सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के हामीले मदतका लागि स्वर्गदूतहरूलाई प्रार्थना गर्नुपर्छ?

के हामीले मदतका लागि स्वर्गदूतहरूलाई प्रार्थना गर्नुपर्छ?

के हामीले मदतका लागि स्वर्गदूतहरूलाई प्रार्थना गर्नुपर्छ?

दुःखको बेला स्वर्गदूतहरूलाई प्रार्थना गर्नु के उचित हो? थुप्रै मानिसहरूले यस्तै सोच्छन्‌। निस्सन्देह, न्यू क्याथोलिक इन्साइक्लोपीडिया यसो भन्छ: “मानिसले . . . स्वर्गदूतहरूलाई प्रार्थना गर्छन्‌ . . . तर हाम्रो लागि तिनीहरूले परमेश्‍वरसँग मध्यस्थको रूपमा काम गरिदिऊन्‌ भन्‍ने अर्थमा मात्र।” हाम्रो लागि मध्यस्थको रूपमा काम गरिदिन के हामीले स्वर्गदूतहरूलाई प्रार्थना गर्नुपर्छ?

परमेश्‍वरको वचनमा परमेश्‍वरका दुई जना विश्‍वासी स्वर्गदूत, माइकल र ग्रबिएलको मात्र नाउँ उल्लेख गरिएको छ। (दानियल ८:१६; १२:१; लूका १:२६; यहूदा ९) यी नाउँहरू बाइबलमा उल्लेख गरिएका हुनाले, प्रत्येक स्वर्गदूत व्यक्‍तित्वहीन शक्‍ति मात्र नभई नाउँसहितको विशिष्ट आत्मिक व्यक्‍ति हुन्‌ भन्‍ने कुरा हामी थाह पाउन सक्छौं। यद्यपि, अरू स्वर्गदूतहरूले भने आफ्नो नाउँ खुलाउन चाहेनन्‌। उदाहरणका लागि, याकूबले स्वर्गदूतलाई तिनको नाउँ बताउन आग्रह गर्दा तिनले बताउन मानेनन्‌। (उत्पत्ति ३२:२९; न्यायकर्त्ता १३:१७, १८) बाइबलमा स्वर्गदूतहरूको नाउँको सूची दिइएको छैन र यसो गरेको कारण स्वर्गदूतहरूप्रति मानिसजातिको अनावश्‍यक ध्यान खिचिन पाएन।

स्वर्गदूतहरूका कामहरूमध्ये एउटा, परमेश्‍वरका सन्देशहरू मानिसजातिसम्म पुऱ्‍याउनु हो। साँच्चै भन्‍ने हो भने, मूल हिब्रू र युनानी शब्दहरूमा अनुवाद गरिएको “स्वर्गदूत” शब्दको शाब्दिक अर्थ “सन्देशवाहक” हुन्छ। तथापि, स्वर्गदूतहरूले मानव प्रार्थनालाई सर्वोच्चको सिंहासनसामु पुऱ्‍याउने मध्यस्थको रूपमा काम गर्दैनन्‌। उहाँलाई प्रार्थना गर्नेहरूले उहाँको पुत्र, येशू ख्रीष्टको नाउँमा सम्बोधन गरून्‌ भनेर परमेश्‍वरले निर्धारण गर्नुभएको छ र येशूले पनि यसो भन्‍नुभयो: “जे तिमीहरूले मेरो नाउँमा पितासँग मागौला, उहाँले तिमीहरूलाई दिनुहुनेछ।”—यूहन्‍ना १५:१६; १ तिमोथी २:५.

हामीले उचित तरिकामा यहोवालाई पुकाऱ्‍यौं भने उहाँले अवश्‍य हाम्रो कुरा सुन्‍नहुनेछ। बाइबलले यस्तो आश्‍वासन दिन्छ: “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकारने सबैका नजीक।”—भजन १४५:१८