सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवर्तनशील संसारको आत्माको विरोध गर्नुहोस्‌

परिवर्तनशील संसारको आत्माको विरोध गर्नुहोस्‌

परिवर्तनशील संसारको आत्माको विरोध गर्नुहोस्‌

“हामीले संसारको आत्मा होइन, तर परमेश्‍वरबाटका आत्मा पाएका छौं।”—१ कोरिन्थी २:१२.

१. हव्वा कुन-कुन तरिकामा बहकिइन्‌?

 “साँपले पो मलाई छल गऱ्‍यो।” (उत्पत्ति ३:१३) यी थोरै शब्दहरूद्वारा प्रथम स्त्री हव्वाले यहोवाको विद्रोह गर्नुको कारण बताउने प्रयास गरिन्‌। तिनले भनेको कुरा साँचो भए तापनि तिनको गलत काम माफीयोग्य थिएन। पछि प्रेरित पावल यस्तो लेख्न प्रेरित भए: ‘[हव्वाचाहिं] बहकिएकी . . . हुन्‌।’ (१ तिमोथी २:१४) अनाज्ञाकारी काम अर्थात्‌ निषेधित फल खाएको खण्डमा त्यसले तिनको हित गर्नेछ, र तिनी परमेश्‍वर जस्तै हुनेछिन्‌ भन्‍ने कुरामा विश्‍वास गर्न तिनलाई बहकाइयो। धोका दिने व्यक्‍तिको वास्तविक परिचयबारे पनि तिनलाई बहकाइयो। दियाबल अर्थात्‌ शैतानले साँपलाई त केवल माध्यमको रूपमा चलाएको थियो भन्‍ने कुराको पनि तिनलाई पत्तै थिएन।—उत्पत्ति ३:१-६.

२. (क) आज कसरी शैतानले मानिसहरूलाई बहकाउँछ? (ख) “संसारको आत्मा” भनेको के हो, र अब हामी कस्ता प्रश्‍नहरूमाथि विचार गर्नेछौं?

आदम र हव्वाको समयदेखि नै शैतानले मानिसजातिलाई बहकाइरहेको छ। वास्तवमा, त्यसले ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रकाश १२:९) त्यसको युक्‍तिमा कुनै परिवर्तन आएको छैन। साँच्चैको साँपलाई त्यसले चलाउन छोडे तापनि आफ्नो वास्तविक परिचय भने त्यसले लुकाउन छोडेको छैन। शैतानले कुनै-कुनै मनोरञ्जन, सञ्चारजगत्‌ र अन्य माध्यमहरूलाई चलाएर परमेश्‍वरको मायालु निर्देशन मानिसजातिलाई चाहिंदैन र त्यसले कुनै लाभ पनि पुऱ्‍याउँदैन भन्‍ने कुरामा विश्‍वास दिलाएर मानिसहरूलाई बहकाउने गर्छ। शैतानको बहकाउने अभियानले चारैतिरका मानिसहरूमा बाइबलका नियम तथा सिद्धान्तहरूप्रति विद्रोही आत्मा उत्पन्‍न गरेको छ। बाइबलले यसलाई “संसारको आत्मा” भन्छ। (१ कोरिन्थी २:१२) यस आत्माले परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूको विश्‍वास, मनोवृत्ति अनि आचरणलाई गहिरो असर गर्छ। त्यो आत्मा कसरी प्रकट हुन्छ अनि हामी कसरी त्यसको भ्रष्ट प्रभावको विरोध गर्न सक्छौं? आउनुहोस्‌, जाँचौं।

खस्कँदो नैतिक मूल्यमान्यता

३. आधुनिक समयमा संसारको आत्मा किन झन्‌-झनै प्रकट हुँदै गएको छ?

