सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो, के तपाईं भविष्यको लागि जग बसाल्दै हुनुहुन्छ?

युवाहरू हो, के तपाईं भविष्यको लागि जग बसाल्दै हुनुहुन्छ?

युवाहरू हो, के तपाईं भविष्यको लागि जग बसाल्दै हुनुहुन्छ?

“जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु ती म जान्दछु। ती तिमीहरूका भलाइको निम्ति हुन्‌, बुराइको निम्ति होइन। तिमीहरूलाई भविष्य सुधार्न र एउटा आशा दिनलाई हो।”—यर्मिया २९:११.

१, २. युवावस्थालाई कस्ता बेग्लाबेग्लै दृष्टिकोणले हेर्न सकिन्छ?

 प्रायजसो वयस्कहरूले युवावस्थालाई जीवनको सबैभन्दा रमाइलो समय ठान्छन्‌। आफू जवान छँदा भएको तागत र जोस तिनीहरू सम्झन्छन्‌। आफूसित त्यति जिम्मेवारीहरू नभएको, रमाइलो गरेको अनि आफूसामु थुप्रै मौकाहरू भएको समयलाई फर्केर हेर्दा तिनीहरू दङ्‌ग पर्छन्‌।

तपाईंहरूमध्ये जवानहरूले भने आफ्नो युवावस्थाबारे बेग्लै दृष्टिकोण राख्नुहुन्छ होला। तपाईंलाई युवावस्थामा हुने भावनात्मक तथा शारीरिक परिवर्तनहरूको सामना गर्न गाह्रो परिरहेको होला। स्कूलमा तपाईंले साथीहरूबाट चर्को दबाबको सामना गर्नुपर्ने होला। लागूपदार्थ, मद्यको दुर्व्यसन तथा अनैतिकताको प्रतिरोध गर्न तपाईंले दृढ प्रयास गर्नुपर्छ होला। तपाईंहरूमध्ये थुप्रैले तटस्थता वा तपाईंको विश्‍वाससित सम्बन्धित अन्य विवादहरूको सामना गर्नुपर्छ होला। हो, युवावस्था एउटा कठिन समय हुन सक्छ। तैपनि, यो थुप्रै सुअवसरहरूको समय हो। तर प्रश्‍न उठ्‌छ, तपाईंले ती सुअवसरहरू कसरी प्रयोग गर्नुहुनेछ?

युवावस्थाको आनन्द उठाउनुहोस्‌

३. सुलेमानले युवाहरूलाई कस्तो सल्लाह र चेतावनी दिए?

उमेर पाकिसकेकाहरूले तपाईंलाई भन्‍नेछन्‌, जवानी धेरै दिन रहँदैन र तिनीहरूको कुरा सही हो। केही वर्षमै तपाईंको जवानी बित्नेछ। त्यसैले जवान छँदै आफ्नो युवावस्थाको आनन्द उठाउनुहोस्‌! उक्‍त सल्लाह राजा सुलेमानको थियो जसले यस्तो लेखे: “ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिऊन्‌। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ।” तथापि, सुलेमानले जवानहरूलाई यस्तो चेतावनी दिए: “चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ।” तिनले अझै यसो भने: “युवावस्था र बल [बैंस] केवल व्यर्थ हुन्‌।”—उपदेशक ११:९, १०, नयाँ संशोधित संस्करण।

४, ५. जवान मानिसहरूले भविष्यको लागि तयारी गर्नु किन बुद्धिमानी हो? उदाहरण दिनुहोस्‌।

