सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंले इनाममा ध्यान केन्द्रित गरिरहनुभएको छ?

के तपाईंले इनाममा ध्यान केन्द्रित गरिरहनुभएको छ?

के तपाईंले इनाममा ध्यान केन्द्रित गरिरहनुभएको छ?

अन्धो बनाउने प्रमुख कारण, जलबिन्दु रोगले बिस्तार असर गर्दै लान्छ। सुरुमा त यसले आँखाको वरिपरिको दृष्टिलाई धमिलो बनाइदिन्छ। उपचार नगरेको खण्डमा, यो रोग दृष्टिको केन्द्रबिन्दुतिर सर्न सक्छ। अन्ततः यसले पूर्णतया अन्धो बनाउँछ।

जसरी हामी आफ्नो शारीरिक आँखाको दृष्टि बिस्तारै र खतरनाक ढङ्‌गमा गुमाउन सक्छौं, त्यस्तै गरी हामी त्योभन्दा पनि बहुमूल्य प्रकारको दृष्टि अर्थात्‌ हाम्रो आध्यात्मिक दृष्टि गुमाउन सक्छौं। त्यसकारण, आध्यात्मिक कुराहरूलाई अत्यन्त महत्त्वपूर्ण ठानेर त्यसलाई हामीले उत्कट ध्यान दिनु अनिवार्य छ।

इनाममा ध्यान केन्द्रित गर्ने

हाम्रो साँच्चैको आँखाले ‘नदेख्ने कुराहरूमध्ये’ अनन्त जीवनको महिमित इनाम एउटा हो, जुन इनाम यहोवाले आफ्ना वफादार जनहरूलाई दिनुहुन्छ। (२ कोरि. ४:१८) निस्सन्देह, मसीहीहरूले परमेश्‍वरको सेवा गर्नुको प्रमुख कारण उहाँप्रति तिनीहरूको प्रेम हो। (मत्ती २२:३७) यद्यपि, यहोवा हामीले आफ्नो इनाम उत्सुकतासाथ आशा गरेको चाहनुहुन्छ। हामीले उहाँलाई एक जना दयालु पिताको रूपमा हेरेको उहाँ चाहनुहुन्छ, जसले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) तसर्थ, परमेश्‍वरलाई साँच्चै चिन्‍ने तथा उहाँलाई प्रेम गर्नेहरूले उहाँका प्रतिज्ञाकृत आशिष्‌हरूको कदर गर्नुका साथै त्यसको पूर्तिको तीव्र चाह गर्छन्‌।—रोमी ८:१९, २४, २५.

यो पत्रिका तथा यसको सहपत्रिका, ब्यूँझनुहोस्‌!-का थुप्रै पाठकहरूलाई आउँदै गरेको पार्थिव प्रमोदवन चित्रण गर्ने चित्रहरू मनपर्छ। हो, हामीलाई पार्थिव प्रमोदवन वास्तवमा कस्तो देखिने छ भनी ठ्याक्क थाह छैन र छापिएका चित्रहरू पनि यशैया ११:६-९ जस्ता पदहरूमा आधारित कलाकारको हातको कला मात्र हुन्‌। तैपनि, एउटी मसीही स्त्रीले यसो भनिन्‌: “जब-जब म प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌!-मा आउँदै गरेको प्रमोदवनका चित्रहरू देख्छु, म त्यसलाई एक जना व्यक्‍तिले यात्रासम्बन्धी पुस्तिका राम्ररी हेरेझैं उत्कट ध्यान दिएर हेर्छु। म आफूलाई त्यहाँ भएको कल्पना गर्ने कोसिस गर्छु किनभने परमेश्‍वरले आफ्नो समयमा ल्याउनुहुने त्यस ठाउँमा साँच्चै बस्ने मैले आशा साँचेकी छु।”

प्रेरित पावलले पनि आफ्नो “माथिको बोलावट[बारे]” त्यस्तै महसुस गरे। आफूले यसलाई प्राप्त गरिसकेको जस्तो तिनले ठानेनन्‌, किनभने तिनले आफूलाई अन्तसम्म विश्‍वासी साबित गर्नुपर्थ्यो। तर तिनी ‘अगाडिका कुराहरूतिर लम्किरहे।’ (फिलिप्पी ३:१३, १४) त्यस्तै गरी, येशूले “उहाँको सामने राखिदिएको आनन्दको निम्ति” शासनाको खम्बामा मृत्यु भोग्नुभयो।—हिब्रू १२:२.

