सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌

जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌

जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌

“आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।”—२ तिमोथी २:१५, नयाँ संशोधित संस्करण।

१. कस्ता परिवर्तनहरूले हाम्रो आध्यात्मिक सुस्वास्थ्यमा चुनौती खडा गर्छ?

 हामी वरपरको संसार निरन्तर परिवर्तन भइरहन्छ। उल्लेखनीय वैज्ञानिक तथा प्राविधिक उन्‍नतिहरू सँगसँगै हामी नाटकीय रूपमा खस्कँदै गइरहेको नैतिक मूल्यमान्यताहरू देख्छौं। अघिल्लो लेखमा छलफल गरेझैं मसीहीहरूले परमेश्‍वर विरुद्ध परिचालित संसारको आत्माको विरोध गर्नै पर्छ। यद्यपि, संसार परिवर्तन हुँदै जाँदा हामी पनि धेरै तरिकाहरूमा परिवर्तन हुन्छौं। हामी बच्चाबाट वयस्क बन्छौं। मोटाउन वा दुब्लाउन सक्छौं, हाम्रो स्वास्थ्य राम्रो हुन वा बिग्रन सक्छ, प्रियजन पाउन वा गुमाउन सक्छौं। यस्ता धेरै परिवर्तनहरू हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन्‌ अनि यी परिवर्तनहरूले हाम्रो आध्यात्मिक सुस्वास्थ्यमा नयाँ तथा पन्छाउनै नसकिने चुनौतीहरू खडा गर्छ।

२. दाऊदको जीवनमा के-कस्ता परिवर्तनहरू आए?

यिशैको छोरा दाऊदको जीवनमा आएको जस्तो आमूल परिवर्तन सायद थोरैको जीवनमा आऊला। एउटा साधारण गोठालोबाट अत्यन्तै छोटो समयमा तिनले राष्ट्रनायकको ख्याति कमाए। पछि तिनी सिकारमा खेदिएको पशुजस्तै एक जना डाही राजाबाट भागी-भागी हिंड्‌नुपऱ्‍यो। त्यसपछि दाऊद, राजा र विजेता बने। तिनले गम्भीर पापको पीडादायी नतिजाहरूको सामना गरे। तिनले आफ्नै परिवारमा वियोग अनि विभाजनको पीडा भोग्नुपऱ्‍यो। तिनले धन आर्जन गरे, तिनी बूढा भए र बुढेसकालका अशक्‍तताहरू भोगे। यद्यपि, आफ्नो जीवनमा आएका धेरै परिवर्तनहरूको बावजुद दाऊदले यहोवा अनि उहाँको आत्मामाथि जीवनभर विश्‍वास र भरोसा देखाए। तिनले आफूलाई “परमेश्‍वरमा ग्रहणयोग्य” तुल्याउन भरमग्दुर प्रयत्न गरे अनि परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभयो। (२ तिमोथी २:१५) हाम्रो परिस्थिति दाऊदको भन्दा फरक भए तापनि तिनले आफ्नो जीवनमा जसरी परिस्थितिहरूको सामना गरे त्यसबाट हामी पाठ सिक्न सक्छौं। तिनको उदाहरणले जीवनमा परिवर्तनहरूको सामना गर्नुपर्दा हामी कसरी परमेश्‍वरको आत्माको निरन्तर मदत पाइरहन सक्छौं भनी बुझ्न मदत गर्छ।

दाऊदको नम्रता—एउटा असल उदाहरण

३, ४. साधारण गोठालो ठिटोबाट दाऊदले कसरी राष्ट्रिय ख्याति कमाए?

