सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वृद्ध जनहरू—हाम्रो मसीही भ्रातृत्वका बहुमूल्य सदस्यहरू

वृद्ध जनहरू—हाम्रो मसीही भ्रातृत्वका बहुमूल्य सदस्यहरू

वृद्ध जनहरू—हाम्रो मसीही भ्रातृत्वका बहुमूल्य सदस्यहरू

“परमप्रभुको घरमा रोपेकाहरू . . . लहलह हुन्छन्‌। तिनीहरूले बूढ़ेसकालमा पनि फल फलाउँछन्‌।”—भजन ९२:१३, १४.

१. थुप्रै मानिसहरूले वृद्धहरूप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

 यहोवाले आफ्ना सबै विश्‍वासी सेवकहरूलाई माया गर्नुहुन्छ र यसमा वृद्ध सेवकहरू पनि समावेश छन्‌। तथापि, एउटा राष्ट्रिय आँकडाअनुसार संयुक्‍त राज्य अमेरिकामा वर्षेनी झन्डै पाँच लाख वृद्ध व्यक्‍तिहरू दुर्व्यवहारको सिकार वा अरूबाट अपहेलित हुन्छन्‌। संसारभरिका यस्तै प्रकारका रिपोर्टहरूले वृद्ध व्यक्‍तिहरूप्रति दुर्व्यवहार एउटा विश्‍वव्यापी समस्या भएको छ भन्‍ने सङ्‌केत दिन्छ। यसको एउटा प्रमुख कारण, “वृद्ध व्यक्‍तिहरू बेकार, केही काम नलाग्ने र अरूमा बढ्‌तै निर्भर हुन्छन्‌ . . . भन्‍ने सोचाइ थुप्रै मानिसहरूमा व्याप्त हुनु” हो भनी एउटा संगठनले बताउँछ।

२. (क) यहोवाले आफ्ना विश्‍वासी वृद्ध सेवकहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? (ख) भजन ९२:१२-१५ मा हामी कस्तो हृदयस्पर्शी वर्णन पाउँछौं?

यहोवा परमेश्‍वरले आफ्ना वफादार वृद्ध सेवकहरूलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ। उहाँले हाम्रा शारीरिक सीमितताहरूमा नभई “हाम्रो भित्री मनुष्यत्व” अर्थात्‌ हाम्रो आध्यात्मिक अवस्थामा ध्यान केन्द्रित गर्नुहुन्छ। (२ कोरिन्थी ४:१६) उहाँको वचन बाइबलमा हामी यस्तो हृदयस्पर्शी आश्‍वासन पाउँछौं: “धर्मात्माचाहिं खजूरका बोटझैं लहलह हुन्छन्‌, तिनी लबानोनको देवदारुजस्तै बड़नेछन्‌। परमप्रभुको घरमा रोपेकाहरू हाम्रा परमेश्‍वरका दरवारमा लहलह हुन्छन्‌। तिनीहरूले बूढ़ेसकालमा पनि फल फलाउँछन्‌, तिनीहरू जीवन दिने रसले भरिएका हरिया-भरिया हुन्छन्‌। परमप्रभु सोझो [“र घोषणा गर्छन्‌, ‘परमप्रभु भला हुनुहुन्छ।’ ” नयाँ संशोधित संस्करण] हुनुहुन्छ भनी देखाउन।” (भजन ९२:१२-१५) यी शास्त्रपदहरूको छलफलले तपाईं वृद्ध जनहरूले मसीही भ्रातृत्वमा पुऱ्‍याउन सक्ने बहुमूल्य योगदानका विभिन्‍न पक्षहरूबारे प्रकाश पार्नेछ।

“बूढ़ेसकालमा पनि फल फलाउँछन्‌”

३. (क) धर्मीहरूलाई किन खजूरको रूखसित तुलना गरिएको छ? (ख) वृद्ध जनहरूले कसरी ‘बूढेसकालमा पनि फल फलाउन’ सक्छन्‌?

