सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरलाई महिमा दिनेहरू धन्यका हुन्‌

परमेश्‍वरलाई महिमा दिनेहरू धन्यका हुन्‌

परमेश्‍वरलाई महिमा दिनेहरू धन्यका हुन्‌

“हे परमप्रभु . . . [ तिनीहरू] तपाईंको अगि आएर दण्डवत्‌ गर्नेछन्‌। र तिनीहरूले तपाईंको नाउँको महिमा गर्नेछन्‌।”—भजन ८६:९.

१. हामीले किन निर्जीव सृष्टिले भन्दा उत्कृष्ट ढङ्‌गमा परमेश्‍वलाई महिमा दिन सक्छौं?

 यहोवा आफ्ना सबै सृष्टिबाट महिमा पाउन योग्यको हुनुहुन्छ। उहाँको निर्जीव सृष्टिले त उहाँलाई मौन प्रशंसा दिन्छ भने हामी मानिसहरूसित त झनै तर्क गर्ने, बुझ्ने, कृतज्ञता देखाउने र उपासना गर्ने क्षमता छ। त्यसैले भजनहार हामीलाई यसो भन्छन्‌: “हे सारा पृथ्वी, परमेश्‍वरको जयजयकार गर। उहाँको नाउँको महिमाको स्तुति गाओ, उहाँको महिमाको भजन गाओ।”—भजन ६६:१, २.

२. परमेश्‍वरको नाउँलाई महिमा दिनू भन्‍ने आज्ञा कसले पालन गरेका छन्‌ र किन?

मानिसजातिमध्ये धेरैले परमेश्‍वरलाई स्वीकार्न वा उहाँलाई महिमा दिन इन्कार गर्छन्‌। तथापि, २३५ मुलुकमा यहोवाका ६० लाखभन्दा बढी साक्षीहरूले परमेश्‍वरले बनाउनुभएका कुराहरूद्वारा उहाँको “अदृश्‍य गुण” देखेका छन्‌ र सृष्टिको मौन साक्षी ‘सुनेका’ छन्‌ भनी देखाएका छन्‌। (रोमी १:२०; भजन १९:२, ३) बाइबल अध्ययन गरेर तिनीहरूले यहोवालाई चिन्‍नुका साथै प्रेम गर्न पनि सकेका छन्‌। भजन ८६:९, १० ले यस्तो अगमवाणी गऱ्‍यो: “हे परमप्रभु, तपाईंले बनाउनुभएका सब जाति तपाईंको अगि आएर दण्डवत्‌ गर्नेछन्‌। र तिनीहरूले तपाईंको नाउँको महिमा गर्नेछन्‌। किनकि तपाईं महान्‌ हुनुहुन्छ, र आश्‍चर्यकामहरू गर्नुहुन्छ। तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।”

३. “ठूलो भीड़[ले]” कसरी “दिन-रात . . . सेवा गर्दछन्‌”?

त्यसै गरी प्रकाश ७:९, १५ ले “दिन-रात [परमेश्‍वरको] मन्दिरमा उहाँको सेवा” गर्ने उपासकहरूको “एक ठूलो भीड़[बारे]” बताउँछ। यसको अर्थ परमेश्‍वरले आफ्ना सेवकहरूबाट शाब्दिक रूपमै अटुट प्रशंसाको माग गर्नुहुन्छ भन्‍ने होइन तर उहाँका उपासकहरू एउटा विश्‍वव्यापी संगठन हुन्‌। त्यसैले कुनै देशमा रात पर्दा पृथ्वीको अर्को भागका परमेश्‍वरका सेवकहरू साक्षी दिनमा व्यस्त हुन्छन्‌। त्यसैले यहोवालाई महिमा दिनेहरूमाझ घाम कहिल्यै अस्ताउँदैन भन्‍न सकिन्छ। चाँडै “सास हुने जति सबैले” यहोवाको प्रशंसामा आफ्नो सोर उचाल्नेछन्‌। (भजन १५०:६) यद्यपि, परमेश्‍वरलाई महिमा दिन व्यक्‍तिगत तवरमा अहिले हामी के गर्न सक्छौं? हामीले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ? अनि परमेश्‍वरलाई महिमा दिनेहरूको लागि कस्ता आशिष्‌हरूले पर्खिरहेका छन्‌? जवाफको लागि, इस्राएलीहरूको गाद कुलबारे दिइएको बाइबल विवरणलाई विचार गरौं।

एउटा पुरातन चुनौती

४. गादको कुलले कस्तो चुनौती सामना गर्नुपरेको थियो?