सुलेमानले भन्‍न खोजेको कुरा के तपाईंले बुझ्नुभयो? यो बुझ्नको लागि एउटा ठूलो उपहार अर्थात्‌ सायद कुनै सम्पत्ति प्राप्त गर्ने जवान व्यक्‍तिलाई सम्झनुहोस्‌। तिनले त्यो के गर्नेछन्‌? तिनले येशूले बताउनुभएको दृष्टान्तको उडन्ता पुत्रले जस्तै सबै पैसा मोजमस्तीमा खर्च गर्न सक्छन्‌। (लूका १५:११-२३) तर सबै पैसा सिद्धिएपछि के हुनेछ? आफूले यस्तो लापरवाह गरेकोमा तिनी पक्कै पछुताउनेछन्‌! अर्कोतर्फ, मानौं तिनले भविष्यको लागि तयारी गर्न त्यो पैसा चलाउँछन्‌, सायद त्यसको प्रायजसो अंश बुद्धिमानीपूर्वक लगानी गर्छन्‌। समयको दौडान तिनले त्यो लगानीबाट फाइदा उठाइरहेको बेला के तपाईंको विचारमा जवान छँदा आफूले मोजमस्तीमा सबै पैसा खर्च नगरेकोमा के तिनी पछुताउनेछन्‌? पक्कै पछुताउने छैनन्‌!

तपाईंको जवानीका वर्षहरूलाई परमेश्‍वरले दिनुभएको उपहारजस्तै ठान्‍नुहोस्‌ जुन कुरा साँच्चै सत्य हो। तपाईंले ती कसरी प्रयोग गर्नुहुनेछ? तपाईं आत्मविलासी जीवन बिताउँदै, एकपछि अर्को सुखविलासमा समय खर्च गर्दै अनि भविष्यको लागि विचारै नगरीकन युवावस्थाको तागत र जोस सबै खेर फाल्न सक्नुहुन्छ। तर त्यसो गर्नुभयो भने तपाईंको “युवावस्था र बैंस” साँच्चै “व्यर्थ” हुनेछ। भविष्यको लागि तयार गर्न आफ्नो युवावस्थाको सदुपयोग गर्नु कत्ति राम्रो हो!

६. (क) सुलेमानको कुन सल्लाहले युवाहरूको लागि डोऱ्‍याइ प्रदान गर्छ? (ख) जवानहरूको लागि यहोवा के गर्न चाहनुहुन्छ अनि जवान व्यक्‍तिले यसबाट कसरी लाभ उठाउन सक्छन्‌?

आफ्नो युवावस्थालाई बुद्धिमानीपूर्वक प्रयोग गर्न मदत दिने एउटा सिद्धान्त सुलेमानले उल्लेख गरे। तिनले भने: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।” (उपदेशक १२:१) सफलताको मूल रहस्य यही हो—यहोवाको कुरा सुन्‍नुहोस्‌ अनि उहाँको इच्छा गर्नुहोस्‌। यहोवा इस्राएलीहरूको निम्ति के गर्न चाहनुहुन्थ्यो भनेर उहाँले यसरी बताउनुभयो: “जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु ती म जान्दछु। ती तिमीहरूका भलाइको निम्ति हुन्‌, बुराइको निम्ति होइन। तिमीहरूलाई भविष्य सुधार्न र एउटा आशा दिनलाई हो।” (यर्मिया २९:११) यहोवा तपाईंलाई पनि “भविष्य . . . र एउटा आशा” दिन चाहनुहुन्छ। तपाईंले आफ्नो काम, सोचाइ र निर्णयहरूमा उहाँलाई सम्झनुभयो भने त्यो भविष्य र त्यो आशा राम्रो हुनेछ।—प्रकाश ७:१६, १७; २१:३, ४.

“परमेश्‍वरको नजीक आओ”

७, ८. जवान व्यक्‍ति कसरी परमेश्‍वरको नजिक हुन सक्छन्‌?

यहोवालाई सम्झन आग्रह गर्दै याकूबले हामीलाई यस्तो लेखे: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:८) यहोवा जो सृष्टिकर्ता र स्वर्गमा बस्नुहुने सार्वभौम हुनुहुन्छ, उहाँ सबै उपासना तथा प्रशंसाको योग्य हुनुहुन्छ। (प्रकाश ४:११) यद्यपि, हामी उहाँको नजिक भयौं भने उहाँ पनि हाम्रो नजिक हुनुहुनेछ। के त्यस्तो मायालु चासोले तपाईंको हृदय न्यानो पार्दैन र?—मत्ती २२:३७.

