सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गिलियड स्नातकहरू कटनीका जोसिला खेतालाहरूको हैसियतमा अघि बढ्‌छन्‌!

गिलियड स्नातकहरू कटनीका जोसिला खेतालाहरूको हैसियतमा अघि बढ्‌छन्‌!

गिलियड स्नातकहरू कटनीका जोसिला खेतालाहरूको हैसियतमा अघि बढ्‌छन्‌!

“फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) आफ्नो मिसनरी कार्यभारमा जान ठिक्क परेका वाचटावर बाइबल स्कूल अफ गिलियडका ११६ औं कक्षाका विद्यार्थीहरूको लागि यी शब्दहरूले विशेष अर्थ राख्थ्यो।

शनिबार, मार्च १३, २००४ मा दीक्षान्त समारोहको लागि न्यु योर्कको प्याटर्सनस्थित वाचटावर एजुकेशनल सेन्टरमा उपस्थित र उक्‍त समारोहको प्रत्यक्ष भिडिओ प्रसारण हेर्नेहरू जम्मा ६,६८४ जना थिए। यस समारोहमा कक्षाका सहभागीहरूले बिदाइ भाषण सुन्‍नुका साथै प्रोत्साहन पाए। आध्यात्मिक कटनीमा जोसिलो भई लाग्दा हामी सबैले नै त्यहाँ दिइएको सल्लाहबाट लाभ उठाउन सक्छौं।

परिचालक निकायका एक जना सदस्य तथा गिलियडको सातौं कक्षाका स्नातक थिओडर जारसले सुरुको भाषण दिए र उनले येशूका यी शब्दहरूलाई प्रकाश पारे: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९, २०) यी शब्दहरू कत्ति उपुयक्‍त थिए किनकि स्नातकहरूलाई २० राष्ट्रहरूमा सेवा गर्न पठाउनै लागिएको थियो! उनले परमेश्‍वरको वचनले विद्यार्थीहरूलाई सबैभन्दा महत्त्वपूर्ण आध्यात्मिक कटनीमा जोसिला खेतालाहरू हुन पूर्णतया सुसज्जित पारेको छ भन्‍ने कुराको सम्झना दिलाए।—मत्ती ५:१६.

कसरी कटनीका उत्पादनशील खेताला बन्‍ने

कार्यक्रममा पहिलो वक्‍ता रबर्ट वलेन थिए। उनले धेरै वर्षदेखि गिलियड स्कूलसित सम्बन्धित काम गर्दै आएका छन्‌। “अनुकम्पाको सुन्दरता” विषयमा भाषण दिंदै उनले विद्यार्थीहरूलाई यसो भने: “अनुकम्पा त्यो भाषा हो जुन बहिराले समेत सुन्‍न सक्छन्‌ र अन्धाले समेत देख्न सक्छन्‌।” अरूका कष्टहरूप्रति येशू अत्यन्तै संवेदनशील हुनुहुन्थ्यो अनि तिनीहरूलाई यसबाट मुक्‍त गर्न उहाँ हरसम्भव प्रयत्न गर्नुहुन्थ्यो। (मत्ती ९:३६) त्यसैगरी विद्यार्थीहरूले प्रचारकार्य, मण्डली, मिसनरी गृहमा र आफ्नै विवाहित जोडीहरूलाई अनुकम्पा देखाउने प्रशस्त अवसरहरू पाउनेछन्‌। वक्‍ताले स्नातकहरूलाई यस्तो आग्रह गरे: “अरूको सेवा गर्दा तपाईंको जीवनमा अनुकम्पाको सौन्दर्य राम्ररी झल्कियोस्‌। मिनसरी गृहमा दैनिक जीवन बिताउन तपाईंको असल व्यवहार नै पर्याप्त छ। त्यसैले, सहानुभूति अर्थात्‌ अनुकम्पा धारण गर्न कटिबद्ध हुनुहोस्‌।”—कलस्सी ३:१२.

