सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘गएर चेला बनाओ’

‘गएर चेला बनाओ’

‘गएर चेला बनाओ’

“स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण गएर . . . चेला बनाओ।” —मत्ती २८:१८, १९.

१, २. (क) येशूले आफ्ना अनुयायीहरूलाई कस्तो जिम्मेवारी दिनुभयो? (ख) येशूको आज्ञासम्बन्धी कस्ता प्रश्‍नहरूबारे विचार गरिनेछ?

 इस्राएलमा सा. यु. ३३ को वसन्तयाम हुँदाको कुरा हो, येशूका चेलाहरू गालीलको एउटा पहाडमा भेला भएका थिए। पुनरुत्थान हुनुभएको तिनीहरूका मालिक स्वर्ग उक्लनै लाग्नुभएको थियो तर त्यसअघि उहाँले तिनीहरूलाई केही महत्त्वपूर्ण कुरा भन्‍नुपर्ने थियो। येशूसित तिनीहरूको लागि एउटा जिम्मेवारी थियो। त्यो काम के थियो? उहाँका चेलाहरूले त्यसप्रति कस्तो प्रतिक्रिया देखाए? अनि त्यो जिम्मेवारी आज हाम्रो लागि कसरी लागू हुन्छ?

येशूले भन्‍नुभएको कुरा मत्ती २८:१८-२० मा लिपिबद्ध छ: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को [“यस रीतिरिवाजको,” NW ] अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” “सारा अधिकार,” “सबै देश,” ‘उहाँले आज्ञा गर्नुभएको सबै कुरा’ र “सब दिन[बारे]” येशूले बताउनुभयो। सबै अर्थात्‌ सारा शब्द प्रयोग गरिएका यी चारवटा अभिव्यक्‍तिले केही महत्त्वपूर्ण प्रश्‍नहरू खडा गर्छन्‌ जसलाई किन? कहाँ? के? र कहिलेसम्म? भन्‍ने शब्दहरूद्वारा सारांशमा व्यक्‍त गर्न सकिन्छ। आउनुहोस्‌, यी प्रश्‍नहरूलाई हामी एक-एक गरी विचार गरौं। a

“सारा अधिकार मलाई दिइएको छ”

३. चेला बनाओ भन्‍ने आज्ञा हामीले किन पालन गर्नुपर्छ?

पहिलो, चेला बनाओ भन्‍ने आज्ञा हामीले किन पालन गर्नुपर्छ? येशूले यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण गएर . . . चेला बनाओ।” “यसकारण” भन्‍ने शब्दले हामीले यो आज्ञा किन पालन गर्नुपर्छ भनेर मुख्य कारण औंल्याउँछ। किनभने यो आज्ञा दिने व्यक्‍ति येशूसित “सारा अधिकार” छ। उहाँको अधिकार कत्तिको विस्तृत छ?

४. (क) येशूको अधिकार कत्तिको विस्तृत छ? (ख) येशूको अधिकारबारे बुझ्दा यसले चेला बनाउने आज्ञाप्रति हाम्रो दृष्टिकोणमा कसरी असर गर्नुपर्छ?

आफ्नो मण्डलीमाथि येशूको अधिकार छ र सन्‌ १९१४ देखि उहाँले परमेश्‍वरको नवस्थापित राज्यमाथि पनि अधिकार पाउनुभएको छ। (कलस्सी १:१३; प्रकाश ११:१५) उहाँ प्रधान दूत हुनुहुन्छ र लाखौं स्वर्गदूतहरूको स्वर्गीय पल्टन उहाँको अधीनमा छ। (१ थिस्सलोनिकी ४:१६; १ पत्रुस ३:२२; प्रकाश १९:१४-१६) धार्मिक सिद्धान्तहरूको विरोध गर्ने “सारा प्रभुत्व, सारा अख्तियार र शक्‍ति नामेट” पार्न उहाँले आफ्नो पिताबाट अख्तियार पाउनुभएको छ। (१ कोरिन्थी १५:२४-२६; एफिसी १:२०-२३) येशूको अधिकार जीवितहरूमा मात्र सीमित छैन। उहाँ “जिउँदा र मरेकाहरूका न्यायकर्त्ता” पनि हुनुहुन्छ र उहाँसित मृत्युको निद्रामा परेकाहरूलाई पुनरुत्थान गर्ने ईश्‍वर-प्रदत्त शक्‍ति छ। (प्रेरित १०:४२; यूहन्‍ना ५:२६-२८) यति धेरै अधिकार पाएको व्यक्‍तिले दिएको आज्ञालाई पक्कै पनि उच्च महत्त्वको ठान्‍नुपर्छ। त्यसैकारण, ‘गएर चेला बनाओ’ भन्‍ने ख्रीष्टको आज्ञालाई हामी आदरपूर्वक र इच्छुकतासाथ पालन गर्छौं।

५. (क) पत्रुसले येशूको वचन कसरी पालन गरे? (ख) पत्रुसले येशूको निर्देशन पालन गर्दा यसले कस्तो आशिष्‌तर्फ डोऱ्‍यायो?