प्रतिज्ञा गरिएको देशमा पस्नुअघि इस्राएलको गाद कुलका सदस्यहरूले यर्दनको पूर्वमा अवस्थित चरनको लागि उपयुक्‍त क्षेत्रमा बसोबास गर्ने अनुमति मागे। (गन्ती ३२:१-५) त्यहाँ बसोबास गर्दा गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने थियो। पश्‍चिमतर्फ बस्ने कुलहरू सैन्य आक्रमणको प्राकृतिक छेकबार यर्दन उपत्यकाको कारण सुरक्षित हुन्थे। (यहोशू ३:१३-१७) तथापि, यर्दनदेखि पूर्वतर्फको भूमिबारे जर्ज एडम स्मिथद्वारा लिखित पुस्तक द हिस्टोरिकल जियोग्राफी अफ द होली ल्याण्ड (अङ्‌ग्रेजी) यसो भन्छ: “ती कुनै छेकबारविना अरबको ठूलो पठारसम्म फैलिएका समतल भू-भाग थिए। फलस्वरूप त्यहाँ भोका फिरन्तेहरूले आक्रमण गर्ने डर सधैं नै भइरहन्थ्यो र तीमध्ये कतिपय त चरनको लागि हरेक वर्ष हूल बाँधेर आउँथे।”

५. आक्रमण आइपर्दा प्रतिकार गर्न गादका सन्तानहरूलाई याकूबले कसरी प्रोत्साहन दिए?

गादको कुलले यस्तो कठोर दबाबको सामना कसरी गर्ने थियो? शताब्दीयौं अघि, तिनीहरूका पुर्खा याकूबले आफ्नो मृत्युशय्यामा यस्तो अगमवाणी गरे: “गादमाथि एक दलले आक्रमण ता गर्नेछ, तर त्यसले तिनीहरूलाई उल्टा खेद्दै हमला गर्नेछ।” (उत्पत्ति ४९:१९) झट्ट सुन्दा यी शब्दहरू निराशाजनक लाग्न सक्छन्‌। वास्तवमा यसले गादको कुलका मानिसहरूलाई प्रतिकार गर्ने आज्ञा दिइरहेको थियो। तिनीहरूले त्यसो गरेमा आक्रमणकारीहरू लज्जास्पद ढङ्‌गमा पछि हट्‌नेछन्‌ र गादको कुलका मानिसहरूले तिनीहरूलाई टाढासम्म खेद्‌नेछन्‌ भनी याकूबले आश्‍वासन दिए।

उपासनाको लागि आज हाम्रा चुनौतीहरू

६, ७. आजका मसीहीहरूको अवस्था कसरी गादको कुलको अवस्था जस्तै छ?

गादको कुलले जस्तै आज मसीहीहरूले पनि शैतानको रीतिरिवाजको दबाब तथा बोझको सामना गर्नुपर्छ; तीसित भिड्‌नदेखि कुनै पनि चमत्कारी शक्‍तिले हामीलाई बचाउँदैन। (अय्यूब १:१०-१२) हामीमध्ये अधिकांशले स्कूल जाँदा, रोजी रोटी जुटाउँदा र बच्चाहरू हुर्काउँदा आइपर्ने दबाबहरू सामना गर्नुपर्छ। व्यक्‍तिगत वा आन्तरिक दबाबहरू त छँदै छन्‌। कसै-कसैले गम्भीर अशक्‍तता वा रोगको रूपमा “शरीरमा एक किसिमको छेस्को” सहनुपर्ने हुन्छ। (२ कोरिन्थी १२:७-१०) अरू भने आत्मसम्मानको कमीद्वारा पिरोलिएका हुन्छन्‌। वृद्धावस्थाको “दुःखको समय[ले]” वृद्ध मसीहीहरूलाई पहिलेको जत्तिकै जोसले यहोवाको सेवा गर्न बाधा खडा गर्न सक्छ।—उपदेशक १२:१.

