सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

थकित तर लत्तो नछाड्‌ने

थकित तर लत्तो नछाड्‌ने

थकित तर लत्तो नछाड्‌ने

“परमप्रभु [ “यहोवा, Nw] . . . सारा पृथ्वीका सृष्टिकर्त्ता हुनुहुन्छ। . . . उहाँले दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढ़ाइदिनुहुन्छ।”—यशैया ४०:२८, २९.

१, २. (क) शुद्ध उपासना गर्न चाहनेहरू सबैलाई कस्तो मन छुने निमन्त्रणा दिइएको छ? (ख) कुन कुराले हाम्रो आध्यात्मिकतामा गम्भीर खतरा पुऱ्‍याउन सक्छ?

 येशूका चेलाहरूको रूपमा मन छुने उहाँको यो निमन्त्रणाबारे हामी सबैलाई राम्ररी थाह छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW ] दिनेछु। . . . किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) मसीहीहरूलाई “प्रभुका उपस्थितबाट आरामको [“स्फूर्तिको,” NW ] समय” पनि दिइएको छ। (प्रेरित ३:१९) बाइबल सच्चाइ सिक्दा, भविष्यप्रति उज्ज्वल आशा राख्दा र यहोवाका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला।

यद्यपि, यहोवाका केही उपासकहरूले कहिलेकाहीं भावनात्मक थकान महसुस गर्छन्‌। कुनै-कुनै अवस्थामा यस्तो निराशा केही समयको लागि मात्र हुन्छ। कहिलेकाहीं भने थकित भावनाले लामो समयसम्म पिरोलिरहन सक्छ। समय बित्दै जाँदा कोही-कोहीले आफ्ना मसीही जिम्मेवारीहरू येशूले प्रतिज्ञा गर्नुभएझैं स्फूर्तिदायी भारी हुनुको सट्टा बोझ भएको महसुस गर्न सक्छन्‌। यस्ता निराशावादी सोचाइहरूले एक जना मसीहीको यहोवासितको सम्बन्धमा गम्भीर खतरा पुऱ्‍याउन सक्छ।

३. येशूले यूहन्‍ना १४:१ मा पाइने सल्लाह किन दिनुभयो?

आफ्नो गिरफ्तार र मृत्यु हुनुभन्दा अलिक समयअघि येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूको हृदय विचलित नहोस्‌, तिमीहरू परमेश्‍वरलाई विश्‍वास गर्दछौ, मलाई पनि विश्‍वास गर।” (यूहन्‍ना १४:१) प्रेरितहरूले दुःखदायी घटनाहरू अनुभव गर्नै आँटेका बेला येशूले यी शब्दहरू भन्‍नुभयो। यसपछि एक्कासि सतावट आइपर्ने थियो। अत्यन्तै निरुत्साहित भएको कारण आफ्ना चेलाहरूले ठक्कर खान सक्छन्‌ भनी येशूलाई थाह थियो। (यूहन्‍ना १६:१) दिक्दारीको भावनालाई नियन्त्रण नगरेको खण्डमा यसले तिनीहरूलाई आध्यात्मिक तवरमा कमजोर पार्न सक्थ्यो र यहोवामाथिको आफ्नो भरोसा गुमाउन लगाउन सक्थ्यो। आजका मसीहीहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। लामो समयसम्म निरुत्साहित रहिरहँदा यसले व्याकुलता बढाउन सक्छ र हाम्रो हृदय लट्ठिन सक्छ। (यर्मिया ८:१८) हाम्रो भित्री मनुष्यत्व कमजोर हुन सक्छ। यस्तो दबाबसामु हामी भावनात्मक तथा आध्यात्मिक तवरमा केही पनि गर्न नसक्ने हुन सक्छौं, यहोवाको उपासना गर्ने हाम्रो इच्छासमेत मर्न सक्छ।

४. कुन कुराले हाम्रो लाक्षणिक हृदयलाई लत्तो छाड्‌नदेखि जोगाउन मदत दिन सक्छ?

वास्तवमा बाइबलको यो सल्लाह उपयुक्‍त छ: “कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।” (हितोपदेश ४:२३) बाइबलले व्यावहारिक सल्लाह दिन्छ जसले हाम्रो लाक्षणिक हृदयलाई निरुत्साह र आध्यात्मिक तवरमा थकित हुनदेखि जोगाउँछ। तथापि, पहिला त हामीले आफ्नो थकानको कारण चिन्‍नु आवश्‍यक छ।

मसीहीधर्म दमनकारी छैन

५. मसीही चेला हुने सन्दर्भमा अमिल्दो जस्तो देखिने कस्तो कुरा छ?

