सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्छ!

सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्छ!

सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्छ!

“आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।”—भजन १९:१.

१, २. (क) मानिसहरूले किन परमेश्‍वरको महिमा प्रत्यक्ष रूपमा हेर्न सक्दैनन्‌? (ख) चौबीस जना धर्म-गुरुले कसरी परमेश्‍वरलाई महिमा दिन्छन्‌?

 “तैंले मेरो अनुहार हेर्नसक्‍तैनस्‌, किनकि मेरो अनुहार हेरेर मानिस जीवित रहनसक्‍तैन।” (प्रस्थान ३३:२०) यहोवाले मोशालाई यस्तो चेतावनी दिनुभयो। मानिसहरू कमजोर शरीरले बनेको हुनाले परमेश्‍वरको महिमा प्रत्यक्ष रूपमा हेरेर तिनीहरू जीवित रहन सक्दैनन्‌। तथापि, एउटा दर्शनमा प्रेरित यूहन्‍नाले महिमित सिंहासनमा विराजमान यहोवाको सानदार दृश्‍य देख्न पाएका थिए।—प्रकाश ४:१-३.

मानिसहरूजस्तो नभई वफादार आत्मिक प्राणीहरूले भने यहोवाको अनुहार हेर्न सक्छन्‌। तिनीहरूमध्ये यूहन्‍नाले देखेका स्वर्गीय दर्शनका “चौबीस जना धर्म-गुरुहरू” पनि हुन्‌, जसले १,४४,००० लाई सङ्‌केत गर्छ। (प्रकाश ४:४; १४:१-३) परमेश्‍वरको महिमा देख्दा तिनीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌? प्रकाश ४:११ अनुसार तिनीहरू यस्तो घोषणा गर्छन्‌: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”

किन “कुनै किसिमको बहाना छैन”

३, ४. (क) परमेश्‍वरमा विश्‍वास गर्नु किन अवैज्ञानिक होइन? (ख) कहिलेकाहीं परमेश्‍वरमा विश्‍वास नगर्नुको पछाडि के कारण हुन्छ?

के तपाईं परमेश्‍वरलाई महिमा दिन उत्प्रेरित हुनुहुन्छ? अधिकांश मानिसहरू उत्प्रेरित छैनन्‌, अझ कसै-कसैले त परमेश्‍वर हुनुहुन्छ भनेर समेत मानिलिंदैनन्‌। उदाहरणका लागि, एक जना खगोलविद्‌ले यस्तो लेखे: “हाम्रो लाभको लागि यो ब्रह्‍माण्ड यत्तिको सुहाउँदो ढङ्‌गमा रचना गर्न अघि सर्ने के परमेश्‍वर नै हो र? . . . कुरा त रोचकै हो। तर दुःखको कुरा, मेरो विचारमा यो भ्रमपूर्ण सोचाइ हो। . . . यसको पछाडि परमेश्‍वर हुनुहुन्छ भन्‍नु चित्तबुझ्दो जवाफ होइन।”

वैज्ञानिक अनुसन्धानको दायरा सानो छ—मानिसहरूले जति देख्न वा अध्ययन गर्न सक्छन्‌ त्यतिमै सीमित छ। अन्यथा ती सिद्धान्त वा अनुमान मात्र हुन्‌। “परमेश्‍वर आत्मा हुनुहुन्छ,” त्यसैले वैज्ञानिक तरिकाहरू चलाएर उहाँबारे अध्ययन गर्न सकिंदैन। (यूहन्‍ना ४:२४) त्यसैले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको अवैज्ञानिक कुरा हो भन्दै उहाँमा विश्‍वास गर्न छोड्‌नु अहङ्‌कार हो। क्याम्ब्रिज विश्‍वविद्यालयका वैज्ञानिक भिन्सेन्ट विगल्जवर्थका अनुसार वैज्ञानिक तरिका स्वयम्‌ पनि “एउटा विश्‍वासमा आधारित पद्धति” हो। कसरी? “यी प्राकृतिक घटनाहरू ‘प्रकृतिको नियमअनुसार’ नै हुन्छन्‌ भन्‍ने दृढ विश्‍वासमा आधारित हुन्छ।” त्यसैले, कसैले परमेश्‍वरमा विश्‍वास गर्न इन्कार गर्छ भने उसले एउटा कुरालाई चाहिं विश्‍वास नगरेर अर्को कुरालाई विश्‍वास गरिरहेको हुँदैन र? कहिलेकाहीं सत्य स्वीकार्न जानाजानी इन्कार गरेको कारण अविश्‍वास देखिन्छ। भजनहारले यस्तो लेखे: “आफ्नो अहङ्‌कारमा दुष्टले उहाँलाई खोज्दैन, त्यसका सबै विचारमा परमेश्‍वरलाई स्थान हुँदैन।”—छड्‌के अक्षर हाम्रो; भजन १०:४, नयाँ संशोधित संस्करण।

५. परमेश्‍वरमा विश्‍वास नदेखाउनुमा किन कुनै किसिमको बहाना छैन?