ठिटै छँदा आफ्नै परिवारमा समेत दाऊदलाई त्यति महत्त्व दिइँदैनथ्यो। अगमवक्‍ता शमूएल बेतलेहेम आउँदा दाऊदका पिताले आफ्ना आठ जना छोरामध्ये सात जनालाई मात्र उनको अगाडि ल्याए। कान्छो छोरा दाऊदलाई भेडा चराउन छोडिएको थियो। यद्यपि, इस्राएलको भावी राजा हुन यहोवाले दाऊदलाई रोज्नुभएको थियो। दाऊदलाई खेतबाट बोलाइयो। त्यसपछि बाइबल रेकर्ड यसो भन्छ: “शमूएलले तेल भएको सीङ लिएर तिनका दाज्यूहरूको सामने तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँगै रहनुभयो।” (१ शमूएल १६:१२, १३) दाऊद आफ्नो जीवनभरि त्यही आत्मामा भर परे।

छिट्टै त्यस गोठालो ठिटोले राष्ट्रिय ख्याति कमाउने थियो। तिनलाई राजाको सेवा गर्न अनि राजाको लागि सङ्‌गीत बजाउन बोलाइयो। तिनले बडेमाको गोल्यतलाई मारे जो यति डरलाग्दो थियो कि इस्राएलका अनुभवी सैनिकहरू समेत त्यसको सामना गर्न डराउँथे। युद्धको सेनापतिको हैसियतमा दाऊदले सफलतापूर्वक पलिश्‍तीहरूमाथि विजय हासिल गरे। मानिसहरूले तिनलाई मन पराउँथे। तिनको प्रशंसा गर्दै मानिसहरूले गीतहरू रचे। यसभन्दा पहिले नै राजा शाऊलका एक जना सल्लाहकारले दाऊद वीणा ‘बजाउनमा खप्पीस’ मात्र होइनन्‌ तर “वीर मानिस . . . र असल योद्धा, बोल्नमा ज्ञानी र सुन्दर पनि छन्‌” भनेर वर्णन गरिसकेका थिए।—१ शमूएल १६:१८; १७:२३, २४, ४५-५१; १८:५-७.

५. कुन कुराले दाऊदलाई अहङ्‌कारी बनाउन सक्थ्यो तर तिनी त्यस्ता भएनन्‌ भनी हामी कसरी थाह पाउन सक्छौं?

ख्याति, सुन्दरता, युवावस्था, बोल्नमा सिपालु, साङ्‌गीतिक दक्षता, असाधारण सैन्य कौशलता, परमेश्‍वरको अनुग्रह—के थिएन दाऊदसित। यीमध्ये एउटा गुणले मात्र पनि तिनलाई अहङ्‌कारी बनाउन सक्थ्यो तर बनाएन। शाऊलले विवाहको लागि दाऊदलाई आफ्नी छोरी दिने प्रस्ताव राख्दा दाऊदले शाऊललाई दिएको जवाफलाई याद गर्नुहोस्‌। साँचो नम्रता देखाउँदै दाऊदले यसो भने: “म को हुँ, औ मेरा बाबुको परिवार, मेरा आफन्तहरू इस्राएलमा को हुन्‌ र म राजाको जुवाइँ हुनसक्छु?” (१ शमूएल १८:१८) यस पदबारे टिप्पणी गर्दै एक जना शास्त्रविद्‌ले यस्तो लेखे: “न कुनै विशेष योग्यता, न कुनै सामाजिक प्रतिष्ठा, न त कुल घरानाको आधारमै आफू राजाको जुवाइँ हुन सम्मान पाउने योग्यको छु भन्‍ने दाऊदको आशय थियो।”

६. हामीले किन नम्रता खेती गर्नुपर्छ?

दाऊदको नम्रता, यहोवा हर तरिकामा असिद्ध मानिसहरूभन्दा कैयौं गुणा उच्च हुनुहुन्छ भन्‍ने बुझाइमा आधारित थियो। परमेश्‍वरले मानिसको समेत याद गर्नुभएकोमा दाऊद छक्क पर्थे। (भजन १४४:३) तिनले पाउन सकेको कुनै पनि महानता परमेश्‍वरले देखाउनुभएको नम्रता, तिनलाई बचाउन, सुरक्षा गर्न अनि तिनको ख्याल राख्न उहाँ स्वयम्‌ झुक्नुभएको कारणले गर्दा हो भनेर दाऊदलाई थाह थियो। (भजन १८:३५) हाम्रो लागि कस्तो राम्रो पाठ! हाम्रो योग्यता, उपलब्धि अनि हामीले पाएका सुअवसरहरूले हामीलाई कहिल्यै घमण्डी बनाउनु हुँदैन। “तिमीले नपाएको के छ र? तर तिमीले पाएका छौ भने, त्यो नपाए जस्तैगरी किन घमण्डले फूल्दछौ?” भनी प्रेरित पावलले लेखे। (१ कोरिन्थी ४:७) परमेश्‍वरको पवित्र आत्मा अनि उहाँको अनुमोदन प्राप्त गर्न हामीले नम्रता खेती गर्नै पर्छ अनि त्यसलाई कायम राख्नै पर्छ।—याकूब ४:६.