हो, मसीही हुनुमा कडा प्रयत्न समावेश छ। (लूका १३:२४) येशूले यसो समेत भन्‍नुभयो: “जसले आफ्नै क्रूस [“शासनाको खम्बा,” NW ] बोकेर मेरो पछि लाग्दैन भनेता त्यो मेरो चेला हुनसक्‍तैन।” (लूका १४:२७) झट्ट हेर्दा यी शब्दहरू येशूको भारी हलुका र स्फूर्तिदायी छ भन्‍ने उहाँको भनाइसित अमिल्दो देखिन सक्छ तर वास्तवमा यो कुरा अमिल्दो छैन।

६, ७. हामीले गर्ने उपासना थकाइलाग्दो छैन भनेर किन भन्‍न सकिन्छ?

कडा प्रयत्न र कठिन कामले शारीरिक तवरमा थकाउने भए तापनि राम्रो कामको लागि गरिएको छ भने यो सन्तोषजनक र स्फूर्तिदायी हुन सक्छ। (उपदेशक ३:१३, २२) अनि हाम्रा छिमेकीहरूसित बाइबलको अद्‌भुत सच्चाइ बाँड्‌नुभन्दा राम्रो काम अरू के नै होला र? साथै, परमेश्‍वरका उच्च नैतिक स्तरहरू अनुरूप जीवन बिताउन हामीले गरेका सङ्‌घर्षहरू यसबाट पाइने लाभहरूको तुलनामा केही पनि होइनन्‌। (हितोपदेश २:१०-२०) सतावट भोग्नुपरे तापनि परमेश्‍वरको राज्यको खातिर दुःख भोग्नुलाई हामी सम्मानको कुरा ठान्छौं।—१ पत्रुस ४:१४.

विशेष गरी झूटो धर्मको जुवामुनि रहेकाहरूको आध्यात्मिक अन्धकारसित तुलना गर्ने हो भने येशूको भारी वास्तवमै स्फूर्तिदायी छ। परमेश्‍वर हामीप्रति मायालु चासो राख्नुहुन्छ र हामीबाट अनावश्‍यक माग गर्नुहुन्‍न। यहोवाका “आज्ञाहरू कड़ा छैनन्‌।” (१ यूहन्‍ना ५:३) धर्मशास्त्रमा बताइएजस्तै, साँचो मसीहीधर्म दमनकारी छैन। कुरा स्पष्ट छ, हामीले गर्ने उपासनाले थकान वा निरुत्साह उत्पन्‍न गराउँदैन।

“हर किसिमको टण्टा . . . पन्छाएर”

८. अक्सर आध्यात्मिक थकानको कारण के हो?

यो भ्रष्ट रीतिरिवाजले हामीमाथि थोपरेको थप भारको कारण अक्सरहामीले आध्यात्मिक थकान अनुभव गर्नुपर्छ। “सारा संसार त्यस दुष्टको अधीनमा परेको” हुनाले हामी विनाशकारी शक्‍तिद्वारा घेरिएका छौं, जसले हामीलाई थकाउन र हाम्रो मसीही सन्तुलन कमजोर बनाउन सक्छ। (१ यूहन्‍ना ५:१९) अनावश्‍यक कुराहरूले हाम्रो मसीही तालिका जटिल बनाउन र यसमा बाधा पुऱ्‍याउन सक्छ। यी थप बोझहरूले हामीलाई थकाउन र दबाउन समेत सक्छ। त्यसैले बाइबलले हामीलाई “हर किसिमको टण्टा” पन्छाउन आग्रह गर्नु उचित हो।—हिब्रू १२:१-३.

९. धन-सम्पत्तिको पछि लाग्दा यसले हामीलाई कसरी थकाउन सक्छ?

उदाहरणका लागि, संसारको प्रतिष्ठा, पैसा, मनोरञ्जन, आनन्दको लागि गरिने यात्रा र भौतिक धन-सम्पत्तिलाई प्राथमिकता दिने अन्य कुराहरूले पनि हाम्रो सोचाइलाई असर गर्न सक्छ। (१ यूहन्‍ना २:१५-१७) अचाक्ली धन-सम्पत्तिको पछि लाग्ने प्रथम शताब्दीका केही मसीहीहरूले आफ्नो जीवनलाई असाध्यै जटिल बनाए। प्रेरित पावल यसरी वर्णन गर्छन्‌: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।”—१ तिमोथी ६:९, १०.

