सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जंगली जनावर र त्यसको चिह्नलाई चिन्‍ने

जंगली जनावर र त्यसको चिह्नलाई चिन्‍ने

जंगली जनावर र त्यसको चिह्नलाई चिन्‍ने

के तपाईंलाई रहस्य सुल्झाउन मन लाग्छ? सुल्झाउनको लागि तपाईं छनकहरू खोज्नुहुन्छ अनि जवाफ खोज्न थाल्नुहुन्छ। परमेश्‍वरको प्रेरित वचनमा उहाँले प्रकाश अध्याय १३ को जंगली जनावरको ६६६ भन्‍ने संख्या, नाउँ वा चिह्नबारे आवश्‍यक छनक प्रदान गर्नुहुन्छ।

यस लेखमा हामी तर्क गर्ने वा अत्यावश्‍यक छनक दिने चारवटा पक्ष हेर्नेछौं जसले यस जनावरको चिह्नको अर्थ प्रकट गर्नेछ। हामी यी कुराहरूको विचार गर्नेछौं (१) बाइबलका नाउँहरू कहिलेकाहीं कसरी छानिन्छन्‌, (२) जंगली जनावरको चिनारी, (३) ६६६ लाई “मानिसको संख्या” भन्‍नुको अर्थ के हो अनि (४) संख्या ६ को महत्त्व र यसलाई तीन चोटि सम्म दोहऱ्‍याइनुको कारण के हो, ६ जोड ६० जोड ६०० वा ६६६।—प्रकाश १३:१८.

बाइबलका नाउँहरू—लेबल मात्र होइनन्‌

बाइबलका नाउँहरू खास गरी परमेश्‍वरले दिनुभएको हो भने त्यसको विशेष महत्त्व हुन्छ। उदाहरणका लागि, अब्राम जाति-जातिका पिता हुने भएकोले परमेश्‍वरले कुलपिताको नाउँ परिवर्तन गरेर अब्राहाम राख्नुभयो र त्यसको अर्थ हो, “असंख्य जाति-समूहका पिता।” (उत्पत्ति १७:५) परमेश्‍वरले यूसुफ र मरियमलाई तिनीहरूको भावी सन्तानको नाउँ येशू राख्नू भन्‍नुभयो जसको अर्थ हो, “यहोवा मुक्‍तिदाता” हुनुहुन्छ। (मत्ती १:२१, NW पादटिप्पणी; लूका १:३१) त्यस अर्थपूर्ण नाउँ अनुरूप येशूको सेवकाई तथा बलिदानरूपी मृत्युद्वारा यहोवाले हाम्रो मुक्‍ति सम्भव तुल्याउनुभयो।—यूहन्‍ना ३:१६.

त्यसरी नै, परमेश्‍वरले दिनुभएको संख्याको नाउँ ६६६ ले जनावरलाई चिन्‍ने गुणहरू परमेश्‍वरको नजरमा के हो, त्यही चित्रण गरेको हुनुपर्छ। त्यसैले ती गुणहरू बुझ्न हामीले त्यो जनावर चिन्‍नुपर्छ अनि त्यसका गतिविधिहरूबारे सिक्नुपर्छ।

जनावरको पर्दाफास गरियो

बाइबलको पुस्तक दानियलले ती लाक्षणिक जनावरहरूको अर्थबारे धेरै कुरा बताउँछ। अध्याय ७ मा “चार किसिमका भिन्दाभिन्दै ठूला ठूला जन्तुहरू[को]” विस्तृत विवरण छ—सिंह, भालु, चितुवा र फलामको दाँत भएको भयानक जनावर। (दानियल ७:२-७) दानियलले यी जनावरहरूले विशाल साम्राज्यहरूमा क्रमै अनुसार शासन गर्ने “राजाहरू” वा राजनैतिक राज्यहरूलाई चित्रण गर्छन्‌।—दानियल ७:१७, २३.