“[आफैले] बदला नलेओ”

७. दाऊदलाई राजा शाऊलको हत्या गर्ने कस्तो मौका जुऱ्‍यो?

एकातिर दाऊदको ख्यातिले तिनको मनमा रत्तीभर घमण्ड उब्जेन भने अर्कोतिर परमेश्‍वरको आत्मा पाउन छोडिसकेको शाऊलमा दाऊदको यस्तो ख्यातिले हत्या गर्ने हदसम्मको डाह पैदा भयो। दाऊदले गल्ती नै नगरेको भए तापनि आफ्नो ज्यानको खातिर तिनी भागे अनि उजाड-स्थानमा बस्न थाले। एक पटक, निकै आतुरीकासाथ दाऊदको खेदो गरिरेहको बेला दाऊद र तिनका साथीहरू गुफाभित्र लुकिरहेका छन्‌ भन्‍ने कुरा थाह नभएकोले राजा शाऊल गुफाभित्र छिरे। शाऊलको हत्या गर्न परमेश्‍वरले नै यो मौका जुराइदिनुभएको हो भन्ठान्दै दाऊदका मानिसहरूले तिनलाई मौकाको फाइदा उठाउने आग्रह गरे। गुफाको अन्धकारमा तिनीहरूले दाऊदसित कानेखुसी गरिरहेको दृश्‍य हामी कल्पना गर्न सक्छौं: “दिन यही हो कि परमप्रभुले प्रतिज्ञा गर्नुभएझैं उहाँले हजूरको शत्रुलाई हजूरको हातमा सुम्पिदिनुभएको छ, औ हजूरलाई जे इच्छा लाग्छ त्यो गर्नसक्नुहुन्छ।”—१ शमूएल २४:२-६.

८. दाऊद किन बदला लिनबाट पछि हटे?

शाऊलमाथि हानि पुऱ्‍याउन दाऊदले इन्कार गरे। विश्‍वास अनि धीरजको खेती गर्दै परिस्थितिलाई यहोवाको हातमा छोड्‌नु मै तिनी सन्तुष्ट थिए। राजा गुफाबाट बाहिर निस्केपछि दाऊदले उनलाई बोलाएर यसो भने: “परमप्रभुले हाम्रो बीचमा न्याय गरिदेऊन्‌। तर यदि उहाँले मेरो खातिर हजूरसँग बदला लिनुभए तापनि म ता हजूरको विरुद्धमा मेरो हात कहिल्यै उठाउनेछैनँ।” (१ शमूएल २४:१२) गल्ती शाऊलको थियो भनेर दाऊदलाई थाह भए तापनि तिनी आफैले बदला लिएनन्‌; न त तिनले शाऊललाई केही गाली गरे न कुनै दुर्वचन नै बोले। अन्य थुप्रै अवसरमा पनि परिस्थितिलाई आफ्नो हातमा लिनबाट दाऊद पछि हटे। बरु, परिस्थितिलाई सच्याउन तिनले यहोवामा भरोसा राखे।—१ शमूएल २५:३२-३४; २६:१०, ११.

९. हामीले विरोध अथवा सतावटहरूको अनुभव गर्नुपरेको खण्डमा किन बदला लिनु हुँदैन?