प्रेरित पावल हामीलाई यो पनि सम्झाउँछन्‌ कि “हाम्रो यो लड़न्त . . . स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा हो।” (एफिसी ६:१२) हामीले लगातार “संसारको आत्मा” अर्थात्‌ शैतान र त्यसका प्रेतहरूले प्रवर्धन गर्ने विद्रोही तथा नैतिक रूपमा भ्रष्ट आत्माको सामना गर्नुपर्छ। (१ कोरिन्थी २:१२; एफिसी २:२, ३) आफू वरपरका मानिसहरूले भन्‍ने र गर्ने अनैतिक कुराहरूको कारण ईश्‍वरभीरु लूतजस्तै हामी पनि दुःखित हुन सक्छौं। (२ पत्रुस २:७) हामीले शैतानको प्रत्यक्ष आक्रमणको पनि सामना गर्नुपर्छ। शैतानले “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” शेष अभिषिक्‍त जनहरू विरुद्ध युद्ध मच्चाइरहेको छ। (प्रकाश १२:१७) येशूका “अरू भेड़ा[ले]” पनि प्रतिबन्ध तथा सतावटको रूपमा शैतानको आक्रमण भोग्छन्‌।—यूहन्‍ना १०:१६.

हरेस खाने वा प्रतिकार गर्ने?

८. शैतानको आक्रमणप्रति हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ र किन?

शैतानको आक्रमणप्रति हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ? पुरातन समयको गादको कुलजस्तै हामी पनि परमेश्‍वरको निर्देशन अनुरूप आध्यात्मिक तवरमा बलियो हुनुपर्छ र प्रतिकार गर्नुपर्छ। दुःखको कुरा, कसै-कसैले आफ्ना आध्यात्मिक जिम्मेवारीहरूप्रति हेलचक्य्राइँ गरेर जीवनका दबाबहरूसामु घुँडा टेक्न थालेका छन्‌। (मत्ती १३:२०-२२) एक जना साक्षीले आफ्नो मण्डलीका सभाहरूमा उपस्थिति संख्या कम हुनुको कारणबारे यसो भने: “भाइहरू एकदमै थकित हुन थालेका छन्‌। तिनीहरू सबै तनावग्रस्त छन्‌।” हो, आज मानिसहरू थकित हुने धेरै कारणहरू छन्‌। त्यसैले परमेश्‍वरको उपासनालाई एउटा अर्को दबाब वा बोझिलो अभिभाराको रूपमा हेर्न धेरै बेर लाग्दैन। तर के त्यो स्वास्थ्यकर वा सही दृष्टिकोण हो?

९. ख्रीष्टको जुवा बोक्दा कसरी स्फूर्ति प्राप्त हुन्छ?

जीवनको दबाबले यसै गरी शिथिल भएका आफ्नो समयको भीडलाई येशूले के भन्‍नुभयो विचार गर्नुहोस्‌: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW ] दिनेछु।” के येशूले परमेश्‍वरको सेवामा केही कटौती गर्दा स्फूर्ति प्राप्त हुनेछ भनेर बताउनुभयो? यसको विपरीत येशूले यसो भन्‍नुभयो: “मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम [“स्फूर्ति,” NW ] पाउनेछौ।” जुवा भनेको काठ वा धातुबाट बनेको साधन हो र यो प्रयोग गरेर मानिस वा जनावरले गह्रौं बोझ बोक्न सक्छ। त्यसोभए मानिसले यस्तो जुवा बोक्न इच्छा गर्ला त? के हामी पहिले नै “बोझले दबिएका” छैनौं र? छौं, तर यस युनानी पदको अर्थ यस्तो पनि हुन सक्छ: “मसँगै मेरो जुवामुनि आओ।” यसो सोच्नुहोस्‌ त: हामीलाई आफ्नो बोझ बोक्नको लागि येशू मदत दिन चाहनुहुन्छ! यो हामीले आफ्नै बलमा गर्नु पर्दैन।—मत्ती ९:३६; ११:२८, २९; २ कोरिन्थी ४:७, NW.