हामी विभिन्‍न तरिकामा यहोवाको नजिक हुन्छौं। उदाहरणका लागि, प्रेरित पावल यसो भन्छन्‌: “धन्यवादसाथ त्यसमा सतर्क रहेर दृढ़सँग प्रार्थनामा निरन्तर लागिरहो।” (कलस्सी ४:२) अर्को शब्दमा भन्‍ने हो भने, प्रार्थना गर्ने बानी खेती गर्नुहोस्‌। तपाईंको प्रतिनिधित्व गर्दै तपाईंको बुबा वा सँगी मसीहीले मण्डलीमा प्रार्थना गरेपछि आमिन भनेर मात्र चित्त नबुझाउनुहोस्‌। के तपाईंले कहिल्यै यहोवालाई आफ्नो हृदय पोखाउनुभएको छ अनि तपाईंको विचार, तपाईंको डर अनि तपाईंले सामना गर्नुपर्ने चुनौतीहरूबारे उहाँलाई भन्‍नुभएको छ? अरू कसैलाई बताउन लाज लाग्ने कुराहरू के तपाईंले उहाँलाई कहिल्यै बताउनुभएको छ? इमानदार र हृदयस्पर्शी प्रार्थनाहरूले शान्तिको अनुभूति दिन्छ। (फिलिप्पी ४:६, ७) त्यसले हामीलाई यहोवाको नजिक हुन अनि उहाँ पनि हाम्रो नजिक आइरहनुभएको छ भन्‍ने महसुस गर्न मदत गर्नेछ।

९. एक जना युवाले कसरी यहोवाको कुरा सुन्‍न सक्छन्‌?

यहोवासित नजिक हुने अर्को तरिका हामी यी प्रेरित शब्दहरूमा पाउँछौं: “सुझाव सुन्‌, र अर्ती ग्रहण गर्‌, र अन्त्यमा तँ बुद्धिमान्‌ बन्‍नेछस्‌।” (हितोपदेश १९:२०, नयाँ संशोधित संस्करण) हो, तपाईंले यहोवाको कुरा सुन्‍नुभयो र उहाँको आज्ञा पालन गर्नुभयो भने तपाईंले भविष्यको लागि जग बसालिरहनुभएको हुनेछ। तपाईंले यहोवाको कुरा सुनिरहनुभएको छ भनेर कसरी देखाउन सक्नुहुन्छ? तपाईं पक्कै पनि मसीही सभाहरूमा नियमित तवरमा उपस्थित भएर त्यहाँ प्रस्तुत गरिने भागहरू सुन्‍नुहुन्छ। साथै, पारिवारिक बाइबल अध्ययनमा बसेर तपाईंले “आफ्ना बाबु र आमाको मान” गर्नुहुन्छ। (एफिसी ६:१, २; हिब्रू १०:२४, २५) त्यो राम्रो हो। तर त्यसको अलावा के तपाईं सभाहरूको लागि तयारी गर्न, नियमित तवरमा बाइबल पढ्‌न अनि अनुसन्धान गर्न “समयको अवसर विचार गरेर” समयको सदुपयोग गर्नुहुन्छ? के तपाईं “बुद्धिमान मानिसजस्तो” हिंड्‌न आफूले पढेका कुराहरू व्यवहारमा उतार्ने कोसिस गर्नुहुन्छ? (एफिसी ५:१५-१७; भजन १:१-३) त्यसो गर्नुहुन्छ भने, तपाईं यहोवाको नजिक आइरहनुभएको छ।

१०, ११. जवान मानिसहरूले यहोवाको कुरा सुन्दा तिनीहरूले कस्ता ठूल्ठूला लाभहरू उठाउँछन्‌?

