सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साना त्यागहरू गर्दा हामीले ठूला आशिष्‌हरू पायौं

साना त्यागहरू गर्दा हामीले ठूला आशिष्‌हरू पायौं

जीवनी

साना त्यागहरू गर्दा हामीले ठूला आशिष्‌हरू पायौं

जर्ज र एन एल्जियनको वृत्तान्तमा आधारित

मेरी पत्नी र मैले, कुनै दिन “शिक्षक” र “मुसा” शब्दबीच गोलमाल गर्नेछौं भनेर सपनामा समेत कहिल्यै सोचेका थिएनौं। हामी दुवै ६० वर्ष काटिसकेको उमेरमा सुदूर पूर्वका मानिसहरूसित कुराकानी गर्ने प्रयासमा अनौठा लिपिहरूको सहायता लिनेछौं भनेर सोचेका समेत थिएनौं। यद्यपि, सन्‌ १९८० दशकको अन्ततिर एन र मैले यस्तै गऱ्‍यौं। वर्षौंको दौडान हामीले गरेका साना त्यागहरूले गर्दा जीवनमा ठूला आशिष्‌हरू कसरी पायौं भन्‍ने कुरा तपाईंहरूलाई सुनाउन चाहन्छौं।

मेरो परिवार आरमेनियाली मूलको थियो र म आरमेनियन चर्चको सदस्य थिएँ। एन रोमन क्याथोलिक थिइन्‌। हामी दुवैले आफ्ना धार्मिक विश्‍वासहरूमा सम्झौता गरेर १९५० मा विवाह गऱ्‍यौं। म २७ वर्षको थिएँ र एन २४ वर्षकी। हामी स.रा.अ.-को न्यु जर्सीमा रहेको जर्सी सिटीको मेरो ड्राइ-क्लिनिङ पसलमाथिको डेरामा बस्न थाल्यौं। यतिन्जेलसम्म मैले यो व्यापार सँभालेको चार वर्ष जति भइसकेको थियो।

सन्‌ १९५५ मा हामीले न्यु जर्सीको मिडलटाउनमा तीनवटा सुत्ने कोठा भएको राम्रो घर किन्यौं। त्यो घर मेरो काम गर्ने ठाउँभन्दा लगभग ६० किलोमिटर पर थियो अनि म हप्तामा छ दिन काम गर्थें। म हरेक रात ढिलो घर फर्कन्थें। यहोवाका साक्षीहरूसित मेरो सम्पर्क भनेको नै तिनीहरू मेरो पसलमा कहिलेकाहीं आउँदा हुन्थ्यो र तिनीहरू मलाई केही बाइबल साहित्यहरू छोडेर जान्थे। मैले यी साहित्यहरू निकै चासो लिएर पढ्‌थें। मैले आफ्नो व्यापारमा निकै समय र ध्यान दिनुपर्ने भए तापनि बाइबलप्रति मेरो गहिरो आदर विकास हुन थाल्यो।

म गाडी चढेर पसलमा जाने र आउने समयमा वाचटावर रेडियो स्टेशन, डब्ल्यु बी बी आर-ले बाइबल भाषणहरू प्रसारण गर्दो रहेछ भनेर मैले थाह पाएँ। म ध्यान दिएर यी भाषणहरू सुन्थें अनि मलाई निकै चासो लागेको हुँदा एक जना साक्षीलाई मकहाँ आउन आग्रह गरें। नोभेम्बर १९५७ मा जर्ज ब्लान्टन मेरो घरमा आए र मसित बाइबल अध्ययन गर्न थाले।

हाम्रो परिवार शुद्ध उपासनामा एकताबद्ध हुन्छ

एनलाई यसबारे कस्तो लाग्यो? आउनुहोस्‌, एनबाटै सुनौं।

“सुरुमा त मैले असाध्यै विरोध गरें। जर्जले बाइबल अध्यन गरिरहेको बेला मैले असाध्यै डिस्टर्ब गरिरहने हुँदा उहाँले अर्कै ठाउँमा अध्ययन गर्ने निर्णय गर्नुभयो र आठ महिनासम्म यो प्रक्रिया चल्यो। त्यतिबेला, राज्यभवनमा हुने आइतबारको सभाहरूमा जर्ज उपस्थित हुन थाल्नुभयो। उहाँले आफ्नो बाइबल अध्ययनलाई गम्भीरतापूर्वक लिइरहनुभएको छ भनेर मलाई थाह थियो किनभने यो मात्र उहाँको बिदाको दिन थियो। तैपनि, उहाँ असल पति र बुबा भइरहनुभयो—र अझै राम्रो हुनुभयो अनि मेरो मनोवृत्ति परिवर्तन हुन थाल्यो। वास्तवमा भन्‍ने हो भने, कसैले नदेखेको बेला, जर्जले कफी टेबलमा छोड्‌नुभएको ब्यूँझनुहोस्‌! लिएर म पढ्‌ने गर्थें। अरू बेला भने, जर्जले प्रत्यक्षतः कुनै धर्मसिद्धान्तसित सम्बन्ध नभएको तर सृष्टिकर्ताबारे प्रकाश पार्ने ब्यूँझनुहोस्‌!-का लेखहरू मलाई पढेर सुनाउनुहुन्थ्यो।