१०. परमेश्‍वरलाई महिमा दिने हाम्रो प्रयत्नले कस्तो नतिजा ल्याउँछ?

१० चेला हुँदा बोक्नुपर्ने जुवा बोक्न स्वीकार्दा हामीले शैतान विरुद्ध सङ्‌घर्ष गरिरहेका हुन्छौं। “शैतानको विरोध गर, अनि त्यो तिमीहरूबाट भाग्नेछ” भनी याकूब ४:७ ले प्रतिज्ञा गर्छ। यसको अर्थ यसो गर्न सजिलो छ भन्‍ने होइन। परमेश्‍वरको सेवा गर्न निकै ठूलो प्रयत्न चाहिन्छ। (लूका १३:२४) तर भजन १२६:५ मा बाइबल यस्तो प्रतिज्ञा गर्छ: “रूँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन्‌।” हो, हामीले सेवा गरेको परमेश्‍वर कृतघ्न हुनुहुन्‍न। उहाँले लगनशीलतासाथ “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” र उहाँलाई महिमा दिनेहरूलाई आशिष्‌ दिनुहुन्छ।—हिब्रू ११:६.

राज्य प्रचारकहरूको रूपमा परमेश्‍वरको महिमा गर्ने

११. क्षेत्र सेवकाईले कसरी शैतानका आक्रमणहरू विरुद्ध बचावको काम गर्छ?

११ येशूले यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” परमेश्‍वरलाई “स्तुतिको बलिदान” चढाउने प्रमुख तरिका प्रचारकार्य हो। (मत्ती २८:१९; हिब्रू १३:१५) हाम्रो “खुट्टामा मिलापको सुसमाचारको तयारीका जुत्ता” लगाउनु हाम्रो “सारा हात-हतियार” अर्थात्‌ शैतानको आक्रमण विरुद्ध हाम्रो बचावको एउटा अभिन्‍न भाग हो। (एफिसी ६:११-१५) क्षेत्र सेवकाईमा परमेश्‍वरको प्रशंसा गर्नु हाम्रो विश्‍वासलाई पोस्ने एउटा राम्रो तरिका हो। (२ कोरिन्थी ४:१३) यसले हामीलाई आफ्नो मनबाट नकारात्मक सोचाइहरू हटाउन मदत गर्छ। (फिलिप्पी ४:८) क्षेत्र सेवकाईमा भाग लिंदा यसले हामीलाई सँगी उपासकहरूसित उत्थानदायी संगतिको आनन्द उठाउने सुअवसर दिन्छ।

१२, १३. नियमित तवरमा क्षेत्र सेवकाईमा भाग लिंदा परिवारहरूलाई कसरी लाभ पुग्न सक्छ? उदाहरण दिनुहोस्‌।

१२ प्रचारकार्य एउटा स्वास्थ्यकर पारिवारिक क्रियाकलाप पनि हुन सक्छ। पक्कै पनि केटाकेटीहरूलाई सन्तुलित मात्रामा मनोरञ्जन चाहिन्छ। तथापि, परिवारको रूपमा क्षेत्र सेवकाईमा बिताइएको समय झ्याउलाग्दो हुनु आवश्‍यक छैन। आफ्ना बच्चाहरूलाई सेवकाईमा अझ प्रभावकारी हुन प्रशिक्षण दिएर आमाबाबुहरूले यसलाई थप आनन्ददायी बनाउन सक्छन्‌। आफूले राम्ररी गर्न सक्ने कामहरू गर्न केटाकेटीहरू रमाइलो मान्छन्‌, होइन र? सन्तुलित भएर तथा केटाकेटीहरूबाट तिनीहरूको क्षमताभन्दा बढी माग नगरेर आमाबाबुहरूले तिनीहरूलाई सेवकाईबाट आनन्द प्राप्त गर्न मदत दिन सक्छन्‌।—उत्पत्ति ३३:१३, १४.