१० हितोपदेशको पुस्तकका सुरुका शब्दहरूमा प्रेरित लेखकले बाइबलको उक्‍त पुस्तकको उद्देश्‍यबारे वर्णन गर्छन्‌। त्यसबारे तिनी भन्छन्‌, “जसद्वारा मानिसहरूले बुद्धि र शिक्षा प्राप्त गर्नेछन्‌, औ गहन अर्थ भएका कुराहरू बुझ्नेछन्‌। औ तीद्वारा तिनीहरूले बुद्धिसित जीवन चलाउन सिक्नेछन्‌, र इमान्दारी, धार्मिकता र न्यायपरायणता प्राप्त गर्नेछन्‌। सोझाहरू चतुऱ्‍याइँले औ युवकहरू ज्ञान र विवेकले परिपूर्ण हुनेछन्‌।” (हितोपदेश १:१-४) यसर्थ, हितोपदेशका शब्दहरू लगायत बाइबलका बाँकी भागहरू पढेर त्यो व्यवहारमा उतार्नुहुँदा तपाईंले धार्मिकता र सत्यता खेती गर्नुहुनेछ अनि यहोवा पनि तपाईंलाई उहाँको नजिक पाउँदा खुसी हुनुहुनेछ। (भजन १५:१-५) तपाईंले न्याय, चतुऱ्‍याइँ, ज्ञान र सोच्ने क्षमता जति बढी खेती गर्नुहुन्छ तपाईंले त्यति नै उत्तम निर्णयहरू गर्नुहुनेछ।

११ के जवान व्यक्‍तिले यसरी बुद्धिमानीपूर्वक चलेको आशा गर्नु अव्यावहारिक हो? होइन, किनभने थुप्रै जवान मसीहीहरू बुद्धिमानीपूर्वक चल्छन्‌। फलस्वरूप अरूहरूले तिनीहरूको आदर गर्छन्‌ अनि ‘तिनीहरूको जवानीलाई हेला’ गर्दैनन्‌। (१ तिमोथी ४:१२) अनि तिनीहरूका आमाबाबुले पनि तिनीहरूको गर्व गर्छन्‌ अनि तिनीहरूले यहोवाको हृदयलाई आनन्दित तुल्याउँछन्‌ भनी उहाँ भन्‍नुहुन्छ। (हितोपदेश २७:११) तिनीहरू जवान भए तापनि यी प्रेरित शब्दहरू तिनीहरूलाई लागू हुन्छ भनेर विश्‍वस्त हुन सक्छन्‌: “सिद्ध मानिसलाई दृष्टि लगा, र धर्मात्मालाई हेर्‌, किनभने त्यस्ता मानिसको आखिरको अवस्था शान्तिमय हुन्छ।”—भजन ३७:३७.

राम्रा छनौटहरू गर्नुहोस्‌

१२. जवान मानिसहरूले गर्ने एउटा महत्त्वपूर्ण छनौट कुन हो अनि त्यो छनौटको किन चिरकालीन परिणाम हुन्छ?

१२ युवावस्था भनेको छनौट गर्ने समय हो र तीमध्ये कुनै-कुनैका चिरकालीन परिणामहरू हुन सक्छन्‌। तपाईंले अहिले गर्ने केही छनौटहरूले आउँदा थुप्रै वर्षहरूसम्म असर गर्नेछ। बुद्धिमान्‌ छनौटहरूले जीवन आनन्दायी र सफल बनाउन मदत पुऱ्‍याउँछ। मूर्खतापूर्ण छनौटहरूले जिन्दगीलाई बर्बाद गर्न सक्छ। तपाईंले गर्नुपर्ने दुइटा छनौटको सन्दर्भमा यो कसरी सत्य हो, विचार गर्नुहोस्‌। सर्वप्रथम: तपाई कोसित संगत गर्न रोज्नुहुन्छ? त्यो किन महत्त्वपूर्ण छ? प्रेरित हितोपदेश यसो भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) अर्को शब्दमा भन्‍ने हो भने, हामी जस्तोसित संगत गर्छौं अन्तमा गएर त्यस्तै हुन जान्छौं—बुद्धिमान्‌ वा मूर्ख। यी दुईमध्ये तपाईं कुनचाहिं हुन चाहनुहुन्छ?