१०. येशूले बताउनुभएको बीउ छर्नेको दृष्टान्तबाट धन-सम्पत्तिबारे हामी के सिक्न सक्छौं?

१० भौतिक धन-सम्पत्तिको पछि लागेकोले यसले हाम्रो आध्यात्मिकतालाई निसासिदिएको कारणले गर्दा पो परमेश्‍वरप्रतिको हाम्रो सेवामा थकित र निरुत्साहित महसुस गरेका हौं कि? येशूले बीउ छर्नेको दृष्टान्तमा सङ्‌केत गर्नुभएझैं यस्तो हुने सम्भावना एकदमै धेरै हुन्छ। येशूले “जगत्‌का चिन्ता र धनको धोका र अरू थोकका लालच[लाई] भित्र पसी” हाम्रो हृदयमा भएको परमेश्‍वरको वचनलाई ‘निसासिदिने’ काँढाहरूसित तुलना गर्नुभयो। (मर्कूस ४:१८, १९) त्यसैले बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि उहाँ आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ ”—हिब्रू १३:५.

११. हामीलाई थकित बनाउने कुराहरू हामी कसरी हटाउन सक्छौं?

११ कहिलेकाहीं धेरै कुराहरूको पछि लागेकोले गर्दा नभई हामीसित पहिल्यैदेखि जे छ त्यसलाई चलाउने तरिकाले पनि हाम्रो जीवनलाई जटिल बनाउँछ। कसै-कसैले गम्भीर स्वास्थ्य समस्या, प्रियजन गुमाउनु परेकोले गर्दा वा अरू दुःखदायी समस्याहरूको कारण भावनात्मक रूपमा थकित भएको महसुस गर्न सक्छन्‌। बेलाबेलामा तिनीहरूले छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखेका छन्‌। एउटा विवाहित जोडीले आफ्ना केही सोख तथा अनावश्‍यक व्यक्‍तिगत कामहरू पन्छाउने निर्णय गरे। तिनीहरूले आफूसित भएका सबै सामानहरू एक-एक गरी हेरे अनि अनावश्‍यक कामहरूसित सम्बन्धित सबै सामानहरू हटाए। बेलाबेलामा हाम्रो बानी तथा हामीसित भएका सरसामग्री जाँचेर अनि हाम्रो मन शिथिल भई हामी थाकेर नजाऔं भन्‍नको लागि सबै अनावश्‍यक टन्टाहरू पन्छाएर हामी सबैले लाभ उठाउन सक्छौं।

व्यावहारिकता र विनम्रता अत्यावश्‍यक

१२. हाम्रा आफ्नै गल्तीहरूबारे हामीले कुन कुरा बुझ्नै पर्छ?

१२ चाहे सानै कुरामा किन नहोस्‌, हाम्रा आफ्नै गल्तीहरूले हाम्रो जीवनलाई बिस्तारै-बिस्तारै जटिल बनाउन सक्छ। दाऊदका शब्दहरू कत्ति साँचो छन्‌: “किनकि मेरा अधर्महरू मेरो शिरसम्म पुगेका छन्‌, गह्रौं भारीझैं ती मेरो निम्ति अति गह्रौं छन्‌।” (भजन ३८:४) अक्सर दुई-चारवटा व्यावहारिक छाँटकाँटहरू गर्दा यसले हामीलाई गह्रौं बोझबाट छुटकारा दिनेछ।

१३. व्यावहारिकताले कसरी हामीलाई आफ्नो सेवकाईप्रति सन्तुलित दृष्टिकोण राख्न मदत दिन सक्छ?

१३ बाइबलले हामीलाई “योग्यता र विवेक” विकास गर्न प्रोत्साहन दिन्छ। (हितोपदेश ३:२१, २२) “माथिबाट आउने ज्ञान . . . व्यावहारिक” हुन्छ भनी बाइबल बताउँछ। (याकूब ३:१७, NW) कसै-कसैले मसीही सेवकाईमा अरूले जत्तिकै गर्नुपर्ने दबाब महसुस गरेका छन्‌। तथापि, बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ। किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:४, ५) यो कुरा साँचो हो, सँगी मसीहीहरूको राम्रो उदाहरणले हामीलाई पूर्ण हृदयले यहोवाको सेवा गर्न प्रोत्साहन दिन सक्छ तर व्यावहारिक बुद्धि र व्यावहारिकताले हामीलाई आफ्नो परिस्थितिअनुसार उपयुक्‍त लक्ष्यहरू राख्न मदत दिनेछ।

१४, १५. आफ्नो शारीरिक तथा भावनात्मक आवश्‍यकताको ख्याल गर्ने सन्दर्भमा हामी कसरी व्यावहारिक बुद्धि प्रकट गर्न सक्छौं?