प्रकाश १३:१, २ को जनावरबारे दी इन्टरप्रेटर्स डिक्सनरी अफ द बाइबल (अंग्रेजी) यसरी औंल्याउँछ, यो जनावरमा “दानियलले दर्शनमा देखेको चारवटा जनावरका गुणहरू संयुक्‍त रूपमा देखिन्छ . . . त्यसरी नै [प्रकाशको] यो पहिलो जनावरले परमेश्‍वरको विरुद्ध यस संसारका सबै राजनैतिक शक्‍तिको संयुक्‍त बललाई देखाउँछ।” यो टिप्पणीलाई प्रकाश १३:७ ले पुष्टि गर्छ जहाँ जनावरबारे यसो भनिएको छ: “त्यसलाई सबै कुल, मानिसहरू भाषाहरू र जातिहरूमाथि अख्तियार दिइयो।” a

बाइबलले मानव शासनको प्रतीकको रूपमा किन जनावरहरूको प्रयोग गर्छ? कम्तीमा दुइटा कारण छन्‌। पहिलो, शताब्दीयौंको दौडान सरकारहरूले बटुलेका रक्‍तपातपूर्ण पाशविक रेकर्डले गर्दा। इतिहासकारहरू विल र एरियल ड्युरान्टले यस्तो लेखे: “युद्ध भनेको इतिहासको एउटा अभिन्‍न पक्ष हो अनि यो सभ्यता वा प्रजातन्त्र स्थापित हुँदा पनि हराएको छैन।” “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिएको छ भन्‍ने कुरा कति साँचो साबित भएको छ! (उपदेशक ८:९) दोस्रो कारण हो, “अजीङ्‌गरजस्तै पशु [शैतानले] त्यसलाई आफ्नो शक्‍ति, आफ्नो सिंहासन र ठूलो अख्तियार दियो।” (प्रकाश १२:९; १३:२) त्यसरी नै, मानव शासन दियाबलको उपज भएको कारण त्यसले शैतानको पाशविक, अजिङ्‌गरको जस्तै स्वभाव देखाउँछ।—यूहन्‍ना ८:४४; एफिसी ६:१२.

तथापि, यसको मतलब प्रत्येक मानव शासन, शैतानको प्रत्यक्ष साधन हो भन्‍ने होइन। निस्सन्देह, एक अर्थमा मानव सरकारहरूले “परमेश्‍वरको सेवक[को]” हैसियतमा सेवा गर्छन्‌ अनि मानव समाजमा स्थायित्व कायम राख्छन्‌ र यसो नहुँदो हो त गन्जागोल हुने थियो। अनि कुनै-कुनै नेताहरूले साँचो उपासनामा भाग लिने लगायत आधारभूत मानव अधिकारको सुरक्षा गरेका छन्‌ जुन कुरा शैतान पटक्कै चाहँदैन। (रोमी १३:३, ४; एज्रा ७:११-२७; प्रेरित १३:७) तैपनि, दियाबलको प्रभावले गर्दा कुनै मानव वा मानव संस्थाले मानिसहरूको निम्ति चिरकालीन शान्ति र सुरक्षा ल्याउन सकेको छैन। bयूहन्‍ना १२:३१.

“मानव संख्या”

६६६ को अर्थ बुझ्ने तेस्रो छनक, यसको “मानिसको संख्या” वा दी एम्प्लिफाइड बाइबल-ले भनेझैं “मानव संख्या” हुनुमा छ। यो अभिव्यक्‍तिले एउटा छुट्टै मानवलाई सङ्‌केत गर्न सक्दैन किनभने त्यस जनावरमाथि कुनै मानवको नभई शैतानको अख्तियार छ। (लूका ४:५, ६; १ यूहन्‍ना ५:१९; प्रकाश १३:२, १८) बरु, त्यस जनावरको “मानव संख्या” वा चिह्न हुनुले यसको स्वभाव, कुनै आत्मा वा प्रेतको जस्तो नभई मानिसको जस्तो छ भनेर देखाउँछ र त्यसैकारण यसले केही मानव गुणहरू झल्काउँछ। ती के हुन सक्छन्‌? बाइबलले जवाफ दिंदै यसो भन्छ: “सबै [मानिसले] पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३) तसर्थ, त्यस जनावरको “मानव संख्या” हुनु भनेको सरकारहरूले देखाउने पतित मानव अवस्था, पाप र असिद्धताको सङ्‌केत हो।