१३ साथै, एकसाथ मिलेर परमेश्‍वरको प्रशंसा गर्ने परिवारले घनिष्ठ सम्बन्ध विकास गर्छ। बेग्लै धर्म मान्‍ने आफ्नो पतिबाट त्यागिएकी एउटी बहिनीलाई विचार गर्नुहोस्‌ जसले एक्लै पाँच जना छोराछोरी हुर्काउनुपऱ्‍यो। तिनले जागिर खाएर आफ्ना छोराछोरीहरूको लागि भौतिक प्रबन्ध मिलाउने चुनौती सामना गर्नुपऱ्‍यो। के तिनले लखतरान भएर आफ्ना छोराछोरीहरूको आध्यात्मिक हितको बेवास्ता गरिन्‌? तिनी यसरी सम्झन्छिन्‌: “मैले बाइबल तथा बाइबलआधारित प्रकाशनहरू लगनशील भई अध्ययन गरें अनि पढेका कुराहरू लागू गर्ने कोसिस गरें। मैले छोराछोरीलाई नियमित तवरमा सभाहरू तथा ढोका-ढोकाको सेवकाईमा लगें। मेरा प्रयत्नहरूको नतिजा कस्तो भयो? पाँचै जना छोराछोरीले बप्तिस्मा लिएका छन्‌।” सेवकाईमा पूर्ण रूपले भाग लिंदा यसले तपाईंलाई आफ्ना छोराछोरीलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न त्यसरी नै मदत दिन सक्छ।—एफिसी ६:४.

१४. (क) युवाहरूले कसरी स्कूलमा परमेश्‍वरलाई महिमा दिन सक्छन्‌? (ख) कुन कुराले युवाहरूलाई ‘सुसमाचारसँग नशर्माउन’ मदत दिन सक्छ?

१४ युवा जनहरू हो, यदि तपाईं बसोबास गर्ने देशको कानुनले दिन्छ भने स्कूलमा साक्षी दिएर के तपाईं परमेश्‍वरलाई महिमा दिनुहुन्छ वा मानिसको डरको कारण पछि हट्‌नुहुन्छ? (हितोपदेश २९:२५) पोर्टो रिकोकी एक जना १३ वर्षीया साक्षी यस्तो लेख्छिन्‌: “स्कूलमा प्रचार गर्न मैले कहिल्यै लाज मानेकी छैन किनभने यो नै सच्चाइ हो भनेर मलाई थाह छ। म कक्षामा सधैं आफ्नो हात उठाएर बाइबलबाट मैले सिकेका कुराहरू बताउँछु। फुर्सद हुने बित्तिकै म पुस्तकालयमा गएर युवा जनहरूका प्रश्‍न भन्‍ने पुस्तक पढ्‌छु।” a के यहोवाले तिनको प्रयत्नमा आशिष्‌ दिनुभएको छ? तिनी यसो भन्छिन्‌: “कहिलेकाहीं मेरो कक्षाका साथीहरूले मसित प्रश्‍न सोध्छन्‌ र यो पुस्तक पनि माग्छन्‌।” तपाईं यसो गर्नदेखि पछि हटिरहनुभएको छ भने सायद तपाईं आफैले लगनशील व्यक्‍तिगत अध्ययनद्वारा “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी” जाँचेर पत्ता लगाउनु आवश्‍यक छ। (रोमी १२:२) आफूले सिकेको कुरा सत्य हो भन्‍ने कुरामा विश्‍वस्त भएपछि तपाईं कहिल्यै पनि ‘सुसमाचारसँग शर्माउनुहुनेछैन’।—रोमी १:१६.

सेवाको ‘खुला ढोका’

१५, १६. केही मसीहीहरू थप क्रियाकलापतर्फ डोऱ्‍याउने कस्तो ‘ठूलो ढोकामा’ प्रवेश गरेका छन्‌ र कस्ता आशिष्‌हरू प्राप्त भएका छन्‌?