आधुनिक समयमा “संसारको आत्मा” झन्‌-झनै प्रकट हुँदै गएको छ। (२ तिमोथी ३:१-५) नैतिक मूल्यमान्यताहरू खस्कँदै गइरहेको कुरा तपाईंले पनि याद गर्नुभएको होला। यसो हुनुको कारण के हो भनी धर्मशास्त्रले व्याख्या गर्छ। सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्थापना भइसकेपछि स्वर्गमा लडाइँ सुरु भयो। शैतान अनि त्यसका प्रेतहरू पराजित भए अनि तिनीहरूलाई तल पृथ्वीमा फ्याँकियो। रिसले चूर हुँदै शैतानले बहकाउने आफ्नो विश्‍वव्यापी अभियानलाई अझै तीव्र पारेको छ। (प्रकाश १२:१-९, १२, १७) “हुनसके चुनिएकाहरूलाई पनि भ्रममा पार्न” त्यसले हर प्रयास गर्छ। (मत्ती २४:२४) परमेश्‍वरका जनहरू भएकाले हामी त्यसको मुख्य तारो हौं। हामीले यहोवाको अनुग्रह र अनन्त जीवनको प्रत्याशा गुमाओस्‌ भनेर त्यसले हाम्रो आध्यात्मिकतालाई नष्ट पार्ने प्रयत्न गर्छ।

४. यहोवाका सेवकहरूले बाइबलप्रति कस्तो दृष्टिकोण राख्छन्‌ अनि संसारले यसप्रति कस्तो दृष्टिकोण राख्छ?

शैतानले हाम्रो मायालु सृष्टिकर्ताबारे हामीलाई सिकाउने मूल्यवान्‌ पुस्तक बाइबललाई बदनाम गर्ने कोसिस गर्छ। यहोवाका सेवकहरूले बाइबललाई माया गर्नुका साथै मूल्यवान्‌ ठान्छन्‌। हामीलाई थाह छ, यो मानिसहरूको वचन होइन, परमेश्‍वरको प्रेरित वचन हो। (१ थिस्सलोनिकी २:१३; २ तिमोथी ३:१६) यद्यपि, हामीले यसप्रति बेग्लै दृष्टिकोण राखोस्‌ भनेर शैतानको संसारले चाहन्छ। उदाहरणको लागि, बाइबलमाथि आक्रमण गर्ने एउटा पुस्तकको प्राक्कथनमा यस्तो लेखिएको छ: “बाइबलमा त्यस्तो ‘पवित्र’ कुरा केही छैन, न त यो ‘परमेश्‍वरको वचन नै हो।’ परमेश्‍वरद्वारा प्रेरित सन्तहरूले यसलाई लेखेका होइनन्‌ तर शक्‍तिका भोका पादरीहरूले लेखेका हुन्‌।” यस्ता दाबीका पछाडि दौडनेहरू आफूलाई जसरी मन लाग्छ त्यसरी नै परमेश्‍वरलाई उपासना गरे हुन्छ अथवा उहाँलाई उपासना नै नगरे पनि केही फरक पर्दैन भन्‍ने पथभ्रष्ट विचारहरूको सजिलै सिकार बन्‍न सक्छन्‌।—हितोपदेश १४:१२.

५. (क) बाइबलसित सम्बन्धित धर्महरूबारे एक जना लेखकले कस्तो दाबी गरे? (ख) संसारले राख्ने सामान्य धारणाहरू बाइबलले भनेका कुराहरूभन्दा कसरी भिन्‍न छन्‌? (अर्को पृष्ठमा दिइएको पेटीलाई समावेश गर्नुहोस्‌।)