इतिहासले यसको प्रमाण दिन्छ। “अहिलेसम्मका जति पनि सभ्यताहरू अस्तित्वमा आए, ती अन्ततः पतन भए भनी सं.रा.अ-का भूतपूर्व विदेश मन्त्री हेन्री किसिङ्‌गरले भने। “इतिहास भनेको असफल प्रयासहरू, पूरा हुन नसकेका आकाङ्‌क्षाहरूको वृत्तान्त हो . . . त्यसकारण, इतिहासकारको हैसियतमा विपत्ति अवश्‍य आउनेछ भन्‍ने सम्झेर जिउनुपर्छ।” किसिङ्‌गरको इमानदार मूल्याङ्‌कनले यो आधारभूत बाइबल सत्यको पुष्टि गर्छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

अब हामीले त्यो जनावरलाई चिन्‍नुका साथै परमेश्‍वरले त्यसप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर बुझिसकेको हुँदा हामी रहस्यको अन्तिम भागलाई केलाउन सक्ने अवस्थामा छौं—संख्या छ अनि यो किन तीन चोटि दोहऱ्‍याइएको छ—अर्थात्‌ ६ जोड ६० जोड ६००।

छ अंकलाई तीन चोटि दोहऱ्‍याइएको—किन?

धर्मशास्त्रमा कुनै-कुनै संख्याहरूको लाक्षणिक महत्त्व छ। उदाहरणका लागि, संख्या सातले अक्सर परमेश्‍वरको नजरमा पूर्ण वा सिद्ध भन्‍ने अर्थ बुझाउँछ। उदाहरणका लागि, परमेश्‍वरको सृजनात्मक हप्ता सात ‘दिनको’ वा लामो समयावधि छ जुन समयको दौडान परमेश्‍वरले पृथ्वीको सन्दर्भमा आफ्नो सृजनात्मक उद्देश्‍य पूर्णतया सम्पन्‍न गर्नुहुन्छ। (उत्पत्ति १:३–२:३) परमेश्‍वरका “वचनहरू” सात चोटि ‘खारेकोले’ पूर्णतया परिष्कृत चाँदीजस्ता छन्‌। (भजन १२:६; हितोपदेश ३०:५, ६) कोरी नामानलाई यर्दन नदीमा सात चोटी डुबुल्की मार्न भनियो अनि त्यसपछि तिनी पूर्णतया निको भए।—२ राजा ५:१०, १४.

छ अंक भनेको सातभन्दा एक कम हो। के यो परमेश्‍वरको नजरमा असिद्ध वा त्रुटिपूर्ण कुरा जनाउने उपयुक्‍त प्रतीक हुँदैन र? अवश्‍य! (१ इतिहास २०:६, ७) यसबाहेक, छ अंकलाई तीन चोटि दोहऱ्‍याएर ६६६ लेख्दा असिद्धतालाई एकदमै सशक्‍त ढङ्‌गमा जोड दिन्छ। यो सही दृष्टिकोण हो भनेर ६६६ “मानव संख्या” भएको तथ्यले समर्थन गर्छ जुन कुरा हामीले भर्खरै छलफल गऱ्‍यौं। तसर्थ, त्यस जनावरको विवरण, यसको “मानव संख्या” अनि ६६६ भन्‍ने संख्याले एउटा अकाट्य निष्कर्षलाई देखाउँछ—यहोवाको नजरमा पूरै त्रुटिपूर्ण र असफल।

जनावरका त्रुटिहरू देखाउनुले पुरातन बेबिलोनका राजा बेलसजरबारे भनिएका कुराहरूको स्मरण गराउँछ। दानियलमार्फत यहोवाले त्यस शासकलाई यसो भन्‍नुभयो: “हजूर तराजूमा जोखिनुभयो, र हलुङ्‌ग ठहरिनुभयो।” त्यही रात बेलसजर मारिए अनि पराक्रमी बेबिलोनी साम्राज्यको पतन भयो। (दानियल ५:२७, ३०) त्यसरी नै, राजनैतिक जनावर अनि त्यसको चिह्न भएकाहरूमाथि परमेश्‍वरको न्यायले त्यो जनावर र त्यसका समर्थकहरूमाथि विनाशको चित्रण गर्छ। तथापि, यस पटक भने परमेश्‍वरले एउटा राजनैतिक प्रणाली होइन तर मानव शासनको सारा अवशेष नामेट पार्नुहुनेछ। (दानियल २:४४; प्रकाश १९:१९, २०) तसर्थ, त्यस जनावरको घातक चिह्न नलिनु कति महत्त्वपूर्ण छ!