तथापि, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको अन्धाधुन्ध विश्‍वास गर्नु होइन किनभने परमेश्‍वरको अस्तित्व छ भन्‍ने प्रशस्त प्रमाणहरू छन्‌। (हिब्रू ११:१) खगोलविद्‌ एलन सन्डाजले यसो भने: “अस्तव्यस्तताबाट [ब्रह्‍माण्डमा] यस्तो व्यवस्थित अवस्था आयो भन्‍ने कुरा मलाई एकदमै असम्भव लाग्छ। व्यवस्थित बनाउने कुनै न कुनै सिद्धान्त हुनुपर्छ। मेरो लागि परमेश्‍वर एउटा रहस्य हुनुहुन्छ तर केही पनि कुरा नहुनुको सट्टा केही न केही कुराहरू अस्तित्वमा हुनुको चमत्कार पछाडि उहाँ नै हुनुहुन्छ।” परमेश्‍वरको “अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ, र यिनीहरूलाई कुनै किसिमको बहाना छैन” भनी प्रेरित पावलले रोमका मसीहीहरूलाई बताए। (रोमी १:२०) “संसारको सृष्टिदेखिनै”—विशेष गरी परमेश्‍वरको अस्तित्व महसुस गर्न सक्ने बौद्धिक मानव प्राणीहरूको सृष्टिदेखि— असीम शक्‍ति भएको एक जना सृष्टिकर्ता, भक्‍तिको योग्य एक जना परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट भएको छ। त्यसैले परमेश्‍वरको महिमा मानिलिन नचाहनेहरूलाई कुनै किसिमको बहाना छैन। यद्यपि, सृष्टिले कस्तो प्रमाण दिन्छ?

ब्रह्‍माण्डले परमेश्‍वरको महिमाको वर्णन गर्छ

६, ७. आकाशले कसरी परमेश्‍वरको महिमाको वर्णन गर्छ?

भजन १९:१ ले यस्तो जवाफ दिन्छ: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” “आकाश-मण्डल” वा वायुमण्डलमा चम्कने तारा तथा ग्रहहरूले एक जना महिमित परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने अकाट्य प्रमाण दिन्छ भनी दाऊदले बुझे। तिनी अझै यसो भन्छन्‌: “दिनले दिनसँग बात गर्छ, र रातले रातलाई ज्ञान सिकाउँछ।” (भजन १९:२) दिनदिनै र रातैपिच्छे आकाशले परमेश्‍वरको बुद्धि तथा सृजनात्मक शक्‍ति प्रकट गर्छ। यो, आकाशबाट परमेश्‍वरको प्रशंसा गर्ने “बात” सुनिएजस्तै हो।

तथापि, यो साक्षी सुन्‍न विवेक चाहिन्छ। “तिनीहरूको सोर सुन्‍न नसकिने, कुनै बोली, कुनै वा भाषा छैन।” तैपनि, आकाशको मौन साक्षी शक्‍तिशाली छ। “तिनीहरूको सोर सारा पृथ्वीभरि गुञ्जायमान भएको छ, र तिनीहरूका वचन संसारको अन्तसम्म।”—भजन १९:३, ४.

८, ९. सूर्यसम्बन्धी केही उल्लेखनीय तथ्यहरू के-के हुन्‌?

यसपछि यहोवाको सृष्टिको अर्को आश्‍चर्यबारे दाऊद वर्णन गर्छन्‌: “तिनीहरूमानै [दृश्‍य आकाशमा] उहाँले सूर्यको निम्ति एउटा बासस्थान बनाउनुभएको छ, जो आफ्नो कोठाबाट निस्कने दुलहाजस्तै छ, र आफ्नो दौड़ दौड़ने वीर पुरुषजस्तो रमाउँछ। त्यसको उदय आकाशको एक कुनाबाट हुन्छ, र त्यसको चक्कर अर्को कुनासम्म, औ त्यसको तापबाट केही कुरा लुकेर रहँदैन।”—भजन १९:४-६.