दाऊदजस्तै, तपाईंले आफूलाई गाह्रो परिस्थितिहरूमा पाउनुहोला। सायद, स्कूलका सहपाठी, सहकर्मी, परिवारको सदस्य अथवा बेग्लै विश्‍वास राख्ने अन्य व्यक्‍तिहरूबाट तपाईंले विरोध अथवा सतावटहरूको सामना गर्नुपरेको हुन सक्छ। बदला नलिनुहोस्‌। मदतको लागि उहाँको पवित्र आत्मा माग्दै यहोवामा पर्खनुहोस्‌। सम्भवतः त्यस्ता बेग्लै विश्‍वास राख्नेहरू तपाईंको असल आचरण देखेर प्रभावित हुन सक्छन्‌ र विश्‍वासी बन्‍नेछन्‌। (१ पत्रुस ३:१) जे होस्‌, यहोवाले तपाईंको परिस्थितिलाई हेर्नुहुन्छ अनि आफ्नो तोकिएको समयमा यसबारे उहाँले केही न केही गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। प्रेरित पावलले यस्तो लेखे: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ”—रोमी १२:१९.

‘अनुशासनलाई सुन’

१०. दाऊद कसरी पापमा फसे अनि तिनले कसरी यसलाई ढाकछोप गर्ने कोसिस गरे?

१० वर्षौं बित्यो। दाऊद चारैतिर ख्याति फैलिएको प्यारो राजा बने। तिनको उल्लेखनीय विश्‍वासी जीवन अनि यहोवाको प्रशंसामा तिनले लेखेका सुन्दर भजनहरूले जो कोहीलाई पनि यो मानिस कहिल्यै गम्भीर पापमा फस्नेछैन भन्‍ने सजिलै भान पर्न सक्छ। यद्यपि, तिनी फसे। एक दिन, राजाले आफ्नो कौसीबाट एउटी सुन्दर स्त्री नुहाइरहेकी देखे। तिनले ती स्त्रीबारे सोधपुछ गरे। ती स्त्री बेतशेबा थिइन्‌ र उनको पति उरियाह युद्धमा छन्‌ भन्‍ने कुरा थाह पाएर दाऊदले उनलाई लिन पठाए र उनीसित यौनसम्बन्ध राखे। पछि, दाऊदले उनी गर्भवती भएको थाह पाए। यदि यी सबै कुराहरू उदाङ्‌ग भएमा तिनको कस्तो बदनामी हुने थियो! मोशालाई दिइएको व्यवस्थाअनुसार व्यभिचार मृत्युदण्ड योग्यको अपराध थियो। राजाले पाप ढाक्न सकिन्छ भनेर सोचेको हुन सक्छ। त्यसैले तिनले उरियाहलाई यरूशलेम फर्कने आदेश पठाए। उरियाहले बेतशेबासित रात बिताऊलान्‌ भन्‍ने आशा दाऊदले राखेका थिए तर त्यसो भएन। अब व्याकुल बनेका दाऊदले सेनापति योआबलाई लेखेको एउटा चिठी उरियाहको हातमा थमाइदिएर उरियाहलाई युद्धमै फर्काइदिए। चिठीमा उरियाहलाई लडाइँ मच्चिएको ठाउँमा पठाएर मार्ने निर्देशन दिइएको थियो। योआबले यो आदेश पालन गरे अनि उरियाह मारिए। बेतशेबाले प्रचलनअनुसार शोक गर्नुपर्ने समय पूरा गरिसकेपछि दाऊदले उनलाई आफ्नी पत्नी तुल्याए।—२ शमूएल ११:१-२७.

११. नातानले दाऊदसामु कस्तो परिस्थितिबारे बताए अनि दाऊदले कस्तो प्रतिक्रिया देखाए?

११ योजना सफल भए जस्तो देखिए तापनि यहोवाको नजरमा सबै कुरा छर्लङ्‌ग थियो भनेर दाऊदले बुझ्नुपर्थ्यो। (हिब्रू ४:१३) महिना पुग्यो अनि बच्चा जन्मियो। पछि परमेश्‍वरको निर्देशन पाएर नातान अगमवक्‍ता दाऊदकहाँ गए। अगमवक्‍ताले राजालाई एउटा परिस्थितिबारे बताए जसमा एक जना धनी मानिसका धेरै भेडाबाख्राहरू थिए तर उसले गरिब मानिसको एउटै मात्र प्यारो पाठी ल्याएर माऱ्‍यो। यो कथाले दाऊदभित्रको न्यायको सचेतन आवाजलाई जागरूक गरायो तर कथाभित्र कुनै अर्थ लुकेको छ भन्‍ने कुरामा भने दाऊदलाई अलिकता पनि आभास भएन। तुरुन्तै दाऊदले त्यस धनी मानिस विरुद्ध न्याय गरे। रिसले चूर हुँदै तिनले नातानलाई यसो भने: “यस्तो काम गर्ने मानिस मृत्युको योग्य छ!”—२ शमूएल १२:१-६.

