सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरका जनहरूले दयालाई प्रेम गर्नै पर्छ

परमेश्‍वरका जनहरूले दयालाई प्रेम गर्नै पर्छ

परमेश्‍वरका जनहरूले दयालाई प्रेम गर्नै पर्छ

“परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू [ “दयालाई प्रेम गर्नू,” Nw], र तेरा परमेश्‍वरसित नम्र भएर हिंड़नू।”—मीका ६:८.

१, २. (क) यहोवाले आफ्ना जनहरूले दया देखाएको आशा गर्नु किन छक्कलाग्दो कुरा होइन? (ख) दयासम्बन्धी कस्ता प्रश्‍नहरू हामीले विचार गर्नु उपयुक्‍त छ?

 यहोवा, दयाको परमेश्‍वर हुनुहुन्छ। (रोमी २:४; ११:२२) परमेश्‍वरको दयाको लागि प्रथम दम्पती, आदम र हव्वा कत्ति कृतज्ञ थिए होलान्‌! अदनको बगैंचामा तिनीहरूको चारैतिर भएको सृष्टिले मानवहरूप्रति परमेश्‍वरको दयाको प्रमाण दिन्थ्यो र तिनीहरूले यसको आनन्द उठाउन सक्थे। अनि परमेश्‍वरले बैगुनी तथा दुष्ट मानिसहरूप्रति समेत दया देखाउन छोड्‌नुभएको छैन।

मानिसहरूलाई परमेश्‍वरको स्वरूपमा बनाइएको हुँदा तिनीहरूसित ईश्‍वरीय गुणहरू देखाउने क्षमता छ। (उत्पत्ति १:२६) त्यसैकारण हामीले दया देखाएको यहोवाले आशा गर्नु कुनै छक्कलाग्दो कुरा होइन। मीका ६:८ ले उल्लेख गरेझैं, परमेश्‍वरका जनहरूले “दयालाई प्रेम” गर्नै पर्छ। तर दया भनेको के हो? यो अरू ईश्‍वरीय गुणहरूसित कसरी सम्बन्धित छ? मानिसहरूसित दया देखाउने क्षमता छ तर पनि यो संसार किन यत्तिको क्रूर र कठोर भएको? मसीहीहरूको हैसियतमा हामीले किन अरूसित व्यवहार गर्दा दया देखाउने प्रयास गर्नुपर्छ?

दया भनेको के हो?

३. तपाईं दयाको परिभाषा कसरी दिनुहुन्छ?

दया देखाउनु भनेको अरूको हितमा सक्रिय चासो राख्नु हो। यसलाई मदतकारी काम तथा विचारशील शब्दहरूद्वारा देखाइन्छ। दयालु हुनु भनेको कुनै हानिकारक कुरा गर्नुको सट्टा भलाइ गर्नु हो। दयालु व्यक्‍ति मित्रैलो, भलादमी, सहानुभूतिशील र भद्र हुन्छ। उसले अरूप्रति उदार र विचारशील मनोवृत्ति राख्छ। प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” (कलस्सी ३:१२) त्यसकारण दया भनेको प्रत्येक साँचो मसीहीको लाक्षणिक पहिरनको एउटा भाग हो।

४. मानिसजातिलाई दया देखाउन यहोवा कसरी अग्रसर हुनुभएको छ?

यहोवा परमेश्‍वर दया देखाउन अग्रसर हुनुभएको छ। पावलले भनेझैं “जब परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको दया र मानिसप्रति उहाँको प्रेम प्रकट भयो” तब “नयाँ सृष्टिको स्नान र पवित्र आत्माद्वाराको पुनर्जीवनलेनै उहाँले हाम्रो उद्धार गर्नुभयो।” (तीतस ३:४, ५) परमेश्‍वरले अभिषिक्‍त मसीहीहरूलाई तिनीहरूको खातिर ख्रीष्टको छुडौतीको बलिदानको आधारमा येशूको रगतले “स्नान” गराउनुहुन्छ वा पखाल्नुहुन्छ। तिनीहरू पवित्र आत्माद्वारा नयाँ बनाइन्छन्‌ अनि परमेश्‍वरका आत्मा-अभिषिक्‍त पुत्रहरूको हैसियतमा “नयाँ सृष्टि” हुन्छन्‌। (२ कोरिन्थी ५:१७) यसबाहेक, परमेश्‍वरको दया र प्रेमबाट “ठूलो भीड़[ले]” पनि लाभ उठाउँछन्‌ जसले “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।”—प्रकाश ७:९, १४; १ यूहन्‍ना २:१, २.

५. परमेश्‍वरको आत्माबाट डोऱ्‍याइएकाहरूले किन दया देखाउनुपर्छ?

दया भनेको परमेश्‍वरको पवित्र आत्मा वा सक्रिय शक्‍तिको एउटा फल पनि हो। पावलले यसो भने: “आत्माको फल चाहिं—प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम हुन्‌, यस्ताका विरुद्धमा कुनै व्यवस्था छैन।” (गलाती ५:२२, २३) त्यसोभए, के परमेश्‍वरको आत्माबाट डोऱ्‍याइएकाहरूले अरूप्रति दया देखाउनुपर्दैन र?

साँचो दया कमजोरी होइन

६. दया कहिले कमजोरी हुन्छ र किन?

कोही-कोही मानिसहरू दयालाई कमजोरी ठान्छन्‌। तिनीहरू अरूलाई आफ्नो बल देखाउन मानिस कडा हुनुपर्छ अनि कहिलेकाहीं छुच्चोसमेत हुनुपर्छ भन्ठान्छन्‌। तर वास्तवमा साँच्चै दयालु हुन तथा झूटो दया नदेखाउन निकै साहस चाहिन्छ। साँचो दया परमेश्‍वरको आत्माको फल भएको हुँदा यो गलत आचरणप्रति फितलो, सम्झौता गर्ने मनोवृत्तिको हुन सक्दैन। अर्कोतर्फ, झूटो दया भनेको गलत कामलाई समर्थन गर्दा प्रकट हुने कमजोरी हो।

७. (क) एलीले कसरी हेलचेक्य्राइँ गरे? (ख) झूटो दया देखाउनदेखि प्राचीनहरू किन सतर्क हुनुपर्छ?

उदाहरणका लागि, इस्राएलका प्रधान पूजाहारी एलीलाई लिनुहोस्‌। तिनले पालमा पूजाहारीको रूपमा सेवा गर्ने आफ्ना छोराहरू, होप्नी र पीनहासलाई अनुशासन दिन हेलचेक्य्राइँ गरे। परमेश्‍वरको व्यवस्थाले तिनीहरूको निम्ति छुट्याएको बलिदानको भागमा मात्र चित्त नबुझाई तिनीहरूले एक जना सेवकलाई पठाएर बलिदान चढाउन आएका मानिससित बोसो जलाउनुअघि नै मासु मागे। एलीका छोराहरूले पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग अनैतिक यौन सम्बन्ध पनि राखे। तथापि, एलीले होप्नी र पीनहासलाई तिनीहरूको सेवाबाट हटाउनुको साटो हल्का हप्की मात्र दिए। (१ शमूएल २:१२-२९) त्यसैकारण ‘त्यस बेला परमप्रभुको वचन विरलै सुनिनु’ कुनै अचम्मको कुरा थिएन! (१ शमूएल ३:१) गलत काम गरेर मण्डलीको आध्यात्मिकतालाई खतरामा पार्न सक्ने व्यक्‍तिहरूप्रति झूटो दया नदेखाउन मसीही प्राचीनहरू होसियार हुनुपर्छ। साँचो दयाले परमेश्‍वरका स्तरहरूलाई तोड्‌ने खराब बोली तथा कामहरूप्रति आँखा चिम्लँदैन।

८. येशूले साँचो दया कसरी देखाउनुभयो?

हाम्रो उदाहरण येशू ख्रीष्टलाई झूटो दया देखाएको दोष कहिल्यै लगाइएन। उहाँ साँचो दयाको मूर्त रूप हुनुहुन्थ्यो। उदाहरणका लागि, उहाँले ‘मानिसहरूप्रति कोमल स्नेह महसुस गर्नुभयो किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।’ इमानदार हृदय भएका मानिसहरू निसङ्‌कोच येशूकहाँ आए अनि आफ्ना ससाना केटाकेटीहरू समेत ल्याए। “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद” दिनुहुँदा उहाँले देखाउनुभएको दया र अनुकम्पाबारे सोच्नुहोस्‌। (मत्ती ९:३६; मर्कूस १०:१३-१६) येशू दयालु हुनुभए तापनि स्वर्गमा हुनुहुने आफ्नो पिताको नजरमा सही कुराको लागि उहाँ दृढ हुनुहुन्थ्यो। येशूले दुष्टतालाई कहिल्यै समर्थन गर्नुभएन; उहाँसित कपटी धार्मिक नेताहरूको भर्त्सना गर्ने ईश्‍वरप्रदत्त शक्‍ति थियो। मत्ती २३:१३-२६ मा बताइएझैं उहाँले धेरै चोटि यस्तो घोषणा गर्नुभयो: “धिक्कार, तिमीहरूलाई, शास्त्री र फरिसी हो, कपटीहरू!”

दया तथा अन्य ईश्‍वरीय गुणहरू

९. दया कसरी धीरज र भलाइसित सम्बन्धित छ?

दया र परमेश्‍वरको आत्माले पैदा गर्ने अन्य गुणहरूबीच सम्बन्ध छ। दयालाई “धीरज” र “भलाइ[को]” बीचमा उल्लेख गरिएको छ। निस्सन्देह, दया खेती गर्ने व्यक्‍तिले धीरजी भएर त्यो गुण देखाउँछ। ऊ निर्दयी व्यक्‍तिसित पनि धीरजी हुन्छ। दयाको सम्बन्ध भलाइसित छ किनभने अरूको हितको लागि गरिने मदतकारी काममा अक्सर दया झल्कन्छ। कहिलेकाहीं बाइबलमा “दया” अर्थ बुझाउन प्रयोग गरिने युनानी शब्दलाई “भलाइ” भनेर अनुवाद गर्न सकिन्छ। प्रारम्भिक मसीहीहरूमाझ यो गुण देखेर गैरमसीहीहरू यति छक्क परे कि टर्टुलियनले येशूका ती अनुयायीहरूलाई ‘दयाले भरिपूर्ण मानिसहरू’ भने।

१०. दया र प्रेमबीच कस्तो सम्बन्ध छ?

१० दया र प्रेमबीच सम्बन्ध छ। आफ्ना अनुयायीहरूबारे येशूले यसो भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) अनि यो प्रेमबारे पावलले यसो भने: “प्रेम धीरजी र दयालु हुन्छ।” (१ कोरिन्थी १३:४) दयाको सम्बन्ध “वफादार प्रेम[सित]” पनि छ र यो अर्थ बुझाउने अभिव्यक्‍ति न्यु वर्ल्ड ट्रान्सलेसन-मा धेरै चोटि प्रयोग गरिएको छ। “वफादार प्रेम” भनी अनुवाद गरिएको हिब्रू संज्ञालाई कुनै वस्तुसित मायालु सम्बन्ध गाँसेर त्यससित सम्बन्धित उद्देश्‍य पूरा नहोउन्जेल रहिरहने प्रेम भनी परिभाषित गर्न सकिन्छ। यहोवाको करुणा वा वफादार प्रेम विभिन्‍न तरिकामा देखिन्छ। उदाहरणका लागि, उहाँले छुटकारा तथा सुरक्षा दिनुहुने कामहरूमा यो देखिन्छ।—भजन ६:४; ४०:११; १४३:१२.

११. परमेश्‍वरको करुणाले हामीलाई कस्तो आश्‍वासन दिन्छ?

११ यहोवाको करुणाले मानिसहरूलाई उहाँतर्फ आकर्षित गर्छ। (यर्मिया ३१:३) परमेश्‍वरका विश्‍वासी जनहरूलाई छुटकारा वा मदत चाहिंदा उहाँको करुणा नै वफादार प्रेम हो भनेर तिनीहरूलाई थाह छ। त्यसले धोका दिनेछैन भनेर तिनीहरूलाई थाह छ। त्यसैले, तिनीहरू विश्‍वस्त भई भजन रचयिताले जस्तै यसरी प्रार्थना गर्न सक्छन्‌: “मैले ता तपाईंको करुणामा भरोसा गरेको छु, तपाईंले गर्नुहुने उद्धारमा मेरो हृदय रमाउनेछ।” (भजन १३:५) परमेश्‍वरको प्रेम वफादार भएकोले उहाँका सेवकहरूले उहाँमा पूर्ण भरोसा राख्न सक्छन्‌। तिनीहरूले उहाँको यस्तो आश्‍वासन पाएका छन्‌: “परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन्‌, नता उहाँले आफ्ना निज भागलाई त्याग्नुहुनेछ।”—भजन ९४:१४.

यो संसार किन यत्तिको क्रूर छ?

१२. अत्याचारी शासनको सुरुवात कहिले र कसरी भयो?

१२ यो प्रश्‍नको जवाफ, अदनको बगैंचामा भएको घटनासित सम्बन्धित छ। मानव इतिहासको सुरुतिरैको कुरा हो, स्वार्थी र अहङ्‌कारी भएको एउटा आत्मिक प्राणीले विश्‍वको शासक हुने योजना बनायो। त्यसको षड्‌यन्त्रको फलस्वरूप त्यो साँच्चै “यस संसारको मालिक,” र अत्यन्तै अत्याचारी शासक बन्यो। (यूहन्‍ना १२:३१) त्यो शैतान अर्थात्‌ दियाबल भनेर चिनियो जो, परमेश्‍वर र मानिस दुवैको प्रमुख विरोधी हो। (यूहन्‍ना ८:४४; प्रकाश १२:९) यहोवाको दयालु शासनको प्रतिस्पर्धामा त्यसले स्थापना गर्न खोजेको शासनको स्वार्थी षड्यन्त्र, हव्वा सृष्टि भएको थोरै समयपछि पर्दाफास भयो। यसरी, आदमले परमेश्‍वरको शासनबाट स्वतन्त्र हुने मार्ग रोजेर उहाँको दयालाई चटक्कै त्याग्दा खराब शासनको सुरुवात भयो। (उत्पत्ति ३:१-६) आदम र हव्वा साँच्चै स्वतन्त्र हुनुको साटो दियाबलको स्वार्थी तथा घमण्डी प्रभावको अधीनमा परे र त्यसको शासनको दास भए।

१३-१५. (क) यहोवाको धार्मिक शासन तिरस्कार गर्नुका केही परिणामहरू के थिए? (ख) यो संसार किन यत्तिको कठोर भएको छ?

१३ यसका केही परिणामहरू विचार गर्नुहोस्‌। आदम र हव्वा पृथ्वीको जुन भागबाट निकालिए त्यहाँ एउटा प्रमोदवन थियो। हराभरा बगैंचा, स्वास्थ्यवर्धक वनस्पति तथा फलफूल सजिलै पाउन सकिने अदनको बगैंचाबाट निकालिएर तिनीहरू बाहिरको कठिन अवस्थामा पुगे। परमेश्‍वरले आदमलाई यसो भन्‍नुभयो: “तैंले तेरी स्वास्नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैंले खानेछस्‌। त्यसले तेरो निम्ति काँढ़ा र सिंउड़ीहरू उमार्नेछ।” भूमि श्रापित हुनु भनेको खेती गर्न अब एकदमै गाह्रो हुने थियो। श्रापित भूमि, यसका काँढा र सिउँडीहरूको असर आदमका सन्तानहरूले यति विघ्न महसुस गरे कि नूहका पिता लेमेकले ‘परमेश्‍वरले श्राप दिनुभएको भूमिको परिश्रम’ अर्थात्‌ पीडाबारे बताए।—उत्पत्ति ३:१७-१९; ५:२९.

१४ आदम र हव्वाले शान्तिको बदलामा दुःख रोजे। परमेश्‍वरले हव्वालाई यसो भन्‍नुभयो: “तेरो दुःख र सुत्केरी-वेदना म ज्यादै गरी बढ़ाइदिनेछु । दुःखसँग तैंले बालक जन्माउनेछस्‌, तापनि तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” पछि, आदम र हव्वाको जेठो छोरा कयिनले आफ्नो भाइ हाबिलको हत्या गरेर एउटा क्रूर काम गऱ्‍यो।—उत्पत्ति ३:१६; ४:८.