येशूको अधिकार स्वीकार्दा र उहाँका आज्ञाहरू पालन गर्दा यसले आशिष्‌तर्फ डोऱ्‍याउनेछ भनेर आफ्नो पार्थिव सेवकाईको सुरुमा येशूले आफ्ना चेलाहरूलाई एउटा उल्लेखनीय ढङ्‌गमा सिकाउनुभयो। उहाँले जलारी पत्रुसलाई एक पटक यसो भन्‍नुभयो: “गहीरोतिर लगेर माछा पक्रनालाई आफ्ना जाल हान।” त्यहाँ माछा छैन भनेर पत्रुस पक्का थिए, त्यसैले तिनले येशूलाई यसो भने: “हजूर, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं।” तथापि, पत्रुसले नम्रतापूर्वक यसो भने: “तापनि, तपाईंको वचनमा म जाल हान्‍नेछु।” पत्रुसले ख्रीष्टको आज्ञा पालन गरेपछि तिनले “एक थुप्रो माछा पक्रे।” पत्रुस भावविह्वल हुँदै “ ‘हे प्रभु, मबाट जाइजानुहोस्‌, किनभने म पापी मानिस हुँ’ भनेर . . . येशूका पाउमा घोप्टो परे।” तर येशूले यस्तो जवाफ दिनुभयो: “नडराऊ, अब उपरान्त तिमी मानिसहरू पक्रने हुनेछौ।” (लूका ५:१-१०; मत्ती ४:१८) त्यस विवरणबाट हामी के सिक्छौं?

६. (क) येशूले कस्तो प्रकारको आज्ञाकारिता चाहनुहुन्छ भन्‍ने सन्दर्भमा चमत्कारपूर्ण ढङ्‌गमा माछा पक्रिएको विवरणले कुन कुरा स्पष्ट पार्छ? (ख) हामी कसरी येशूको अनुकरण गर्न सक्छौं?

पत्रुस, अन्द्रियास र अरू प्रेरितहरूलाई येशूले “मानिसहरूका जलाहारी” बन्‍ने जिम्मेवारी तिनीहरूले छक्कलाग्दो गरी यति धेरै माछा पक्रनुअघि होइन तर माछा पक्रिसकेपछि दिनुभयो। (मर्कूस १:१६, १७) कुरा स्पष्ट छ, उहाँले भनेको कुरा अन्धाधुन्ध पालन गरेको येशू चाहनुहुन्‍नथ्यो। उहाँले मानिसहरूलाई उहाँको आज्ञा किन पालन गर्नुपर्छ भन्‍ने एउटा चित्तबुझ्दो कारण दिनुभयो। जाल हान्‍नको लागि येशूले दिनुभएको आज्ञा पालन गर्दा अद्‌भुत परिणाम प्राप्त भएजस्तै “मानिसहरू पक्रने” येशूको आज्ञा पालन गर्दा यसले अझ ठूल्ठूला आशिष्‌हरूतर्फ डोऱ्‍याउने थियो। ती प्रेरितहरूले पूर्ण विश्‍वास देखाउँदै कदम चाले। उक्‍त विवरण यसरी टुङ्‌गिन्छ: “डुङ्‌गाहरू पाखामा ल्याएपछि ती सबै छोड़ेर तिनीहरू उहाँका पछि लागे।” (लूका ५:११) चेला बनाउने काममा भाग लिन अरूलाई प्रोत्साहन दिंदा आज हामी पनि येशूको अनुकरण गर्छौं। हामीले जे-जे भन्यौं मानिसहरूले त्यही-त्यही गरेको हामी चाहँदैनौं तर हामी तिनीहरूलाई ख्रीष्टको आज्ञा पालन गर्ने चित्तबुझ्दा कारणहरू दिन्छौं।

चित्तबुझ्दा कारणहरू र सही मनसाय

७, ८. (क) राज्य प्रचार तथा चेला बनाउनुका केही धर्मशास्त्रीय कारणहरू के-के हुन्‌? (ख) विशेष गरी कुन शास्त्रपदले तपाईंलाई प्रचारकार्यमा लागिरहन उत्प्रेरित गर्छ? (पादटिप्पणी पनि हेर्नुहोस्‌।)

