सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं परमेश्‍वरलाई आनन्दित तुल्याउन सक्नुहुन्छ

तपाईं परमेश्‍वरलाई आनन्दित तुल्याउन सक्नुहुन्छ

तपाईं परमेश्‍वरलाई आनन्दित तुल्याउन सक्नुहुन्छ

के हामी साँच्चै परमेश्‍वरको भावनालाई असर गर्न सक्छौं? के परमेश्‍वर आनन्दित हुन सक्नुहुन्छ? एउटा शब्दकोशले “परमेश्‍वर” शब्दलाई “सर्वोच्च वा अन्तिम यथार्थ” भनी परिभाषित गरेको छ। त्यस्तो विस्मयकारी यथार्थ शक्‍ति मात्र भइदिएको भए के हुने थियो होला? परमेश्‍वर भनेको एउटा शक्‍ति मात्र हो भन्‍ने कतिपयको सोचाइ छ। के हामी व्यक्‍तित्वहीन शक्‍ति आनन्दित भएको आशा गर्न सक्छौं? कदापि सक्दैनौं। तर बाइबलमा परमेश्‍वरबारे के भनिएको छ, विचार गर्नुहोस्‌।

“परमेश्‍वर आत्मा हुनुहुन्छ” भनी येशू ख्रीष्टले भन्‍नुभयो। (यूहन्‍ना ४:२४) आत्माको रूप मानिसको भन्दा फरक हुन्छ। मानव आँखाले देख्न नसके तापनि आत्माको शरीर हुन्छ अर्थात्‌ “आत्मिक शरीर।” (१ कोरिन्थी १५:४४; यूहन्‍ना १:१८) अलङ्‌कारयुक्‍त भाषा चलाउँदै बाइबलले परमेश्‍वरलाई आँखा, कान, हात भएजस्तै गरी समेत वर्णन गरेको छ। a परमेश्‍वरको नाउँ पनि छ—यहोवा। (भजन. ८३:१८, NW) यसको मतलब, बाइबलको परमेश्‍वर आत्मिक व्यक्‍ति हुनुहुन्छ। (हिब्रू ९:२४) “उहाँ जीवित परमेश्‍वर र अनन्तका महाराजा हुनुहुन्छ।”—यर्मिया १०:१०.

एक जना वास्तविक जीवित व्यक्‍ति हुनुभएको हुँदा यहोवा सोच्न र कदम चाल्न सक्षम हुनुहुन्छ। उहाँले गुण अनि भावना, मनपर्ने र मन नपर्ने कुराहरू प्रकट गर्नुहुन्छ। साँच्चै भन्‍ने हो भने, बाइबलमा उहाँलाई कुन कुराले प्रसन्‍न अथवा अप्रसन्‍न तुल्याउँछ भन्‍ने कुरा प्रकाश पार्ने अनगन्ती अभिव्यक्‍तिहरू पाइन्छन्‌। मानव निर्मित देवता र मूर्तिहरूले आफ्नो मानव निर्माताको स्वभाव वा गुणहरू मात्र झल्काउँछन्‌ भने, सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाचाहिं त मानिसहरूमा राखिदिनुभएका भावनाहरूको स्रोत हुनुहुन्छ।—उत्पत्ति १:२७; यशैया ४४:७-११.

यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (१ तिमोथी १:११, NW) उहाँ आफ्नो सृजनात्मक कार्यहरूमा मात्र रमाउनुहुन्‍न तर आफ्नो उद्देश्‍य पूरा गर्दा पनि हर्षित हुनुहुन्छ। अगमवक्‍ता यशैयामार्फत यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “मैले चाहेको सबै पूरा गर्नेछु। . . . मैले जे भनेको छु, त्यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु।” (यशैया ४६:९-११, नयाँ संशोधित संस्करण) भजनहारले यसो भन्दै गाएका थिए: “परमप्रभु आफ्ना कार्यहरूमा आनन्दित रहून्‌।” (भजन १०४:३१) तर परमेश्‍वरको लागि आनन्दको अर्को स्रोत पनि छ। उहाँ यसो भन्‍नुहुन्छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ।” (हितोपदेश २७:११) यसको अर्थ के हो सोच्नुहोस्‌—हामी परमेश्‍वरलाई आनन्दित तुल्याउन सक्छौं!

