सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तिनीहरूले साइप्रसतिर समुद्र-यात्रा गरे’

‘तिनीहरूले साइप्रसतिर समुद्र-यात्रा गरे’

‘तिनीहरूले साइप्रसतिर समुद्र-यात्रा गरे’

लगभग सा.यु. ४७ तिर साइप्रसको भ्रमण गरेका पावल, बर्णाबास र यूहन्‍ना भनिने मर्कूसजस्ता मसीही मिसनरीहरूको अनुभवको विवरण प्रेरितको पुस्तकमा त्यसरी सुरु हुन्छ। (प्रेरित १३:४) त्यतिखेर, पूर्वी भूमध्यसागरमा साइप्रस आजजस्तै अत्यन्त महत्त्वपूर्ण स्थानमा थियो।

रोमीहरूले त्यस द्वीपमा आफ्नो आँखा गाडेका थिए र सा.यु.पू. ५८ मा तिनीहरूले त्यसलाई आफ्नो बनाइछाडे। रोमी शासनको अधीनमा हुनुभन्दा पहिले साइप्रसको अत्यन्तै रोचक इतिहास थियो। यस द्वीपमा फिनिशियाली, युनानी, अश्‍शूरी, फारसी तथा मिश्रीहरूले आफ्नो अधिकार जमाएका थिए। मध्ययुगमा यहाँ धार्मिक योद्धाहरू, प्राङ्‌क तथा भेनेसियालीहरू आए भने, पछि अटोमनहरू आए। सन्‌ १९१४ मा अङ्‌ग्रेजहरूले उक्‍त द्वीपलाई आफ्नो कब्जामा लिए र १९६० मा यो द्वीप स्वतन्त्र नहोउन्जेलसम्म त्यहाँ शासन गरे।

अहिले त्यहाँको मुख्य आयस्रोत पर्यटन हो तर पावलको समयमा साइप्रस प्राकृतिक सम्पदाहरूमा धनी थियो अनि रोमीहरूले आफ्नो ढुकुटी भर्न त्यस सम्पदाको प्रयोग गर्नसम्मै गरे। द्वीपको इतिहासको प्रारम्भतिरै त्यहाँ तामा भेट्टाइएको थियो र रोमी शासनको अन्त-अन्तसम्ममा २,५०,००० टन तामा झिकिसकिएको थियो भन्‍ने अनुमान गरिएको छ। तथापि, तामा उद्योगले धातु प्रशोधनको लागि प्रायजसो पूरै घना जङ्‌गल स्वाहा पाऱ्‍यो। पावल त्यस द्वीपमा आइपुगुन्जेलसम्ममा द्वीपका कयौं जङ्‌गलहरू मासिइसकेका थिए।

रोमी अधीनस्थ साइप्रस

इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार पहिला जुलियस सिजरले अनि त्यसपछि मार्क एन्टोनीले साइप्रस मिश्रलाई दिएका थिए। तथापि, अगस्तसको पालामा साइप्रस फेरि रोमीहरूको अधीनमा भयो र प्रेरित पुस्तकका लेखक लूकाले ठीकसँग वर्णन गरेझैं रोमप्रति प्रत्यक्ष उत्तरदायी भएका बडाहाकिमले साइप्रसमाथि शासन गरे। त्यस द्वीपमा पावलले प्रचार गर्दा त्यहाँका बडाहाकिम सर्गियस पौलस थिए।—प्रेरित १३:७.

रोमीहरूले लागू गरेको अन्तरराष्ट्रिय शान्ति, पाक्स रोमाना-ले गर्दा साइप्रसको खानी तथा उद्योगहरूलाई अझ विस्तार गर्न प्रोत्साहन मिल्यो, जसले गर्दा व्यापार-व्यवसाय फस्टायो। रोमी सेनाको उपस्थिति र त्यस द्वीपकी संरक्षक देवी, आफ्रोडाइटको पूजाआजा गर्न घुइँचो लाग्ने तीर्थयात्रीहरूले गर्दा पनि थप आय आर्जन हुन्थ्यो। परिणामस्वरूप, नयाँ सडक, बन्दरगाह तथा भव्य सार्वजनिक भवनहरू निर्माण भए। त्यहाँको औपचारिक भाषा युनानी नै रह्‍यो र अधिकांश मानिसहरूले रोमी सम्राट्‌का साथै आफ्रोडाइट, अपोलो र ज्यूसको उपासना गर्थे। मानिसहरू सुखसयलमा बस्थे र तिनीहरूको सामाजिक तथा सांस्कृतिक जीवन अत्यन्त रमाइलो थियो।