हामीले ख्रीष्टको अधिकार स्वीकार्ने भएकोले हामी राज्य प्रचार तथा चेला बनाउने काममा भाग लिन्छौं। असल काम गर्न हामीले उत्प्रेरित गर्न चाहेकाहरूलाई त्यो काम गर्नुका अरू कस्ता धर्मशास्त्रीय कारणहरू हामी बताउन सक्छौं? विभिन्‍न मुलुकका केही विश्‍वासी साक्षीहरूका निम्न टिप्पणीहरूलाई विचार गर्नुहोस्‌ र उल्लेख गरिएका शास्त्रपदहरूले तिनीहरूको भनाइलाई कसरी समर्थन गर्छ, ध्यान दिनुहोस्‌।

सन्‌ १९५१ मा बप्तिस्मा लिएका रोइ भन्छन्‌: “आफूलाई यहोवामा समर्पण गर्दा मैले सधैंभरि उहाँको सेवा गर्ने प्रतिज्ञा गरें। म आफ्नो वचन पूरा गर्न चाहन्छु।” (भजन ५०:१४; मत्ती ५:३७) सन्‌ १९६२ मा बप्तिस्मा लिएकी हिदर भन्छिन्‌: “यहोवाले मेरो लागि गर्नुभएका सबै कुराहरूबारे सोच्दा, विश्‍वासीपूर्वक उहाँको सेवा गरेर म उहाँप्रति कृतज्ञता देखाउन चाहन्छु।” (भजन ९:१, ९-११; कलस्सी ३:१५) सन्‌ १९५४ मा बप्तिस्मा लिएकी हानलोर यसो भन्छिन्‌: “सेवकाईमा जाँदा हामीलाई सधैं स्वर्गदूतहरूले साथ दिइरहेका हुन्छन्‌—कत्ति ठूलो सुअवसर!” (प्रेरित १०:३०-३३; प्रकाश १४:६, ७) सन्‌ १९६९ मा बप्तिस्मा लिएकी अनर भन्छिन्‌: “यहोवाको न्यायको समय आउँदा मेरो छिमेकका कसैले पनि यहोवा र उहाँका साक्षीहरूलाई लापरवाही गरेको आरोप लगाउन तथा ‘मैले त कहिल्यै पनि चेतावनी पाइनँ’ भन्‍न नसकून्‌ भन्‍ने म चाहन्छु।” (इजकिएल २:५; ३:१७-१९; रोमी १०:१६, १८) सन्‌ १९७४ मा बप्तिस्मा लिएका क्लडियो भन्छन्‌: “प्रचार गर्दा हामी ‘परमेश्‍वरको सामुन्‍ने’ र ‘ख्रीष्टको साथमा’ हुन्छौं। कल्पना गर्नुहोस्‌ त! सेवकाईमा हुँदा हामीले हाम्रा सबैभन्दा असल साथीहरूको संगतिको आनन्द उठाउँछौं।”—२ कोरिन्थी २:१७. b

९. (क) पत्रुस र अरू प्रेरितहरूले माछा पक्रेको विवरणले ख्रीष्टको आज्ञा पालन गर्ने सही मनसायबारे कुन कुरा प्रकट गर्छ? (ख) आज परमेश्‍वर र ख्रीष्टको आज्ञा पालन गर्नु पछाडिको सही मनसाय के हो र किन?

उल्लेखनीय परिमाणमा माछा पक्रेको विवरणले ख्रीष्टको आज्ञा पालन गर्ने सही मनसाय अर्थात्‌ प्रेम कत्तिको महत्त्वपूर्ण छ भनी देखाउँछ। पत्रुसले “मबाट जाइजानुहोस्‌, किनभने म पापी मानिस हुँ” भन्दा येशू त्यहाँबाट जानुभएन न त कुनै पापको लागि उहाँले पत्रुसलाई दोषी नै ठहराउनुभयो। (लूका ५:८) उहाँलाई त्यहाँबाट जान आग्रह गरेको कारण येशूले पत्रुसको आलोचनासमेत गर्नुभएन। बरु, येशूले दयालुपूर्वक यस्तो जवाफ दिनुभयो: “नडराऊ।” ख्रीष्टदेखि थर्कमान भएर उहाँको आज्ञा पालन गरेको भए यो गलत मनसायले गरेको काम हुने थियो। यसको सट्टा, पत्रुस र तिनका सहयोगीहरू मानिसहरू पक्रने काममा निकै उपयोगी हुनेछन्‌ भनी येशूले तिनलाई बताउनुभयो। त्यसै गरी, अरूलाई बलजफती ख्रीष्टको आज्ञा पालन गर्न लगाउन आज हामी डर-धम्की वा दोष तथा लाजजस्ता नकारात्मक भावनाहरूको सहारा लिंदैनौं। परमेश्‍वर तथा ख्रीष्टको प्रेममा आधारित सारा तनमनले गरिएको आज्ञाकारिताले मात्र यहोवाको हृदयलाई आनन्दित तुल्याउँछ।—मत्ती २२:३७.