अरू ताराहरूको तुलनामा सूर्य मझौला आकारको मात्र छ। तैपनि, यो एउटा असाधारण तारा हो, जसको सामु यसको वरिपरि परिक्रमा गर्ने ग्रहहरू अत्यन्तै साना देखिन्छन्‌। एउटा स्रोतले बताएअनुसार “२ को पछाडि २७ वटा शून्य थप्दा जति संख्या हुन्छ त्यति टन बराबर” यसको पिण्ड छ—जुन हाम्रो सौर्यमण्डलको पिण्डको ९९.९ प्रतिशत हो! यसको गुरुत्वाकर्षण शक्‍तिले पृथ्वीलाई आफ्नो कक्षबाट बाहिर नउछिट्टिईकन वा सूर्यतर्फ नखिचिईकन १५ करोड किलोमिटरको दूरीमा रहेर परिक्रमा गर्न सम्भव तुल्याएको छ। सूर्यको शक्‍तिको दुई अरब भागको एक भाग मात्र हाम्रो ग्रहमा आइपुग्छ, तैपनि जीवन धान्‍न यति नै प्रशस्त छ।

१०. (क) सूर्य कसरी आफ्नो “बासस्थान[भित्र]” पस्छ र बाहिर निस्कन्छ? (ख) यो कसरी “वीर पुरुषजस्तो” दौडन्छ?

१० दिनभरि एउटा क्षितिजबाट अर्को क्षितिजसम्म दौडने अनि राति “बासस्थान[मा]” आराम गर्ने “वीर पुरुष[को]” रूपमा चित्रण गर्दै भजनहार सूर्यबारे प्रतीकात्मक भाषामा बताउँछन्‌। क्षितिजमा उक्‍त शक्‍तिशाली तारा डुब्दाको दृश्‍य, पृथ्वीबाट हेर्दा यो आराम गर्नको लागि “बासस्थान[भित्र]” पसेको जस्तै देखिन्छ। बिहानीपख “आफ्नो कोठाबाट निस्कने दुलहाजस्तै” चमचम चम्कँदै यसले आफ्नो किरण छर्छ। पहिले गोठालोको काम गरेको हुनाले राती कत्तिको जाडो हुन्छ भन्‍ने कुरा दाऊदलाई थाह थियो। (उत्पत्ति ३१:४०) सूर्यको किरणले कसरी तिनलाई र तिनी वरपरको जमिनलाई न्यानो बनाउँथ्यो भन्‍ने कुरा दाऊदले सम्झे। कुरा स्पष्ट छ, पूर्वदेखि पश्‍चिमसम्मको “यात्राको” कारण यो अलिकति पनि थाकेको थिएन तर आफ्नो यात्रा फेरि सुरु गर्न “वीर पुरुषजस्तो” तयार थियो।

विस्मयकारी तारा तथा आकाशगङ्‌गाहरू

११, १२. (क) बाइबलमा ताराहरूलाई बालुवासित तुलना गर्नुमा कुन कुरा उल्लेखनीय छ? (ख) ब्रह्‍माण्ड वास्तवमा कत्तिको विशाल हुन सक्छ?

११ दूरदर्शक-यन्त्रको सहायताविना दाऊदले केही हजार तारा मात्र देख्न सक्थे। तथापि, हालै गरिएको अध्ययनअनुसार आधुनिक दूरदर्शक-यन्त्रहरूको मदतद्वारा सात लाख शङ्‌ख अर्थात्‌ ७ को पछाडि २२ वटा शून्य थप्दा हुने संख्या जति तारा देख्न सकिन्छ! यहोवाले ताराको संख्यालाई “समुद्र किनारका बालुवा[सित]” तुलना गर्नुहुँदा उहाँले यसको विशाल संख्यालाई सङ्‌केत गर्नुभयो।—उत्पत्ति २२:१७.