१४ त्यत्ति महत्त्वपूर्णजस्तो नदेखिने क्षेत्रहरूमा समेत हाम्रो व्यावहारिकताले थकित महसुस गर्नदेखि जोगिन मदत दिन सक्छ। उदाहरणका लागि, के हामीले शारीरिक स्वास्थ्यको लागि फाइदाजनक हुने सन्तुलित बानीहरू बसालेका छौं? यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालयमा सेवा गर्ने एउटा विवाहित जोडीको उदाहरणलाई विचार गर्नुहोस्‌। थकित हुनदेखि जोगिन व्यावहारिक बुद्धि कत्तिको महत्त्वपूर्ण छ भन्‍ने कुरा तिनीहरूले बुझेका छन्‌। पत्नी यसो भन्छिन्‌: “हामीले गर्नुपर्ने काम जतिसुकै धेरै किन नहोस्‌, हरेक रात हामी लगभग एउटै समयमा सुत्ने कोसिस गर्छौं। हामी नियमित तवरमा व्यायाम पनि गर्छौं। यसले हामीलाई साँच्चै मदत गरेको छ। हामीले आफ्ना सीमितताहरू बुझेका छौं र त्यसै अनुसार काम गर्छौं। जति काम गरे तापनि नथाक्ने जस्तो देखिने व्यक्‍तिहरूसित हामी आफूलाई तुलना गर्ने कोसिस गर्दैनौं।” के हामी नियमित रूपमा स्वास्थ्यकर खाना खानुका साथै प्रशस्त आराम गर्छौं? सामान्यतया हाम्रो स्वास्थ्यलाई उचित ध्यान दिंदा यसले हाम्रो भावनात्मक तथा आध्यात्मिक थकान कम गर्न सक्छ।

१५ हामीमध्ये कतिपयका आवश्‍यकताहरू अरूहरूको भन्दा भिन्‍नै हुन सक्छन्‌। उदाहरणका लागि, एक जना मसीही बहिनीले विभिन्‍न चुनौतीपूर्ण अवस्थामा पूर्ण समय सेवकाईको कार्य पूरा गरेकी छिन्‌। तिनीसित क्यान्सरलगायत अरू गम्भीर स्वास्थ्य समस्याहरू छन्‌। यस्तो तनावपूर्ण अवस्थाको सामना गर्न तिनलाई कुन कुराले मदत दिन्छ? तिनी यसो भन्छिन्‌: “मेरो लागि शान्त र एकान्त समय एकदमै महत्त्वपूर्ण छ। म जति धेरै तनाव र थकान बढेको महसुस गर्छु, पढ्‌न र आराम गर्नको लागि शान्त वातावरणको आवश्‍यकता मलाई त्यति नै बढी महसुस हुन्छ।” व्यावहारिक बुद्धि र सोच्ने क्षमताले हामीलाई आफ्ना व्यक्‍तिगत आवश्‍यकताहरू चिन्‍न र त्यसलाई पूरा गर्न अनि यसरी आध्यात्मिक थकानदेखि जोगिन मदत दिन्छ।

यहोवा परमेश्‍वरले हामीलाई शक्‍ति दिनुहुन्छ

१६, १७. (क) हाम्रो आध्यात्मिक स्वास्थ्यको ख्याल गर्नु किन एकदमै महत्त्वपूर्ण छ? (ख) आफ्नो दैनिक तालिकामा हामीले कुन कुरा समावेश गर्नुपर्छ?

१६ निस्सन्देह, हाम्रो आध्यात्मिक स्वास्थ्यको ख्याल गर्नु एकदमै महत्त्वपूर्ण छ। यहोवा परमेश्‍वरसित हाम्रो घनिष्ठ सम्बन्ध छ भने हामी शारीरिक तवरमा थकित भए तापनि उहाँको सेवा गर्न कहिल्यै थकित हुनेछैनौं। यहोवाले नै “दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्‍तिहीनको शक्‍ति बढ़ाइदिनुहुन्छ।” (यशैया ४०:२८, २९) यी शब्दहरूको सत्यता व्यक्‍तिगत तवरमा अनुभव गरेका प्रेरित पावलले यसरी लेखे: “हामी हरेस खाँदैनौं, तर हाम्रो बाहिरी मनुष्यत्व नाश भइरहेको हुन्छ, तापनि हाम्रो भित्री मनुष्यत्वचाहिं दिनदिनै नयाँ हुँदै आएको हुन्छ।”—२ कोरिन्थी ४:१६.