“सबै देशका जातिहरूलाई चेला बनाओ”

१०. (क) चेला बनाउनेसम्बन्धी येशूको कुन आज्ञाले उहाँका चेलाहरूको लागि एउटा ठूलो चुनौती खडा गऱ्‍यो? (ख) येशूको आज्ञाप्रति चेलाहरूले कस्तो प्रतिक्रिया देखाए?

१० ख्रीष्टको आज्ञाको सन्दर्भमा उठेको दोस्रो प्रश्‍न हो, यो चेला बनाउने काम कहाँ गर्नुपर्ने हो? येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “सबै देशका जातिहरूलाई चेला बनाओ।” येशूको सेवकाईको समयअघिसम्म अन्य देशका मानिसहरू यहोवाको सेवा गर्न इस्राएल आए भने तिनीहरूलाई स्वागत गरिन्थ्यो। (१ राजा ८:४१-४३) येशू आफैले पनि विशेष गरी जन्मजात यहूदीहरूलाई प्रचार गर्नुभयो तर अहिले उहाँले आफ्ना चेलाहरूलाई सबै देशका जातिहरूकहाँ जान भन्‍नुभयो। यसको अर्थ उहाँका चेलाहरूले माछा मार्ने ठाउँ वा प्रचार इलाका सानो “पोखरी” अर्थात्‌ प्राकृतिक यहूदीहरूमा मात्र सीमित थियो; तर चाँडै नै तिनीहरूले मानिसजातिको ठूलो “समुद्रमा” माछा मार्नुपर्ने थियो। यो परिवर्तनले चेलाहरूको लागि एउटा चुनौती खडा गरे तापनि तिनीहरूले खुसीसाथ येशूको निर्देशन पालन गरे। येशूको मृत्यु भएको ३० वर्षभन्दा पनि कम समयमा, सुसमाचार यहूदीहरूलाई मात्र होइन तर “सारा सृष्टिमा प्रचारियो” भनेर प्रेरित पावलले लेख्न सके।—कलस्सी १:२३.

११. बीसौं शताब्दीको सुरुदेखि ‘माछा मार्ने ठाउँहरूको’ सन्दर्भमा कस्तो विस्तार भएको छ?

११ हालै, प्रचार गर्ने इलाकाको सन्दर्भमा त्यस्तै खालको विस्तार देखिएको छ। बीसौं शताब्दीको सुरुमा ‘माछा मार्ने ठाउँहरू’ केही मुलुकहरूमा मात्र सीमित थिए। यद्यपि, ख्रीष्टका त्यतिबेलाका अनुयायीहरूले प्रथम शताब्दीका मसीहीहरूको उदाहरण अनुकरण गर्दै लगनशीलताका साथ आफूले प्रचार गर्ने इलाका विस्तार गरे। (रोमी १५:२०) सन्‌ १९३० को दशकको सुरुसम्ममा तिनीहरू लगभग एक सय देशहरूमा चेला बनाउँदै थिए। आज हाम्रो ‘माछा मार्ने ठाउँहरू’ २३५ मुलुकमा फैलिएको छ।—मर्कूस १३:१०.

“विभिन्‍न भाषा बोल्नेहरूमध्ये”

१२. जकरिया ८:२३ मा पाइने भविष्यवाणीले कस्तो चुनौतीबारे प्रकाश पार्छ?