नयाँ संसारमा प्रवेश पाउने विषयमा के तपाईंले कहिल्यै शङ्‌का गर्नुभएको छ? बढ्‌तै विश्‍वस्त नहुनु पक्कै पनि राम्रो कुरा हो किनभने जीवनको इनाम पाउने, नपाउने कुरा अन्तसम्म हामी विश्‍वासी रहन सक्छौं कि सक्दैनौं, त्यसमा निर्भर छ। (मत्ती २४:१३) तथापि, परमेश्‍वरका आवश्‍यकताहरू पूरा गर्ने यथाशक्य कोसिस गरिरहेका छौं भने उक्‍त इनाम प्राप्त गर्ने कुरामा ढुक्क हुने हामीसित हर कारण छ। यहोवा “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (२ पत्रुस ३:९) हामीले यहोवामाथि भरोसा राख्यौं भने, उहाँले हामीलाई आफ्नो लक्ष्य प्राप्त गर्न मदत गर्नुहुनेछ। साँच्चै, उहाँलाई प्रसन्‍न तुल्याउने निष्कपट प्रयास गरिरहेका व्यक्‍तिहरूलाई अयोग्य ठहऱ्‍याउने कारणहरू खोज्नु त उहाँको स्वभावको ठीक विपरीत कुरा हो।—भजन १०३:८-११; १३०:३, ४; इजकिएल १८:३२.

आफ्ना जनहरूप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ भन्‍ने कुरा बुझ्दा त्यसले हामीलाई आशा प्रदान गर्छ र यो आशा विश्‍वास जत्तिकै महत्त्वपूर्ण गुण हो। (१ कोरिन्थी १३:१३) बाइबलमा “आशा” भनेर अनुवाद गरिएको युनानी शब्दले “असल कुराको” उत्कट “आशा” भन्‍ने अर्थ बुझाउँछ। यस्तो आशा मनमा राख्दै प्रेरित पावलले यस्तो लेखे: “तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्‍ने हामी इच्छा गर्दछौं, कि तिमीहरू अल्छी मानिस होइन, तर विश्‍वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखा-सिकी गर्ने होओ।” (हिब्रू ६:११, १२) विचार गर्नुहोस्‌, यदि हामीले यहोवाको सेवा विश्‍वासीपूर्वक गरिरह्‍यौं भने, हाम्रो आशा साकार हुने कुरामा हामी आश्‍वस्त हुन सक्छौं। नानाथरीका सांसारिक आकांक्षाहरूले जस्तो यस आशाले “निराश गराउँदैन।” (रोमी ५:५) तसर्थ, हामी कसरी आफ्नो आशालाई जीवित राख्नुका साथै त्यसमा उत्कट ध्यान दिन सक्छौं?

आफ्नो आध्यात्मिक दृष्टिलाई कसरी तेजिलो बनाउने

हाम्रा शारीरिक आँखाहरूले एक चोटिमा दुईवटा कुरामा ध्यान केन्द्रित गर्न सक्दैनन्‌। हाम्रो आध्यात्मिक दृष्टिबारे पनि त्यसै भन्‍न सकिन्छ। वर्तमान रीतिरिवाजका कुराहरूमा ध्यान केन्द्रित गर्दा निश्‍चय पनि परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसार हाम्रो मनमा केही हदसम्म भए पनि धमिलिन पुग्छ। समयको अन्तरालमा यो धमिलो, वरिपरिको दृश्‍य महत्त्वहीन लाग्न थाल्छ र आँखाबाट त्यत्तिकै ओझेल भएर जान्छ। त्यो कत्ति दुःखदायी कुरा हुनेछ! (लूका २१:३४) त्यसैकारण, परमेश्‍वरको राज्य अनि अनन्त जीवनको इनाममा केन्द्रित ‘आँखालाई निर्मल’ राख्नु अत्यन्तै महत्त्वपूर्ण छ!—मत्ती ६:२२.

आँखालाई निर्मल राख्नु सधैं सजिलो छैन। दैनिक समस्याहरूले गर्दा हाम्रो ध्यान विकर्षण हुन्छ र बिघ्नबाधालगायत प्रलोभनहरू समेत हाम्रो बाटोमा तगारो बन्‍न सक्छन्‌। यस्ता परिस्थितिहरूमा हामी कसरी अन्य आवश्‍यक गतिविधिहरूलाई बेवास्ता नगरी राज्य अनि परमेश्‍वरको प्रतिज्ञाकृत नयाँ संसारमा ध्यान केन्द्रित गरिरहन सक्छौं? आउनुहोस्‌ तीनवटा तरिका विचार गरौं।

दिनहुँ परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌। नियमित बाइबल पढाइ र बाइबल आधारित प्रकाशनहरूको अध्ययनले हामीलाई आफ्नो मन आध्यात्मिक कुराहरूमा केन्द्रित राख्न मदत गर्छ। हो, हामीले परमेश्‍वरको वचन वर्षौंदेखि अध्ययन गर्दै आएका छौं होला तर आफ्नो जीवन धान्‍न जसरी शारीरिक आहार निरन्तर खाइरहनु आवश्‍यक छ, त्यसै गरी हामीले अध्ययन पनि गरिरहनै पर्छ। विगतमा हामीले हजारौं चोटि खाना खाइसक्यौं भन्दैमा हामी खानु छोड्‌दैनौं। त्यसैकारण, बाइबलसित हामी जतिसुकै परिचित भए तापनि हाम्रो आशालाई जीवित राखिराख्न अनि हाम्रो विश्‍वास र प्रेमलाई बलियो बनाइराख्न हामीले लगातार नियमित रूपमा बाइबलबाट आध्यात्मिक पोषण लिइरहनु आवश्‍यक छ।—भजन १:१-३.

