पादरीहरू राजनीतिमा मुछिनु उचित हो?
पादरीहरू राजनीतिमा मुछिनु उचित हो?
“राजनीतिमा सहभागी हुँदा गरिब-गुरुवाको मदत गर्न सकिन्छ भनी क्यानाडाका आर्चविशपले तीर्थयात्रीहरूलाई बताए। . . . राजनैतिक व्यवस्था परमेश्वरको इच्छाबमोजिम भएजस्तो नदेखिए तापनि ‘गरिबहरूको न्यायको लागि हामी सहभागी हुनुपर्छ।’ ”— क्याथोलिक न्युज।
चर्चका वरिष्ठ नेताहरूले राजनीतिमा भाग लिनुको पक्षमा बोलेका रिपोर्टहरू पढ्नु कुनै छक्कलाग्दो कुरा होइन न त धार्मिक नेताहरूले राजनैतिक कार्यभार स्वीकारेको घटना कुनै असाधारण कुरा हो। कसै-कसैले राजनीतिमा सुधार ल्याउने प्रयास गरेका छन्। अरू कतिपयको चाहिं तिनीहरूले जातीय समानता र दासत्व निर्मूल गर्ने जस्ता विषयहरूमा चालेको अभियानको लागि सराहना र सम्झना गरिन्छ।
यद्यपि, चर्चका थुप्रै साधारण सदस्यहरू आफ्ना धार्मिक नेताहरूले राजनैतिक विवादहरूमा कसैको पक्ष लिंदा अप्ठ्यारो मान्छन्। “आफ्ना पादरीहरू सक्रियतासाथ राजनीतिमा मुछिने कुराबारे बेलाबेलामा प्रोटेस्टेन्ट चर्चका सदस्यहरूले नै प्रश्न खडा गरे” भनी क्रिस्चियन चर्च-को राजनैतिक धर्मसिद्धान्तसम्बन्धी लेखमा भनिएको थियो। धार्मिक आस्था भएका थुप्रै मानिसहरू, चर्च अत्यन्तै पवित्र थलो भएकोले राजनीतिमा मुछिनु उचित होइन भन्ने सोचाइ राख्छन्।
उत्तम संसारको चाहना गर्ने सबैको लागि यसले केही चाखलाग्दा प्रश्नहरू खडा गर्छ। के मसीहीधर्मका प्रचारकहरूले राजनीतिमा सुधार ल्याउन सक्छन्? a के राजनीतिमा मुछिएर उत्तम सरकार र उत्तम संसार ल्याउने तरिका परमेश्वरको हो? के राजनीतिमा भाग लिनु मसीहीधर्मको सुरुको उद्देश्य थियो?
ख्रीष्टको नाउँमा राजनीति कसरी सुरु भयो
प्रारम्भिक मसीही मण्डलीकाहरू “यस संसारको शक्ति हासिल गर्न कुनै चासो नराख्नेहरू” भनी चिनिन्थे भनेर दी अर्ली चर्च-मा इतिहासकार हेन्री चाडविक बताउँछन्। यो “गैरराजनैतिक, खलबल नमच्चाउने र शान्तिवादी समाज” थियो। अ हिस्ट्री अफ क्रिश्चियानिटी यसो भन्छ: “मसीहीहरूले कुनै पनि राजनैतिक ओहदा स्वीकार्नु हुँदैन भन्ने धारणा तिनीहरू माझ व्याप्त थियो। . . . तेस्रो शताब्दीको सुरुसम्म पनि महत्त्वपूर्ण मसीही चलनअनुसार चर्चको सदस्य हुन निजामती अधिकारीले आफ्नो ओहदाबाट राजीनामा दिनुपर्थ्यो भनी हिप्पोलाइटल बताउँछन्।” तर बिस्तारै शक्तिका भोका पुरुषहरूले मण्डलीमा नेतृत्व लिनुका साथै आफैलाई ठूलो मान-पदवीले विभूषित गर्न थाले। (प्रेरित २०:२९, ३०) कोही-कोही राजनैतिक नेता र राजनीतिज्ञ दुवै हुन चाहन्थे। रोमी सरकारमा भएको अचानक परिवर्तनले चर्चका सदस्यहरूलाई आफूले चाहेजस्तो अवसर प्रदान गऱ्यो।
सा.यु. ३१२ मा गैरमसीही रोमी सम्राट् कन्स्टान्टिनले नाउँ मात्रको मसीहीधर्मसित मित्रताको हात बढाए। आश्चर्यको कुरा के छ भने, चर्चका विशपहरू गैरमसीही सम्राट्ले उनीहरूलाई प्रदान गर्ने सुविधाहरूको लागि तिनीसित सम्झौता गर्न खुसी थिए। “झन्झनै महत्त्वपूर्ण राजनैतिक निर्णयहरूमा चर्च संलग्न हुन थाल्यो” भनी हेन्री चाडविकले लेखे। यसरी राजनीतिमा मुछिंदा पादरीहरूमा कस्तो प्रभाव पऱ्यो?