परिचालक निकायका अर्का सदस्य र गिलियड कक्षाका ४१ औं स्नातक गेरिट लोशले “मुक्‍तिका प्रचारकहरू” भन्‍ने विषयमा भाषण दिए। वर्तमान रीतिरिवाज नष्ट हुँदा मानिसहरू बच्नको लागि तिनीहरूले परमेश्‍वरको वचनबाट सही ज्ञान लिनै पर्छ, आफ्नो विश्‍वासको आमघोषणा गर्नै पर्छ र बप्तिस्मा लिनै पर्छ। (रोमी १०:१०; २ तिमोथी ३:१५; १ पत्रुस ३:२१) तथापि, मुक्‍तिको प्रचार गर्नुको मुख्य कारण मानिसहरूलाई बचाउनु होइन तर परमेश्‍वरको प्रशंसा गर्नु हो। त्यसैकारण भाइ लोशले सम्भाव्य मिसनरीहरूलाई यस्तो सल्लाह दिए: “यहोवाको प्रशंसाको लागि पृथ्वीको कुना-कुनासम्म राज्यसन्देश लैजानुहोस्‌ र मुक्‍तिको जोसिला उद्‌घोषकहरू बन्‍नुहोस्‌ र यसले यहोवाको प्रशंसा गरोस्‌।”—रोमी १०:१८.

गिलियड प्रशिक्षक लरेन्स बोयनले यस्तो प्रश्‍न उठाए, “तपाईं कसरी आध्यात्मिक ज्योति चम्काउनुहुन्छ?” उनले मत्ती ६:२२ मा लिपिबद्ध येशूका शब्दहरूलाई सङ्‌केत गरे अनि “यहोवाको महिमा गर्ने र आफ्ना सह-मानवहरूलाई लाभ पुऱ्‍याउने आध्यात्मिक ज्योति प्रतिबिम्बित गर्न” स्नातक विद्यार्थीहरूलाई आफ्नो आँखा “निर्मल” राख्न प्रोत्साहित गरे। आफ्नो सेवकाईको सुरुदेखि नै परमेश्‍वरको इच्छा गर्न आफ्नो ध्यान केन्द्रित गरेर येशूले यस सन्दर्भमा सिद्ध नमुना बसाल्नुभयो। स्वर्गमा आफ्नो पिताले आफूलाई सिकाएका अद्‌भुत कुराहरूमा मनन गरेको कारणले गर्दा नै येशूले उजाडस्थानमा शैतानले ल्याएका परीक्षाहरू सहने मदत पाउनुभयो। (मत्ती ३:१६; ४:१-११) परमेश्‍वरले उहाँलाई सुम्पनुभएको कार्यभार पूरा गर्न येशूले यहोवामा पूर्ण भरोसा देखाउनुभयो। त्यसरी नै तिनीहरूसामु रहेका चुनौतीहरूको सामना गर्न मिसनरीहरूले राम्रो बाइबल अध्ययन गर्ने बानी बसाल्नै पर्छ र यहोवामा पूर्ण भरोसा राख्नै पर्छ।

गिलियड प्रशिक्षक तथा गिलियडको ७७ औं कक्षाका स्नातक मार्क न्यूमरले “हामी तपाईंको हातमा छौं” भन्‍ने विषयमा भाषण दिई यी शृङ्‌खलाबद्ध भाषणहरू टुङ्‌ग्याए। (यहोशू ९:२५) उनले विद्यार्थीहरूलाई पुरातन गिबोनीहरूको मनोवृत्ति अनुकरण गर्न प्रोत्साहित गरे। गिबोन “एक ठूलो नगर . . . त्यहाँका सबै निवासीहरू शूरवीर” भए तापनि तिनीहरूले आफ्नो प्रतिष्ठा खोजेनन्‌ वा आफ्नै व्यक्‍तिगत अभिरुचिअनुसारको काम पाउने आशा राखेनन्‌। (यहोशू १०:२) यहोवाको उपासनाको समर्थन गर्न लेवीहरूको अधीनमा “दाउरे र पनेरे” भएर काम गर्न तिनीहरू इच्छुक भए। (यहोशू ९:२७) त्यसरी नै, स्नातक कक्षाका सदस्यहरूले महान्‌ यहोशू येशू ख्रीष्टलाई यसो भनेका छन्‌, “हामी तपाईंको हातमा छौं।” अब आफ्नो विदेशी कार्यभार सुरु गर्दा तिनीहरूले महान्‌ यहोशुले दिनुभएको जुनसुकै काम स्वीकार्नु पर्छ।

