सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंले कुन धर्म रोज्नुपर्छ?

तपाईंले कुन धर्म रोज्नुपर्छ?

तपाईंले कुन धर्म रोज्नुपर्छ?

‘विभिन्‍न धर्महरू एउटै लक्ष्यमा पुऱ्‍याउने फरक-फरक बाटाहरू मात्र हुन्‌। आखिर, परमेश्‍वर त एउटै हुनुहुन्छ नि, होइन र?’ कुनै एउटा धर्मसित आबद्ध हुनु महत्त्वपूर्ण भए तापनि जुनसुकै धर्म रोजे पनि केही फरक पर्दैन भनी महसुस गर्ने धेरैले यस्तो विचार पोख्ने गर्छन्‌।

झट्ट हेर्दा यो तर्क मनासिब देखिन सक्छ किनकि एक मात्र सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा सही हो। (यशैया ४४:६; यूहन्‍ना १७:३; १ कोरिन्थी ८:५, ६) यद्यपि, सत्य परमेश्‍वरको सेवा गर्छु भनी दाबी गर्ने धेरै धार्मिक समूहहरूबीच विद्यमान भिन्‍नता अनि बेमेललाई हेरेर हामी आँखा चिम्लेर बस्न सक्दैनौं। तिनीहरूका प्रचलन, विश्‍वास, शिक्षा तथा आवश्‍यकताहरूमा आकास-पत्तालको भिन्‍नता छ। भिन्‍नताहरू यति धेरै छन्‌ कि एउटा धर्म अथवा समूहसित आबद्ध हुनेहरूलाई अर्को धर्मको शिक्षा अथवा विश्‍वास बुझ्न अनि स्वीकार्नै गाह्रो लाग्छ।

अर्कोतिर, येशूले यसो भन्‍नुभयो: “परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्‍ना ४:२४) परमेश्‍वरलाई सत्यतामा उपासना गर्नुपर्ने तथ्यले परमेश्‍वर को हुनुहुन्छ, उहाँका उद्देश्‍यहरू के-के हुन्‌ अनि उहाँलाई कसरी उपासना गरिएको चाहनुहुन्छ भन्‍ने सन्दर्भमा के तीनथुप्रो विवादास्पद विचारहरूलाई कुनै स्थान दिन्छ? सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई जसरी उपासना गरे पनि केही फरक पर्दैन भनेर विश्‍वास गर्नु चाहिं के तर्कसङ्‌गत छ?

साँचो मसीहीहरू पहिले र अहिले

प्रथम शताब्दीका मसीहीहरूमा कहिलेकाहीं कुनै-कुनै विषयमा ठूलो मतभिन्‍नताहरू हुने गर्थे। उदाहरणको लागि कोरिन्थमा भएकाहरूलाई सम्बोधन गर्दै प्रेरित पावलले यसो भने: “ए मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्‍ने तिमीहरूका बारेमा क्लोएका घरानाकाहरूबाट मलाई सूचना मिलेको छ। अब मेरो भन्‍ने तात्पर्य यही हो, तिमीहरू कसैले, ‘म पावलको’, कसैले ‘म अपोलोसको’ कसैले, ‘म केफासको’, औ कसैले ‘म ख्रीष्टको हुँ’, भन्छौ, अरे।”—१ कोरिन्थी १:११, १२.

के पावलले यी मतभिन्‍नताहरूलाई हल्कासित लिए? उद्धार पाउनको लागि के प्रत्येक व्यक्‍तिविशेषले आ-आफ्नै बाटो पछ्याइरहेका थिए? अवश्‍य थिएनन्‌! पावलले यस्तो सल्लाह दिए: “ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्‌, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।”—१ कोरिन्थी १:१०.

निस्सन्देह, जबरजस्ती गरेर विश्‍वासमा एकता हासिल गर्न सकिंदैन। व्यक्‍तिविशेषले विषयवस्तु होसियारीसाथ छानबिन गरी समान निष्कर्षमा आइपुग्दा र त्यसलाई स्वीकार्दा मात्र यस्तो एकता हासिल हुन्छ। त्यसैले, पावलले बताएको जस्तो एकता हासिल गर्नको लागि परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययन गर्नु र सिकेका कुराहरू व्यवहारमा उतार्ने निष्कपट चाहना हुनु अत्यावश्‍यक छ। के आज यस्तो एकता भेट्टाउन सकिन्छ? हामीले अघिल्लो लेखबाट थाह पाएझैं परमेश्‍वरले धेरै लामो समयदेखि आफ्ना जनहरूसित एउटा समूहको हैसियतमा व्यवहार गर्नुभएको छ। के आज उक्‍त समूहलाई चिन्‍न सकिन्छ?

