सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण खेती गर्ने

महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण खेती गर्ने

महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण खेती गर्ने

“जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ।”—मत्ती २०:२६.

१. महानताबारे संसारको दृष्टिकोण कस्तो छ?

 कायरोको लगभग ५०० किलोमिटर दक्षिणतर्फ पुरातन मिश्री सहर थेबेस (आधुनिक समयको कर्नाक) नजिकै फिरऊन आमेनहोटेप तृतीयको १८ मिटर अग्लो मूर्ति छ। यो मूर्तिको तुलनामा जोसुकैले पनि आफूलाई अत्यन्तै सानो ठान्छ। ती शासकप्रति श्रद्धा पैदा गर्नको लागि बनाइएको यो स्मारक, महानताबारे संसारले राख्ने दृष्टकोण अर्थात्‌ आफूलाई सकेसम्म ठूलो र महत्त्वपूर्ण देखाउने अनि अरूलाई महत्त्वहीन महसुस गर्न लगाउने झुकावको प्रतीक हो।

२. येशूले आफ्ना अनुयायीहरूका लागि कस्तो उदाहरण बसाल्नुभयो र हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नु आवश्‍यक छ?

महानताबारे यस दृष्टिकोणलाई येशू ख्रीष्टले सिकाउनुभएको दृष्टिकोणसित तुलना गर्नुहोस्‌। आफ्ना अनुयायीहरूको “प्रभु र गुरु” हुनुभए तापनि अरूको सेवा गर्दा आनन्द प्राप्त हुन्छ भनी उहाँले तिनीहरूलाई सिकाउनुभयो। आफ्नो पार्थिव जीवनको अन्तिम दिनमा, आफ्ना चेलाहरूको खुट्टा धोएर येशूले आफूले सिकाएको कुराको अर्थ बुझाउनुभयो। कस्तो नम्रतापूर्ण कार्य! (यूहन्‍ना १३:४, ५, १४) सेवा गर्न वा सेवा पाउन—तपाईंलाई कुन चाहिं बढी मन पर्छ? ख्रीष्टको उदाहरणले के तपाईंमा उहाँजस्तै नम्र हुने इच्छा जगाउँछ? त्यसो हो भने संसारमा प्रचलित दृष्टिकोणको विपरीत महानताबारे ख्रीष्टको दृष्टिकोण जाँचौं।

महानताबारे संसारको दृष्टिकोण त्याग्नुहोस्‌

३. मानिसहरूबाट महिमा पाउन लालसा गर्नेहरूले भोग्ने दुःखद परिणामबारे कस्ता बाइबल उदाहरणहरूले देखाउँछ?

महानताबारे संसारको दृष्टिकोणले विनाशतर्फ लैजान्छ भनेर देखाउने थुप्रै बाइबल उदाहरणहरू छन्‌। एस्तर र मोर्दकैको समयमा फारसको राजमहलका विशिष्ट व्यक्‍ति शक्‍तिशाली हामानबारे विचार गर्नुहोस्‌। महिमा प्राप्त गर्ने हामानको लालसाले तिनलाई बेइज्जती र मृत्युतर्फ धकेल्यो। (एस्तर ३:५; ६:१०-१२; ७:९, १०) शक्‍तिको चरमचुलीमा पुगेपछि बहुलाएका अहङ्‌कारी नबूकदनेसर नि? महानताबारे आफ्नो विकृत धारणा तिनले यसरी व्यक्‍त गरे: “के यो त्यही महान्‌ बाबेल होइन जो मैले आफ्नो ठूलो शक्‍तिले मेरो महोत्तमको गौरवको निम्ति निवासस्थान बनाएको होइन र?” (दानियल ४:३०) अनि घमन्डी हेरोद अग्रिपा प्रथमले पनि परमेश्‍वरलाई महिमा दिनुको सट्टा आफ्नै महिमा स्वीकारे, जसको तिनी योग्य थिएनन्‌। “स्याउँ स्याउँ कीरा परेर तिनको प्राणान्त भयो।” (प्रेरित १२:२१-२३) महानताबारे यहोवाको दृष्टिकोणको मूल्याङ्‌कन गर्न विफल हुँदा यी सबै मानिसहरूको लज्जास्पद पतन भयो।

४. संसारको घमन्डी मनोवृत्ति पछाडि को छ?