१२ सबै देशमा चेला बनाउने काम भौगोलिक रूपमा मात्र नभई भाषिक रूपमा पनि एउटा चुनौती हो। अगमवक्‍ता जकरियामार्फत यहोवाले यस्तो अगमवाणी गर्नुभयो: “ती दिनमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” (जकरिया ८:२३) यस भविष्यवाणीको बृहत्‌ पूर्तिमा “यहूदी[ले]” अभिषिक्‍त मसीहीहरूमध्येका शेष जनहरूलाई र “दश जना मानिसले” “ठूलो भीड़[लाई]” सङ्‌केत गर्छ। c (प्रकाश ७:९, १०; गलाती ६:१६) ख्रीष्टका चेलाहरूको यो ठूलो भीड धेरै देशहरूमा पाइने थिए र जकरियाले बताएजस्तै यिनीहरूले विभिन्‍न भाषाहरू बोल्ने थिए। परमेश्‍वरका जनहरूको आधुनिक इतिहासले के चेलाहरूको चिनारीको यस पक्षलाई स्पष्ट पार्छ? अवश्‍य पार्छ।

१३. (क) वर्तमान समयका परमेश्‍वरका जनहरूमाझ भाषाको सन्दर्भमा कस्तो प्रगति भएको छ? (ख) विभिन्‍न भाषाहरूमा आध्यात्मिक भोजनको बढ्‌दो आवश्‍यकताप्रति विश्‍वासी दास वर्गले कस्तो प्रतिक्रिया देखाएको छ? (“अन्धाका लागि प्रकाशनहरू” भन्‍ने पेटी समावेश गर्नुहोस्‌।)

१३ सन्‌ १९५० मा विश्‍वभरका यहोवाका साक्षीहरूमध्ये ५ जनामा ३ जनाको मातृभाषा अङ्‌ग्रेजी थियो। सन्‌ १९८० सम्ममा उक्‍त औसत परिवर्तन भएर ५ जनामा २ जना पुग्यो र अहिले ५ जना साक्षीमध्ये १ जनाको मात्र मातृभाषा अङ्‌ग्रेजी हो। यो भाषिक परिवर्तनप्रति विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले कस्तो प्रतिक्रिया देखाएको छ? अझ धेरै भाषाहरूमा आध्यात्मिक भोजन उपलब्ध गराएको छ। (मत्ती २४:४५) उदाहरणका लागि, सन्‌ १९५० मा हाम्रो साहित्य ९० भाषामा छापिन्थ्यो तर अहिले आएर यो संख्या लगभग ४०० पुगेको छ। विभिन्‍न भाषा बोल्ने मानिसहरूप्रति देखाएको यो थप चासोले के कुनै असल परिणाम प्राप्त भएको छ? पक्कै पनि प्राप्त भएको छ! औसतमा हिसाब गर्ने हो भने प्रत्येक हप्ता ‘विभिन्‍न भाषाका’ लगभग ५,००० मानिसहरू ख्रीष्टको चेला बन्छन्‌! (प्रकाश ७:९) अनि यो वृद्धि जारी छ। कुनै-कुनै मुलुकहरूमा “जाल[ले]” थुप्रोका थुप्रो माछा पक्रँदै छ!—लूका ५:६; यूहन्‍ना २१:६.

इनामदायी सेवकाई—के तपाईं यसमा भाग लिन सक्नुहुन्छ?

१४. हाम्रो इलाकामा भएका विदेशी भाषा बोल्ने व्यक्‍तिहरूलाई हामी कसरी मदत दिन सक्छौं? (“साङ्‌केतिक भाषा चलाएर चेला बनाउने” भन्‍ने पेटी समावेश गर्नुहोस्‌।)

१४ थुप्रै पश्‍चिमी मुलुकहरूमा आप्रवासीहरूको आगमनले आफ्नै घर-आँगनमा ‘हरेक भाषाका’ मानिसहरूलाई चेला बनाउने चुनौती ल्याएको छ। (प्रकाश १४:६) हाम्रो इलाकामा भएका हामीभन्दा भिन्‍नै भाषा बोल्ने मानिसहरूलाई हामी कसरी मदत दिन सक्छौं? (१ तिमोथी २:४) लाक्षणिक तवरमा भन्‍ने हो भने हामी माछा पक्रने सही प्रकारको साधन चलाउन सक्छौं। यस्ता व्यक्‍तिहरूलाई तिनीहरूको आफ्नै भाषाको साहित्य प्रस्तुत गर्नुहोस्‌। सम्भव छ भने, तिनीहरूको आफ्नै भाषा बोल्ने साक्षीसित तिनीहरूको भेट गराउने प्रबन्ध मिलाउनुहोस्‌। (प्रेरित २२:२) यस्ता प्रबन्धहरू मिलाउन अहिले अझ सजिलो छ किनभने विदेशीहरूलाई ख्रीष्टको चेला बन्‍ने मदत दिनको लागि थुप्रै साक्षीहरूले आफ्नो भाषाबाहेक अरू भाषाहरू पनि सिकेका छन्‌। यसरी मदत दिंदा इनामदायी अनुभव प्राप्त हुन्छ भनेर रिपोर्टहरूले देखाउँछन्‌।

१५, १६. (क) विदेशी भाषा बोल्नेहरूलाई मदत दिनु इनामदायी हुन्छ भन्‍ने कुरा कस्ता उदाहरणहरूले स्पष्ट पार्छ? (ख) विदेशी भाषाको क्षेत्रमा सेवा गर्ने सन्दर्भमा कस्ता प्रश्‍नहरूबारे हामी विचार गर्न सक्छौं?