सही संगतिका फाइदाहरू

एक पटक भजन रचयिता दाऊदले यस्तो प्रश्‍न सोधे: “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र ड़ाँड़ामा को रहन पाउनेछ?” पक्कै पनि यो एउटा विचारणीय प्रश्‍न हो। यसको जवाफ दाऊदले यसरी दिए: “त्यो, जो सोझो मनले हिंड़्‌छ, र धर्म-कर्म गर्छ, र हृदयले सत्य बोल्छ।” (भजन १५:१, २) बाइबलको सही समझले मानिसहरूलाई उक्‍त ईश्‍वरीय आवश्‍यकताहरू पूरा गर्ने धर्म चिन्‍न मदत गर्नेछ। त्यसपछि, त्यस समूहसित संगत गरेर परमेश्‍वरलाई एकता अनि “आत्मा र सत्यतामा” उपासना गर्ने मानिसहरूसितको उत्थानदायी संगतिबाट तिनीहरूले आनन्द उठाउनेछन्‌।

आजको विभक्‍त संसारमा पनि विश्‍वास तथा कार्यमा एकता हासिल गर्न सम्भव छ भनेर यहोवाका साक्षीहरूले देखाइसकेका छन्‌। तिनीहरूको समूहमा पहिले विभिन्‍न धर्म तथा जातीय समूहबाट आएका सदस्यहरू छन्‌। अन्य कतिपय साक्षीहरू पहिले अज्ञेयवादी अथवा नास्तिक थिए। यद्यपि, अन्य कतिपयले भने धर्मप्रति त्यति गम्भीर चासो दिंदैनथे। यी विविध धर्म, संस्कृति अनि दर्शनहरूबाट आएका व्यक्‍तिहरूले आज संसारमा कसैले नपाएको धार्मिक एकताको आनन्द उठाइरहेका छन्‌।

यस्तो एकताको आधार परमेश्‍वरको वचन बाइबल हो। निस्सन्देह, जबरजस्ती एकै किसिमको व्यवहार गर्न लगाउनु असम्भव कुरो हो भनेर यहोवाका साक्षीहरूलाई थाह छ। तर तिनीहरू अरूलाई बाइबलबाट सिक्न प्रोत्साहित गर्ने सुअवसरको मूल्याङ्‌कन गर्छन्‌ जसबाट अरूले पनि बाइबल शिक्षाको ठोस आधारमा उपासनासम्बन्धी छनौट गर्न सक्छन्‌। यसरी परमेश्‍वरलाई “आत्मा र सत्यतामा” उपासना गरेर प्राप्त हुने फाइदाहरूबाट धेरैले लाभ उठाउन सक्छन्‌।

आज हानिकारक प्रभाव तथा प्रलोभनहरूको सिकार हुन सक्ने ठूलो खतरा छ। सही संगति रोज्नु अत्यावश्‍यक छ। बाइबल यसो भन्छ, “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ” अनि “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३) परमेश्‍वरका साँचो उपासकहरूसित संगत गर्नु एउटा सुरक्षा हो। त्यसैले बाइबल हामीलाई यसरी सम्झाउँछ: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले एउटाले अर्कोलाई झन्‌ बढ़ता गरेर अर्ती दिंदै गरौं।” (हिब्रू १०:२४, २५) साँचो मित्र, आध्यात्मिक भाइबहिनीहरूले परमेश्‍वरसामु आफ्ना जिम्मेवारीहरू पूरा गर्न एकअर्कालाई मायालु मदत दिनु कत्ति ठूलो आशिष्‌को कुरा हो!

ओटमार पनि यस दृष्टिकोणसित सहमत छन्‌। जर्मनीमा क्याथोलिक परिवारमा हुर्केका ओटमारले चर्च जान छोडिदिए। उनी यसो भन्छन्‌: “चर्च जाँदा मसित जुन रित्तोपन हुन्थ्यो, त्यहाँबाट निस्कँदा पनि म त्यही रित्तोपन लिएर फर्कन्थें।” तर परमेश्‍वरबाट उनको विश्‍वास उठिसकेको थिएन। त्यसपछि यहोवाका साक्षीहरूसित उनको सम्पर्क भयो अनि तिनीहरू नै परमेश्‍वरका साँचो सेवकहरू हुन्‌ भन्‍ने कुरामा उनी विश्‍वस्त भए। उनले तिनीहरूसित संगति गर्नुपर्ने आवश्‍यकता महसुस गरे। उनी अहिले भन्छन्‌: “एउटा विश्‍वव्यापी संगठनमा सक्रिय हुँदा मैले मानसिक शान्ति पाएको छु। मलाई बाइबलको सही ज्ञान अझ बढी हासिल गर्न प्रगतिशील ढङ्‌गमा मदत दिइएको छ। व्यक्‍तिगत रूपमा भन्‍नुपर्दा यसले मेरो लागि ठूलो महत्त्व राख्छ।”

