सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको राज्य सरकार आज एउटा वास्तविकता

परमेश्‍वरको राज्य सरकार आज एउटा वास्तविकता

परमेश्‍वरको राज्य सरकार आज एउटा वास्तविकता

“विकासको विभिन्‍न चरणमा पुगेका अनि विविध संस्कृति भएका देशहरू एउटा सहमतिको बिन्दुमा आउनु के सम्भव होला र? भनिन्छ, अर्को ग्रहबाट आक्रमण भएको खण्डमा मात्र मानवजाति एकताबद्ध हुनेछन्‌।”—दी एज, अस्ट्रेलियन अखबार।

अर्को ग्रहबाट आक्रमण? यस्तो आक्रमणले पृथ्वीका सम्पूर्ण राष्ट्रहरूलाई एकताबद्ध गराउँछ, गराउँदैन थाह नभए तापनि संसारका राष्ट्रहरूलाई एकताबद्ध हुन लगाउने एउटा सन्‍निकट सङ्‌कटबारे बाइबलमा भविष्यवाणी गरिएको छ। अनि त्यो सङ्‌कट साँच्चै पृथ्वीबाहिरका शक्‍तिहरूले ल्याउनेछन्‌।

पुरातन इस्राएलका राजा दाऊदले यस संसारको अवस्थाबारे भविष्यसूचक ढङ्‌गमा बताएका थिए। ईश्‍वरीय प्रेरणा पाएर तिनले यस्तो लेखे: “परमप्रभु र उहाँले अभिषेक गर्नुभएको जनको विरुद्धमा, पृथ्वीका राजाहरू आफै खड़ा हुन्छन्‌, र शासकहरू आपसमा यसो भनेर सल्लाह गर्छन्‌, ‘लौ, हामी तिनीहरूका बन्धन टुक्रा टुक्रा पारेर छिनालौं, र तिनीहरूका डोरीहरू हामीबाट फुकालेर फालिदिऔं।’ ” (भजन २:२, ३; प्रेरित ४:२५, २६) याद गर्नुहोस्‌, ब्रह्‍माण्डको सृष्टिकर्ता यहोवा अनि उहाँले अभिषेक गर्नुभएको जन अर्थात्‌ उहाँले नियुक्‍त गर्नुभएको राजा येशू ख्रीष्टको विरुद्धमा संसारका शासकहरू खडा हुनेछन्‌। त्यो कसरी हुनेछ?

बाइबलका घटनाहरूको कालक्रम र पूरा भएका भविष्यवाणीहरू अनुसार १९१४ सालमा परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भयो, जुन राज्यको राजा येशू ख्रीष्ट हुनुहुन्छ। a त्यतिखेर संसारका राष्ट्रहरूको एउटा कुरामा समान विचारधारा थियो। भर्खरै स्थापित परमेश्‍वरको राज्यको सार्वभौमिकताको अधीनमा बस्नुको सट्टा तिनीहरू शक्‍ति-सङ्‌घर्षको होडमा महायुद्ध अर्थात्‌ प्रथम विश्‍वयुद्धमा मुछिए।

मानव शासकहरूले देखाएको यस्तो प्रतिक्रियालाई यहोवा परमेश्‍वर कस्तो ठान्‍नुहुन्छ? “स्वर्गमा विराजमान हुनुहुने चाहिं हाँस्नुहुनेछ। परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुनेछ, तब उहाँ रिसाएर तिनीहरूसँग कुरा गर्नुहुनेछ, र उहाँको बल्दो रीसमा तिनीहरूलाई यसो भनेर व्याकुल पार्नुहुनेछ।” त्यसपछि यहोवाले उहाँको राज्यको अभिषिक्‍त राजा आफ्नो पुत्रलाई यसो भन्‍नुहुनेछ: “मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु, र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु। फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ। र कुमालेको भाँड़ालाई जस्तैगरी तिमीले तिनीहरूलाई चक्नाचूर पार्नेछौ।”—भजन २:४, ५, ८, ९.

फलामको डण्डाले विद्रोही राष्ट्रहरूलाई अन्तमा चकनाचूर पार्ने काम आरमागेडोन वा हारमागेडोनमा हुनेछ। बाइबलको अन्तिम पुस्तक, प्रकाशले ती घटनाहरूको पराकाष्ठालाई “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लड़ाइँ” भनेर वर्णन गरेको छ, जहाँ “जम्मै पृथ्वीका राजाहरूलाई” जम्मा गरिंदैछ। (प्रकाश १६:१४, १६) पैशाचिक प्रभावमा परेर पृथ्वीका राष्ट्रहरू अन्ततः एउटा उद्देश्‍यको लागि एकताबद्ध हुनेछन्‌—सर्वशक्‍तिमान्‌ परमेश्‍वर विरुद्ध लड्‌न।