१५ प्रेरित पावलले तिनको लागि “एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला भएको” थियो भनी लेखे। (१ कोरिन्थी १६:९) तपाईंको परिस्थितिले थप क्रियाकलापको ढोकामा प्रवेश गर्न दिन्छ कि? उदाहरणका लागि, नियमित अग्रगामी गर्दा प्रचारकार्यमा मासिक ७० घण्टा र सहायक अग्रगामी गर्दा ५० घण्टा बिताउनुपर्छ। अग्रगामीहरूको विश्‍वासी सेवाको लागि सँगी मसीहीहरूले तिनीहरूको मूल्याङ्‌कन गर्नु स्वाभाविकै हो। तर सेवकाईमा धेरै समय बिताए भन्दैमा तिनीहरूले आफूलाई अरू भाइबहिनीहरूभन्दा श्रेष्ठ ठान्दैनन्‌। बरु, तिनीहरू येशूले प्रोत्साहन दिनुभएको यस्तो मनोवृत्ति खेती गर्छन्‌: “हामी नालायक दास हौं किनकि हामीले ता कर्त्तव्य मात्र गरेका छौं।”—लूका १७:१०.

१६ अग्रगामी गर्नको लागि आत्म-अनुशासन, व्यक्‍तिगत सुव्यवस्था र त्यागहरू गर्ने इच्छुकता चाहिन्छ। तथापि, यसका आशिष्‌हरूलाई विचार गर्दा यस्तो प्रयत्न बेकार जाँदैन। “परमेश्‍वरको सत्यको वचनलाई ठीकसँग प्रयोग गर्न सक्नु एउटा साँचो आशिष्‌ हो” भनी तामिका नाउँ गरेकी एक जवान अग्रगामी बताउँछिन्‌। तिनी अझै यसो भन्छिन्‌: “अग्रगामी गर्दा तपाईंले बाइबल एकदमै चलाउनुहुन्छ। अहिले, ढोका-ढोकामा जाँदा हरेक घरधनीलाई उपयुक्‍त हुने शास्त्रपदहरू मेरो दिमागमा आइहाल्छ।” (२ तिमोथी २:१५) मिका नाउँ गरेकी एउटी अग्रगामी भन्छिन्‌: “सच्चाइले मानिसहरूको जीवनमा कसरी असर गर्छ भनेर देख्न पाउनु अर्को अद्‌भुत आशिष्‌ हो।” त्यसै गरी म्याथु नाउँ गरेका एक युवक “मानिसहरू सच्चाइमा आएको देख्न पाउँदा” महसुस हुने आनन्दबारे बताउँछन्‌। “यो जत्तिको आनन्ददायी कुरा अरू छँदै छैन।”

१७. एउटी मसीहीले अग्रगामी सेवाप्रतिको नकारात्मक सोचाइ कसरी हटाउन सकिन्‌?

१७ के तपाईं अग्रगामी सेवामा प्रवेश गर्नेबारे विचार गर्न सक्नुहुन्छ? सायद तपाईं अग्रगामी गर्न त चाहनुहुन्छ होला तर अर्कोतर्फ आफूलाई अयोग्य ठान्‍नुहुन्छ होला। “ममा अग्रगामी सेवाप्रति नकारात्मक सोचाइ थियो” भनेर केन्याट नाउँ गरेकी एक जवान बहिनी स्वीकार्छिन्‌। “म आफूलाई अयोग्य ठान्थें। मलाई परिचयहरू तयार गर्न वा धर्मशास्त्रबाट तर्क गर्न आउँदैनथ्यो।” तथापि, तिनीसित काम गर्न प्राचीनहरूले एक जना परिपक्व अग्रगामी बहिनीलाई खटाए। केन्याट यसरी सम्झिन्छिन्‌: “उहाँसित काम गर्दा एकदमै रमाइलो हुन्थ्यो। यसले ममा अग्रगामी गर्ने इच्छा जगायो।” केही प्रोत्साहन तथा प्रशिक्षण पाएपछि सायद तपाईंमा पनि अग्रगामी गर्ने इच्छा जाग्नेछ होला।

१८. मिसनरी सेवामा प्रवेश गर्नेहरूले कस्ता आशिष्‌हरू प्राप्त गर्न सक्छन्‌?