अनुभव र अन्तर्वाताहरू

गिलियड कक्षाका ६१ औं स्नातक र प्रशिक्षक वालेस लिभरेन्सले विद्यार्थीहरूको एक समूहसित गरेको छलफलको विषय यस्तो थियो, “धर्मशास्त्रको अर्थ खोल्नुहोस्‌।” स्कूलको दौडान तिनीहरूले क्षेत्र सेवकाईमा आनन्द उठाएका अनुभवहरू बताउनुका साथै त्यसको पुनः अभिनय गरेर देखाए। पाँच महिने प्रशिक्षण अवधिभर धर्मशास्त्रमा तिनीहरूले गरेको गहिरो अध्ययनले पक्कै पनि तिनीहरूको हृदय छोएको थियो र आफूले सिकेका कुराहरू अरूलाई बताउन तिनीहरू उत्प्रेरित भएका थिए। (लूका २४:३२) पाँच महिने प्रशिक्षणको दौडान एक जना विद्यार्थीले आफूले सिकिरहेका कुराहरू आफ्नो साक्खै भाइलाई बताउन सके। यसले उनको भाइलाई स्थानीय मण्डली खोज्न र बाइबल अध्ययन सुरु गर्न उत्प्रेरित गऱ्‍यो। अहिले उनी बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍न योग्य भएका छन्‌।

यस्ता अनुभवहरूपछि रिचर्ड यास र जोन गिबार्डले परिभ्रमण निरीक्षकहरू लगायत लामो समयसम्म यहोवाको पूर्णसमय विश्‍वासी सेवकहरूको हैसियतमा काम गरिरहेका भाइहरूसित अन्तर्वाता लिए। तिनीहरूले वाचटावर एजुकेशनल सेन्टरमा विशेष प्रशिक्षण लिइरहेका थिए र तिनीहरू सुरु-सुरुका गिलियड कक्षाका स्नातकहरू थिए। एक जनाले कक्षाको दौडान भाइ नोरले भनेका यी कुराको सम्झना गरे: “गिलियडमा तपाईंहरूले धेरै अध्ययन गर्नुहुनेछ। तर यसले तपाईंलाई घमण्डी बनायो अर्थात्‌ तपाईंहरू दिमागी ज्ञानले मात्र भरिनुभएमा हामी असफल ठहर्नेछौं। तपाईंहरू दयालु अर्थात्‌ ठूलो मनको भएको हामी हेर्न चाहन्छौं।” परिभ्रमण भाइहरूले अहिलेको कक्षालाई मानिसहरू र तिनीहरूका आवश्‍यकताहरूबारे सजग हुन, अरूहरूसित ख्रीष्टले जस्तै व्यवहार गर्न र जस्तोसुकै कार्यभारहरू सुम्पिए तापनि नम्रतासाथ स्वीकार्न सल्लाह दिए। यस सल्लाहलाई स्वीकार्दा नयाँ मिसनरीहरूलाई आफ्नो कार्यभारमा उत्पादनशील हुन अवश्‍य मदत गर्नेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

कटनीका जोसिला खेतालाहरूको हैसियतमा अघि बढ्‌नहोस्‌!