१३, १४. (क) मानिसहरूसित प्रत्यक्ष सम्पर्कबाहेक संगतमा कुन कुरा समावेश छ? (ख) जवान मानिसहरू कस्तो गल्ती गर्नदेखि अलग्गै बस्नुपर्छ?

१३ संगतिबारे सोच्दा तपाईं सम्भवतः मानिसहरूसितको संगतबारे सोच्नुहुन्छ। त्यो सही हो तर त्यति मात्र होइन। टेलिभिजन कार्यक्रम हेर्दा, सङ्‌गीत सुन्दा, उपन्यास पढ्‌दा, चलचित्र हेर्न जाँदा वा इन्टरनेटमा केही साधनहरू प्रयोग गर्दा तपाईंले संगत गरिरहनुभएको हुन्छ। त्यो संगत हिंस्रक वा अनैतिक झुकावहरूतर्फ ढल्कन्छ वा त्यसले लागूपदार्थको दुर्व्यसन, मतवालापन वा बाइबल सिद्धान्तहरू विपरीत अन्य कुराहरूलाई प्रोत्साहन दिन्छ भने यहोवा अस्तित्वमै नहुनु भएझैं व्यवहार गर्ने “मूर्ख[सित]” तपाईंले संगत गरिरहनुभएको हुनेछ।—भजन १४:१.

१४ तपाईं मसीही सभाहरूमा उपस्थित भइरहनुभएको र मण्डलीमा सक्रिय भाग लिइरहनुभएको हुँदा राम्रो लय तर शङ्‌कास्पद बोल भएको हिंस्रक चलचित्र वा म्युजिक एल्बमले तपाईंलाई कुनै असर पार्नेछैन जस्तो लाग्छ होला। तपाईंलाई इन्टरनेटमा अश्‍लील वेब साइट एकछिन झुलुक्क मात्र हेर्दा कुनै खराब परिणाम हुनेछैन जस्तो लाग्छ होला। प्रेरित पावलले त्यस्तो सोचाइ गलत हो भनी तपाईंलाई बताउँछन्‌! तिनी यसो भन्छन्‌: “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) दुःखको कुरा, आशालाग्दा थुप्रै जवान मसीहीहरूका राम्रा बानीहरू मूर्ख संगतले खत्तम पारेको छ। त्यसैले, त्यस्तो संगत त्याग्न कटिबद्ध हुनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईंले पावलको यो सल्लाह पालन गर्नहुनेछ: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।”—रोमी १२:२.

१५. जवान मानिसहरूले गर्नुपर्ने दोस्रो छनौट के हो अनि यस सन्दर्भमा तिनीहरूलाई कहिलेकाहीं कस्तो दबाब आउन सक्छ?

१५ तपाईंले सामना गर्नुपर्ने दोस्रो चुनौती यस प्रकार छ। स्कूलको पढाइ सिद्धिएपछि के गर्ने भनेर तपाईंले निर्णय गर्नुपर्ने समय पनि आउनेछ। तपाईं बस्ने इलाकामा जागिर पाउने मौकाहरू कम छन्‌ भने जस्तोसुकै राम्रो जागिर पाउने बित्तिकै स्वीकारिहाल्ने दबाब महसुस गर्न सक्नुहुन्छ। तपाईं संवृद्ध देशमा बसोबास गर्नुहुन्छ भने थुप्रै छनौटहरू हुन सक्छन्‌ अनि कुनै-कुनै असाध्यै लोभलाग्दो समेत हुन सक्छ। एकदमै राम्रो मनसाय राखेर तपाईंका शिक्षक वा आमाबाबुले आर्थिक सुरक्षा, सायद प्रशस्त धनसम्पत्ति कमाउन सक्ने पेसा रोज्न आग्रह गर्न सक्छन्‌। तथापि, त्यस्तो पेसाको लागि प्रशिक्षण लिंदा यहोवाको सेवा गर्न बिताउने समय एकदमै सीमित हुन सक्छ।