बाइबलमाथि गरिएको प्रत्यक्ष तथा अप्रत्यक्ष आक्रमण अनि यसलाई समर्थन गर्छु भनी दाबी गर्नेहरूको धार्मिक कपटले गर्दा धर्मप्रति वितृष्णा बढिरहेको छ जसमा बाइबलसित सम्बन्धित धर्म पनि समावेश छ। छापा तथा बौद्धिक वर्गले धर्ममाथि आक्रमण गरेका छन्‌। एक जना लेखक यसो भन्छन्‌: “लोकप्रिय संस्कृतिमा व्याप्त यहूदी तथा मसीही धर्मप्रतिको दृष्टिकोण सामान्यतया नकारात्मक छ। तिनीहरूलाई जत्तिकै सकारात्मक दृष्टिकोणले हेर्ने प्रयास गरे तापनि, अहिलेको जमानासित मिल्दैन; नकारात्मक दृष्टिले हेर्ने हो भने चाहिं ज्यादै पुरानो विचारधाराको छ, जसले बौद्धिक परिपक्वता हासिल गर्नदेखि रोक्छ अनि वैज्ञानिक प्रगतिमा भाँजो हाल्छ। यस्तो किसिमको अवहेलना हालैका वर्षहरूमा उपहास अनि खुल्लमखुल्ला विरोधमा परिणत भएको छ।” अक्सर यस्तो किसिमको विरोध परमेश्‍वरको अस्तित्वलाई नस्वीकार्ने अनि “आफ्ना विचारमा बेकम्मा” भएकाहरूका उपज हुन्‌।—रोमी १:२०-२२.

६. परमेश्‍वरले निन्दा गर्नुभएका यौन व्यवहारहरूलाई संसारले कुन दृष्टिले हेर्छ?

त्यसैकारण मानिसहरू आचरणसम्बन्धी परमेश्‍वरका स्तरहरूबाट दिन-प्रतिदिन तर्कंदै जानु कुनै अचम्मलाग्दो कुरा होइन। उदाहरणको लागि, बाइबलले समलिङ्‌गी सम्बन्धलाई “निर्लज्ज काम” भनेर वर्णन गर्छ। (रोमी १:२६, २७) करणी र व्यभिचारमा संलग्न हुनेहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर पनि यसले बताउँछ। (१ कोरिन्थी ६:९) यद्यपि, धेरै मुलुकहरूमा त्यस्ता यौन व्यवहारलाई स्वीकार्य ठानिने मात्र होइन तर पुस्तक, पत्र-पत्रिका, गीत, चलचित्र अनि टिभी कार्यक्रमहरूमा त्यस्ता कुराहरूलाई आकर्षक ढङ्‌गमा प्रस्तुत गरिन्छ। यस्ता व्यवहारहरू विरुद्ध बोल्नेहरूलाई सङ्‌कीर्ण विचारधारा भएको, आलोचक अनि प्रगतिशील आधुनिक विचारधारा नराख्ने व्यक्‍तिको रूपमा हेरिन्छ। परमेश्‍वरका स्तरहरूलाई मायालु चासोको अभिव्यक्‍तिको रूपमा हेर्नुको सट्टा संसारले त्यसलाई व्यक्‍तिगत स्वतन्त्रता अनि सन्तुष्टिको वाधक ठान्छ।—हितोपदेश १७:१५; यहूदा ४.

७. हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

परमेश्‍वर विरुद्ध दिन-प्रतिदिन बलियो अडान लिएर बसिरहेको संसारमै हामी बसिरहेका हुनाले हामीले आफ्नो मनोवृत्ति तथा मूल्यमान्यताहरूमाथि विचार गर्नु बुद्धिमानी हुनेछ। हामी यहोवाको सोचाइ तथा स्तरहरूबाट विस्तारै तर्किएर गइरहेका त छैनौं भनेर पक्का गर्न हामीले बेला-बेलामा प्रार्थनापूर्वक र इमानदारिताका साथ आफूलाई जाँच्नुपर्छ। उदाहरणको लागि, हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘केही वर्षअघि मैले तिरस्कार गरेका कुराहरू के अहिले मलाई रोचक अनि रमाइलो लाग्न थालेका छन्‌? परमेश्‍वरले निन्दा गर्नुहुने व्यवहारहरूप्रति के म अझ बढी सहनशील भएको छु? के ममा आध्यात्मिक कुराहरूलाई पहिलेभन्दा गम्भीरतासाथ नलिने झुकाव छ? जीवनमा राज्य गतिविधिहरूलाई मैले प्रथम स्थान दिइरेहको छु भनेर के मेरो जीवन शैलीले देखाउँछ?’ (मत्ती ६:३३) यस्तो मननले हामीलाई संसारको आत्माको विरोध गर्न मदत गर्नेछ।

‘कहिल्यै तर्केर नजाओ’

८. एक जना व्यक्‍ति कसरी यहोवाबाट तर्कन सक्छ?

