सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“नदीका तरङ्‌गहरूले ताली बजाऊन्‌”

“नदीका तरङ्‌गहरूले ताली बजाऊन्‌”

यहोवाको सृष्टिको वैभव

“नदीका तरङ्‌गहरूले ताली बजाऊन्‌”

पृथ्वीको मानचित्र हेर्नुहोस्‌ र अधिकांश ठाउँहरूमा तपाईंले विशाल भूमिमा नागबेली रेखाहरू देख्नुहुनेछ। यी घुमाउरा रेखाहरू बेंसी, मरुभूमि र घाँसे मैदानभरि फैलिएका छन्‌। यी रेखाहरू उपत्यका, घाटी र जङ्‌गलहरू हुँदो जान्छन्‌। (हबकूक ३:९) यी रेखाहरू नदीहरू हुन्‌, हाम्रो ग्रहको जीवनका धमनीहरू। यस्ता पानीका नहरहरूले पृथ्वीको सृष्टिकर्ता यहोवाको बुद्धि र शक्‍तिको प्रमाण दिन्छन्‌। ती कुराहरूलाई नियाल्दा हामी भजनहारका भावनाहरूसित सहमत भइरहेका हुन्छौं, जसले यसो भन्दै गाएका थिए: “नदीका तरङ्‌गहरूले ताली बजाऊन्‌, पहाड़ र पर्वत आनन्दले एकसाथ गाऊन्‌। तिनीहरूले परमप्रभुको सम्मुख गाऊन्‌। किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकता र निष्पक्षतासाथ संसारका मानिसहरूको न्याय गर्नुहुनेछ।”—भजन ९८:८, ९, नयाँ संशोधित संस्करण। a

नदीहरूको मानव इतिहाससित नजिकको सम्बन्ध छ। बाइबलमा चारवटा प्रमुख नदीबारे बताइएको छ, जुन नदीहरू अदनबाट निस्केको नदीबाट छुट्टिएका थिए। (उत्पत्ति २:१०-१४) पुरातन सभ्यतामध्ये एउटा, मध्यपूर्व स्थित टाइग्रिस र यूफ्रेटिस नदीको उर्वर उपत्यकामा सुरु भएको थियो। चीनको ह्वाङ नदी, दक्षिण एसियाको गङ्‌गा र सिन्धु नदी अनि मिश्रको नील नदीले गर्दा नै महान्‌ सभ्याताहरूको उदय सम्भव भएको थियो।

त्यसैकारण नदीहरूको शक्‍ति, विशालता र सुन्दरताको अगाडि मानिस सधैं आश्‍चर्यचकित हुनु स्वाभाविकै हो। मिश्रको नील नदी लगभग ६,६७० किलोमिटर टाढासम्म फैलिएको छ। दक्षिण अमेरिकाको अमेजन सबैभन्दा ठूलो नदी भनेर चिनिन्छ। कुनै-कुनै नदीहरू आफ्नो विशालताले गर्दा सानदार देखिन्छन्‌ भने जापानको तोने नदीजस्ता साना तर तेज गतिले बग्ने नदीहरू पनि त्यत्तिकै सुन्दर छन्‌।

केले गर्दा नदी बग्छ? एक शब्दमा भन्‍ने हो भने, गुरुत्वाकर्षण। गुरुत्वाकर्षणले अग्लो ठाउँको पानीलाई तलतिर तान्छ। यही कारणले गर्दा कहिलेकाहीं विशाल झरनाहरू बन्छन्‌। शक्‍ति र महानताका यी प्रदर्शनहरूबारे वर्णन गर्दै बाइबल यसो भन्छ: ‘हे परमप्रभु, नदीहरू उर्लिआएका छन्‌, समुद्रका छालहरूको गर्जन उच्च भएको छ, तिनका भयानक लहरहरू उर्लिआएका छन्‌।’—भजन ९३:३, नयाँ संशोधित संस्करण।