परमेश्‍वरको सार्वभौमिकता विरुद्ध युद्ध गर्न मानिसहरू खडा हुने समय द्रुत गतिमा नजिकिंदैछ। हाँसउठ्‌दो कुरा त, तिनीहरूको “एकताले” तिनीहरूलाई कुनै व्यक्‍तिगत लाभ पुऱ्‍याउने छैन। बरु, तिनीहरूले चाल्ने कदम सम्पूर्ण मानिसजातिले लामो समयदेखि प्रतीक्षा गर्दै आएको शान्तिको सुरुवात हुनुअघिको घटना हुनेछ। कसरी? त्यस अन्तिम युद्धमा परमेश्‍वरको राज्यले “[संसारका] सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) विश्‍वमा शान्ति छाओस्‌ भन्‍ने मानिसजातिको चाहना पूरा गर्ने सरकार कुनै मानव संगठन होइन तर परमेश्‍वरको राज्य हुनेछ।

परमेश्‍वरको राज्य सरकारको प्रमुख प्रशासक

निष्कपट हृदय भएका थुप्रै मानिसहरूले “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भनेर प्रार्थना गर्ने राज्य यही परमेश्‍वरको राज्य हो। (मत्ती ६:१०) यो केवल मनको अस्पष्ट धारणा होइन तर परमेश्‍वरको राज्य एउटा वास्तविक सरकार हो र १९१४ मा यो राज्य स्वर्गमा स्थापित भएदेखि यसले अद्‌भुत कार्यहरू पूरा गरेको छ। आउनुहोस्‌, परमेश्‍वरको राज्य वास्तविक हो र यो आज पूर्णतया सक्रिय छ भनी प्रस्ट्याउने केही महत्त्वपूर्ण पक्षहरूलाई केलाएर हेरौं।

सर्वप्रथम, शासनारूढ राजा येशू ख्रीष्टको नेतृत्वमा चल्ने यस राज्यको शक्‍तिशाली तथा दक्ष कार्यकारी पक्ष छ। सा.यु. ३३ मा यहोवा परमेश्‍वरले येशू ख्रीष्टलाई मसीही मण्डलीको शिर नियुक्‍त गर्नुभयो। (एफिसी १:२२) त्यहाँदेखि यता येशूले आफ्नो शिरत्वको प्रयोग गरेर आफ्नो प्रशासकीय क्षमता प्रकट गरिरहनुभएको छ। उदाहरणका लागि, प्रथम शताब्दीमा यहूदियामा ठूलो अनिकाल पर्दा आफ्ना सदस्यहरूलाई मदत गर्न मसीही मण्डलीले यथाशीघ्र कदम चाल्यो। उद्धारकार्यको व्यवस्था मिलाइयो अनि यसको प्रबन्ध मिलाउनको लागि एन्टिओकबाट बर्णाबास र शावललाई पठाइयो।—प्रेरित ११:२७-३०.

हामी येशू ख्रीष्टबाट योभन्दा धेरै कुरा आशा गर्न सक्छौं किनभने अहिले राज्य सरकारले काम गरिरहेको छ। भुइँचालो, अनिकाल, बाढी, तुफान, आँधी-बेहरी वा ज्वालामुखी विस्फोटनजस्ता विपत्तिहरू आइपर्दा सँगी विश्‍वासी तथा प्रभावित क्षेत्रका अन्य मानिसहरूलाई मदत गर्न यहोवाका साक्षीहरूको मसीही मण्डली तुरुन्त अग्रसर भइहाल्छ। उदाहरणका लागि, २००१ को जनवरी अनि फेब्रुअरी महिनामा एल साल्भाडोरमा विध्वंसकारी भुइँचालो जाँदा देशका सबै भागहरूमा उद्धारकार्यको व्यवस्था मिलाइयो र क्यानाडा, ग्वाटेमाला अनि संयुक्‍त राज्य अमेरिकाबाट आएको यहोवाका साक्षीहरूको समूहले मदत गऱ्‍यो। थोरै समयभित्र उनीहरूका तीनवटा उपासनास्थल अनि ५०० वटा भन्दा बढी घर पुनर्निर्माण गरियो।

परमेश्‍वरको राज्य सरकारका प्रजाहरू

सन्‌ १९१४ मा स्थापना भएदेखि परमेश्‍वरको स्वर्गीय राज्यले विश्‍वभरिका मानिसहरूबाट आफ्ना प्रजाहरूलाई जम्मा गर्ने तथा उनीहरूलाई संगठित गर्ने काम गरिरहेको छ। यो यशैयाले लिपिबद्ध गरेको उल्लेखनीय भविष्यवाणीको पूर्ति अनुरूप छ: “पछिल्ला दिनमा परमप्रभुको भवन [उहाँको महिमित साँचो उपासना] बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। . . . सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌।” भविष्यवाणीले देखाएअनुसार “धेरै मानिसहरू” त्यस पर्वतमा जानेछन्‌ अनि यहोवाका निर्देशन तथा व्यवस्थाहरू पालन गर्नेछन्‌।—यशैया २:२, ३.