भजनहारले धर्मीहरूलाई ‘हाम्रा परमेश्‍वरको दरवारमा रोपिएका’ खजूरका रूखहरूसँग तुलना गर्छन्‌। तिनीहरूले “बूढ़ेसकालमा पनि फल फलाउँछन्‌।” यो एउटा प्रोत्साहनजनक विचार हो नि, होइन र? शोभायमान, खजूरका ठाडो रूखहरू बाइबलकालीन पूर्वीय भेगका चोकहरूमा एउटा सामान्य दृश्‍य हुन्थ्यो। सजावटको दृष्टिले तिनीहरूको महत्त्वको साथै खजूरको रूखले प्रशस्त फल दिने हुँदा पनि त्यसको मोल गरिन्थ्यो र कुनै-कुनै रूखले एक सय वर्षभन्दा लामो समयसम्म फल फलाइरहन्थ्यो। a साँचो उपासनामा बलियो जरा गाडेर तपाईं पनि त्यसरी नै “हरेक असल काममा फलिफाप हुँदै” जान सक्नुहुन्छ।—कलस्सी १:१०.

४, ५. (क) मसीहीहरूले कस्तो महत्त्वपूर्ण फल फलाउनुपर्छ? (ख) “ओठको फल” फलाएका वृद्ध व्यक्‍तिहरूका धर्मशास्त्रीय उदाहरणहरू दिनुहोस्‌।

मसीहीहरूले “ओठको फल” फलाएको अर्थात्‌ उहाँ र उहाँको उद्देश्‍यको प्रशंसा गरेको यहोवा चाहनुहुन्छ। (हिब्रू १३:१५) के यो कुरा तपाईं वृद्ध व्यक्‍तिलाई लागू हुन्छ? अवश्‍य हुन्छ।

यहोवाको नाउँ र उद्देश्‍यबारे साहसी भई साक्षी दिने वृद्ध व्यक्‍तिका उदाहरणहरू बाइबलमा पाइन्छ। यहोवाले मोशालाई आफ्नो अगमवक्‍ता र प्रतिनिधिको रूपमा काम सुम्पिनुहुँदा तिनी “तीन कोरी र दश वर्ष” अर्थात्‌ सत्तरी वर्ष नाघिसकेका थिए। (भजन ९०:१०; प्रस्थान ४:१०-१७) यहोवाको सार्वभौमिकताको सन्दर्भमा साहसी भई साक्षी दिन अगमवक्‍ता दानियललाई तिनको बुढ्यौलीले छेकेन। भित्तामा लेखिएको रहस्यमय लेखोटको अर्थ खुलाउन बेलसजरले दानियललाई बोलाउँदा तिनको उमेर सम्भवतः ९० वर्ष नाघिसकेको हुनुपर्छ। (दानियल, अध्याय ५) अनि वृद्ध प्रेरित यूहन्‍नाबारे के भन्‍न सकिन्छ नि? आफ्नो लामो विश्‍वासी सेवाको अन्ततिर “परमेश्‍वरको वचन र येशू ख्रीष्टको साक्षी” दिएको कारण उनी पत्मोस टापुमा थुनिन पुगे। (प्रकाश १:९) आफ्नो बुढेसकालमा “ओठको फल” फलाएका अरू थुप्रै बाइबल पात्रहरूलाई तपाईं सम्झन सक्नुहुन्छ होला।—१ शमूएल ८:१, १०; १२:२; १ राजा १४:४, ५; लूका १:७, ६७-७९; २:२२-३२.

६. यी आखिरी दिनमा अगमवाणी बोल्न यहोवाले “वृद्ध जनहरू[लाई]” कसरी चलाउनुभएको छ?

हिब्रू अगमवक्‍ता योएललाई उद्धृत गर्दै प्रेरित पत्रुसले यस्तो घोषणा गरे: “आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्छ, ‘म [“वृद्ध जनहरूलगायत”] सबैको शरीरमाथि मेरो आत्माबाट खन्याइदिनेछु, औ . . . [तिनीहरूले] अगमवाणी बोल्नेछन्‌।’ ” (प्रेरित २:१७, १८; योएल २:२८) त्यसरी नै, यी आखिरी दिनमा यहोवाले आफ्नो उद्देश्‍य घोषणा गर्न अभिषिक्‍त वर्ग तथा “अरू भेडा[का]” वृद्ध सदस्यहरूलाई चलाउनुभएको छ। (यूहन्‍ना १०:१६) तिनीहरूमध्ये कसै-कसैले दशकौंदेखि राज्यको फल फलाइरहेका छन्‌।

