सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वर हाम्रा समस्याहरूको लागि जिम्मेवार हुनुहुन्छ?

के परमेश्‍वर हाम्रा समस्याहरूको लागि जिम्मेवार हुनुहुन्छ?

के परमेश्‍वर हाम्रा समस्याहरूको लागि जिम्मेवार हुनुहुन्छ?

आफ्नी वयस्क छोरीको मस्तिष्कमा गम्भीर चोट लाग्दा हामीमध्ये धेरैजसोले जे गर्ने थियौं मरिनले पनि त्यसै गरिन्‌। a मदतको लागि तिनले परमेश्‍वरलाई प्रार्थना गरिन्‌। मरिन यसो भन्छिन्‌, “यत्ति साह्रो असहाय र एक्लो त मैले पहिला कहिल्यै महसुस गरेकी थिइनँ।” पछि, तिनकी छोरीको अवस्था झनै नाजुक भयो र मरिनलाई परमेश्‍वरबारे शङ्‌का लाग्न थाल्यो। “यस्तो किन भएको होला?” भनेर तिनले प्रश्‍न गरिन्‌। मायालु र अरूको हेरविचार गर्नुहुने परमेश्‍वरले कसरी तिनलाई त्याग्न सक्नुभएको होला भनेर तिनले बुझ्नै सकिनन्‌।

मरिनले गरेको अनुभव कुनै नौलो कुरा होइन। संसारभरिका थुप्रै मानिसहरूले अप्ठ्यारोमा परेको बेला परमेश्‍वरद्वारा त्यागिएको महसुस गरेका छन्‌। आफ्नो नातिको हत्या भएपछि लिजा यसो भन्छिन्‌, “ ‘परमेश्‍वरले किन खराब कुराहरू हुन दिनुभएको होला’ भन्‍ने विषयसित सम्बन्धित प्रश्‍नहरू मेरो मनमा अझै पनि खेलिरहन्छन्‌। मैले परमेश्‍वरमा पूर्णतया विश्‍वास गुमाएकी त छैनँ तर पहिला जस्तो अहिले मेरो विश्‍वास बलियो छैन।” त्यस्तै गरी, आफ्नो नाबालक छोराले पनि बिनसित्ति ज्यान गुमाएको निरर्थक दुर्घटनापछि एउटी महिलाले यसो भनिन्‌: “जे-जस्तो घटना घट्यो त्यसमा परमेश्‍वरले मलाई रत्तीभर सान्त्वना दिनुभएन। उहाँले मलाई अलिकति पनि अनुकम्पा देखाउनुभएको छैन।” तिनले अझ यसो भनिन्‌: “म परमेश्‍वरलाई कहिल्यै माफी दिनेछैनँ।”

आफू वरपरको संसारलाई हेर्दा अरूले चाहिं परमेश्‍वरप्रति कटु भावनाहरू विकास गर्छन्‌। तिनीहरू गरिबी र भोकमरी, युद्धले गर्दा शरणार्थी बन्‍नुपरेका आशाहीन व्यक्‍तिहरू, एड्‌सले गर्दा अनाथ भएका कयौं बालबालिकाहरू र अन्य रोगहरूको कारण पीडित लाखौं मानिसहरूले भरिएको समाज देख्छन्‌। यी तथा यस्तै प्रकारका दुःखद घटनाहरूको मारमा पर्दा थुप्रै मानिसहरू खै परमेश्‍वरले त केही गर्नै हुन्‍न जस्तो देखिन्छ भनेर उहाँलाई दोष दिन्छन्‌।

तथापि, सत्य कुरा के हो भने, मानिसजातिलाई पिरोल्ने समस्याहरूको लागि परमेश्‍वरलाई दोष दिन मिल्दैन। साँच्चै भन्‍ने हो भने, मानव परिवारमा पुगेको हानिलाई परमेश्‍वरले चाँडै हटाउनुहुनेछ भनेर विश्‍वास गर्ने वैध कारणहरू छन्‌। हामी तपाईंहरूलाई यसपछिको लेख पल्टाएर परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ भन्‍ने कुरा हेर्न आमन्त्रित गर्छौं।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।