हामीले आफ्नो जीवनलाई आफ्नो आदर तथा सम्मान हुने ढङ्‌गमा प्रयोग गर्न चाहनु उचित हो। यद्यपि, घमन्डी मनोवृत्ति उब्जाएर दियाबलले यो इच्छाको नाजायज फाइदा उठाउँछ र यो त्यसको महत्त्वाकाङ्‌क्षाको झलक हो। (मत्ती ४:८, ९) त्यो “यस संसारको देव” हो र यस पृथ्वीमा आफ्नो सोचाइ प्रवर्धन गर्न त्यो तल्लीन छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। (२ कोरिन्थी ४:४; एफिसी २:२; प्रकाश १२:९) यस्तो सोचाइको स्रोत को हो भन्‍ने कुरा थाह भएकोले गर्दा मसीहीहरू महानताबारे संसारको दृष्टिकोण त्याग्छन्‌।

५. के उपलब्धि, सम्मान र धनसम्पत्तिले अनन्त सन्तुष्टिको ग्यारेण्टी दिन्छ? व्याख्या गर्नुहोस्‌।

दियाबलले प्रवर्धन गर्ने एउटा सोचाइ भनेको संसारमा नाउँ कमायो, मानिसहरूबाट प्रशंसा बटुल्यो र खल्तीभरि पैसा भयो भने जीवन आफसेआफ आनन्दित हुन्छ भन्‍ने सोचाइ हो। के यो साँचो हो? के उपलब्धि, सम्मान र धनसम्पत्तिले सन्तोषजनक जीवनको ग्यारेण्टी दिन्छ? बाइबलले हामीलाई यस्तो सोचाइद्वारा नबहकिन चेतावनी दिन्छ। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “मैले सबै मेहनत र प्राप्तिहरूको विचार गरें, औ के देखें भने ती सबै मानिसको आपसको शत्रुताको नतीजा रहेछ। यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र हो।” (उपदेशक ४:४) संसारमा अग्रस्थान पाउनको लागि आफ्नो जीवन बिताएका थुप्रै व्यक्‍तिहरूले उक्‍त प्रेरित बाइबल सल्लाहको सत्यता पुष्टि गर्न सक्छन्‌। मानिसलाई चन्द्रमामा लैजाने अन्तरिक्षयान डिजाइन गर्न, बनाउन र परीक्षण गर्न मदत दिने एक जना मानिस यसको एउटा उदाहरण हुन्‌। विगतलाई सम्झँदै तिनले यसो भने: “मैले असाध्यै मेहनत गरेर काम गरेको थिएँ र आफूले गरेको काममा एकदमै निपुण भएको थिएँ। तैपनि मलाई अनन्त सुख र मनोशान्ति दिने सन्दर्भमा यो खोक्रो वा व्यर्थ थियो।” चाहे व्यापारजगत्‌मा होस्‌ वा खेलकुद तथा मनोरञ्जनको क्षेत्रमा, महानताबारे संसारको धारणाले अनन्त सन्तुष्टिको ग्यारेण्टी दिंदैन।

प्रेमद्वारा उत्प्रेरित सेवाबाट प्राप्त हुने महानता

६. याकूब र यूहन्‍नाले महानताबारे गलत दृष्टिकोण राखेका थिए भनी कुन कुराले देखाउँछ?

येशूको जीवनमा घटेको एउटा घटनाले साँचो महानतामा कुन कुरा समावेश छ भनी प्रकट गर्छ। सा. यु. ३३ को निस्तार चाडको लागि येशू र उहाँका चेलाहरू यरूशलेमको यात्रा गर्दै थिए। येशूकी सानीआमाका छोराहरू याकूब र यूहन्‍ना दुई जनाले बाटोमा जाँदै गर्दा महानताबारे गलत दृष्टिकोण देखाए। आफ्नी आमामार्फत तिनीहरूले येशूलाई यस्तो बिन्ती गरे: ‘तपाईंको राज्यमा हामी दुई जनामध्ये एउटा तपाईंको दाहिने हातपट्टि, र एउटा तपाईंको देब्रे हातपट्टि बस्न पाउनलाई हुकुम गर्नुहोस्‌।’ (मत्ती २०:२१) यहूदीहरूमाझ दाहिने हातपट्टि वा देब्रे हातपट्टि बस्नु भनेको ठूलो सम्मानको कुरा ठानिन्थ्यो। (१ राजा २:१९) सबैभन्दा विशिष्ट स्थान ओगट्‌नको लागि याकूब र यूहन्‍नाले महत्त्वाकाङ्‌क्षी हुँदै अनुरोध गरे। तिनीहरू अख्तियारको यो स्थान दाबी गर्न चाहन्थे। तिनीहरूले के सोचिरहेका थिए भन्‍ने कुराबारे येशू सजग हुनुहुन्थ्यो र यस अवसरलाई चलाएर उहाँले महानताबारे तिनीहरूको गलत दृष्टिकोणलाई सच्याउनुभयो।