चिह्न चिनियो

संख्या ६६६ बारे बताउने बित्तिकै प्रकाशको पुस्तकले थुमा, येशू ख्रीष्टका १,४४,००० अनुयायीहरूबारे उल्लेख गर्छ जसको निधारमा उहाँको नाउँ र उहाँको पिता यहोवाको नाउँ लेखिएको छ। यी नाउँ भएकाहरू यहोवा र उहाँको पुत्रका हुन्‌ भनेर चिनाउँछ र तिनीहरूले गर्वका साथ यहोवा र उहाँको पुत्रबारे साक्षी दिन्छन्‌। त्यसरी नै, जनावरको चिह्न हुनेहरूले त्यस जनावरको दास भएको कुरा खुलेआम स्वीकार्छन्‌। तसर्थ, त्यो नाउँ चाहे दायाँ हातमा वा निधारमा होस्‌, प्रतीकात्मक अर्थमा भन्‍ने हो भने यस संसारको जनावररूपी राजनैतिक प्रणालीहरू, उपासकहरूलाई चिनाउने प्रतीक हुन्‌। त्यो चिह्न हुनेहरूले परमेश्‍वरलाई दिनुपर्ने कुरा “सिजरलाई” दिन्छन्‌। (लूका २०:२५; प्रकाश १३:४, ८; १४:१) कसरी? राजनैतिक सरकार, त्यसको प्रतीक र त्यसको सैन्यशक्‍तिलाई उपासनारूपी आदर दिएर अनि आशा र मुक्‍तिको लागि पनि त्यसैको मुख ताकेर। तिनीहरूले साँचो परमेश्‍वरलाई चढाउने उपासना केवल ओठे सेवा हो।

यसको विपरीत, बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” (भजन १४६:३, ४) त्यो बुद्धिमान्‌ सल्लाह पालन गर्नेहरू सरकारले आफ्नो प्रतिज्ञा पूरा गर्न नसक्दा वा प्रभावकारी नेताहरूको पतन हुँदा विचलित हुँदैनन्‌।—हितोपदेश १:३३.

यसको मतलब साँचो मसीहीहरू मानवजातिको अवस्थाबारे केही नगरी हात बाँधेर बस्छन्‌ भन्‍ने होइन। त्यसको विपरीत, तिनीहरू मानवजातिका समस्याहरू समाधान गर्ने एउटा सरकारबारे जनसमक्ष घोषणा गर्छन्‌—त्यो हो, तिनीहरूले प्रतिनिधित्व गर्ने परमेश्‍वरको राज्य।—मत्ती २४:१४.

परमेश्‍वरको राज्य—मानवजातिको एक मात्र आशा

पृथ्वीमा छँदा येशूले परमेश्‍वरको राज्यलाई आफ्नो प्रचारकार्यको मुख्य विषय बनाउनुभयो। (लूका ४:४३) प्रभुको प्रार्थना भनिने नमुना प्रार्थनामा येशूले आफ्ना अनुयायीहरूलाई त्यो राज्य आओस्‌ अनि पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:९, १०) त्यो राज्य एउटा सरकार हो जसले कुनै पार्थिव राजधानीबाट नभई स्वर्गबाट सारा पृथ्वीमाथि शासन गर्नेछ। यसर्थ, येशूले यसलाई “स्वर्गको राज्य” भन्‍नुभयो।—मत्ती ११:१२.