साइप्रसको यात्रा गर्दा र त्यहाँका मानिसहरूलाई ख्रीष्टको विषयमा सिकाउँदा पावलले सामना गर्नुपरेको परिवेश यस्तै थियो। तथापि, पावल साइप्रसमा आउनुभन्दा पहिले नै त्यहाँ मसीहीधर्म छिरिसकेको थियो। प्रेरितको विवरणले हामीलाई प्रथम मसीही शहीद स्तिफनसको मृत्युपछि प्रारम्भिक मसीहीहरूमध्ये कोही-कोही साइप्रस भागे भनी बताउँछ। (प्रेरित ११:१९) पावलका सँगी बर्णाबास साइप्रसका बासिन्दा थिए र तिनलाई उक्‍त द्वीपको नालीबेली थाह भएको कारण यस प्रचार अभियानमा तिनी पावलको निम्ति एक उत्कृष्ट पथप्रदर्शक हुन सके भन्‍ने कुरामा कुनै शङ्‌का छैन।—प्रेरित ४:३६; १३:२.

पावलको यात्रा पछ्याउँदै

पावलले कसरी साइप्रसको यात्रा गरे होलान्‌ भनेर कल्पना गर्नु त्यति सजिलो छैन। तथापि, पुरातत्त्वविद्‌हरूलाई भने रोमीहरूको समयमा निर्माण भएका उत्कृष्ट सडकहरूबारे प्रायः थाह छ। यस द्वीपको भौगोलिक बनोटको कारण सम्भवतः प्रारम्भिक मिसनरीहरूले अपनाएको मार्गलाई नै आजका आधुनिक राजमार्गहरूले पनि पछ्याउनुपर्ने हुन्छ।

पावल, बर्णाबास र यूहन्‍ना भनिने मर्कूसले सेल्युसियादेखि सलामिसको बन्दरगाहसम्म समुद्री यात्रा गरे। राजधानी र मुख्य बन्दरगाह पाफोस हुँदाहुँदै उनीहरूले सलामिसतिरै समुद्री यात्रा गर्नुको कारण के थियो? एउटा कारण त, सलामिस सेल्युसियादेखि केवल २०० किलोमिटर टाढामा पर्ने मुख्य भूभागको पूर्वी तटमा थियो। रोमीहरूको अधीनमा छँदा सलामिसको सट्टा पाफोसलाई राजधानी बनाइए तापनि यस द्वीपको सांस्कृतिक, शैक्षिक अनि व्यापारिक केन्द्र सलामिस नै रह्‍यो। सलामिसमा यहूदीहरूको बाहुल्यता थियो र मिसनरीहरूले “यहूदीहरूको सभाघरमा परमेश्‍वरको वचनको सुसमाचार प्रचार गरे।”—प्रेरित १३:५.

आज, सलामिसमा यसका भग्नावशेषहरू मात्र बाँकी छन्‌। तरैपनि, पुरातात्त्विक खोजहरूले पहिले यो सहर कत्तिको वैभवशाली र धनाढ्य थियो भन्‍ने कुरा पुष्टि गर्छन्‌। राजनैतिक तथा धार्मिक गतिविधिको केन्द्रको रूपमा रहेको यो बजार, भूमध्यसागरको इलाकामा उत्खनन्‌ गर्दा आजसम्म भेटिएको सम्भवतः सबैभन्दा ठूलो रोमी बजारको रूपमा चिनिन्छ। सिजर अगस्तसको पालातिरको यसका भग्नावशेषहरूले जटिल तरिकामा बनाइएका मोजाइक भुइँ, व्यायामशाला, उत्कृष्ट स्नानगृह प्रणाली, रङ्‌गशाला, रङ्‌गभूमि, भव्य चिहान र १५,००० जना जति अटाउने ठूलो रङ्‌गमञ्च थियो भन्‍ने कुरा प्रकट गरेका छन्‌! नजिकैका भग्नावशेषहरू ज्यूसको भव्य मन्दिरका हुन्‌।

तर ज्यूसले भूकम्पको कारण सहरलाई तहसनहस हुनबाट रोक्न सकेन। हुन त पछि अगस्तसले सलामिस पुनर्निर्माण गरे तापनि सा.यु.पू. १५ मा गएको ठूलो भूकम्पले लगभग-लगभग पूरै सलामिसलाई ध्वस्त पाऱ्‍यो। सा.यु. ७७ मा गएको भूकम्पले फेरि सलामिसलाई ध्वंस पारेपछि यसलाई पुनः एक चोटि निर्माण गरियो। चौथो शताब्दीमा पटक-पटक गएको भूकम्पले सलामिस ध्वस्त भयो र त्यसपछि यसले आफ्नो पहिलेको वैभव फेरि कहिल्यै प्राप्त गर्न सकेन। मध्ययुगको अन्ततिर यसको बन्दरगाह पानीको धारले थुपारेको माटो र बालुवाले डम्म भरियो अनि यसलाई प्रयोग गर्नै छाडियो।