परमेश्‍वरको वचनमा कृतज्ञतासाथ मनन गर्नुहोस्‌। मनन गर्नु किन अपरिहार्य छ? दुईवटा कारणका लागि। पहिलो, मननले हामीलाई पढेको कुरा पचाउन र यसको लागि गहिरो कृतज्ञता विकास गर्न सक्षम बनाउँछ। दोस्रो, मननले हामीलाई यहोवा, उहाँका अद्‌भुत कार्यहरू र उहाँले हाम्रो सामु राखिदिनुभएको आशा बिर्सिनदेखि जोगाउँछ। उदाहरणका लागि, मोशा सँगसँगै मिश्र छाडेका इस्राएलीहरूले यहोवाको विस्मयकारी शक्‍तिको प्रदर्शन आफ्नै आँखाले देखे। उहाँले प्रतिज्ञा गरिएको ठाउँतिर डोऱ्‍याउनुहुँदा पनि तिनीहरूले उहाँको मायालु सुरक्षा महसुस गरे। यद्यपि, इस्राएलीहरू प्रतिज्ञा गरिएको देश भएर उजाडस्थान पुगेको धेरै समय नबित्दै तिनीहरूले विश्‍वासको गम्भीर कमी देखाउँदै गनगन गर्न थाले। (भजन ७८:११-१७) तिनीहरूको समस्या के थियो?

मानिसहरूले यहोवा र उहाँले तिनीहरू सामु राखिदिनुभएको अद्‌भुत आशामा नभई तत्काल पाइने सुखसुविधा र शारीरिक चाहनाहरूतिर ध्यान केन्द्रित गरे। तिनीहरूले व्यक्‍तिगत रूपमा चमत्कारपूर्ण चिह्न तथा कार्यहरू देखे तापनि थुप्रै इस्राएलीहरू अविश्‍वासी गनगनेहरू भए। “उनीहरूले तुरुन्तै [यहोवाका] कार्यहरू बिर्सिहाले” भनी भजन १०६:१३ बताउँछ। यस्तो अक्षम्य हेलचेक्य्राइँको कारण त्यस पुस्ताले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएन।

यसकारण, धर्मशास्त्र वा बाइबल अध्ययन सहायकहरू पढ्‌दा आफूले पढेका कुराहरूमा मनन गर्न समय निकाल्नुहोस्‌। आध्यात्मिक सुस्वास्थ्य र संवृद्धिको लागि यस्तो मनन अत्यावश्‍यक छ। उदाहरणका लागि, माथि केही अंश उद्धरण गरिएको भजन १०६ पढ्‌नुहुँदा यहोवाका गुणहरूमा मनन गर्नुहोस्‌। इस्राएलीहरूसित उहाँ कत्ति धीरजी तथा दयालु हुनुभयो, याद गर्नुहोस्‌। तिनीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म पुग्न मदत गर्नको लागि उहाँले कसरी आफूले सकेजति सबै गर्नुभयो, हेर्नुहोस्‌। तिनीहरूले कसरी उहाँ विरुद्ध लगातार विद्रोह गरिरहे, याद गर्नुहोस्‌। ढुङ्‌गाको मन भएका कृतघ्न मानिसहरूको कारण आफ्नो कृपा र धीरजको सीमाको बाँध टुट्‌दा यहोवाले कस्तो वेदना र पीडा महसुस गर्नुभयो होला, कल्पना गर्नुहोस्‌। यसबाहेक, धार्मिकताप्रतिको पीनहासको दृढता, साहसिक अडानबारे वर्णन गर्ने पद ३० र ३१ मा मनन गर्दा हामी यहोवाले आफ्ना वफादार जनहरूलाई बिर्सनुहुन्‍न र उहाँले तिनीहरूलाई प्रशस्त मात्रामा इनाम दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौं।

आफ्नो जीवनमा बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्‌। बाइबल सिद्धान्तहरू पालन गर्दा, हामी यहोवाको सल्लाहले काम गरेको देख्न सक्छौं। हितोपदेश ३:५, ६ यसो भन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” थुप्रै मानिसहरूको अनैतिक आनीबानीले कसरी मानसिक, भावनात्मक तथा शारीरिक समस्याहरू उत्पन्‍न गरेका छन्‌, त्यसबारे सोच्नुहोस्‌। क्षणिक सुखविलासमा डुबेर यस्ता मानिसहरूले वर्षौं—अझ भनौं भने जीवनभर दुःख खप्छन्‌। त्यसको ठीक विपरीत, ‘साँघुरो बाटोमा’ हिंड्‌नेहरूले नयाँ रीतिरिवाजमा पाइने जीवनको अग्रिम स्वाद चाख्न पाउँछन्‌ र यसले उनीहरूलाई जीवनको बाटोमा निरन्तर लागिरहन प्रोत्साहन दिन्छ।—मत्ती ७:१३, १४; भजन ३४:८.