१२ खगोलविद्‌हरूले “धमिलो, अस्पष्ट दृश्‍यसहितको सानो चम्किला क्षेत्रहरू” नियाल्दै आएको वर्षौं भइसक्यो। वैज्ञानिकहरूले यी “आवर्तित नीहारिका” पनि मिल्की वे भनिने हाम्रो आकाशगङ्‌गाकै भाग हुन्‌ भन्‍ने अनुमान लगाए। सबैभन्दा नजिकको यस्तो नीहारिका, एन्ड्रोमेडा वास्तवमा—लगभग २० लाख प्रकाश वर्ष टाढा रहेको—एउटा छुट्टै आकाशगङ्‌गा पो रहेछ भन्‍ने कुरा सन्‌ १९२४ मा आएर मात्र थाह भयो! वैज्ञानिकहरूले अहिले अनुमान गरेअनुसार अरबौं आकाशगङ्‌गाहरू छन्‌ र हरेकमा हजारौं अनि कुनै-कुनैमा त अरबौं ताराहरू छन्‌। तैपनि यहोवाले “ताराका संख्या गन्‍नसक्नुहुन्छ। र ती सबैलाई नाउँ दिनुहुन्छ।”—भजन १४७:४.

१३. (क) तारापुञ्जहरूबारे कुन कुरा उल्लेखनीय छ? (ख) “आकाशको शासन गर्ने नियमहरू[बारे]” वैज्ञानिकहरूलाई थाह छैन भन्‍ने कुरा कसरी स्पष्ट छ?

१३ यहोवाले अय्यूबलाई यसरी सोध्नुभयो: “के तँ किर्किटि-ताराको पुञ्जलाई बाँध्नसक्छस्‌? अथवा मृगशीराको पेटी फुकाल्नसक्छस्‌?” (अय्यूब ३८:३१) तारापुञ्ज भनेको एउटा खास आकारमा देखिने ताराहरूको समूह हो। वास्तवमा ती ताराहरू एकअर्काबाट एकदमै टाढा हुन सक्नेभए तापनि पृथ्वीबाट हेर्दा तिनीहरूको सापेक्षिक स्थान एउटै रहन्छ। तिनीहरूको स्थान एकदमै निश्‍चित भएकोले ती ताराहरू “समुद्री यात्रामा, अन्तरिक्षयानलाई सही दिशा दिन अन्तरिक्षयात्रीहरूका लागि तथा तारा चिन्‍नको लागि मदतकारी मार्ग निर्देशकहरू” हुन्‌। (दी इन्साइक्लोपीडिया अमेरिकाना) यद्यपि, कुन कुराले तारापुञ्जहरूलाई एकसाथ ‘बाँध्छ’ भनेर कसैले पनि पूर्णतया बुझ्न सक्दैन। हो, अय्यूब ३८:३३ मा सोधिएको प्रश्‍नको जवाफ वैज्ञानिकहरूले अझसम्म पनि दिन सक्दैनन्‌: “आकाशको शासन गर्ने नियमहरूलाई के तैंले घोषणा गरेको होस्‌?”

१४. प्रकाशको यताउता फैलिने कुरा कुन तरिकामा एउटा रहस्य हो?

१४ अय्यूबलाई सोधिएको अर्को प्रश्‍नको जवाफ पनि वैज्ञानिकहरूले दिन सक्दैनन्‌: “कुन बाटोहरूदेखि गर्मी [“प्रकाश,” NW] यताउता फैलिन्छ?” (अय्यूब ३८:२४) प्रकाशबारे सोधिएको यो प्रश्‍नलाई एक जना लेखकले “आधुनिक समयको एकदमै जटिल वैज्ञानिक प्रश्‍न” भने। यसको विपरीत, केही युनानी दार्शनिकहरू प्रकाश मानव आँखाबाट उत्पन्‍न हुन्छ भनी विश्‍वास गर्थे। हालै आएर वैज्ञानिकहरूले प्रकाश ससाना कणहरू मिलेर बनेको हुन्छ भन्‍ने धारणा राख्न थालेका छन्‌। अरूहरूले यो तरङ्‌गको रूपमा प्रसारण हुन्छ भनेर विचार गरेका छन्‌। आज, वैज्ञानिकहरू प्रकाशले तरङ्‌ग र कण दुवैका गुणहरू देखाउँछ भनेर विश्‍वास गर्छन्‌। प्रकाशको स्वभाव र यो कसरी “यताउता फैलिन्छ” भन्‍ने कुरा अझै पनि राम्ररी बुझ्न सकिएको छैन।

१५. आकाशलाई विचार गर्दा दाऊदजस्तै हामीले पनि कस्तो महसुस गर्नुपर्छ?