१८ अग्रगामी कार्यले सेवाका अन्य सुअवसहरूको लागि ढोका खोल्न सक्छ। उदाहरणका लागि, विदेशी भूमिमा प्रचार गर्न पठाउन केही विवाहित जोडीहरू मिसनरी प्रशिक्षणको लागि योग्य ठहरिन सक्छन्‌। मिसनरीहरू नयाँ देश, सायद नयाँ भाषा, नयाँ संस्कृति अनि नयाँ खानासित घुलमिल हुनै पर्छ। तर यसका आशिष्‌हरूसामु यसको कुनै तुलना नै हुँदैन। मेक्सिकोकी अनुभवी मिसनरी मिल्डरेड यसो भन्छिन्‌: “मिसनरी बन्‍ने निर्णय गरेकोमा म कहिल्यै पछुताएकी छैन। सानैदेखि मेरो इच्छा यही थियो।” तिनले कस्ता आशिष्‌हरूको आनन्द उठाएकी छिन्‌? “मेरो आफ्नो देशमा बाइबल अध्ययन भेट्टाउन गाह्रो थियो। यहाँ मैले एकै पटकमा चार जनासम्म विद्यार्थीलाई क्षेत्र सेवकाईमा भाग लिन सुरु गर्न मदत गर्न सकेकी छु!”

१९, २०. बेथेल सेवा, अन्तरराष्ट्रिय सेवा र मिनिस्टेरियल ट्रेनिङ स्कूलले कसरी थुप्रै व्यक्‍तिहरूमाथि आशिष्‌हरू ल्याएको छ?

१९ यहोवाका साक्षीहरूका शाखा कार्यालयहरूमा बेथेल सेवा गर्नेहरूले पनि प्रशस्त आशिष्‌ पाउँछन्‌। जर्मनीमा सेवा गरिरहेका जवान भाइ स्भेन बेथेलमा गरिरहेको आफ्नो कामबारे यसो भन्छन्‌: “मैले चिरकालीन महत्त्व भएको काम गरिरहेको छु जस्तो लाग्छ। मैले आफ्नो सीप संसारमा प्रयोग गर्न सक्थें। तर त्यसो गर्नु टाट पल्टनै लागेको बैंकमा पैसा जम्मा गरेजस्तै हुने थियो।” हो, बेतलबी स्वयम्‌सेवकको रूपमा सेवा गर्न त्यागहरू गर्नुपर्छ। तर स्भेन यसो भन्छन्‌: “घर फर्केपछि, त्यहाँ तपाईंले जे जति गर्नुभयो ती सबै यहोवाको लागि हो भन्‍ने कुरा महसुस गर्न सक्नुहुन्छ। अनि यसले तपाईंलाई ‘अद्‌भुत’ आनन्द दिन्छ।”

२० कतिपय भाइहरूले विदेशी भूमिमा शाखा कार्यालयको निर्माणमा काम गरेर अन्तरराष्ट्रिय सेवाबाट प्राप्त हुने आशिष्‌को आनन्द उठाएका छन्‌। आठवटा विदेशी कार्यभारहरूमा सेवा गरिसकेको एउटा जोडीले यस्तो लेख्यो: “यहाँका भाइहरू गजबका छन्‌। यो ठाउँ छोड्‌दा हाम्रो मुटु छियाछिया हुनेछ—हाम्रो मुटु आठ पटक ‘छियाछिया’ भइसकेको छ। हामीले कस्तो रमाइलो अनुभव सँगालेका छौं!” अनि मिनिस्टेरियल ट्रेनिङ स्कूल पनि छ। यहाँ योग्य अविवाहित भाइहरूलाई आध्यात्मिक प्रशिक्षण दिइन्छ। एक जना स्नातकले यस्तो लेखे: “यस्तो अद्‌भुत स्कूलको लागि तपाईंहरूलाई धन्यवाद दिन मसित शब्दै छैन। अरू कुनचाहिं संगठनले प्रशिक्षण दिनको लागि यतिका प्रयत्न गर्छ होला र?”

२१. परमेश्‍वरको सेवा गर्दा सबै मसीहीहरूले कस्तो चुनौतीको सामना गर्छन्‌?