१२. यहोवाले दाऊद विरुद्ध कस्तो दण्ड सुनाउनुभयो?

१२ “त्यो मानिस तपाईंनै हो!” अगमवक्‍ताले जवाफ दिए। दाऊदले आफ्नो न्याय आफैले गरेका थिए। निस्सन्देह, तुरुन्तै दाऊदको क्रोध तीव्र लाज अनि गहिरो पीडामा परिणत भयो। यहोवाको उम्कनै नसक्ने दण्ड नातानले सुनाउँदा स्तब्ध हुँदै दाऊदले सुनिरहे। त्यसमा सान्त्वना अथवा दिलासाको एक शब्द पनि थिएन। जुन कुरा खराब थियो त्यही गरेर दाऊदले यहोवाको वचनलाई तुच्छ ठानेका थिए। के तिनले उरियाहलाई शत्रुको तरवारले मारेका थिएनन्‌ र? तरवारले दाऊदको घरानाबाट विश्राम पाउने थिएन। के तिनले उरियाहकी पत्नीलाई गुप्तमा ल्याएका थिएनन्‌ र? त्यस्तै विपत्ति तिनीमाथि पनि आइपर्ने थियो, तर गुप्तमा होइन, सबैले देख्ने गरी।—२ शमूएल १२:७-१२.

१३. यहोवाको अनुशासनप्रति दाऊदले कस्तो प्रतिक्रिया देखाए?

१३ यहाँ दाऊदको राम्रो पक्ष भनेको तिनले आफ्नो गल्ती स्वीकारे। तिनी अगमवक्‍ता नातानमाथि खनिएनन्‌। तिनले आफ्नो कुकर्मको लागि अरूलाई दोष लगाएनन्‌ अथवा कुनै बहाना बनाएनन्‌। आफ्ना पापहरू उदाङ्‌ग हुँदा दाऊदले यसो भन्दै दोष स्वीकारे: “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” (२ शमूएल १२:१३) भजन ५१ ले तिनको गल्तीको वेदना अनि गहिरो पश्‍चात्तापलाई प्रकट गर्छ। तिनले यहोवासित यस्तो बिन्ती गरे: “मलाई तपाईंको सामनेबाट ननिकाल्नुहोस्‌। र मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्‌।” यहोवा दयालु हुनुभएकोले उहाँले “चूर्ण र पूरा पश्‍चतापी हृदयलाई” तुच्छ ठान्‍नुहुनेछैन भन्‍ने कुरालाई तिनी विश्‍वास गर्थे। (भजन ५१:११, १७) दाऊदले यहोवाको आत्मामा भर पर्न कहिल्यै छाडेनन्‌। हुन त यहोवाले दाऊदलाई पापको गम्भीर नतिजाहरूबाट जोगाउनुभएन तर उहाँले तिनलाई क्षमा दिनुभयो।

१४. हामीले यहोवाको अनुशासनप्रति कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

१४ हामी सबै असिद्ध छौं, अनि हामी सबै पाप गर्छौं। (रोमी ३:२३) कहिलेकाहीं हामी दाऊद जस्तै गम्भीर पापमा फस्न सक्छौं। एक जना मायालु बुबाले आफ्ना छोराछोरीलाई अनुशासन दिए जस्तै उहाँको सेवा गर्न खोज्नेहरूलाई यहोवाले सच्याउनुहुन्छ। यद्यपि, अनुशासन लाभदायक हुने भए तापनि यो स्वीकार्न सजिलो हुँदैन। वास्तवमा, कहिलेकाहीं यो “दुःखको हुन्छ।” (हिब्रू १२:६, ११) यद्यपि, हामीले “अनुशासनलाई सुनेको” खण्डमा यहोवासित हाम्रो मिलाप हुन सक्छ। (हितोपदेश ८:३३, NW) निरन्तर यहोवाको आत्माको आशिष्‌बाट आनन्द उठाइराख्ने हो भने हामीले सुधारलाई स्वीकार्नै पर्छ अनि यहोवाको अनुमोदन पाउने तरिकामा काम गर्नै पर्छ।

अनिश्‍चित धनमा आशा नराख्नुहोस्‌

१५. (क) केही मानिसहरूले कुन-कुन तरिकामा आफ्ना धनसम्पत्तिहरूको प्रयोग गर्छन्‌? (ख) दाऊद आफ्नो धनसम्पत्ति कसरी चलाउन चाहन्थे?