१५ नेदरल्याण्ड्‌सको दुइटा उदाहरण विचार गर्नुहोस्‌, जहाँ ३५ भाषाहरूमा व्यवस्थित राज्य प्रचारकार्य गरिन्छ। एउटा साक्षी दम्पतीले पोलिश भाषा बोल्ने आप्रवासीहरूलाई चेला बनाउन स्वयंसेवा गरे। तिनीहरूको प्रयत्नप्रति यति उत्साहजनक प्रतिक्रिया प्राप्त भयो कि चासो देखाउनेहरूसित बाइबल अध्ययन गर्न हप्ताको अर्को एक दिन समय निकाल्नको लागि पति आफ्नो जागिरको समयमा केही कटौती गर्न उत्प्रेरित भए। धेरै समय नबित्दै ती दम्पतीले हरेक हप्ता २० वटा भन्दा बढी बाइबल अध्ययन सञ्चालन गर्दै थिए। तिनीहरूले यसो भने: “हाम्रो सेवकाईले हामीलाई असाध्यै आनन्दित तुल्याउँछ।” आफ्नै भाषामा बाइबल सच्चाइ सिक्नेहरूमध्ये कसैले मूल्याङ्‌कनको अभिव्यक्‍ति जाहेर गर्दा चेला बनाउनेहरू विशेष आनन्द महसुस गर्छन्‌। उदाहरणका लागि, भियतनामी भाषामा सञ्चालन गरिएको एउटा सभाको दौडान एक जना वृद्ध व्यक्‍ति खडा भएर बोल्ने अनुमति मागे। गहभरि आँसु पार्दै तिनले साक्षीहरूलाई यसो भने: “मेरो गाह्रो भाषा सिक्न तपाईंहरूले गरिरहनुभएको मेहनतको लागि धेरै धन्यवाद। यस्तो वृद्धावस्थामा आएर बाइबलबाट थुप्रै अद्‌भुत कुराहरू सिक्न पाएकोमा म धेरै कृतज्ञ छु।”

१६ त्यसैले विदेशी भाषाका मण्डलीहरूमा सेवा गर्नेहरूले प्रशस्त इनाम पाएको महसुस गर्नु कुनै छक्कलाग्दो कुरा होइन। बेलाइतका एक दम्पतीले यसो भने: “राज्य सेवामा बिताएको ४० वर्षको दौडान हामीले एकदमै रमाइलो महसुस गरेका अनुभवहरूमध्ये विदेशी भाषाको क्षेत्रमा गरिएको सेवकाई पनि एउटा हो।” यो उत्प्रेरक सेवकाईमा भाग लिनको लागि के तपाईं आफ्नो परिस्थितिमा छाँटकाँट गर्न सक्नुहुन्छ? तपाईं स्कूल जाँदै हुनुहुन्छ भने यस्तो प्रकारको सेवकाईको तयारी स्वरूप के तपाईं कुनै विदेशी भाषा अध्ययन गर्न सक्नुहुन्छ? यसले आशिष्‌ले भरिपूर्ण जीवनको इनामदायी मार्गतर्फ डोऱ्‍याउन सक्छ। (हितोपदेश १०:२२) यसबारे आफ्नो आमाबाबुसित सल्लाह गरे कसो होला?

हाम्रो तरिकामा विविधता ल्याउने

१७. आफ्नो मण्डलीको इलाकामा अझ धेरै मानिसहरूसामु हामी कसरी पुग्न सक्छौं?