७. साँचो मसीही महानताको मार्गबारे येशूले कसरी वर्णन गर्नुभयो?

यस घमन्डी संसारमा, अरूलाई नियन्त्रण गर्ने वा अधिकार जमाउने अनि चुट्‌कीको भरमा आफ्ना सारा इच्छा पूरा गर्न सक्ने व्यक्‍तिलाई नै महान्‌ ठानिन्छ भन्‍ने कुरा येशूलाई थाह थियो। तर येशूका अनुयायीहरूमाझ भने महानताको मापक भनेको नम्र सेवा हो। येशूले यसो भन्‍नुभयो: “जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनेछ। जो तिमीहरूमा पहिलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको चाकर हुनेछ।”—मत्ती २०:२६, २७.

८. सेवक हुनुको अर्थ के हो र हामीले आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छौं?

बाइबलमा “सेवक” भनेर अनुवाद गरिएको युनानी शब्दले अरूको सेवा गर्न लगनशील भई खुरन्धार लागिरहने व्यक्‍तिलाई सङ्‌केत गर्छ। येशूले आफ्ना चेलाहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँदै हुनुहुन्थ्यो: यसो गर, उसो गर भनेर मानिसहरूलाई अह्राउँदैमा महान्‌ होइँदैन; बरु प्रेमद्वारा उत्प्रेरित भएर अरूको सेवा गर्दा महान्‌ होइन्छ। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘याकूब र यूहन्‍नाको ठाउँमा म भएको भए कस्तो प्रतिक्रिया देखाउने थिएँ? प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा साँचो अर्थमा महान्‌ होइन्छ भन्‍ने कुरा के मैले बुझ्ने थिएँ?’—१ कोरिन्थी १३:३.

९. अरूसित व्यवहार गर्दा येशूले कस्तो उदाहरण बसाल्नुभयो?

संसारले महानताबारे जुन स्तर तोकेको छ, त्यो स्तर महानताबारे ख्रीष्टको जस्तो दृष्टिकोणभन्दा फरक छ भनी येशूले आफ्ना चेलाहरूलाई देखाउनुभयो। आफूले सेवा गरेका व्यक्‍तिहरूप्रति उहाँले कहिल्यै पनि श्रेष्ठताको भाव झल्काउनुभएन न त तिनीहरूलाई आफू तुच्छ छौं भन्‍ने महसुस नै गराउनुभयो। पुरुष, स्त्री, बच्चा, धनी, गरिब, शक्‍तिशाली व्यक्‍ति, कुख्यात पापीहरू लगायत सबै प्रकारका मानिसहरूले उहाँसित सजिलो महसुस गर्थे। (मर्कूस १०:१३-१६; लूका ७:३७-५०) अरूका कमजोरीहरूको कारण मानिसहरूले अक्सर धैर्यता गुमाउँछन्‌। येशू यस्तो हुनुहुन्‍नथ्यो। उहाँका चेलाहरूले बेलाबेलामा अरूको वास्तै नगर्ने र झगडा गर्ने गरे तापनि आफू साँच्चै नम्र र विनयी भएको कुरा देखाउँदै उहाँले तिनीहरूलाई धैर्यतापूर्वक सिकाउनुभयो।—जकरिया ९:९; मत्ती ११:२९; लूका २२:२४-२७.

१०. येशूको सम्पूर्ण जीवन शैलीले कसरी अरूको लागि निःस्वार्थ सेवा झल्कायो?