१५ दाऊद कुनै घरानियाँ वर्गबाट आएका थिए अथवा तिनको परिवार धनी थियो भन्‍ने कुनै सङ्‌केत पाइँदैन। यद्यपि, आफ्नो शासनकालमा दाऊदले एकदमै धेरै धन आर्जन गरे। धेरैले धन थुपार्छन्‌, लोभ-लालच गर्दै यसलाई बढाउनेतिर लाग्छन्‌ अथवा कन्जुस्याइँ गरी-गरी खर्च गर्छन्‌। अरू कतिपयले चाहिं आफ्नो पैसा आफ्नै महिमा गर्न चलाउँछन्‌। (मत्ती ६:२) दाऊदले चाहिं भिन्‍नै प्रकारले आफ्नो धनको प्रयोग गरे। यहोवाको आदर गर्ने तिनको भित्री आकाङ्‌क्षा थियो। त्यतिबेला यरूशलेममा रहेको “पालमा राखिएको” करारको सन्दुक राख्न यहोवाको निम्ति एउटा मन्दिर बनाउने इच्छा दाऊदले नातानलाई व्यक्‍त गरे। दाऊदको मनोभाव देखेर यहोवा खुसी हुनुभयो तर उहाँले, तिनको छोरा सुलेमानले मन्दिर बनाउनेछन्‌ भनेर नातान अगमवक्‍तामार्फत दाऊदलाई बताउनुभयो।—२ शमूएल ७:१, २, १२, १३.

१६. मन्दिरको निर्माणको लागि दाऊदले के-कस्ता तयारी गरे?

१६ दाऊदले यो महान्‌ निर्माण आयोजनाको लागि आवश्‍यक सामग्रीहरू जम्मा गरे। सुलेमानलाई दाऊदले यसो भने: “मैले परमप्रभुको भवनको निम्ति एक लाख तोड़ा सुन, दश लाख तोड़ा चाँदी, बेहिसाब जोख्नै नसकिने गरी काँसा र फलाम जोहो गरिराखेको छु। काठ-पात र ढुङ्‌गा पनि तयार गरिराखेको छु। तैंले त्यसमा अरू थप्नसक्छस्‌।” आफ्नो निजी सम्पत्तिबाट तिनले ३,००० तोडा सुन अनि ७,००० तोडा चाँदी अनुदान दिए। a (१ इतिहास २२:१४; २९:३, ४) दाऊदको उदारता देखावटी थिएन, त्यो त यहोवा परमेश्‍वरप्रतिको तिनको विश्‍वास अनि भक्‍तिको प्रदर्शन थियो। आफ्नो धनसम्पत्तिको स्रोतलाई बुझ्दै तिनले यहोवालाई यसो भने: “सबै कुरा तपाईंबाटै आउँछन्‌, औ तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं।” (१ इतिहास २९:१४) दाऊदको उदार हृदयले साँचो उपासनालाई बढाउन आफूले सकेजति सबै कुरा गर्न तिनलाई उत्प्रेरित गऱ्‍यो।

१७. पहिलो तिमोथी ६:१७-१९ को सल्लाह कसरी धनी र गरिब दुवैलाई लागू हुन्छ?