राजनीतिले प्रचारकहरूलाई कस्तो असर पाऱ्यो
परमेश्वरले पादरीहरूलाई राजनीतिज्ञको रूपमा चलाउनुहुन्छ भन्ने विचारको प्रवर्धन विशेष गरी पाँचौ शताब्दीका प्रभावशाली क्याथोलिक धर्मविद् अगस्टिनले गरेका थिए। चर्चले राष्ट्रहरूमाथि शासन गरेर मानिसजातिमा शान्ति ल्याउने छ भनी तिनले परिकल्पना गरेका थिए। तर इतिहासकार एच. जि. वेल्सले यस्तो लेखे: “पाँचौं शताब्दीदेखि पन्धौं शताब्दीसम्मको युरोपको इतिहास हेर्ने हो भने, ईश्वरीय विश्वसरकार व्यावहारिकतामा परिणत गर्ने महान् विचार धेरै हदसम्म विफल भएको छ।” मसीहीजगत्ले पूरै संसारमा त परै जाओस् युरोपमा मात्र पनि शान्ति ल्याउन सकेन। यसपछि मसीहीधर्मले थुप्रै मानिसहरूको विश्वसनीयता गुमायो। कुरा कहाँनेर बिग्रियो?
मसीहीधर्मको प्रचारक भनी दाबी गर्ने थुप्रै व्यक्तिहरू असल मनसायले राजनीतितर्फ आकर्षित भएका थिए तर तिनीहरूले आफू खराब काममा संलग्न भएको पाए। प्रचारक र बाइबलका अनुवादक मार्टिन लुथर, क्याथोलिक चर्चमा सुधार ल्याउन तिनले गरेको प्रयासको लागि प्रख्यात छन्। तथापि, चर्चका शिक्षाहरू विरुद्ध तिनको साहसिक अडानको कारण विद्रोहको पछाडि राजनैतिक अभिप्राय भएकाहरूबीच तिनी लोकप्रिय भए। लुथरले पनि राजनैतिक विवादहरूमा आफ्ना विचारहरू पोखाउन थालेपछि तिनले थुप्रैको आदर गुमाए। सुरुमा तिनले अत्याचारी सामन्ती शासकहरू विरुद्धको आन्दोलनमा किसानहरूलाई साथ दिए। पछि विरोध कार्यक्रमहरू हिंस्रक हुन थालेपछि तिनले विद्रोहलाई मत्थर पार्न सामन्ती शासकहरूलाई उक्साए र तिनीहरूले हजारौंको निर्मम हत्या गरेर त्यो विद्रोहलाई दबाए। त्यसैकारण किसानहरूले तिनलाई धोकेबाज ठान्नु कुनै छक्कलाग्दो कुरा थिएन। लुथरले सामन्ती शासकहरूलाई क्याथोलिक सम्राट् विरुद्ध तिनीहरूको आफ्नै आन्दोलनमा पनि उक्साउने काम गरे। वास्तवमा, प्रोटेस्टेन्टहरू भनी चिनिएका लुथरका अनुयायीहरूले सुरुदेखि नै राजनैतिक आन्दोलन थालेका थिए। शक्तिले लुथरलाई कस्तो प्रभाव पाऱ्यो? यसले तिनलाई भ्रष्ट बनायो। उदाहरणका लागि तिनले सुरुमा धार्मिक मतभेद राख्नेहरूलाई जबरजस्ती गर्नदेखि रोके तर पछि तिनले शिशु बप्तिस्माको विरोध गर्नेहरूलाई जलाएर मार्न आफ्ना राजनैतिक मित्रहरूलाई प्रोत्साहन दिन थाले।
जोन क्याल्भिन जेनेभामा प्रख्यात पादरी थिए तर पछि तिनी राजनीतिमा पनि निकै प्रभावशाली भए। माइकल सर्भेटसले धर्मशास्त्रमा त्रिएकको कुनै आधार छैन भनी देखाउँदा क्याल्भिनले सर्भेटसको हत्यामा समर्थन जुटाउन आफ्नो राजनैतिक बल प्रयोग गरे। सर्भेटसलाई खम्बामा बाँधेर जिउँदै जलाइएको थियो। येशूको शिक्षाबाट कुन हदसम्म तर्किएको!