७. शारीरिक सीमितताहरूको बावजुद वृद्ध जनहरूले कसरी राज्यको फल फलाइरहन्छन्‌, बताउनुहोस्‌।

सन्‌ १९४१ मा पूर्ण-समय राज्य प्रकाशक भएकी सोनियालाई विचार गर्नुहोस्‌। दीर्घकालीन रोगबाट पीडित भए तापनि उनले नियमित तवरमा आफ्नो घरमा बाइबल अध्ययनहरू सञ्चालन गर्थिन्‌। सोनिया यसो भन्थिन्‌, “सुसमाचार प्रचार गर्नु मेरो जीवनको भाग हो। वास्तवमा यो नै मेरो जीवन हो। म यो कामबाट अवकाश लिन चाहन्‍नँ।” केही समयअघिको कुरा हो, सोनिया र उनकी दिदी ओलिभले अस्पतालको प्रतीक्षालयमा भेटेको ज्यानेटलाई बाइबलले प्रदान गर्ने आशाको सन्देश सुनाए जसलाई एउटा घातक रोग लागेको थियो। ज्यानेटकी आमा जो एक जना कट्टर क्याथोलिक थिइन्‌, तिनी आफ्नो छोरीप्रति देखाइएको मायालु चासोबाट यति प्रभावित भइन्‌ कि तिनले गृह बाइबल अध्ययनको प्रस्ताव स्वीकारिन्‌ र अहिले एकदमै राम्रो प्रगति गरिरहेकी छिन्‌। के तपाईं पनि राज्यको फल फलाउने यस्ता मौकाहरूको सदुपयोग गर्न सक्नुहुन्छ?

८. बूढा भइसकेका कालेबले यहोवामा आफ्नो भरोसा कसरी प्रदर्शन गरे र वृद्ध मसीहीहरूले कसरी तिनको उदाहरण अनुकरण गर्न सक्छन्‌?

ढल्कँदो उमेर सँगसँगै आउने सीमितताहरूको बावजुद साहसका साथ राज्य प्रचारकार्यमा लागिरहेर वृद्ध मसीहीहरूले मोशासँगै उजाडस्थानमा चार दशकसम्म हिंडेका विश्‍वासी इस्राएली कालेबको उदाहरण पछ्याइरहेका छन्‌। यर्दन नदी पार गरेर प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्दा कालेब ७९ वर्षका थिए। सिपाहीको हैसियतमा इस्राएलको विजयी सेनामा छ वर्ष सेवा गरिसकेपछि तिनी विगतका उपलब्धिहरूमा चित्त बुझाएर हात बाँधेर बस्न सक्थे। तर त्यसो नगरी, तिनले साहसका साथ यहूदाको पहाडी इलाकामा बसोबास गर्ने अजङका मानिस, अनाकीहरूका “ठूला ठूला गढ़ भएका शहरहरू” कब्जा गर्ने कठिन कार्यभारको लागि आग्रह गरे। यहोवाको मदत पाएर कालेबले ‘उहाँको वचनअनुसार, तिनीहरूलाई धपाउनसके।’ (यहोशू १४:९-१४; १५:१३, १४) यहोवा कालेबको साथमा हुनुभएझैं बुढेसकालमा पनि राज्यको फल फलाइरहनुहुँदा उहाँ तपाईंको साथमा पनि हुनुहुनेछ भनी ढुक्क हुनुहोस्‌। अनि तपाईं विश्‍वासी रहनुभयो भने प्रतिज्ञा गरिएको नयाँ संसारमा उहाँले तपाईंलाई ठाउँ दिनुहुनेछ।—यशैया ४०:२९-३१; २ पत्रुस ३:१३.