बाइबल सिद्धान्तहरू व्यवहारमा उतार्नु चुनौतीपूर्ण हुन सक्छ। कहिलेकाहीं, कठिन अवस्थामा गैरधर्मशास्त्रीय बाटो अपनाउँदा तुरुन्तै समस्याको हल हुन्छ जस्तो देखिन सक्छ। उदाहरणका लागि, आर्थिक कठिनाइको बेला राज्य गतिविधिहरूलाई दोस्रो स्थानमा राखूँ-राखूँ लाग्न सक्छ। तथापि, विश्‍वासी भई चल्ने र आफ्नो आध्यात्मिक ध्यानलाई कायम राख्नेहरू अन्ततः “परमेश्‍वरसँग डराउनेहरूलाई असलै हुनेछ” भन्‍ने कुरामा विश्‍वस्त छन्‌। (उपदेशक ८:१२) कहिलेकाहीं कुनै एक मसीहीले अतिरिक्‍त समय काम गर्नुपर्ला तर तिनी कहिल्यै पनि एसावजस्तो हुनेछैनन्‌, जसले आध्यात्मिक कुराहरूलाई तुच्छ र महत्त्वहीन भएझैं गरी लत्याए।—उत्पत्ति २५:३४; हिब्रू १२:१६.

मसीहीहरूको हैसियतमा हामीले वहन गर्नुपर्ने जिम्मेवारीहरू येशूले स्पष्टसित उल्लेख गर्नुभयो। हामीले ‘पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गरिरहनुपर्छ।’ (मत्ती ६:३३) यसो गऱ्‍यौं भने, हामीलाई आवश्‍यक भौतिक कुराहरू दिनुभएर यहोवाले हामीप्रति पिताले जस्तै प्रेम देखाउनुहुनेछ। उहाँको हेरविचारअन्तर्गत पाइने कुराहरूबारे फिक्री गरेर हामीले आफूलाई बोझले दबाएको उहाँ चाहनुहुन्‍न। यस्तो अनावश्‍यक फिक्री आध्यात्मिक अर्थमा जलबिन्दु साबित हुन सक्छ अर्थात्‌ यसलाई बेवास्ता गरिएको खण्डमा यसले हाम्रो दृष्टिलाई साँघुरो बनाएर भौतिक फिक्रीहरूमा मात्र केन्द्रित बनाइदिन्छ र अन्ततः हामीलाई आध्यात्मिक तवरमा अन्धो बनाउँछ। हामी त्यस अवस्थामा रह्‍यौं भने, यहोवाको दिन हामीमाथि “एक्कासि पासोझैं” आइपर्नेछ। त्यो कत्ति दुःखदायी हुनेछ!—लूका २१:३४-३६.

यहोशूले जस्तै उत्कट ध्यान दिनुहोस्‌

अन्य जिम्मेवारीहरूलाई तिनीहरूको उचित ठाउँमा राख्दै, आउनुहोस्‌ हामी आफ्नो महिमित राज्य आशालाई उत्कट ध्यान देऔं। नियमित रूपमा अध्ययन गर्नुका साथै मनन तथा बाइबल सिद्धान्तहरू व्यवहारमा उतार्दा यहोशूजस्तै हामी आफ्नो आशामा विश्‍वस्त हुन सक्छौं। इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याइसकेपछि तिनले यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।”—यहोशू २३:१४.

राज्य आशाले तपाईंलाई बलवन्त र आशावादी बनाओस्‌ किनभने यो तपाईंको विचार, भावना, निर्णय तथा क्रियाकलापहरूमा झल्किन्छ।—हितोपदेश १५:१५; रोमी १२:१२.

[पृष्ठ २१-मा भएको चित्र]

नयाँ संसारमा प्रवेश पाउने विषयमा के तपाईंले कहिल्यै शङ्‌का गर्नुभएको छ?

[पृष्ठ २२-मा भएको चित्र]

मनन, बाइबल अध्ययनको अभिन्‍न भाग हो

[पृष्ठ २३-मा भएका चित्रहरू ]

राज्य गतिविधिहरूमा उत्कट ध्यान दिनुहोस्‌