सँगी मसीहीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “यसकारण हामीले सुनेका कुराहरूलाई हामीले झन्‌ बढ़ी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।” (हिब्रू २:१) बाटो बिराएको जहाज आफ्नो गन्तव्यमा पुग्न सक्दैन। कप्तानले बहेको हावा र पानीको धारलाई ध्यान नदिएमा जहाज सजिलै सुरक्षित बन्दरगाहबाट तर्केर अन्तै जान सक्छ अनि कुनै चट्टाने तटमा बज्रन सक्छ। त्यसरी नै, हामीले परमेश्‍वरको वचनको अमूल्य सत्यमा ध्यान दिएनौं भने हामी सजिलै यहोवाबाट तर्कन सक्छौं अनि आफ्नो आध्यात्मिक जहाज डुबाउन सक्छौं। सत्यलाई पूर्णतया इन्कार नगर्दा पनि हामीले यस्तो क्षति भोग्न सक्छौं। वास्तवमा, धेरैले यहोवालाई एक्कासी अनि जानाजानी त्याग्दैनन्‌। प्रायः तिनीहरू बिस्तारै त्यस्ता कुराहरूमा संलग्न हुन्छन्‌ जसले तिनीहरूलाई परमेश्‍वरको वचनमा ध्यान दिनबाट अलमल्याउँछ। चालै नपाई तिनीहरू पापमा फस्छन्‌। त्यस्ता व्यक्‍तिहरू निदाएको कप्तान जस्तै एकदमै ढिलो नभएसम्म निद्राबाट ब्यूँझदैनन्‌।

९. यहोवाले सुलेमानलाई कुन-कुन तरिकाहरूमा आशिष्‌ दिनुभयो?

सुलेमानको जीवनलाई विचार गर्नुहोस्‌। यहोवाले तिनलाई इस्राएल राज्यको अधिकार सुम्पनुभयो। यहोवाले सुलेमानलाई मान्दिर निर्माण गर्न अनि बाइबलका अंशहरू लेख्न निर्देशन दिनुभयो। यहोवाले दुई चोटि तिनीसित कुरा गर्नुभयो अनि तिनलाई धन, कीर्ति र शान्तिपूर्ण शासन दिनुभयो। सबैभन्दा मुख्य कुरा यहोवाले सुलेमानलाई महान्‌ बुद्धि दिनुभयो। बाइबल यसो भन्छ: “परमेश्‍वरले सुलेमानलाई ज्यादै बुद्धि र ज्ञान, औ समुद्रको किनारका बालुवा जत्तिकै समझशक्‍ति दिनुभयो। त्यसले गर्दा सुलेमानको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्र देशका सबै मानिसका बुद्धिलाई माथ गर्नेथियो।” (१ राजा ४:२१, २९, ३०; ११:९) निस्सन्देह, यदि परमेश्‍वरप्रति विश्‍वासी रहने कोही थिए भने, ती सुलेमान नै थिए भनेर जोसुकैले पनि सजिलै अनुमान लगाउन सक्थ्यो। यद्यपि, सुलेमान धर्मत्यागमा फसे। यो सब कसरी भयो?

१०. सुलेमान कुन निर्देशन पालन गर्न चुके, अनि परिणाम के भयो?

