लाइबेरिया युद्धको बावजुद आध्यात्मिक वृद्धि हुन्छ
लाइबेरिया युद्धको बावजुद आध्यात्मिक वृद्धि हुन्छ
लाइबेरियामा गृहयुद्ध मच्चिएको दशकौं भइसक्यो। सन् २००३ को मध्यसम्ममा विद्रोहीहरू राजधानी सहर, मोनरोभिया छिरिसकेका थिए। यहोवाका थुप्रै साक्षीहरूलाई घरबार छोडेर भाग्न विवश पारियो र कहिलेकाहीं त यस्तो घटना घरी-घरी दोहोरिन्थ्यो। पटक-पटक धनमाल लुटियो।
दुःखको कुरा, राजधानीमा भिडन्त मच्चिएको बेला हजारौं मानिसहरू मारिए। मारिनेहरूमध्ये दुई जना त साक्षी थिए, एक जना भाइ र एउटी बहिनी। अरू भाइहरूले कसरी उक्त कठिनाइको सामना गरे र उनीहरूलाई मदत गर्न के गरियो?
खाँचोमा परेकाहरूका लागि सहायता
सङ्कटकालीन समयभरि, यहोवाका साक्षीहरूको लाइबेरिया शाखा कार्यालयले खाँचोमा परेकाहरूका लागि राहत सामग्रीहरूको बन्दोबस्त मिलायो। खानेकुरा, आवश्यक घरायसी सरसामान तथा औषधीहरू उपलब्ध गराइयो। विद्रोहीहरूले बन्दरगाह क्षेत्रलाई आफ्नो कब्जामा लिएको बेला खानेकुराको अभाव भयो। शाखाले यस्तो अवस्था खडा हुन सक्छ भन्ने कुराको पूर्वाभास पाइसकेको थियो र सहरभरिका राज्यभवनहरूमा भागेर आएका दुई हजार साक्षीहरूका लागि आवश्यक सर-सामग्रीहरूको जोरजाम गरिसकेको थियो। बन्दरगाह पुनः सञ्चालन नहोउन्जेलसम्म पुऱ्याउनको लागि भाइहरूले खानेकुरा फारो गरेर चलाए। बेल्जियम र सियेरा लियोनका शाखाहरूले हवाईजहाजमार्फत औषधीहरू पठाए भने, बेलाइत र फ्रान्सका शाखाहरूले चाहिं लुगाफाटा पठाइदिए।
अत्यन्तै निराशाजनक अवस्थाको बावजुद हाम्रा भाइहरू सकारात्मक तथा खुसी रहे। आफ्नो घरबाट तीन-तीन चोटि भागेका एक जनाले गरेको टिप्पणी थुप्रैले गरेको टिप्पणीसित मिल्दोजुल्दो थियो। तिनले यसो भने: “यही अवस्थाहरूबारे त हामी प्रचार गर्छौं; हामी अखिरी दिनमा बाँचिरहेका छौं।”
सुसमाचारप्रतिको प्रतिक्रिया
देशभरि नै गोलमाल मच्चिए तापनि साक्षीहरूले भने क्षेत्रमा निरन्तर उत्कृष्ट नतिजाहरू प्राप्त गरिरहे। सन् २००३ जनवरी महिनामा राज्य प्रकाशकहरूको शिखर संख्या ३,८७९ थियो र फेब्रुअरी महिनामा उनीहरूले १५,२२७ वटा बाइबल अध्ययन सञ्चालन गरे।
मानिसहरूले सुसमाचारप्रति तुरुन्त प्रतिक्रिया देखाइहाल्छन्। यसको एउटा उदाहरण देशको दक्षिणपूर्वी भेगको एउटा गाउँको छ। एउटा मण्डलीले साधारणतया उनीहरू भेला हुने ठाउँदेखि लगभग पाँच घण्टाको बाटो भएर जानुपर्ने बीवान भन्ने एउटा ठूलो गाउँमा ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउने योजना बनाए। स्मरणार्थमा उपस्थित हुन गाउँका मानिसहरूलाई निमन्त्रणा दिनुअघि, बीवानका मेयरलाई निमन्त्रणा दिइयो। निमन्त्रणा पाएपछि तिनी आफ्नो बाइबल लिएर गाउँलेहरू कहाँ गए र उनीहरूलाई स्मरणार्थमा उपस्थित हुन प्रोत्साहन दिंदै निमन्त्रणा पर्चीमा उल्लिखित शास्त्रपद पढेर सुनाए। त्यसैकारण प्रकाशकहरू त्यहाँ आइपुग्दासम्ममा त सबैले निमन्त्रणा पाइसकेका थिए! आफ्ना छोराछोरी तथा दुई पत्नीहरूका साथ मेयर स्मरणार्थमा उपस्थित भए। सबै गरेर जम्माजम्मी २७ जना मानिस उपस्थित भए। त्यस बेलादेखि मेयरले मेथोडिस्ट चर्च
जान छोडिदिएका छन् र साक्षीहरूसित अध्ययन गर्न थाल्नुका साथै राज्यभवन बनाउन जग्गा पनि दिएका छन्।हृदय परिवर्तन