सायद यी मानिसहरूले बाइबलमा १ यूहन्ना ५:१९ मा भनिएको कुरा बिर्सिए: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” के तिनीहरू आफ्नो समयको राजनीतिमा साँच्चै सुधार ल्याउन चाहन्थे वा शक्ति र उच्च ओहदामा भएका व्यक्तिहरूलाई साथी बनाउने प्रत्याशाले आकर्षित भएका थिए? जे भए पनि, तिनीहरूले येशूका चेला याकूबको प्रेरित वचन सम्झनुपर्ने थियो: “संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो भन्ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।” (याकूब ४:४) येशूले आफ्ना अनुयायीलाई भन्नुभएको निम्न कुरा याकूबलाई थाह थियो: “तिनीहरू संसारका होइनन्, जस्तो म संसारको होइनँ।”—यूहन्ना १७:१४.
मसीहीहरू संसारको खराबीको भाग हुनुहुँदैन भनी स्वीकारे तापनि थुप्रैले राजनैतिक तटस्थता अर्थात् साँचो अर्थमा ‘संसारको नहुने’ भन्ने कुराको विरोध गर्छन्। त्यस्तो तटस्थताले मसीहीहरूलाई अरूप्रति जोडदार प्रेम देखाउनदेखि रोक्छ भनी तिनीहरू दाबी गर्छन्। चर्चका नेताहरूले आफ्नो आवाज उठाउनुपर्छ र भ्रष्टचार तथा अन्याय विरुद्ध कदम चाल्नुपर्छ भन्ने तिनीहरूको सोचाइ छ। तर के येशूले सिकाउनुभएको तटस्थता र अरूप्रति जोडदार चासो देखाउनु भनेको एक आपसमा बाझिने कुरा हो? के मसीहीहरू विभाजक राजनैतिक विवादबाट अलग रहनुका साथै अरूलाई व्यावहारिक मदत दिन सक्छन्? यसपछिको लेखले यी प्रश्नहरूको विश्लेषण गर्छ।
[फुटनोट]
a राजनीति भनेको “कुनै देश वा इलाकाको शासन व्यवस्था र विशेष गरी शक्ति हात पार्ने आशामा व्यक्तिविशेष वा पार्टीहरूबीच विवाद वा झगडासित सम्बन्धित क्रियाकलाप” हो भनी परिभाषित गरिएको छ— द न्यु अक्फोर्ड डिक्सनरी अफ इंग्लिस।
[पृष्ठ ४-मा भएको चित्र]
राजनैतिक शक्ति प्राप्त गर्न चर्चका नेताहरूले सम्राट् कन्स्टान्टिन जस्ता शासकहरूसित सम्झौता गरे
[स्रोत]
Musée du Louvre, Paris
[पृष्ठ ५-मा भएका चित्रहरू]
प्रख्यात धार्मिक नेताहरू किन राजनीतितर्फ आकर्षित भए?
अगस्टिन
लुथर
क्याल्भिन
[स्रोत]
Augustine: ICCD Photo; Calvin: Portrait by Holbein, from the book The History of Protestantism (Vol. II)