१० सुलेमानलाई परमेश्‍वरका व्यवस्थाहरू विस्तृत रूपमा थाह हुनुका साथै तिनले त्यसलाई राम्ररी बुझेका थिए। इस्राएलमा राजा बनेका व्यक्‍तिहरूको लागि तोकिएका निर्देशनहरूमा तिनले पक्कै पनि विशेष चासो लिएको हुनुपर्छ। ती निर्देशनहरूमध्ये एउटा यस्तो थियो: “राजाले आफ्नो लागि धेरै स्वास्नीहरू जम्मा नगरोस्‌, नत्रता उसको मन बरालिनेछ।” (व्यवस्था १७:१४, १७) ती सुस्पष्ट निर्देशनहरूको बावजुद सुलेमानले सात सय पत्नी अनि तीन सय उपपत्नीहरू राखे। ती स्त्रीहरूमध्ये अधिकांशले विदेशी देवताहरूको उपासना गर्थे। सुलेमानले यति धेरै पत्नीहरू ल्याउनुको कारण हामीलाई थाह छैन न त यसो गर्नु तिनले कसरी जायज सम्झे, त्यो नै थाह छ। हामीलाई त केवल यति थाह छ, यहोवाको सुस्पष्ट निर्देशन पालन गर्न तिनी चुके। परिणाम, यहोवाले जस्तो चेतावनी दिनुभएको थियो, ठीक त्यस्तै भयो। हामी यस्तो लेखिएको पाउँछौं: “[सुलेमानका] पत्नीहरूले तिनको हृदयलाई [“बिस्तारै”, NW] सत्यबाट बहकाइदिए।” (१ राजा ११:३, ४) “बिस्तारै”—तर पूर्णतया—तिनको ईश्‍वरीय बुद्धि क्षीण हुँदै गयो। तिनी तर्किए। समयको अन्तरालमा परमेश्‍वरको आज्ञा पालन गर्ने तथा उहाँलाई खुसी पार्ने तिनको इच्छाको ठाउँलाई आफ्ना मूर्तिपूजक पत्नीहरूलाई खुसी पार्ने इच्छाले लियो। कत्ति दुःखलाग्दो कुरा किनभने यी शब्दहरू लेख्ने सुलेमान नै थिए: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु”!—हितोपदेश २७:११.

संसारको आत्मा शक्‍तिशाली छ

११. हामीले आफ्नो मनमा जुन कुरा भर्छौं, त्यसले हाम्रो सोचाइलाई कसरी असर गर्छ?

११ हामीले सत्य थाह पाएको कारणले गर्दा सांसारिक प्रभावहरूले हाम्रो सोचाइलाई असर गर्नेछैन भनेर तर्क गर्नु खतरनाक हुन्छ भन्‍ने कुरा सुलेमानको उदाहरणले हामीलाई सिकाउँछ। जसरी भोजनले हाम्रो शरीरलाई असर गर्छ त्यसरी नै हामीले आफ्नो मनमा भर्ने कुराहरूले हाम्रो मनलाई असर गर्छ। हो, हामीले आफ्नो मनमा भर्ने कुराहरूले हाम्रो सोचाइ तथा मनोवृत्तिलाई असर गर्छ। यस कुरालाई बुझेको हुनाले नै व्यापारिक संघसंस्थाहरूले आफ्ना उत्पादनहरूको विज्ञापन गर्न वर्षेनी अरबौं डलर खर्च गर्छन्‌। सफल विज्ञापनहरूले आफ्ना उपभोक्‍ताहरूको चाहना तथा रुचिलाई आकर्षित गर्न झट्टै ध्यान खिच्ने शब्द तथा तस्विरहरू चलाउँछन्‌। केवल एक-दुई चोटि विज्ञापन हेरेकै भरमा मानिसहरू तुरुन्तै गएर ती उत्पादनहरू किन्‍न लालायित हुँदैनन्‌ भनेर पनि विज्ञापनदातालाई थाह छ। यद्यपि, विज्ञापनमा बारम्बार आँखा परिरहेमा समयको अन्तरालमा उपभोक्‍तालाई कुनै उत्पादन मन पर्न थाल्छ। विज्ञापनहरू प्रभावकारी हुन्छन्‌ नत्र कसैले पनि विज्ञापनमा लगानी गर्ने थिएन। यसले सर्वसाधारणको सोचाइ तथा मनोवृत्तिमा गहिरो छाप पार्छ।

१२. (क) शैतानले कसरी मानिसहरूको सोचाइलाई असर गर्छ? (ख) मसीहीहरू प्रभावित हुन सक्छन्‌ भनेर कुन कुराले देखाउँछ?