हामी कसरी परमेश्‍वरको हृदयलाई आनन्दित तुल्याउन सक्छौं

कुलपिता नूहले कसरी परमेश्‍वरको हृदयलाई आनन्दित तुल्याए विचार गर्नुहोस्‌। “नूहमाथि चाहिं परमप्रभुको अनुग्रह भयो” किनभने “आफ्नो पुस्तामा नूह धर्मी र निर्दोष मानिस थिए।” त्यस समयका दुष्ट मानिसहरूको ठीक विपरीत नूहको विश्‍वास र आज्ञाकारिताले परमेश्‍वरलाई यत्ति आनन्दित तुल्यायो कि “तिनी परमेश्‍वरको साथै हिंड़नेगर्थे” भन्‍न सकिन्थ्यो। (उत्पत्ति ६:६, ८, ९, २२) “विश्‍वासैबाट . . . आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे।” (हिब्रू ११:७) यहोवा नूहसित प्रसन्‍न हुनुहुन्थ्यो र मानव इतिहासको गोलमालपूर्ण समयबाट बचाउनुभएर उहाँले तिनी तथा तिनको परिवारलाई आशिष्‌ दिनुभयो।

कुलपिता अब्राहाम पनि यहोवाका भावनाहरूबारे अत्यन्त सजग थिए। भ्रष्टताको कारण सदोम र गमोरा नाश गरिनेछ भनेर यहोवाले तिनलाई जानकारी दिनुहुँदा तिनीसित परमेश्‍वरको सोचाइको राम्रो ज्ञान थियो भन्‍ने कुरा प्रस्ट भयो। अब्राहामले यहोवालाई यति राम्रोसँग चिनेका थिए कि तिनी परमेश्‍वरले धर्मीहरूलाई दुष्टहरूसँग सर्वनाश पार्नु असोचनीय कुरा हो भन्‍ने निष्कर्षमा पुगे। (उत्पत्ति १८:१७-३३) वर्षौंपछि, परमेश्‍वरको निर्देशन पालन गर्दै अब्राहामले “इसहाकलाई चढ़ाए” किनभने तिनले ‘मरेकोबाट पनि परमेश्‍वरले बिउँताउन सक्नुहुन्छ भन्‍ने विचार गरेका’ थिए। (हिब्रू ११:१७-१९; उत्पत्ति २२:१-१८) अब्राहाम परमेश्‍वरका भावनाहरूप्रति यत्ति संवेदनशील थिए अनि यत्ति बलियो विश्‍वास र आज्ञाकारिता प्रदर्शित गरे कि “उनी परमेश्‍वरका मित्र कहलिए।”—याकूब २:२३.

परमेश्‍वरको हृदयलाई प्रसन्‍न तुल्याउने कोसिस गर्ने अर्का व्यक्‍ति पुरातन इस्राएलका राजा दाऊद थिए। तिनको विषयमा यहोवाले यसो भन्‍नुभयो: “मैले यस्सीको छोरो दाऊदलाई मेरो हृदयअनुसारको एउटा मानिस पाएँ, जसले मेरो सबै इच्छा पूरा गर्नेछ।” (प्रेरित १३:२२) अजङको गोल्यतसित भिड्‌नुअघि दाऊदले परमेश्‍वरमाथि पूर्ण भरोसा राखे र इस्राएलका राजा शाऊललाई यसो भने: “सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्‍तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” गोल्यतलाई मार्न दाऊदलाई सबल तुल्याउनुभएर उहाँमाथि दाऊदले राखेको विश्‍वस्ततालाई यहोवाले आशिष्‌ दिनुभयो। (१ शमूएल १७:३७, ४५-५४) दाऊद आफ्ना कार्यहरू मात्र होइन तर ‘आफ्नो मुखका वचनहरू र आफ्नो हृदयको ध्यान परमप्रभुको दृष्टिमा ग्रहणयोग्य’ भएको पनि चाहन्थे।—भजन १९:१४.

हाम्रो विषयमा के भन्‍न सकिन्छ? हामी कसरी यहोवालाई प्रसन्‍न तुल्याउन सक्छौं? परमेश्‍वरका भावनाहरूप्रति हामी जति संवेदनशील हुन्छौं, परमेश्‍वरको हृदयलाई आनन्दित तुल्याउन हामीले गर्न सक्ने कुराहरूप्रति हामी त्यति नै सजग हुनेछौं। त्यसोभए, हामीले बाइबल पढ्‌दा परमेश्‍वरका भावनाहरूबारे सिक्ने प्रयास गर्नु अत्यावश्‍यक छ किनभने यसो गरेको खण्डमा हामी ‘सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले पूर्ण भएर हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न सक्नेछौं।’ (कलस्सी १:९, १०) यसरी, प्राप्त ज्ञानले हामीलाई विश्‍वास बढाउन मदत गर्छ। यो अत्यावश्‍यक छ किनभने “विना विश्‍वास [परमेश्‍वरलाई] रिझाउन असम्भव छ।” (हिब्रू ११:६) हो, बलियो विश्‍वास विकास गर्न यत्न गरेर अनि यहोवाको इच्छाअनुसार आफ्नो जीवन बिताएर हामी उहाँको हृदयलाई आनन्दित तुल्याउन सक्छौं। साथै, यहोवालाई मनमा साह्रै दुःखित नतुल्याउन पनि हामी सतर्क हुनै पर्छ।