१६, १७. जवान व्यक्‍तिलाई जागिरप्रति सन्तुलित दृष्टिकोण राख्न विभिन्‍न शास्त्रपदहरूले कसरी मदत गर्न सक्छ, बुझाउनुहोस्‌।

१६ कुनै निर्णय गर्नुअघि बाइबलको सल्लाह लिन नबिर्सनुहोस्‌। बाइबलले हामीलाई जीविकोपार्जन गर्न काम गर्ने सल्लाह दिन्छ र यसले हामी आफूलाई टेवा पुऱ्‍याउनको लागि जिम्मेवार छौं भनेर देखाउँछ। (२ थिस्सलोनिकी ३:१०-१२) तैपनि, अरू कुराहरू मुछिएका छन्‌। हामी तपाईंहरूलाई निम्न शास्त्रपदहरू पढ्‌न अनि त्यसले जवान व्यक्‍तिलाई पेसा छान्‍ने सन्दर्भमा सन्तुलित हुन कसरी मदत गर्न सक्छ भनी सोच्न प्रोत्साहन दिन्छौं: हितोपदेश ३०:८, ९; उपदेशक ७:११, १२; मत्ती ६:३३; १ कोरिन्थी ७:३१; १ तिमोथी ६:९, १०। यी पदहरू पढेपछि के तपाईंले यस विषयमा यहोवाको दृष्टिकोण बुझ्नुभयो?

१७ यहोवाको सेवालाई दोस्रो स्थानमा पार्ने गरी सांसारिक पेसालाई अत्यन्तै महत्त्वपूर्ण नबनाउनुहोस्‌। तपाईं हाई-स्कूलको पढाइले ठिक्कको जागिर पाउन सक्नुहुन्छ भने राम्रै हो। हाई-स्कूलपछि थप प्रशिक्षणको खाँचो पर्छ भने यो तपाईंको आमाबाबुसित छलफल गर्नुपर्ने कुरा हो। तथापि, “जे उत्तम छ” अर्थात्‌ आध्यात्मिक कुराहरूलाई कहिल्यै नबिर्सनुहोस्‌। (फिलिप्पी १:९, १०) यर्मियाका सचिव बारूकले जस्तो गल्ती नगर्नुहोस्‌। तिनले सेवाको सुअवसरप्रति मूल्याङ्‌कन गुमाए अनि ‘आफ्नै निम्ति ठूला कुराहरू खोज्न’ थाले। (यर्मिया ४५:५) कुनै पनि ‘ठूला कुराले’ यहोवाको नजिक हुन वा यरूशलेमको विनाशबाट बच्न मदत गर्न सक्दैन भनेर तिनले एक छिनको लागि बिर्से। आज हामीबारे पनि त्यसै भन्‍न सकिन्छ।

आध्यात्मिक कुराहरूको मूल्याङ्‌कन गर्नुहोस्‌

१८, १९. (क) तपाईंका प्रायजसो छिमेकीहरू कुन कुराले पीडित छन्‌ अनि तिनीहरूप्रति तपाईंले कस्तो महसुस गर्नुपर्छ? (ख) किन धेरै मानिसहरू आध्यात्मिक तवरमा भोको महसुस गर्दैनन्‌?

१८ के तपाईंले सञ्चार माध्यममा अनिकाल पीडित देशका बच्चाहरूको चित्र देख्नुभएको छ? छ भने, तपाईंको हृदय पक्कै पग्लियो होला। के आफ्नो छरछिमेकका मानिसहरूप्रति पनि तपाईंको हृदय त्यसरी नै पग्लन्छ? किन र? किनभने तिनीहरूमध्ये प्रायजसो पनि भोकाइरहेका छन्‌। तिनीहरू आमोसले भविष्यवाणी गरेको अनिकालबाट पीडित छन्‌: “परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, ‘. . .यस्ता दिनहरू आउँदैछन्‌, जब म देशमा अनिकाल ल्याउनेछु—अनिकाल, जुनचाहिं नता अन्‍नको न पानीको हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्णाको अनिकाल हुनेछ।’ ”—आमोस ८:११.

