सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खाँचोमा परेको बेला भलाइको काम गर्ने

खाँचोमा परेको बेला भलाइको काम गर्ने

खाँचोमा परेको बेला भलाइको काम गर्ने

प्रेरित पावलले यस्तो आग्रह गरे, “सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) विश्‍वभरिका यहोवाका साक्षीहरूले सबैप्रति, त्यसमा पनि विशेष गरी आफ्ना सँगी विश्‍वासीहरूप्रति भलाइको काम गर्न लगनशील भई यो सिद्धान्त आफ्नो जीवनमा उतार्ने प्रयास गर्छन्‌। खाँचोमा परेको बेला यो कुरा पटक-पटक देखिन्छ। आउनुहोस्‌, तीनवटा देशबाट हालै प्राप्त उदाहरणलाई विचार गरौं।

सन्‌ २००२ डिसेम्बर महिनाको कुरा हो, गुआममा प्रतिघण्टा ३०० किलोमिटरभन्दा बढीको वेगमा एउटा शक्‍तिशाली आँधीबेहरी आयो। थुप्रै घरहरू क्षतिग्रस्त भए भने कुनै-कुनै पूर्णतया तहसनहस भए। सबैभन्दा नराम्रो गरी प्रभावित भएका साक्षी परिवारहरूलाई मदत गर्न स्थानीय मण्डलीहरूले सरसफाइ गर्ने कामदारहरूको टोली तुरुन्तै गठन गरिहाले। भत्किएका घरहरू मर्मत गर्न गुआम शाखाले सरसामग्री तथा कामदारहरू पठायो र हवाई शाखाले चाहिं सहयोग उपलब्ध गरायो। केही हप्ताभित्रै, पुनःनिर्माण कार्यमा मदत पुऱ्‍याउन हवाईबाट सिकर्मीहरूको एउटा टोली आइपुग्यो र ती भाइहरूलाई सहयोग गर्न स्थानीय केही भाइहरूले आफ्नो कामबाट छुट्टी लिए। त्यो आनन्दित सहयोगी मनोभाव त्यहाँको समुदायका सबै मानिसहरूका लागि एउटा साक्षी थियो।

म्यानमारको मन्डले सहरको बाहिरी भागमा अवस्थित राज्यभवन नजिकै आगलागी भयो। आगलागी भएको ठाउँ नजिकै एउटी निष्क्रिय बहिनी र तिनको परिवारको घर थियो। आफ्नो घरको दिशातिरै हुरी चलिरहेको कारण गुहार माग्न तिनी राज्यभवनतिर दौडेर गइन्‌। त्यतिखेर, राज्यभवन मर्मत-सम्भार गर्ने काम भइरहेको हुनाले त्यतिखेर त्यहाँ थुप्रै भाइहरू थिए। ती बहिनीलाई भेट्‌दा ती भाइहरू छक्क परे किनभने त्यस क्षेत्रमा तिनी बस्छिन्‌ भन्‍ने कुरा उनीहरूलाई थाहै थिएन। भाइहरूले तुरुन्तै ती बहिनीको परिवारका मालसामानहरू सुरक्षित स्थानमा सार्न सघाए। अर्कै धर्म मान्‍ने तिनको पतिले आगलागी भएको कुरा सुनेपछि तिनी हानिएर घर पुगे र आफ्नो परिवारलाई भाइहरूले सघाइरहेको भेट्टाए। प्रभावित र कृतज्ञ हुनुका साथै तिनले ढुक्क महसुस पनि गरे किनभने यस्तो अवस्थाको फाइदा उठाएर चोरहरूले अक्सर लुटपाट मच्चाउने गर्छन्‌। भाइहरूले देखाएको यस दयाको अभिव्यक्‍तिले बहिनी तथा तिनका छोरालाई मसीही मण्डलीसित फेरि सरसंगत गर्न अभिप्रेरित गऱ्‍यो र अहिले त उनीहरू सबै सभाहरूमा उपस्थित हुन्छन्‌।

गत सेवा वर्षको दौडान, मोजाम्बिकका थुप्रै मानिसहरू खडेरी र बाली राम्रो नभएको कारण अनिकालको चपेटामा परे। यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयले तुरुन्तै खाँचोमा परेका व्यक्‍तिहरूलाई खानेकुराको बन्दोबस्त मिलायो। कहिलेकाहीं मण्डलीका सभाहरूपछि राज्यभवनमै खानेकुरा वितरण गरियो। एउटी बहिनी, जो एक्ली आमा हुन्‌ तिनले यसो भनिन्‌: “घर फर्केपछि छोराछोरीलाई के खान दिने होला भन्‍ने कुरा थाह नभएकोले निराश भएर म सभामा आएकी थिएँ।” भाइहरूले उपलब्ध गराएको मायालु सहयोगले तिनी उत्साहित भइन्‌। तिनले यसो भनिन्‌, “मेरो लागि त यो पुनरुत्थान जत्तिकै थियो!”

सान्त्वना र आशाको बाइबल सन्देश सुनाएर साक्षीहरूले आध्यात्मिक तवरमा पनि “भलाइको काम” गर्छन्‌। प्राचीन समयका बुद्धिमान्‌ मानिसले जस्तै तिनीहरू पनि यस्तो विश्‍वास गर्छन्‌: “जसले वचन [ईश्‍वरीय बुद्धि] सुन्छन्‌ तिनीहरू बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना तिनीहरू ढुक्क रहनेछन्‌।”—हितोपदेश १:३३.

[पृष्ठ ३१-मा भएका चित्रहरू]

१, २. मोजाम्बिकमा खाँचोमा परेकाहरूलाई खाना वितरण गर्दै

३, ४. गुआममा आएको आँधीबेहरीले थुप्रै घरहरू तहसनहस पाऱ्‍यो

[स्रोत]

Child, left: Andrea Booher/FEMA News Photo; woman, above: AP Photo/Pacific Daily News, Masako Watanabe