२१ हो, क्रियाकलापका थुप्रै ढोकाहरू खुला छन्‌। हुन त हामीमध्ये अधिकांशले बेथेलमा वा विदेशी भूमिमा सेवा गर्न सक्दैनौं। बेग्लाबेग्लै परिस्थितिको कारण मसीहीहरूले भिन्‍नाभिन्‍नै मात्रामा “फल” फलाउनेछन्‌ भन्‍ने कुरा येशू आफैले पनि स्वीकार्नुभयो। (मत्ती १३:२३) त्यसैले मसीहीहरूको हैसियतमा हाम्रो चुनौती भनेको आफ्नो अवस्थाअनुसार सकेसम्म धेरै गर्नु—हाम्रो परिस्थितिले दिएसम्म पूर्ण रूपमा यहोवाको सेवामा भाग लिनु हो। यसो गर्दा हामीले यहोवालाई महिमा दिइरहेका हुन्छौं र उहाँ एकदमै खुसी हुनुहुन्छ भनेर हामी आश्‍वस्त हुन सक्छौं। एउटा स्याहार केन्द्रमा बस्ने वृद्ध बहिनी एथेललाई विचार गर्नुहोस्‌। आफूसँगै बस्नेहरूलाई तिनी नियमित तवरमा साक्षी दिन्छिन्‌ र टेलिफोन साक्षी पनि दिने गर्छिन्‌। आफ्ना सीमितताहरूका बावजुद तिनी आफ्नो सारा प्राणले सेवा गर्छिन्‌।—मत्ती २२:३७.

२२. (क) अरू कुन-कुन तरिकामा हामी परमेश्‍वरको महिमा गर्न सक्छौं? (ख) हाम्रो लागि कस्तो अद्‌भुत समयले पर्खिरहेको छ?

२२ यद्यपि, यहोवाको महिमा हुने विभिन्‍न तरिकाहरूमध्ये प्रचारकार्य एउटा तरिका मात्र हो भन्‍ने कुरा नबिर्सनुहोस्‌। काममा, स्कूलमा र घरमा हुँदा आफ्नो आचरण तथा रूपमा उदाहरणीय भएर हामी यहोवाको हृदयलाई आनन्दित तुल्याउँछौं। (हितोपदेश २७:११) हितोपदेश २८:२० यस्तो प्रतिज्ञा गर्छ: “धीर चाल चलन भएको मानिसले धेरै आशिष पाउनेछ।” त्यसैले प्रशस्त आशिष्‌हरूको कटनी गर्नेछौं भन्‍ने कुरा थाह भएकोले परमेश्‍वरप्रतिको हाम्रो सेवामा हामीले ‘प्रशस्तसँग छर्नुपर्छ।’ (२ कोरिन्थी ९:६) यसो गर्दा “सास हुने जति सबैले” यहोवालाई महिमा दिने त्यस अद्‌भुत समयमा बाँच्ने सुअवसर पाउनेछौं र उहाँ यस्तो महिमाको अति योग्य हुनुहुन्छ!—भजन १५०:६.

[फुटनोट]

a युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तक यहोवाका साक्षीहरूद्वारा प्रकाशित हो।

के तपाईंलाई याद छ?

• परमेश्‍वरका जनहरूले कसरी “दिन-रात” यहोवाको सेवा गर्छन्‌?

• गादको कुलले कस्तो चुनौती सामना गऱ्‍यो अनि आजका मसीहीहरूलाई यसले कुन कुरा सिकाउँछ?

• क्षेत्र सेवकाईले कसरी शैतानका आक्रमणहरू विरुद्ध सुरक्षाको काम गर्छ?

• कोही-कोही कस्तो खुला ढोकामा प्रवेश गरेका छन्‌ र तिनीहरूले कस्ता आशिष्‌हरूको आनन्द उठाएका छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

गादको कुलका मानिसहरूले लुटपाट गर्ने दलहरूका विरुद्ध लडाइँ गरेझैं मसीहीहरूले शैतानका आक्रमणहरूको प्रतिकार गर्नै पर्छ

[पृष्ठ १७-मा भएको चित्र]

क्षेत्र सेवकाईमा हामी उत्थानदायी संगतिको आनन्द उठाउँछौं

[पृष्ठ १८-मा भएका चित्रहरू]

अग्रगामी सेवाले थुप्रै सुअवसरहरूको लागि ढोका खोल्न सक्छ, जस्तै:

१. अन्तरराष्ट्रिय सेवा

२. बेथेल सेवा

३. मिसनरी सेवा