१२ समय बित्दै जाँदा मानिसहरूलाई आफ्नो सोचाइअनुसार ढाल्न सकिन्छ भन्‍ने थाह भएको हुनाले एक जना विज्ञापनदाताले जस्तै शैतानले आफ्ना विचारहरूलाई आकर्षक ढङ्‌गमा प्रस्तुत गर्छ। मनोरञ्जनजगत्‌ तथा अरू माध्यमहरूद्वारा असल खराब हो अनि खराब असल हो भन्‍ने कुरामा विश्‍वास दिलाउँदै शैतानले मानिसहरूलाई धोका दिन्छ। (यशैया ५:२०) साँचो मसीहीहरू समेत झूटा जानकारीहरू फैलाउने शैतानको अभियानको सिकार भएका छन्‌। बाइबलले यस्तो चेतावनी दिन्छ: “पवित्र आत्मा प्रष्टै भन्‍नुहुन्छ, कि पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्‍वासबाट पतित हुनेछन्‌, झूटा बोल्ने मानिसहरूका कपटद्वारानै यो हुनेछ, जसको विवेक तातो फलामले डामेको जस्तो हुन्छ।”—१ तिमोथी ४:१, २; यर्मिया ६:१५.

१३. खराब सङ्‌गत भनेको के हो अनि हाम्रो सङ्‌गतले हामीलाई कसरी असर गर्छ?

१३ संसारको आत्माको प्रभावबाट हामी कोही पनि मुक्‍त छैनौं। शैतानको रीतिरिवाजको हावा र धार शक्‍तिशाली छ। बाइबल बुद्धिमानीसाथ यस्तो चेतावनी दिन्छ: “नठगियौ, खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) खराब सङ्‌गतहरू अन्तर्गत संसारको आत्मा झल्काउने जे पनि अथवा जो कोही पनि पर्न सक्छन्‌—यसमा मण्डलीभित्रैका समेत समावेश छन्‌। यदि हामी खराब सङ्‌गतले हामीलाई कुनै चोट पुऱ्‍याउँदैनौं भनेर तर्क गर्छौं भने असल सङ्‌गतले पनि कुनै मदत गर्दैन भन्‍ने निष्कर्षमा पुग्नु पर्दैन र? यसो भन्‍नु कत्ति गलत हुनेछ! बाइबलले यस कुरालाई प्रस्ट पार्दै यसो भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

१४. कुन तरिकामा हामी संसारको आत्माको विरोध गर्न सक्छौं?

१४ संसारको आत्मालाई प्रतिरोध गर्न हामीले यहोवाको सेवा गर्ने बुद्धिमान्‌ मानिसहरूको सङ्‌गत गर्नुपर्छ। हामीले आफ्नो मन, आफ्नो विश्‍वासलाई बलियो बनाउने कुराहरूले भर्नै पर्छ। प्रेरित पावलले यस्तो लेखे: “जे कुरा सच्चा छन्‌, जे कुरा आदरणीय छन्‌, जे कुरा चोखा छन्‌, जे कुरा असल छन्‌, जे कुरा मनपर्दा छन्‌, तिनमा केही सद्‌गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” (फिलिप्पी ४:८) असल र खराब छुट्याउन सक्ने योग्यतासहित हामीलाई सृष्टि गरिएको हुनाले हामी आफूले विचार गर्ने कुराहरू रोज्न सक्छौं। हामी सधैं आफूलाई यहोवाको अझै नजिक लैजाने विचारहरूलाई मात्र रोज्न सकौं।

परमेश्‍वरको आत्मा अझै शक्‍तिशाली छ

१५. पुरातन कोरिन्थमा बस्ने मसीहीहरू त्यस सहरका अन्य बासिन्दाहरूभन्दा कसरी भिन्‍न थिए?