परमेश्‍वरलाई दुःखित नतुल्याउनुहोस्‌

यहोवा दुःखित हुन सक्नुहुन्छ भन्‍ने कुराको उदाहरण नूहको दिनको विवरणमा पाइन्छ। त्यतिखेर, “पृथ्वी . . . उपद्रवले भरिएको थियो। जब परमेश्‍वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि सबै प्राणीले पृथ्वीमा आफ्नो चाल-चलन भ्रष्ट पारिसकेका थिए।” भ्रष्टता र उपद्रव देख्नुहुँदा परमेश्‍वरले कस्तो महसुस गर्नुभयो। बाइबल यसो भन्छ, “पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दुःखित हुनुभयो।” (उत्पत्ति ६:५, ६, ११, १२) मानिसहरूको आचरण अत्यन्तै खराब भएकोमा परमेश्‍वरले अफसोस गर्नुभयो र जलप्रलयअघिको दुष्ट पुस्ताको सन्दर्भमा उहाँले आफ्नो मानसिक झुकाव परिवर्तन गर्नुभयो। मानिसहरूको दुष्टताले गर्दा अप्रसन्‍न हुनुभएको कारण परमेश्‍वर मानिसहरूको सृष्टिकर्ताबाट तिनीहरूको विनाशकर्ता हुनुभयो।

आफ्नै निज जन, पुरातन इस्राएल राष्ट्रले उहाँका भावना तथा मायालु निर्देशनलाई पटक-पटक तिरस्कार गर्दा पनि यहोवाले दुःखित महसुस गर्नुभयो। भजनहारले यस्तो बिलौना गरे: “कतिपल्ट तिनीहरू उजाड़-स्थानमा उहाँको विरुद्धमा वागी भए, र मरूभूमिमा उहाँलाई दुःखित तुल्याए! औ फेरि फर्केर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे, र इस्राएलका पवित्र जनलाई झोंक उठाए।” यद्यपि, “उहाँचाहिं दयामा पूर्ण भएको हुनाले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्ट गर्नुभएन। धेरैपल्ट उहाँले आफ्नो रीस मार्दै रहनुभयो, र उहाँले आफ्नो सबै क्रोध पोखाउनुभएन।” (भजन ७८:३८-४१) विद्रोही इस्राएलीहरूले आफ्नो पापका उचित परिणामहरू भोग्दासमेत बाइबलले हामीलाई “तिनीहरूका सारा दुःखमा [परमेश्‍वर] दुःखित हुनुभयो” भनी बताउँछ।—यशैया ६३:९.

तिनीहरूप्रति परमेश्‍वरको कोमल भावनाहरूको प्रशस्त प्रमाणको बावजुद इस्राएलका मानिसहरूले “परमप्रभुको क्रोध तिनीहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँको दूतहरूलाई हंसी-ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्‍ताहरूका गिल्ला गर्न छोड़ेनन्‌। औ त्यो शान्त हुनैसकेन।” (२ इतिहास ३६:१६) अन्तमा, अट्टेरी भई विद्रोह गरिरहने तिनीहरूको बानीले “पवित्र आत्मालाई [यत्ति] दुःखित तुल्यायो” कि तिनीहरूले यहोवाको अनुग्रह नै गुमाए। (यशैया ६३:१०) परिणाम? परमेश्‍वरले आफ्नो सुरक्षा हटाउनु न्यायोचित थियो र बेबिलोनीहरूले यहूदा कब्जा गरेर यरूशलेमको विनाश गर्दा तिनीहरूमाथि विपत्ति आइपऱ्‍यो। (२ इतिहास ३६:१७-२१) आफ्नो सृष्टिकर्तालाई जुन कुरा अपमानजनक लाग्छ, जुन कुराले उहाँलाई दुःखित तुल्याउँछ, मानिसहरूले त्यही पापी जीवन शैली पछ्याउनु कत्ति दुःखलाग्दो कुरा हो!