१७ “दिनदिनै” भन्‍ने अभिव्यक्‍तिलाई ध्यान दिनुहोस्‌। यसले यहोवाले गर्नुभएको प्रबन्धबाट हामीले दिनहुँ लाभ उठाउनुपर्ने कुरालाई सङ्‌केत गर्छ। मिसनरीको रूपमा ४३ वर्षसम्म विश्‍वासीपूर्वक सेवा गरेकी एक जना बहिनीले शारीरिक थकान र निरुत्साहको सामना गर्नुपऱ्‍यो। तैपनि तिनले लत्तो छाडिनन्‌। तिनी यसो भन्छिन्‌: “कुनै काम सुरु गर्नुभन्दा अघि यहोवासित प्रार्थना गर्न र उहाँको वचन पढ्‌न समय निकाल्न सकूँ भनेर मैले बिहान सबेरै उठ्‌ने बानी बसालेकी छु। यो दैनिक तालिकाले मलाई अहिलेसम्म धैर्य धारण गर्न मदत गरेको छ।” हामी नियमित तवरमा र अझ भन्‍ने हो भने “दिनदिनै” उहाँलाई प्रार्थना गर्छौं र उहाँका उच्च गुणहरू तथा उहाँका प्रतिज्ञाहरूबारे मनन गर्छौं भने हामी वास्तवमै यहोवाको सँभाल्ने शक्‍तिमा भर पर्न सक्छौं।

१८. ढल्कँदो उमेरका वा बिरामी विश्‍वासी जनहरूका लागि बाइबलले कस्तो सान्त्वना दिन्छ?

१८ ढल्कँदो उमेर र बिग्रँदो स्वास्थ्यको कारण निरुत्साह महसुस गर्नेहरूको लागि यसो गर्नु विशेष मदतकारी छ। यस्ता व्यक्‍तिहरू आफूलाई अरूसित तुलना गरेर त होइन तर विगतमा आफूले गरेको कामसित अहिलेको आफ्नो अवस्थालाई तुलना गरेर निराश हुन सक्छन्‌। यहोवाले वृद्धहरूको सम्मान गर्नुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ! बाइबल यसो भन्छ: “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१) यहोवालाई हाम्रा सीमितताहरू थाह छ र हाम्रा दुर्बलताहरूको बावजुद हामीले हृदयदेखि चढाएको उपासनाको एकदमै मूल्याङ्‌कन गर्नुहुन्छ। अनि अहिलेसम्म हामीले गरेका असल कार्यहरू परमेश्‍वरको सम्झनामा मेटाउनै नसकिने गरी लेखिएका छन्‌। धर्मशास्त्रले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” (हिब्रू ६:१०) दशकौंदेखि यहोवाप्रति वफादार साबित भएका व्यक्‍तिहरू हाम्रोमाझ भएकोमा हामी सबै कत्ति खुसी छौं!

हरेस नखानुहोस्‌

१९. भलाइ गर्नमा व्यस्त भएर हामी कसरी लाभ उठाउँछौं?

१९ थुप्रै व्यक्‍तिहरूको विचारमा नियमित रूपमा कडा शारीरिक परिश्रम गर्दा यसले थकान कम गर्न सक्छ। त्यसै गरी, नियमित आध्यात्मिक क्रियाकलापले भावनात्मक वा आध्यात्मिक थकानको महसुसबाट छुटकारा पाउन मदत दिन सक्छ। बाइबल यसो भन्छ: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं। अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:९, १०) “भलाइ गर्नामा” र “भलाइको काम गरौं” भन्‍ने अभिव्यक्‍तिहरूलाई ध्यान दिनुहोस्‌। यसले हामीले चाल्नुपर्ने कदमबारे सङ्‌केत गर्छ। अरूप्रति भलाइको काम गर्दा यसले हामीलाई यहोवाको सेवा गर्न लत्तो छाड्‌नदेखि जोगिन साँच्चै मदत दिन सक्छ।

२०. निरुत्साहसित लड्‌न हामी कोसित संगत गर्नदेखि जोगिनुपर्छ?