पावलको प्रचारकार्यप्रति सलामिसका बासिन्दाहरूले कस्तो प्रतिक्रिया देखाए भन्‍ने कुरा बताइएको छैन। तर पावलले अन्य समुदायहरूलाई पनि प्रचार गर्नुपरेको थियो। सलामिसबाट प्रस्थान भएपछि मिसनरीहरूले तीनवटा मुख्य मार्ग रोज्न सक्थे: पहिलो, काइरेनियाको पर्वतमाला पार गरेर उत्तरी समुद्री तटतिर जाने मार्ग; दोस्रो, द्वीपको मुख्य भाग हुँदै मिसोरयाको मैदानपारि पश्‍चिमतिर जाने मार्ग; र तेस्रो, दक्षिणी समुद्री तट छेउको मार्ग।

पावलले पनि त्यतिबेला चलनचल्तीको तेस्रो मार्ग नै रोजे। यो मार्ग उर्वर रातमाटे जमिन हुँदै अघि बढेको छ। लगभग ५० किलोमिटर दक्षिणपश्‍चिममा, भित्रतिर उत्तर दिशातर्फ मोडिनुअघि यो मार्ग लार्नाका सहर आइपुग्छ।

“सिङगै टापू छिचलेर”

केही बेरमै राजमार्ग प्राचीन सहर लेडरा पुग्यो। हाल यस ठाउँमा वर्तमान राजधानी निकोसिया छ। प्राचीन सहरको सम्पूर्ण प्रमाण नामेट भइसकेको छ। तर १६ औं शताब्दीभित्र निकोसियाको केन्द्रलाई चारैतिरबाट घेर्ने भेनेसियाली पर्खालभित्र लेडरा स्ट्रिटको नाउँले चिनिने एउटा व्यस्त, साँघुरो बाटो छ। पावलले लेडराको यात्रा गरे कि गरेनन्‌, त्यो हामीलाई थाह छैन। बाइबलले यति मात्र बताउँछ कि पावल तथा तिनका सँगीहरूले “सिङगै टापू छिचले।” (प्रेरित १३:६, छड्‌के अक्षर हाम्रो) “सिङ्‌गै टापू छिचल्नुको अर्थ साइप्रसका यहूदी समुदायहरूको लगभग-लगभग पूरै भ्रमण गर्नु हो” भनेर द विक्लिफ हिस्टोरिकल जियोग्राफी अफ बाइबल ल्याण्डस्‌ (अङ्‌ग्रेजी) बताउँछ।

पावल साइप्रसका धेरैभन्दा धेरै मानिसहरूलाई प्रचार गर्न अत्यन्तै इच्छुक थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसैकारण तिनले लेडरादेखि अमाथस र कुरयन भएर जाने दक्षिणी मार्ग रोजेको हुनुपर्छ र यी दुई महानगरहरूको जनसंख्या दिनानुदिन बढिरहेको थियो।

कुरयन, समुद्री सतहदेखि निकै माथि ठाडो भीरमा थियो र त्यसबाट ठ्याक्क तलतिर हेर्दा बगर देखिन्छ। सा.यु. ७७ मा सलामिसलाई ध्वस्त पार्ने भूकम्पले यस भव्य युनानी-रोमी सहरलाई पनि बाँकी राखेन। त्यहाँ अपोलोलाई समर्पित सा.यु. १०० तिरको एउटा मन्दिरका भग्नावशेषहरू छन्‌। रङ्‌गशालामा ६,००० जना जति दर्शकहरू अटाउँथे। कुरयनका मानिसहरूको विलासी जीवन शैली निजी भव्य घरहरूको भुइँमा सजाइएका सुन्दर मोजाइकहरूमा देख्न सकिन्छ।

पाफोसको यात्रा

कुरयनदेखि फेरि यो प्राकृतिक सौन्दर्यले सजिएको मार्ग मदिरा उत्पादन गर्ने देश हुँदै पश्‍चिमतिर लाग्छ, बिस्तार बाटो उकालो हुँदै जान्छ अनि चालै नपाउने गरी यो बाटो स्वात्त ओरालो लाग्छ अनि नागबेली हुँदै ससाना बगरे ढुङ्‌गाले भरिएको बगरतिर पुग्छ। युनानी पौराणिक कथाअनुसार यो त्यही ठाउँ हो जहाँ समुद्रले आफ्रोडाइट देवीलाई जन्म दिएकी थिइन्‌।