खोज्नेहरूको लागि निमन्त्रणा

एउटै लक्ष्य भएका व्यक्‍तिहरू समूहगत रूपमा घनिष्ठ भएर काम गर्दा हासिल हुने उपलब्धि एक्ला-एक्लैले काम गर्दा प्राप्त हुने उपलब्धिभन्दा कता हो कता प्रभावकारी हुन सक्छ। उदाहरणको लागि स्वर्ग उक्लनुअघि येशूले आफ्ना अनुयायीहरूलाई यस्तो निर्देशन दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:१९, २०) कुनै डोऱ्‍याइ अथवा संगठनविना कसरी यस्तो कार्य सफलतापूर्वक पूरा गर्न सकिन्थ्यो र? एक्लैले परमेश्‍वरको सेवा गर्ने प्रयास गर्दा कसरी यस धर्मशास्त्रीय आज्ञा पालन गर्न सकिन्थ्यो र?

गत वर्ष यहोवाका साक्षीहरूले विश्‍वव्यापी रूपमा ९,१९,३३,२८० बाइबल आधारित पुस्तक, साना तथा ठूला पुस्तिका अनि साथमा ६९,७६,०३,२४७ पत्रिकाहरू वितरण गरे। यसरी तिनीहरू परमेश्‍वरको वचनको सन्देश लिएर २३५ मुलुकहरूका करोडौं मानिसहरूकहाँ पुगे। कसैको सहयोग नपाएको एक्लो व्यक्‍तिको प्रयासले भन्दा एकताबद्ध, सुसंगठित समूहको प्रयासले कति बढ्‌ता उपलब्धि हासिल गर्न सकिंदो रहेछ भन्‍ने कुराको यो कस्तो उल्लेखनीय प्रमाण!

बाइबल साहित्यहरू वितरण गर्नुको अलावा परमेश्‍वर के चाहनुहुन्छ भन्‍नेबारे गहिरो समझ हासिल गर्नको लागि मानिसहरूलाई मदत गर्न यहोवाका साक्षीहरूले निःशुल्क बाइबल अध्ययन सञ्चालन गर्छन्‌। गत वर्ष, हरेक हप्ता सरदर ५७,२६,५०९ जनासित व्यक्‍तिविशेष अथवा वा समूहगत रूपमा बाइबल अध्ययनहरू सञ्चालन गरियो। बाइबल निर्देशनले करोडौं मानिसहरूलाई उपासनाको छनौट गर्ने सन्दर्भममा ठोस आधार हासिल गर्न मदत गर्छ। बाइबलमा बताएझैं उक्‍त ईश्‍वरीय आवश्‍यकताबारे सिक्न तपाईंहरूलाई आमन्त्रित गरिन्छ। त्यसपछि, तपाईं आफ्नो छनौट गर्न सक्नुहुन्छ।—एफिसी ४:१३; फिलिप्पी १:९; १ तिमोथी ६:२०; २ पत्रुस ३:१८.

तपाईं परमेश्‍वरलाई प्रसन्‍न पार्न चाहनुहुन्छ भने धर्मसित आबद्ध हुनु अत्यावश्‍यक छ—तर जुनसुकै धार्मिक समूह अथवा सम्प्रदायसित आबद्ध भएर हुँदैन। तपाईंले बाइबलको सही ज्ञानको आधारमा छनौट गर्नु अत्यावश्‍यक छ, कुनै अपुष्ट हठधर्मी मत अथवा कसैबाट सुनेको भरमा होइन। (हितोपदेश १६:२५) साँचो धर्मका आवश्‍यकताहरू सिक्नुहोस्‌। त्यसलाई आफ्नो विश्‍वाससित तुलना गर्नुहोस्‌। अनि त्यसै अनुरूप छनौट गर्नुहोस्‌।—व्यवस्था ३०:१९.

[पृष्ठ ७-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरू विभक्‍त संसारमा एकताको आनन्द उठाउँछन्‌