यो गतिविधि नै आधुनिक समयको सबैभन्दा उल्लेखनीय कार्य भएको छ अर्थात्‌ पृथ्वीको २३० वटा भन्दा बढी मुलुकमा ६०,०००,०० भन्दा बढी मसीहीहरूको एउटा अन्तरराष्ट्रिय भ्रातृत्व सम्भव हुन सकेको छ। विभिन्‍न राष्ट्रियता, संस्कृति र भाषाका बावजुद यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनहरूमा मानिसहरूको विशाल भीडमाझ प्रेम, शान्ति अनि एकता देख्दा पर्यवेक्षकहरू अक्सर आश्‍चर्यचकित हुन्छन्‌। (प्रेरित १०:३४, ३५) सयौं जातीय समूहहरूलाई शान्ति र मेलमिलापको सूत्रमा एकत्रित गराउन सक्ने सरकार प्रभावकारी र स्थायी अनि वास्तविक हुनै पर्छ भन्‍ने कुरा के तपाईं मानिलिनुहुन्‍न र?

परमेश्‍वरको राज्य अनि शिक्षा

प्रत्येक सरकारले आफ्ना जनताहरूले पालन गर्नुपर्ने स्तरहरू तोकेको हुन्छ र त्यस सरकारअन्तर्गत बस्न चाहने व्यक्‍तिहरूले ती स्तरहरू पालन गर्नै पर्छ। त्यस्तै गरी, परमेश्‍वरको राज्यको पनि स्तरहरू छन्‌ र यस राज्यका प्रजाहरू हुन योग्य ठहरिने व्यक्‍तिहरू यी स्तरहरू अनुरूप चल्नै पर्छ। तथापि, अत्यन्त फरक पृष्ठभूमि भएका कैयौं मानिसहरूलाई एउटै स्तर स्वीकार्न र त्यसै अनुरूप चल्न सक्ने बनाउनु कुनै चानचुने कुरा होइन। त्यसैकारण त परमेश्‍वरको राज्यको वास्तविकतालाई प्रमाणित गर्ने अर्को पक्ष पनि छ अर्थात्‌ यस राज्यको प्रभावकारी शैक्षिक कार्यक्रमले मानिसहरूको विचारलाई मात्र नभई हृदयसम्म पुगेर त्यसलाई परिवर्तन गर्न सक्छ।

राज्य सरकारले कसरी यस्तो चुनौतीपूर्ण कार्य सम्पन्‍न गर्न सक्छ? “घरघरमा” प्रचार गर्ने प्रेरितहरूको तरिका अपनाएर अनि तिनीहरूलाई व्यक्‍तिगत रूपमा परमेश्‍वरको वचन सिकाएर। (प्रेरित ५:४२; २०:२०) यस प्रकारको शिक्षा कत्तिको प्रभावकारी छ? एक जना महिलालाई यहोवाका साक्षीहरूसित अध्ययन नगर्नू भनेर सम्झाउन आफूले गरेको प्रयासबारे एक जना क्याथोलिक पादरी, झाक जोनसनले क्यानेडियाली साप्ताहिकमा लेखे। तिनले यसो भने, “म त अलमल्लमा परें र मलाई यस प्रयासमा आफू कुनै पनि हालतमा सफल हुन सक्दिनँ जस्तो लाग्यो। यहोवाका साक्षी स्त्रीहरूले घरदेखि बाहिर निस्कनै नपाउने यी आमासँग अर्थपूर्ण सम्बन्ध गाँस्दै आएको महिनौं भइसकेको कुरा मैले बिस्तारै बुझ्न थालें। तिनलाई मदत गरेर, तिनको साथी बनेर, हृदयदेखि नै अर्थपूर्ण बन्धन स्थापित गरेर उनीहरू तिनीसँग नजिकिएका थिए। चाँडै तिनी उनीहरूको धर्मको एक सक्रिय सदस्य भइन्‌ र त्यसो हुनबाट मैले रोक्न सकिनँ।” यहोवाका साक्षीहरूले सिकाएको बाइबल सन्देश तथा उनीहरूको मसीही आचरणले पहिलेकी क्याथोलिकको हृदय छोएझैं विश्‍वभरका लाखौं मानिसहरूको पनि हृदय छुँदैछ।