“एउटा साँझ, जर्ज, भाइ ब्लान्टसित बाइबल अध्ययन गर्न जानुभएको बेला पलङको छेउको टेबलमा राखेको प्रकाशनले मेरो ध्यान खिच्यो जुन पुस्तक हाम्रो दुई वर्षीय छोरो, जर्जले राखेको रहेछ। यसमा मरेकाहरूका लागि आशाबारे केही लेखिएको थियो। मलाई असाध्यै थकाइ लागेको भए तापनि मैले पढ्‌न थालें किनभने मेरी हजुरआमा भर्खरै बित्नुभएको थियो र म अत्यन्तै निराश भएकी थिएँ। मृतकहरू कतै तड्‌पिरहेका छैनन्‌ र तिनीहरूले भावी पुनरुत्थानमा जीवन प्राप्त गर्नेछन्‌ भन्‍ने बाइबल सत्य मैले तुरुन्तै बुझिहालें। म त अब पलङमा टाठो भएर बसिसकेकी थिएँ र उत्सुकतापूर्वक अध्ययन गर्नुका साथै बाइबल अध्ययनबाट फर्केपछि जर्जलाई देखाउनको लागि कुनै-कुनै बुँदामा चिह्न लगाइरहेकी थिएँ।

“मेरो श्रीमान्‌ले त मैले यस्तो गरें हुँला भनेर पत्याउनै सक्नुभएन। उहाँ घरबाट बाहिर जानुहुँदासम्म म विरोध गर्दै थिएँ भने अहिले भर्खरै आफूले सिकेको अद्‌भुत बाइबल सत्यले गर्दा खुसीले मेरो खुट्टा भुइँमै थिएन! मध्यरात कटुन्जेलसम्म हामीले बाइबलबारे कुरा गरिरह्‍यौं। जर्जले पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍यबारे बताउनुभयो। उहाँले घरैमा बाइबल अध्ययन गर्नुभए कसो होला भनेर मैले त्यही रात सोधें ताकि म पनि भाग लिन सक्थें।

“भाइ ब्लान्टनले बच्चाहरूलाई पनि अध्ययनमा राख्ने सुझाव दिनुभयो। भर्खर दुई र चार वर्षको भएको हुँदा हामीलाई तिनीहरू सानै छन्‌ जस्तो लाग्यो। तथापि, भाइ ब्लान्टनले हामीलाई व्यवस्था ३१:१२ देखाउनुभयो, जहाँ यसो भनिएको छ: ‘पुरुष, स्त्री, बालक र . . . सबैलाई भेला गर—र तिनीहरूले सुन्‍न र सिक्न सकून्‌।’ हामीले यो निर्देशनको मूल्याङ्‌कन गऱ्‍यौं र बाइबल अध्ययनको दौडान छोराहरूलाई पनि टिप्पणी गर्न लगाउने प्रबन्ध मिलायौं। हामी सँगै टिप्पणीहरू तयार गर्थ्यौं तर के भन्‍ने भनेर तिनीहरूलाई कहिल्यै सिकाएनौं। हामीलाई लाग्छ, यसले गर्दा हाम्रा छोराहरूले सत्यलाई आफ्नो बनाउने मदत पाए। हाम्रो परिवारलाई आध्यात्मिक तवरमा बढ्‌न भाइ ब्लान्टनले दिनुभएको डोऱ्‍याइको लागि हामी सदा कृतज्ञ रहनेछौं।”