“तिनीहरू . . . हरिया-भरिया हुन्छन्‌”

९, १०. वृद्ध मसीहीहरू कसरी विश्‍वासमा पक्का रहन्छन्‌ र आफ्नो आध्यात्मिक तागत कायम राख्छन्‌? (पृष्ठ १३ को पेटी हेर्नुहोस्‌।)

यहोवाका वृद्ध सेवकहरू कत्तिको फलदायी हुन्छन्‌ भन्‍ने कुरामा ध्यानाकर्षण गर्दै भजनहारले यस्तो भजन गाए: “धर्मात्माचाहिं खजूरका बोटझैं लहलह हुन्छन्‌, तिनी लबानोनको देवदारुजस्तै बड़नेछन्‌। तिनीहरूले बूढ़ेसकालमा पनि फल फलाउँछन्‌, तिनीहरू जीवन दिने रसले भरिएका हरिया-भरिया हुन्छन्‌।”—भजन ९२:१२, १४.

१० ढल्कँदो उमेरको बावजुद तपाईं कसरी आफ्नो आध्यात्मिक तागत कायम राख्न सक्नुहुन्छ? खजूरको रूखको सदाबहार सौन्दर्यको रहस्य यसले अटुट रूपमा प्राप्त गर्ने स्वच्छ पानीमा निर्भर हुन्छ। त्यसरी नै तपाईंले परमेश्‍वरको वचनको अध्ययन र उहाँको संगठनसितको संगतिबाट पाइने बाइबल सत्यको पानीबाट पोषण प्राप्त गर्न सक्नुहुन्छ। (भजन १:१-३; यर्मिया १७:७, ८) तपाईंको आध्यात्मिक जाँगरको कारण तपाईं सँगी विश्‍वासीहरूको लागि बहुमूल्य सम्पत्ति साबित हुनुहुनेछ। वृद्ध प्रधान पूजाहारी यहोयादाको सन्दर्भमा यो कसरी साँचो साबित भयो, विचार गर्नुहोस्‌।

११, १२. (क) यहूदा राज्यको इतिहासमा यहोयादाले कस्तो महत्त्वपूर्ण भूमिका खेले? (ख) साँचो उपासनालाई उच्च पार्न यहोयादाले आफ्नो प्रभाव कसरी चलाए?

११ महत्त्वाकाङ्‌क्षी रानी अतल्याहले आफ्नै नातिनातिनाको हत्या गरेर यहूदामाथि कब्जा जमाउँदा यहोयादा सम्भवतः सय वर्ष नाघिसकेका थिए। वयोवृद्ध यहोयादाले के गर्न सक्थे? बाँकी रहेका एक मात्र शाही उत्तराधिकारी योआशलाई तिनी र तिनकी पत्नीले छ वर्षसम्म मन्दिरमा लुकाएर राखे। अनि एउटा नाटकीय कदम चाल्दै यहोयादाले सात वर्षीय योआशलाई राजा घोषणा गरे र अतल्याहलाई मार्न लगाए।—२ इतिहास २२:१०-१२; २३:१-३, १५, २१.

१२ राजाको संरक्षकको रूपमा यहोयादाले साँचो उपासनालाई उच्च पार्न आफ्नो प्रभावलाई चलाए। “त्यसपछि तिनीहरू परमप्रभुको प्रजा हुनुपर्छ भनी परमप्रभु र जम्मै मानिसहरू, र राजाका बीचमा” तिनले “करार बाँधे।” यहोयादाको आज्ञाबमोजिम मानिसहरूले झूटो देवता बालको मन्दिर भत्काए र त्यसका वेदी, मूर्तिहरू तथा पूजाहारीलाई हटाए। योआशले यहोयादाको डोऱ्‍याइमै मन्दिरका सेवाहरू पनि पुनर्स्थापना गरे र मर्मत गर्नै पर्ने अवस्थामा भएको मन्दिरको मर्मत गरे। “यहोयादा पूजाहारीले तिनलाई सिकाएझैं [योआशले] आफ्ना जीवनकालभरिनै परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे।” (२ इतिहास २३:११, १६-१९; २४:११-१४; २ राजा १२:२) एक सय तीस वर्षको उमेरमा यहोयादाको मृत्यु हुँदा राजाहरूसँगै तिनलाई गाडेर असाधारण सम्मान दिइयो किनभने “तिनले इस्राएलमा असल काम गरेर परमेश्‍वर र उहाँको भवनको सेवा गरेका थिए।”—२ इतिहास २४:१५, १६.