श्रोताहरूले परिचालक निकायको अर्का सदस्य स्टिभन लेट्‌बाट पनि सुन्‍ने मौका पाएका थिए। उनले “कटनीका जोसिला खेतालाहरूको हैसियतमा अघि बढ्‌नुहोस्‌” शीर्षकमा यस कार्यक्रमको मुख्य भाषण दिए। (मत्ती ९:३८) साँच्चैको कटनीको काममा अन्‍नहरूको कटनी गर्नको लागि समय सीमित हुन्छ। खेतालाहरूले कडा परिश्रम गर्नु आवश्‍यक पर्छ। यस रीतिरिवाजको अन्तमा यसो गर्नु झन्‌ कत्ति धेरै महत्त्वपूर्ण छ! यस महान्‌ आध्यात्मिक कटनीमा मानिसहरूको जीवन खतरामा परेको छ। (मत्ती १३:३९) भाइ लेट्‌ले स्नातकहरूलाई कहिल्यै नदोहोरिने यस कटनीको काममा ‘अल्छी नहुन’ तर ‘आत्मामा जोशिलो हुन’ र “प्रभुको [“यहोवाको,” NW] सेवा” गर्न प्रोत्साहन दिनुभयो। (रोमी १२:११) वक्‍ताले येशूका यी शब्दहरू उद्धृत गरे: “आफ्ना आँखा गाड़ेर खेतबारीहरू हेर, किनभने ती अहिलेनै कटनीको लागि पहेंला भएका छन्‌।” (यूहन्‍ना ४:३५) त्यसपछि उनले मानिसहरू भेट्टाउन सकिने समय र ठाउँमा पुग्नको लागि निष्कपट प्रयास गर्न र अनौपचारिक साक्षी दिन हर अवसरको फाइदा उठाउँदै कटनीको कामको लागि आफ्नो जोस देखाउन स्नातकहरूलाई आग्रह गरे। अवसरहरू सृजना गर्न सचेत रहँदा प्रभावकारी साक्षी दिन सजिलो हुन्छ। यहोवा जोसिलो परमेश्‍वर हुनुहुन्छ र हामी सबैले उहाँको अनुकरण गरेको अनि आध्यात्मिक कटनीमा कडा मेहनत गरेको उहाँ चाहनुहुन्छ।—२ राजा १९:३१; यूहन्‍ना ५:१७.

समापन कार्यक्रममा अध्यक्ष भाइ जारसले धेरै शाखा कार्यालयहरूबाट प्राप्त शुभकामनाहरू सुनाउनुभयो र विद्यार्थीहरूलाई प्रमाण-पत्र वितरण गर्नुभयो। प्राप्त प्रशिक्षणको लागि सम्पूर्ण कक्षाको तर्फबाट गहिरो मुल्याङ्‌कन व्यक्‍त गर्दै लेखिएको पत्र एक जना स्नातकले पढेर सुनाए। स्पष्टतः ११६ औं कक्षाको दीक्षान्त समारोहले उपस्थित सबैलाई जोसिला खेतालाहरूको हैसियतमा अघि बढ्‌न अझ कटिबद्ध बनायो।

[पृष्ठ २५-मा भएको पेटी]

कक्षाको तथ्याङ्‌क

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ६

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: २०

विद्यार्थीहरूको संख्या: ४६

औसत उमेर: ३४.२

सच्चाइमा बिताएको औसत वर्ष: १७.२

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १३.९

[पृष्ठ २६-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ११६ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमश: अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हुन्‌।

(१) सिओन्सु, आर.; स्पार्क्स, टि.; पिना, सी.; टर्नर, पि.; चेनी, एल। (२) स्वार्डी, एम.; शोक्विस्ट, ए.; अमाडोरी, एल.; स्मीथ, एन.; जोर्डन, ए.; ब्वासोनो, एल. (३) म्याटलक, जे.; रुइथ, सी.; डुलर, एल.; भेनिरोन, एम.; हेन्री, के. (४) शोक्विस्ट, एच.; लक्स्‌, जे.; रुजो, जे.; गुस्टाफसन्‌, के.; ब्वासोनो, आर.; जोर्डन, एम. (५) हेन्री, डी.; टर्नर, डी.; कर्वीन, एस.; फ्लोरीट, के.; सिओन्सु, एस. (६) अमाडोरी, एस.; चेनी, जे.; रस, आर.; नेल्सन, जे.; रुइथ, जे.; भेनिरोन, एम. (७) फ्लोरीट, जे.; म्याटलक, डी.; रस, बी.; लक्स्‌, सी.; रुजो, टी.; डुलर, डी.; कर्वीन, एन. (८) गुस्टाफसन्‌, ए.; नेलसन, डी.; स्वार्डी, डब्लु.; पिना, एम.; स्मीथ, सी.; स्पार्क्स, टी.