१९ हो, यस्तो आध्यात्मिक अनिकाल भोगिरहेका प्रायजसो व्यक्‍तिहरू “आत्मामा दरिद्र” वा आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग छैनन्‌। (मत्ती ५:३) धेरैजसोले आध्यात्मिक तवरमा भोको महसुस गर्दैनन्‌। कसै-कसैले त टन्‍न खाएको जस्तो महसुससमेत गर्छन्‌। तर तिनीहरू त्यसो गर्छन्‌ भने तिनीहरूले बेकारको “संसारको ज्ञान” खाइरहेका हुन्छन्‌ जसमा भौतिकवाद, वैज्ञानिक अड्‌कल, नैतिकतासम्बन्धी धारणा र यस्तै अन्य कुराहरू समावेश छन्‌। कसै-कसैलाई आधुनिक “ज्ञान[ले]” बाइबलको शिक्षालाई पुरानो बनाउँछ जस्तो लाग्छ। तथापि, “संसारले परमेश्‍वरलाई ज्ञानद्वारा चिनेन।” संसारको ज्ञानले तपाईंलाई परमेश्‍वरको नजिक हुन मदत गर्नेछैन। यो “परमेश्‍वरको अगि मूर्खता” मात्र हो।—१ कोरिन्थी १:२०, २१; ३:१९.

२०. यहोवाको उपासना नगर्ने मानिसहरूको अनुकरण गर्न खोज्नु किन व्यावहारिक होइन?

२० ती भोका केटाकेटीको चित्र हेर्दा के तपाईं कहिल्यै तिनीहरूजस्तो हुन चाहनुहुन्छ र? अवश्‍य चाहनुहुन्‍न! यद्यपि, मसीही परिवारका कोही-कोही युवाहरूले आफू वरपरका आध्यात्मिक तवरमा भोका मानिसहरूजस्तै हुने इच्छा देखाएका छन्‌। सम्भवतः ती जवानहरूले संसारका युवाहरू निश्‍चिन्त भई जीवनको आनन्द उठाइरहेका छन्‌ भन्ठान्छन्‌। ती युवाहरू यहोवाबाट तर्किएका छन्‌ भनेर तिनीहरू बिर्सन्छन्‌। (एफिसी ४:१७, १८) तिनीहरूले आध्यात्मिक अनिकालबाट हुने खराब असरहरू पनि बिर्सन्छन्‌। यसमध्ये केही हुन्‌: किशोरीहरूको अनिच्छित गर्भाधारण अनि अनैतिकता, धूम्रपान, मतवालापन, लागूपदार्थको दुर्व्यसनका शारीरिक तथा भावनात्मक असरहरू। आध्यात्मिक अनिकालले गर्दा विद्रोही मनोभाव र निराशा उत्पन्‍न गराउँछ अनि कुनै लक्ष्य नभएको जीवनतर्फ धकेल्छ।

२१. यहोवाको उपासना नगर्ने व्यक्‍तिहरूको गलत दृष्टिकोण नअपनाउन हामी आफूलाई कसरी जोगाउन सक्छौं?