१७ त्यसरी नै हामी आफ्ना भौतिक सरसम्पत्तिलाई असल कामको लागि चलाउन सकौं। भौतिकवादी जीवन शैलीलाई पछ्याउनुको साटो यहोवाको अनुमोदन खोज्नु उत्तम हो—जुन साँचो बुद्धि र आनन्दको बाटो हो। पावलले यस्तो लेखे: “यस वर्त्तमान संसारका धनीहरूलाई कड़ा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथि नै आशा राखून्‌, कि तिनीहरूले असल गरून्‌, तिनीहरू असल काममा उदारचित्त भएर धनवान होऊन्‌, बाँड़चुड़ गर्नामा तत्पर होऊन्‌, पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून्‌।” (१ तिमोथी ६:१७-१९) हाम्रो आर्थिक अवस्था जस्तोसुकै भए तापनि परमेश्‍वरको आत्मामा भर परौं अनि “परमेश्‍वरतर्फ धनी” बनाउने जीवन शैली पछ्याऔं। (लूका १२:२१) स्वर्गमा बस्नुहुने हाम्रो मायालु पिताको अनुमोदनभन्दा बहुमूल्य कुरा हाम्रो लागि अरू केही हुन सक्दैन।

आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउनुहोस्‌

१८. दाऊदले मसीहीहरूको लागि कुन तरिकामा उत्तम नमुना बसाले?

१८ आफ्नो जीवनकालभरि दाऊदले परमेश्‍वरको अनुमोदन खोजे। आफ्नो गीतमा तिनले यसरी पुकारे: “ममाथि अनुग्रह गर्नुहोस्‌ हे परमेश्‍वर, ममाथि अनुग्रह गर्नुहोस्‌। किनकि मेरो आत्माले तपाईंमा शरण लिन्छ।” (भजन ५७:१) यहोवामाथिको तिनको भरोसा व्यर्थमा गएन। दाऊद बूढो अनि “धेरै उमेर खाएका भए।” (१ इतिहास २३:१) दाऊदले गम्भीर गल्ती गरे तापनि तिनको सम्झना उल्लेखनीय विश्‍वास प्रदर्शित गर्ने परमेश्‍वरका धेरै साक्षीहरूमध्ये गरिन्छ।—हिब्रू ११:३२.

१९. हामी कसरी आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउन सक्छौं?

१९ जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा जसरी यहोवाले दाऊदलाई थाम्नुभयो, बलियो बनाउनुभयो अनि सच्याउनुभयो, उहाँले तपाईंको लागि पनि त्यसै गर्न सक्नुहुन्छ भनी नबिर्सनुहोस्‌। दाऊदले जस्तै प्रेरित पावलले पनि जीवनमा धेरै परिवर्तनहरूको सामना गरे। यद्यपि, परमेश्‍वरको आत्मामा भर परेर उनी पनि विश्‍वासी रहिरहे। उनले यस्तो लेखे: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।” (फिलिप्पी ४:१२, १३) हामी यहोवामा भर पऱ्‍यौं भने उहाँले हामीलाई सफल हुन मदत गर्नुहुनेछ। हामी सफल भएको उहाँ चाहनुहुन्छ। यहोवाको कुरा सुन्यौं अनि उहाँसित नजिक भयौं भने उहाँको इच्छा गर्न उहाँले हामीलाई बल दिनुहुनेछ। अनि यहोवाको आत्मामा निरन्तर भर परिरह्‍यौं भने अहिले वर्तमान समयमा अनि अनन्तकालसम्म हामी ‘परमेश्‍वरमा आफूलाई ग्रहणयोग्य तुल्याउन’ सक्नेछौं।—२ तिमोथी २:१५.

[फुटनोट]

a दाऊदले दिएको अनुदानलाई अहिलेको स्तरअनुसार मूल्याङ्‌कन गर्दा १,२०,००,००,००० अमेरिकी डलरभन्दा बढी हुन्छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामी कसरी आफूलाई घमण्डबाट जोगाउन सक्छौं?

• हामीले किन आफैले बदला लिनु हुँदैन?

• अनुशासनबारे हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

• हामीले धनसम्पत्तिमा नभई किन परमेश्‍वरमा भरोसा राख्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १६, १७-मा भएको चित्र]

दाऊद यहोवाको आत्मामा भर परे अनि तिनले ईश्‍वरीय अनुमोदन खोजे। के तपाईंले पनि त्यसै गरिरहनुभएको छ?

[पृष्ठ १८-मा भएको चित्र]

“सबै कुरा तपाईंबाटै आउँछन्‌, औ तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं”