सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको मदतद्वारा तिनले प्रलोभनको प्रतिरोध गरे

बाइबलको मदतद्वारा तिनले प्रलोभनको प्रतिरोध गरे

बाइबलको मदतद्वारा तिनले प्रलोभनको प्रतिरोध गरे

आजको संसारमा जताततै प्रलोभन व्याप्त छ। बाइबलको स्तर पछ्याउन सजिलो छैन। उदाहरणका लागि, बाइबलको निम्न सल्लाह पालन गर्नु एउटा चुनौती हुन सक्छ: “व्यभिचारदेखि अलग रहो।”—१ कोरिन्थी ६:१८.

एक जना यहोवाका साक्षी जसलाई हामी सेबास्टियन भन्‍नेछौं, तिनी पोल्याण्डको एउटा स्क्यान्डिनेभियाली कम्पनीमा काम गर्थे। आफ्नो निष्ठा कायम राख्न तिनले कडा सङ्‌घर्ष गर्नुपऱ्‍यो।

सेबास्टियन एक जना यहोवाको साक्षीको रूपमा चिनिएका थिए। तिनको लगनशीलता तथा असल आचरणको कदर गर्दै तिनका हाकिमहरूले तिनलाई इनाम स्वरूप विभिन्‍न जिम्मेवारीहरू सुम्पे। तथापि, तिनका यी जिम्मेवारीहरूको कारण तिनले व्यापारिक सभाहरूमा भाग लिनुपर्ने कुरा पछि गएर थाह भयो, जहाँ अनैतिक मनोरञ्जनहरू पनि हुन्थे।

चाँडै सेबास्टियन दोधारमा पर्न थाले। “मेरो हाकिमलाई म एक जना यहोवाको साक्षी हुँ भनेर थाह छ। त्यसकारण तिनले मलाई विश्‍वास गर्छन्‌ र ममाथि भरोसा गर्छन्‌। मैले ती सभाहरूमा भाग लिन मानिनँ भने यस्तो मुस्किलले पाएको मेरो जागिर खोसिनेछ। तर मैले ती मनोरञ्जनहरूमा भाग नलिई खालि दर्शकको रूपमा बसें भने के नै फरक पर्छ होला र?”

त्यसपछि सेबास्टियनले आफूले गर्नुपर्ने अर्को कामबारे पनि थाह पाए। तिनले साँझमा अनैतिक कामको लागि विदेशी ग्राहकहरूको निम्ति “केटीहरू मिलाइदिने” काम गरेको पनि आशा गरिन्थ्यो। तिनले के गरे?

सेबास्टियनले तिनको हाकिमलाई अनैतिकताप्रति आफ्नो बाइबल आधारित धारणाबारे सम्झाउने निर्णय गरे। सेबास्टियनले यस्तो काम गर्न नसक्ने र ढिलो होस्‌ वा चाँडो तिनले आफ्नो काम छोड्‌नु नै पर्नेछ भनेर चाँडै नै प्रस्ट भयो। तिनले पहिलेको भन्दा कम तलब भएको तर यस्तो खालको प्रलोभन नभएको एउटा नयाँ जागिर पाए। अहिले तिनको अन्तस्करण सफा छ।

कसैले तपाईंलाई अनैतिकतामा भाग लिन वा त्यसप्रति आँखा चिम्लिन दबाब दियो भने तपाईं के गर्नुहुनेछ? के तपाईं आमूल परिवर्तन गर्न तयार हुनुहुनेछ? उत्पत्ति ३९:७-१२ ले बताएअनुसार प्राचीन समयका यूसुफले यसै गरे।