१७ हुन त परिस्थितिले हामी सबैलाई विदेशी भाषाका इलाकाहरूमा “जाल” हान्‍ने मौका दिंदैन। तथापि, आफ्नै मण्डलीको इलाकामा पनि हामी अहिलेको भन्दा धेरै मानिसहरूसामु पुग्न सक्छौं। कसरी? हाम्रो सन्देशमा नभई तरिकामा विविधता ल्याएर। थुप्रै इलाकाहरूमा कडा सुरक्षा व्यवस्था भएका भवनहरूमा बस्नेहरूको संख्या दिन-प्रतिदिन बढ्‌दैछ। घर-घरको सेवकाईको दौडान थुप्रैलाई हामी घरमा भेट्‌न सक्दैनौं। त्यसैले हामीले विभिन्‍न समयमा र विभिन्‍न ठाउँहरूमा “जाल” हान्‍नुपर्ने हुन सक्छ। यसरी हामी येशूको अनुकरण गर्छौं। उहाँले विभिन्‍न अवस्थामा मानिसहरूसित कुरा गर्ने तरिका निकाल्नुभयो।—मत्ती ९:९; लूका १९:१-१०; यूहन्‍ना ४:६-१५.

१८. विभिन्‍न अवस्थाहरूमा साक्षी दिनु कसरी प्रभावकारी साबित भएको छ? (“व्यापारिक इलाकाका व्यक्‍तिहरूलाई चेला बनाउने” भन्‍ने पेटी समावेश गर्नुहोस्‌।)

१८ संसारका कुनै-कुनै भागहरूमा मानिसहरू भेटिने सबै ठाउँमा साक्षी दिनु चेला बनाउने एउटा महत्त्वपूर्ण तरिका हो। चेला बनाउन अनुभवी व्यक्‍तिहरूले विभिन्‍न ठाउँहरूमा साक्षी दिन अझ बढी ध्यान दिइरहेका छन्‌। घर-घरको सेवकाईमा भाग लिनुको अलावा प्रकाशकहरूले अहिले विमानस्थलमा, कार्यालयमा, पसलमा, पार्किङ गर्ने ठाउँमा, बस स्टपमा, सडकमा, पार्कमा, समुद्री किनारमा र अन्यत्र पनि जताततै साक्षी दिन्छन्‌। हवाईका बप्तिस्माप्राप्त साक्षीहरूमध्ये थुप्रैलाई पहिलो पटक यस्तै ठाउँहरूमा भेटिएको थियो। हाम्रो तरिकामा विविधता ल्याउँदा यसले हामीलाई चेला बनाओ भनी येशूले दिनुभएको आज्ञा पूर्ण रूपमा पूरा गर्न मदत दिन्छ।—१ कोरिन्थी ९:२२, २३.

१९. येशूले हामीलाई दिनुभएको कामको कुन-कुन पक्षहरूबारे अर्को लेखमा विचार गरिनेछ?

१९ चेला बनाओ भनी येशूले दिनुभएको जिम्मेवारीमा हामीले त्यो काम किनकहाँ गर्नुपर्छ भन्‍ने मात्र नभई हामीले के प्रचार गर्नुपर्छ र कहिलेसम्म प्रचार गरिरहनुपर्छ भन्‍ने कुरा पनि समावेश छ। येशूले हामीलाई दिनुभएको कामको यी दुई पक्षबारे अर्को लेखमा विचार गरिनेछ।

[फुटनोटहरू]

a यस लेखमा पहिलो दुइटा प्रश्‍नबारे हामी विचार गर्नेछौं। अन्तिम दुइटा प्रश्‍न अर्को लेखमा छलफल गरिनेछ।

b प्रचार गर्नुका थप कारणहरू हितोपदेश १०:५; आमोस ३:८; मत्ती २४:४२; मर्कूस १२:१७; रोमी १:१४, १५ मा पाउन सकिन्छ।

c यस भविष्यवाणीको पूर्तिबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा, मे १५, २००१, पृष्ठ १२आइजायाज्‌ प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड, खण्ड २, पृष्ठ ४०८ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• कुन कारणले गर्दा र कस्तो मनसाय राखेर हामी राज्य प्रचार तथा चेला बनाउने काममा भाग लिन्छौं?

• सबै देशका जातिहरूलाई चेला बनाओ भनी येशूले दिनुभएको आज्ञा आज यहोवाका सेवकहरूले कुन हदसम्म पालन गरेका छन्‌?

• हाम्रो ‘माछा पक्रने तरिकामा’ हामी कसरी विविधता ल्याउन सक्छौं र हामीले किन त्यसो गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको पेटी/चित्रहरू]

अन्धाका लागि प्रकाशनहरू

अल्बर्ट संयुक्‍त राज्य अमेरिकामा बस्ने एक जना मसीही प्राचीन तथा पूर्ण-समय सेवक हुन्‌। तिनी अन्धा छन्‌। ब्रेल लिपिको बाइबल साहित्यले तिनलाई सेवकाईका साथै सेवा निरीक्षकको रूपमा आफ्ना क्रियाकलापहरूमा अझ प्रभावकारी हुन मदत दिन्छ। तिनले मण्डलीमा आफ्नो जिम्मेवारी कसरी सँभालिरहेका छन्‌?