१३. वृद्ध मसीहीहरूले कसरी ‘साँचो उपासना र उहाँको भवनको लागि असल गर्न सक्छन्‌’?

१३ सायद बिग्रँदो स्वास्थ्य वा अन्य परिस्थितिले गर्दा साँचो उपासनालाई उच्च पार्नको लागि तपाईंले गर्न सक्ने कुराहरू सीमित होलान्‌। त्यसोभए तापनि तपाईंले ‘साँचो उपासना र उहाँको भवनको लागि असल गर्न सक्नुहुन्छ।’ सकेसम्म मसीही सभाहरूमा उपस्थित हुनुका साथै त्यसमा भाग लिएर अनि क्षेत्र सेवकाईमा गएर तपाईंले यहोवाको आध्यात्मिक भवनको लागि जोस देखाउन सक्नुहुन्छ। तपाईंले राजीखुसी बाइबल सल्लाह स्वीकार्दा र वफादार भई “विश्‍वासी र बुद्धिमान दास” अनि मण्डलीको समर्थन गर्दा मसीही भ्रातृत्वलाई सुदृढ पार्न सक्नुहुनेछ। (मत्ती २४:४५-४७) तपाईंले सँगी उपासकहरूलाई “प्रेम र सुकर्ममा” उत्तेजित पनि गर्न सक्नुहुन्छ। (हिब्रू १०:२४, २५; फिलेमोन ८, ९) अनि प्रेरित पावलको यो सल्लाह अनुरूप चल्नुभयो भने तपाईं अरूको निम्ति आशिष्‌ साबित हुनुहुनेछ: “वृद्ध पनि परहेजी, गम्भीर, आत्मसंयमी, विश्‍वास, प्रेम र धीरजमा पक्का [“बलवान्‌,” एन अमेरिकन ट्रान्सलेसन] होऊन्‌। त्यही माफिक वृद्धाहरू पनि पवित्र चालचलनका, अर्कालाई सित्तैं दोष नलाउने, रक्सी धेरै नपिउने, बढ़िया कुराहरूको शिक्षा दिने होऊन्‌।”—तीतस २:२-४.

१४. साँचो उपासनालाई उच्च पार्न लामो समयदेखि सेवा गर्दै आएका मसीही निरीक्षकहरूले के गर्न सक्छन्‌?

१४ के तपाईंले मण्डलीको प्राचीनको हैसियतमा सेवा गर्नुभएको धेरै वर्ष भइसक्यो? लामो समयदेखि सेवा गर्दै आएका एक जना मण्डलीको प्राचीन यस्तो सल्लाह दिन्छन्‌, “ढल्कँदो उमेर सँगसँगै आउने बुद्धिलाई प्रयोग गर्न कन्जुस्याइँ नगर्नुहोस्‌, खुला हृदयले बुद्धिलाई प्रयोग गर्नुहोस्‌। जिम्मेवारीहरू बाँड्‌नुहोस्‌ अनि सिक्न इच्छुकहरूलाई आफ्ना अनुभवहरू बताउनुहोस्‌ . . . अरूका क्षमताहरू पत्ता लगाउन खोज्नुहोस्‌। त्यस क्षमतालाई विकास र सम्भार गर्नुहोस्‌। भविष्यको लागि तयार पार्नुहोस्‌।” (व्यवस्था ३:२७, २८) एकदमै तीव्र रूपमा विस्तार भइरहेको राज्य गतिविधिमा तपाईंले साँचो चासो लिनुहुँदा हाम्रो मसीही भ्रातृत्वमा रहेका अरूले थुप्रै लाभहरू उठाउनेछन्‌।

‘परमप्रभु भला हुनुहुन्छ भनी घोषणा गर्छन्‌’

१५. वृद्ध मसीहीहरूले कसरी ‘परमप्रभु भला हुनुहुन्छ भनी घोषणा गर्छन्‌’?