१० परमेश्‍वरको प्रमुख पुत्रले बसाल्नुभएको निःस्वार्थ उदाहरणले महानताको साँचो अर्थ के हो भन्‍ने कुरा देखायो। येशू सेवा पाउनलाई नभई “अनेक किसिमका बेथा” निको पारेर तथा मानिसहरूलाई प्रेतको नियन्त्रणबाट छुटाएर अरूको सेवा गर्न पृथ्वीमा आउनुभयो। उहाँ थाक्नुहुन्थ्यो र उहाँलाई आराम गर्ने समय चाहिन्थ्यो तैपनि उहाँ सधैं आफ्ना आवश्‍यकताहरूभन्दा अरूका आवश्‍यकताहरूलाई अगाडि राख्दै तिनीहरूलाई सान्त्वना दिन अघि सर्नुहुन्थ्यो। (मर्कूस १:३२-३४; ६:३०-३४; यूहन्‍ना ११:११, १७, ३३) उहाँको प्रेमले येशूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न धुलाम्मे सडकमा सयौं किलोमिटर यात्रा गरेर मानिसहरूलाई आध्यात्मिक तवरमा मदत दिन उत्प्रेरित गऱ्‍यो। (मर्कूस १:३८, ३९) निस्सन्देह, अरूको सेवा गर्ने कामलाई येशूले गम्भीरतापूर्वक लिनुभयो।

ख्रीष्टको नम्रता अनुकरण गर्नुहोस्‌

११. मण्डलीमा निरीक्षकको रूपमा सेवा गर्न नियुक्‍त भएका भाइहरूबाट कस्ता गुणहरू आशा गरिन्छ?

११ परमेश्‍वरका जनहरूको आवश्‍यकता पूरा गर्नको लागि परिभ्रमण प्रतिनिधिहरू छान्दा, मसीही निरीक्षकहरूले खेती गर्नुपर्ने सही मनोवृत्तिबारे १९ औं शताब्दीको अन्ततिर प्रकाश पारिएको थियो। सेप्टेम्बर १, १८९४ को जायन्स्‌ वाचटावर-अनुसार तिनीहरूबाट आशा गरिने कुरा भनेको ती मानिसहरू “नम्र—घमन्डले नफुल्ने . . . , आफ्नै प्रचार गर्न खोज्ने होइन तर ख्रीष्टबारे प्रचार गर्ने नम्र मनका—आफ्नै ज्ञानको ढ्‌वाङ फुक्ने नभई उहाँको वचनको सरलता र शक्‍तिबारे घोषणा गर्ने” हुनुपर्थ्यो। स्पष्टतया साँचो मसीहीहरूले कहिल्यै पनि आफ्ना व्यक्‍तिगत महत्त्वाकाङ्‌क्षाहरू पूरा गर्न वा अरूमाथि अधिकार, शक्‍ति र नियन्त्रण जमाउन जिम्मेवारी खोज्नु हुँदैन। आफ्नो जिम्मेवारीमा ‘असल काम’ समावेश छ, आफ्नै महिमा गर्नको लागि उच्च ओहदा होइन भन्‍ने कुरा एक जना नम्र निरीक्षकले सधैंभरि मनमा राख्छन्‌। (१ तिमोथी ३:१, २) नम्रतापूर्वक अरूको सेवा गरेर तथा पवित्र सेवामा नेतृत्व लिएर अरूको लागि अनुकरणयोग्य उदाहरण बसाल्न सबै प्राचीन तथा सेवकाई सेवकहरूले यथाशक्य गर्नुपर्छ।—१ कोरिन्थी ९:१९; गलाती ५:१३; २ तिमोथी ४:५.

१२. मण्डलीमा सुअवसरहरू प्राप्त गर्न अघि बढिरहेकाहरूले आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌?