१५ “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ” भनी प्रेरित यूहन्‍नाले घोषणा गरे। (१ यूहन्‍ना ५:१९) आजको संसारले यसको शासकले जस्तै स्वार्थ र घमण्डजस्ता दुर्गुणहरू झल्काउँछ। त्यसैले यो संसार कठोरता र क्रूरताले भरिनु कुनै छक्कलाग्दो कुरा होइन! तर यो सधैं यस्तै रहिरहनेछैन। यहोवाले आफ्नो राज्यअन्तर्गत कठोरता र क्रूरताको बदला दया र अनुकम्पाले भरिनेछ भनेर पक्का गर्नुहुनेछ।

परमेश्‍वरको राज्यअन्तर्गत दया छाउनेछ

१६. येशू ख्रीष्टमार्फत हुने परमेश्‍वरको शासनको चिनारी दया किन हो अनि यसले हामीलाई के गर्न बाध्य बनाउँछ?

१६ यहोवा अनि उहाँको राज्यको नियुक्‍त राजा येशू ख्रीष्ट आफ्ना प्रजाहरू दयाको लागि चिनिएको चाहनुहुन्छ। (मीका ६:८) येशू ख्रीष्टले आफूलाई पिताले सुम्पनुभएको प्रशासनको चिनारी कसरी दया हुनेछ भनेर पूर्वझलक दिनुभयो। (हिब्रू १:३) येशूले झूटा धार्मिक नेताहरूको पर्दाफास गर्नुभएका शब्दहरूमा यो कुरा पाइन्छ, जसले मानिसहरूलाई गह्रौं भारी बोकाइरहेका थिए। उहाँले यसो भन्‍नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम [“स्फूर्ति,” NW] पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) धेरैजसो सांसारिक शासकहरू, धर्म अनुरागी होऊन्‌ या नहोऊन्‌, तिनीहरू अनगिन्ती नियम तथा जस नपाउने कामहरूको थकाइलाग्दो बोझ मानिसहरूमाथि लाद्‌छन्‌। यद्यपि, येशूले आफ्ना चेलाहरूबाट माग गर्नुहुने कुराहरू तिनीहरूको आवश्‍यकता र क्षमताअनुसार हुन्छन्‌। साँच्चै स्फूर्तिदायी र दयालु जुवा! के हामी अरूलाई दया देखाउने सन्दर्भमा उहाँजस्तै हुन उत्प्रेरित हुँदैनौं र?—यूहन्‍ना १३:१५.

१७, १८. स्वर्गमा ख्रीष्टसित शासन गर्ने तथा उहाँका पार्थिव प्रतिनिधिहरूले दया देखाउनेछन्‌ भनेर हामी किन भरोसा गर्न सक्छौं?

१७ येशूले आफ्ना प्रेरितहरूलाई गर्नुभएको उल्लेखनीय टिप्पणीले परमेश्‍वरको राज्य कसरी मानव शासनभन्दा भिन्‍न छ भनेर प्रकाश पार्छ। बाइबल यसो भन्छ: “अब तिनीहरूमध्ये [चेलाहरूमध्ये] को सबैभन्दा ठूलो गनिएको छ भनी तिनीहरूका बीचमा वाद विवाद हुनलाग्यो। औ उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘अन्यजातिहरूका राजाहरूको तिनीहरूमाथि प्रभुत्व हुन्छ, र तिनीहरूमाथि अख्तियार हुनेहरूचाहिं उपकारी भनिन्छन्‌। तर तिमीहरू चाहिं यस्तो नहुनू। तर तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानोजस्तो बनिओस्‌, र नेतृत्व गर्ने चाहिं सेवा गर्ने जस्तो होस्‌। किनभने कुन चाहिं ठूलो हो? खानामा बस्ने कि सेवा गर्ने? के खानामा बस्ने चाहिं होइन? तर म तिमीहरूका बीचमा सेवा गर्ने जस्तो छु।’ ”—लूका २२:२४-२७.

१८ मानव शासकहरूले मानिसहरूमाथि ‘प्रभुत्व जमाएर’ आफ्नो महानता देखाउन खोज्छन्‌ अनि ठूल्ठूला पदवीहरू राख्दा आफ्नो अधीनमा भएकाहरूभन्दा उत्तम हुनेझैं गरी त्यस्ता पदवीहरू खोज्छन्‌। तर येशूले लगनशील तथा धीरजी भई अरूको सेवा गर्दा साँचो महानता प्राप्त हुन्छ भनेर बताउनुभयो। स्वर्गमा ख्रीष्टसित शासन गर्ने वा पार्थिव प्रतिनिधिको हैसियतमा सेवा गर्नेहरू सबैले उहाँले देखाउनुभएको नम्रता र दयाको उदाहरण पछ्याउने प्रयास गर्नै पर्छ।