१५ परमेश्‍वरका वृद्ध सेवकहरूले ‘परमप्रभु भला हुनुहुन्छ भनी घोषणा’ गर्ने (नयाँ संशोधित संस्करण) आफ्नो जिम्मेवारीलाई आनन्दसाथ पूरा गर्छन्‌। तपाईं वृद्ध मसीही हुनुहुन्छ भने तपाईंको वचन तथा कार्यले अरूलाई ‘यहोवा तपाईंको चटान हुनुहुन्छ, जसमा केही अधर्म छँदैछैन’ भनी देखाउन सक्छ। (भजन ९२:१५) खजूरको रूखले सृष्टिकर्ताको उत्कृष्ट गुणहरूको मौन साक्षी दिन्छ। तर साँचो उपासना अँगाल्नेहरूलाई उहाँबारे साक्षी दिन यहोवाले तपाईंलाई सुअवसर प्रदान गर्नुभएको छ। (व्यवस्था ३२:७; भजन ७१:१७, १८; योएल १:२, ३) यो किन महत्त्वपूर्ण छ?

१६. ‘यहोवा भला हुनुहुन्छ भनी घोषणा’ गर्नुको महत्त्वलाई बाइबलको कुन उदाहरणले स्पष्ट पार्छ?

१६ इस्राएली नेता यहोशू जब “वृद्ध भएर निकै उमेर खाइसकेका थिए” तिनले “सबै इस्राएलीहरूलाई, तिनीहरूका बूढ़ा प्रधानहरूलाई, तिनीहरूका कुलनायकहरूलाई तिनीहरूका न्यायकर्त्ताहरूलाई, र तिनीहरूका अधिकारीहरूलाई बोलाएर” परमेश्‍वरका निष्कपट व्यवहारहरूबारे सम्झाए। तिनले यस्तो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ।” (यहोशू २३:१, २, १४) केही समयको लागि यी शब्दहरूले मानिसहरूलाई विश्‍वासी रहने आफ्नो सङ्‌कल्पमा बलियो बनायो। तथापि, यहोशूको मृत्युपछि “एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथियो औ उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैनथियो। इस्राएलीहरूले जे परमप्रभुको दृष्टिमा खराब थियो त्यही गर्नलागे, र बाल देवतालाई पूजा गर्नलागे।”—न्यायकर्त्ता २:८-११.

१७. आधुनिक समयमा यहोवाले आफ्ना जनहरूसित कस्तो व्यवहार गर्नुभएको छ?

१७ आधुनिक समयको मसीही मण्डलीको निष्ठा परमेश्‍वरका वृद्ध सेवकहरूको मौखिक साक्षीमा निर्भर हुँदैन। तैपनि, परमेश्‍वरले आफ्ना जनहरूको खातिर यी आखिरी दिनमा गर्नुभएका “ठूला ठूला कामहरू” अनुभव गरेका व्यक्‍तिगत विवरणहरू सुन्दा यहोवा र उहाँका प्रतिज्ञाहरूमा हाम्रो विश्‍वास अझ सुदृढ हुन्छ। (न्यायकर्त्ता २:७; २ पत्रुस १:१६-१९) तपाईंले यहोवाको संगठनसित संगत गर्नुभएको वर्षौं भइसक्यो भने आफ्नो इलाका वा देशमा मुठीभर राज्य प्रकाशकहरू मात्र हुँदा वा प्रचारकार्यमा कडा विरोधको सामना गर्नुपरेको समय तपाईं सम्झनुहुन्छ होला। समयमा यहोवाले कुनै-कुनै अवरोधहरू हटाउनुभएको र प्रकाशकहरूको वृद्धि “चाँडै” गराउनुभएको तपाईंले देख्नुभएको छ। (यशैया ५४:१७; ६०:२२) बाइबल सत्यबारे थप स्पष्टीकरणहरू दिइएको र यहोवाको संगठनको दृश्‍य भागमा क्रमिक सुधार गरिएको पनि तपाईंले देख्नुभएको छ। (हितोपदेश ४:१८; यशैया ६०:१७) यहोवाको निष्कपट व्यवहारबारे तपाईंले कस्तो अनुभव गर्नुभएको छ, त्यसबारे अरूलाई बताएर के तपाईं प्रोत्साहन दिन प्रयास गर्नुहुन्छ? यसले मसीही भ्रातृत्वमा कस्तो सकारात्मक असर पार्न सक्छ र सुदृढ बनाउन सक्छ!