त्याग गर्नुपर्ने चुनौतीहरू

अब हामी बाइबल अध्ययन गर्न एकताबद्ध भयौं तर नयाँ चुनौतीहरूको सामना गर्नुपऱ्‍यो। मेरो पसल टाढा भएकोले म प्रायजसो घर पुग्दा रातको नौ बजिसकेको हुन्थ्यो। यसकारणले म आइतबारको दिन हुने सभाबाहेक हप्ताको दौडान हुने अरू सभाहरूमा उपस्थित हुन सकिनँ। त्यतिन्जेल, एन सबै सभाहरूमा उपस्थित हुन थालिसकेकी थिइन्‌ र छिट्टै प्रगति गर्दै थिइन्‌। म पनि सबै सभाहरूमा उपस्थित हुनुका साथै अर्थपूर्ण पारिवारिक अध्ययन गर्न चाहन्थें। मैले केही त्यागहरू गर्नुपर्छ भनेर मलाई थाह थियो। त्यसकारण मैले आफ्नो व्यापारमा बिताउने घण्टा कम गर्ने निर्णय गरें तर यसो गर्दा मैले केही ग्राहकहरू गुमाउनुपर्ने खतरा बेहोर्नुपर्थ्यो।

तर राम्रै भयो। हामीले हाम्रो पारिवारिक अध्ययनलाई राज्यभवनमा हुने पाँचवटा साप्ताहिक सभा जत्तिकै महत्त्वपूर्ण ठान्थ्यौं। यसलाई हामी हाम्रो छैटौं सभा भन्थ्यौं। त्यसको मतलब, छुट्टै दिन र समय छुट्याउनुपर्ने थियो—हरेक हप्ता बुधबारको दिन राति ८:०० बजे। कहिलेकाहीं बेलुकाको खाना खाइसकेपछि भाँडाहरू माझेर ठाउँठाउँमा राख्दै गर्दा हामीमध्ये एक जनाले भन्‍ने गर्थ्यौं, “हाम्रो ‘सभाको’ समय हुनै लाग्यो!” म पुग्न ढिलो भएमा एनले सभा सुरु गर्थिन्‌ र म पुग्ने बित्तिकै मैले नै सञ्चालन गर्थें।

हाम्रो परिवारलाई बलियो अनि एकताबद्ध बनाएको अर्को कुरा, बिहान सँगै बसेर गरिने दैनिक पदको छलफल थियो। तथापि, यसको प्रबन्ध मिलाउन समस्या पऱ्‍यो। सबै जना बेग्लाबेग्लै समयमा उठ्‌थे। हामीले यसबारे छलफल गऱ्‍यौं अनि हामी सबै सँगसँगै उठ्‌ने, बिहान ६:३० मा चिया-नास्ता गर्ने अनि सँगै दैनिक पद छलफल गर्ने निर्णय गऱ्‍यौं। यो हाम्रो लागि लाभदायक साबित भयो। हाम्रा छोराहरू हुर्केपछि तिनीहरूले बेथेल सेवा गर्ने निर्णय गरे। हामीलाई यी दैनिक छलफलहरूले तिनीहरूको आध्यात्मिकतामा मदत पुऱ्‍यायो जस्तो लाग्यो।

बप्तिस्मापछिका सुअवसरहरूको कारण अझ ठूलो त्याग गर्नुपऱ्‍यो

मैले १९६२ मा बप्तिस्मा लिएँ अनि आफूले २१ वर्षसम्म चलाएको व्यापार बेचें र नजिकै एउटा ठाउँमा जागिर खाएँ किनभने यसो गर्दा म परिवारसित नजिक हुन सक्थें अनि हामी एकसाथ मिलेर यहोवाको सेवा गर्न सक्थ्यौं। यसले गर्दा थुप्रै आशिष्‌हरूको ढोका खुल्यो। हामी सबैले पूर्ण-समय सेवकाई गर्ने लक्ष्य राख्यौं। यो १९७० दशकको सुरुतिरको कुरा हो जब हाम्रो जेठो छोरा, एडवर्ड हाई-स्कूलको पढाइ सिद्धिने बित्तिकै पूर्ण-समय सेवक वा नियमित अग्रगामी भयो। त्यसको अलिक समयपछि हाम्रो कान्छो छोरा, जर्जले अग्रगामी गर्न थाल्यो र एनले पनि लगत्तै सुरु गरिन्‌। तिनीहरू तीनै जनाले गर्दा म असाध्यै प्रोत्साहित भएँ किनभने तिनीहरूले क्षेत्र सेवकाईमा बटुलेका अनुभवहरू मलाई सुनाउँथे। हामी सबै जनाले पूर्ण-समय सेवकाई गर्न सकौं भनेर हामीले आफ्नो जीवन सरल बनाउनेबारे स-परिवार छलफल गऱ्‍यौं। हामीले घर बेच्ने निर्णय गऱ्‍यौं। हामी यो घरमा बसेको १८ वर्ष भइसकेको थियो अनि यहीं नै हामीले आफ्नो परिवार बसालेका थियौं। हामीलाई यो घर असाध्यै प्यारो लाग्थ्यो तर घर बेच्ने हाम्रो निर्णयमाथि यहोवाले आशिष्‌ दिनुभयो।