अधर्मी आचरणले परमेश्‍वरलाई निकै दुःखित तुल्याउँछ भनेर बाइबलले थुप्रै प्रमाणहरू पेस गर्छ। (भजन ७८:४१) परमेश्‍वरलाई अपमानजनक मात्र होइन घृणितसमेत लाग्ने कुराहरूमा घमण्ड, झूटो बोली, हत्या, जादुगरी, भावी बताउने, पूर्वजहरूको उपासना, छाडा जीवन शैली, समलैङ्‌गिकता, वैवाहिक अवफादारिता, हाडनाताकरणी र गरिबहरूको थिचोमिचो पर्छन्‌। —लेवी १८:९-२९; १९:२९; व्यवस्था १८:९-१२; हितोपदेश ६:१६-१९; यर्मिया ७:५-७; मलाकी २:१४-१६.

मूर्तिपूजाबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ? प्रस्थान २०:४, ५ मा यसो भनिएको छ: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू।” किन? किनभने मूर्ति ‘परमेश्‍वरको निम्ति घृणित कुरा हो।’ (व्यवस्था ७:२५, २६) प्रेरित यूहन्‍नाले यस्तो चेतावनी दिए: “हे मेरा साना केटा-केटी हो, मूर्तिहरूबाट जोगिएर बस।” (१ यूहन्‍ना ५:२१) अनि प्रेरित पावलले यस्तो लेखे: “ए मेरा प्रिय हो, मूर्तिपूजाबाट अलग रहो।”—१ कोरिन्थी १०:१४.

परमेश्‍वरको अनुमोदन खोज्नुहोस्‌

“सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌। . . . निर्दोष स्वभाव हुनेलाई उहाँले प्रिय ठान्‍नुहुन्छ।” (हितोपदेश ३:३२; ११:२०) त्यसको विपरीत, परमेश्‍वरका धार्मिक भावनाहरूलाई अटेर गरेर तिरस्कार गर्ने र त्यसलाई टेरपुच्छर नलाएर उहाँलाई अप्रसन्‍न तुल्याइरहने व्यक्‍तिहरूले चाँडै उहाँको अप्रसन्‍नताको परिणाम भोग्नेछन्‌। (२ थिस्सलोनिकी १:६-१०) निस्सन्देह, उहाँले आज व्याप्त सम्पूर्ण दुष्टताको चाँडै अन्त गर्नुहुनेछ। —भजन ३७:९-११; सपन्याह २:२, ३.

तथापि, यहोवा “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ भन्‍ने कुरालाई बाइबलले एकदमै स्पष्ट पार्छ। (२ पत्रुस ३:९) परिवर्तन हुन नचाहने मानिसहरूमाथि आफ्नो अप्रसन्‍नता व्यक्‍त गर्नुभन्दा उहाँलाई प्रेम गर्ने धर्मी मानिसहरूप्रति उहाँ आफ्नो स्नेह प्रकट गर्न रुचाउनुहुन्छ। यहोवा ‘दुष्टको मृत्यु चाहनुहुन्‍न, बरू दुष्ट मानिसले आफ्नो चाल त्यागेर जिओस्‌ भन्‍ने चाहनुहुन्छ।’—इजकिएल ३३:११.

त्यसैकारण कोही पनि यहोवाको रिसको सिकार बन्‍न आवश्‍यक छैन। यहोवा “कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) परमेश्‍वरका भावनाहरूमा पूर्णतया विश्‍वस्त हुँदै तपाईं आफ्नो ‘सारा फिक्री उहाँमाथि राखिदिन सक्नुहुन्छ, किनकि उहाँले तपाईंको फिक्री गर्नुहुन्छ।’ (१ पत्रुस ५:७) परमेश्‍वरको हृदयलाई आनन्दित तुल्याउने व्यक्‍तिहरूसित उहाँको अनुमोदन तथा मित्रताको आनन्द उठाउने अद्‌भुत प्रत्याशा छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। तसर्थ, “प्रभुलाई मनपर्ने के हो, सो जाँचेर” पक्का गर्नु पहिलेभन्दा अहिले झनै जरुरी भएको छ।—एफिसी ५:१०.