१८.  (क) ‘यहोवा भला हुनुहुन्छ भनी घोषणा गर्नुका’ चिरकालीन असरबारे बताउनुहोस्‌। (ख) यहोवाको निष्कपट व्यवहार तपाईंले व्यक्‍तिगत रूपमा कसरी अनुभव गर्नुभएको छ?

१८ तपाईंले आफ्नो व्यक्‍तिगत जीवनमा यहोवाको मायालु चासो र डोऱ्‍याइ अनुभव गर्नुभएको घटनाबारे के भन्‍न सक्नुहुन्छ? (भजन ३७:२५; मत्ती ६:३३; १ पत्रुस ५:७) मार्था नाउँ गरेकी एउटी वृद्ध बहिनीले अरूलाई यसरी प्रोत्साहन दिने गर्थिन्‌: “जेसुकै भए तापनि यहोवालाई कहिल्यै नत्याग्नुहोस्‌। उहाँले तपाईंलाई सँभाल्नुहुनेछ।” यो कुराले मार्थाको एक जना बाइबल विद्यार्थी टोल्मिनालाई गहिरो प्रभाव पाऱ्‍यो जसले १९६० दशकको सुरुतिर बप्तिस्मा लिएकी थिइन्‌। टोल्मिना यसरी सम्झन्छिन्‌: “मेरो श्रीमान्‌ बित्नुहुँदा म असाध्यै निरुत्साहित भएकी थिएँ तर ती शब्दहरूले मलाई एउटा पनि सभा नछुटाउन कटिबद्ध बनायो। अनि यहोवाले मलाई लत्तो नछाडी लागिरहने बल प्रदान गर्नुभयो।” टोल्मिनाले वर्षौंको दौडान आफ्ना थुप्रै बाइबल विद्यार्थीहरूलाई यही सल्लाह दिंदै आएकी छिन्‌। साँच्चै, प्रोत्साहन दिएर अनि यहोवाका निष्कपट व्यवहारहरूको सम्झना गरेर तपाईंले सँगी विश्‍वासीहरूको विश्‍वासलाई सुदृढ पार्न निकै मदत दिन सक्नुहुन्छ।

यहोवाले वृद्ध विश्‍वासीहरूलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ

१९, २०. (क) यहोवाले आफ्ना वृद्ध सेवकहरूको गतिविधिप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ? (ख) अर्को लेखमा के छलफल गरिनेछ?

१९ बैगुनी भनेर चिनिने आजको संसारमा वृद्धहरूको वास्ता गरिंदैन। (२ तिमोथी ३:१, २) तिनीहरूको सम्झना गरिंदा पनि अक्सर तिनीहरूको विगतका उपलब्धिहरूको लागि गरिन्छ—तिनीहरूले अहिले के गरिरहेका छन्‌ त्यसको लागि नभई के गरेका थिए, त्यसको सम्झना गरिन्छ। त्यसको विपरीत बाइबल यसो भन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” (हिब्रू ६:१०) निस्सन्देह, यहोवा परमेश्‍वरले तपाईंले विगतमा गर्नुभएका विश्‍वासी कामहरू बिर्सनुहुन्‍न। तर तपाईंले अहिले उहाँको सेवामा जे गरिरहनुभएको छ त्यसको लागि पनि तपाईंलाई बहुमूल्य ठान्‍नुहुन्छ। हो, उहाँले विश्‍वासी वृद्ध जनहरूलाई फलदायी, आध्यात्मिक तवरमा स्वस्थ र बलवान्‌ ठान्‍नुहुन्छ जो उहाँको शक्‍तिको जीवित गवाहीहरू हुन्‌।—फिलिप्पी ४:१३.