एडवर्डले १९७२ मा र जर्जले १९७४ मा बेथेल आउने निमन्त्रणा पाए। एन र मैले तिनीहरू नहुँदा असाध्यै खल्लो महसुस गरे तापनि तिनीहरू हामीसँगै बसेर, विवाह गरेर बालबच्चा पाएका भए हुन्थ्यो भनेर सोचिरहेनौं। बरु, हाम्रा छोराहरूले बेथेलमा सेवा गरिरहेकोमा हामी रमायौं। a हामी हितोपदेश २३:१५ सित सहमत छौं, जहाँ यसो भनिएको छ: “हे मेरो छोरो, तँ बुद्धिमानी छस्‌ भने मेरो मन पनि खुशी हुनेछ।”

हामी विशेष अग्रगामी सेवामा प्रवेश गर्छौं

हाम्रा दुवै छोरा बेथेलमा भएको हुँदा हामीले अग्रगामी गरिरह्‍यौं। अनि १९७५ को कुरा हो, अचानक एक दिन हामीले इलिनोइको क्लिन्टन काउन्टीको एउटा इलाकामा विशेष अग्रगामी गर्न निम्तो दिइएको पत्र पायौं र त्यो इलाकामा कसैलाई खटाइएको थिएन। हामी कत्ति छक्क पऱ्‍यौं! यसको मतलब, हामीले न्यु जर्सी छोड्‌नुपर्ने भयो जहाँ छँदा हामी न्यु योर्कमा रहेका छोराहरूसित नजिक थियौं र हाम्रा साथीभाइ तथा नातेदारहरू पनि त्यहीं थिए। तथापि, हामीले यसलाई यहोवाबाट आएको जिम्मेवारी ठान्यौं अनि हामीले गरेको त्यागको फलस्वरूप नयाँ आशिष्‌हरू पायौं।

कसैलाई नखटाइएको त्यस इलाकामा केही महिना काम गरिसकेपछि हामीले इलिनोइको कार्लिलमा रहेको एउटा हलमा सभाहरू गर्न थाल्यौं। तर हामी भेला हुनको लागि स्थायी ठाउँ चाहन्थ्यौं। एक जना स्थानीय भाइ र तिनकी पत्नीले एउटा सानो घर भएको जग्गा भेट्टाए र त्यो ठाउँ हामीले भाडामा लियौं। हामीले यसको भित्र बाहिर सबै सफा गऱ्‍यौं अनि यसलाई एउटा सानो सभा थलोमा परिणत गऱ्‍यौं। हाम्रो गतिविधिप्रति निकै उत्सुक भएर हेर्ने घोडा हामीले बिर्सेका छैनौं। त्यसले प्रायजसो भित्र के भइरहेको छ भनी हेर्न झ्यालबाट आफ्नो टाउको घुसाएर चियाउँथ्यो!

समयमा, कार्लिल मण्डली स्थापना भयो अनि यसमा हामीले पनि भाग लिन पाएकोमा खुसी थियौं। हामीलाई एउटा जवान अग्रगामी दम्पती, स्टिभ र क्यारिल थम्पसनले सघाए, तिनीहरू पनि कसैलाई नखटाएको त्यही इलाकामा सेवा गर्न आएका थिए। ती थम्पसन दम्पती त्यहाँ निकै वर्षसम्म बसे, पछि वाचटावर बाइबल स्कूल अफ गिलियडमा भाग लिए र पूर्वी अफ्रिकाको मिसनरी कार्यमा खटिए जहाँ तिनीहरू परिभ्रमण कार्य गर्दै छन्‌।

चाँडै हाम्रो सानो सभा थलो भरिएर खचाखच हुन थाल्यो अनि हामीलाई ठूलो हलको खाँचो भयो। पहिला सघाउने स्थानीय भाइ र बहिनीले नै हामीलाई फेरि सघाए र हामीले राज्यभवनको लागि उपयुक्‍त जग्गा किन्‍न सक्यौं। त्यसको केही वर्षपछि कार्लिलमा निर्माण गरिएको नयाँ राज्यभवनको समर्पण कार्यक्रममा निमन्त्रणा पाउँदा हामी कत्ति खुसी भयौं! मैले समर्पण भाषण दिने सुअवसर पाएँ। त्यहाँ हाम्रो जिम्मेवारी एउटा अद्‌भुत अनुभव अर्थात्‌ यहोवाको आशिष्‌ थियो।