१५ संसारको आत्माबाट बहकिएकाहरू जस्तो नभई साँचो मसीहीहरू परमेश्‍वरको पवित्र आत्माद्वारा डोऱ्‍याइएका छन्‌। कोरिन्थमा भएको मण्डलीलाई पावलले यस्तो लेखे: “परमेश्‍वरबाट हामीलाई सित्तैंमा दिनुभएको कुरा जानौं भनेर हामीले संसारको आत्मा होइन, तर परमेश्‍वरबाटका आत्मा पाएका छौं।” (१ कोरिन्थी २:१२) पुरातन कोरिन्थ सहर संसारको आत्मामा चुर्लुम्म डुबेको थियो। यहाँका अधिकांश बासिन्दाहरू यति छाडा थिए कि पछि गएर “कोरिन्थीकरण” भन्‍ने शब्दको अर्थ नै “अनैतिक व्यवहार गर्नू” भन्‍ने बुझियो। शैतानले मानिसहरूको मनलाई अन्धो तुल्याइदिएको थियो। फलतः तिनीहरूले साँचो परमेश्‍वरबारे रत्तीभर बुझेका थिएनन्‌। (२ कोरिन्थी ४:४) यद्यपि, पवित्र आत्माद्वारा यहोवाले केही कोरिन्थीहरूको आँखा खोलिदिनुभयो जसले गर्दा तिनीहरूले सत्यको ज्ञान प्राप्त गर्न सके। उहाँको अनुमोदन तथा आशिष्‌ पाउन सकून्‌ भनेर उहाँको आत्माले तिनीहरूलाई आफ्नो जीवनमा ठूल्ठूला परिवर्तनहरू गर्न उत्प्रेरित गर्नुका साथै डोऱ्‍यायो। (१ कोरिन्थी ६:९-११) संसारको आत्मा बलियो भए तापनि यहोवाको आत्मा त्योभन्दा अझ बलियो थियो।

१६. हामी कसरी परमेश्‍वरको आत्मा प्राप्त गर्न तथा त्यसलाई कायम राखिराख्न सक्छौं?

१६ आज पनि अवस्था यस्तै छ। यहोवाको पवित्र आत्मा ब्रह्‍माण्डमै सबैभन्दा शक्‍तिशाली छ अनि विश्‍वाससहित माग्नेहरू सबैलाई उहाँले राजीखुसी र उदारतासाथ यो दिनुहुन्छ। (लूका ११:१३) यद्यपि, परमेश्‍वरको आत्मा प्राप्त गर्न हामीले संसारको आत्माको विरोध गरेर मात्र पुग्दैन। हामीले नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गर्नुका साथै त्यसलाई व्यवहारमा पनि लागू गर्नै पर्छ जसले गर्दा हाम्रो मनोवृत्ति अर्थात्‌ मानसिक झुकाव—उहाँको सोचाइ अनुरूप हुन्छ। हामीले यसो गरेको खण्डमा शैतानले हाम्रो आध्यात्मिकतालाई खतम पार्न चलाउन सक्ने जुनसुकै युक्‍तिहरू विरुद्ध अडान लिन यहोवाले हामीलाई बलियो बनाउनुहुनेछ।

१७. कुन तरिकामा लूतको अनुभव हाम्रो लागि सान्त्वना हुन सक्छ?