हाम्रा भाइहरूको आचरण पनि सच्चाइप्रति कोही-कोही विरोधीहरूको दृष्टिकोण परिवर्तन गर्न प्रभावकारी साबित भएको छ। ओपोकु नाउँ गरेका व्यक्तिको उदाहरणलाई विचार गर्नुहोस्। एक जना विशेष अग्रगामी सेवकले तिनलाई क्षेत्र सेवामा भेटे र प्रहरीधरहरा पत्रिका दिए। ओपोकुलाई उक्त पत्रिकाको एउटा लेख मन त पऱ्यो तर तिनीसित पैसै थिएन। कुनै मूल्य लाग्दैन भनेर बताइसकेपछि अग्रगामीले तिनलाई पत्रिका दिए र तिनीसित फेरि भेट्ने प्रबन्ध मिलाए। पुनःभेटको दौडान ओपोकुले अग्रगामीलाई सोधे: “तपाईं मलाई चिन्नुहुन्छ? हार्पर सहरमा बस्ने तपाईंका प्रायजसो मानिसहरूले मलाई चिन्छन्। म तपाईंहरूका छोराछोरीलाई स्कूलबाट निकालिदिन्थें!” यसो भनिसकेपछि तिनले आफू उक्त सहरको उच्च माध्यामिक विद्यालयका प्रिन्सिपल भएको र झण्डा सलामी नगरेको कारण तिनले यहोवाका साक्षीहरूका छोराछोरीलाई सताउनुसम्म सताएको कुरा खुलासा गरे।
तथापि, यहोवाका साक्षीहरूले प्रदर्शित गरेका मसीही प्रेमका तीनवटा उदाहरणले ओपोकुलाई आफ्नो मनोवृत्ति पुनः जाँचेर हेर्न बाध्य तुल्यायो। पहिलो, साक्षीहरूले सिकिस्त बिरामी परेका एक जना आध्यात्मिक भाइको राम्रो हेरविचार गरेको तिनले देखे। उनीहरूले छिमेकी देशमा तिनको उपचार गर्ने प्रबन्धसमेत मिलाए। ओपोकुले ती बिरामी भाइ साक्षीहरूमध्ये निकै “विशिष्ट व्यक्ति” होलान् भन्ठानेका थिए तर त्यसो नभई तिनी एक साधारण साक्षी रहेछन् भन्ने कुरा तिनले थाह पाए। दोस्रो, १९९० दशकको दौडान, ओपोकु कोट डे’भ्वामा शरणार्थी थिए। एक दिनको कुरा हो, साह्रै तिर्खा लागेको कारण तिनी एक जना जवान मानिसकहाँ पानी किन्न गए। ओपोकुसित चानचुन पैसा थिएन र त्यस जवान मानिससित पनि फर्काउने पैसा नभएको कारण तिनले ओपोकुलाई सित्तैमा पानी दिए। ओपोकुलाई पानी दिने क्रममा जवान मानिसले यस्तो प्रश्न सोधे: “के तपाईंलाई हामीजस्ता मानिसहरूले एक-अर्कालाई खानेकुराहरू सित्तैमा दिने समय आउला जस्तो लाग्छ?” ओपोकुले ती जवान मानिस पक्कै पनि यहोवाको साक्षी हुनुपर्छ भन्ने लख काटे र नभन्दै तिनी एक साक्षी नै रहेछन्। यस भाइको उदारता अनि दयाले तिनलाई निकै प्रभाव पाऱ्यो। अन्तिम हो, तिनलाई सित्तैमा पत्रिका दिने विशेष अग्रगामीको इच्छुकताले ओपोकुलाई साक्षीहरूप्रति तिनको दृष्टिकोण गलत रहेछ र आफ्नो मनोवृत्ति परिवर्तन गर्नु आवश्यक छ भनेर विश्वस्त गरायो। तिनले आध्यात्मिक प्रगति गरे र अहिले त तिनी बप्तिस्मा अप्राप्त प्रकाशक भइसकेका छन्।
लाइबेरियाका भाइहरूले अत्यन्तै कठिन अवस्थाहरूको सामना गरिरहनुपरे तापनि उनीहरू परमेश्वरमाथि भरोसा राख्छन् र परमेश्वरको राज्यको धार्मिक शासनअन्तर्गत हुने उत्तम समयबारे विश्वासीपूर्वक सुसमाचार घोषणा गरिरहन्छन्। उनीहरूको कडा मेहनत र उहाँको नाउँतर्फ उनीहरूले देखाएको प्रेम यहोवाले कहिल्यै बिर्सनुहुनेछैन।—हिब्रू ६:१०.
[पृष्ठ ३०-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
मोनरोभिया
[पृष्ठ ३१-मा भएका चित्रहरू]
सङ्कटकालीन समयमा, यहोवाका जनहरूले खाँचोमा परेकाहरूलाई आध्यात्मिक तथा शारीरिक सहायता प्रदान गर्छन्