१५ यी सबै कुराहरूलाई विचार गर्दा, जोसुकै पनि भजनहार दाऊदले भनेझैं यस्तो महसुस गर्न बाध्य हुन्छ: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?”—भजन ८:३, ४.

पृथ्वी र यसमा भएका प्राणीहरूले यहोवाको महिमा गर्छन्‌

१६, १७. “गहीरा सागर[का]” प्राणीहरूले कसरी यहोवाको प्रशंसा गर्छन्‌?

१६ भजन १४८ ले सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्ने अरू पनि तरिकाहरू एक-एक गरी बताउँछ। पद ७ यसो भन्छ: “हे जलजन्तु हो, र गहीरा सागर हो, पृथ्वीबाट परमप्रभुको प्रशंसा गर।” हो, “गहीरा सागर” परमेश्‍वरको बुद्धि तथा शक्‍ति प्रकट गर्ने अद्‌भुत कुराहरूले भरिएका छन्‌। ब्लु ह्वेलको औसत तौल १२० टन हुन्छ र यो तौल ३० वटा हात्तीको तौल बराबर हो! यसको मुटुको तौल मात्र ४५० किलोभन्दा बढी हुन्छ र यसले आफ्नो शरीरमा ६,४०० किलो रगत पम्प गर्न सक्छ! के यी अजङका समुद्री जलजन्तुहरू पानीमा लोसे वा बेढङ्‌गी हुन्छन्‌? पटक्कै हुँदैनन्‌। तिनीहरू अत्यन्तै तेज गतिमा “सागरहरूमा हुइँकिन्छन्‌” भनी युरोपियन सिटासियन बाइक्याच क्याम्पेनको एउटा प्रतिवेदनले बताउँछ। भूउपग्रहद्वारा गरिएको अनुसन्धानले देखाएअनुसार “एउटा ब्लु ह्वेलले १० महिनामा १६,००० किलोमिटरभन्दा लामो यात्रा गऱ्‍यो।”

१७ सिसीजस्तो नाक भएको डल्फिन सामान्यतया ४५ मिटरसम्मको गहिराइमा डुबुल्की मार्छ तर अहिलेसम्मको रेकर्डअनुसार डल्फिनले सबैभन्दा गहिराइमा डुबुल्की मारेको ५४७ मिटरमा हो! यो स्तनपायीले कसरी यत्तिको गहिराइसम्म डुबुल्की मार्न सक्छ? डुबुल्की मार्दा यसको मुटुको ढुकढुकी घट्‌छ र मुटु, फोक्सो तथा दिमागतर्फ रगत बग्न थाल्छ। साथै, यसको मांसपेशीमा अक्सिजन सञ्चय गर्ने रसायन हुन्छ। हात्ती सिल र स्पर्म ह्वेल योभन्दा पनि अझ गहिराइमा डुबुल्की मार्न सक्छन्‌। डिस्कभर (अङ्‌ग्रेजी) पत्रिका यसो भन्छ: “[पानीको] चापलाई प्रतिरोध गर्नुको सट्टा तिनीहरू त्यो चापले गर्दा आफ्नो फोक्सो पूरै खुम्चिन दिन्छन्‌।” तिनीहरूले आफूलाई चाहिने धेरैजसो अक्सिजन मांसपेशीमा सञ्चय गर्छन्‌। कुरा स्पष्ट छ, यी प्राणीहरू सर्वशक्‍तिमान्‌ परमेश्‍वरको बुद्धिको जीवित प्रमाण हुन्‌!

१८. समुद्रको पानीले कसरी यहोवाको बुद्धि देखाउँछ?

१८ समुद्रको पानीले समेत यहोवाको बुद्धि प्रकट गर्छ। साइन्टिफिक अमेरिकन यसो भन्छ: “समुद्री सतहको माथिल्लो १०० मिटरसम्मको पानीका हरेक थोपाहरूमा स्वतन्त्र रूपले तैरिएर रहेका हजारौं सुक्ष्म वनस्पतिहरू हुन्छन्‌।” यो “अदृश्‍य जङ्‌गलले” अरबौं टन कार्बन डाइअक्साइड सोसेर हाम्रो हावालाई स्वच्छ बनाउँछ। हामीले सास फेर्ने आधाभन्दा बढी अक्सिजन यी सुक्ष्म वनस्पतिहरूले उत्पादन गर्छन्‌।

१९. आगो र हिउँले कसरी यहोवाको इच्छा पूरा गर्छन्‌?