१९, २०. (क) यहोवाले कुन हदसम्म दया देखाउनुहुन्छ भनेर येशूले कसरी देखाउनुभयो? (ख) दया देखाउने सन्दर्भमा हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

१९ येशूले दिनुभएको अर्को मायालु सल्लाहलाई विचार गरौं। यहोवाले कुन हदसम्म दया देखाउनुहुन्छ भनी बुझाउन येशूले यसो भन्‍नुभयो: “तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने तिमीहरूलाई के स्याबासी छ र? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेमनै गर्दछन्‌। तिमीहरूलाई भलाइ गर्नेहरूलाई भलाइनै गर्दछौ भने तिमीहरूलाई के स्याबासी छ? किनकि पापीहरूले पनि ता त्यसै गर्दछन्‌। जसबाट फेरि पाउने आशा राख्तछौ, तिनीहरूलाई ऋण दिन्छौ भने तिमीहरूलाई के स्याबासी छ किनकि पापीहरूले पनि ता फेरि उत्तिनै पाउनालाई पापीहरूलाई ऋण दिन्छन्‌। तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर, औ फेरि केहीको आशा नगरेर ऋण देऊ, र तिमीहरूको इनाम ठूलो हुनेछ, औ परमप्रधानका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुणी र दुष्टमाथि कृपालुदयालु] हुनुहुन्छ। जस्तो तिमीहरूका पिता कृपालु हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि कृपालु होओ।”—छड्‌के अक्षर हाम्रो, लूका ६:३२-३६.

२० ईश्‍वरीय दया निस्स्वार्थ हुन्छ। यसले कुनै पनि कुरा माग्दैन अनि बदलामा केही पनि आशा गर्दैन। यहोवाले दया गरी “दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४३-४५; प्रेरित १४:१६, १७) स्वर्गमा हुनुहुने हाम्रो पिताको अनुकरण गर्दा हामीले बैगुनीहरूलाई हानि नगर्ने मात्र होइन तर शत्रुजस्तो व्यवहार गरेकाहरूप्रति समेत भलाइ गर्छौं। दया देखाएर हामी सबै मानव सम्बन्धहरूमा दया र अन्य ईश्‍वरीय गुण छाउने परमेश्‍वरको राज्यमा बस्न चाहन्छौं भनेर यहोवा र येशूलाई देखाउँछौं।

दया किन देखाउने?

२१, २२. हामीले किन दया देखाउनुपर्छ?

२१ साँचो मसीहीले दया देखाउनु अत्यावश्‍यक छ। यसले हामीसित परमेश्‍वरको आत्मा छ भन्‍ने प्रमाण दिन्छ। यसबाहेक, साँचो दया देखाउँदा हामीले यहोवा परमेश्‍वर र ख्रीष्ट येशूको अनुकरण गरिरहेका हुन्छौं। परमेश्‍वरको राज्यका प्रजा हुनेहरूका लागि एउटा आवश्‍यकता दया पनि हो। त्यसो भए हामीले दयालाई प्रेम गर्नै पर्छ अनि त्यो देखाउन सिक्नै पर्छ।

२२ हामीले आफ्नो दैनिक जीवनमा दया देखाउन सक्ने केही व्यावहारिक तरिकाहरू के हुन्‌? यसपछिको लेखले त्यस विषयमा छलफल गर्नेछ।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• दया भनेको के हो?

• यो संसार किन क्रूर र कठोर छ?

• परमेश्‍वरको शासनअन्तर्गत दया छाउनेछ भनेर हामी कसरी थाह पाउन सक्छौं?

• परमेश्‍वरको राज्यको अधीनमा बस्न चाहनेहरूले दया देखाउनु किन महत्त्वपूर्ण छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

मसीही प्राचीनहरू बगालसित व्यवहार गर्दा दयालु हुने प्रयास गर्छन्‌

[पृष्ठ १५-मा भएको चित्र]

यहोवाको करुणाले कठिन समयमा उहाँका सेवकहरूलाई धोका दिनेछैन

[पृष्ठ १६-मा भएका चित्रहरू]

यहोवाले दया गरेर सबै मानिसहरूमाथि घाम लगाउनुहुन्छ र वृष्टि दिनुहुन्छ