“हाम्रो मण्डलीमा अल्बर्ट जत्तिको प्रभावकारी सेवा निरीक्षक अहिलेसम्म कोही पनि थिएनन्‌” भनी तिनको मण्डलीका अध्यक्ष जेम्स बताउँछन्‌। ब्रेल लिपिमा अङ्‌ग्रेजी र स्पेनी भाषाका बाइबलआधारित प्रकाशनहरू वर्षैभरि प्राप्त गर्ने संयुक्‍त राज्य अमेरिकाका लगभग ५,००० अन्धाहरूमध्ये अल्बर्ट एक हुन्‌। वास्तवमा, सन्‌ १९१२ देखि यता विश्‍वासी दास वर्गले ब्रेल लिपिमा एक सयभन्दा बढी किसिमका विभिन्‍न प्रकाशनहरू उपलब्ध गराएको छ। आधुनिक प्रविधिहरूको प्रयोग गरेर हाल यहोवाका साक्षीहरूको छापाखानाले दसभन्दा बढी भाषामा हरेक वर्ष ब्रेल लिपिका लाखौं पृष्ठहरू उत्पादन गर्छ र ७० भन्दा बढी देशमा वितरण गर्छ। अन्धाहरूका लागि तयार पारिएका बाइबलआधारित प्रकाशनहरूबाट लाभ उठाउन सक्ने कसैलाई तपाईं चिन्‍नुहुन्छ कि?

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

साङ्‌केतिक भाषा चलाएर चेला बनाउने

बहिरा व्यक्‍तिहरूलाई ख्रीष्टको चेला बन्‍ने मदत दिन थुप्रै जोसिला युवाहरू लगायत विश्‍वभरका हजारौं साक्षीहरूले साङ्‌केतिक भाषा सिकेका छन्‌। फलस्वरूप, ब्राजिलमा मात्रै हालैको एक वर्ष भित्रमा ६३ जना बहिराले बप्तिस्मा लिए र त्यहाँ अहिले ३५ जना बहिरा साक्षीले पूर्ण-समय प्रचारकको रूपमा सेवा गर्दैछन्‌। विश्‍वभरमा साङ्‌केतिक भाषाका मण्डली तथा समूहहरू १,२०० वटा भन्दा बढी छन्‌। भौगोलिक रूपमा भन्‍ने हो भने रूसको एक मात्र साङ्‌केतिक भाषाको क्षेत्र संसारको सबैभन्दा ठूलो क्षेत्र हो र यसमा पूरै रूस पर्छ!

[पृष्ठ १२-मा भएको पेटी]

व्यापारिक इलाकाका व्यक्‍तिहरूलाई चेला बनाउने

व्यापारिक इलाकाका मानिसहरूलाई तिनीहरूकै कार्यालयमा भेट्‌ने सिलसिलामा हवाईकी एउटी साक्षीले एउटा यातायात कम्पनीको अधिकृतलाई भेटिन्‌। ती व्यक्‍ति व्यस्त भए तापनि आफ्नै कार्यालयमा हप्ताको ३० मिनेट अध्ययन गर्न राजी भए। हरेक बुधवार बिहान, तिनले कतैबाट फोन आयो भने पनि नबोलाउनू भनेर आफ्ना कर्मचारीहरूलाई भन्छन्‌ र मन लगाएर अध्ययन गर्छन्‌। हवाईकै अर्की एउटी साक्षीले जुत्ता मर्मत गर्ने पसलकी मालिक्नीसित हप्ताको एक पटक बाइबल अध्ययन गर्छिन्‌। यो अध्ययन पसलमै गर्ने गरिन्छ। कोही ग्राहक आए भने साक्षी अलिकति छेउमा सर्छिन्‌। अनि ग्राहक फर्केपछि तिनीहरू फेरि अध्ययन गर्न थाल्छन्‌।

साक्षीहरू विभिन्‍न ठाउँमा “जाल” हान्‍न अग्रसर भएको कारण नै यी अधिकृत तथा पसलकी मालिक्नीलाई भेट्‌न सकिएको थियो। के तपाईं घरमा भेट्‌न गाह्रो पर्ने मानिसहरूलाई भेट्‌न सकिने आफ्नो मण्डलीको इलाकाका कुनै ठाउँहरू सम्झन सक्नुहुन्छ?

[पृष्ठ १२-मा भएको चित्र]

के तपाईं विदेशी भाषाको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?