१२ सुअवसरहरू प्राप्त गर्न अघि बढिरहेको भाइले आफूलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्ने हुन सक्छ: ‘के म अरूको सेवा गर्ने मौका खोज्छु वा ममा अरूबाट सेवाको आस गर्ने झुकाव छ? के म अरूले त्यत्ति ध्यान नदिने खालका उपयोगी कामहरू गर्न इच्छुक छु?’ उदाहरणका लागि, एक जना जवान पुरुष मसीही मण्डलीमा भाषणहरू दिन इच्छुक हुन सक्छन्‌ तर वृद्धहरूलाई मदत दिन तिनी हिचकिचाउन सक्छन्‌। मण्डलीका जिम्मेवारप्राप्त पुरुषहरूसित संगत गर्न तिनी खुसी हुन सक्छन्‌ तर प्रचारकार्यमा भाग लिनदेखि पछि हट्‌न सक्छन्‌। यस्तो जवान पुरुषले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु बेस हुन्छ: ‘के म अरूबाट सम्मान तथा प्रशंसा प्राप्त हुने परमेश्‍वरको सेवाका खास पक्षहरूमा विशेष ध्यान केन्द्रित गर्छु? के म अरूको सामु चम्कन खोजिरहेको छु?’ आफ्नै व्यक्‍तिगत महिमा खोज्नु पक्कै पनि ख्रीष्टको जस्तो दृष्टिकोण होइन।—यूहन्‍ना ५:४१.

१३. (क) एक जना निरीक्षकको नम्रताको उदाहरणले कसरी अरूलाई असर गर्न सक्छ? (ख) नम्रता भनेको मसीहीले खेती गरे पनि हुने नगरे पनि हुने गुण होइन भनेर किन भन्‍न सकिन्छ?

१३ ख्रीष्टको नम्रता अनुकरण गर्न कडा परिश्रम गर्दा हामी अरूको सेवा गर्न उत्प्रेरित हुन्छौं। यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालयको क्रियाकलाप निरीक्षण गरिरहेका एक जना जोन ओभरसियरको उदाहरणलाई विचार गर्नुहोस्‌। एकदमै व्यस्त र तिनको काँधमा तीन थुप्रो जिम्मेवारीहरू भए तापनि पत्रिका तथा पुस्तिकाहरू सिलाउने मेसिनको सेटिङ मिलाउन असिनपसिन हुँदै काम गरिरहेका एक जना जवान भाइलाई मदत गर्न तिनी रोकिए। ती जवान भाइ यसो भन्छन्‌: “मैले त यो कुरा विश्‍वासै गर्न सकिनँ! युवावस्थामा बेथेल सेवा गर्दा उहाँले पनि यस्तै खालको मेसिन चलाउनुहुन्थ्यो भनेर उहाँले मलाई बताउनुभयो अनि यसको पाटपुर्जा ठीक ठाउँमा मिलाउन कत्ति गाह्रो हुन्छ भन्‍ने कुरा उहाँले बिर्सनुभएको थिएन। उहाँका अरू थुप्रै महत्त्वपूर्ण कामहरू भए तापनि उहाँले त्यो मेसिनको सेटिङ मिलाउन मलाई निकै बेर सघाउनुभयो। यसबाट म साँच्चै प्रभावित भएँ।” अहिले यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालयमा निरीक्षकको रूपमा सेवा गरिरहेका ती भाइ अझै पनि त्यो नम्र कार्य सम्झन्छन्‌। तुच्छ खालका कामहरू गर्नुपर्दा हामी एकदमै उच्च छौं वा सानातिना कामहरू हामीले गर्नुहुँदैन भनेर कहिल्यै पनि नसोचौं। बरु, हामीले आफ्नो कम्मर “नम्रता[ले]” कस्नुपर्छ। यो एउटा विकल्प होइन। यो मसीहीहरूले धारण गर्नै पर्ने “नयाँ व्यक्‍तित्व[को]” भाग हो।—फिलिप्पी २:३; कलस्सी ३:१०, १२, NW; रोमी १२:१६.

महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण कसरी हासिल गर्ने

१४. परमेश्‍वर तथा हाम्रा सँगी मानवहरूसितको हाम्रो सम्बन्धबारे मनन गर्दा यसले हामीलाई कसरी महानताबारे सही दृष्टिकोण खेती गर्न मदत दिन सक्छ?