२१ तसर्थ, स्कूलमा तपाईं यहोवाका सँगी उपासकहरूको माझ नहुँदा ती साथीहरूको मनोवृत्तिको नियन्त्रणमा नपर्नुहोस्‌। (२ कोरिन्थी ४:१८) कसै-कसैले आध्यात्मिक कुराहरूलाई तुच्छ ठानेर कुरा गर्नेछन्‌। साथै, सञ्चारजगत्‌ले धूर्त अफवाह फैलाउनेछ, अनैतिकतामा फस्नु, मात्तिनु वा फोहोर बोली बोल्नु सामान्य कुरा हो जस्तो भान पार्नेछ। त्यस्तो प्रभावको प्रतिरोध गर्नुहोस्‌। “विश्‍वास र सुविवेक” थामिराख्ने अर्थात्‌ सफा अन्तस्करण राख्ने मानिसहरूसित नियमित तवरमा संगत गरिरहनुहोस्‌। सधैं “प्रभुको काममा प्रशस्त हुँदै” जानुहोस्‌। (१ तिमोथी १:१९; १ कोरिन्थी १५:५८) राज्यभवन र क्षेत्र सेवकाईमा व्यस्त रहनुहोस्‌। स्कूलको पढाइका वर्षहरूको दौडान समय समयमा सहायक अग्रगामी कार्यमा सहभागी हुनुहोस्‌। यसरी तपाईंको आध्यात्मिक दृष्टिकोणलाई सुदृढ बनाउनुहोस्‌ अनि तपाईंले आफ्नो सन्तुलन गुमाउनुहुनेछैन।—२ तिमोथी ४:५.

२२, २३. (क) जवान मसीहीले किन अक्सर अरूहरूले नबुझ्ने छनौटहरू गर्नेछन्‌? (ख) जवानहरूलाई के गर्ने प्रोत्साहन दिइएको छ?

२२ कामकुराप्रति आध्यात्मिक दृष्टिकोण राख्दा तपाईंका निर्णयहरू सायद अरूले बुझ्नेछैनन्‌। उदाहरणका लागि, एक जना जवान मसीही कुशल संगीतकार थिए अनि स्कूलको सबै विषयमा उत्कृष्ट विद्यार्थी थिए। पढाइ सिद्धिएपछि तिनले पूर्ण-समय प्रचारक वा अग्रगामीको हैसियतमा आफूले रोजेको पेसा गर्न सकोस्‌ भनेर झ्याल सफा गर्ने आफ्नो बुबाको व्यवसायमा सँगै काम गर्न थाले। तिनका शिक्षकहरूले तिनले यस्तो निर्णय गर्नुको कारण बुझ्नै सकेनन्‌ तर तपाईं यहोवासित नजिक हुनुभएको छ भने हामीलाई पक्का छ, तपाईंले बुझ्नुहुन्छ।

२३ आफ्नो युवावस्थामा उपलब्ध अनमोल साधनहरूलाई कसरी प्रयोग गर्ने भनी विचार गर्नुहुँदा ‘पछि आउने समयको ख्याल गरेर तपाईंले आफैको निम्ति असल जग बनाएर त्यो जीवन, जो साँच्चैको जीवन हो, सो पक्री राख्नुहोस्‌।’ (१ तिमोथी ६:१९) आफ्नो युवावस्थामा अनि बाँकी जिन्दगीभर ‘सृष्टिकर्ताको सम्झना’ गर्न कटिबद्ध हुनुहोस्‌। एउटा सफल भविष्य, कहिल्यै अन्त नहुने भविष्यको लागि तयार गर्ने एक मात्र तरिका त्यही हो।

तपाईं कस्तो निष्कर्षमा पुग्नुभयो?

• जवानहरूलाई भविष्यको निम्ति योजना बनाउन कस्तो प्रेरित सल्लाहले मदत गर्छ?

• जवान व्यक्‍ति “परमेश्‍वरसित नजिक” हुन सक्ने केही तरिकाहरू के-के हुन्‌?

• जवान मानिसको आफ्नो भविष्यलाई असर गर्ने केही निर्णयहरू के-के हुन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईं आफ्नो जवानीको सबै तागत र जोस व्यक्‍तिगत अभिलाषाहरू पूरा गर्न खर्च गर्नुहुनेछ?

[पृष्ठ १७-मा भएको चित्र]

बुद्धिमान्‌ जवान मसीहीहरूले आफ्नो आध्यात्मिक दृष्टिकोण धमिलिन दिंदैनन्‌