सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बच्चालाई प्रशिक्षण दिंदा अहिलेको चुनौती

बच्चालाई प्रशिक्षण दिंदा अहिलेको चुनौती

बच्चालाई प्रशिक्षण दिंदा अहिलेको चुनौती

राति अबेर रेस्टुराँका मालिक आफ्नो पसल बन्द गरेर घर फर्कने तरखर गर्दैछन्‌। यति नै खेर दुइटी आइमाई र एउटा बच्चा भित्र पस्छन्‌ र खानाको अर्डर दिन्छन्‌। एकदमै थाकिसकेको हुँदा मालिकलाई रेस्टुराँ बन्द भइसक्यो भनुँजस्तो लाग्छ तैपनि तिनीहरूलाई खाना दिने निधो गर्छन्‌। ती दुइटी आइमाई कुरा गर्दै खाँदै गर्दा बच्चा भने रेस्टुराँमा यताउता दौडेर बिस्कुट भुइँमा खसाल्दै अनि त्यसलाई कुल्चेर धूलोपीठो पार्दैछ। बच्चालाई त्यसो नगर भन्‍नुको सट्टा आमा हाँसिरहन्छिन्‌। यी ग्राहकहरू निस्केपछि लखतरान भएका ती मालिकले फोहोर सबै सफा गर्नुपर्छ।

तपाईंलाई पनि थाह भएकै कुरा हो, यो वास्तविक घटनाले थुप्रै परिवारहरूमा बच्चालाई राम्रो प्रशिक्षण दिइएको छैन भनेर देखाउँछ। यसका विभिन्‍न कारणहरू छन्‌। केही आमाबाबुले बच्चाहरूलाई तिनीहरूले चाहेजस्तो गर्न दिन्छन्‌ अनि स्वतन्त्र वातावरणमा हुर्कन दिनुपर्छ भन्‍ने सोचाइ राख्छन्‌। अथवा जीवनको दौडधूपमा आफ्ना छोराछोरीलाई राम्रो ध्यान दिन र आवश्‍यक प्रशिक्षण दिन आमाबाबुले समय निकाल्दैनन्‌। कोही-कोही आमाबाबु बच्चाको पढाइलाई सर्वमहत्त्वपूर्ण कुरा ठान्छन्‌ अनि बच्चाले स्कूलमा राम्रो अंक ल्याउन्जेल र नाउँ चलेको कलेजमा भर्ना पाउन्जेलसम्म असीमित स्वतन्त्रता दिन्छन्‌।

यद्यपि, कसै-कसैको सोचाइमा भने आमाबाबु तथा समाजको मूल्यमान्यतामा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता छ। तिनीहरू तर्क गर्छन्‌, केटाकेटीहरू अनेक किसिमको अपराधमा संलग्न भइरहेका छन्‌ अनि स्कूलमा हिंसा दिन-प्रतिदिन बढिरहेको छ। यसैकारण गणतन्त्र कोरियाको सिओल स्थित एउटा माध्यमिक विद्यालयका प्रधानाध्यापकले व्यक्‍तित्व विकासलाई प्राथमिकता दिइनुपर्छ भनेर जोड दिए। तिनले यसो भने: “राम्रो चरित्र विकास गरिसक्नुभएपछि ज्ञान लिन लगाउनुपर्छ।”

आफ्नो बच्चा कलेजमा भर्ना भएको र जीवनमा सफल भएको चाहने थुप्रै आमाबाबुले चेतावनीमूलक सङ्‌केतहरूलाई वास्तै गर्दैनन्‌। तपाईं आमाबाबु हुनुहुन्छ भने तपाईंको बच्चा कस्तो व्यक्‍ति भएको चाहनुहुन्छ? नैतिकता र जिम्मेवारी बोध भएको वयस्क? अरूको हेरचाह गर्ने, परिस्थितिअनुसार मिल्न सक्ने अनि सकारात्मक मनोभाव भएको व्यक्‍ति बनेको चाहनुहुन्छ? यसो हो भने कृपया यसपछिको लेख विचार गर्नुहोस्‌।