१४ महानताबारे सही दृष्टिकोण हामी कसरी हासिल गर्न सक्छौं? एउटा तरिका त यहोवा परमेश्‍वरसितको हाम्रो सम्बन्धबारे मनन गर्नु हो। उहाँको वैभव, शक्‍ति र बुद्धिले उहाँलाई तुच्छ मानवहरूभन्दा अति नै उच्च बनाउँछ। (यशैया ४०:२२) हाम्रा सँगी मानवहरूसितको हाम्रो सम्बन्धबारे मनन गर्दा पनि यसले हामीलाई नम्रता खेती गर्न मदत दिन्छ। उदाहरणका लागि, हामी कुनै खास क्षेत्रमा अरूभन्दा अगाडि छौं होला तर जीवनका अझ महत्त्वपूर्ण पक्षहरूमा तिनीहरू हामीभन्दा कैयौं गुना उत्कृष्ट हुन सक्छन्‌ वा हामीसित नभएका केही खास गुणहरू हाम्रा मसीही भाइहरूसित हुन सक्छ। वास्तवमा, आफ्नो विनयी र नम्र स्वभावको कारण परमेश्‍वरको नजरमा प्रिय थुप्रै व्यक्‍तिहरू अरूभन्दा श्रेष्ठ देखिने कोसिस गर्दैनन्‌।—हितोपदेश ३:३४; याकूब ४:६.

१५. कुनै पनि व्यक्‍तिले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍ने कारण छैन भनी परमेश्‍वरका जनहरूको निष्ठाले कसरी देखाउँछ?

१५ आफ्नो विश्‍वासको कारण परीक्षामा परेका यहोवाका साक्षीहरूको अनुभवहरूले यो कुरा प्रस्ट पार्छ। संसारले साधारण ठानेका ती व्यक्‍तिहरूले नै अक्सर आगो रूपी परीक्षाहरूमा पर्दा परमेश्‍वरप्रति आफ्नो निष्ठा कायम राखेका छन्‌। यस्ता उदाहरणहरूबारे मनन गर्दा यसले हामीलाई नम्र रहन र ‘आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झन’ मदत दिन सक्छ।—रोमी १२:३.

१६. ख्रीष्टले बसाल्नुभएको नमुना अनुकरण गर्दै मण्डलीका सबैले कसरी महानता खेती गर्न सक्छन्‌?

१६ चाहे जवान होऊन्‌ वा वृद्ध, सबै मसीहीहरूले महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण खेती गर्ने कोसिस गर्नुपर्छ। मण्डलीमा विभिन्‍न प्रकारका कामहरू गर्नुपर्ने हुन्छ। एकदमै सानोजस्तो देखिने काम गर्न कसैले अह्राउँदा नरिसाउनुहोस्‌। (१ शमूएल २५:४१; २ राजा ३:११) आमाबाबुहरू हो, के तपाईंले आफ्ना छोराछोरीहरू र किशोर-किशोरीहरूलाई चाहे राज्यभवनमा होस्‌ वा सम्मेलन तथा अधिवेशनहरू हुने ठाउँहरूमा, तिनीहरूलाई दिइएको कुनै पनि जिम्मेवारी खुसीसाथ पूरा गर्न प्रोत्साहन दिनुहुन्छ? तपाईंले सानातिना कामहरू गरिरहनुभएको के तिनीहरूले देखेका छन्‌? अहिले यहोवाका साक्षीहरूको मुख्यालयमा सेवा गरिरहेका एक जना भाइ आफ्नो आमाबाबुको उदाहरण झलझली सम्झन्छन्‌। तिनले यसो भने: “राज्यभवन वा अधिवेशन केन्द्र सफा गर्ने कामप्रति उहाँहरूको दृष्टिकोणद्वारा उहाँले यो कामलाई महत्त्वपूर्ण ठान्‍नुहुन्थ्यो भन्‍ने कुरा मैले बुझ्न सकें। कुनै काम जतिसुकै सानो किन नदेखियोस्‌, मण्डली तथा भाइहरूलाई लाभ पुऱ्‍याउने कामहरू गर्न उहाँहरू अक्सर इच्छुकतापूर्वक अघि सर्नुहुन्थ्यो। यो मनोवृत्तिले यहाँ बेथेलमा दिइएको कुनै पनि जिम्मेवारी खुसीसाथ स्वीकार्न मलाई मदत गरेको छ।”

१७. नम्र स्त्रीहरू कुन-कुन तरिकामा मण्डलीका लागि आशिष्‌ हुन सक्छन्‌?