साइप्रसका युनानी देवी-देवताहरूमध्ये आफ्रोडाइट सबैभन्दा लोकप्रिय थिइन्‌ र सा.यु. दोस्रो शताब्दीसम्ममा तिनको उत्साहपूर्वक उपासना गरिन्थ्यो। आफ्रोडाइटको उपासना केन्द्र पाफोसमा थियो। हरेक वसन्तऋतुमा, तिनको सम्मानमा एउटा महान्‌ चाड मनाउने गरिन्थ्यो। एसिया माइनर, मिश्र, ग्रीस अनि टाढा फारसका तीर्थयात्रीहरू उक्‍त चाड मनाउन पाफोस आउने गर्थे। साइप्रस, टोलेमीहरूको अधीनमा हुँदा साइप्रसबासीहरूलाई फिरऊनको उपासनाबारे थाह भयो।

पाफोस, साइप्रसको रोमी राजधानी थियो र बडाहाकिमले त्यहीं बसेर देशको बागडोर सँभाल्थे अनि यसले तामाका सिक्काहरू कुँद्‌ने एकाधिकार पाएको थियो। सा.यु.पू. १५ को भूकम्पले यसलाई पनि तहसनहस पाऱ्‍यो र सलामिललाई जस्तै यस सहरलाई पुनःनिर्माण गर्न अगस्तसले आर्थिक सहयोगको प्रबन्ध मिलाए। उत्खनन्‌हरूले प्रथम शताब्दीका धनाढ्य पाफोसबासीहरूको विलासी जीवन शैली प्रकट गरेका छन्‌—सहरका चौडा सडकहरू, दामी किसिमले सजाइएका निजी भव्य भवनहरू, सङ्‌गीत विद्यालय, व्यायामशाला र रङ्‌गभूमि।

पावल, बर्णाबास र यूहन्‍ना भनिने मर्कूसले भ्रमण गरेको पाफोस यही थियो अनि यहीं नै हो “बुद्धिमान मानिस” बडाहाकिम सर्गियस पौलसले इलुमास धामीको चर्को विरोधको बावजुद “परमेश्‍वरको वचन सुन्‍ने इच्छा गरे।” बडाहाकिमले “प्रभुको शिक्षामा अचम्म मानी विश्‍वास गरे।”—प्रेरित १३:६-१२.

साइप्रसमा आफ्नो प्रचार गतिविधिलाई सफलतासाथ पूरा गरिसकेपछि मिसनरीहरूले एसिया माइनरमा आफ्नो कार्यलाई निरन्तरता दिए। पावलले गरेको त्यो पहिलो मिसनरी यात्रा साँचो मसीहीधर्म फैलाउने सन्दर्भमा एउटा कोसेढुङ्‌गो थियो। सेन्ट पल्स्‌ जर्निज्‌ इन द ग्रिक ओरियन्ट (अङ्‌ग्रेजी) भन्‍ने पुस्तकले यसलाई “मसीही अभियान र . . . पावलको मिसनरी पेसाको साँचो सुरुवात” भनेको छ। यसमा अझै यसो भनिएको छ: “सिरिया, एसिया माइनर अनि ग्रीसतर्फ जाने समुद्री मार्गको सङ्‌गमस्थल साइप्रस भएको कारण यहींबाट मिसनरी यात्राको प्रारम्भ हुन्थ्यो भन्‍नु स्वाभाविक देखिन्थ्यो।” तर यो त एउटा सुरुवात मात्र थियो। लगभग २००० वर्षपछि पनि मसीही मिसनरीकार्य कायमै छ र यहोवाको राज्यको सुसमाचार साँच्चै “पृथ्वीको अन्तसम्म” प्रचारिएको छ भन्‍न सकिन्छ।—प्रेरित १:८.

[पृष्ठ २०-मा भएको नक्सा]

साइप्रस

निकोसिया (लेडरा)

पाफोस

कुरयन

अमाथस

लार्नाका

सलामिस

काइरेनियाको पर्वतमाला

मिसोरयाको मैदान

ट्रोडोस पर्वतमाला

[पृष्ठ २१-मा भएको चित्र]

पाफोसमा छँदा पवित्र आत्माले भरिएर पावलले इलुमास धामीलाई अन्धो तुल्याइदिए