त्यो राज्यको राजा हुन येशू ख्रीष्टभन्दा उपयुक्‍त व्यक्‍ति अरू को होला र, जो आफ्ना भावी प्रजाहरूको लागि मर्नुभयो? (यशैया ९:६, ७; यूहन्‍ना ३:१६) चाँडै यो सिद्ध शासक, जो अहिले एउटा पराक्रमी आत्मिक व्यक्‍ति हुनुहुन्छ, उहाँले त्यस जनावर, त्यसका राजाहरू अनि सारा सेनालाई पूर्ण विनाशको प्रतीक अर्थात्‌ “गन्धकले बलेको आगोको कुण्डमा” फ्याँक्नुहुनेछ। तर त्यति मात्र होइन। येशूले शैतानलाई पनि हटाउनुहुनेछ जसलाई कुनै मानवले हटाउन सकेको छैन।—प्रकाश ११:१५; १९:१६, १९-२१; २०:२, १०.

परमेश्‍वरको राज्यले यसका सबै आज्ञाकारी प्रजाहरूमा शान्ति ल्याउनेछ। (भजन ३७:११, २९; ४६:८, ९) दुःख, पीडा र मृत्यु केही पनि हुनेछैन। आफूलाई जनावरको चिह्नबाट मुक्‍त राख्नेहरूका निम्ति कस्तो महिमित प्रत्याशा!—प्रकाश २१:३, ४.

[फुटनोटहरू]

a यी पदहरूको विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको अध्याय २८ हेर्नुहोस्‌।

b मानव शासनहरू अक्सर जनावरजस्ता हुन्छन्‌ भनेर थाह भए तापनि साँचो मसीहीहरू बाइबलले भनेझैं सरकारी “उच्च अख्तियारवालाहरूका” अधीनमा बस्छन्‌। (रोमी १३:१) तथापि, त्यस्ता अख्तियारवालाहरूले तिनीहरूलाई परमेश्‍वरको व्यवस्था विपरीत काम गर्न लगाउँदा तिनीहरू “मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा” पालन गर्छन्‌।—प्रेरित ५:२९.

[पृष्ठ ५-मा भएको पेटी]

६६६ को अर्थ बुझ्न छनकहरू

१. बाइबलका नाउँहरूले कुनै खास नाउँका मानिसहरूको गुण वा जीवनबारे केही कुरा बताउँछ, जस्तै अब्राहाम, येशू र अरू थुप्रै। त्यसरी नै, जनावरको संख्या-नाउँमा यसका गुणहरू पनि समेटिएका छन्‌।

२. बाइबलको पुस्तक दानियलमा विभिन्‍न जनावरहरूले क्रमानुसार देखापर्ने मानव सरकार वा साम्राज्यहरूको चित्रण गर्छन्‌। प्रकाश १३:१, २ को संयुक्‍त जन्तुले विश्‍वव्यापी राजनैतिक प्रणालीलाई चित्रण गर्छ जसलाई शैतानले शक्‍ति दिनुका साथै आफ्नो नियन्त्रणमा राखेको छ।

३. जनावरलाई “मानिसको संख्या” वा “मानव संख्या” दिइनुले यससित प्रेतको नभई मानवको स्वभाव छ भन्‍ने सङ्‌केत गर्छ। यसर्थ, यसले पाप र असिद्धताको कारण हुने मानव त्रुटिहरूलाई देखाउँछ।

४. परमेश्‍वरको नजरमा संख्या ६ बाइबलीय पूर्णता वा सिद्धता जनाउने संख्या ७ भन्दा एक कम भएको हुँदा असिद्धतालाई देखाउँछ। ६६६ भन्‍ने चिह्नले त्यो तीन पटकसम्म दोहऱ्‍याउनु पर्ने गरी त्रुटिपूर्ण छ भनेर जोड दिन्छ।

[पृष्ठ ६-मा भएका चित्रहरू]

मानव शासन असफल साबित भएको छ र यसलाई संख्या ६६६ ले राम्ररी चित्रण गर्छ

[स्रोत]

Starving child: UNITED NATIONS/Photo by F. GRIFFING

[पृष्ठ ७-मा भएका चित्रहरू]

येशू ख्रीष्टले पृथ्वीमाथि सिद्ध शासन ल्याउनुहुनेछ