१७ आफ्नोभन्दा अरूको भलाइलाई प्रथम स्थान दिने सन्दर्भमा हामीसित सा.यु.पू. पाँचौं शताब्दीमा फारसकी रानी बनेकी एस्तरको उत्कृष्ट उदाहरण छ। दरबारमा बसिरहेकी भए तापनि परमेश्‍वरका जनहरूको लागि उहाँको इच्छाअनुसार काम गरेर आफ्नो ज्यान हत्केलामा राख्न तिनी इच्छुक थिइन्‌। (एस्तर १:५, ६; ४:१४-१६) निराशहरूलाई प्रोत्साहन दिएर, बिरामीहरूलाई भेट्‌न गएर, प्रचारकार्यमा भाग लिएर अनि प्राचीनहरूलाई सहयोग गरेर आजका मसीही स्त्रीहरूले आफ्नो आर्थिक अवस्था जस्तोसुकै भए तापनि एस्तरको जस्तै मनोभाव देखाउन सक्छन्‌। यस्ता नम्र बहिनीहरू मण्डलीका लागि कत्ति ठूलो आशिष्‌ हुन्‌!

ख्रीष्टको जस्तै महानताका आशिष्‌हरू

१८. ख्रीष्टको जस्तै महानता प्रकट गर्दा के-कस्ता लाभहरू प्राप्त हुन्छन्‌?

१८ महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण कायम राख्दा तपाईंले थुप्रै आशिष्‌हरू पाउनुहुनेछ। निःस्वार्थपूर्वक अरूको सेवा गर्दा तिनीहरू र तपाईं दुवै आनन्दित हुनुहुनेछ। (प्रेरित २०:३५) इच्छुकतासाथ र उत्सुक भई आफ्ना भाइहरूको खातिर परिश्रम गर्दा तपाईं तिनीहरूको नजरमा प्रिय हुनुहुनेछ। (प्रेरित २०:३७) अझ महत्त्वपूर्ण कुरा त, सँगी मसीहीहरूको भलाइलाई बढवा दिन तपाईंले गर्नुभएका कार्यहरूलाई यहोवाले उहाँको प्रशंसाको लागि चढाइएको मनपर्दो बलिदानको रूपमा हेर्नुहुन्छ।—फिलिप्पी २:१७.

१९. महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोणको सन्दर्भमा हाम्रो कटिबद्धता कस्तो हुनुपर्छ?

१९ हामी हरेकले आफ्नो हृदय जाँचेर यस्तो प्रश्‍न सोध्नु आवश्‍यक छ: ‘महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण खेती गर्नेबारे के म मुखले मात्र भन्छु वा यसलाई व्यवहारमा उतार्न लगनशील भई काम पनि गर्नेछु?’ अहङ्‌कारीहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। (हितोपदेश १६:५; १ पत्रुस ५:५) चाहे मसीही मण्डलीमा होस्‌ वा हाम्रो पारिवारिक जीवन तथा सँगी मावनहरूसितको हाम्रो दैनिक व्यवहारमा, सबै कुरा परमेश्‍वरको महिमा र प्रशंसाको लागि गरेर महानताबारे ख्रीष्टको जस्तै दृष्टिकोण प्रकट गर्न हामी प्रसन्‍न हुन्छौं भन्‍ने कुरा हाम्रो क्रियाकलापले देखाऔं।—१ कोरिन्थी १०:३१.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• हामीले किन महानताबारे संसारको दृष्टिकोण त्याग्नुपर्छ?

• महानताको मापकको सन्दर्भमा येशूको दृष्टिकोण कस्तो थियो?

• निरीक्षकहरूले कसरी ख्रीष्टको नम्रता अनुकरण गर्न सक्छन्‌?

• कुन कुराले हामीलाई ख्रीष्टको जस्तै महानता खेती गर्न मदत दिन सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको पेटी]

ख्रीष्टको जस्तै महानता कोसित छ?

सेवा पाउन इच्छा गर्नेसित वा सेवा गर्न इच्छुकसित?

अरूको आकर्षणको केन्द्र बन्‍न चाहनेसित वा सानातिना कामहरू स्वीकार्नेसित?

आफैलाई उच्च तुल्याउनेसित वा अरूलाई उच्च तुल्याउनेसित?

[पृष्ठ १४-मा भएको चित्र]

फिरऊन आमेनहोटेप तृतीयको विशाल मूर्ति

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईंलाई हामानको पतन हुनुको कारण थाह छ?

[पृष्ठ १६-मा भएका चित्रहरू]

के तपाईं अरूको सेवा गर्ने मौका खोज्नुहुन्छ?