१९ भजन १४८:८ यसो भन्छ: “आगो र असिना, हिउँ र कुइरो, उहाँको वचन मान्‍ने आँधी र बतास हो।” हो, आफ्नो इच्छा पूरा गर्न यहोवाले प्रकृतिका निर्जीव शक्‍तिहरूलाई पनि चलाउनुहुन्छ। आगोलाई विचार गर्नुहोस्‌। बितेका दशकहरूमा डढेलो लगाउनुलाई केवल विनाशकारी ठानिन्थ्यो। तर अचेल अनुसन्धाताहरू यस्तो विश्‍वास गर्छन्‌ कि आगोले बूढा र सुकेका रूखहरूलाई हटाएर, थुप्रै खालका बीउहरूलाई अङ्‌कुराउन सहयोग पुऱ्‍याएर, पौष्टिक पदार्थहरूलाई पुनः प्रयोग गर्न सकिने बनाएर र दुर्घटनावश लाग्न सक्ने डढेलोको खतरालाई कम गरेर पर्यावरणमा महत्त्वपूर्ण भूमिका खेल्छ। हिउँ पनि महत्त्वपूर्ण छ किनभने यसले जमिनमा पानी आपूर्ति गर्नुका साथै जमिनलाई उर्वर बनाउँछ, नदीहरूलाई पानीले भरिभराउ बनाउँछ अनि वनस्पति तथा जनावरहरूलाई कठाङ्‌ग्रिने जाडोबाट बचाउँछ।

२०. हिमशिखर तथा रूखहरूले कसरी मानिसजातिलाई लाभ पुऱ्‍याउँछ?

२० “पहाड़हरू र सबै डाँड़ा हो, फल फलाउने रूख, र सबै देवदार हो” भनी भजन १४८:९ ले वर्णन गर्छ। विशाल पहाड अर्थात्‌ हिमशिखरहरू यहोवाको अपार शक्‍तिको प्रमाण हुन्‌। (भजन ६५:६) तर यी उपयोगी पनि छन्‌। स्वीजरल्याण्डको बर्न स्थित इन्सटिच्युट अफ जियोग्राफीको एउटा प्रतिवेदन यसो भन्छ: “संसारका सबै प्रमुख नदीहरूको स्रोत भनेको हिमशिखरहरू हुन्‌। संसारका आधाभन्दा बढी मानिसहरू हिमशिखरमा जम्मा भएर रहेको स्वच्छ पानीमा निर्भर छन्‌ . . .। मानिसजातिको हितको लागि यी ‘पानीका धरहराहरू’ अत्यावश्‍यक छन्‌।” साधारण रूखले समेत यसको बनाउनेवालाको महिमा गर्छ। संयुक्‍त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमको एउटा प्रतिवेदनले बताएअनुसार रूखहरू “सबै देशका मनिसहरूको हितको लागि महत्त्वपूर्ण छन्‌ . . .। थुप्रै प्रजातिका रूखहरूले काठपात, फलफूल, काष्ठ फलहरू, खोटो र गुँदका स्रोतको रूपमा ठूलो आर्थिक महत्त्व राख्छन्‌। विश्‍वको २ अरब जनसंख्या खाना पकाउन र इन्धनको लागि वनजङ्‌गलमा भर पर्छन्‌।”