अनुग्रहको कारण परमेश्‍वरले आफ्नो महिमित गुण तथा भावनाहरू प्रकट गर्नु एकदमै अद्‌भुत कुरा हो! अनि तपाईं उहाँको हृदयलाई आनन्दित तुल्याउन सक्नुहुन्छ। तपाईंलाई यसो गर्ने इच्छा भएमा, आफ्नो क्षेत्रका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ भनी हामी तपाईंलाई आग्रह गर्छौं। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने आफ्नो प्रयासमा आफूलाई व्यावहारिक र प्राप्त गर्न सकिने कुराहरू तपाईंलाई बताउन उनीहरू खुसी हुनेछन्‌।

[फुटनोट]

a “बाइबलले किन परमेश्‍वरलाई मानव स्वभावद्वारा वर्णन गर्छ?” भन्‍ने शीर्षकको पेटी हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको पेटी]

बाइबलले किन परमेश्‍वरलाई मानव स्वभावहरूद्वारा वर्णन गर्छ?

“परमेश्‍वर आत्मा” हुनुभएको कारण हामी उहाँलाई भौतिक आँखाले देख्न सक्दैनौं। (यूहन्‍ना ४:२४) त्यसैकारण परमेश्‍वरको शक्‍ति, वैभव तथा गतिविधिहरू बुझाउन बाइबलले उपमा, रूपक र मानवीकरणजस्ता अलङ्‌कारयुक्‍त भाषा चलाउँछ। मानवीकरण भनेको गैरमानव कुरालाई मानव गुणहरूद्वारा वर्णन गर्नु हो। त्यसैले, परमेश्‍वरको आत्मिक शरीर कस्तो देखिन्छ भन्‍ने कुरा हामीलाई थाह नभए तापनि बाइबलले परमेश्‍वरको आँखा, कान, हात, पाखुरा, औंला, खुट्टा र हृदयबारे बताउँछ।—उत्पत्ति ८:२१; प्रस्थान ३:२०; ३१:१८; अय्यूब ४०:९; भजन १८:९; ३४:१५.

यस्तो वर्णनात्मक भाषा चलाउनुको अर्थ परमेश्‍वरको आत्मिक शरीरको पनि मानव शरीरका जस्तै अङ्‌गहरू हुन्छन्‌ भन्‍न खोजेको होइन। मानवीकरणलाई हामीले शाब्दिक अर्थमा लिनुहुँदैन। त्यसले त मानिसहरूलाई परमेश्‍वरबारे अझ राम्रोसँग बुझ्न मात्र मदत गर्छ। यस्तो अलङ्‌कारयुक्‍त भाषाविना तुच्छ मानिसजातिलाई परमेश्‍वरबारे गरिएको कुनै पनि वर्णन बुझ्न असम्भव नहुने भए तापनि गाह्रो चाहिं पक्कै हुने थियो। तथापि, त्यसको मतलब मानिसहरूले यहोवा परमेश्‍वरको व्यक्‍तित्व बनाइदिएका हुन्‌ भनेको होइन। परमेश्‍वर मानिसको स्वरूपमा होइन तर मानिस परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको थियो भनी बाइबलले स्पष्टसित बताउँछ। (उत्पत्ति १:२७) बाइबल लेखकहरूले “परमेश्‍वरबाट प्रेरणा” पाएको कारण, तिनीहरूले गरेको परमेश्‍वरको व्यक्‍तित्वको चित्रण वास्तवमा आफ्नो व्यक्‍तिगत गुणहरूबारे स्वयम्‌ परमेश्‍वरले गर्नुभएको वर्णनसित मेल खान्छ र यिनै गुणहरू उहाँले केही हदसम्म आफ्नो मानव सृष्टिमा हालिदिनुभयो। (२ तिमोथी ३:१६, १७) मानिसका गुणहरू परमेश्‍वरमा हुनुको सट्टा परमेश्‍वरका गुणहरू मानिसमा छन्‌।

[पृष्ठ ४-मा भएको चित्र]

नूहले परमेश्‍वरको नजरमा अनुग्रह पाए

[पृष्ठ ५-मा भएको चित्र]

अब्राहाम परमेश्‍वरका भावनाहरूप्रति संवेदनशील थिए

[पृष्ठ ६-मा भएको चित्र]

दाऊदले यहोवामा आफ्नो पूर्ण विश्‍वस्तता राखे

[पृष्ठ ७-मा भएको चित्र]

बाइबल पढ्‌नुहुँदा तपाईं परमेश्‍वरलाई आनन्दित तुल्याउन सिक्न सक्नुहुन्छ

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Courtesy of Anglo-Australian Observatory, photograph by David Malin