सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पहिलो शमूएल १९:१२, १३ मा सङ्‌केत गरिएअनुसार यहोवाका विश्‍वासी सेवक दाऊदले किन आफ्नी पत्नी मीकललाई घर-देवता अर्थात्‌ मूर्ति राख्न दिए?

आउनुहोस्‌, सर्वप्रथम हामी प्रसङ्‌गलाई सङ्‌क्षिप्तमा केलाएर हेरौं। दाऊदलाई मार्ने राजा शाऊलको षड्‌यन्त्रबारे सुइँको पाउनासाथ दाऊदकी पत्नीले कदम चालिहालिन्‌। बाइबल यसो भन्छ: “तिनले दाऊदलाई एउटा झ्यालबाट तल ओह्रालिदिइन्‌, र तिनी सुटुक्कै भागे। मीकलले आफ्ना घर-देवताहरू [त्यो मान्छे जत्रै र मान्छेको आकारमा भएको हुनुपर्छ] लिएर तिनको ओछ्यानमा राखिदिइन्‌, र सिह्रानमा चाहिं बाख्राको रौंको कम्बल राखेर एउटा लुगा ओढ़ाइदिइन्‌।” जब शाऊलका मानिसहरू दाऊदलाई पक्रन आए तब मीकलले तिनीहरूलाई भनिन्‌, “तिनी ता बिरामी छन्‌।” यस्तो युक्‍तिले दाऊदको खोजीकार्यमा ढिलाइ भयो र दाऊद सुटुक्कै भाग्न सके।—१ शमूएल १९:११-१६.

प्राचीन समयमा, घर-देवताहरू धार्मिक प्रयोगका लागि मात्र नभई कानुनी उद्देश्‍यको लागि पनि राख्ने गरिन्थ्यो भनेर पुरातात्त्विक उत्खननहरूले देखाउँछ। आज लालपुर्जा र लिखित इच्छापत्रले पैतृक सम्पत्तिको हकदार निर्धारण गरेजस्तै प्राचीन समयको घर-देवताले पनि त्यस्तै काम गर्थ्यो। घर-देवताहरू राख्दा कुनै-कुनै परिस्थितिमा त्यसले जुवाइँलाई मृतक ससुराको घर तथा जग्गाजमिनमा आफ्नो हक दाबी गर्ने अधिकार प्रदान गर्न सक्थ्यो जस्तो देखिन्छ। एक चोटि राहेलले आफ्नो बाबुका घर-देवताहरू लैजानु र ती फिर्ता ल्याउन तिनका बाबु अत्यन्तै चिन्तित हुनुको कारण यसले स्पष्ट पार्न सक्छ। त्यस सन्दर्भमा, आफ्नी पत्नीले गरेको कार्यबारे राहेलका पति याकूब अनभिज्ञ थिए।—उत्पत्ति ३१:१४-३४.

इस्राएलीहरू एउटा राष्ट्र भएपछि तिनीहरूले दस आज्ञा पाए, जसको दोस्रो बुँदामा मूर्ति बनाउन स्पष्टसित निषेध गरिएको छ। (प्रस्थान २०:४, ५) पछि, राजा शाऊलसित कुरा गर्ने क्रममा अगमवक्‍ता शमूएलले यही व्यवस्थालाई सङ्‌केत गरे। तिनले यसो भने: “आज्ञा उल्लङ्‌घन गर्नु मंत्र-तंत्रको पापजस्तै हो, हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो।” (१ शमूएल १५:२३) यसकारण, इस्राएलमा घर-देवतालाई पैतृक सम्पत्तिको लागि प्रयोग गरिंदैन थियो जस्तो छ। यद्यपि, यो पुरातन किसिमको यहूदी अन्धविश्‍वास कुनै-कुनै इस्राएली घरानाहरूमा पछिसम्मै रहिरह्‍यो जस्तो देखिन्छ। (न्यायकर्त्ता १७:५, ६; २ राजा २३:२४) मीकलले आफ्ना अन्य सम्पत्तिहरूसित घर-देवता पनि राख्नुले तिनको हृदय यहोवाप्रति पूर्णतया भक्‍त थिएन भन्‍ने कुरा देखाउँछ। घर-देवताबारे दाऊदलाई कि त थाहै नभएको हुनुपर्छ नभए मीकल शाऊल राजाकी छोरी भएकीले त्यो राख्ने अनुमति दिएको हुनुपर्छ।

यहोवालाई चढाउनुपर्ने ऐकान्तिक भक्‍तिप्रति दाऊदको दृष्टिकोण यी शब्दहरूमा व्यक्‍त गरिएका छन्‌: “परमप्रभु ता महान्‌ र सारा प्रशंसाको योग्य हुनुहुन्छ। सबै देवताहरूभन्दा उहाँको भय बढ़ता मान्‍नुपर्छ। किनभने अन्यजातिहरूको हरेक देवता ता मूर्ति मात्र हो, तर परमप्रभुले स्वर्गहरू बनाउनुभयो।”—१ इतिहास १६:२५, २६.

[पृष्ठ २९-मा भएको चित्र]

दस आज्ञाको दोस्रो बुँदाले यहाँ देखाइएझैं घर-देवताजस्ता मूर्तिहरू बनाउन निषेध गरेको थियो

[स्रोत]

From the book The Holy Land, Vol. II, 1859