हाम्रो लागि नयाँ क्षेत्र खुला हुन्छ

सन्‌ १९७९ मा हामीले न्यु जर्सीको ह्‍यारिसनमा सेवा गर्ने नयाँ जिम्मेवारी पायौं। हामीले त्यहाँ १२ वर्ष सेवा गऱ्‍यौं। त्यहाँ छँदा हामीले एक जना चिनियाँ महिलासित बाइबल अध्ययन सुरु गऱ्‍यौं अनि यसले गर्दा अरू थुप्रै चिनियाँहरूसित अध्ययन गर्ने ढोका खुल्यो। यसैको दौडान हामीले आफ्नो इलाकामा हजारौं चिनियाँ विद्यार्थी तथा परिवारहरू बस्दा रहेछन्‌ भन्‍ने कुरा थाह पायौं। यसले गर्दा हामी चिनियाँ भाषा सिक्न प्रोत्साहित भयौं। यसो गर्न हामीले हरेक दिन भाषा सिक्न निकै समय बिताउनुपरे तापनि हाम्रो इलाकाका चिनियाँहरूसित थुप्रै रमाइला रमाइला बाइबल अध्ययनहरू गर्न सक्यौं।

ती वर्षहरूको दौडान एकदमै हाँसउठ्‌दा अनुभवहरू पनि भए विशेषगरी हामीले चिनियाँ भाषा बोल्ने प्रयास गर्दा। एक दिन एनले आफूलाई बाइबल “शिक्षक” भन्‍नुको साटो बाइबल “मुसा” भनेर परिचय दिइन्‌। यी शब्दहरू उस्तै-उस्तै छन्‌। घरधनीले हाँस्दै भनिन्‌: “कृपया भित्र आउनुहोस्‌। मैले बाइबल मुसासित पहिले कहिल्यै कुरा गरेकी छैनँ।” हामी अझै पनि भाषा सिक्न प्रयास गर्दैछौं।

त्यसपछि हामीलाई न्यु जर्सीको अर्को इलाकामा खटाइयो र त्यहाँ चिनियाँ क्षेत्रमै काम गरिरहन सक्यौं। पछि हामीलाई बस्टन, म्यासाच्युसेट्‌समा सर्ने आग्रह गरियो र त्यहाँ एउटा चिनियाँ समूह बन्‍न थालेको लगभग तीन वर्ष भइसकेको थियो। हामीले गत सात वर्षदेखि यो समूहलाई समर्थन गर्ने सुअवसर पाएका छौं अनि जनवरी १, २००३ मा यसले मण्डलीको रूप लिएको हेर्ने आनन्द महसुस गऱ्‍यौं।

आत्मत्यागको जीवनबाट प्राप्त आशिष्‌हरू

मलाकी ३:१० मा यहोवाले आफ्ना जनहरूलाई भेटी तथा बलिदानहरू ल्याऊ भनी आग्रह गर्नुभएको छ जसमाथि उहाँले अटाउने ठाउँ पनि नहुने सम्मका आशिष्‌ वर्षाउनुहुने थियो। मलाई एकदमै मन परेको व्यापार हामीले त्याग्यौं। हामीलाई असाध्यै मन परेको घर बेच्यौं। अनि हामीले अरू कुराहरू पनि त्याग्यौं। यद्यपि, आशिष्‌हरूको तुलनामा ती त्यागहरू साना थिए।

निस्सन्देह, यहोवाले हामीलाई साँच्चै प्रचुर आशिष्‌हरू वर्षाउनुभएको छ! हामीले आफ्ना छोराहरूले सत्य स्वीकारेको सन्तुष्टि, जीवनदायी सेवकाईमा पूर्ण-समय भाग लिएको अनि यहोवाले हाम्रो हेरचाह गर्नुभएको आनन्द देख्न पाएका छौं। साँच्चै, हाम्रा साना त्यागहरूले गर्दा हामीले ठूला आशिष्‌हरू पायौं!

[फुटनोट]

a तिनीहरूले अझै पनि विश्‍वासीपूर्वक बेथेलमा सेवा गरिरहेका छन्‌—एडवर्ड र तिनकी पत्नी कनी, प्याटर्सनमा अनि जर्ज र तिनकी पत्नी ग्रेस, ब्रूक्लिनमा।

[पृष्ठ २५-मा भएको चित्र]

लुइज र जर्ज ब्लान्टन, एनसित १९९१ मा

[पृष्ठ २६मा भएको चित्र]

कार्लिलको राज्यभवन, जून ४, १९८३ मा समर्पित

[पृष्ठ २७-मा भएको चित्र]

बस्टनमा हालै स्थापना भएको चिनियाँ मण्डलीसित

[पृष्ठ २८-मा भएको चित्र]

एडवर्ड, कनी, जर्ज र ग्रेससित