“महा-वृष्टिको लागि कसले नहर खनेको छ?” भनेर यहोवाले ईश्‍वरभीरु मानिस अय्यूबलाई सोध्नुभयो। (अय्यूब ३८:२५) साँच्चै, यत्तिका पानी कहाँबाट आउँछ? यसको जवाफमा जटिल जलचक्र समावेश छ। घामको ताप र गुरुत्वाकर्षणको शक्‍तिले गर्दा पृथ्वीको पानी एउटा चक्रमा घुमिरहन्छ। पानी वाष्पीकरण भएपछि यो माथि वायुमण्डलमा जान्छ। अन्तमा, यो चिसिन्छ र द्रवीकरण भएर बादल बन्छ। केही समयपछि, यही बाफ हिउँ वा पानीको रूपमा पृथ्वीमा फर्किन्छ। प्रायजसो पानी समुद्र, ताल, नदी, हिमनदी, ध्रुवीय हिमशिला र जमिनमुनि जम्मा हुन्छ।

यस उल्लेखनीय चक्रबारे बाइबल यसो भन्छ: “सबै खोलाहरू समुद्रमानै बग्छन्‌, तापनि समुद्र चाहिँ कहिल्यै भरिएर पोखिंदैन। जुन स्थानबाट खोलाहरू बग्छन्‌ फेरि बग्नलाई ती त्यतै फर्कछन्‌।” (उपदेशक १:७) असीम बुद्धि भएको र मायालु हेरचाह गर्नुहुने परमेश्‍वर यहोवाले मात्र यस्तो चक्रलाई क्रियाशील बनाउन सक्नुहुन्छ। अनि यस्तो उत्कृष्ट कृतिले हामीलाई परमेश्‍वर कस्तो किसिमको हुनुहुन्छ भन्‍ने सन्दर्भमा के बताउँछ? उहाँ महान्‌ बुद्धि र मायालु हेरचार गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।—भजन १०४:१३-१५, २४, २५; हितोपदेश ३:१९, २०.

नदीहरू विशाल र असंख्य भए तापनि नदीहरूमा कमै मात्रामा संसारको सफा पानी पाइन्छ। यद्यपि, ती हाम्रो जीवनका लागि अपरिहार्य छन्‌। “पानीको सुविधा नभइदिएको भए र पानीलाई केही हदसम्म नियन्त्रण नगरिएको भए मानिसहरूका साधारण तथा जटिल आवश्‍यकताहरू पूरा गर्न असम्भव हुने थियो” भनेर वटर नामको पुस्तक बताउँछ। “यस तथ्यलाई मानिसले बुझेको हुँदा मानव सभ्यतामा यसको प्रमुख भूमिका रहेको छ।”

हजारौं वर्षदेखि नदीहरूले मानिसको तिर्खा मेट्‌नुका साथै बगैंचाहरूको लागि पानी उपलब्ध गराउँदै आएका छन्‌। थुप्रै नदीहरूको तटमा भएको मलिलो माटो खेतीयोग्य छ। यहोवाका सेवकहरूमाथि बर्षाइएको आशिष्‌को सन्दर्भमा यस विचारलाई कसरी व्यक्‍त गरिएको छ, याद गर्नुहोस्‌: “हे याकूब, तिम्रा पालहरू, हे इस्राएल, तिम्रा बासस्थानहरू कति राम्रा! ती बेंसीजस्तै छन्‌, खोलाका किनारका बगैंचाझैं, परमप्रभुले रोप्नुभएका घिउकुमारीहरूजस्ता, पानीनेरका देवदारहरूजस्ता फैलिएका छन्‌।” (गन्ती २४:५, ६) यहाँ देख्नुभएजस्तै नदीहरूले हाँस र स्यालजस्ता जनावरहरूको जीवन धान्‍न पनि मदत गर्छ। साँच्चै भन्‍ने हो भने, नदीहरूबारे हामी जति बढी अध्ययन गर्छौं, उत्ति नै हामी यहोवालाई धन्यवाद नचढाई बस्न सक्दैनौं।

[फुटनोट]

a २००४ यहोवाका साक्षीहरूको क्यालेन्डर, मे/जून हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

अर्जेन्टिना र ब्राजिलबीचको सिमानामा भएको इग्वासु झरना सबैभन्दा फराकिलो झरना हो। यस झरनाको चौडाइ एक छेउदेखि अर्को छेउसम्म ३ किलोमिटरभन्दा बढी छ। स्वच्छ उष्ण कटिबन्धीय जङ्‌गलको काखमा अवस्थित यो झरना लगभग ३०० वटा जति ससाना झरना मिलेर बनेको छ। वर्षायाममा प्रति सेकेन्ड लगभग १०,००० घन मिटर पानी खस्छ।

[पृष्ठ ९-मा भएको चित्र]

जापानको तोने नदी