सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसहरूलाई उनीहरूको काम गर्ने ठाउँमा भेट्टाउने

मानिसहरूलाई उनीहरूको काम गर्ने ठाउँमा भेट्टाउने

राज्य उद्‌घोषकहरूको रिपोर्ट

मानिसहरूलाई उनीहरूको काम गर्ने ठाउँमा भेट्टाउने

प्रेरित मत्ती, पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नामा कस्तो समानता पाइन्छ? आफ्नो काम गर्ने ठाउँमा भएको बेला येशूले उनीहरू सबैलाई बोलाउनुभएको थियो। येशूले पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नालाई “मेरो पछि लाग” भनेर आमन्त्रित गर्नुहुँदा उनीहरू आफ्नो माछा मार्ने व्यवसायमा व्यस्त थिए। येशूको चेला हुन आमन्त्रित गरिंदा मत्तीचाहिं महसुल उठाउने अड्डामा थिए।—मत्ती ४:१८-२१; ९:९.

मानिसहरूलाई उनीहरूको काम गर्ने ठाउँमा साक्षी दिनु इनामदायी हुन सक्छ। यस कुरालाई बुझेको कारण, जापानका यहोवाका साक्षीहरूले हालै सेवकाईको यस पक्षमा सहभागी हुने भरमग्दुर प्रयास गरे। परिणाम कस्तो भयो? केही महिनाभित्रै, हजारौं पुनःभेटहरू गरिए र लगभग २५० वटा बाइबल अध्ययन थालियो। निम्न अनुभवहरू विचार गर्नुहोस्‌।

टोकियोका एक जना पूर्ण-समय सेवकले रेष्टुराँका म्यानेजरलाई भेटे, जसले लगभग ३० वर्षअघि स्कूल पढ्‌दाखेरि एक जना साक्षीसित कुरा गरेका थिए। त्यतिखेर भनिएका कुरा म्यानेजरले त्यति राम्ररी बुझ्न नसके तापनि बाइबलप्रति भने तिनको चासो जागेको थियो। अहिले तिनको चासो पुनर्जागृत भएको कारण तिनी ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ  a भन्‍ने पुस्तकबाट बाइबल अध्ययन गर्न तुरुन्तै राजी भए। यसबाहेक, तिनले सुत्नुअघि हरेक साँझ बाइबल पढ्‌ने व्यक्‍तिगत तालिका पनि बनाए।

एउटी विशेष अग्रगामी सेविका एउटा कार्यालयमा गइन्‌। म्यानेजरसित भेट हुन नसके तापनि म्यानेजरको फोन उठाउने एउटी जवान स्त्रीले सोधिन्‌, “के तपाईं मसँग कुरा गर्न चाहनुहन्छ?” टेलिफोनमा एकै छिन कुरा गरिसकेपछि उक्‍त स्त्री बाहिर आइन्‌ र आफूलाई बाइबल पढ्‌न चासो भएको बताइन्‌। विशेष अग्रगामी बहिनीले अर्को चोटि बाइबल लिएर आउने प्रबन्ध मिलाइन्‌ र काम सुरु हुनुभन्दा अघि एकाबिहानै नजिकैको पार्कमा तिनीसित बाइबल अध्ययन सुरु गरिन्‌।

अर्को एउटा कार्यालयमा एक जना मानिसले आफ्नी सहकर्मीले प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! पत्रिकाहरू स्वीकारेको तर त्यहाँबाट साक्षी जानासाथै फ्याँकेको देखे। उक्‍त मानिस घर पुगेपछि आफ्नी साक्षी पत्नीलाई त्यस घटनाबारे बताए र म भएको भए कुरा मात्र भए पनि सुन्‍ने थिएँ भनेर टिप्पणी गरे। तिनको कुरा सुनिरहेकी तिनकी छोरीले त्यसै व्यापारिक इलाकामा काम गर्ने एक जना साक्षीलाई यसबारे बताइन्‌। यी साक्षी त्यस मानिसलाई तिनकै कार्यालयमा भेट्‌न तुरुन्तै गइहाले र तिनीसित बाइबल अध्ययन सुरु गरे। ती मानिस चाँडै आइतबारका सभाहरूमा नियमित रूपमा उपस्थित हुन थाले।

काम गर्ने ठाउँमा मानिसहरूलाई साक्षी दिंदा अन्य लाभहरू पनि प्राप्त भएका छन्‌। जापानका थुप्रै प्रकाशकहरू किनमेल गर्ने ठाउँ, कारखानालगायत कार्यालयहरूमा पुनःभेट गर्न निकै खप्पिस भइसकेका छन्‌। यसको अलावा, साक्षी दिने यस तरिकाद्वारा निष्क्रिय भएकाहरूसित सम्पर्क राख्न तथा अध्ययनहरू सुरु गर्न सकिएका छन्‌। फलतः निकै उल्लेखनीय परिणामहरू प्राप्त भएका छन्‌। टोकियोको मध्य भागमा अवस्थित एउटा मण्डलीले हालै १०८ वटा गृह बाइबल अध्ययन रिपोर्ट गऱ्‍यो र यो संख्या एक वर्षअघि रिपोर्ट गरिएको संख्याको दोबरभन्दा बढी थियो।

[फुटनाट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।