२१. एउटा साधारण पातले कसरी अद्‌भुत संरचनाको प्रमाण दिन्छ, वर्णन गर्नुहोस्‌।

२१ रूखको बनौटलाई मात्र हेर्ने हो भने पनि बुद्धिमान्‌ सृष्टिकर्ताको प्रमाण देखिन्छ। एउटा साधारण पातलाई विचार गर्नुहोस्‌। यसको बाहिरी सतहमा मैनको पत्र हुन्छ जसले पातलाई सुक्खा हुनदेखि जोगाउँछ। माथिल्लो सतहमा भएको यो तहको ठीक मुनि क्लोरोप्लास्ट भएका कोषहरू हुन्छन्‌। यी कोषहरूमा प्रकाश सोस्ने क्लोरोफिल हुन्छ। फोटोसिन्थेसिस भनिने प्रक्रियाद्वारा पातहरूले “खाद्य कारखानाको” काम गर्छन्‌। रूखका जराहरूले पानी सोस्छन्‌ र जटिल खालका “पाइपहरूद्वारा” पातहरूसम्म ओसार्छन्‌। पातको तल्लोपट्टिको भागमा भएका (स्टोमाटा भनिने) हजारौं ससाना “भल्भहरूले” खुल्ने र बन्द हुने प्रकियाद्वरा कार्बन डाइअक्साइड सोस्छन्‌। पानी र कार्बन डाइअक्साडको संयोजनको लागि प्रकाशले शक्‍ति आपूर्ति गर्छ र कार्बोहाइड्रेट उत्पादन गर्छ। अब बिरुवाले आफैले तयार पारेको खाना खान सक्छ। यद्यपि, यो “कारखानाले” हल्ला गर्दैन र यो सुन्दर छ। प्रदूषण गर्नुको सट्टा यसले सहायक उत्पादनको रूपमा अक्सिजन निकाल्छ!

२२, २३. (क) कुनै-कुनै चरा तथा जमिनमा बस्ने जनावरहरूसित कस्तो उल्लेखनीय क्षमता छ? (ख) हामीले अरू कस्ता प्रश्‍नहरूबारे विचार गर्नुपर्छ?

२२ “पशु र सबै गाई-वस्तु हो, घस्रने जन्तु र उड़ने चरा हो” भनी भजन १४८:१० ले बताउँछ। जमिनमा बस्ने र उड्‌ने थुप्रै प्राणीहरूले अचम्म-अचम्मका क्षमताहरू प्रदर्शन गर्छन्‌। लेसन आल्बाट्रस भनिने समुद्री चरा एकदम टाढासम्म उड्‌न सक्छ (एक पटक त ९० दिनमा ४०,००० किलोमिटर)। ब्ल्याकपोल वार्ब्लरले लगातार ८० घण्टाभन्दा बढीसम्म हावामा तैरिएर उत्तर अमेरिकादेखि दक्षिण अमेरिकासम्मको यात्रा गर्छ। मानिसहरूले साधारणतया सोचेजस्तो उँटले ढाडमा भएको डल्लोमा नभई पाचन प्रणालीमा पानी भण्डार गर्छ र पानीको अभावविना लामो यात्रा गर्न सक्छ। त्यसैले कुनै मेसिन तथा नयाँ सामग्रीहरू डिजाइन गर्नुभन्दा पहिले इन्जिनियरहरूले जनावरहरूको संसारलाई हेर्नु कुनै छक्कलाग्दो कुरा होइन। लेखिका गेल क्लिर यसो भन्छिन्‌: “तपाईं राम्ररी काम गर्ने . . . र वातावरण अनुकूल कुनै चीज बनाउन चाहनुहुन्छ भने तपाईंले यसको राम्रो उदाहरण प्रकृतिमा पाउने सम्भावना धेरै हुन्छ।”

२३ हो, सृष्टिले साँच्चै नै परमेश्‍वरको महिमाको वर्णन गर्छ! ताराहरूले झकिझकाउ आकाशदेखि लिएर वनस्पति तथा जनावरहरू हरेकले आ-आफ्नै तरिकामा सृष्टिकर्ताको प्रशंसा गर्छन्‌। तर हामी मानिसहरू नि? हामी कसरी प्रकृति सँगसँगै परमेश्‍वरको प्रशंसा गाउन सक्छौं?

के तपाईंले सम्झनुभएको छ?

• परमेश्‍वरको अस्तित्व इन्कार गर्नेहरूलाई किन कुनै किसिमको बहाना छैन?

• तारा र ग्रहहरूले कसरी परमेश्‍वरलाई महिमा दिन्छन्‌?

• समुद्र र जमिनका जनावरहरूले कसरी एक जना मायालु सृष्टिकर्ताको प्रमाण दिन्छन्‌?

• प्रकृतिका निर्जीव शक्‍तिहरूले कसरी यहोवाको इच्छा पूरा गर्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

वैज्ञानिकहरूको अनुमानअनुसार देख्न सकिने ताराहरूको संख्या सात लाख शङ्‌ख छ!

[स्रोत]

Frank Zullo

[पृष्ठ १२-मा भएको चित्र]

सिसीजस्तो नाक भएको डल्फिन

[पृष्ठ १३-मा भएको चित्र]

हिमकण

[स्रोत]

snowcrystals.net

[पृष्ठ १३-मा भएको चित्र]

लेसन आल्बाट्रसको बचेरा