुनुको साटो जर्मन राज्यहरू पहिलाजस्तै विभाजित भए। यसबाहेक कुनै-कुनै इलाका विदेशी शासकहरूको हातमा दिइयो; जस्तै, जर्मनका प्रमुख नदीहरू—राइन, एल्ब र ओडरको केही अंश।
क्याथोलिक, लुथरन र क्याल्भिनिस्ट धर्महरूलाई समान मान्यता दिइयो। यसबाट सबै खुसीभएनन्। पोप इनोसेन्ट दसौंले यो सन्धिको तीव्र विरोध गरेका थिए अनि यसलाई नाकाम र बेकारको समेत भने। तैपनि, निर्धारण गरिएका धार्मिक सिमानाहरू आगामी तीन शताब्दीको लागि यथावत् नै रह्यो। व्यक्तिविशेषको निम्ति धार्मिक स्वतन्त्रता प्राप्त भई नसकेको भए तापनि त्यसको एक कदम नजिक पुग्न सकियो।
यो सन्धिले तीस वर्षे युद्धको अन्त गऱ्यो अनि सँगसँगै प्रायजसो वैमनस्यताको पनि अन्त भयो। यो युरोपको अन्तिम प्रमुख धार्मिक युद्ध थियो। युद्धहरू रोकिएनन् तर त्यसको कारण भने धर्मबाट राजनीति वा अर्थतन्त्रतर्फ सऱ्यो। यसको मतलब धर्मले युरोपका सबै वैमनस्यताहरूमा सबै प्रभाव गुमायो। प्रथम र दोस्रो विश्वयुद्धमा जर्मन सिपाहीहरूले आफ्नो पेटीमा यस्तो कुँदिएको रिङ लगाउँथे: “ईश्वर हाम्रो साथमा हुनुहुन्छ।” ती दर्दनाक विवादहरूको दौडान क्याथोलिक तथा प्रोटेस्टेन्टहरू विपक्षमा क्याथोलिक तथा प्रोटेस्टेन्टहरूसितै लड्न सुरिए।
स्पष्टत: वेस्टफालियाको सन्धिले चिरकालीन शान्ति ल्याएन। तथापि, आज्ञाकारी मानिसजातिले त्यस्तो शान्ति चाँडै अनुभव गर्नेछन्। यहोवा परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टको मसीही राज्यद्वारा मानिसजातिलाई अनन्तकालीन शान्ति ल्याउनुहुनेछ। त्यो सरकारअन्तर्गत एउटा साँचो धर्म विभाजनको होइन तर एकताको शक्ति हुनेछ। धार्मिक वा अन्य कुनै कारणको लागि कोही पनि युद्ध गर्न जानेछैनन्। राज्य शासनले पृथ्वीमाथि नियन्त्रण जमाउँदा अनि “शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै” नहुँदा कस्तो ढुक्क हुनेछ!—यशैया ९:६, ७.
[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]
क्याथोलिक तथा प्रोटेस्टेन्टहरूबीचको धार्मिक विवाद पछि गएर क्याथोलिकहरू प्रोटेस्टेन्टहरूसित मिलेर अरू क्याथोलिकहरू विरुद्ध लड्ने लडाइँ हुन गयो
[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]
सिपाहीहरू “सान्ता मारिया” वा “परमेश्वर हामीसित हुनुहुन्छ” भनेर कराउँदै युद्धमा गए
[पृष्ठ २१-मा भएको चित्र]
कार्डिनल रिचेलिऊ
[पृष्ठ २३-मा भएको चित्र]
लुथर, क्याल्भिन र पोपबीचको सङ्घर्ष देखाउने सोह्रौं शताब्दीको चित्र
[पृष्ठ २०-मा भएको चित्रको स्रोत]
From the book Spamers Illustrierte Weltgeschichte VI
[पृष्ठ २३-मा भएको चित्रको स्रोत]
Religious leaders struggling: From the book Wider die Pfaffenherrschaft; map: The Complete Encyclopedia of Illustration/J. G. Heck