२० यसको विपरीत, परमेश्‍वरका नियमहरू बेवास्ता गर्ने मानिसहरूसितको संगति र क्रियाकलाप बोझिलो भार हुन सक्छ। बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “ढुङ्‌गा गह्रौं हुन्छ, र बालुवा ओजनदार, तर मूर्खले उठाएको झोंक तीभन्दा पनि अझ गह्रौं हुन्छ।” (हितोपदेश २७:३) निरुत्साह र थकानको भावसित लड्‌नको लागि नकारात्मक सोचाइ भएका र अरूको कमजोरी भेट्टाएर निन्दा गर्ने झुकाव भएकाहरूसित संगत गर्नदेखि हामी जोगिनुपर्छ।

२१. मसीही सभाहरूमा हामी कसरी अरूको लागि प्रोत्साहनदायी हुन सक्छौं?

२१ मसीही सभाहरू यहोवाबाटको एउटा प्रबन्ध हो जसले हामीलाई आध्यात्मिक शक्‍ति प्रदान गर्न सक्छ। त्यहाँ हामीले स्फूर्तिदायी निर्देशन तथा संगतिद्वारा एक-अर्कालाई प्रोत्साहन दिने राम्रो मौका पाउँछौं। (हिब्रू १०:२५) सभाहरूमा टिप्पणी गर्दा वा मञ्चबाट कार्यक्रमको कुनै भाग प्रस्तुत गर्दा मण्डलीका सबैले उत्थानदायी हुने कोसिस गर्नुपर्छ। अरूको लागि प्रोत्साहनदायी हुने सन्दर्भमा शिक्षकको रूपमा नेतृत्व लिनेहरू विशेष जिम्मेवार छन्‌। (यशैया ३२:१, २) सम्झाउन वा हप्काउन आवश्‍यक परेको खण्डमा समेत स्फूर्तिदायी ढङ्‌गमा सल्लाह दिनुपर्छ। (गलाती ६:१, २) अरूप्रतिको प्रेमले वास्तवमा हामीलाई लत्तो नछाडी यहोवाको सेवा गर्न मदत दिनेछ।—भजन १३३:१; यूहन्‍ना १३:३५.

२२. हाम्रो असिद्ध मानव स्वभावको बावजुद, हामी किन निर्भयी हुन सक्छौं?

२२ यो अन्तको समयमा यहोवाको सेवा गर्न परिश्रम गर्नु आवश्‍यक छ। अनि मसीहीहरू मानसिक थकान, भावनात्मक पीडा र तनावपूर्ण परिस्थितिहरूबाट अछुतो छैनन्‌। हाम्रो असिद्ध मानव स्वभाव माटोको भाँडोजस्तो कमजोर छ। यद्यपि, बाइबल यसो भन्छ: “शक्‍तिको सर्वश्रेष्ठ महत्त्व [“असामान्य शक्‍ति,” NW ] हामीबाट होइन, तर परमेश्‍वरको होस्‌ भनेर हामीसँग यो धन माटाको भाड़ामा छ।” (२ कोरिन्थी ४:७) हो, हामी थकित हुनेछौं तर कहिल्यै पनि लत्तो नछाडौं वा हरेस नखाऔं। बरु, हामी “निर्भयसँग” यसो भनौं: “प्रभु [“यहोवा,” NW ] मेरा सहायक हुनुहुन्छ।”—हिब्रू १३:६.

संक्षिप्त पुनरावृत्ति

• हामीले पन्छाउन सक्ने केही गह्रौं बोझहरू के-के हुन्‌?

• हामी कसरी आफ्ना सँगी मसीहीहरूप्रति “भलाइको काम” गर्न भाग लिन सक्छौं?

• हामीले थकित वा निरुत्साहित भएको महसुस गर्दा यहोवाले हामीलाई कसरी सँभाल्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

लामो समयसम्मको निरुत्साहले प्रेरितहरूलाई विचलित बनाउन सक्छ भनेर येशूलाई थाह थियो

[पृष्ठ २४-मा भएको चित्र]

कोही-कोहीले आफ्ना केही सोख तथा अनावश्‍यक व्यक्‍तिगत कामहरू पन्छाएका छन्‌

[पृष्ठ २६-मा भएको चित्र]

हाम्रा सीमितताहरूको बावजुद यहोवा हामीले हृदयदेखि चढाएको उपासनाको एकदमै मूल्याङ्‌कन गर्नुहुन्छ