२० के तपाईंले हाम्रो मसीही भ्रातृत्वका वृद्ध सदस्यहरूप्रति यहोवाको जस्तो दृष्टिकोण राख्नुहुन्छ? यदि राख्नुहुन्छ भने तपाईं तिनीहरूप्रति प्रेम देखाउन उत्प्रेरित हुनुहुनेछ। (१ यूहन्‍ना ३:१८) तिनीहरूका आवश्‍यकताहरूको हेरचाह गर्दा त्यस्तो प्रेम देखाउन सकिने केही व्यावहारिक तरिकाहरूबारे अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोट]

a प्रत्येक छोहोराको रूखको झुप्पामा हजारवटासम्म छोहोराका दाना हुन सक्छन्‌ र यसको वजन ८ किलोग्राम वा त्योभन्दा बढी हुन सक्छ। एक जना लेखकको अनुमानअनुसार “फल दिने प्रत्येक [खजूरको] रूखले आफ्नो जीवनकालमा मालिकलाई इनाम स्वरूप दुई वा तीन टन छोहोरा दिइसकेको हुनेछ।”

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• वृद्धहरूले कसरी “फल फलाउँछन्‌”?

• उमेर ढल्किसकेका मसीहीहरूको आध्यात्मिक जोस किन एउटा बहुमूल्य सम्पत्ति हो?

• वृद्ध जनहरूले कसरी ‘परमप्रभु भला हुनुहुन्छ भनी घोषणा गर्न’ सक्छन्‌?

• लामो समयदेखि सेवा गरिरहेका आफ्ना सेवकहरूलाई यहोवाले किन मूल्यवान्‌ ठान्‍नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको पेटी]

तिनीहरू कसरी विश्‍वासमा पक्का रहेका छन्‌

लामो समयदेखि सेवा गर्दै आएका मसीहीहरूलाई विश्‍वासमा पक्का रहन र आफ्नो आध्यात्मिक तागत कायम राख्न कुन कुराले मदत गरेको छ? कसै-कसैले यस्तो जवाफ दिएका छन्‌:

“यहोवासितको हाम्रो सम्बन्धमा ध्यान केन्द्रित गर्ने शास्त्रपदहरू पढ्‌नु अत्यन्तै महत्त्वपूर्ण छ। राती म प्रायजसो भजन २३ र ९१ ठूलो स्वरले कण्ठस्थ भन्‍ने गर्छु।”—ओलिभ, १९३० मा बप्तिस्माप्राप्त।

“हरेक बप्तिस्मा भाषणमा उपस्थित भएर मेरो आफ्नै बप्तिस्मा जस्तो गरी ध्यान दिएर सुन्‍ने मैले निर्णय गरेको छु। मेरो समर्पणलाई आफ्नो मनमा ताजा राख्नु विश्‍वासी रहनको लागि एउटा महत्त्वपूर्ण कदम साबित भएको छ।”—ह्‍यारी, १९४६ मा बप्तिस्माप्राप्त।

“दिनहुँ प्रार्थना गर्नु अपरिहार्य छ—सधैं यहोवाको मदत, सुरक्षा, आशिष्‌ माग्दै ‘आफ्नो सबै चालमा उहाँलाई सम्झने।’ ” (हितोपदेश ३:५, ६)—आन्टोनियो, १९५१ मा बप्तिस्माप्राप्त।

“यहोवालाई निकै वर्ष सेवा गरिसकेपछि पनि अझै विश्‍वासी रहेकाहरूको अनुभव सुन्दा उहाँप्रति वफादार र विश्‍वासी रहने मेरो कटिबद्धता अझ सुदृढ हुन्छ।”—जोआन, १९५४ मा बप्तिस्माप्राप्त।

“आफ्नो बारेमा मात्र अचाक्ली नसोच्नु महत्त्वपूर्ण छ। हामीसँग जे छ, त्यो परमेश्‍वरको अनुग्रहले गर्दा हो। यस्तो दृष्टिकोण राख्दा अन्तसम्म धैर्य धारण गर्न आवश्‍यक आध्यात्मिक पोषणको लागि सही स्रोततर्फ ध्यान केन्द्रित गर्न मदत गर्छ।”—आर्लिन, १९५४ मा बप्तिस्माप्राप्त।

[पृष्ठ ११-मा भएको चित्र]

वृद्धहरूले बहुमूल्य राज्यको फल फलाउँछन्‌

[पृष्ठ १४-मा भएको चित्र]

वृद्धहरूको आध्यात्मिक जोस एउटा बहुमूल्य सम्पत्ति हो