१७ मसीहीहरू संसारको भाग नभए तापनि तिनीहरू संसारमै बस्छन्‌। (यूहन्‍ना १७:११, १६) हामी कोही पनि संसारको आत्माबाट पूर्णतया अलग रहन सक्दैनौं किनभने हामी परमेश्‍वर तथा उहाँका तौरतरिकाहरूलाई प्रेम नगर्ने व्यक्‍तिहरूसित काम गर्नुपर्ने अथवा बस्नुपर्ने समेत हुन सक्छ। के हामी लूतले जस्तै महसुस गर्छौं, जो आफू वरपर बसेका सदोमका मानिसहरूको छाडा कामहरूबाट “अति दुःखित” र अत्यन्तै पीडितसमेत भएका थिए? (२ पत्रुस २:७, ८) यदि यस्तो महसुस गर्छौं भने हामी सान्त्वना प्राप्त गर्न सक्छौं। यहोवाले लूतको सुरक्षा गर्नुका साथै तिनलाई बचाउनुभयो अनि उहाँले हाम्रो लागि पनि यस्तै गर्न सक्नुहुन्छ। हाम्रा मायालु पिताले हाम्रो परिस्थिति देख्नुका साथै बुझ्नुहुन्छ अनि हाम्रो आध्यात्मिकता कायम राख्न उहाँ हामीलाई आवश्‍यक बल तथा मदत दिन सक्नुहुन्छ। (भजन ३३:१८, १९) उहाँमा भर पऱ्‍यौं, उहाँमाथि आफ्नो भरोसा राख्यौं अनि उहाँलाई पुकाऱ्‍यौं भने हाम्रो परिस्थिति जतिसुकै कठिन भए तापनि उहाँले हामीलाई संसारको आत्माको विरोध गर्न मदत दिनुहुनेछ।—यशैया ४१:१०.

१८. हामीले यहोवासितको आफ्नो सम्बन्धको किन कदर गर्नुपर्छ?

१८ परमेश्‍वरबाट अलग्गिएको अनि शैतानद्वारा बहकिएको संसारमा यहोवाका जनहरूको हैसियतमा हामीले सत्यको ज्ञानको आशिष्‌ पाएका छौं। त्यसैले, हामी त्यस्तो आनन्द र शान्तिको अनुभव गर्छौं जुन संसारसित छैन। (यशैया ५७:२०, २१; गलाती ५:२२) हामी प्रमोदवनमा पाइने अनन्त जीवनको अद्‌भुत आशामा रमाउँछौं जहाँ मर्नै लागेको यस संसारको आत्माको नामोनिसान हुनेछैन। त्यसैले, हामी यहोवासितको आफ्नो बहुमूल्य सम्बन्धको कदर गर्न सकौं अनि आध्यात्मिक तवरमा तर्किने कुनै पनि झुकावलाई सच्याउन सतर्क रहन सकौं। आउनुहोस्‌, सधैं यहोवासित नजिक भइरहौं अनि संसारको आत्माको विरोध गर्न उहाँले हामीलाई मदत दिनुहुनेछ।—याकूब ४:७, ८.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• शैतानले कुन-कुन तरिकाहरूमा मानिसजातिलाई धोका दिने तथा बहकाउने गरेको छ?

• यहोवाबाट तर्किनदेखि हामी कसरी जोगिन सक्छौं?

• कुन कुराले संसारको आत्मा शक्‍तिशाली छ भनेर देखाउँछ?

• हामी कसरी परमेश्‍वरबाट आएको आत्मा प्राप्त गर्न अनि त्यसलाई कायम राखिराख्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चार्ट]

सांसारिक बुद्धि विरुद्ध परमेश्‍वरको बुद्धि

सत्य सापेक्षिक हुन्छ—मानिसअनुसार सत्यको परिभाषा फरक-फरक हुन्छ।

“[परमेश्‍वरको] वचन सत्य हो।”—यूहन्‍ना १७:१७.

सही र गलत छुट्याउन आफ्नो भावनाले जे भन्छ त्यसलाई सुन्‍नुहोस्‌।

“मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।”—यर्मिया १७:९.

आफूलाई जे मन लाग्छ त्यही गर्नुहोस्‌।

“आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

धन नै आनन्दको कुञ्जी हो।

“रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।”—१ तिमोथी ६:१०.

[पृष्ठ १०-मा भएको चित्र]

सुलेमान साँचो उपासनाबाट तर्किए अनि झूटा देवताहरूतिर लागे

[पृष्ठ १२-मा भएको चित्र]

विज्ञापनदाताले जस्तै, शैतानले संसारको आत्मालाई बढवा दिन्छ। के तपाईं त्यसको विरोध गर्नुहुन्छ?