यस प्रकारको शिक्षा अर्थात्‌ परमेश्‍वरको राज्य शिक्षा बाइबलमा केन्द्रित छ र यसले बाइबलको मूल्यमान्यता तथा नैतिकतासम्बन्धी यसका स्तरहरूको समर्थन गर्छ। यसले मानिसहरूका विभिन्‍न पृष्ठभूमिको बावजुद एक-अर्कालाई प्रेम अनि आदर गर्न सिकाउँछ। (यूहन्‍ना १३:३४, ३५) यसले मानिसहरूलाई यो चेतावनी पालन गर्न पनि मदत गर्छ: “यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) आफ्नो पुरानो जीवन शैली त्यागेर अनि राज्य सरकारका व्यवस्था तथा सिद्धान्तहरू अनुरूप खुसीसाथ चलेर लाखौं मानिसहरूले अहिल्यै पनि शान्ति अनि आनन्द पाएका छन्‌ भने भविष्यको उज्ज्वल प्रत्याशा।—कलस्सी ३:९-११.

यस्तो विश्‍वव्यापी एकता हासिल गर्ने सन्दर्भमा यो पत्रिका, प्रहरीधरहरा-ले उल्लेखनीय योगदान पुऱ्‍याएको छ। अनुवाद गर्ने सुव्यवस्थित तरिकाका साथै थुप्रै भाषामा छाप्ने उपकरणहरूले गर्दा प्रहरीधरहरा-का मुख्य लेखहरू एकसाथ १३५ भाषामा प्रकाशित हुन्छन्‌ अनि विश्‍वभरि छरिएर रहेका यसका ९५ प्रतिशतभन्दा बढी पाठकहरूले एउटै समयमा आफ्नै भाषामा यसका विषयवस्तु अध्ययन गर्न सक्छन्‌।

एक जना मोर्मोन लेखकले आफ्नो चर्चबाहिरका उत्कृष्ट मिसनरी सफलताको सूची बनाए। तिनले यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌!-लाई प्रचारकार्यको लागि सबैभन्दा उत्तम पत्रिकाको रूपमा सूचीबद्ध गरे र यसो भने: “प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-ले आत्मसन्तुष्ट हुन सिकाउँछ भनेर कसैले पनि दोष दिन सक्दैनन्‌—त्यसको विपरीत, ती पत्रिकाहरूले चेतना जगाउने काम गर्छ र यस्तो काम अरू धार्मिक प्रकाशनहरूले गरेको मैले त्यति देखेको छैन। तथ्यपूर्ण, अनुसन्धानमूलक, समयसापेक्ष वास्तविक विषयवस्तुले गर्दा प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! स्फूर्तिदायी छन्‌।”

परमेश्‍वरको राज्य वास्तविक हो र यो पूर्ण रूपमा क्रियाशील छ भन्‍ने कुराका प्रमाणहरू थुप्रै छन्‌। यहोवाका साक्षीहरू खुसी अनि जोसका साथ “राज्यको यो सुसमाचार” आफ्ना छिमेकीहरूलाई सुनाउँछन्‌ र उनीहरूलाई यस राज्यको प्रजा हुन आमन्त्रित गर्छन्‌। (मत्ती २४:१४) के तपाईंलाई यस्तो प्रत्याशा मनमोहक लाग्छ? राज्यका स्तरहरू सिकिरहेका अनि त्यसै स्तरहरू अनुरूपजिउने प्रयास गरिरहेका व्यक्‍तिहरूसित सरसंगत गर्दा पाइने आशिष्‌बाट तपाईं आनन्द उठाउन सक्नुहुन्छ। अझ त्योभन्दा पनि खुसीको कुरा त, प्रतिज्ञाकृत नयाँ संसारमा राज्य शासनअन्तर्गत बाँच्ने प्रत्याशा पाएर तपाईं आनन्दित हुन सक्नुहुन्छ, जहाँ “धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.

[फुटनोट]

a विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको पृष्ठ ९०-७ मा दिइएको “परमेश्‍वरको राज्य शासन” भन्‍ने अध्याय १० हेर्नुहोस्‌।

[पृष्ठ ४, ५-मा भएको चित्र]

सन्‌ १९१४ मा राष्ट्रहरू विश्‍वयुद्धमा मुछिए

[पृष्ठ ६-मा भएका चित्रहरू]

स्वैच्छिक उद्धारकार्य मसीही प्रेम सक्रिय छ भन्‍ने कुराको प्रमाण हो

[पृष्ठ ७-मा भएको चित्र]

विश्‍वभरका यहोवाका साक्षीहरूले एउटै शैक्षिक कार्यक्रमबाट लाभ उठाउँछन्‌